add

खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ

Swoniga Online – आकाश | २०८० बैशाख १०, आइतबार वर्गीकृत अन्तर्राष्ट्रिय

खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व गर्ने सिंह भारतको पञ्जाबबाट पक्राउ परेका हुन् ।

उनलाई मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनलाई भटिण्डा एयरपोर्ट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ ।

राष्ट्रिय सुरक्षा ऐन अनुसार उनलाई पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।

उनका निकट सहयोगी जोगा सिंह र पप्पलप्रित सिंह फक्राउ परेको एक साता अघि नै पक्राउ परेका थिए । पक्राउ गर्नुअघि सिंह गुरुद्वारामा प्रवचन दिइरहेका थिए । सिंह विरुद्ध एनएसए अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

सिंह विगत ३६ दिनदेखि फरार थिए । उनले आफ्ना एक समर्थकको रिहाईका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए ।

भारतीय प्रहरी स्रोतका अनुसार अमृतपाल सिंह १४ अप्रिलमा आत्मसमर्पण गर्न चाहन्थे । भटिंडाको तलवंडी साबोस्थित तख्त श्री दमदमा साहिबमा आएर आत्मसमर्पण गर्ने उनको शर्त थियो ।

गत चैत दोस्रो साता सिंह नेपालमा बसेको हुनसक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग उनलाई विदेश जारी अनुमति नदिन आग्रह गरेको थियो ।

भारतीय दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा पञ्जाबबाट फरार भएका सिंहलाई नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको थियो ।

सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो । भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन ।

विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए ।