add
Display Style: 
Column Style

जनताको काम नगर्नेलाई गफ लगाएकाे आधारमा भाेट हाल्नुहुदैन- स्वास्थ्य मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण २०, आइतबार वर्गीकृत

सिन्धुपाल्चोक/२० फागुन, स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले जनताको काम नगर्नेलाई गफ लगाएकाे आधारमा मात्रै निर्वाचनमा भाेट हाल्नुहुँदैन भन्ने बताउनु भएको छ । सिन्धुपाल्चोककाे निर्वाचन क्षेत्र नं. २ मा पर्ने पाँचपाेखरी थाङपाल गाउँपालिका वड नं. ४ थाङपालकाेटमा शनिबार आयाेजित नागी टासी छ्याेलिङ्ग गुम्बाकाे सिलान्यास कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले जनप्रतिनिधि भएपनि मुद्दामामिलादेखि विकास निर्माणका साथै जनताकाे आपतविपदमा सबै काम गर्नुपर्छ भन्नुहुँदै आफूले जनताका सबै समस्याहरुमा सहयाेगी भएर काम गर्ने बताउनु भएको हाे । 

"६ महिना सञ्चार मन्त्री हुँदा यस जिल्लामा ५२ वटा टेलिफोन टावर बनाएकै हुँ, अहिले स्वास्थ्य मन्त्री छु, ३९ वटा स्वास्थ्य संस्थाका भवन निर्माण हुँदैछन्, अर्को वर्ष सबै निर्माण सम्पन्न हुनेछन्।"मन्त्री बस्नेतले भन्नुभयो । 

उहाँले चुनावकाे वेलामा राजनीति गर्ने हाे भन्नुहुँदै सामाजिक काममा सबै एक ढिक्का भएर लाग्नुपर्छ भन्नेमा जाेड दिनुभयाे । उहाँले विगतमा जितेका जनप्रतिनिधिहरुकाे ध्यान २०७२ काे भूकम्पले नष्ट गरेका गुम्बा र मठमन्दिर निर्माण गर्ने तीर नभएकोले अहिलेसम्म पुनःनिर्माण हुन नसकेको बताउनुभयो । 

"निर्वाचनका समयमा सामुदायिक भवन, गुम्बा र मठमन्दिर निर्माण गर्न ध्यान दिन्छौं भनेकाे थियौं, त्यही अनुसार १० लाख बजेट विनियोजन भइसकेको छ, २० लाख विनियोजन हुनेक्रममा छ। हामी प्रयास गर्छौं, तपाईंहरुले व्यक्तिगत दातासंग भन्नुभयो भनेपनि धेरै पैसा उठ्छ ।"उहाँले भन्नुभयो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ 'समीर'ले भूकम्पले क्षति पुर्‍याएकाे तीन सय वर्ष पुरानो गुम्बा पुनःनिर्माणका लागि निर्वाचनको बेला गरेको प्रतिवद्धता अनुसार आज सिलान्यास भएको छ, बाचा अनुरुप काम गरिरहेका छाैं भन्ने बताउनुभयो । उहाँले गुम्बा निर्माणका क्रममा पैसाको बारेमा तपाईंहरु चिन्ता नलिनुस् भन्दै राजनीतिक प्रतिस्पर्धा नगरी निर्माण सम्पन्न गर्न लाग्न आग्रह गर्नुभयो । 

गुम्बा विकास समितिका केन्द्रीय सदस्य शिशिर वाइवाले सिलान्यास भएको गुम्बा निर्माण सम्पन्न गर्न सबैकाे भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुुभयाे । 

नरदेवी आयुर्वेद अस्पताल विकास समितिका सदस्य लेखनाथ लामाले मत माग्ने बेलामा जातीय कुरा गरेर विकास निर्माणका समयमा हराउनेहरुका पछि लाग्ने काम अब बन्द हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस पाँचपाेखरी थाङपाल गाउँपालिकाका सभापति प्रेम दाेङ, नेकपा माओवादी केन्द्र पाँचपाेखरी थाङपाल गाउँपालिकाका अध्यक्ष दिलबहादुर वाइवा, समाजसेवी शंकर लामालगयतले मन्तव्य राख्नुभएको थियोे ।

यसैक्रममा पाँचपाेखरी प्राथमिक अस्पतालकाे अवलोकन गर्नुहुँदै मन्त्री बस्नेतले अस्पतालकाे व्यवस्थापनका लागि आवश्यक सबै खालका कामहरु गर्न आफू तयार रहेकाे वताउनुहुँदै समस्या समाधानका लागि प्रक्रिया पुर्याएर मन्त्रालयमा माग गर्न आग्रह गर्नुभयाे । मन्त्री बस्नेतलाई प्राथमिक अस्पतालका प्रशासन प्रमुख सराेज धितालले अस्पतालकाे अस्थाकाे बारेमा जानकारी गराउनु भएको थियो । 

मन्त्री बस्नेतले स्थानीय विद्यालयकाे अवलोकन गरि त्यहाँका समस्या समाधानका बारेमा समेत चासाे राख्नुभएको थियोे ।

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण २०, आइतबार वर्गीकृत

काठमाडौं/ २० फागुन, प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभएको छ।

शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो।

प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिनुभयो।

उहाँले भन्नुभयो, "मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु। प्रतिकूल परिस्थितिका बाबजूद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ। यसपटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिनेछ। त्यसले देशमा नयाँ वातावरण बनाउनेछ।"

यसअघि प्रधानमन्त्री प्रचण्डले बागलुङको पञ्चकोटमा जारी महायज्ञ, लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक र लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो।

अगुवा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, स्थायी समिति सदस्य एवं सञ्चारमन्त्री रेखा शर्मा, स्थायी समिति सदस्य जोखबहादुर महरा लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो।

भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १८, शुक्रबार वर्गीकृत

भरतपुर/१८ फागुन, प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनुभएको छ।

शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभयो।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।”

 

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठसहित)

वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालीमका क्षेत्रमा विशिष्टिकृत योगदान पु¥याउँदै आएको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका निम्ति अस्पताल समिति, कर्मचारीहरू एवं अस्पताल परिवारमा हार्दिक बधाइसहित धन्यवाद ज्ञापन गर्दछु ।

भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ ।

यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ । यो हामी सबैका निम्ति खुसीको कुरा हो ।

विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा बिस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु ।

नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ ।

मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त “स्वास्थ्य सम्बन्धी हक”लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् । अर्कोतर्फ संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ । यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने मैले विश्वास लिएको छु ।

अन्त्यमा, नवनिर्मित भवनको उद्घाटनपश्चात आँखा सम्बन्धी रोगको उपचार, अध्ययन, अध्यापन र व्यवसायिक तालीममा थप प्रगति हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्नुहुने समस्त दातृ निकाय, भरतपुर महानगरपालिका, सामाजिक संघसंस्था एवं सामाजिक व्यक्तित्वहरूमा फेरि एकपटक धन्यवाद व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

उच्च शिक्षा सम्बन्धि विद्ययेकमाथि हिसानकाे अन्तरक्रिया

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १६, बुधबार वर्गीकृत

काठमाडौं/१६ फागुन, हिसानले उच्च शिक्षा सम्बन्धि कानुनलाई संशोधन गर्न बनेकाे विद्ययेक २०८० माथि अन्तरक्रिया सम्पन्न गरेको छ ।

हिसानले आज काठमाडौंमा आयाेजना गरेकाे कार्यक्रममा मन्तव्य राख्नुहुँदै हिसानका अध्यक्ष रमेश सिलवालले नेपालकाे उच्च शिक्षा अब कसरी अगाडि बढ्छ भनेर सबै पक्षकाे राय लिने उद्देश्यले अन्तरक्रिया आयाेजना गरिएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, "मस्यौदामा हुनुपर्ने आधारभूत कुरा उल्लेख छैन, उक्त ऐन विवादमा नफसाेस । याे ऐनले नयाँ विश्वविद्यालय खाेल्न देउ हामी गुणस्तरीय शिक्षा प्रदान गर्छाैं भन्न नपाइने बनाउन लागिएकाे छ । विश्वविद्यालय वर्गीकरणमासमेत स्पष्टता छैन ।" अध्यक्ष सिलवालले शिक्षा क्षेत्रमा निजी क्षेत्र आउन नपाउने कहाँ हुन्छ भन्दै प्रतिप्रश्न गर्नुभयाे । उहाँले नेपालकाे उच्च शिक्षा कुन अवधारणामा जाने भनेर अब स्पष्ट हुनुपर्छ । यसका साथै शिक्षा र टेक्नोलोजीलाई कसरी जाेड्ने, मुलुकलाई समृद्ध बनाउन उच्च शिक्षा काे लक्ष्य के हुने र गाइडलाइन बारे ऐन स्पष्ट हुनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा काठमाडौं स्कुल अफ लका डा. युवराज संग्राैलाले ऐनमाथि सामुदायिक सराेकार विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएकाे थियाे । उहाँले उक्त विश्वविद्यालयकाे प्राण भनेकाे प्रज्ञिक स्वयत्तता हाे तर भारतीय माेडेलमा रहेकाे र नेपालमा कहिल्यै छलफल नभएकाे विषय रहेकाे बताउनुभयेा । 

उहाँले विधानबाट विश्वविद्यालय स्थापना, बाेर्ड अफ ट्रस्टिज र स्वयत्त प्रशासनका सिद्धान्तलाई कायम राखनुपर्ने लागतका विषयमा धारणा राखनु भएकाे थियाे ।

पूर्व शिक्षामन्त्री देवेन्द्र पाैडेलले भन्नुभयो, हामी अहिले प्रारम्भिक मस्यौदाकाे छलफलमा छाैं । यसमा संशोधनकाे स्थान रहेकाेले सबै सराेकारबाला पक्षकाे धारणा प्रस्तुत गर्न हिसानलाई आग्रह गर्नुभयाे ।

कार्यक्रममा पूर्व उपकुलपति तीर्थराज खनियाँ, त्रिवि शिक्षा संकायका डीन प्रकाशमान श्रेष्ठ, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी र प्रजातान्त्रिक प्राध्यापक संघका निर्मल सापकोटाले आफ्नो धारणा राख्नुभएको थियाे ।

पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १६, बुधबार वर्गीकृत

काठमाडौं/ १६ फागुन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता हरि घिमिरेले जानकारी दिनुभयो ।

आरोपीले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

साथै अदानचुली गाउँपालिका वडा-३ का वडाध्यक्ष दत्त विष्ट, उप-प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध पनि मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डेसहित ११ जनाविरूद्ध अख्तियारले ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद गरी बिगो माग दाबी गरेको छ ।

 

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. महतको आग्रह

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १६, बुधबार वर्गीकृत

नवलपरासी/१६ फागुन, अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गर्नुभएको छ । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन  ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन । विस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट, रडको माग बढेको छ, नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरु ढुक्क भएर लगानी गर्नुहोस् ।’

उद्घाटन कार्यक्रममा मन्त्री डा. महतले ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताउँदै उहाँले एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘आत्मविश्वास जगाऔं, विचार पुर्याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ । राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’ 

उहाँले मूल्यवृद्धि पनि नियन्त्रणमा रहेको स्पष्ट पार्नुभयो । मन्त्री डा. महतले भन्नुभयो, ‘म अर्थमन्त्री भएका बेला मूल्यवृद्धि सालाखाला ८ प्रतिशतभन्दा माथि थियो, अहिले साढे ६ प्रतिशतभन्दा तल झरेको छ । यसले उपभोक्तालाई राहत दिन्छ ।’ 

उहाँले भन्नुभयो, ‘भारतको आर्थिक वृद्धि दर अहिले संसारमै अगाडि छ । सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ । नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं ।’ 

उहाँले भन्नुभयो, ‘तमाम कारणले गर्दा अर्थतन्त्रमा समस्या थियो, हामी सुधारको बाटोमा छौं । ब्याजदर छिट्टै एकलविन्दुमा झर्छ । अन्तर्राष्ट्रिय समस्या चर्केका बेला घरजग्गा र सेयर बजारमा अत्याधिक लगानी भयो । समस्या आएपछि नेपाल राष्ट्र बैंकले ऋण प्रवाह घटायो, ब्याज बढायो ।’

‘एकथरिले सहकारी र लघु वित्त पीडितलाई उपयोग गरेर राजनीतिकको रोटी सेकाउन थालेका छन् । मेरो पछि लाग्यो भने ऋण तिर्नुपर्दैन, माफी पाइन्छ भनेर एकथरिले लघु वित्त पीडितलाई बोकेर हिडेका छन् । साँच्चै तिर्नुपर्दैन भनेर पीडित पनि पछि लागेर हिडेका छन्’ मन्त्री डा. महतले भन्नुभयो, ‘स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन । ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन । ऋण लिनेको मात्र होइन दिनेको पनि गल्ती छ । त्यसकारण ब्याजदर घटाइएको हो, पछिल्लो समय ब्याजदर घट्नेक्रममा छ ।’

‘जसले ऋण लिएको छ, उहाँहरुलाई ब्याजदरमा राहत दिन सकिन्छ । ऋण तिर्नेलाई समय दिन सकिन्छ, त्यो राहत हो । ऋण लिएर तिर्दैतिर्दिन भन्न पाइँदैन । ऋण तिर्नलाई राहत दिन सकिन्छ, ऋण माफी गर्न सकिँदैन’ मन्त्री डा. महतले भन्नुभयो, ‘पहिलो धेरै ऋण लिनेहरु समस्यामा परेको हुनाले ब्याजदर घटेको छ । हिजो ऋण लिएकाहरुले अहिले ऋण लिन सक्ने स्थिति भएनन, नयाँ ऋण लिन चाहनेहरुलाई पहिलाको समस्या देखेर तर्सिरहेका छन् । यही कारण बैंकमा तरलता भए पनि ऋण प्रवाह हुन सकेको छैन । तर विस्तारै यसमा सुधार आउँछ ।’

चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपतिको जोड

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १६, बुधबार वर्गीकृत

काठमाडौँ/ १६ फागुन, राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिंगो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नैपर्ने साहित्यिक तीर्थस्थलका रुपमा विकास गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा आज यहाँ आयोजित भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र एवम परामर्श कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । 

उहाँले देशका सातै धाम एकै ठाउँमा निर्माण गरेर यहाँ नेपालका नेपाली, नेवारी, मैथिली, भोजपुरी, अवधी, राई, लिम्बू तामाङ, गुरुङ मगर इत्यादि सबै भाषाका साहित्यिक प्रतिभाहरूलाई एकै ठाउँमा राखेर कलात्मक र प्राकृतिक सौन्दर्यसहित आर्थिक सहयोग जुटाएर गुरुयोजना अनुरुप भानु साहित्य उद्यान निर्माणको परिकल्पनालाई साकार पार्न लाग्नुपर्नेमा जोड दिनुभयो । 

“यसले नेपाली राष्ट्रिय भावनालाई उद्वेलित र उद्दीप्त गराउने छ तथा जीवनमा नेपालीले एकपटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र पर्यटकीय गन्तव्य स्थल बनाउने छ भन्ने मलाई पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

आदिकवि भानुभक्तको प्रतिमा केन्द्रमा राखेर अन्य भाषाभाषीका आदिकवि, ती भाषाका विशिष्ट साहित्यिक प्रतिभा र आ–आफ्ना मातृभाषामा विशिष्ट रचना गर्ने कविहरूको प्रतिमा स्थापना गरी चुँदीरम्घालाई विभिन्न भाषाका कविहरूको पूmलबारी बनाउँदै एउटा विशिष्ट साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । 

साहित्यिक तीर्थयात्रीका निम्ति चुँदीबेँसी, भानु स्मृति भवन, रम्घाको डाँडो, नेपाली साहित्यका कवि शिरोमणि लेखनाथ पौडेलको जन्मथलो अर्घौअर्चले, जनकवि केशरी धर्मराज थापाको बाटुलेचौर र लोकगायक अलि मियाको जन्मस्थल कुँडहर हुँदै राष्ट्रकवि माधव घिमिरेको घर पुस्तुन लमजुङ, मानुङ आदि विविध भानुस्मृति स्थलहरू संयोजन गरी एउटा भानु सर्किट बनाउन सकिने र यस सर्किटले भानुभक्तका स्मृतिलाई चिरकालसम्म जीवन्त बनाई राख्ने उहाँको भनाइ थियो । 

आफूले दार्जीलिङ र सिक्किमको भ्रमणका बेला यस्तो उद्यानको परिकल्पना गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले चुँदीरम्घाको डाँडामा सिक्किममा चार धाममा शिवजीको मूर्ति राखे जस्तै ठूलो बाटुलो भवनकोे धुरीमा भानुभक्तको प्रतिमा राखेर चारैतिर देखिने गरी अर्थात् दक्षिणमा बन्दीपुर, छिम्केश्वरी, पश्चिममा मानुङ, तनहुँसुर, उत्तरमा  मिर्लुङकोट र तुर्लुङकोट, पूर्वमा लिगलिग कोट हुँदै गोरखा कालिका र  मनकामनाबाटसमेत देख्न सकिने बनाऔँ भनेर यो  परिकल्पना अघि सारेको स्मरण गर्नुभयो । “नेपालका सात प्रदेश र सो क्षेत्रका सप्त गण्डकीसमेतको प्रतीकात्मक स्थलका रुपमा यो उद्यान तयार हुन सक्छ”, उहाँले भन्नुभयो । 

विश्वभरिका नेपालीहरूको सुझाव र सहयोग जुटाएर गुरु योजना अनुरुपको निर्माण कार्य गर्न उहाँले सुझाव दिनुभयो । “ यो उद्यान संसारभरि छरिएका नेपालीहरूले जीवनमा एक पटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र भावनात्मक रूपले नेपाली राष्ट्रिय एकता केन्द्र बन्ने गरी यसको निर्माण होस् भन्ने मेरो सदिच्छा छ”, उहाँले भन्नुभयो । 

कार्यक्रममा सांसदहरु प्रदीप पौडेल, कृष्णकुमार श्रेष्ठ “किसान”, शिशिर खनालले धेरै भन्दा छरितो संरचना, डिजिटल र प्रविधिमैत्री प्रस्तुतिहरु राखेर यसलाई एउटा आकर्षक स्थलका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले नगरपालिकाले यस सम्बन्धमा गरेका काम तथा योजना, समितिका उपाध्यक्ष डा व्रतराज आचार्यले भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र  र महासचिव काशीराज आचार्यले विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा डा वासुदेव त्रिपाठी, रमा शर्मालगायतका साहित्यकार, विभिन्न प्रतिष्ठानका उपकुलपति, प्राज्ञलगायतले भानु साहित्य उद्यानका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो ।

आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति : अध्यक्ष ओली

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत

काठमाडौं/१५ फागुन: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका  छन् । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणपछि संक्षिप्‍त भनाइ राख्दै अध्यक्ष ओलीले यो दुखद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनीले सङ्गीत कला क्षेत्रका महानुभावप्रति पनि समवेदना प्रकट गरे।

उनलाई श्रद्धाञ्जली दिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरलगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरुको उपस्थिति थियो । 

पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गर्दै फोजिनले बुझाएर स्मरणपत्र

Swoniga Online | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत

नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले स्मरणपत्र बुझ्याको छ।

आज मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै फोनिजले विसं २००८ साल जेठमा नेपाली पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम राख्न माग गरेका हुन्। फोनिजका केन्द्रीय अध्यक्ष गजुर्धन राईले पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई आन्दोलनको अल्टिमेटमसहित सो स्मरणपत्र बुझाउनुभयो।

फोनिजले स्वर्गीय श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गरी इतिहासलाई सम्मान गर्न माग गर्दै गत वर्ष पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाएकोले मंगलबार बुझाइएको पत्रलाई स्मरणपत्र भनिएको थियो।

स्मरण पत्र बुझ्दै पत्रकार महासंघका अध्यक्ष पोखरेलले पत्रकार महासंघ गलत तथ्यको आधारमा रम्न नचाहेको उल्लेख गर्दै प्राप्त तथ्य र प्रमाणको आधारमा इतिहास सच्याउने पक्षमा रहेको बताउनुभयो।‘ महासंघ गलत तथ्यको जगमा उभिन पटक्कै चाहेको छैन।तथ्यलाई सम्मान गरेर अघि बढ्न चाहन्छ । तर अहिलेको विधानले स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेको छ । यसबीचबाट इतिहास सही या गलत के हो भन्ने विषयमा विज्ञहरूसहितको टोलीबाट अध्ययन गराई टुगो लगाउँदा न्यायपूर्ण हुनेछ।’

‘संस्थापक अध्यक्षको विषयको अध्ययन छिटो होस् र एउटा टुंगोमा पुग्न सकियोस् भन्ने हाम्रो पनि चाहना हो, त्यसका लागि अध्ययन गराएर अघि बढ्नुपर्छ। त्यसका लागि महासंघले तत्काल पहल लिने छौं । ’ उहाँले भन्नुभयो।अध्यक्ष पोखरेलले महासंघको यही फागुन १९ गते बैठक रहेकाले त्यसमा सो विषय प्रवेश गराई छलफल गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

यस अघि फोनिजका अध्यक्ष राईले फोनिजको माग अनुसार एक साताभित्र स्वर्गीय श्रेष्ठलाई महासंघको संस्थापक कायम गर्न प्रक्रिया शुरु नगरे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो।उहा“ले सत्य र तथ्यको आधारमा रहेको चल्नुपर्ने पेशाकर्मीहरुको संगठनले तथ्यको आधारमा इतिहासलाई सच्याउने संकल्प नगर्न हो भने इतिहासको अगाडि लज्जित हुनुपर्ने बताउनुभयो।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले फोनिजको सुझाव र मागअनुसार महासंघले अध्ययन समिति बनाएर इतिहास र संस्थापकबारे टुंगो लगाउन तयार रहेकाले दबाबको कार्यक्रम नगर्न फोनिजलाई आग्रह गर्नुभयो । महासंघ महाधिवेशनको संघारमा रहेकाले आन्दोलन, तालाबन्दीजस्ता गतिविधि फोनिजले गर्न नहुने उहाँको भनाई थियो।वरिष्ठ उपाध्यक्ष विष्टले सो विषयमा महासंघ सचेत रहेकाले चा“डै अध्ययन समिति गठन गरेर अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो।

महासंघका महासचिव रोशन पुरीले तथ्यलाई कसैले पनि तोडमोड गर्न नमिल्ने भएकाले त्यसबारे अध्ययन गराएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । अध्ययन समिति बनाएर त्यसबारे निक्र्यौलमा पुग्नेगरी काम गर्न महासंघ तयार रहेकाले संघर्षका कार्यक्रम फिर्ता लिन उहाँले फोनिजसंग आग्रह गर्नुभयो ।

स्मरणपत्र बुझाउने टोलीमा फोनिजका पदाधिकारी र संघीय सदस्य सहित नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठसहितको टोलीको पनि सहभागिता रहेको थियो।

वार्तामा आउन आग्रह

महासंघका महासचिव रोशन पुरीले आज फोनिजलाई पत्र लेख्दै वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गर्नुभयो। फोनिजको अल्टिमेटमसहितको स्मरणपत्रले महासंघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले वार्ता र संवादमा आउन फोनिजलाई आग्रह गर्नुभयो।

महासचिव पुरीद्वारा जारी पत्रमा लेखिएको छ, ‘यो विषयलाई वार्ता र संवादमार्फत निश्चित विधि तय गरी टुग्याउनुपर्ने महासंघको निष्कर्ष छ । अतः घोषित आन्दोलनको कार्यक्रम फिर्ता लिई वार्तामा आउनका लागि हार्दिक अनुरोध छ ।’

चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत

ललितपुर/ १५ फागुन: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काेरियाकाे चेओरवन सहर र नेपालकाे ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी भएको जानकारी गराउनु भएको छ। कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डललाई ललितपुर महानगरपालिकाका स्वागत कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख महर्जनले कोरियाको चेओरवन सहरको असल अभ्यासहरु ललितपुर महानगरले अनुशरण गर्दै कार्यान्वयन गर्ने तयारी भएको बताउनु भएको हाे ।
"हामीले स्मार्ट सिटी बनाउने भनेर हरेक कामहरु त्यही अनुसार गरिरहेका छाैं, काेरियाकाे चेओरवन सहरसंग भगिनी सम्बन्ध कायम गर्दै त्यहाँका सकरात्मक पक्षहरुकाे ज्ञान हासिल गरेर हामी ललितपुरलाई अझै बढि व्यवस्थित महानगर बनाउने प्रयत्नमा लाग्नेछाैं। भगिनी सम्बन्ध कायम गरेर विकासका सन्दर्भमा त्यहाँका अभ्यासहरुलाई अनुशरण गर्ने हाम्रो प्रयास हुनेछ ।" प्रमुख महर्जनले भन्नुभयो ।
चेओरवन सहरका मेयर जोङले ललितपुरकाे कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताउनु भएको छ । "सुन्दर सहरमा निमन्त्रणा गरेर अवलोकन गर्ने अवसर दिनु भएकोमा धेरै धेरै धन्यवाद । यहाँकाे काष्ठकला, धातुकला र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला धेरै राम्रो लागेको छ ।" उहाँले भन्नुभयो ।
चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि यो भ्रमण महत्वपूर्ण हुने उहाँले बताउनुभयो । आगामी दिनमा भगिनी सम्बन्ध कायम गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने उहाँले बताउनुभयो । जोङले आफ्नो सहरमा ललितपुर महानगरका प्रमुख सहितको टाेलीलाई पुनः भ्रमणकाे निम्ता दिनुहुँदै कोरियामै भगिनी सम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने बताउनुभयाे ।

ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका असल अभ्यासहरु अवलोकनका लागि प्रतिनिधिमण्डल सहित चेओरवन सहरका मेयर ललितपुर आउनु भएको हाे । यसअघि गत असाेजमा ललितपुर महानगर प्रमुख महर्जनले कोरियाकाे भ्रमण गर्नुभएको थियाे ।

चेओरवन सहरका मेयर जोङकाे स्वागत कार्यक्रममा मन्तव्य राख्नुहुँदै उप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपालीले पाहुनालाई भगवान मान्ने बताउँदै कोरियाको चेओरवनका मेयरसहितको समूहलाई स्वागत  गर्न पाउँदा खुशी लागेको बताउनुभयाे । कोरियाबाट नेपालले उत्पादन, पर्यटन र पर्यावरणको क्षेत्रमा धेरै कुरा सिक्नु पर्नेमा उहाँकाे जाेड थियाे। दुई सहरले एक अर्काका असल अभ्यास सिक्नुपर्ने धारणा उहाँले राख्नुभयाे ।
मेयर ली ह्युन जोङको आठ सदस्यीय प्रतिनिधि मण्डलमा योजनाका निर्देशक, पर्यटन योजना विभागका निर्देशक, संस्कृति  र खेलकुद विभागका निर्देशक, अन्तर्राष्ट्रिय अफियरका इन्चार्ज लगायत हुनुहुन्छ ।
तीन दिने भ्रमणमा उहाँहरुले पाटन दरबार क्षेत्रको अवलोकन, बुङमतिका सम्पदा अवलोकन गर्नुहुने कार्यक्रम रहेकाे ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जले जानकारी गराउनुभयाे ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सूचनाअधिकारी देवप्रसाद गुरागाइँसहितकाे सहभागिता रहेको थियाे ।

Pages