राष्ट्रपति पाैडेल र जर्मनीका राष्ट्रपति वाल्टरबीच भेट
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ ४, मंगलबार वर्गीकृत अन्तर्राष्ट्रिय

वर्लिन, (जर्मनी )/ ४ असार, राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनअवस्थित राष्ट्रपति भावनमा सोमबार भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनी आउनुभएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आज भेटवार्ता भएको हो । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आउनुभएको हो ।
सो भेटवार्तका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्दै सोसीयलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसीभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताउनुभएको थियो ।
“ दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल तल्लिन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनी लगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिई नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
उहाँले त्यसैगरी विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुँध्न जर्मनीले लस एण्ड डयामेज फण्डमा गरेको सहयोग प्रतिवद्धतालाई स्वागत गर्न चाहेको पनि बताउनुभएको थियो ।
राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानव अधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तन जस्ता धेरै सामाजिक–आर्थिक मुद्दाहरुमा दुई देशबीच अन्तरराष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताउनुभएको थियो ।
नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले यसको लागि हामीलाई स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताउनुभएको पनि पोखरेलले जानकारी दिनुभयो ।
नेपालको वर्तमान लक्ष्य कृषिलाई आधुनिकीकरण गर्नु, जलश्रोत तथा उर्जा क्षेत्रमा रहेको विशाल संभावनालाई उपयोग गर्नु, पूर्वाधार विकासलाई तीब्र पार्नु, पर्यटनका संभावनालाई उपयोग गर्नु र जलवायु परिवर्तनको नकारात्मक प्रभाव विरुद्ध लड्नु रहेको उहाँले बताउनुभएको थियो । “नेपालको आर्थिक विकासको लागि कृषि क्रान्ति, जलस्रोत र पर्यटनको विकास आवश्यक छ, यसमा नेपालले सहयोगको अपेक्षा गरेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले वर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकास मन्त्रीको रुपमा जर्मनको भ्रमण गरेको स्मरण गर्नुभएको थियो ।
उहाँले युक्रेनमा झुक्याएर पुरयाइएका नेपालीहरुलाई छुटाउन पहलको लागि पनि आग्रह गर्नुभएको थियो ।
नेपाल र जर्मनीबीच विद्यमान व्यापार, लगानी र वाणिज्यका सम्बन्धहरुलाई थप विस्तार गर्न निजी क्षेत्रलाई अभिप्रेरित गर्नु जरुरी रहेको छ भन्दै उहाँले गत महिना काठमाण्डौंमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा जर्मन लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्नुभयो । “ नेपाल सरकार जर्मन लगानीकर्ताहरुलाई नेपालमा स्वागत गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भन्नुभएको थियो ।
हालैका वर्षहरुमा जर्मनी नेपाली युवाहरुको लागि उच्च शिक्षा अध्ययन, सिपयुक्त काम र सिपजन्य तालिमको लागि एक आकर्षक गन्तव्यको रुपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सिपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुत हुने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो ।
उहाँले नेपाली एयरलाइन्सलाई यूरोपेली संघको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउन जर्मन सरकारको दह्रो सहयोगको आशा व्यक्त गर्नुभएको पनि पोखरेलले जानकारी दिनुभयो ।
जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासको लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताउनुभएको उहाँको भनाइ उद्यृत गर्दै प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले आइतबार जर्मन वैज्ञानिकहरुसँगको भेटमा जलवायु परिवर्तनका असरबारे राख्नुभएको भनाइप्रति चासो राख्दै जर्मन राष्ट्रपतिले जर्मन त्यसबारे गम्भिर रहेको र नेपालप्रति आवश्यक सहयोगका सन्दर्भमा सहानुभूति रहेको उल्लेख गर्नुभएको थियो । साथै उहाँले नेपाल जर्मनको पुरानो मित्र भएको बताउँदै संयुक्त राष्ट्रसंघका मञ्चमा पनि नेपालसँग जर्मनको धेरै कुरा मिल्ने उल्लेख गर्नुभयो । जर्मनका राष्ट्रपतिले नेपालजस्तो मुलुकको अप्ठयारा बुझेको र त्यसमा आफ्नो सहानुभुती रहेको बताउनुभएको थियो । साथै उहाँले नेपाली हवाई एयरलाइन्सलाई यूरोपेली संघको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा आफू सकारात्मक रहेको बताउनुभएको थियो ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । प्रेस सल्लाहकार पोखरेलले जर्मनले राष्ट्रपति पौडेललाई यस पटकको भ्रमणमा खुलेर स्वागत गरेको र खुलेर सहयोग गर्ने वचन दिएको बताउनुभयो ।
दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।