add
Display Style: 
Column Style

खुलामञ्चमा फेरि डोजर चल्यो

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ चैत्र १, आइतबार वर्गीकृत

राष्ट्रिय महत्वका संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ ।

केही समय अघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आज पनि खुलामञ्चमा डोजर चलाएर थप संरचना भत्काइ दिएको छ । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यहि अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।

‘आज खुलामञ्चमा पुर्ननिर्माणका लागि निर्माण सामग्री राख्न निर्माण गरेका संरचना वरीपरीको वार भत्काएका छौँ,’ उहाँले भन्नुभयो, ‘अब त्यहाको अस्थायी संरचना पनि छिट्टै भत्काउँछौँ र खुलामञ्चलाई पुरै खुला गर्छौ ।’ 

काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) को निर्देशन अनुसार नै खुला गर्ने अभियानलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।

दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको र  वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा रहेको भन्दै केही दिनभित्रै सबै खुला गर्ने जानकारी दिनुभयो । ज्ञवालीले अस्थायी वसपार्कलाई पनि अन्तै व्यवस्थापन गरी छिट्ै त्यसलाई समेत खुला गर्ने जानकारी दिनुभयो ।

घरघरमा पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ चैत्र १, आइतबार वर्गीकृत

पञ्चबज्र बज्राचार्य ललितपुर महानगरपालिकाकाकै ज्येष्ठ वडा सदस्य हुनुहुन्छ । घरघरमा पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने काममा उहाँको जाँगर अझै सेलाएको छैन, त्यसको उल्टो जाँगर अझै थपिएको बज्रचार्यले महशुस गर्नुभएको छ ।

ललितपुर महानगरपालिका– १६ वडा स्तरीय ज्येष्ठ नागरिक समिति स्थापना भएको शुक्रबार एक समारोहकाबीच घोषणा गरिएको थियो । सो कार्यक्रम ६७ वर्षीय बज्राचार्यले ज्येष्ठ नागरिकको हितमा काम गर्न आफूलाई हौस्याउने जीवनकै एउटा महत्वपूर्ण कार्यक्रम रुपमा लिनुभएको थियो । १६ वडाको सदस्यमा निर्वाचित हुनु भन्दा करिब दुई वर्षअघि देखि बज्राचार्यले घरघरमा पुगी बृद्धभत्ता बाँड्न शुरु गरेको थियो । वडासदस्य भएको चार वर्ष यता पनि सो कामलाई निरन्तरता दिँदै आउनुभएको छ ।

वृद्धभत्ता दिने घरघरमा जाँदै गर्दा प्रत्येक घरका ज्येष्ठ नागरिकहरुको सुख र दुःखसंग बज्राचार्य अछुतो रहनुभएन । त्यसले ज्येष्ठ नागरिकहरुको हितमा अरु थप कामहरु गर्दै जाने भावना उहाँको मनमा बढेर गएको थियो । ‘ त्यसको लागि म एक्लै मात्र लागेर सकिन्न । सहयोगी टिमको जरुरत महशुस भयो । यही आवश्यकताले ज्येष्ठ नागरिक समिति बनाउन घचघच्याएको हो । ’ ज्येष्ठ नागरिक समितिका संयोजक समेत रहनुभएका बज्राचार्यले नागबहालमा आयोजित समारोहमा भन्नुभयो ‘ वर्षौदेखि मनभित्र गढीरहेको सोचले साकार रुप लिँदा हर्षको सीमा नै रहेन ।’

उहाँले भन्नुभयो ‘ घरमा पुगेर वृद्ध, एकल महिला र अपांगता भत्ता दिँदै आएको समाचार विभिन्न पत्रपत्रिकामा प्रकाशित पनि थियो ।धेरैबाट स्याबासी पाएँ ।यससंगै ज्येष्ठ नागरिकहरुको म प्रतिको अपेक्षा झन् झन् बढ्दै गएको पाएको छु ।’ कोरोना संक्रमण बढीरहेको बेला ज्येष्ठ नागरिकहरुलाई थप सेवा दिनुपर्ने बोध भएको सुनाउँदै बज्राचार्यले दुःखित हुँदै भन्नुभयो ‘ यसबीचमा म आफै कोरोना संक्रमित भए । यसले समिति बनाउन ढिलाई भएको महशुस गरायो ।अहिले कोरोना जोखिम कम भएको बेला समिति गठन गर्न सक्रिय भएर लागे । यसमा वडाअध्यक्षले पनि निकै साथ दिए ।’

सो अवसरमा १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले बज्राचार्यको कामप्रति लगनशीलता, चिन्ता र जाँगर देखेर कहिलेकाँही आफूलाई आश्चर्य लाग्ने गरेको अनुभव सुनाउँदै समिति मार्फत अझ थप कामहरु गर्न आफू सधै सकारात्मक रहने बताउनुभयो । सार्वजनिक बिदाको दिन पनि कार्यालयमा आएर काम गर्ने बज्राचार्यको स्वभावको प्रशंसा गर्दै वडाअध्यक्ष शाक्यले यस अघि उहाँकै संयोजनमा ३ सय भन्दा बढी ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको पनि उल्लेख गर्नुभयो ।

महानगरपालिका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकहरुको हितमा दिवा सेवा केन्द्र, स्वास्थ्य सेवा, योग, ध्यान, प्रवचन, भजन कृतन सञ्चालनका लागि आवश्यक बजेट विनियोजित गरिदिन बज्राचार्यले माग गरेकोमा आफ्नो ध्यान गएको बताउनुभयो । यस कामको लागि आवश्यक सहयोग गर्न आफू तत्पर रहेको मेयर महर्जनको भनाई थियो ।

बज्राचार्यलाई सघाउन विभिन्न क्षेत्रमा योगदान पु¥याएका १५ जना ज्येष्ठ नागरिकहरु समिति बसेर काम गर्न तयार भएको घोषणा गरे । समितिको सहसंयोजकमा राज बज्राचार्य, सचिवमा आशारत्न शाक्य, सहसचिव प्रेमलाल श्रेष्ठ, कोषाध्यक्ष ऋषिप्रसार श्रेष्ठ रहनुभएको छ ।सदस्यहरु अशोक श्रेष्ठ, पञ्चमुनि बज्रचार्य, इन्द्रकुमारी शाक्य, र रत्न महर्जन हुनुहुन्छ । गत पुस १२ गते समिति गठन गरिएको थियो । महानगरका १ देखि २९ वडामध्ये ज्येष्ठ नागरिक समिति बनेको यो नै पहिलो वडा रहेको बताइएको छ ।

जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमण

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २९, शनिबार वर्गीकृत

शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाईको लागि मेशिन तयारी हालतमा राख्न निर्देशन दिनुभएको छ । जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणको क्रममा मन्त्री श्रेष्ठले केन्द्रका अधिकारीलाई सो निर्देशन दिनुभएको हो ।  

 अब निर्वाचन गर्ने समय आएको छ, तपाईहरु तयारी रहनुस–मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया,केन्द्रका प्रबन्ध सञ्चालक अनिल झा लगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा भन्नुभयो–सबै मेहिन दुरुस्त राख्नुस । ‘सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाई गर्न थाल्नुपर्छ । 

 निर्वाचन आयोगमा रहेका मेशिनहरु पनि तत्काल ल्याउने व्यवस्था मिलाउन समेत निर्देशन दिनुभएको छ । यसअघि सरकारले बैशाख १७ र २७ गर्ने निर्वाचन तयारी गर्दा आयोगका प्रमुख निर्वाचन आयुक्त सहितको टोली केन्द्रमा पुगेर निर्देशन दिएको थियो । 

 मन्त्री श्रेष्ठले नजिकिदै गएको शैक्षिकसत्रको लागि समयमै पाठ्यपुस्तक छपाई गरी सम्बन्धीत क्षेत्रमा पु¥याउन समेत निर्देशन दिनुभएको छ । मैले सुनेको छु, हरेक वर्ष पाठ्यपुस्तक अभाव भएको विषय मिडियाको समाचार बन्ने गरेका छन् , यो वर्ष यस्तो विषय सुन्न नपरोस समयमै पाठ्यपुस्तक पु¥याउने विषयमा ध्यान दिनुस । 

केन्द्रले गरेको कामप्रति सन्तोष ब्यक्त गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो–आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक नपुगेको सुन्न पाइनेछैन । उहाले भन्नुभयो–पहिला दुर्गममा पुस्तक पु¥याएपछि , सुगममा पुस्तक पु¥याउने व्यवस्था गर्नुस । मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तको प्रिन्ट रेडी कपी (पिआरसि) तत्काल ल्याएर छपाई गर्ने व्यवस्था गर्न निर्देशन दिदै भन्नुभयो–कुनैपनि बहानामा पाठ्यपुस्तक नपुगेको सुन्न नपरोस । 

 उहाले १–१२ कक्षाको पुस्तक छपाई जिम्मा पाएको केन्द्रले सबै तहको पुस्तक छपाई गरी बिक्रि वितरण शुरु गर्न समेत निर्देशन दिनुभएको छ । 

 केन्द्रले आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ११ सम्म छपाई गर्नुपर्ने लक्ष्य १ करोड ८४ लाख ४६ हजार ९ सय ८० मध्य १ करोड ४७ लाख १३ हजार ९ सय ९९  थान छपाई पुरा गरेको छ । 

 मन्त्री श्रेष्ठ र केन्द्रका अध्यक्ष एवं सचिव थपलियाले केन्द्र परिसरमा रहेको सुरक्षण मुद्रणालय अवलोकन गर्दै अब जनकले अर्थ, यातायात, भुमी व्यवस्था तथा सहकारी लगायत सबै सरकारी निकायको गोप्य काम छपाई गर्नुपर्ने बताउनुभयो । नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको सेक्युरिटी प्रेसले धमाधम काम गर्दै आएको छ । 

 

उहाले आन्तरिक राजश्व विभागको स्टिकर, कक्षा १० र १२ को प्रश्नपत्र र उत्तरपुस्तिका , सिटिइभीटीको उत्तरपुस्तिका छपाईको अवस्थाबारे जानकारी लिदै यस्ता महत्वपुर्ण कामलाई तिब्रता दिन आग्रह गरेको छ । 

कार्यक्रममा शिक्षा सचिव थपलियाले आगामी शैक्षिकसत्रमा पाठ्पुस्तकको अभाव हुन नदिने दाबी गर्नुभयो । भन्नुभयो– अध्यक्षको हैसियतले म यो भन्न चाहन्छु कि आगामी आबमा पाठ्यपुस्तक अभाव हुन दिदैनौ । उहाले संस्थाको लक्ष्य र उद्देश्य पुरा गर्ने बताउनुभयो । 

कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने बचनबद्धता व्यक्त गर्नुभयो । उहाले भन्नुभयो–मन्त्रालयले मलाई नियुक्ति गरेको छ, संस्थाको लक्ष्य अनुसार काम अघि बढाउनेछु । 

उहाँले संस्थाले सुरक्षण मुद्रणालयमा थप मेशिन ल्याएर थप नया नया काम अघि बढाउने, ऋणमा रहेकामे संस्थालाई ऋणमुक्त गराउने र संस्थाको कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउने बताउनुभयो ।

‘येँ देय् म्हसीके’ अर्थात् काठमाडौं चिनौं पाठ्यपुस्तक विमोचन

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २९, शनिबार वर्गीकृत

काठमाडौँ महानगर क्षेत्र भित्रका विद्यालयमा अब १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन 

काठमाडौं महानगरपालिकाले आधारभूत  तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आज संयुक्त रुपमा ती पुस्तकको विमोचन गर्नुभएको हो ।  

विमोचन कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाले स्थानीय शिक्षाको क्षेत्रमा ऐतिहासिक र साहसिक काम गरेको भन्दै प्रसंषा गर्नुभयो । ‘काठमाडौँ महानगरपालिकाले स्थानीय शिक्षाको क्षेत्रमा ऐतिहासिक र साहसिक काम गरेको छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘तल्लो तहदेखि नै काठमाडौं चिनौँ पाठ्यक्रम लागु गरेर स्थानीय भाषाका लागि रोजगारीको समेत अवसर सिर्जना गरेको छ । यो ठूलो काम हो ।’

मन्त्री श्रेष्ठले मेयर शाक्य उपत्यका नगरपालिका फोरमको समेत अध्यक्ष भएको भन्दै अब विस्तारै कम्तीमा पनि काठमाडौँ र उपत्यकामा यो शिक्षा लागु गर्ने एजेण्डा बनाएर अघि बढ्न सुझाव दिनुभयो ।  

प्रमुख शाक्यले यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमण सहित स्थानीय भाषामै पढाउने गरी पाठ्यक्रम तयार पारेको जानकारी दिनुभयो ।

‘पाठ्यक्रम बनाएर पाठ्यपुस्तक तयार पार्नेसम्मको चरणमा आउँदा धेरै चुनौतिलाई अवसरका रुपमा परिणत गर्न सफल भएका छौँ,’ शाक्यले भन्नुभयो, ‘हामी सामूदायिक विद्यालयको स्तर उकास्ने अभियानमा छौँ । सामूदायिक विद्यालयको स्ततरोन्नती गर्ने हो भने संस्थागत विद्यालय स्वतः कमजोर भएर जान्छन् ।’ 

शाक्यले काठमाडौँ नेवारहरुको बाहुल्यता रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लामा नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उदेश्यले यो शिक्षा लागु गरेको पनि जानकारी दिनुभयो ।  ‘विदेश र उपत्यका बाहिर जाँदा यहाँको संस्कृति परम्पराबारे दुई शब्द बोल्न सकुन भनेर यो शिक्षा लागु गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ मानवनिर्मित महानगर हो । यहाँका गुठी–परम्परा, जात्रा–पर्वलगायतले आत्मिएता बढाएको छ । अनेकतालाई एकतामा बाँधेको छ । यो शिक्षाले यसलाई अझ बलियो बनाउने अपेक्षा गरेका छौँ । 

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यहाँका गुठी–परम्परा, जात्रा–पर्वलगायतका बारेमा विदेशमा जानकारी दिनलाई शिक्षा उपयोगी हुने बताउनुभयो ।  

आधारभत तह कक्षा १ देखि कक्षा ८ सम्म हुने भए पनि आज कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक विमोचन गरिएको हो । काठमाडौं महानगरपालिकाले आफु मातहत रहेका सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरूमा यसै वर्षदेखि उक्त पाठ्यपुस्तक पठनपाठन गर्ने निर्णय गरिसकेको छ । नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।  

काठमाडौं महानगरपालिका क्षेत्रभित्र मूलतः नेपालभाषाभाषीहरूको बाहुल्यता रहेको कारणले महानगरपालिकाले नेपालभाषाको माध्यमबाट उक्त पाठ्यक्रम पठनपाठन गर्ने नीति लिएको हो । काठमाडौं महानगरपालिका क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले उक्त विषयको पठन–पाठन सुरु गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।  

पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्य पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको बताउनुहुन्छ । पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको उहाँको भनाई छ ।  पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । बालबालिकालाई नेपाल भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको भन्दै शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले  उक्त पुस्तकको अध्ययनले काठमाडौं महानगरलाई नजिकै रहेर हार्दिकतापूर्वक बुझ्न सकिने बताउनुभयो । 

बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिने छ । ‘कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ सुवेदीले भन्नुभयो, ‘कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’

काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो  । कार्यक्रममा पाठ्यपुस्तक लेखन समितिका प्रमुख प्राविधिक सल्लाहकार एवं लेखक वरुणप्रसाद वैद्यलगायतले पनि बोल्नुभएको थियो ।

संस्कृति संरक्षणमा पत्रकारिताको भूमिकाको चर्चा

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरको आठौं वार्षिक साधारण सभा पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको विहीबार जावालाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कुल देवता परिसर ताम्रकार समाजमा सम्न्न आठौं वार्षिक साधारण सभाका वक्ताहरुले सो कुरा बताएका हुन् ।उनीहरुले संस्कृति सम्पदा संरक्षणमा पत्रकारिता भूमिकालाई अझ प्रभावकारी बनाउन पत्रकारहरुमा सांस्कृतिक संवेदनशीलता बारे अझ सचेतना अभियान थाल्नुपर्नेमा पनि जोड दिएका छन् ।

सभाको उद्घाटन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले शाखाले ललितपुरको ठोस, सामाजिक सांस्कृतिक परिवेशमा लोपोन्मुख नवदुर्गा नाच गथुँ प्याखँ र पाय (खड्ग) जात्रा सञ्चालनका लागि पैरवी पत्रकारितासंगै संयोजनकारी भूमिका निर्वाह गरेकोमा सराहना गर्नुभयो । पत्रकारितालाई अझ जिम्मेवार र स्थानीय सरोकारमा सम्बन्धित निकायको ध्यानाकर्षणको लागि शाखाले भविष्यमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले भाषा, संस्कृति र सम्पदाप्रतिको संवेदनशीलतालाई पत्रकारिताको माध्यमबाट उठान गर्न शाखाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दैै ललितपुरका जातीय समाज र पत्रकारहरुबीचको एकजुट भएर ललितपुरलाई सांस्कृतिक नगरीको रुपमा विकास गर्न अघि बढ्नुपर्ने खाँचो औल्याउनुभयो ।

सभामा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपालको पहिलो मातृभाषाको पत्रकार धर्मादित्य धर्माचार्यको योगदानलाई जनजनमा पु¥याउन र मातृभाषाको पत्रकारिताको विकासको लागि स्थानीय तहसंग मिलेर ठोस कार्यहरु गर्दै जानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति महिलाहरु अझ कम रहेको उल्लेख गर्दै उपाध्यक्ष रचना श्रेष्ठले महिला पत्रकारहरुको संख्या बढाउनुपर्ने खाँचो औल्याउनुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनील महर्जनले स्थानीय तहमा जनप्रतिनिधिविहीन हुँदा स्थानीय सरोकारको विषयमा प्रहरी प्रशासनसंगै स्थानीय निकायको ध्यानाकृष्ट गराउन शाखाले निर्वाह गरेको भूमिका आजका दिनमा झन् महत्व बढेको र पनि उतिकै खाँचो रहेको बताउनुभयो ।

ललितपुरलाई सांस्कृतिक नगरी भनिएपनि जात्रा, पर्व र सम्पदा क्षेत्रमा पर्याप्त बजे विनियोजित नगरेको तथ्य उल्लेख गर्दै महासचिव महर्जनले स्थानीय तहलाई जिम्मेवार बनाउन शाखाको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो ।सभामा कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरु बिरामी वा दीर्घ रोग भएमा आर्थिक सहयोगको लागि खडा गरिएको अक्षयकोष रकम १५ लाखबाट बढाएर ५० लाख रुपैयाँ पु¥याउने प्रतिबद्धता दोह¥याउनुभयो ।

सो अवसरमा सचिव विकास मालीले प्रगति प्रतिवेदन र कोेषाध्यक्ष सुनील बज्रचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । स्वर्गीय अग्रज पत्रकार विक्रम शाक्यको स्मृतिमा एक मिनेट मौन धारण गरी शुरु गरिएको सो सभामा शाखाका अध्यक्ष सागर महर्जन, उपाध्यक्ष प्रशान्त माली र सहसचिव मञ्जु बज्राचार्य लगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै पत्रकारितालाई आवाजविहीनको आवाज बनाउन शाखाले विगत आठ वर्षयता निर्वाह गरेको भूमिकाको निचोड निकाल्दै संस्कृति, सम्पदा संरक्षणमा ठोस काम गर्नु अहिलेको उपलब्धि रहेको बताएका थिए ।

निशुल्क शिविरबाट ७ सय जना लाभान्वित

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

ललितपुरमा लगातार ६ सातासम्म सञ्चालित बृहत निशुल्क स्वास्थ्य शिविरमा करिब ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

ललितपुर महानगरपालिका– १६ ले अरनिको समाजसंग मिलेर माघ १७ देखि फागुण २२ गते शनिबारसम्म प्रत्येक साता वडाका विभिन्न स्थानमा सञ्चालित शिविरबाट सो संख्यामा मानिसहरु लाभान्वित भएका हुन् ।शनिबार ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालित शिविरमा ९० वर्ष नाघेका तीन जनासहित १ सय ६० जना लाभान्वित भएको वडाका सदस्य एवं ज्येष्ठ नागरिक समितिका संयोजक पञ्चबज्र बज्राचार्यले जानकारी दिनुभयो। मधुमेह, पिसाब, पेट तथा कलेजो, र जनरल रोगको हिजो जाँच गरिएको थियो ।

कोरोना संक्रमण तीब्र गतिले फैलिरहेको बेला नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका स्थानीयहरु शिविरबाट बढीभन्दा बढी लाभ लिएको पाइएको अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष चैत्र ११ देखि शुरु भएको लकडाउन, त्यसपछिको निषेधाज्ञा र कोरोनाको संक्रमण हुने डरले अस्पताल, स्वास्थ्य क्लिनिकमा गएर जँचाउने मानिसहरुको संख्यामा कमी आएको थियो । त्यसमा पनि विशेषतः बालबालिका र ज्येष्ठ नागरिकहरु घरबाटै निस्किएको थिएन। यस्तो अवस्थामा आफ्नै घर, आगँनमा लगातार शिविर सञ्चालन समयको माग र आवश्यकता सिद्ध भएको पनि वरिष्ठ नशारोग विशेषज्ञ समेत रहनुभएका समाजका अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

शिविरबाट मानिसहरुले आफूलाई रोग बारे सामान्य जानकार, थप उपचारको चिकित्सकहरुबाट आवश्यक सल्लाह सुझाव पाएको पनि डा अमितमणी उपाध्यायले बताउनुभयो ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँच र आर्थिक स्तर कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी वडाले स्वास्थ्य शिविर सञ्चालन गरेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो। ‘ अरनिको समाजमा आबद्ध चिकित्सकहरुसंग एकदिन भेटघाट हुँदा अहिले शिविरको खाँचो रहेको कुरा उठेको थियो । त्यसपछि वडा समितिको बैठक बसेर शिविर सञ्चालन गर्ने निर्णय ग¥यौं ।’ स्वास्थ्य सेवालाई जनमुखी बनाउन महानगरपालिकाले पहल गर्नुपर्ने पनि वडाअध्यक्ष शाक्यको जोड रहेको छ ।

गत माघ १७ गते मंगलबजारमा भएको पहिलो शिविरमा नशा तथा हाडजोर्नीको परीक्षण गरिएको थियो । दोस्रो माघ २४ गते बुबहालमा मुटु रोग सम्बन्धी, तेस्रो फागुण १ गते बालिफल (अशोक हलमा) बाल तथा छाला रोग सम्बन्धी र चौथो फागुण ८ गते नागबहालमा स्त्रीरोग सम्बन्धी शिविर भएको थियो । पाँचौ फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर सञ्चालन गरिएको थियो । शिविरमा आवश्यकता अनुसार अल्टासाउण्डबाट जाँच पनि गरिएको थियो ।

प्रत्येक शिविरमा आवश्यकता अनुसार निशुल्क औषधी वितरण गरिएको र ४५ वर्ष नाघेका ३० जना महिलाहरुको पायप्स्मेर परीक्षण गरिएको समाजका महासचिव डा. सुशील प्रजापतिले जानकारी दिनुभयो ।अभियानकै रुपमा ललितपुरको ‘कोर सिटी’ मा लगातार स्वास्थ्य शिविर सञ्चालन भएको यो नै पहिलो पटक रहेको वडा र सम्बद्ध चिकित्सकहरुले दाबी गरेको छ ।

शिविरको समापन समारोहमा त्यसको सफलताका लागि सहयोग गर्ने चिकित्सक, नर्स, औषधी व्यवसायी, वडाको स्वास्थ्य कार्यान्वयन समिति महापाल र धौैगलका स्वास्थ्य सेवक, व्यवस्थापन सहयोगी युवा स्वयंसेवक र सञ्चारकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियोे । सो अवसरमा वडाका वडा सदस्य एवं ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्य सुप्रभा शाक्यले शिविरको सफलताको लागि विभिन्न पक्षहरुसंगै स्वास्थ्य स्वयं सेवक महिलाहरुको ज्ञान, अनुभव र सक्रियता पनि निकै महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

१३ वटा पत्रकार संगठनद्वारा संयुक्त विज्ञप्ति जारी,

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

महासंघको चुनावलाई मध्यनजर गर्दै १३ वटा पत्रकार संगठनद्वारा संयुक्त विज्ञप्ति जारी, पाँच बुँदे प्रतिवद्धता  

 नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै १३ वटा पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विभिन्न राजनीतिक पार्टी र स्वतन्त्ररुपमा संक्रिय संगठनहरुले पाँच बुँदे प्रतिवद्धतासहित सोमबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् । 

नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तीनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागतरुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दवावको लागि राष्ट्रिय अभियान चलाउने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 त्यसैगरी नेपाल पत्रकार महासंघलाई साझा बनाउन सबै संघसंगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुनेगरी सबै संगठनलाई प्रतिवद्धताका लागि आह्वान गर्ने र आफूहरुको तर्फबाट नेतृत्वदायी भूमिकामा सुनिश्चित गराउन अन्य सबै संघ÷संगठनहरुसँग वार्ता–संवाद थाल्ने निर्णय समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

संयुक्त विज्ञप्तिमा राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष  विनोद पहाडी,  क्रान्तिकारी पत्रकार संगठन, नेपालका महासचिव बाबुराम भुसाल, प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर बिक, जागरण मिडिया सेन्टरका अध्यक्ष रेशबहादुर बिक, लोकतान्त्रिक छापामााध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, संचार गृहका पीडित पत्रकार÷कर्मचारी संयुक्त संघर्ष समितिका अध्यक्ष धमेन्द्र कर्ण, स्थानीय पत्रकार नेपालका अध्यक्ष शंकरप्रसाद ज्ञवालीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, स्वतन्त्र पत्रकार संगठन नेपालका संयोजक एलएस लामा, देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्र प्रसाई, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी र अनलाइन मिडिया नेटवर्ककाका महासचिव लोकश लिवाङ लिम्बुले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

यस्ता छन् पाँच बुँदे प्रतिवद्धता 

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा हामी तपसिलका सञ्चार सम्बद संघ÷संगठनहरु एकतावद्ध भई महासंघको चरित्रलाई साझा र स्वरोजगार एवं श्रमजीवीमैत्री बनाउन हामीहरु दृढ संकल्पित छौं, निम्न लिखित ५ बुँदे संकल्प र प्रतिवद्धता पूरा गर्न हामी सहमत भएका छौं ।

१)  नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तिनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागत रुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दवावसहितको राष्ट्रिय अभियान चलाउने ।

२ ) महासंघलाई श्रमजीवी पत्रकार र स्वरोजगारकर्मीहरुको अभिभावक संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने, साथै साना तथा स्वरोजगार मिडिया र ‘न्यु मिडिया’को संरक्षण र प्रवद्र्धनमा निर्णायक भूमिका खेल्ने ।

३) श्रमजीवी पत्रकारहरूको पेशागत, भौतिक, सामाजिक एवं अर्थ सुरक्षाका लागि महासंघको जारी आन्दोलनलाई अझ उन्नत स्तरमा उठाउन हाम्रा संगठनका सबै तह र निकायलाई परिचालन गर्ने, मुद्दामा सहमत सबै संघ÷संगठनसँग दिर्घकालीन सहकार्य गर्दै दवावमूलक अभियान चलाउने ।

४) पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, नागरिकका राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारको ग्यारेण्टी, मिडियामैत्री कानुन निर्माण र श्रमजीवी मैत्री ऐन बनाउन एवं सञ्चार क्षेत्रलाई पारदर्शी, आत्मनिर्भर, विस्वसनीय बनाउन पहल गर्ने । 

५) महासंघलाई साझा बनाउन सबै संघ संगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुने गरी सबै संगठनलाई प्रतिवद्धताका लागि आव्हान गर्ने । हाम्रा संघ÷संगठनका तर्फबाट नेतृत्वदायी भूमिकामा सुनिश्चित गराउन अन्य सबै संघ÷संगठनहरुसँग वार्ता–संवाद थाल्ने ।

स्वास्थ्य शिविरमा पनि महिलाहरुको स्वास्थ्यप्रति सोही दृष्टिकोणलाई पुन प्रमाणित

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

शहरी क्षेत्रमा समेत महिलाहरु लाज र संकोचले गर्दा आफूलाई परेको स्वास्थ्य समस्याबारे समयमै परीक्षण गराउन हिचकिच्चाउने गरेको पाइएको छ ।

ललितपुरको नागबहालमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा पनि महिलाहरुको स्वास्थ्यप्रति सोही दृष्टिकोणलाई पुन प्रमाणित गरेको धारणा चिकित्सकहरुले अघि सारेका छन् । ललितपुर महानगरपालिका वडा नं १६ ले अरनिको समाजसंग मिलेर सो शिविर आयोजना गरेको हो ।बृहत निशुल्क स्वास्थ्य शिविरको अभियान अन्तर्गत चौथो साता स्त्री रोग सम्बन्धी शिविर सञ्चालन गरिएको हो । महिलाहरुको तल्लो पेट दुख्ने, पाठ्यघर, गर्भ तुहिएपछिको अवस्था, स्तन, महिनावारी लगायतकोे जाँच गरिएको थियो ।शिविरबाट ८० जना महिला लाभान्वित भएका थिए ।

‘गाउँघरमा मात्र होइन, शहरमा पनि समाजले केही भन्लान् वा थाहा पाउँलान् भनेर आफ्नो रोग लुकाउने वा बेवास्ता गर्ने गरेको पाइएको छ । आफ्नो रोगबारे परिवारसंग खुलेर कुरा राख्ने र समयमै परीक्षण गराउने हो भने धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।’ डा. चुनुमिला महर्जनले भन्नुभयो । डा. महर्जनका अनुसार महिलाहरुले आफ्नो जीवनशैलीमा परिर्वतन गर्नुपर्ने, पर्याप्त मात्रामा पानी पिउने, व्यायाम गर्ने, विभिन्न रोगबारे सजग भइरहनुपर्ने बारे स्वास्थ्य परीक्षण गर्न आउनेहरुलाई सल्लाह दिएको बताउनुभयो ।

डा मर्हजन सहित डा.रश्मि महर्जनले रोग परीक्षण गर्नुभएको थियो भने रोगबारे डा. सर्वोेत्तम श्रेष्ठ, डा सुशील प्रजापति र डा. कृष्णगोपाल महर्जनले बिरामीहरुलाई स्वास्थ्य सल्लाह दिनुभएको थियो । सो शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो भने ३० जना महिलाको पायप्स्मेर जाँच गरिएको समाजले जनाएको छ ।

स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियानकैै रुपमा गत माघ १७ गते शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यका अनुसार शिविरबाट १६ वडाका साथै आसपासका वडाहरु क्रमशः ८,९, ११, १२, १९ र २० का मानिसहरु पनि लाभान्वित भएका छन् ।

वडाका वडा सदस्य पञ्चबज्र बज्राचार्यका अनुसार आउँदो शनिबार दौबहालमा पेट तथा कलेजोको शिविर सञ्चालन हुने छ । सो शिविरमा अल्ट्रासाउण्ड बाट बिरामीको स्वास्थ्य परीक्षण गरिने छ । छैटौं तथा अन्तिम शिविर ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर फागुण २२ गते सञ्चालन हुने वडाका ज्येष्ठ नागरिक समितिका संयोजक समेत रहनुभएका वडा सदस्य बज्राचार्यले जानकारी दिनुभयो । सो शिविरमा नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी पनि परीक्षण गरिने छ ।

क्षत्रपाटी निःशुल्क चिकित्सालय लिफ्ट जडान

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरको ३० लाख आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालय लिफ्ट जडान 

काठमाडौँ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु भएको छ । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटीमा अवस्थित निशुल्क चिकित्सालयको ६४ औँ वार्षिक उत्सवको अवसरका काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले लिफ्टको उद्घाटन गर्नुभएको हो । करीब ४५ लाखको लागतमा निर्माणाधिन लिफ्ट निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।  

उद्घाटनपछि सम्वोधन गर्दै प्रमुख शाक्यले, काठमाडौंमा ठूला र विशेषज्ञ सेवा दिने अस्पतालकाबीच भित्री सहरी क्षेत्रका स्थानीयलाई सेवा दिने लक्ष्य राखेर सञ्चालनमा रहेको चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।  ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ठूला–ठूला राष्ट्रियस्तरका अस्पताल छन् । ती अस्पतालमा ७७ वटै जिल्लाका नागरिकले सेवा लिइरहेका हुन्छन्,’ शाक्यले भन्नुभयो तर, यो भित्री सहरमा अवस्थित चिकित्सालयबाट यहाँका नागरिकले बढी सेवा लिइरहेका हुन्छन् । महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुन्छ । तपाईँहरुले पनि त्यो महशुस हुने गरी काम गर्नुहोला । सहयोग गर्न महानगरपालिका तयार छ ।’

शाक्यले जति सहयोग आयो त्यतिको काम गर्ने बाँकी योजना अधुरो छाड्ने नगर्न पनि सुझाव दिनुभयो ।  

चिकित्सालयको नयाँ भवन निर्माणका लागि महानगरले चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।  

३ सय विरामीलाई दैनिक ओपिडीमार्फत स्वास्थ्य सेवा दिदैँ आइरहेको सो २५ शैयाको अस्पतालमा लिफ्ट जडानसँगै थप सहज भएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिनुभयो । ‘यो अस्पतालबाट नाक, कान घाँटी, दन्त सेवा, मुटु रोगलगायत जटिल खालका रोगमा बिशेषज्ञ सेवा दिइरहेका छौं,’ डाक्टर श्रेष्ठले भन्नुभयो, ‘भित्री सहरका नागरिकलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको यो अस्पतालले आगामी दिनमा थप सेवा विस्तारको योजना अघि सारेको छ । सेवा विस्तारका लागि महानगरबाट प्राप्त सहयोगले हामीलाई अगाडि बढ्न ठूलो हौसला प्राप्त भएको छ । ‘२०१३ सालमा स्थापनाको चिकित्सालयमा अहिले २५ शैया छन्,’ डाक्टर श्रेष्ठले भन्नुभयो, ‘ती बेडहरु माथिल्लो तलामा भएकोले सेवा प्रवाहमा कठिन थियो । लिफ्ट जडानसँगै सेवा सहज हुने अपेक्षा गरेका छौँ ।’ चिकित्सालयले भूमिगत २ तलासहित १० तले भवन बनाउने योजना कार्यान्वयन चरणमा पु¥याएको पनि उहाँले जानकारी दिनुभयो ।

केशचन्द्रवृmत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा रहेको श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गरेका छन् ।

मेयर शाक्यले उद्घाटनपछि मूर्त÷अमूर्त अभियानअन्तर्गत आप्mनो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको जानकारी दिए । मेयर शाक्यले मूर्तमात्र होइन अमूर्त सम्पदाको संरक्षणमा पनि काम भइरहेको छ, भने ।

मेयर शाक्यका अनुसार पुननिर्माण गरेर देवाद्यः छेँ श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजलाई सुम्मिसकेपछि अब महानगरपालिकाको काम सकिएको छ । उहाँ भन्छन्– अब यसमा महानगरपालिकाले हस्तक्षेप गर्ने छैन । अबदेखि यसको संरक्षण गर्ने जिम्मेवारी केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजको हो । काठमाडौँको मुटुमा रहेको इतुम्बहाःमा काठमाडौँ महानगपालिकाको सहयोगमा देवाद्यः छेँको पुननिर्माण भएको हो । जुन इतुम्बहाःका करीब १५० भन्दा बढी घरधुरीको इस्ट देवताको घरको रुपमा रहेको छ । सो देवाद्यः छेँको पुननिर्माण गर्न करीब दुई वर्षअघि शिलान्यास गरिएको थियो । 

केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादर शाक्यले इतुम्बहाःको गौरव र प्रतिष्ठाको रुपमा देवाद्यः छेँको पुननिर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । उनले यस क्रममा श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार नेपाल मण्डलकै समृद्ध र सुविधायुक्त महाविहार हो, भनेका छन् ।

यसैगरी, महाविहार संरक्षण समाजका महासचिव प्रज्ञारत्न शाक्यले मूर्त सम्पदाको रुपमा रहेको देवाद्यः छेँको पुननिर्माण सकिएपनि यस समाजमा रहेका कैयौँ अमूर्त सम्पदाको संरक्षण र जगेर्णा गर्न बाँकी रहेको भनाई राखे ।

Pages