add
Display Style: 
Column Style

पछिल्लो २४ घण्टामा थपिए २६२२ सङ्क्रमित, २३ को मृत्यु

Swoniga Online – Rosni | २०७८ आषाढ २१, सोमबार वर्गीकृत

नेपालमा गत २४ घण्टामा २६२२ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। विभिन्न मितिमा सेनाले शव व्यवस्थापन गरेको सहित २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या ६ लाख नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या ९२ सय भन्दा बढी छ। केही दिन यता सङ्क्रमितहरूको सङ्ख्या घटेको छ। तर परीक्षण पनि घटाइएको छ।

पछिल्लो २४ घण्टामा लगभग ७५०० को पीसीआर विधिबाट र ४ हजार भन्दा केही बढीको एन्टिजन विधिबाट परीक्षण गरिएको जनाइएको छ।

स्वीकृति बिना अबैध रुपमा औषधि खरिदबिक्री गरेको आरोपमा २ जना पक्राउ

Swoniga Online – Rosni | २०७८ आषाढ २१, सोमबार वर्गीकृत

कैलाली । चिकित्सकको स्वीकृति बिना अबैध रुपमा औषधि बिक्री र खरिद गरेको आरोपमा प्रहरीले धनगढीमा २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१३ का २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका–१ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने २३ वर्षीय करण चौधरी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुमध्ये जोशी औषधि खरिद गर्ने र चौधरी औषधि बिक्री गर्ने कार्यमा संलग्न रहेका थिए ।

जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २० ट्याब्लेट स्पास्मो, २ क्याप्सुल परलिन र १२ क्याप्सुल प्रेगास्टार सहित फेला पारी आइतबार पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनले उक्त मेडिकोबाट औषधि खरिद गरेको खुल्न आएपश्चात चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो । अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नगर सभाबाट काठमाडौँ महानगरको आर्थिक विधेयक पारित

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ २१, सोमबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक ०७८ पारित भएको छ । राष्ट्रिय सभा गृहमा बसेको नवौँ अधिवेसनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक, प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो । 

महामारीले उद्योग र वाणिज्य क्षेत्र तथा सामान्य जनजीवनमा पारेको प्रभावलाई विश्लेषण गरेर कम्तीमा २० प्रतिशत देखि बढीमा ९० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । बैठकका अध्यक्ष एवम महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘महामारीको पीडा भोगिरहेको आर्थिक क्षेत्रको उठ्न सक्ने बनाउन राजस्वका दर यथावत गरेर दायरा बढाउने नीतिअनुरुपमा हामीले निर्णय गरेका छौँ ।’ 

यस अघि असार ३ गते सभामा पेश भएको आ. व. ०७८÷०७९ को बार्षिक नीति तथा कार्यक्रम छलफलपछि असार ६ गते बसेको तेस्रो बैठकले पारित गरेको थियो ।

असार १० गतेको चौथो सभामा आ. व. ०७८÷०७९ का महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘काठमाडौँ महानगरपालिका आर्थिक विधेयक, २०७८’’ प्रस्ताव गर्नुभएको थियो । त्यही बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आ. व. ०७८÷०७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बजेट र विनियोजन विधेयक ०७८ पेश गर्नुभएको थियो ।

आ. व. ०७८÷०७९ का लागि आन्तरिक आयतर्फ ४ अर्व ३४ करोड ३२ लाख रुपैयाँको लक्ष्य राखिएको छ । 

आज भएको आर्थिक विधेयकमाथिको छलफलमा नगर सभा सदस्यहरु मचाराजा महर्जन, आनन्द गौत्तम, जीवन डंगोल, कृष्णमणि भट्टराई, नरेशमान महर्जन र आशा श्रेष्ठ रौनियारले धारणा राख्नुृभएको थियो । 

आजको बैठकमा लेखा समितिका संयोजक ध्रुवप्रसाद त्रिपाठीले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । छलफलपछि सभाले प्रतिवेदन पारित गरेको छ ।  

नगर सभाको छैटौँ बैठक असार २५ गते बस्नेछ । त्यस बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ।

उपत्यकामा ४६१ सहित देशभर थपिए १६०५ जना कोरोना संक्रमित, २७को मृत्यु

Swoniga Online – Rosni | २०७८ आषाढ २०, आइतबार वर्गीकृत

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ४६१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार उपत्यकामा ४६१ संक्रमित भेटिएका हुन् । जसमध्ये काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना नयाँ कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

आज देशभर थप १ हजार ६०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलका अनुसार ४ हजार ८७६ पीसीआर र ३२५६ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार १३२ जनामा पोजेटिभ देखिएको हो । 

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५५२ हजार जना संक्रमणमुक्त भएका छन् भने २७ संक्रमितको मृत्यु भएको छ । अझैपनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यका, चितवन, रसुवा, म्याग्दी, कास्की, जुम्ला, सुर्खेत, मकवानपुर जिल्ला संक्रमणको उच्च जोखिममा रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।  

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । जसमध्ये ६ लाख ९ हजार २१८ हजार जना निको भएका छन् भने ९ हजार २२५ जनाको मृत्यु भएको छ । 

 

 

 

रत्नपार्कका भित्तामा नेविसंघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदियो

Swoniga Online – स्वनिगः संवाददात | २०७८ आषाढ १९, शनिबार वर्गीकृत

काठमाडौँ । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदिएको छ । ‘२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ,’ काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले भन्नुभयो, ‘त्यहि बेलादेखि काठमाडौँ महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौँ । त्यहि अनुसार नै ती अभन्द्र नारा मेटाएका हौँ ।’ 

कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौँ महानगरपालिकाले मेटिदिएको विरोधमा नेविसंघले त्यही भित्तामा अभन्द्र नारा लेखेर विरोध गरेका थिएँ । ‘२०७० सालमा आएर हामीले ‘होडिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका थियौँ,’ सापकाटोले भन्नुभयो, ‘त्यसै अनुरुप हामीले सहरी सौदर्यलाई प्रतिकुल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएका छौँ । त्यसमा सचेत छौँ र कार्यान्वयन पनि गर्दै आएका छौँ ।’ 

उहाँले आजका दिनमा आएर भित्तामा चित्र बनाउने कुराहरु दुर्लभ भएको बताउनुभयो । ‘भित्ते लेखनमै हामीले प्रतिबन्ध गरेका छौ भनेपछि त्यो वा ऊ भनेर व्यख्या गर्न आवश्यक भएन,’ उहाँले भन्नुभयो, ‘प्रतिबन्धित ठाउँमा कसैले जानेर वा नजानेर त्यस्ता कार्य गर्छ भन्ने हामी तत्काल रोक लगाउँछौँ । केही दिन अघि पनि हामीले त्यहि स्थानमा कोरेका चित्र मेटाएका हौँ । आजका अभन्द्र नारा पनि मेटाइदियौँ ।’ 

उहाँले कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति आथाह सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको उहाँले जानकारी दिनुभयो ।  ‘कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति अथाह सम्मान छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तो असल कार्य आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर वा अन्य माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ । त्यहि प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन । त्यहाँ मात्रै होइन हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ । कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ । हाम्रो नीति अनुसार गर्नु नहुने काम भएकाले मेटाएका हौँ ।’ 

उहाँले राजनीतिक दल र विभिन्न भ्रातृ संगठनलाई समेत विगतदेखि नै पटक–पटक आग्रह गरेको स्मरण गराउँदै सापकोटाले त्यस्तो कार्य नगर्न सुझाव दिनुभयो । ‘कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति सम्मान गर्दै आज उहाँहरुले भित्तेचित्र बनाउनुभयो,’ सापकोटाले भन्नुभयो, ‘भोलि राजनीतिक दल, भ्रातृ संगठन र अन्य संघ–संस्थाले पनि उहाँहरुले बनाउनुभयो हामीले पनि बनाउन पाउनुपर्छ भन्ने आउनुभयो भने के भन्ने । त्यसैले यो प्रतिबन्धित काम हो । कसैले गर्न पाउँदैनन् ।’नेविसंघले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं  महानगरपालिका मुर्दावाद’ भन्दै अभद्र नारा लेखेको थियो ।

पत्रकार मञ्चद्वारा संघसंस्थालाई स्वास्थ्य सामाग्री प्रदान

Swoniga Online – स्वनिगः संवाददात | २०७८ आषाढ १९, शनिबार वर्गीकृत

नेपाल पत्रकार मञ्चले पत्रकारहरु संघसंस्थाहरुलाई कोविड १९ को संक्रमणका बेला प्रयोग हुने स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । यसै क्रममा आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर र दक्षिण एशियाली खेलकुल पत्रकार संघलाई र हिजो कार्टुनिष्ट क्लवलाई पीपीई, मास्क, सेनिटाइजरलगायतका सामान प्रदान गरेको हो । 

यस्तै पत्रकारहरुलाई व्यक्तिगत रुपमा पनि यसप्रकार सामाग्री वितरण भइरहेको छ । 

सामग्री प्राप्त गरिसकेपछि प्रतिक्रिया दिँर्द भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापतिले मञ्चले प्रदान गरेका सामग्रीले शाखाले सदस्यप्रति पूरा गर्नुपर्ने जिम्मेवारीमा सघाएको बताए । त्यस्तै खेलकुद पत्रकार संघका महासचिव राधेश्याम दाहालले मञ्चले गरेको संस्थागत साझेदारिताबाट आफूहरु लाभान्वित भएको बताए । 

महामारीका समयमा पत्रकारहरुमा पर्ने आर्थिक, सामाजिक तथा भौतिक समस्या व्यवस्थापनमा साथ दिन प्रयास गरेको मञ्चका अध्यक्ष युवराज विद्रोहीको भनाइ छ । 

पत्रकारहरुको भौतिक सुरक्षाको पक्षमा केही न केही काम हुन थालेका छन् । तर, उनीहरुको पेशागत र सामाजिक सुरक्षाका विषयमा धेरै काम गर्न बाँकी देखिन्छ । मञ्चका उपाध्यक्ष एवं कोविड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराईले योजना सुनाउँदै एशोसियट सदस्य संस्थाहरुकाविचमा साझेदारिता बढाउँदै गएको बताए । 

भक्तपुर शाखालाई सामाग्री वितरण गर्दा मञ्चका महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्यसहित पदाधिकारी थिए । त्यस्तै नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका पूर्व अध्यक्षहरु रमेश खड्का, अमर भुजु, विकल श्रेष्ठ, सचिव संजीप घिमिरे, कार्टुनिष्ट क्लवका अध्यक्ष बासु क्षितिज, सदस्यहरु देवेन्द्र थुम्केली, रवि मिश्रुसहित पदाधिकारी हुनुहुन्थ्यो । त्यस्तै दक्षिण एशियाली खेलकुद संघका महासचिव राधेश्याम दाहालसहितका पदाधिकारी हुनुहुन्थ्यो।

देशभर थपिए २ हजार २९९ संक्रमित, ३४ को मृत्यु

Swoniga Online – Rosni | २०७८ आषाढ १८, शुक्रबार वर्गीकृत

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ५६६ जनाको पीसीआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरी जम्मा १० हजार ५९६ को कोरोना परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण भेटिएको हो ।

संक्रमितमध्ये पीसीआर विधबाट १ हजार ३९१ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ३४ जना संक्रमितको ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ३ हजार ४५१ जना संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ३ हजार ६ सय जना संक्रमित निको भइसकेका छन् । अहिले देशभर २९ हजार २७४ जना सक्रिय संक्रमित रहेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक सकियो, भोलि पुनस् बस्ने

Swoniga Online – Rosni | २०७८ आषाढ १८, शुक्रबार वर्गीकृत

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । बैठक भोलि पुनस् बस्नेछ । एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटीको १३ औं बैठक डाकेको थियो ।

यथास्थितिमा केन्द्रीय कमिटी बैठक डाकिएको भन्दै माधव नेपाल पक्ष भने सहभागी भएन । वामदेव गौतम भने उपस्थित भएका छन् ।

 

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ । विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

ज्वाला संग्रौलाको हिरासत यात्रा लम्बिदै

Swoniga Online – Rosni | २०७८ आषाढ १८, शुक्रबार वर्गीकृत

बिबादित बोलीले प्रहरी हिरासतमा पुगेकी ज्वाला संग्रौला थप बिबादित बन्दै गएकी छिन। रंगभेदी टिप्पणी, कुटपिट र सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेकी ज्वाला भनिने टीका संग्रौलाविरुद्धको अनुसन्धानका लागि आज चौथोपटक म्याद थपको तयारी भएको छ । 

अनुुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद लिने तयारी भएको हो । सत्तारुढ दल नेकपा ९एमाले० निकट नेत्री खुश्बु घिमिरेसँग भएको विवादपछि परेको उजुरीका आधारमा प्रहरीले उनीसहित तीनजनालाई असार ६ गते पक्राउ गरेको थियो । उनीसँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पक्राउ परेका हुन् । सुरुमा उनीविरुद्ध अभद्र व्यवहारमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

सामाजिक सञ्जालमा एकअर्काविरुद्ध उनीहरुले लेखेका विषयमा विवाद भएको थियो । विवादकै बीच उनीहरु महानगरीय प्रहरी वृत्त गौशाला पुगेका थिए । सोही क्रममा दुवै पक्षबीच प्रहरी कार्यालय परिसरमै हात हालाहाल भएको थियो ।

‘कार्यपालिका छलेर गरिएका निर्णय बदर ’

Swoniga Online | २०७८ आषाढ १८, शुक्रबार वर्गीकृत

स्वनिगः अनलाईन, ललितपुर ।

मेयर चिरिबाबु महर्जनले कानून मिचेर ललितपुर महानगरपालिकालाई एकलौटी तवरले सञ्चालन नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएपछि  कार्यपालिका छलेर गरिएका निर्णय के हुने भनि सबैतिरबाट प्रश्न उठ्न थालेको छ ।

ऐन, नियम र प्रक्रिया मिचेर आफुखुशी महानगरपालिका चलाउँदै आएका मेयर महर्जनले लिखित रुपमा सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। यस अघि बहुमत कार्यपालिका सदस्यले मेयर महर्जनले अब देखि कार्यपालिका बैठक छलेर अघि नबढ्ने आश्वस्त तुल्याउनुपर्ने माग गर्दै आएका थिए ।

लिखित प्रतिबद्धतापछि कार्यपालिका छलेर अहिलेसम्म भएका निर्णयहरुको अवस्था के हुने त भन्ने प्रश्नमा हस्ताक्षरकर्ता मध्येका एक, वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले भन्नुभयो ‘यस अघि गरिएका निर्णयहरुको नैतिक धरातल यस्तो समझदारीपत्रबाट कमजोर भइसकेको छ । कानूनी दृष्टिमा के गर्ने भनेर असार २३ हुने बैठकमा छलफल गरेर अघि बढ्ने छौं । निर्णयको प्रकृति हेरेर कतिपय निर्णयहरु बदर पनि हुने सक्ने छ । छलफल गरेर कुन कुन निर्णय बदर गर्ने , संशोधन गर्ने भनेर तय गर्ने छौं ।’

संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाको कार्यकारी अघिकार कार्यपालिकामा रहने भनिएको छ । स्थानीय तह सरकार सञ्चालन ऐनमा कार्यपालिका बैठक मेयरको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत बोलाउने भनिएको छ।

चालू आर्थिक वर्षमा कार्यपालिका बैठक जम्माजम्मी सात बसेको छ । तर मेयर र प्रमुख प्रशासकीय अधिकृत मिलेर वा विभिन्न संयन्त्रको नाउँमा दर्जनौ निर्णयहरु भएका छन् । यस स्थितिमा मेयर महर्जनले घुमाउरो रुपमा आफूले कार्यपालिका छलेर गर्दै काम गर्दै आएकोमा गल्ती स्वीकार गरिएको रुपमा बहुमत कार्यपालिका सदस्यद्वारा लिएका छन् । सो पत्र सबै मिलेर अघि बढ्ने वचनबद्धता रहेको मेयर महर्जनले बताउनुभयो ।

यद्यपि पत्रमा कहिकतै पनि गल्ती शब्द उल्लेख गरिएको छैन । पत्रको आशय, भाषा, हस्ताक्षर गर्नुपर्ने उद्देश्य र त्यसको समयसन्दर्भ र पृष्ठभूमी हेर्दा त्यसलाई मेयरको गल्ती स्वीकोरोक्तिका पत्रका रुपमा लिन सकिने कार्यपालिका सदस्य सुदर्शन मिश्रको भनाई रहेको छ ।

सो पत्रमा कार्यपालिका सदस्य श्रीगोपाल महर्जन र रविन्द्र महर्जनले हस्ताक्षर गर्नुभएको थियो । पत्रलाई समझदारी पत्र नाउँ दिइएको छ । पत्रमा कार्यपालिका बैठक नियमित रुपमा राख्ने, आपसी सहमति र सहकार्य गरेर अघि बढ्ने चार वटा बुँदा राखिएको छ ।

मेयर महर्जनले कार्यपालिका बैठकलाई जानकारी नदिई पछिल्लो पटक कोरोना संक्रमणबाट मृत्यू र बिरामी भएकालाई आर्थिक सहयोग गर्ने निर्णय गर्नुभएको थियो।त्यसैगरी तोक आदेशकै भरमा मेयर महर्जनले चिडियाखानालाई १० लाख रुपैयाँको चेक र धुर्मस सुन्तली फाउण्डेशनलाई २० लाख रुपैयाँ.को चेक हस्तान्तरण गरेको थियो । त्यसैगरी लगनखेलको राजदल गणमा रहेको पोखरी बनाउने, सानेपा चक्रपथदेखि बालकुमारी चक्रपथसम्म सडक बत्ती राख्ने, कोरोनाको लागि विनियोजित करौड बजेट खर्च गर्ने लगायत निर्णयहरु गर्दै आएको थियो । दरबन्दी नै नभएको वरिष्ठ नगर प्रहरी निरीक्षक पद सिर्जना गरी सिताराम हाछेथुलाई नियुक्ति गरिएको थियो ।

लिखित प्रतिबद्धता यी निर्णयहरु सच्याउँदै जाने दस्तावेज भएको उल्लेख गर्दै यसको सफलता व्यवहारले प्रमाणित गर्ने वडा नं २१ क वडाअध्यक्ष रविन्द्र महर्जनले बताउनुभयो ।

 

Pages