add
Display Style: 
Column Style

सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणमा समाहित हुन प्रधानमन्त्रीको अपील

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत

 काठमाडौँ/७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपील गर्नुभएको छ ।

प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गर्नुभएको हो । उहाँले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो ।

तमाम क्रान्तिका अवयव एवं आन्दोलनमा योगदान गर्ने आम जनताको भावनाप्रति उच्च सम्मान व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका सङ्घर्ष र क्रान्तिको अविछिन्न श्रृङ्खला भएको बताउनुभयो ।

“यतिखेर म, नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ गरेको विश्वास, राखेको आशा र भरोसालाई कमजोर हुन नदिन लागिरहेको छु । संविधानले प्रत्याभूत गरेका हक अधिकार एवं जनताको दैनिक जीवनस्तरमा देखिने परिवर्तन ल्याउन ठोस कदम चाल्नुपर्नेमा म सचेत र गम्भीर छु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस दिशामा आ–आफ्नो जिम्मेवारीअनुरूप जनउत्तरदायी भएर काम गर्नसमेत सम्पूर्ण राष्ट्रसेवकहरूमा निर्देशित गर्दछु ।”

निरकुंश शासन व्यवस्थाको अन्त्य गर्दै जनअधिकार स्थापना गर्ने तमाम बलिदानीपूर्ण जनसङ्घर्ष, क्रान्ति, आन्दोलनहरूको माध्यमबाट देशमा लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरणको जग निर्माण भएको प्रधानमन्त्रीले स्मरण गर्नुभयो  ।

प्रधानमन्त्री प्रचण्डले संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरिएकाले प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निमित्त अगाडि बढ्ने ढोका खुला रहेको बताउनुभयो ।

नेपाली जनताको राजनीतिक सङ्घर्ष र क्रान्तिको लामो गौरवशाली परम्परा रहिआएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,“निरकुंशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सङ्घर्षको मैदानमा खट्नुभएका सबैमा उच्च सम्मानसहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।"

टेलिकमको प्रजातन्त्र दिवस अफर

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत

काठमाडौं/७ फागुन,  नेपाल टेलिकमले प्रजातन्त्र दिवसका अवसरमा शहीदहरूको सम्मानार्थ शहीद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याएको छ । अफर फागुन १२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत शहीद परिवारका लागि साबिक बमोजमको फ्री रिसोर्स अर्थात् एक जिबी डाटा, सय मिनेट अन-नेट भ्वाइस र सय अन-नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म उक्त रिसोर्स चलाउन मिल्ने सिमकार्ड रहेको छ । एफटिटिएचअन्तर्गत ५० एमबिपिएसको इयरली वान टाइम प्याकेज र कम्बो इयरली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको पनि कम्पनीले जनाएको छ ।

 

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यसअन्तर्गत एक एमबिपिएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने सय मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै छ जिबी, १३ जिबी, २० जिबी र ३० जिबी डाटा प्याकेज तथा ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट अल नेट भ्वाइस सुविधा र दुई सय अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याकसमेत उपलब्ध रहेको कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिनुभएको छ ।

कांग्रेस महासमिति बैठक आजबाट सुरु

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत

ललितपुर/ ७ फागुन : पार्टीको आधिकारिक नीति तय गर्नेका लागि नेपाली कांग्रेसकाे महासमिति बैठक आज साेमबारबाट सुरु हुँदैछ ।  ललितपुरको गाेदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने महासमिति बैठकमा २ हजार १ सय ५ जना प्रतिनिधिहरु आधिकारिक छलफलमा सहभागी हुने जानकारी गराइएको छ ।
महासमिति बैठककाे तयारी सम्बन्धमा जानकारी दिन ललितपुरको गाेदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आइतबार पत्रकार आयाेजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमिति संयाेजक मीनबहादुर विश्वकर्माले महासमिति बैठकमा सहभागी २ हजार १ सय ५ जनाले आधिकारिक धारणा राख्न पाउने र ६० प्रतिशत भन्दा बढि सदस्यहरुले बाेल्न पाउने ब्यवस्था मिलाइएको जानकारी गराउनु भएको हाे ।
"वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु १ सय ६५, प्रतिनिधिसभाको सभाको निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु १ हजार ७ सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको छ ।" विश्वकर्माले भन्नुभयो ।
उहाँले प्रजातन्त्र दिवसको दिनबाट सुरु हुने बैठककाे मुख्य नारा 'राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता । स्वतन्त्रता,न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता ' भन्ने रहेकाे जानकारी गराउनु भयाे।
महासमितिका लागि आवश्यक सम्पुर्ण तयारी सम्पन्न भइसकेको र बैठककाे सम्पूर्ण जानकारीहरु दिने उद्देश्यका साथ सम्मेलन केन्द्रमा नै मिडिया सेन्टर स्थापना गरिएको जानकारी गराउनुहुँदै उहाँले सोही मिडिया सेन्टर
मार्फत एक/एक घण्टामा समाचार, सुचना तथा जानकारीहरु उपलब्ध गराउने गरि तयारी भएको बताउनुभयाे ।

महासमितिको मुख्य कार्य भनेको पाटीको नीति निर्माण गर्नु भएको बताउनु हुँदै उहाँले पार्टीको वैधानिक प्रावधान अनुसार आयोजना भएको यो महासमिति बैठकले पार्टीको समय सापेक्ष नीति तय गर्ने बताउनुभयो ।
महासमितिको बैठकको उद्घाटन भोली आइतबार दिउँसो १ बजे कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने जानकारी गराइएको छ ।
यो महासमिति बैठकमा फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन
भएर आएका प्रतिवेदनहरु पेश भई छलफल हुनेछन् । बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काद्वारा नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा लेखा परिक्षण प्रतिवेदन पेश हुनेछन् । ती प्रतिवेदनहरु समूहगत रुपमा छलफल हुनेछ ।

बैठकमा छलफलका लागि तराई, मधेश, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समुह विभाजन गरिने र चार वटा हलमा छुटा छुट्टै रुपमा प्रतिवेदनहरु माथि छलफल हुने जानकारी उहाँले गराउनु भयाे ।
उहाँले नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनताहरू माझ नेपाली कांग्रेसले नै जनताको अवस्था परिवर्तनका लागि विश्वासीलो र भरपर्दो गरि काम गर्दछ, भन्ने थप विश्वास दिलाउने छ भन्ने बताउनुभयो ।

केन्द्रीय सदस्य तथा महाधिवेशनका लागि भाेजन व्यवस्थापन समितिका संयाेजक उदय शम्शेर राणाले महासमिति बैठकमा सहभागीहरुका लागि फागुन ८,९ र १० गतेका लागि बिहानकाे नास्ता र दिउँसोका लागि खानाकाे व्यवस्था गरिएको जानकारी गराउनुभयाे ।

त्यस्तै कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले सहभागीहरूकाे आवतजावतका लागि २० वटा बसहरु ब्यवस्थापन गरिएको जानकारी गराउनु हुँदै आवश्यक समन्वय र सहजीकरणका लागि जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई परिचालन गरिएको समेत जानकारी गराउनुभयाे ।  महासमिति बैठककाे उद्घाटनका दिन ललितपुर जिल्लाले विभिन्न भेषभूषामा र्याली सहित सहभागीहरुकाे स्वागत गर्ने उहाँले जानकारी गराउनुभयाे।

आज प्रजातन्त्र दिवस मनाइदै

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत

काठमाडौं । आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिँदैछ ।

 

वि.सं २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

 

प्रजातन्त्र दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च, टुँडिखेलमा विगुल बजाउने एवं तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने एवं नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

आज प्रजातन्त्र दिवस मनाइदै

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत

काठमाडौं । आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिँदैछ ।

 

वि.सं २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

 

प्रजातन्त्र दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च, टुँडिखेलमा विगुल बजाउने एवं तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने एवं नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबुको साधारण सभा सम्पन्न, ६ पत्रकार सम्मानित

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत

काठमाडौँ/ ७ फागुन, नेवाः पत्रकार राष्ट्रिय दबुको साधारण सभा शनिबार सम्पन्न भएको छ । दबूकाे १२ औँ वार्षिक साधारण सभामा शनिबार नेपाली सञ्चार क्षेत्रका साथै मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने छ जना पत्रकारलाई नगदसहित पुरस्कृत गर्नुका साथै नेपालभाषा, संस्कृति प्रवर्द्धन तथा समावेशीकरण मुद्दामा उल्लेखनीय योगदान दिनुहुने तीन व्यक्तित्वलाई सम्मान गरेको छ । 

नेपाल भाषा मंका खलको भवनमा भएको कार्यक्रममा माउन्टेन टेलिभिजनमा कार्यरत विश्वन्तर शाक्यलाई २० हजार रुपियाँ राशीसहित ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरिएकाे छ। झंकार एफएम रामेछापका युवराज श्रेष्ठ ज्ञानदेवी मणि पत्रकारिता पुरस्कारले सम्मानित हुनुभयो । उहाँलाई १५ हजार रुपियाँले पुरस्कृत गरिएकाे जनाइएको छ । बुद्ध धर्मको सन्देश प्रचार प्रसारमा योगदान दिएको कदरस्वरुप मेट्रो एफएमका उदेन न्हूसायमिलाई भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जसको पुरस्कार राशि १२ हजार रुपियाँ रहेको छ । यसैगरी नेपाल मण्डलकी सिल्भिया राजोपाध्याय वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार, अनलाइन डबलीका बुद्धशरण शाही बाबुराजा ज्यापु फोटो पत्रकारिता सम्मान र अनलाइन खबरकी रेणु त्वानाबासु श्रीराम स्मृति पत्रकारिता पुरस्कारले सम्मानित हुनुभयो । यी तीनैजनाले जनही दस हजार रुपियाँ प्राप्त गरे । नेवाः पत्रकार राष्ट्रिय दुबले २०७४ सालदेखि साधारणसभामा नेपालभाषाका पत्रकारहरुलाई सम्मानित गर्ने परम्पराको थालनी गरेको हो ।

यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबुले गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्य, गोरखापत्र दैनिकका सम्पादक सल्लाहकार उपेश महर्जन र आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष दण्ड गुरुङलाई विशेष सम्मान गरेको छ । बागमती प्रदेशका मन्त्री चित्रकार, भिक्षू कौडण्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष श्रेष्ठलगायतले पुरस्कृत तथा सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

 

 

१२ औँ साधारण सभामा नेपाल पत्रकार महासंघले संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई मान्यता नदिएर इतिहास तोडमोड गर्न खोजेको भन्दै चर्चा परिचर्चा भएको छ । 

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नाे अध्यक्षतमा पहिलो पटक नेपाल पत्रकार संघको गठन गर्नु भएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ ।

नेपाल भाषा मंका खलको भवनमा भएको कार्यक्रममा बागमती प्रदशका मन्त्री चित्रकारले पत्रकारको इतिहासलाई समग्ररुपमा अगाडि बढाउन बुलन्दरुपमा आवाज उठिरहको छ र यसअलाई अझ घनीभूतरुपमा सबै जनताले सुन्ने गरी प्रतिध्वन्धित गर्ने सामथ्र्य विकास होस् भनी शुभकामना दिनुभयो । यसैगरी उहाँले संघीयताको महत्वबारे पनि प्रकास पार्नुभयो । उहाँले भन्नुभयो, "राज्य एक जाति विशेषको होइन, यो सबैको हो । आर्थिक, सामाजिकरुपमा सांस्कृतिकरुपमा जुनजुन वर्गलाई किनारा लगाइएको छ ती पक्षलाई माथि उठाउन संघीयता आवश्यक छ ।" काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पत्रकारहरुले आफ्नाे जिम्मेवारी सही तरिकाले निर्वाह गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । समाजलाई कता डोर्याउने भन्ने जिम्मेवारीबोध पत्रकारहरुले गर्नुपर्छ– उहाँले भन्नुभयो ।

आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईले सत्यनारायण बहादुर श्रेष्ठको अभियान सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "हामी सत्यको पथमा छौँ । यस अभियानलाई सफल पार्न फोनिजले सशक्तरुपमा आवाज उठाइरहेको छ । नेपाल पत्रकार महासंघका ७७ जिल्लामा ध्यानाकर्षण गराइसकेका छौँ । महासंघलाई पनि ज्ञापन पत्र बुझाइसकेका छौँ ।" 

यसैगरी कार्यक्रममा सम्मानित व्यक्तित्व तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष दण्ड गुरुङले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा स्थापित गर्नुपर्छ भन्ने आफूले उठाएको आवाजले अहिले अभियानको रुप लिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानेर गलत इतिहास स्थापित गर्न खोजेको र यसले सत्यतथ्य जानकारी दिने नेपाली पत्रकारहरुको इमान्दारितामै प्रश्न चिन्ह खडा हुनेछ भनी चिन्ता व्यक्त गर्नुभयो 

नेवाः पत्रकार राष्ट्रिय दबुका सल्लाहकार राजु शाक्यले नेवार समूदायका मुद्दा, अभियानको समाचार मेनस्ट्रिम मिडियामा प्रसारण गर्न सहज नभएको तीतोसत्यबारे अनुभव सुनाउनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले पनि सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष स्थापित गर्ने अभियान नरोकिने जानकारी दिँदै मातृभाषा पत्रकारको क्षमता विकासका लागि मातृभाषा सञ्चार प्रतिष्ठान सरकारले गठन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– धर्मादित्य धर्माचार्यलाई मातृभाषाको प्रथम पत्रकार स्थापित गर्ने क्रममा मिडिया फेस्टिभलको आयोजना गर्यौँ । मातृभाषा पत्रकार सम्मेलनको आयोजना भयो । अब सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महाखसंघको संस्थापक अध्यक्ष हो भन्ने मुद्दा उठाइरहेका छौँ ।

दबुका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले क्रियाशील पत्रकारहरुको हौसला दिने उद्देश्यले पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो । यसैगरी वरिष्ठ उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपाल पत्रकार महासंघ र आदिवासी जनजाति महासंघ हुँदाहुँदै पनि नेपाल भाषाका पत्रकारहरुले महासंघमा स्वतन्त्रता नपाइने र आफ्नाे हकअधिकारको कुरा गर्न नपाइने भएकोले नेवाः पत्रकार राष्ट्रिय दबुको गठन भएको बताउनुभयो । 

नेवा पत्रकार राष्ट्रिय दबु काठमाडौाका अध्यक्ष अरविन्दमान सिंहले नेपालभाषा पत्रकारिताको इतिहास एक सय वर्षभन्दा पुरानो भएको भन्दै यसको विकासक्रम बारे जानकारी दिनुभएको थियो । यसैगरी पुरस्कार विजेताहरुको तर्फबाट सिल्भिया राजोपाध्यायले आप्mनो लामो पत्रकारिताको यात्रालाई स्मरण गर्नु भयाे। 

यसैगरी सभाको बन्द सत्रले महासचिव केके मानन्धरले प्रस्तुत गर्नुभएको वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष बाबुकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मत पारित गरेको छ ।

सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन पनि गरिएको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबुले छ जना पत्रकारलाई सम्मान गर्ने

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ४, शुक्रबार वर्गीकृत

काठमाडौं/ ४ फागुन, नेवारी समुदायका पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबुले नेपालभाषाका पत्रकारहरुलाई नगदसहित पुरस्कृत  गर्ने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुले हरेक वर्ष आफ्नो साधारण सभामा पत्रकारहरुलाई पुरस्कृत गर्दै आएकाे छ ।

दबूकाे १२ औँ साधारण सभामा माउन्टेन टेलिभिजनका विश्वन्तर शाक्यलाई ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार, झंकार एफएम रामेछापका युवराज श्रेष्ठलाई ज्ञानदेवी–मणि पत्रकारिता पुरस्कार, मेट्रो एफएमका उदेन न्हू सायमीलाई भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कार, अनलाइन खबरकी रेणु त्वानाबासुलाई श्रीराम स्मृति पत्रकारिता पुरस्कार, अनलाइन डबलीका बुद्धशरण शाहीलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार र नेपाल मण्डल टेलिभिजनकी सिल्भिया राजोपाध्यायलाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

ज्ञानज्योति–लक्ष्मीप्रभा पत्रकारिता पुरस्कारको राशि २० हजार, ज्ञानदेवी–मणि पत्रकािरता पुरस्कारको राशि १५ हजार, भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कारको राशि १२ हजार रुपियाँ रहेको छ । यसैगरी श्रीराम स्मृति पत्रकािरता पुरस्कार, बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार र वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारका विजेताले जनही दस हजार रुपियाँ प्राप्त गर्नेछन् । पुरस्कार शनिबार नेवाः पत्रकार राष्ट्रिय दबुको साधारण सभामा प्रदान गरिने जनाइएको छ।

 

नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनको संयोजकत्वमा सुरेन्द्रभक्त श्रेष्ठ, केके मानन्धर, प्रजित शाक्य र तेजनारायण महर्जन सम्मिलित पुुरस्कार चयन समितिले पुरस्कार विजेताहरुको चयन गरेको हो । संयोजक महर्जनले पत्रकारिताको माध्यमबाट नेपाल भाषा, संस्कृति, सम्पदाको प्रवद्र्धन र संरक्षणका साथै समावेशी क्षेत्रमा योगदान दिने, नेवाः पत्रकार राष्ट्रिय दबूको समग्र अभियानमा टेवा पुर्याउनेलगायतका मापदण्डलाई तोकेर पुरस्कार विजेताको छनोट गरिएको जानकारी दिनुभयो ।
यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूकाे साधारण सभामा नेपाल भाषा, संस्कृति प्रवद्र्धन तथा सञ्चार क्षेत्रमा समावेशीकरण मुद्दामा उल्लेखनीय योगदान दिनुहुने गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्य, गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जन र आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज)का पूर्व अध्यक्ष दण्ड गुरुङलाई विशेष सम्मान गर्ने जानकारी प्राप्त भएकाे छ ।

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २९, सोमबार वर्गीकृत

काठमाडौं/ २९ माघ,  राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदन बुझेपछि सो समारोहलाई सम्वेधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैं चनाखो रही कार्य सम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँंले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको संरक्षण गर्दै राष्ट्रिय एकताको प्रवर्द्धन गर्न, विभिन्न जात जाती, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी संघीय इकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्न, राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुव्यवस्था कायम गर्न एवम् सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति कायम गर्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ  रहेको पनि स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम व्यवस्था भएको राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र सुरक्षालगायतका संवेदनशील कार्यमा आफ्नो रणनीतिक दृष्टिकोणसहित ठोस सुझावहरू प्रस्तुत गरेकोमा खुसी प्रकट गर्नुभयो । नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले परिषद्ले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।सो समारोहमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतलगायत परिषद सदस्यहरूको उपस्थिति थियो ।

अब विकासको रफ्तारले गति लिन्छ: अर्थमन्त्री डा. महत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २९, सोमबार वर्गीकृत

नुवाकोट/२९ माघ,  अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताउनु भएको छ । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हाम्रो विकास जति हुनुपर्ने हो, त्यत्ति नभएको बताउनुभयो । ल्होछारको शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो, ‘अब विकासले रफ्तार लिन्छ । देशमा साधनश्रोत धेरै छैन, आम्दानी धेरै छैन । आवश्यकता हाम्रो धेरै छन् । यो आवश्यकता पूरा गर्न हामीलाई धेरै पैसा चाहिन्छ ।’ 

अर्थमन्त्रीले देशैभरि हेर्नुपर्ने भएकाले चाहेजस्तो गर्न कठिन भएको अनुभव सुनाउनु हुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘मैले बजेट प्रस्तुत गर्दा सकेसम्म सबैतिरको आवश्यकता पूरा गर्ने हिसाबले बजेट विनियोजन गरेको छु ।’ तारकेश्वर गाउँपालिकाको तारुकाको लागि पनि बजेट राख्यौं । प्रदेश र संघीय सरकार मिलेर नुवाकोटमा केही न केही गर्ने प्रयास गरेका छौं । आउने दिनमा अझै धेरै गर्ने मन्त्री डा. महतले प्रतिबद्धता जनाउनु भयो । ‘कसौडीमा पकाउनुपर्ने बाध्यता छ, तर खड्कुलोमा पकाएर बाँड्दा पनि नपुग्ने अवस्था छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘एकैपटक पो नपुग्ने हो, तर हामी विस्तारै गर्छौं । यो गाउँपालिकामा दुईवटा कुरालाई महत्व दिइएको छ, एउटा रंगशाला निर्माण हो । पालिकाले केही काम गरेको छ । युवाहरुलाई खेलप्रति आकर्षित गर्न हामीले यस वर्ष खेलकुदमा धेरै बजेट विनियोजन गर्ने नीति बनाएका छौं ।’ 

‘माने डाँडादेखि काफलपानी सडक निर्माणको प्रस्ताव आएको छ । कच्ची सडक त छँदैछ, यसलाई पक्की बनाउन म लाग्नेछु । श्रोत र साधनले भ्याएसम्म, देश र जनताप्रति म जिम्मेवार छु, नागरिकको हितका लागि म रातदिन खटेर लाग्ने छु’ मन्त्री डा. महतले भन्नुभयो, ‘नुवाकोटमा अहिले विकास निर्माणका धेरै काम अगाडि बढेका छन् । चीनसँग जोडिने सडक विस्तार हुँदैछ, व्यापारिक नाकाको रुपमा विकास हुँदैछ । छहरे–टोखा सुरुङमार्ग अगाडि बढाउने प्रतिबद्धता हामीले गरेका छौं ।’ 

उहाँले नुवाकोटमा अब धेरै रोजगारीको सम्भावना बढ्छ, व्यापारिक गतिविधि चलायमान हुनेछ । उद्योग व्यवसाय फस्टाउने छ । पर्यटनको धेरै ठूलो सम्भावना नुवाकोटमा छ । कृषिमा पनि विविध सम्भावना छन् । कृषिलाई व्यवसायिकरण गर्नुपर्ने बताउनुभयो ।’ मन्त्री डा. महतले विविध भौगोलिक र जातजातिले भरिएको देश हो । विभिन्न भेषभूषा, भाषा, संस्कृति र सभ्यता नेपालमा छ । नेपालजस्तो सुन्दर, सानो भूगोलमा धैरै जातजाति र संस्कृति अटाएको छ । त्यसैले नेपाली हुनुमा हामीले गर्व गर्नुपर्छ । विविध जातजाति, संस्कृति, भाषा र भेषभूषा नेपालको साझा सम्पत्ति भएको बताउनुभयो ।  उहाँले देशको आर्थिक विकास धेरै भइसकेको छैन, धेरै पछि मात्रै हाम्रो आर्थिक विकास सुरु भयो । २०४६ सालपछि नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र आयो, त्यसपछि जनतामा परिवर्तन आउन थाल्यो । जनताले चुनेका प्रतिनिधिले शासन गर्न थाले, त्यसपछि विकास सुरुवात भएको बताउनुभयो ।

महासङ्घको किताब विमोचन कार्यक्रममा फोनिजको अवरोध

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २९, सोमबार वर्गीकृत

काठमाडौं, २९ माघ नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ आइतबार विमोचन कार्यक्रममा महासङ्घको इतिहासलाई तोडमोड गरिएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आपत्ति जनाउँदै कार्यक्रम विथोलेको छ । 

पत्रकार, पत्रकारिता र राजनीतिसँगै नेपाल पत्रकार सङ्घदेखि महासङ्घसम्मका विषय समेटेर तयार पारिएको उक्त पुस्तकप्रति फोनिजले असहमति जनाएको हो। फोनिजले महासङ्घका संस्थापक एवम् पत्रकार सत्यनारायणबहादुर श्रेष्ठलाई पनि उक्त पुस्तकमा समेट्नुपर्ने माग गर्दै विमोचन कार्यक्रममा असहमति जनाएको हो।

“२००८ सालमा पत्रकार सत्यनारायणबहादुर श्रेष्ठले पत्रकारलाई सङ्गठित गर्दै संस्था स्थापना गर्नुभयो।तर महासङ्घले श्रेष्ठपछिका कृष्णप्रसाद भट्टराई, जो २०१२ सालमा अध्यक्ष हुनुभएको थियो, उहाँलाई मात्र राखेको छ।हामीले यस विषयमा रिभ्यू गर्न ध्यानाकर्षण पत्र बुझाएका थियौँ”, फोनिजका अध्यक्ष गजुरधन राईले भन्नुभयो, “सिङ्गो पत्रकार महासङ्घको जिउँदो इतिहासलाई गलत ढङ्गले पछि धकेल्ने काम भएको छ ।” फोनिजको एक समूहले विमोचन अघि नै पुस्तक च्यातेपछि कार्यक्रम स्थलमा तनाव भएको थियो।

विमोचन समारोहमा सहभागी नेपाली पत्रकारिता क्षेत्रका विज्ञ एवं अग्रजहरूले पत्रकारिताको इतिहासबारे खोज र अध्ययनको आवश्यकता औँल्याउनुभएको छ।

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार,  कथा अग्रजको, गाथा महासङ्घको’ विमोचन कार्यक्रममा प्रा. डा. रामकृष्ण रेग्मीले पुस्तकबारे समीक्षा गर्दै पत्रकारिताको इतिहासको खोज अनुसन्धानले यस क्षेत्रको वर्तमान चुनौतीको सामना र भविष्यको बाटो पहिल्याउन सहयोग पुग्ने बताउनुभयो।

उक्त पुस्तक नेपाली पत्रकारिताको इतिहासको लागि उपयुक्त स्रोत सामग्री हुने उहाँले बताउनुभयो।“यस पुस्तकले नेपालमा पत्रकारितालाई सङ्गठनको रूपमा विकास गर्दा आइपरेका चुनौती र उहाँहरूले गर्नुभएको सामनाका बारेमा जानकारी दिन्छ”, उहाँले भन्नुभयो, “भविष्यको बाटो पहिल्याउन विगत हेर्न पर्छ भने जस्तै यसले पत्रकारिताको इतिहासबारे अध्ययन गर्न र सिङ्गो पत्रकारितालाई अघि बढाउन सहयोगी साबित हुनेछ।अध्ययनका लागि स्रोत सामग्रीको अभाव सधैँ खड्किन्छ।यस पुस्तकलाई गतिलो स्रोत सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ ।” 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको इतिहाससँगसँगै नेपाल पत्रकार महासङ्घको इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो। उहाँले उक्त पुस्तक पत्रकारिताको इतिहासका बारेमा अध्ययनका लागि अभिलेखीकरण भएको बताउँदै पत्रकारिताको इतिहास खोज्न र तथ्यमा आधारित भएर इतिहासलाई स्थापित गर्न महासङ्घ प्रयत्नशील भएको बताउनुभएको हो ।

Pages