add
Display Style: 
Column Style

पेट्रोल, डिजेलको मूल्य घट्यो

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १६, बुधबार वर्गीकृत

काठमाडौं/ १६ साउन, नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो। निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ।

मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ भएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ।

युगकवि सिद्धिचरणबाट म अति प्रेरित भएको छु : प्रधानमन्त्री ओली

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १४, सोमबार वर्गीकृत

काठमाडौँ/ १४ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले युगकवि सिद्धिचरण श्रेष्ठका रचनाबाट आफू ज्यादै प्रभावित भएको बताउनुभएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरूको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक रहेको बताउनुभएको हो ।

“जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरू चम्किनुपर्छ”, उहाँले भन्नुभयो । प्रम ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रूपमा प्रभावित रहेको उल्लेख गर्नुभयो । “उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति  प्रभावित छु”, उहाँले भन्नुभयो, “उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरू क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।”

युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उहाँको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद रु एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद रु ४० हजारसहित पुरस्कृत हुनुभयो ।

सोही समारोहमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गर्नुभयो ।

जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १४, सोमबार वर्गीकृत

काठमाडौँ/ १४ साउन, राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउँदै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गर्नुभयो । नेपालमा जापानको निःशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एशियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको बताउँदै नेपाल जापानबीचको सम्बन्ध जनस्तरमासमेत सुदृढ रहेको उहाँको भनाइ थियो ।  

उहाँले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्धमासमेत अन्तर्राष्ट्रिय मञ्चहरुमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गर्दै खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । नेपाली विद्यार्थीहरुले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकोमा पनि उहाँले सन्तोष प्रकट गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरुले नेपालमा लगानी गर्न चाहेको हुनाले ती कम्पनीलाई लगानीका लागि सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए । उनीहरुले जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमाा प्रविधि सिकेर नेपालनै फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुशी लागेको बताउँदै नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकाहरुलाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए । 

त्यस्तै उनीहरुले आर्थिक गतिविधिका लागि राजधानी काठमाडौँ बनिरहेको अहिलेको परिस्थितिलाई विकेन्द्रीत गरी गाउँगाउँबाट जापान जाने र प्रविधि सिकेर त्यही गएर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए ।

देशकाे क्षमताअनुसार बाघकाे संख्या वृद्धि गर्नुपर्छ - प्रधानमन्त्री ओली

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १४, सोमबार वर्गीकृत

ललितपुर/ १३ साउन : प्रधानमन्त्री के पी शर्मा ओलीले सीमिततामा आधारित रहेर देशकाे क्षमताअनुसार बाघकाे संख्या वृद्धि गर्नुपर्छ भन्ने धारणा राख्नुभयाे । विश्व बाघ दिवसकाे अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज साेमबार ललितपुरमा आयाेजना गरेकाे कार्यक्रममा बालबालिकाहरुसंग बाघ संवाद गर्नुहुँदै प्रधानमन्त्री ओलीले बन्यजन्तुकाे सिकार र चाेरीपैठारीकाे लागि प्रतिवन्ध लगाएइकाे स्मरण गराउँदै सीमिततामा आधारित रहेर देशकाे क्षमताअनुसार बाघकाे संरक्षण गर्ने नीति रहेकाे बताउनुभयो। 

"देशकाे क्षमताभन्दा बढि बाघकाे संख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी अन्धाधुन्ध बाघकाे संख्यामात्रै बृद्धि गर्दा मानवीय बिनास निम्त्याउन सक्छ। यस्तो अवस्था आउन दिनु हुँदैन" उहाँले भन्नुभयो, "प्रकृतिमा धेरै जीव तथा बन्यजन्तु रहेका छन्, उनीहरुका लागि सहज बासस्थान चाहिन्छ, उनीसंग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन, मानिसले सचेत भएर जंगली जनावरसंगकाे द्वन्द्वकाे परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलाे सुरक्षा मानिसलाई दिनुपर्छ।"

कार्यक्रममा लिटिल एञ्जल सहित विभिन्न पाँच विद्यालयका बालबालिकाहरुले राखेकाे प्रश्नको जवाफ दिनुहुँदै मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताउनुभयो । उहाँले बाघ र बन्यजन्तुकाे संरक्षणका लागि हालकाे सदर चिडियाखाना सानाे भएको बताउनुहुँदै अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयो। उहाँले बन्यजन्तुकाे संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा राख्नुभयाे । 

वि.सं. २०७३ सालमा आफै प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरकाे सुर्यविनायकस्थित प्राणी उद्यानकाे निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानाे भएकाले अन्यत्र पनि चिडियाखाना स्थापना गरि वर्गीकरणका आधारमा वन्यजन्तुहरुलाई संरक्षण गर्न पहल गरिने जानकारी गराउनुभयाे । 

तपाईंलाई प्रकृतिसंग प्रेम गर्न के कुराले प्रेरित गर्याे भन्ने विद्यार्थीकाे प्रश्नमा प्रधानमन्त्री ओलीकाे जवाफ थियाे,"प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानाे हुँदा गाेठालाे लाग्ने गरेकाले गाईभैसी चराउन जंगलमा जाँदा प्रकृतिसंग रमाउन थालें, त्यसैवेला मैले बाघ पनि देखें, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खाेला, नाला, जीवजन्तु, चराचुरुङ्गी सवैसंग प्रेम हुन थाल्यो।" 

बन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका दुर्लभ बन्यजन्तु नेपालमा पाइने बताउनुहुँदै संरक्षणका साझेदारीमा रहेका तीनै तहका सरकार संघसंस्था र सराेकारवालाहरुबीच समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले बाघकाे संरक्षणका लागि ठूलाे घाँसेमैदानका साथै वन, पानी सहितकाे बासस्थानकाे व्यवस्थापनलाई ध्यान दिइने जानकारी गराउनुभयाे ।  

"बाघलाई बनभित्र रहने र मानिसलाई निकुञ्जभित्र पस्न नदिने व्यवस्था गरिनुपर्छ, विकास र वातावरण विचकाे सन्तुलन मिलाउनुपर्ने छ, निकुञ्ज व्यवस्थापन र संरक्षणबाट राष्ट्रिय पर्यटनकाे आम्दानी वृद्धि गरिनुपर्छ ।" मन्त्री ठकुरीले भन्नुभयाे। 

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार सहित संरक्षणका साझेदारहरु मिलेर बाघकाे संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बाघ संरक्षणका लागि सदर चिडियाखानाकाे अहिलेकाे स्थान नपुग भएको जानकारी गराउँदै यसका लागि पहल गर्न प्रधानमन्त्री समक्ष अनुराेध गर्नुभयाे । उहाँले काेराेनाकालमा बन्यजन्तुलाई आहारमा समस्या हुँदा महानगरबाट रकम उपलब्ध गराएकाे जानकारी गराउनुहुँदै बन्यजन्तु संरक्षणका सन्दर्भमा महानगर र सदर चिडियाखानाबीच अत्यन्तै महत्त्वपूर्ण सम्बन्ध छ भन्नुभयो । उहाँले चिडियाखानामा सबै भन्दा बढि खर्च लाग्ने एउटा जनावरकाे खानाकाे लागि वार्षिक रुपमा रकम उपलब्ध गराइरहेको जानकारी गराउनुभयाे । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धु प्रसाद ढुंगानाले संविधानमा वातावरण संरक्षण गर्ने नीति समावेश भएको र साेही अनुसार ऐन,नियम तथा कानून बनेकाे जानकारी गराउनुभयाे । जैविक विविधताका दृष्टिले नेपालकाे तराई भूपरिधि क्षेत्र उपयाेगी रहेकाे भन्दै संयुक्त राष्ट्रसंघले सन् २०२३ मा नेपाललाई सम्मान गरेकाे जानकारी गराउनुहुँदै उहाँले यसबाट नेपालकाे पर्यपर्यटन र राष्ट्रिय अर्थतन्त्रमा समेत सहयाेग पुगेको धारणा राख्नुभयाे । 

वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव भुपाल बरालले बाघकाे संख्या बढ्नु जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण भएको बताउनुभयो । बाघकाे वासस्थानकाे संरक्षण र आहारकाे व्यवस्थापन महत्त्वपूर्ण छ भन्नुहुँदै उहाँले मानव बन्यजन्तुबीचकाे द्वन्दलाई कसरी गर्ने भन्ने चुनाैती बढ्दाे अवस्थामा रहेकाे धारणा राख्नुभयाे । 

प्रकृति संरक्षण काेषका अध्यक्ष कृष्णप्रसाद ओलीले विश्वमा नेपालले ओगटेको भूभागकाे तुलनामा बाघ, बन्यजन्तु तथा चराचुरुङ्गीकाे संरक्षणमा अग्रणी स्थानमा रहेकाे बताउनुभयो। 

कार्यक्रममा सदर चिडियाखानासंग सम्बन्धित रहेर संरक्षणका क्षेत्रमा ज्ञान हासिल गरिरहेका बालबालिकाहरुले बाघ संरक्षणका सन्दर्भमा लघु नाटक समेत प्रदर्शन गरेका थिए । 

मानव बाघ सहअस्तित्व र समृद्धि भन्ने नाराका साथ यस वर्षकाे विश्व बाघ दिवस मनाइएको छ । सन् १९७०काे दशकबाट मात्रै नेपालमा बाघ संरक्षणकाे प्रयास भएको पाइन्छ। बाघकाे संख्या सबैभन्दा धेरै हुने विश्वका १३ राष्ट्रहरुमा नेपाल पनि पर्दछ।   रसियाकाे सेन्ट पिटर्सवर्गमा सन् २०१० मा बाघ पाइने १३ राष्ट्रहरुबीच भएको समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपालले सन् २०२२ सम्म बाघकाे संख्या दाेव्वर पार्ने प्रतिवद्धता गरेकाे थियाे । त्यसवेला नेपालमा बाघकाे संख्या १२१ थियाे । त्यसपछि सन् २०१४ मा १ सय ९८, सन् २०१८ मा २ सय ३५ पुगेको थियाे । सन् २०२२ मा नेपालका चितवन, बाँके, वर्दिया, शुक्लाफाँटा र पर्सासहित पाँच वटा निकुञ्जमा रहेका बाघकाे संख्या ३ सय ५५ पुगेको थियाे। हरेक चार वर्षमा बाघकाे संख्या गणना गर्ने व्यवस्था अनुसार अब सन् २०२६ मा नेपालमा बाघको संख्या गणना हुनेछ ।

बागमती प्रदेशमा मन्त्रीकाे जिम्मेवारी हेरफेरसंगै मन्त्रीपरिषद विस्तार

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १२, शनिबार वर्गीकृत

हेटौंडा/ १२ साउन, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रीहरुकाे जिम्मेवारी हेरफेर गरेसंगै मन्त्रीपरिषद विस्तार भएको छ। विस्तारित मन्त्रीपरिषदमा रसुवााका प्रभात तामाङलाई हटाएर काठमाडौं ६ बाट निर्वाचित प्रदेशसभा सदस्य हरिप्रभा खड्गीलाई समेटिएको छ। 

उहाँले सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गीलाई नियुक्त गर्नुभएकाे छ। त्यस्तै  सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिनुभएकाे हाे ।

बुधबार विनाविभागीय मन्त्रीको शपथ लिएका काफ्लेलाई मुख्यमन्त्री लामाले बिहीबार नै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनुभएकाे थियाे। तर, काफ्लेले आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाव दिनुभएकाे थियाे ।

लामाले काफ्लेलाई आर्थिक मामिला पठाएसँगै रिक्त रहेको सामाजिक विकास मन्त्रालयमा हरि प्रभा पुग्नुभएकाे हाे । यसअघि महिलालाई मन्त्री नबनाएको भन्दै कांग्रेसभित्र विवाद चर्किएको थियो ।

बागमती प्रदेशमा एक महिलासहित १४ सदस्यीय मन्त्रीपरिषद

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १०, बिहिबार वर्गीकृत

हेटौंडा/१० साउन, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रीपरिषदमा १४ सदस्यीय मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामालाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। मंगलबार नियुक्त हुनुभएका लामाले बुधबार सपथ ग्र्रहण गर्नुभएको थियो । बुधबार मुख्यमन्त्रीको सपथ लिनुभएका मुख्यमन्त्री लामाले एक महिला सहित १४ सदस्यीय मन्त्रीपरिषद विस्तार गर्नुभएको हो । बुधबार एमालेका ६ र काँग्रेसका तीन मन्त्रीसहित सपथ ग्रहण गर्नुभएका लामाले विहिबार काँग्रेसका चार जना मन्त्री नियुक्त गर्नुभएको हो । मन्त्रीमा नियुक्त गरेपनि कांग्रेसमा मन्त्री नियुक्तिको आन्तरिक विवाद र नेकपा एमालेको असहमतिले आज साँझ सवा ५ बजेलाई तय भएको मन्त्रीहरूको शपथ स्थगित भएको मुख्यमन्त्री लामाले जानकारी गराउनु भयो ।
मुख्यमन्त्री लामाले आजै मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो। उहाँले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गर्नु भएको हो । कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री हुनुभएको छ । प्रभातलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र बिमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बुधबार मन्त्री नियुक्त हुनुभएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाउनुभएको छैन। कांग्रेसबाट नवनियुक्त सामाजिक विकासमन्त्री कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय माग्नुभएको छ। काफ्लेले यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय माग्नुभएको थियो ।

कांग्रेसले पहिला लगाइसकेको भागबन्डामा परिवर्तन गरी भौतिक एमालेलाई दिएर आर्थिक मामिला मन्त्रालय लिएको थियो । आफूलाई सामाजिक विकास मन्त्रालय नियुक्त गरेको खबरपछि काफ्ले प्रदेश प्रमुख कार्यालयमै आएर मुख्यमन्त्री लामासँग असन्तुष्टि पोख्नुभएको थियो । उहाँ आधा घण्टा बढी समय लामासँग वार्ता गरेर भर्खरै प्रदेश प्रमुख कार्यालयबाट निस्किनुभएको हो। वार्ता सकारात्मक नभएको बुझिएको छ ।

यसैगरी मुख्यमन्त्री लामाले सल्लाह नगरी मन्त्री थपेको भन्दै एमालेले असहमति राखेको छ । शपथ कार्यक्रमकै लागि प्रदेश प्रमुख कार्यालय आएका एमाले दलका नेता जगन्नाथ थपलियाले मन्त्री थप्ने एकल निर्णयप्रति असहमति राख्दै बाहिरिनुभएको थियो । एमालेले मन्त्रालय फुटाएर मन्त्रालय संख्या बढाउन नदिनेबारे लामालाई थपलियाले स्पष्ट पारेको छलफलमा सहभागी स्रोतले भन्यो ।

मुख्यमन्त्री लामाले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेको पत्र लिएर शपथ अघि मात्रै प्रदेश प्रमुख कार्यालयमा आउनुभएको थियो । १४ सदस्यीय मन्त्रिपरिषद्‌मा एमालेबाट प्रकाश श्रेष्ठ कृषि, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापा मगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम रोजगार र शुकमाया तामाङ उद्योगमन्त्री हुनुहुन्छ ।

बुद्ध दर्शन वैज्ञानिकतामा आधारित छ : प्रधानमन्त्री ओली

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १०, बिहिबार वर्गीकृत

काठमाडौं/ १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्ध दर्शन वैज्ञानिकतामा आधारित भएकाले यसलाई कमजोर हुन नदिइने बताउनुभएको छ ।
नेपाल मण्डल लिटरेचर कल्चर टष्टद्वारा बुधबार आयोजित बौद्ध विद्वान डा अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा अनगारिका गुरुमाँहरुमा सङ्घदान कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री ओलीले  आफू आज कार्यक्रममा आउँदा प्रशनन चिन्तन लिएर आउने सोचमा रहे पनि अकल्पनीयरुपमा आजै भएको सौर्य एयरको विमान दुर्घटनास्थलमा पुगेर आउनुपरेकाले भारी मन लिएर आउन विवश भएको सुनाउनुभयो । उहाँले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र मृतकका परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थलाभको कामना गर्नुभयो ।
नेपाली सामाजिक, धार्मिक र प्राकृतिकरुपमा विविधतायुक्त मुलुक भएकाले कसले कुन धर्म मान्छ, मान्दैन भन्ने कुरा बेग्लै भए पनि सरकारले नेपाल सबै नेपालीको साझा हो भन्ने कुरालाई आत्मसात् गर्ने स्पष्ट गर्नुभयो । “नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बुद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथ मै प्रधानमन्त्री हुँदा सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको थियो । राणाकालमा भिक्षु—भिक्षुणी हुनुलाई अपराध मानिन्थ्यो । बुद्ध दर्शनलाई जटि बनाइनु हुँदैन । यो वैज्ञानिकतामा आधारित छ । हामी बुद्धका ज्ञान र शिक्षालाई विस्तार गराउने पक्षमा छौँ ।”
प्रधानमन्त्री ओलीले ज्ञानलाई थुपारेर राखेर नबढ्ने भएकाले डा शाक्यले आफूमा भएको ज्ञानलाई वितरण गरेकामा खुसी व्यक्त गर्नुभयो ।

जहाज दुर्घटनाको छानबिन आयोग गठन, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ९, बुधबार वर्गीकृत

काठमाडौं/९ साउन, मन्त्रिपरिषद् बैठकको निर्णयले  त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको  छ । बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिनआयोग गठन गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी गराउनुभयो ।

"नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा संयोजकमा गठित समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको छ ।" गुरुङले भन्नुभयो ।

त्यस्तै आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक तर्फका सवै वायुसेवा कम्पनीहरूले जहाजको अनिवार्य परिक्षण गर्ने र नागरिक उड्ययन प्राधिकरणले सघन अनुगमन गर्नुपर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पनि गुरुङले बताए । बैठकले विमान दुर्घटनाले स्तव्ध भएको जनाउँदै मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गरेको छ । विमान चालक  मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता गुरुङले जानकारी गराउनुभयो ।

 

 

सौर्य एयरलाइन्सको जाहाज दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ९, बुधबार वर्गीकृत

काठमाडौं/ ९ साउन, सौर्य एयरलाइन्सको जाहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि आज बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना भएकोप्रति दु:ख व्यक्त गरेको छ । 

विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पाैडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दुर्घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले उहाँहरुको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौं: राष्ट्रपति

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ९, बुधबार वर्गीकृत

काठमाडौँ/ ९ साउन, राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेको र यो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २५०औं जन्मजयन्तीको अवसरमा शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । 

“भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ”, उहाँले भन्नुभयो, “नेपाल आदिकालदेखि दक्षिण एशियामा एकमात्र स्वतन्त्र राष्ट्र रहन सफल मुलुक हो, अभिशप्त इतिहास मात्र होइन नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाईएको पनि छ, त्यसको सत्यतथ्य यथार्थ रुपमा राखेर विश्वमा प्रचार गर्न आवश्यक छ ।”

उहाँले वर्तमान इतिहासको जगमा उभिएको हुन्छ र, त्यही जगमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । “हाम्रा वीर पूर्खा र अग्रजहरूकै सुझबुझपूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौ”, उहाँले भन्नुभयो । 

राष्ट्रपति पौडेलले आफ्नो शासनकालमा सामाजिक, आर्थिक र कानुनी क्षेत्रमा सुधार गरी सेनालाई आधुनिकिकरण गराउने तथा सामाजिक सुधारका कार्य अन्र्तगत कैयौ कुप्रथा र कुसंस्कारको अन्त्यमा योगदान दिनुभएका राष्ट्रिय विभूति भीमसेन थापा एक प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । “भीमसेन थापाकै राष्ट्रवादी अडानका कारण नेपाल स्वतन्त्र रहन सक्यो”, उहाँले भन्नुभयो । 

विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबीच आपसी मित्रता, मेलमिलाप र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता भएको उहाँको भनाइ थियो । 

अनेकतामा एकता र भौगोलिक विविधता हाम्रो मौलिकपन हो भन्नुभयो । “ यही मौलिकपनले सदियौदेखि हामीबीच राष्ट्रप्रेमको भावनालाई जागृत र जीवन्त बनाउँदै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको छ भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो । 

राष्ट्रिय एकताको जगमानै जनचाहनाअनुरुप उत्पादन, रोजगारी र सुशासन कायम गरी हामीले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अझ सुदृढ र व्यवस्थित गरी आर्थिक रुपमा समृद्ध र विकसित नेपाल निर्माण गर्नेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो । 

नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाको लागि योगदान पु¥याउनुभएका राष्ट्रवादी एवम् स्वाभिमानी राष्ट्रसेवकको स्मृतिमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले पुरस्कार एवम् सम्मानको व्यवस्था गरेर उदारणीय कार्य गरेको उहाँको भनाइ थियो । 

सो अवसरमा राष्ट्रपति पौडेलले मृगेन्द्र सम्झना चिकित्सा गुठीलाई एक लाख एक हजार एक सय ११ रुपैया राशिसहितसहितको सम्मान एवम् पुरस्कार प्रदान गर्नुभयो ।

Pages