add
Display Style: 
Column Style

पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारणसभा सम्पन्न

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारणसभाको चटारो छ । यहि क्रममा मंगलबार नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यसअघि काभ्रे जिल्ला शाखाले फागुन ८ गते कार्यक्रम गरेको थियो । चैत महिनाको केन्द्रिय साधारणसभा अघि देशभरका २४ जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा कार्यक्रम भइरहेको छ ।
भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । व्यावसायिक पत्रकारिताको आवश्यकतालाई औँल्याउँदै संस्थागत रुपमा अघि बढ्न अपिल समेत गर्नुभयो ।
“धर्मादित्य धर्माचार्य आदिवासी जनजाति मध्येका सबसे पुराना मातृभाषी पत्रकार हुन् । करिव एक सय वर्ष अघि उहाँले बुद्धधर्म नामको पत्रिका प्रकाशण गरेका छन् । यो तथ्यलाई नेपाल आदिवासी जनजाती पत्रकार महासंघले समेत स्वीकार गरेको छ ।” अध्यक्ष बज्राचार्यको भनाइ थियो । त्यस्तै, अध्यक्ष बज्राचार्यले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गर्दै पत्रकारहरुलाई २००८ सालमै संगठित बनाएको स्मरण गर्नुभयो ।
त्यस्तै महासचिव सुनिल महर्जनले सांस्कृतिक र खोजमूलक पत्रकारिता गर्न आग्रह गर्नुभयो । भक्तपुरमा सक्रिय सञ्चारकर्मीहरुले समाचारमा फरक कोणलाई प्राथमिकता दिँदैआएकोमा धन्यवाद दिँदै अझै स्तरिय समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल संवत् ११३२ मा स्थापना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका संस्थापक अध्यक्ष केके मानन्धर, निवर्तमान अध्यक्ष ईश्वरकाजी खाइजु, कृष्ण किसी, सुरेश साँय्जु, शिमान्त सिल्पकार लगायतको योगदान स्मरण गर्नुभयो ।
त्यस्तै कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरुको जटिल प्रकृतिको स्वास्थ्य समस्यामा पत्रकार राष्ट्रिय दबूले आर्थिक सहयोग गरिरहेको बताउनुभयो । पत्रकार राष्ट्रिय दबूमा आवद्ध सञ्चारकर्मीहरुको लागि पन्ध्र लाखको अक्षय कोष स्थापना भइसकेको बताउँदै सोही कोषलाई बढाएर ५० लाख पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिमा आवद्ध पत्रकार रत्न श्रेष्ठले उहाँका अभिभावकको स्मृतिमा “हरिलाल, श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपा” घोषणा गर्नुभएको छ । पत्रकारितामार्फत योगदान दिएका सञ्चारकर्मीलाई प्रोत्साहित गर्न पुरस्कारको घोषणा भएको जनाएको छ । पुरस्कारको लागि कोषाध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठमार्फत पत्रकार राष्ट्रिय दबूलाई नगद हस्तान्तरण गरिएको छ ।
 
पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला अध्यक्ष रामगोपाल तमखुको सभापतित्वमा आयोजित कार्यक्रममा बाबुकाजी साःछेँ श्रेष्ठ, हरिसुन्दर छुकाँ, सुरेश ख्वाकः श्रेष्ठ, प्रकाश मल्ल लगायतका सञ्चारकर्मीहरुको सहभागिता थियो । कार्यक्रमलाई पत्रकार राष्ट्रिय दबू भक्तपुरका सचिव देवेन्द्र प्रजापतिले सञ्चालन गर्नुभएको थियो ।

पीतपत्रकारिताको शिकार भए पत्रकार

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

पछिल्लो समय सस्तो लोकप्रियताका लागि पीत पत्रकारिता गर्ने सञ्चारमाध्यमहरुको बिगबिगी बढेको छ । सस्तो लोकप्रियताका लागि सञ्चारको मूल मन्त्र सत्य तथ्य र निष्पक्षतालाई तिलाञ्जली दिई एकपक्षीय, तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरेर व्यक्तिगत र सामूहिक चरित्र हत्या हुने किसिमको समाचार प्रशारण गर्नुलाई नै केही सञ्चारमाध्यमले आफ्नो धर्मका रुपमा लिएको पाइएको छ । 

पत्रकार आचार संहिताको कुनै पनि बुँदा पालना नगरी आफ्नो मनमानी समाचार सिर्जना गरेर त्यसबाट समाज र व्यक्तिमा कस्तो असर पुग्छ भन्ने सामान्य मानवीय भावनाको समेत ख्याल नगर्ने यस्तो प्रवृत्तिले आम जनतात पीडित थिए नै पछिल्लो समय पत्रकारिता क्षेत्रमै समर्पित व्यक्ति पनि यसको शिकार बन्न पुगेको छ । 

“चिसो काठमाडौंमा चिसै मन भएका निर्दयी घरबेटी” शिर्षक दिएर एक टेलिभिजन च्यानलले प्रशारण गरेको समाचार कपोलकल्पित र भ्रामक भएको पत्रकार एवम् घरधनी हिमेशरत्न बज्राचार्यले बताएका छन् । उनले आफ्नो मखन कामपा २४ वडास्थित घरमा डेरा गरी बस्ने ललिता श्रेष्ठलाई जबरजस्ती कोठामा रहेको सामान फ्याँकेर निकालेको भनेर योहो टेलिभिजनले दिएको समाचार एकपक्षीय, भ्रामक र कपोलकल्पित हो भनेका छन् । 

उनले यसमा श्रेष्ठ परिवारको बदनियत देखिएको र एक सामान्य डेरा बसेको कोठा छोडेर जाने कार्यलाई नचाहिँदो रुपमा भ्रम सृजना गरेर आफ्नो प्रतिष्ठामा नै आँच पु¥याउने कार्य गरेको बताए ।

पत्रकार बज्राचार्यले लामो समयदेखि कोठा भाडा पनि नतिरेको र घरमा ट्यांकी राखेर पुनःनिर्माण गर्नुपर्ने भएकोले कोठा खाली गर्न ३ महिना अगावै सूचना दिएको बताएका छन् । यस अघि पनि पटक पटक कोठा खाली गर्न अनुरोध गरेको र कोठा खालि गर्ने दिन आफ्नै सहमतिमा सामान ओसारेर चोकमा थुपारेको र कामपा २४ वडा कार्यालयमा बाँकि घरभाडा तिर्न मञ्जुरीनामा समेत गरेको बताए ।

पत्रकार बज्राचार्यले आफू र आफ्नी श्रीमती पूजा शाक्यले ललिता श्रेष्ठ र उनका छोरा प्रज्वल श्रेष्ठलाई कुनै दुव्र्यवहार नगरेको बताउँदै यसअघि पनि कोठाभाडाको विषयमा विवाद हुँदा बाँकि रहेको कोठाभाडा तिर्न मञ्जुरी गरी महानगरीय प्रहरी परिसर जनसेवामा कागज गरी दिएको जनाए । 

टोलछिमेकका मानिसहरुले समेत ललिता श्रेष्ठको काम र व्यवहार उचित नभएको गुनासो आएको बताउँदै बज्राचार्यले ललिता श्रेष्ठ र उनको छोरा २०७६ फागुनमा कोठा डेरामा लिएर बस्न आएको समयमा आफूहरुसँग सम्पर्क समेत नगरेको तथा २०७७ भदौमा मात्र आंशिक रुपमा कोठाभाडाबापतको रकम प्राप्त भएको बताए । 

यसै सन्दर्भमा कामपा २४ वडाका सदस्य सुमन स्थापितलेभने, ‘घरबेटीबाट ललिता श्रेष्ठ र उहाँको छोरा प्रज्वल श्रेष्ठलाई कुनै पनि किसिमको गलत आसयबाट काम भएको छैन । घरधनी हिमेशरत्न वज्राचार्य र उहाँकी श्रीमति पूजा शाक्यबाट कोठाको सामान फ्याँकेका होइनन्, बरु श्रेष्ठ परिवारले नै सामान ओसारेका हुन् । कुनै किसिमले जोरजबरजस्ती भएको छैन । आफैले सामान ओसारेर पछि हाम्रो सामान फ्याँकि दियो भनेर आरोप दिन्छ भनेर कसरी पत्याउने ?’

यसै सन्दर्भमा जनसेवाका डीएसपी दीलबहादुर मल्ललेभने, ‘घटनाबारे जानकारी आउनासाथ प्रहरी पठाएका छौं । स्थानीयबासीसँग सोधपुछ ग¥यौं । स्थानीयवासीले दिएको जानकारी अनुसार कोठा भाडामा बस्नेको धेरै नै कमजोरी रहेको देखिएको छ ।’

 

सभामुख श्रेष्ठसहित दर्जन बढी सम्मानित

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसहित एक दर्जन बढीलाई नेवाः गुठी खलः मकवानपुरको प्रथम साधारण सभामा सम्मानित गरिएको छ । हेटौंडामा शनिवार भएको सभामा नेपाल र नेवार समुदायको विकास, मान, सम्मानमा योगदान पु¥याएको भन्दै सभामुख श्रेष्ठ, प्रदेश सांसद जुनेली श्रेष्ठ, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ लगायतलाई सम्मान पत्र गरिएको थियो ।

त्यस्तै, विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका नेवारहरूलाई प्रसंशापत्र प्रदान गरिएको कार्यक्रममा ९० बर्ष नाघेका नेवार जेष्ठ नागरिकहरूलाई खादा ओडाएर अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेवारी भाषा, संस्कृति बिशिष्ट रहेकाले संरक्षण गर्न नेवार समुदाय सचेत हुनुपर्नेमा जोड दिए । शंखधर साख्वाःको प्रतिमा बनाउन प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको भन्दै उनले निर्माणाधिन शंखधर साख्वाः पार्कलाई विसुद्ध नेवार संस्कृतिमय बनाउनुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथी एवं सभामुख श्रेष्ठले नेपालको अस्थित्वको लागि रञ्जना लिपि(नेवारी भाषा) र नेपाल सम्बतको महत्वपूर्ण योगदान रहेको भन्दै नेवारी भाषा, संस्कृति संरक्षण गर्न राज्य(सरकार)ले विशेष भुमिका खेल्नुपर्ने बताए । प्रदेश सांसद श्रेष्ठले नेवार समुदायको विकासका लागि आफुले भुमिका खेल्ने भन्दै शंखधर साख्वाः पार्कलाई आकर्षक बनाउनुपर्नेमा जोड दिईन् ।

कार्यक्रमका सभाध्यक्ष एवं नेवाः गुठी खलःका अध्यक्ष अनिल खड्गीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गरेको कार्यक्रममा हेटौंडा १२ मा एक विगाहा चार कठ्ठामा निर्माणाधिन शंखधर साख्वाः पार्कबारे ईन्जिनियर बिन्द्रलाल श्रेष्ठले नक्सा र बिस्तृत योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष बिष्णुगोपाल महर्जन, राष्ट्रिय भूमिअधिकार मञ्च मकवानपुरका अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, नेवारी दोलखा भाषा विज्ञ एवं पत्रकार बालकृष्ण श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन साँगामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पुनः खड्गीकै अध्यक्षतामा नयाँ समिति चयन 

यसैबिच, साधारणसभाले पुनः अनिल खड्गीकै अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा विष्णुलाल श्रेष्ठ र यज्ञबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा मेनुका श्रेष्ठ, महासचिवमा देवकुमार श्रेष्ठ, सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा रामकुमार श्रेष्ठ, सहसचिवमा अम्बिका देउला, सहकोषाध्यक्षमा शर्मिला श्रेष्ठ रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा विरेन्द्र कक्षपति, सुस्मिता बलामी, लक्ष्मी श्रेष्ठ, राजु श्रेष्ठ, विजयकुमार प्रधान, रूपकराज बज्राचाय, शोभा शाही र कृष्णबहादुर नगरकोटी रहेका छन् ।

पितृसत्तात्मक सोच अझै हावी : सन्दर्भ अन्तर्राष्ट्रिय माहिला दिवस

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरण चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै आयोगका अध्यक्ष पराजुलीले पितृसत्तात्मक सोच पुरूषहरूमा मात्र नभइ राज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको अन्त्यका लागि सबैमा जागरण आवश्यक रहेको बताउनु भयो ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा संयुक्त राष्ट्र संघले यस दिवसलाई महिला दिवस मात्र भनेपनि यसको सुरूवात श्रमिक महिलाले समान पारिश्रमिक पाउनु पर्ने माग भएको भन्दै सबै महिला श्रमिक भएका कारण पनि श्रमिक महिला दिवस भन्नु उपयुक्त रहेको उनको भनाइ थियो ।

महिला जीवनलाई बालिका, किशोरी, वयस्क, जेष्ठ र वृद्ध अवस्था गरी ५ अवस्थामा विभाजन गर्न सकिने बताउँदै अहिले वयस्क महिलाको मात्र समस्याको कुरा भइरहेको चर्चा गर्दै आराम गर्नु पर्ने उमेरमा समेत वृद्ध अवस्थाका महिलाहरु घरका विभिन्न काममा सक्रिय रहनु पर्ने स्थिति समाजमा रहेको र नाति नातिनालाई हेर्न र खाजा पकाएर खुवाउने लगायत काम गर्न नसकेको अवस्थामा अवस्थामा छोरा बुहारीले घरबाटै निकाली दिने भोगाइ रहेको बताए ।

कार्यक्रममा महिला हिंसा न्यूनिकरणका लागि क्रियाशील पत्रकारहरू मीरा (उषा) लोहनी, लक्ष्मी पुन र सम्झना महर्जनका साथै समाजसेवी गीता गुरूङ्गलाइ दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

महिला हिंसा न्यूनिकरणमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा मानव अधिकारका लागि महिला एक महिला समूहकी संस्थापक अध्यक्ष एवम् राष्ट्रिय महिला आयोगका सदस्य लिलि थापा र सिविन नेपालया कार्यकारी निर्देशक सुम्निमा तुलाधरले प्रमुख वक्ताका रूपमा महिला र बालिकाहरूले भोगिरहेका हिंसाका घटना सम्बन्धमा आफ्ना कुरा राखेका थिए । वक्ता थापाका अनुसार जस्तोसुकै नीति नियम तथा सोचमा परिवर्तन आयो भनेपनि सनसनी फैलाउने विषयहरुले स्थान पाउने तर महिला सशक्तिकरणका विभिन्न मुद्दाहरुले संचार माध्यममा अझै निकै कम मात्र स्थान पाएको उल्लेख गरे । जबसम्म सबै एक भएर साझा मुद्दाका रुपमा आवाज उठाउन सकिँदैन तबसम्म परिवर्तन टाढिँदै जाने उल्लेख गर्दै यसका लागि राजनीति, जाति, धर्मभन्दा पर मात्र महिला आवाज उठाउने महिला महासंघ आवश्यक रहेको बताए ।

अन्तरक्रियामा बालवालिकाप्रति हुने दुब्र्यवहार र हिंसाका विषयमा आफ्नो मन्तब्य राख्दै देशका उच्च पदस्थ ब्यक्तिहरुको स्थानमा सडक बालबालिका, बाल श्रमिकहरुको रहेको हेर्न चाहने कि नचाहने भनी प्रश्न गर्नुभयो । बालबालिकाहरुप्रति हुने हिंसा न्यूनिकरणका लागि अध्ययन अनुसन्धान महत्वपूर्ण छ तर यसका लागि कति संचार माध्यमले लगानी गर्छ ? निडर, निर्भिक भइ अध्ययनमा कुनै किसिमको असुरक्षा अनुभूति भए संचारकर्मीसाथ संचार माध्यम उभिनुपर्छ, पत्रकारमा दक्षता अभिबृद्धि तथा मुद्दाका बारेमा लेख्ने पत्रकारको सुरक्षाका विषयमा ध्यान जानुपर्छ भन्नु भयो । बालबालिका उद्धारमा समाचारको प्रभावले सकारात्मक परिणामहरु आएका छन् तर पीडितका पछि लाग्ने संचार माध्यम पीडक पछाडी सक्रिय भएर लाग्नु पर्ने बताए ।

कार्यक्रमका अतिथि मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष कुन्ता शर्माले नेपाल सरकारका विभिन्न प्रावधानहरुबारे लक्षित समूहसम्म ती सूचना पुग्न सकेको छैन भन्दै अभियानको उपलब्धि मध्ये विभिन्न संयन्त्रमा महिला समावेशीकरणको अभ्यास पनि भयो तर तिनै स्थानमा प्रतिनिधित्व गर्ने महिलाहरुले आवाज राख्न नसकेको अवस्था एकातिर छ भने अर्कोतिर उठाएको आवाज पनि सम्बोधन नहुने अवस्था छ । यी अवस्था परिवर्तनमा संचार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले दबूले राज्यको असमान ब्यवहारकै कारण नेवाः पत्रकार संगठित भएको उल्लेख गर्दै महिला हिंसा तथा बालबालिकाप्रति हुने हिंसा न्यूनिकरणमा दबूमा आवद्ध पत्रकारहरु निरन्तर सक्रिय रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उनले सूचनाको शक्तिबाट समाजमा परिवर्तन ल्याउन अनुभवी, विद्वत वर्गसँग अन्तरक्रिया पनि निरन्तर गर्दै जाने बताए ।  

महिला विभाग प्रमुख एवम् पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष रचना श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा दबूका केन्द्रीय सहसचिव प्रेरणा शाक्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन दबूका केन्द्रिीय सदस्य सुनीता महर्जनले संचाल गरेका थिए ।  यस कार्यक्रममा पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाकी सदस्य एवम् स्वास्थ्यकर्मी विमला मानन्धरले यौन हिंसा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि संस्थाहरूले गरिरहेका प्रयासको बारेमा प्रश्न राखेका थिए । विभागका मीना बज्राचार्य, अनिता महर्जन, रूवि श्रेष्ठले कार्यक्रम ब्यवस्थापनमा सहयोग गरेका थिए । 

परिक्षणको ९.१९ प्रतिशतमा संक्रमण पुष्टि

Swoniga Online – Bikesh Raj Sharma | २०७७ पौष २७, सोमबार वर्गीकृत

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको ९ दशमलव १९ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

५ हजार ३ सय ९ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय ९२ महिला र २ सय ९६ जना पुरुष रहेका छन् ।

आज थप भएका कुल संक्रमितमध्ये ६४ दशमलव ३४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट छन् । काठमाडौं उपत्यकामा आज एक सय ९२ महिला र एक सय ८५ पुरुष गरी ३ सय १४ नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा २ सय ३०, ललितपुरमा ६९ र भक्तपुरमा १५ जना थप नयाँ संक्रमित भेटिएका हुन् ।

आजको थप संख्यासँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ । आरटी पिसिआर विधिबाट स्वाब नमूनाको कुल परिक्षण संख्या १९ लाख ८७ हजार ५ सय ५५ पुगेको छ ।

थप ५ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएसँगै संक्रमण निको हुनेको कुल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।

पछिल्लो पटक थप १० जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय २७ पुगेको छ ।

हाल ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित उपचाररत छन्, जसमध्ये ३ हजार एक सय ४३ जना संस्थागत आइसोलेसनमा छन् भने एक हजार २ सय ३० जना होम आइसोलेसनमा छन् ।

एक सय ६३ जना आइसीयूमा उपचाररत छन् भने ३७ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

ताप्लेजुङ र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौं जिल्लामा मात्रै रहेको छ । काठमाडौंमा हल २ हजार एक सय ५५ जना सक्रिय संक्रमित छन् ।

४ हजार बढि परिक्षणमा मात्र २५९ जनामा संक्रमण पुष्टि

Swoniga Online – विकेश राज | २०७७ पौष २६, आइतबार वर्गीकृत

नेपालमा गएको २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा कोरोना भाईरसका २ सय ५९ जना नयाँ संक्रमित थप भएका छन् । ४ हजार २ सय ८६ वटा स्वाब नमूनाको परिक्षणमा ९९ महिला र एक सय ६० जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । हालसम्म जम्मा १९ लाख ८२ हजार २ सय ४६ स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएको छ ।

पछिल्लो पटक ५ सय १३ जना संक्रमित निको भएका छन् । हालसम्म कुल संक्रमितमध्ये २ लाख ५८ हजार ४ सय ४१ जना संक्रमित निको भइसके ।

गएको २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय १७ पुगेको छ ।

४ हजार ४ सय २२ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार एक सय ७९ होम आइसोलेसनमा छन् भने ३ हजार २ सय ४३ संस्थागत आइसोलेसनमा छन् । एक सय ९१ जना आइसीयूमा उपचाररत छन् भने ४४ जना भेन्टिलेटरमा छन् ।

ताप्लेजुङ, सोलुखुम्बु र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै रहेको छ । हाल काठमाडौंमा २ हजार एक सय ६ जना सक्रिय संक्रमित उपचाररत छन् ।

Rastriya

Pages