add
Display Style: 
Column Style

विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ ३, बिहिबार वर्गीकृत

नीति तथा कार्यक्रममा नेपाल सरकारको निर्णयनुसार मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीहरूलाई खानेपानी शुल्क मिनाहा गर्ने उल्लेख छ । ‘सुख्खाक्षेत्रका ग्राहकहरुको वक्यौता रकम मिनाह गर्ने व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । 

नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिइने उल्लेख छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने पनि उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रममा नेपाल सरकार, प्रदेश सरकार र काठमाडौं उपत्यकाका स्थानीय तहहरूसँगको सहकार्यमा सडक सुरक्षा कार्ययोजना तर्जुमा गरी सडक प्रयोगकर्ताहरूलाई सडक सुरक्षा मापदण्डले निर्दिष्ट गरेका उपायहरूको अवलम्बन गर्न अभिप्रेरित गर्ने, महानगरपालिकाको बौद्धस्थित नवनिर्मित वारुणयन्त्र भवनलाई सुविधा सम्पन्न बनाई स्थानीय विपद व्यवस्थापन तथा तालिम केन्द्रको रुपमा स्तरोन्नति गरिने पनि उल्लेख छ।

काठमाडौँ महानगरपालिकाको नीति–तथा कार्यक्रममा सम्पदा संरक्षण प्राथमिकतामकाठमाडौँ महानगरपालिकाको नीति–तथा कार्यक्रममा सम्पदा संरक्षण प्राथमिकतामा

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ ३, बिहिबार वर्गीकृत

नीति तथा कार्यक्रममा  महानगरपालिका क्षेत्रभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि परम्परागत बाजा सिकाउने गुरुहरू, सामुदायिक गुम्बाको सञ्चालनमा संलग्न प्रमुख लामाहरूलाई सम्मान गर्ने कार्यलाई निरन्तर दिइने उल्लेख छ । ‘काठमाडौं महानगरपालिकाको साँस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान गर्दै आइरहेका गुठी, बाजा खलः, भजन खलः, जात्रा, परम्परागत नाचसँग सम्बन्धित संघसंस्थाहरुलाई आर्थिक सहयोग उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘काष्ठमण्डप पुनःनिर्माण कार्य सम्पन्न गरिनेछ । हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार कार्य सुरु गरिनेछ । थापाथली पुलदेखि शङखमुलसम्मको नदी किनारालाई हरियाली तथा खुला क्षेत्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।’

बालाजु बाइसधारा उद्यानलाई ब्यबस्थापन र विकास गर्न सार्वजनिक निजी साझेदारी वा अन्य वैकल्पिक प्रारुप अनुसार ब्यबस्थित गर्ने, हनुमानढोका परिसर तथा कोत क्षेत्रमा रहेका पुरातात्विक मापदण्ड विपरितका नेपाली सेना, साविक जिल्ला प्रहरी कार्यालय, कान्ति ईश्वरी र कन्या निकेतन विद्यालय रहेका संरचनाहरु हटाई उक्त क्षेत्रको वृहद गुरुयोजना बनाई कार्यान्वयन गर्ने, जुद्ध वारुण यन्त्र भवन अगाडि र तलेजु मन्दिरको उत्तरतर्फ अनधिकृत टहराहरु हटाई उक्त स्थानमा खुला सत्तल निर्माण गर्ने, काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा आर्ट एण्ड क्राप्ट सिटी स्थापना गर्ने, सम्पदामैत्री भवन निर्माण मापदण्ड अनुरूप मौलिक स्वरूपमा निर्माण हुने भवनहरूलाई सहुलियत दिने भद्रकाली मन्दिर र महाङ्काल मन्दिर परिसरको विकास, मर्मत सम्भार तथा जीर्णोद्वार कार्य यसै आर्थिक वर्षमा सुरु गर्ने, महानगरपालिकाले हालसम्म निर्माण, पुनःनिर्माण र जिर्णोद्धार गरेका मूर्त सम्पदाहरूको अभिलेखीकरण र प्रकाशन गर्ने जस्ता कुरामा पनि उल्लेख गरिएको छ । 

ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाउने 

‘महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाहरुको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ’ ‘पशुपतिनाथ लगायत दर्शनार्थीहरुको धेरै चाप हुने धार्मिक स्थलहरुका सरोकारवालाको सहयोगमा दर्शनका लागि पंक्ति ब्यबस्थापन प्रणाली व्यवस्था गरिनेछ । पर्यटनःआर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, संवद्र्धन र बिस्तारमा जोड दिने नीति लिइनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रको रूपमा विकास गरिनेछ । उपत्यकाका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरू जोड्ने गरी विद्युतीय हप अन हप अफ बस सञ्चालन गरिनेछ ।’ 

 

काठमाडौँ महानगरपालिकाको नीति–तथा कार्यक्रम सार्वजनिक

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ ३, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । आज सार्वजनिक गरेको नीति–तथा कार्यक्रममा काठमाडौँ महानगरपालिकाले कोभिड–१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । सार्वजनिक नीति–तथा कार्यक्रममा ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवासहितको सुविधा सम्पन्न १ सय बेडको  ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्य उपचार र मानवीय सहायताका लागि सहयोग गरिने पनि उल्लेख छ । ‘कोभिड–१९ बाट सङ्क्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवा सहितको सुविधा सम्पन्न १०० बेडको काठमाडौं महानगरविशेष अस्पताल निर्माण गरिनेछ ।

अस्पतालको सञ्चालन तथा व्यवस्थापन एक स्वायत्त संरचना वा सहकार्यबाट गरिनेछ । महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्यसेवाको प्रत्याभूत गरिनेछ । विशेषज्ञ चिकित्सकद्वारा महानगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइनेछ ।’ 

महानगरपालिका क्षेत्रभित्र महानगर सुलभ फार्मेसी सञ्चालन गर्न प्रोत्साहन गर्ने, यस्ता फार्मेसी सञ्चालकहरूलाई महानगरपालिकामा तिर्नु बुझाउनुपर्ने कर, शुल्क, दस्तुरमा सहुलियत प्रदान गर्ने, नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत महानगरवासीको स्वास्थ्य बिमा गर्ने, महानगरवासीहरुका लागि बिमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने पनि महानगपालिकाले नीति लिएको छ ।

‘महानगरक्षेत्रभित्र रहेका होटल, रेष्टुरेन्ट, खाजाघर, अनलाईन खाद्य वितरकको उत्पादन स्थल, खाद्य उत्पादन गुणस्तर, पद्दति, प्रक्रिया, संलग्न जनशक्तिको सरसफाई र सेवाग्राहीले खाना–खाजा उपभोग गर्ने स्थल समेतको समग्र मुल्यांकन गरी त्यस्ता सेवा प्रदायकहरुको सेवाको गुणस्तर सुनिश्चित गर्न सूचिकृत एवं वर्गिकरण गरी महानगरपालिकाले प्रमाणपत्र जारी गर्नेछ,’ नीति–कार्यक्रममै भनिएको छ,’ ‘नेपाल एम्बुलेन्स सेवाले प्रदान गर्दै आएको सेवाको प्रभावकारिता अध्ययन गरी एम्बुलेन्स सेवालाई निशुल्क, सरल र पहुँचयोग्य बनाइनेछ ।’

 

काठमाडौँ महानगर र राष्ट्रिय प्रकृति संरक्षण कोष विच सम्झौता

Swoniga Online | २०७८ आषाढ २, बुधबार वर्गीकृत

सहरमा नासिँदै गएको हरियाली र जैविक विविधतालाई पुनस्र्थापना गराउने कामका लागि काठमाडौँ महानगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोषविच आज सम्झौता भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र कोषकातर्फबाट सदस्य सचिव शरदचन्द्र अधिकारीले हस्ताक्षर गर्नुभएको थियो । 

काठमाडौँ उपत्यका खासगरी काठमाडौँ महानगर क्षेत्रभित्रको विद्यमान सहरी हरियाली (पारिस्थितिकीय प्रणाली) र जैविक विविधताको विद्यमान अवस्थालाई सुधार गरेर पुनस्र्थापना गराउने सम्झौता बमोजिमको मुख्य काम हो । महानगरले निर्माण थालनी गरेको पार्क, वन तथा नदी किनारा र सार्वजनिक स्थानमा गरिएको हरियालीलाई व्यवस्थित र बैज्ञानिक विकास गर्न आवश्यक पर्ने नीति, रणनीति तथा कार्ययोजना बनाउने र ती नीतिगत व्यवस्थालाई कार्यान्वयन गराउन सम्झौताबमोजि काम हुनेछ । 

यस्ता क्षेत्रको संरक्षण, सम्बर्धन र सम्भावित सार्वजनिक उद्यान सम्बन्धि विस्तृत योजना तयार पार्ने र थालिएका कामलाई दिगो बनाउन महानगरको संस्थागत क्षमता बढाउने काम पनि सँगै हुनेछ ।  

सम्झौतापछि बोल्दै प्रमुख शाक्यले, यस अघि पार्क निर्माण, वृक्षारोपण तथा हरियाली प्रवर्धनमा गरिएका प्रयासलाई सहकार्यले विकास गर्न सघाउने विश्वाश व्यक्त गर्नुभयो । विगतका कमजोरी सुधार गर्न र आगामी कार्यक्रमलाई बैज्ञानिक तथा व्यवस्थित बनाउन सहकार्य प्रभावकारी हुनेछ । उहाँको भनाइ थियो । 

त्यस क्रममा कोषका सदस्य सचिव अधिकारीले, सहरीकरणका कारण  काठमाडौँको परम्परागत र रैथाने जैविक विविधता र हरियालीको प्रणालीमा ठूलो असर गरेको बताउनुभयो । विकास भन्नेवित्तिकै पूर्वाधारलाई मात्र प्राथमिकता दिइने गरेकोमा काठमाडौँ महानगरले प्राकृतिक वातावरण जोगाउने कामलाई मनन गरेर हामीसँग सम्झौता गरेको छ । यसलाई हामीले विग्रिएको अवस्था सुधार गर्ने ठूलो अवसरका रुपमा लिएका छौँ । अधिकारीको भनाइ थियो । ।

कोषसँग पटक पटकको बैठक र सहरको विद्यमान अवस्थाको विश्लेषण गरेपछि सहकार्यमा काम गर्ने निष्कर्षमा पुगिएको, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतको भनाइ छ । 

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो।

कार्यपालिका बैठकमा नीति प्रस्तावमाथि छलफल

Swoniga Online | २०७८ आषाढ २, बुधबार वर्गीकृत

काठमाडौँ महानगरले पर्सि (असार ३) गते नवौँ अधिवेसनमा आ. व. ०७८÷०७९ को बार्षिक नीति प्रस्तुत गर्ने भएको छ । आज बसेको कार्यपालिका बैठकमा चालु आर्थिक बर्षको समीक्षा गर्दै आगामी बर्षको नीति प्रस्तावमाथि छलफल गरेको छ । 

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकमा विगत बर्षमा लिइएका नीति र तिनको कार्यान्वयनको विश्लेषण गरेको छ । यसैका आधारमा आगामी बर्षको नीति प्रस्ताव गरिनेछ ।  

बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित कार्यपालिका सदस्यहरु हुनुहुन्थ्यो । 

कार्यपालिका सदस्यहरुबाट भोलिसम्म प्राप्त हुने सुझावलाई समेटेर बार्षिक नीतिको प्रस्ताव अधिवेशनमा पेश गरिने बैठकका अध्यक्ष तथा महानगरका प्रमुख शाक्यले जानकारी दिनुभयो । अधिवेसनमा गरिने प्रस्तावमाथि नगर सभा सदस्यहरुले सुझाव दिनुहुनेछ । त्यसपछि अधिवेशनको अर्को बैठकले नीति पारित गर्ने।

पत्रकार दबूको कोरोना कोषमा मन्त्री श्रेष्ठद्वारा १ लाख रुपैयाँ हस्तान्तरण

Swoniga Online | २०७८ आषाढ २, बुधबार वर्गीकृत

स्वनिगः अनलाईन, काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना दु्रत प्रतिकार्य कोषको लागि १ लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले पुल्चोक, हरिहरभवनस्थित मन्त्री निवासमा कोषका संयोजक सुरेन्द्रभक्त श्रेष्ठलाई सो रकम बुधबार हस्तान्तरण गर्नुभयो । कोरोना महामारीको समयमा पत्रकारहरुलाई सहयोग गर्न पत्रकार राष्ट्रिय दबूले कोरोना दु्रत प्रतिकार्य समूह गठन गरेको थियो । समूह मार्फत रकम जुटाउने कार्य भइरहेको समयमा मन्त्री श्रेष्ठबाट सो रकम प्रदान गरिएको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले पत्रकारिता मार्फत समुदायको अधिकार, भाषा, संस्कृतिको उत्थानमा पत्रकार राष्ट्रिय दबूले पु¥याउँदै आएको योगदानको सराहना गर्दै त्यस कार्यमा हौसला प्रदान गर्न आफूले व्यक्तिगत रुपमा यथोचित सहयोग गरेको बताउनुभयो ।उहाँले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउने पत्रकार राष्ट्रिय दबूको अभियानमा आफ्नो साथ सधै रहने पनि बताउनुभयो ।

प्रत्येक नागरिकलाई खोप सुनिश्चित गर्न सरकारले पहल गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले अहिलेको विषम परिस्थितिमा भ्रम र अफवाहले थप नकारात्मक असर पु¥याउन सक्ने भन्दै सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गर्नुभयो ।

काठमाडौं महानगरपालिकाले नेपालभाषामा शिक्षा दिन गरेको गरेको पहल सकारात्मक रहेको बताउँदै मन्त्री श्रेष्ठले विभिन्न भाषाभाषी र जातजाति बसोबास रहेको क्षेत्रमा त्यहाँको स्थानीय भाषाबाट शिक्षा दिनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकार राष्ट्रिय दबूले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउने अभियानमा अघि सारेका योजना र कार्यक्रमबारे जानकारी दिँदै यस कार्यमा संघीय सरकारको सहयोगको खाँचो औल्याउनुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष एवं समूहका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले कोरोना संक्रमणको जोखिम कारण लागू निषेधाज्ञाले थुप्रै सञ्चारकर्मीहरु बेरोजगार बनेको, साना तथा स्वरोजगार मिडिया संकटमा परेको, पत्रकार र तिनका परिवार संक्रमित भएको लगायत अनेक समस्यामा फसेको बताउँदै ति सञ्चारकर्मीहरुलाई यथासक्दो सहयोग गर्न कोष खडा गरेको जानकारी दिनुभयो । अहिलेसम्म कोषमा करिब ३ लाख रुपैयाँ जम्मा भइसकेको पनि संयोजक श्रेष्ठले बताउनुभयो ।

 

पहिलो दिनको खोप अभियानमा ८ हजार ७ सय सहभागी, निसङ्कोच भएर लगाउन मेयर शाक्यको आग्रह

Swoniga Online | २०७८ जेठ २६, बुधबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धि सम्झौता कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

हिजोबाट काठमाडौँ महानगर क्षेत्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको खोप अभियानमा लक्ष्य अनुरुपको सहभागिता नभएको भन्दै उहाँले भन्नुभयो– ‘काठमाडौँमा स्थायी बसोबास गरेका र काम विशेषले काठमाडौँमा बसोबास गर्दै आएका ६० देखि ६४ बर्ष उमेरसमूहका एक लाख नागरिकलाई यो चरणको खोप अभियानमा सहभागी हुने हाम्रो लक्ष्य हो । तर, हिजो र आजको अवस्थालाई हेर्दा लक्ष्य अनुसारको सहभागिता नदेखिएको हो कि भन्ने लागेको छ । म पुनः सो समूहका नगरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गर्छु ।’ 

उहाँले खोप अभियानबारे अझै पनि नागरिकको मन जित्न नसकेका कारण यस्तो भएको हो कि भन्ने आशंका समेत व्यक्त गर्नुभयो । ‘पहिलो दिनको सहभागिता लक्ष्य अनुरुप न्युन भएको हो कि भन्ने हामीलाई लागेको छ । हामीले पहिलो दिन १५–२० हजार जतिको सहभागिता होला भन्ने ठानेका थियौँ । तर, ८ हजार ७ सय ४७ जनाले मात्रै खोप लगाएको जानकारी प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘लक्षित समूहका नागरिकमा अझै पनि खोपबारेको त्रास हट्न नसकेको हो वा हामीले सबै नागरिकको मन जित्न नसकेर हो । सहभागिता न्युन देखियो ।  दोस्रो डोज खोपको सुनिश्चितता नहुने लगायतका त्रासले पनि नागरिक खोप लगाउन डराएका हुन कि भन्ने लागेको छ । उहाँहरुलाई यी सबै त्रासबाट मुक्त गराएर खोप अभियानमा सहभागी गराउन हामी सबै लाग्नुपर्छ । म सबैसँग आग्रह गर्छु ।’ 

उहाँले खोप कार्यक्रममा सहभागी नागरिकलाई खोप लगाउन बाँकी नागरिकलाई पनि सहभागी हुन आग्रह गर्न सुझाव दिनुभयो ।  

महानगरका प्रमुख शाक्यको उपस्थितिमा काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डबिच भएको सम्झौता महानगरकातर्फबाट वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र मेड्सकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा. गियोम फेबोलले हस्ताक्षर गर्नुभएको थियो । एक अर्काको आचारसंहिता, पारदर्शिता तथा ववाफदेहिता, गोपनीयता, सञ्चार, सहभागितामुलक निर्णयमा समानता, मानवीय कार्य, स्वतन्त्रता र तटस्थताका सिद्धान्तको सम्मान र पालना गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतापछिकै सम्वोधनमा प्रमुख शाक्यले, परियोजनाबाट लक्षित समूहमा कार्यक्रम पु¥याउन सहज हुने प्रतिक्रिया दिनुभयो । ‘स्वास्थ्य सेवामा सबैको समान पहुँच विस्तार गर्न हामीले लगानी बढाएका छौँ । पूर्वाधार सुधार, उपकरण खरिद र जनशक्तिको समुचित परिचालनबाट हामी लक्ष्य पूरा गर्नेछौँ । 

सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाले १ करोड ५ लाख ४० हजार रुपैयाँ व्यहार्नेछ । परियोजना सञ्चालन गर्न समन्वय समिति र रणनीतिक र व्यवस्थापन समिति गठन गरिनेछन् । सम्झौताबमोजिमकाृे स्वास्थ्य प्रवर्धन केन्द्र वडा १९ मा स्थापना भए पनि अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत सेवा दिइनेछ । सम्झौता अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, स्वास्थ्य विभागका अधिकारी तथा विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो 

युनाइटेड नेवाःबाट छत्रपाटी चिकित्सालय लाई सहयोग

Swoniga Online | २०७८ जेठ २५, मंगलबार वर्गीकृत

अमेरिकी राज्य टेक्सासको ड्यालस शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले कोभिद संक्रमणबाट ग्रसित विरामीहरूको निःशुल्क उपचारको लागि छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) लाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा प्रदान गरेको छ ।

हालै एक संक्षिप्त कार्यक्रमकाबिच चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो । 

सहयोग हस्तान्तरणमा आफ्नो सन्देश दिँदै युनाइटेड नेवाः युएसएका अध्यक्ष महेन्द्र मानन्धरले नेपालका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई युनाइटेड नेवाःबाट सहयोग गर्ने माध्यमका रुपमा छत्रपाटी चिकित्सालयलाई उक्त रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष शैलेन्द्र मानन्धरले पूर्ण सेवाभावले सञ्चालित चिकित्सालयलाई उक्त रकम हस्तान्तरण गर्न पाउँदा हर्ष लागेको बताउँदै भविष्यमा पनि यस्तो सेवा गर्न प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चन्दा संकलन कार्यमा सहयोग गर्नुहुने संस्थाका सदस्यहरू सचिन्द्र शाक्य, रवि महर्जन, प्रज्वल महर्जन र नरेश महर्जनलाई पनि धन्यवाद दिनुभयो ।

वरिष्ठ चित्रकलाकार एकाराम सिंको कोरोना कारण निधन

Swoniga Online | २०७८ जेठ २५, मंगलबार वर्गीकृत

वरिष्ठ चित्र कलाकार एकाराम सिंको कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएको छ।

उहाँको ५९ वर्षको उमेरमा सोमवार काठमाण्डाै बूढानीलकण्ठ नगरपालिका चुनिखेल कपनको करुणा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  

इतिहास संस्कृतिमा विशेष अध्ययन र अनुसन्धानमा क्रियाशील उहाँ बाल साहित्यमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय काठमाण्डौ महानगरपालिकाबाट लागू गरेको नेपालभाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीका’ १ कक्षादेखि ८ कक्षासम्मको पाठ्यपुस्तकका लागि चित्र कोर्नु भएको थियो।

चित्रकला विधामा पनि इलस्ट्रेसनमा दक्षता राख्नु हुने उहाँले  वर्ल्ड भिजन, आइयूसीएनलगायत सङ्घसंस्थामा आबद्ध भएर पनि काम गर्नु भएको थियो। 

वैशाख ३१ गते अस्पतालमा भर्ना गरिएका उहाँको आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

 

६० देखि ६४ बर्ष उमेर समूहका एक लाख महानगरवासीलाई भेरोसेल खोपः मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ जेठ २५, मंगलबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट सुरु ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोविडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताउनु भएको छ । ‘काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ,’ शाक्यले भन्नुभयो, ‘हामीले नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो चरणको खोप एक लाखलाई दिने लक्ष्य राखेका छौँ ।’

यसअघि पहिलो मात्राको खोप लगाउन छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक यो खोप दिन लागिएको हो । ‘विगतका दिनमा अस्पतालहरुमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भिडभाड हुने, त्यही भिडभाडबाट संक्रमण फैलिने डर हुने लगायतका विभिन्न खाले गुनासो आएपछि त्यसलाई सम्वोधन गर्ने गरी भेरोसेल खोप लगाउँदा काठमाडौँ महानगरपालिका आफैँले व्यवस्थापन गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘अघिल्लो चरणको खोप पनि महानगरपालिककै व्यवस्थापनमा सञ्चालन गरेका थियौँ । त्यो बेला पनि धेरै सहज भयो भन्ने पनि प्रतिक्रिया प्राप्त भएपछि यो पटक पनि हामीले ३२ वटै वडामा ३२ वटा केन्द्र बनाएर अभियान सञ्चालन गरेका छौँ ।’ 

उहाँले अस्पतालमा अनावश्यक भिड गर्दा त्यहिबाट संक्रमण फैलिने हो कि भन्ने जनगुनासोलाई ध्यानमा राखेर ६० देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई खोप लगाउने अभियान काठमाडौँ महानगरपालिकाकै व्यवस्थापनमा सञ्चालन भैरहेको भन्दै त्यो उमेर समूहका आम महानगरवासी नागरिकलाई सेवा लिन आग्रह गर्नुभयो ।  

‘हामीले ३२ वटै वडालाई निर्देशन नै जारी गरेर ६० देखि ६४ वर्ष उमेर समूहका नगरिकलाई एकै दिन खोप लगाउँदा भीड हुने भएकाले उमेर समूह अनुसार फरक–फरक दिन गरी पाँच दिनसम्म लगाउने व्यवस्था गरेका छौँ’ उहाँले भन्नुभयो, ‘यो अभियान काठमाडौँ महानगरका नागरिकलाई मात्रै होइन ७७ जिल्लाबाटै राजधानीमा बसोवास गर्ने सो  उमेर समूहका नागरिकलाई हो । तपाईँहरु आफूलाई पायक पर्ने स्थानमा नागरिकतासहित खोप लगाउन जानु होला । ’ 

उहाँले भीडभाड कम गर्न पाँच समूह विभाजन गरी खोप अभियान सञ्चालन गरेको भए पनि श्रीमान–श्रीमती वा जेष्ठ नागरिकलाई खोप लगाउन साथैमा लिएर खोप केन्द्र पुगेका त्यो उमेर समुह भित्रका नागरिकलाई भने खोप लगाउने दिन होइन रहेछ भने उसलाई समेत त्यसैदिन खोप लगाएर पठाउने व्यवस्था गरेको बताउनुभयो । ‘व्यवहारिक पक्षलाई समेत ध्यानमा राखेर हामीले उहाँहरु दुई–दुई पटक आउनु नपरोस भनेर त्यस्तो व्यवस्थापन गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘हामीले सबै खोप केन्द्रमा खोप लगाएपछि केही समय आराम गर्ने र आराम गर्ने क्रममा दिक्क नहोस भनेर चिया–कुकिजको पनि व्यवस्थापन गरेका छौँ ।’ 

सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले पनि २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गर्नुभयो ।  ‘खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ,’ उहाँले भन्नुभयो, ‘यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्नेछ ।’ 

वडा खोप केन्द्रको नाम

१. नन्दी रात्री स्कुल, नक्साल

२. वडा कार्यालय, लाजिम्पाट

३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

४. वडा कार्यालय, वालुवाटार

५. वडा कार्यालय, हाँडीगाउँ

६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

७. वडा कार्यालय, मित्रपार्क, चावहिल

८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली

१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

१२. बुद्ध माई अस्पताल, टेकु

१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी

१५. भुइँखेल चौर, स्वयम्भू

१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

१७. पब्लिक युथ क्याम्पस, धोवी चौर

१८. पुष्पलाल पार्क, विष्णुमती किनार

१९. वडा १९ कार्यालय परिसर,

२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

२२. वडा कार्यालय, टेवहाल

२३. नव आदर्श विद्यालय, बसन्तपुर

२४. इतुमबहाल, तारणीबहाल

२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

२६. वडा कार्यालय परिसर, लैनचौर

२७. महावौद्ध चोक

२८. कार्यालय परिसर, सिटी मार्केट

२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

३१. इ.पी.एस. स्कूल, मीनभवन

३२. वडा कार्यालय परिसर, पाल्पाकोट

Pages