add

भारतमा एचथ्री एनटू भाइरस सङ्क्रमित २ जनाको मृत्य

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ चैत्र २, बिहिबार वर्गीकृत अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुईजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी  र अर्को एक जना नागपुरका ज्येष्ठ नागरिक रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

दुवै बिरामीमा अन्य थुप्रै समस्या पनि उपचारका क्रममा देखिएको महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले बताएका छन् ।

दुई जनाको मृत्युपछि स्थानीय सरकारले सङ्क्रमण हुनबाट सावधानी अपनाउन स्वास्थ्य प्रशासन र राज्यभरका अस्पताललाई सचेत गराएको छ ।

भारतका धेरै भागहरूमा फ्लुका बिरामीहरू बढेका छन् । राज्यमा हालसम्म ३५० भन्दा बढी बिरामीमा एचथ्री एनटू भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वास सम्बन्धी समस्या भएको गुनासो गरिरहेका छन् । भारतको काउन्सिल अफ मेडिकल रिसर्चले पनि मौसमी फ्लुको रोकथामका लागि सावधानीबारे परामर्श जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) सञ्जालमार्फत विभिन्न राज्यमा मौसमी फ्लुको अवस्थालाई नियालिरहेको जनाएको छ ।