add

जेठ १९ र २० गते अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १७, बिहिबार वर्गीकृत अन्तर्राष्ट्रिय

ललितपुर/ १७ जेठ: यही जेठ १९ र २० गते  अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुनेभएको छ। नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्न लागेकाे दबूका सम्मेलनका संयाेजक सुरेन्द्रभक्त श्रेष्ठले जानकारी गराउनुभयाे । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउन यो सम्मेलनको आयोजना गर्न लागेकाे श्रेष्ठले जानकारी गराउनुभयाे। "नेपालका विभिन्न भाषाभाषी पत्रकारहरुका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्का लगायतका देशका पत्रकारको सहभागिता रहने छ। सम्मेलनमा भर्चुअल माध्यमबाट समेत विभिन्न देशका सहभागीहरुले भाग लिनुहुनेछ।" उहाँले भन्नुभयो ।

सम्मेलनकाे जानकारी दिन बुधबार ललितपुरमा आयाेजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलनकाे उद्घाटन जेठ १९ गते शनिबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । सम्मेलनमा विभिन्न विषयमा केन्द्रित रहेर समूहगत छलफल हुने कार्यक्रम रहेको उहाँले जानकारी गराउनुभयाे ।

एक सय वर्षअघि नेपालमा पहिलोपटक मातृभाषामा पत्रकार धर्मादित्य धर्माचार्यले नेपालभाषाकाे पत्रिका “बुद्ध धर्म व नेपालभाषा” सम्पादन गरी प्रकाशन गर्नुभएकाे नेवा: पत्रकार दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी गराउनुभयाे । "पत्रकार धर्मादित्य धर्माचार्यकाे १२२ औं जन्मजयन्ती, ९ औं मातृभाषा पत्रकारिता दिवस तथा नेपाल भाषामा पत्रिका प्रकाशित भएको १०० वर्ष पुगेको उपलक्ष्यमा सम्मेलन हुन लागेको हाे, बर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी छ।" दबूका अध्यक्ष श्रेष्ठले भन्नुभयो । सम्मेलनका लागि सार्क जर्नालिष्ट फोरमले विभिन्न देशका प्रतिनिधि तथा पत्रकारहरुलाई संयोजन गर्न सहयोग गरेको फाेरमका अध्यक्ष राजु लामाले जानकारी गराउनुभयाे । सम्मेलनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघले देशभित्रका विभिन्न मातृभाषी पत्रकारहरुको सहभागिताका लागि संयोजन सहयोग गरिरहेकाे जनाइएको छ ।