अन्तर्वार्तामा नक्कली उपस्थित, लिखित परीक्षा दिने सक्कलीसहित दुवै पक्राउ
Swoniga Online – Rosni | २०७८ श्रावण १७, आइतबार वर्गीकृत
लिखित परीक्षा सक्कली प्रहरीले दिएर उत्तिर्ण भएका उम्मेदवार अन्तरर्वार्तामा उपस्थित हुँदा शंकास्पद देखिएपछि दुबै जना पक्राउ परेका छन् ।
प्रहरी जवानको अन्तरर्वार्ता परीक्षामा सहभागी सक्कली र नक्कली दुबै जना परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा अन्तर्वार्तामा सहभागी दैलेखको भगवतीमाई गाउँपालिका–२, बेस्तडाका २२ वर्षीय रोशन शाही र कार्यरत प्रहरी जवान २३ वर्षका लोबन शाही पक्राउ परेका हुन् ।
रोशनको सट्टा प्रहरी जवान लोबन शाहीले लिखित परीक्षा दिएका थिए । लिखित परीक्षा उत्तिर्ण गरेपछि रोशन शाही आफैँ अन्तर्वार्तामा सामेल भएका हुन् । अन्तरर्वार्तामा शङ्कास्पद कुरा गरेपछि उनलाई त्यहिँ केही लेख्न लगाइएको थियो । तर, लेख्न नसकेपछि सोधपुछको क्रममा लिखितमा किर्ते गरेको खुल्न आएपछि दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।
रोशन शाहीले आफ्नो सट्टा लोकसेवा आयोगले लिएको प्रहरी जवान पदको लिखित परीक्षा उत्तिर्ण गराउन लोमन शाहीलाई एक लाख रुपैयाँ दिएको समेत खुल्न आएको छ ।
दुवै नक्कली परीक्षार्थीलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । गत फागुन १२ गते लोकसेवा आयोगको कार्यालय, सुर्खेतले सञ्चालन गरेको लिखित परीक्षामा एक लाख रुपैयाँ दिएर आफू पास भएको बयानसमेत रोशनले दिएका छन् ।
भैसेपाटीमा डिजिटर डिस्प्ले बोर्ड स्थापना
Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण १६, शनिबार वर्गीकृत
रोटरी क्लब अफ सैबु भैसेपाटीले ललितपुरको दुई स्थानमा डिजिटर डिस्प्ले बोर्ड स्थापना गरेको छ । ललितपुरको नख्खुचोक र भैसेपाटी चोकमा डिस्प्ले राखेको हो । ट्राफिक जनचेतना जगाउने उद्देश्यले ट्राफिक सन्देश , समय र टम्परेचर सहितको डिस्प्ले राखेको हो ।
क्लबका सन् २०२१–२०२२ का अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा दुई स्थानमा स्थापना गरिएको डिस्प्लेको रोटरी क्लबका पुर्व गभर्नर एवं जोन–१५ का डिस्ट्रिक एसिस्टेन्ट गभर्नर सुनिलकृष्ण श्रेष्ठले डिस्प्लेको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै एसिस्टेन्ट गभर्नर श्रेष्ठले सामाजिक सेवामा समर्पित रोटरी क्लबले देशका विभिन्न जिल्लामा सचेतना जगाउने काम गरेको बताउनुभयो ।
उहाले भन्नुभयो–कोभिड–१९ महामारीबाट जोगिन देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छौ । त्यस बाहेक राहत वितरण, वालवालिका लक्षित खेल मैदान निर्माण, खानेपानी र सरसफाइ, छात्रा शिक्षा, विपन्न वालवालिकालाई निःशुल्क अध्ययनको व्यवस्था लगायतका कार्य गरिरहेका छौ ।
यो वर्ष सदस्यता वृद्धी कामलाई विशेष अभियानको रुपमा सञ्चालन गर्न लागेको जानकारी गराउदै पुर्व गभर्नर श्रेष्ठले भन्नुभयो–अब सक्षम नागरिक उत्पादन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौ ।
रोटरी क्लब अफ भैसेपाटी क्लबले गरेका सामाजिक कामको प्रशंसा गर्दै उहाले भन्नुभयो–रोटरी क्लब अफ भैसेपाटीका अध्यक्ष र सबै पदाधिकारीको को योगदानलाई कदर गर्नुपर्छ । उहाले रोटरी क्लबले विभिन्न ७ क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
सो क्लबले आफ्नो कार्यक्षेत्र परेको वुंगमतिको स्वाथ्य चौकीमा स्वाथ्य सेवा सञ्चालन गरिरहेको छ । मगरगाँउमा यात्रु प्रतिक्षालय निर्माण गर्ने चरणमा रहेको छ ।
कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष एवं सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेले कोभिडको समयमा क्लबले गरेका कामको चर्चा गर्दै यस्तै सामाजिक कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
उहाले भन्नुभयो–रोटरी क्लब अफ भैसेपाटी स्थापना भएपछि सो क्षेत्रमा विभिन्न सामाजिक काम गर्न सफल भएको उहाको धारणा थियो । क्लबका अध्यक्ष मिलन थापाले क्लबले शिक्षा, स्वाथ्य, सरसफाई लगायत क्षेत्रका काम गर्दै जाने बताउनुभयो । कार्यक्रममा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैलाई व्यवस्था गर्न ध्यान दिनुपर्दछ,सिंह नेता
Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण १६, शनिबार वर्गीकृत
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईंले आवाज उठाइदिनुपर्यो भन्छन् । जनताका ती जायज माग हुन्,’ नेता सिंहले भने ‘सरकारले कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनुपर्दछ ।’
‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो सम्बोधन गर्न सरकारले ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा नेता सिंहले छत्रपाटी निःशुल्क चिकित्सालयको विस्तारित नयाँ भवन कोठा निर्माणका लागि सहयोग गरेकाहरुलाई सम्मान समेत गरेका थिए ।
प्रहरीलाई नागरिक मैत्री प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकता
Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण १६, शनिबार वर्गीकृत
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले प्रहरीलाई नागरिक मैत्री प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको धारणा राख्नुभएको छ ।
परिसरले बुधबार गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । गत मंसिरको पहिलो सातादेखि परिसरको प्रमुखको रुपमा बज्राचार्यले काम गर्न थाल्नुभएको थियो ।नागरिक मैत्री प्रशासन बनाउन प्रहरी कार्यालयमा कहिले नआएका गृहिणी महिला, पछाडिपरेका समूहको सहज पहँच स्थापित गर्ने आफ्नो ध्येय रहेको प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘ महिलाहरुलाई परिसर बोलाएर छलफल गर्ने , समस्या सुन्ने विविध गतिविधि सञ्चालन गरेको थिएँ।सो कार्यले प्रहरीप्रति अपनत्व भाव विकसित भएको पाएँ। कोरोना संक्रमणको बेला रातो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा सुरक्षा व्यवस्थापन मुख्य चुनौती रहेको उल्लेख गर्दै उहाँले गुठीयार, स्थानीय, सरोकारवाला सबैको साथ, सहयोग र समन्वयले सो काम सहज रुपमै सम्पन्न भएको बताउनुभयो ।
‘कोरोनाको जोखिममा प्रहरीलाई काम गर्न निकै कठिनाई र चुनौती थियो।जिम्मेवारी निकै थियो । त्यस्तो बेला धेरैको सहयोग,साथ पाएँ।सबैप्रति आभार प्रकट गर्दछौं। प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले भन्नुभयो ।
सोही अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले नेवार समुदायमा अझै पनि प्रहरी प्रशासन भन्ने बितिक्कै संकोच र भयको मनोविज्ञानले हेर्ने र बुझ्ने गरेको बताउँदै यसको अन्त्यका लागि प्रहरी र समुदायको अन्तरक्रिया बढाउनुपर्नेमा जोडदिनुभयो ।
समुदाय प्रहरी साझेदारी अभियानंमा आफू एक दशक भन्दा बढी समयदेखि लागिरहेको चर्चा गर्दै महासचिव महर्जनले नेवार समुदायमा प्रशासनको मनोवैज्ञानिक दुरी र दक्षिणी पहाडी भेगमा भौतिक दूरी हटाउनुपर्ने र परिसरको प्रमुख एक मिसा र त्यसमाथि नेवाः समुदायको भएकोले यो अवस्थालाई अझ ज्यादा बुझ्ने विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा पञ्चकन्या गुप्र्रका प्रमुख प्रदीपकुमार श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यो लगायतले बोल्नुभएको थियो ।
समारोहमा कोरोनाको समयमा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री र अन्य आवश्यक सामग्री उपलब्ध गराउने ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघ, अरनिको समाज, पञ्चकन्या गु्रर्प लगायत १ दर्जन संघसंस्थाका प्रतिनिधिहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न
Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण १६, शनिबार वर्गीकृत
काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ ।
खुल्ला मञ्चबाट बसपार्क हटाएर गएको बैशाख १६ पछि महानगरले सिटी यातायातलाई ‘पिक एण्ड ड्रप’ गर्न र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्न भनेको थियो । महानगरले यो व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दुरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म पूर्ववत यातायात सञ्चालन गर्न माग गर्दै आएका छन् । यस ठाउँमा फेरि यातायात फर्काउन नसकिने भएपछि मध्यम दुरीका यातायातका लागि विकल्प अध्ययन गर्न कार्यदल गठन गरिएको बैठकमा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । यसको विकल्पका रुपमा व्यवसायीले केही विकल्प राखेका छन् । ती विकल्पसहित अध्ययन हुनेछ । प्रमुख शाक्यको भनाइ छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्को व्यवस्था नभएसम्मका लागि खुल्ला मञ्चमा साविकबमोजिम बसपार्कका रुपमा प्रयोगका लागि गरेको माग निवेदन सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरिएको हो ।
समितिका सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले र नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटा हुनुहुन्छ ।
समितिलाई ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागसहितका सरोकारवाला निकायसँग छलफल गरेर सुझाव दिन ७ दिनको समय दिइएको छ ।
बैठकले सिटी मार्केटमा शिलबन्दी गरिएको ठाउँको आगामी उपयोगका विषयमा छलफल गर्दै, यस अघि मार्केटका विषयमा भएको अध्ययन शिफारिस प्रतिवेदनका आधारमा आगामी १ बर्षका लागि बोलपत्रको सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । सिटी मार्केट सञ्चालन र राजस्वका विषय बैठकमा जानकारी गराउने अध्यक्ष शाक्यले राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीलाई समय दिनुभएको थियो । त्यस क्रममा डा. अधिकारीले मार्केटमा भएका व्यवसायीले बहाल नतिरेपछि यस प्रकारको समस्या सिर्जना भएको बताउनुभयो । उहाँकाअनुसार ०७१ कार्तिक १४ गतेदेखि त्यसअघिका सञ्चालक सुरेन्द्र दाहालसँगको सम्झौता रद्द गरेको थियो । खुल्ला प्रतिस्पर्धाबाट ठेक्का लगाउन महानगरले ०७३ फागुन ४ गते बोलपत्र आव्हान गरेको थियो । त्यसमा कसैको पनि प्रस्ताव दर्ता भएन ।
०७५ मंसिर ६ गते बसेको कार्यपालिकाको बैठकले वडाध्यक्ष भाइराम खड्गीको संयोजकत्वमा सुझाव समिति गठन ग¥यो । समितिले न्युनतम एकीकृत अङ्क थ्रेसहोल्ड राखेर ठेक्कामा लगाउने सुझाव दियो । यसअनुसार त्यस बर्ष न्युनतम थ्रेस होल्ड मासिक १८ लाख ८३ हजार कायम भएको थियो ।
त्यस क्रममा डा. अधिकारीले ठूला २३ करदाताको नाम सार्वजनिक भएको र सम्पर्कमा नआए शिलबन्दीको तयारी रहेको बताउनुभएको थियो । त्यसैगरी आकाशे पुलहरुको व्यवस्थापन गर्ने ठेक्केदारले राजस्व नतिरेपछि महानगरले गरेको ताकेतापछि करीब २ करोड रुपैया तिरेको विषय बैठकमा जानकारी गराइएको थियो ।
बैठकमा प्रमुख शाक्यले संयुक्त एम्बुलेन्स चालक संघ भएको कोविडका समयमा भएको सहकार्यका विषयमा जानकारी गराउन सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरलाई र खुल्ला मञ्चबाट अस्थायी बसपार्क हटाएर सुरु गरिएको ‘पिक एण्ड ड्रप’ कार्यक्रमका विषय र यातायात व्यवसायीसँग भएको छलफलका विषयमा जानकारी गराउन नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटालाई समय दिनुभएको थियो ।
यी विषयको छलफल विविधमा राखिएको थियो । आजको बैठकमा १६ वटा प्रस्ताव र विविधमा ६ वटा विषय राखिएका थिए । खोप कार्यक्रमका कारण कार्यपालिका सदस्यहरु केन्द्र व्यवस्थापनमा लाग्नु पर्ने भएकोले प्रस्तावहरुमध्ये ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि — ०७८’ को मस्यौदा मात्र पेश भएको थियो । योसहित विधायन समितिबाट बैठकमा ल्याइएका ६ वटा कार्यविधि आगामी बैठकमा राखिनेछन् ।
भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा
Swoniga Online – Rosni | २०७८ श्रावण १४, बिहिबार वर्गीकृत
सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन/चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले बताउनुभयो । विसं २०७४ कै पैसा नपाएको गुनासो जिल्लाका उखु उत्पादक किसानको छ । पटकपटकको आन्दोलनपछि महालक्ष्मी र अन्नपूर्ण सुगर मिलबाट करिब रु तीन लाख भुक्तानी पाए पनि महतोले उद्योगबाट अझै रु ८५ हजार उठाउन बाँकी रहेको छ । उखुकै पैसा माग्न जिल्लाका उखु उत्पादक किसान काठमाडौँ पुगेका महतोले बताउनुभयो । “मैले पहिला दुई बिघा जमिनामा उखु लगाउँथे । उखु बेचेरै आफ्नो घरपरिवार र व्यवहार चलाउने गरेको मलाइ उद्योगले भुक्तानी नदिएपछि अहिले समस्या भएको छ”, महतोले राससलाई बताउनुभयो । सरकारबाट आश्वासन पाए पनि भुक्तानी हुन सकेन, यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँतर्फ लागेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताउनुभयो । सचिव रायले आफूले पनि करिब रु २० लाख भुक्तानी नपाएको बताएका छन् । समितिका अनुसार इन्दिरा सुगर मिलबाट रु तीन करोड, लुम्बिनीबाट रु तीन करोड, अन्नपूर्णबाट रु १२ करोड, महाकालीबाट करिब नौ करोड भुक्तानी हुन बाँकी छ । श्रीराम सुगर मिलबाट पाउनुपर्ने रु तीन करोड सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि जिल्लाका किसानले अहिलेसम्म पनि नपाएको सचिव रायले बताउनुभयो । उखु उत्पादक किसानले उत्पादन गरेको उखुको भुक्तानी नपाउँदा जिल्लाका किसान उखु उत्पादन पेशाप्रति असन्तुष्ट बन्दै गएका छन् । “ऋण लिएर उखुखेती गरेका हुन्छौँ, बिक्री भए पनि तत्काल पैसा पाइँदैन”, जसका कारण आफूहरुले वर्षाैँदेखि गर्दै आएको उखु उत्पादनको पेशा दिनप्रतिदिन परिवर्तन गर्न बाध्य भएका छौँ, “आफ्नै पैसा पाउन पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था आइरहेको छ । किसानका लागि योभन्दा ठूलो अत्याचार के हुनसक्छ ?” जिल्लाका उखु उत्पादक किसानको गुनासो छ । समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटकपटक आन्दोलन गर्न बाध्य छन् । विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौँ पुगेका हुन् । पहिला सरकारलाई आफ्नो अवस्थाबारे जानकारी गराउने र माग सम्बोधन नभए पुनः आन्दोलनको घोषणा गर्ने उनीहरुले बताएका छन् । “श्रीरामका सञ्चालकले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिएका छन् तर किसानले पाएका छैनन्”, सचिव रायले बताउनुभयो । “महाकालीले करिब रु दुई करोड अनुदान रकम पनि दिएको छैन ।” यस वर्ष महाकालीले करिब दुई महिना क्रसिङ गरेको थियो तर एक महिनाको मात्रै भुक्तानी गरेको समितिले जनाएको छ । उखु किसान विसं २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । विसं २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौतासमेत भएको थियो । विसं २०७६ माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो तर सम्पूर्ण रकम भुक्तानी अहिले पनि भएको छैन । रकम नपाएपछि पीडित किसानले गत चैत ८ गते माइतीघरमा रिले अनशन गर्ने घोषणा गरेका थिए तर चैत ११ गतेदेखि लकडाउन भएपछि अनशन स्थगन भयो । सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले २०७७ कात्तिक २३ गते तत्कालीन उद्योगमन्त्री लेखराज भट्टलाई स्मरणपत्र बुझाएका थिए । जिल्लाका उखु उत्पादक किसानले कात्तिक २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी समस्या समाधानको पहल गरिदिन अनुरोध गरेका थिए तर किसानले आश्वासनबाहेक केही नपाएको बताएका छन् । “विभिन्न राजनीतिक दलदेखि राष्ट्रपतिसम्म आफ्नो कुरा राखेका छौँ, केन्द्रमा मात्रै नभई जिल्लामा पनि कयौँपटक आन्दोलन भयो”, उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताउनुभयो । मिलमा अनशन बस्यो, भुक्तानी दिने सहमति पनि हुन्छ तर कार्यान्वयन हुँदैन ।” भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौँ धाउनुपरेको उहाँको भनाइ छ । राष्ट्रपति भण्डारीसँगको भेटपश्चात पनि माग सम्बोधन नभएपछि उनीहरू पुनःआन्दोलनमा उत्रिन बाध्य भएका छन् । त्यसपश्चात् केही उद्योगीले भुक्तानी गरे पनि अन्नपूर्ण, इन्दिरा, श्रीराम र लुम्बिनीले पूर्णरूपमा भुक्तानी गरेका छैनन् । त्यसपछि विसं २०७७ पुसमा किसानले दोस्रोपटक काठमाडौँमा आन्दोलन गरेका थिए । आन्दोलनकै दबाबले सुगर मिलले केही रकम मात्रै भुक्तानी गरेको थियो । सरकारले चिनी उद्योगीको शेयर र जग्गा लालपुर्जा रोक्का गर्ने तथा २१ दिनभित्र भुक्तानी नगरे कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि किसानले आन्दोलन स्थगन गरेका थिए । सोह्र दिनको आन्दोलनपछि सरकार र उखु किसान सङ्घर्ष समितिबीच चार बुँदे सहमति भएको थियो । उता आन्दोलनमा सहभागी सर्लाहीका उखु किसान नारायणराय यादवको मस्तिष्कघातका कारण मृत्यु भएको थियो । मिलले सरकारले तोकेको उखुको समर्थन मूल्यसमेत नदिएर ठग्ने गरेको रायको आरोप छ । “करिब २० प्रतिशत घटाएर किसानलाई पैसा दिइन्छ”, उहाँले भन्नुभयो, “सरकार र उद्योगीबाटै अत्याचार भयो । किसान सधैँ मारमा परेका छन् ।”
गोरखा अस्पतालमा कोभिडका बिरामी बढ्दै
Swoniga Online – Rosni | २०७८ श्रावण १३, बुधबार वर्गीकृत
गोरखा । गोरखा अस्पतालमा दिनानुदिन कोरोनाका बिरामी बढ्दै छन्। कोभिड १९ का बिरामी कुनै दिन भर्ना दर शुन्य भएकोमा अहिले दैनिक पाँच जनाभन्दा धेरै
हुने गरेको अस्पतालले जानकारी दिएको छ।
बिगत एक सातायता दैनिक फिभरका बिरामी दोब्बर बढेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए। ‘गत सात गतेदेखि आजसम्म फिभर क्लिनिकमा उपचार गराएका बिरामीको तथ्यांक हेर्दा दोब्बर बढिरहेको देखिन्छ’, उनी भन्छन्, ‘सात गते १३ जना बिरामीले उपचार गराएका थिए। आठ गते १४ जना, १० गते १५ जना ११ गते ११ जना, १२ जना ३१ जना र १३ गते मध्यान्नसम्म २० जना फिभरका बिरामीले उपचार गराएका छन्।’
"उनीहरुमध्ये कोरोना पोजिटिभ देखिने, अस्पताल भर्ना भएर उपचार गराउनेको संख्या पनि बढिरहेका छन्’, उनले भने, ‘बिगत दुई दिन यता शुन्यबाट पाँचजना, छ जनासम्म कोरोनाका बिरामी उपचार गराउन आउने गरेका छन्।’
कर नतिरेपछि माइकिन गर्न शुरु गर्दै महानगर
Swoniga Online – Rosni | २०७८ श्रावण १३, बुधबार वर्गीकृत
काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गर्दे कर तिर्न सूचना जारी गरेको छ ।
महानगरले पटक–पटक सञ्चार माध्यममार्फत सूचना जारी गरी तिर्न अनुरोध गर्दा पनि अटेरी गरेपछि नाम सार्वजनिक गर्दै माइकिङसमेत गरेको छ ।
आज कर नबुझाएका करदाताहरुको क्षेत्रमै पुगेर महानगरपालिकाले माइकिङ गर्दै कर तिर्न निर्देशन दिएको छ ।
पटक–पटकको अनुरोधलाई पनि अटेरी गरेपछि बाध्य भएर महानगरले सार्वजनिक रुपमै माइकिङ गनुपरेको जनाएको छ ।
यी हुन कर नतिर्ने ठूला करदाताहरु
महानगर राजस्व विभागका अनुसार नाम चलेका व्यवसायिक संस्थान, मेडिकल कलेज, अस्पताल, व्यवसायिक मलसम्म रहेका छन् ।
महानगरका अनुसार नेपाल रेडक्रस सोसाइटी र कृषि सामग्री संस्थानसम्मले पनि कर तिरेका छैनन् । कर नतिर्नेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायु हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एन आरटी क्लव, यूनाइटेड वल्र्ड सेन्टर, बाग्मती च्याम्बर, बुद्धवारी कम्पलेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्पलेक्स लगायत छन् ।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटी, कृषि सामाग्री संस्थान, एलआर आइ बोर्डिङ स्कुल स्यूचाटार, मनमोहन मेमोरियल कलेज, एण्ड शिक्षण अस्पताल, आरवी कम्पलेक्स, सुरज आर्केट, शुभश्री को–अपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी पोपटिज प्रालि र स्टार मलले पनि कर बुझाएका छैनन् ।
माइकिङ गर्दै महानगरपालिकाले कर तिर्न आग्रह गरेको छ । प्रहरीसहित करदाताका कार्यालयमै पुगेको महानगरपालिकाले सूचना टाँस पनि गरेको छ ।
कर, नबुझाएका यी करदाताबाट ७० करोडभन्दा बढी राजस्व उठ्न बाँकी रहेको राजस्व विभागले जनाएको छ ।
गुठीले गर्ने सांस्कृतिक काममा महानगरपालिकाको अपनत्व
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ श्रावण १३, बुधबार वर्गीकृत
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका संस्कृति, सम्पदाहरू संरक्षण गर्ने क्रममा कुनै गुठी, खलःहरूको आफ्नै जग्गा छ भने त्यहाँ महानगरपालिकाले सांस्कृतिक भवन बनाइदिने गरेको बताउनुभएको छ । महानगरपालिकाको यो सहयोगले गर्दा काठमाडौंका कतिपय गुठी खलःका सदस्यहरू मिली सामुहिक रूपमा जग्गा खरिद गर्न थालेको र त्यहाँ महानगरपालिकाले सांस्कृतिक प्रयोजनका भवन बनाइदिएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले पहिले गुठीहरूले आफ्नै पहलमा गर्ने कार्यहरू अहिले स्थानीय सरकारले जिम्मा लिई गर्न थालेको छ । यहाँका संस्कृति सम्पदाहरू संरक्षणलाई काठमाडौं महानगरपालिकाले अपनत्व ग्रहण गर्दै यो काम शुरु गरेको हो ।’
कामपा २१ वडास्थित तःबहालमा विभिन्न देवीदेवताहरू र तुंफः पुनर्निर्माण गरी हिजो गरिएको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘संस्कृति सम्पदा संरक्षण कार्यमा काठमाडौं महानगरपालिकाले चलाइरहेको काममा सहयोग गर्न अहिले बागमती प्रदेश सरकार पनि अघि बढेको छ । अहिले काठमाडौंमा सांस्कृतिक वाद्यवादन खरिद गर्न प्रदेश सरकारले ३ करोड रुपैयाँ छुट्याएको छ, यसको लागि प्रदेश सरकार लगायत यसमा पहल गर्नुहुने सबै प्रदेशसभा सदस्यज्यूहरूलाई धन्यवाद दिन चाहन्छु ।’
कामपा २१ वडा कार्यालय र स्थानीय तःबहाः पुचःया संयुक्त प्रयासमा उक्त तुंफः र मूर्तिहरू पुनस्र्थापना गरिएको हो ।
काठमाडौं महानगरपालिकाले गर्न लागेका केही कामहरूलाई अदालतले रोकिदिएकोमा दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘यदि सर्वोच्चले नरोकेको भए अहिले यही वडाको लगन टोलमा लगन पार्क बनिसक्थ्यो होला । हामी यो लगन चोकलाई असन चोक, इन्द्रचोक जस्तै आकर्षक चोक बनाउन चाहन्छौं ।’
लगनका स्थानीयवासीका लागि बनाउन लागिएको लगन पार्कलाई एक जनाको उजुरीको भरमा रोकिएको जनाउँदै उहाँले अहिले कोरोनाको कारण देखाएर यो मुद्दालाई पेशीमा नचढाईकन रोकिएको पनि बताउनुभयो।
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ७ जना घाइते
Swoniga Online – Rosni | २०७८ श्रावण १३, बुधबार वर्गीकृत
गुल्मी जिल्लाको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप दुर्घटनामा परेको छ। जिल्लाकै मुसीकोटमा जिप दुर्घटना भएको हो।
दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै ७ जना घाइते भएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए।
जिपमा १० जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरुलाई सदरमुकाम तम्घासमा उपचारका लागि लगिएको छ।


