add
Display Style: 
Column Style

अस्पतालभित्र प्रवेश गरी डाक्टर नर्समाथि अभद्र व्यवहार गर्ने पक्राउ

Swoniga Online – Rosni | २०७८ भाद्र २, बुधबार वर्गीकृत

काठमाडौं । अस्पतालभित्र प्रवेश गरी डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मोरङस्थित कोशी अस्पतालमा सोमबार साँझ प्रवेश गरी अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई पक्राउ गरिएको हो।

पक्राउ परेका बानियाँविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन बिसीले स्वास्थ्यखबरलाई जानकारी दिए।

अफगानस्ताानबाट १४० नेपाली काठमाडौं आइपुगेः होल्डिङ सेन्टरमा राखीने

Swoniga Online – Rosni | २०७८ भाद्र १, मंगलबार वर्गीकृत

काठमाडौं । तालिवानी विद्रोही शक्तिले सत्ताकब्जा गरेपछि विकसित घटनाक्रममा अफगानस्तानबाट १४० नेपाली काठमाडौं आइपुगेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार १४५ जना नेपाली अफगानस्तानबाट काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

उनीहरुलाई सरकारले स्वास्थ्य जाँचका लागि खरिपाटी र राधास्वामी होल्डिङ सेन्टरमा लगेर राख्ने व्यवस्था मिलाएको छ । होल्डिङ सेन्टरमा पुर्याएपछि पीसीआर परिक्षण तथा एन्टिजेन विधि मार्फत कोरोना परिक्षण लगायत स्वास्थ्य जाँच हुनेछ । स्वास्थ्य अवस्था ठीक रहेको पाइए उनीहरुलाई घर पठाइने गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।

स्वास्थ्य जाँच गर्दा खराबी देखिए त्यही राख्छौं, समस्या नभए घर पठाउँछौं,’ गृह प्रवक्ता पोखरेलले हाम्राकुरासँग भने । होल्डिङ सेन्टरमा रहँदाको खाने बस्ने खर्च भने सरकारले नै ब्यहोर्ने छ ।

अफगानिस्थान विद्रोही तालिबानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपालीहरू जोखिममा परेका छन् । के कती संख्यामा अफगानस्तानमा नेपालीहरु रहेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरुलाई सम्पर्कमा आउन भनिसकेको छ । सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट अफगानस्तानमा रहेका नेपालीहरूको सकुशल उद्धार गर्ने निणर्य गरेको थियो । 

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि उब्जिएको परिस्थितिमा त्यहाँ रहेका नेपालीहरूको स्वदेश फिर्तीका लागि आफ्ना सबै संयन्त्र परिचालन गरिसकेको गृह मन्त्रालयले जनाएको छ । सो कार्यका लागि परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर अघि बढ्ने काम भइरहेको गृह मन्त्रालयले जनाएको हो ।

हल अफगानस्थानमा रहेका नेपालीहरुको अवस्थाको विवरण भने परराष्ट्र मन्त्रालयमार्फत संकलन गर्ने काम भइरहेको छ । परराष्ट्र मन्त्रालयले करिब ३ सय नेपालीहरू दुबई पुगिसकेको र थप १ सय ३४ले सरकारलाई सम्पर्क गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन् । बिभिन्न दुतावास, बिदेशी नियोग र संघसमस्थाहरूमा काम गर्ने नेपालीहरूलाई सम्बन्धित संस्थाहरूले अफगानिस्तानबाट बाहिर निकालिरहेको छ भने त्यहिं रहेका नेपालीहरू पनि सुरक्षित रहेको जनाइएको छ । उनीहरू क्रमिकरूपमा अफगानिस्तानबाट बाहिरिने छन् ।

समाचार स्वास्थ्य व्यवसायी परिषदले भदौ २१ र २२ गते लाइसेन्स परीक्षा लिने, तोकियो परीक्षा केन्द्र

Swoniga Online – Rosni | २०७८ श्रावण ३२, सोमबार वर्गीकृत

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ।

परिषदले यसअघि असार १९ मा लिने भनिएको परीक्षा कोभिड-१९ संक्रमणका कारण स्थगित भएको थियो। परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार असारमा स्थगित परीक्षा अब भदौमा हुने भएको हो। उनका अनुसार परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा हुने छ।

परीक्षामा भाग लिन चाहनेले साउन ३२ गते राती १२ बजेसम्म आवेदन दिन सक्नेछन्। परीक्षाका लागि हालसम्म ७ सय भन्दा बढीले आवेदन दिइसकेका छन्। 

हेरौं सूचना

 

एक करोड खोप, कहिले र कुन देशबाट कति आउँदै ?

Swoniga Online – Rosni | २०७८ श्रावण ३२, सोमबार वर्गीकृत

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा आगामी असोजसम्म थप एक करोड डोज खोप आइपुग्ने दाबी दोहोर्याए। ‘अहिले नेपालमा एक करोड आठ लाख खोपबाहेक आगामी असोजसम्म अर्को एक करोड खोप आउने भएको छ,’ उनले भने, ‘यसबाहेक आगामी चैतसम्म खोप लगाउन उपयुक्त सबै जनतालाई खोप लगाएर सक्ने प्रण सरकारले गरेको छ।’

शनिबारसम्म नेपालमा ३३ लाख ३ हजार ५७८ ले दुवै मात्रा र ४६ लाख ७४ हजार ३१८ ले पहिलो मात्रा मात्र खोप लगाएका छन। हालसम्म नेपालमा एस्ट्राजेनेका, भेरोसेल र जोनसन एन्ड जोनसनको खोप प्रयोगमा ल्याइएको छ। यसअघि प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि असोजसम्म १ करोड २ लाख खोप सुनिश्चित भइसकेको दाबी गरेका थिए।

‘सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता छ। त्यसका लागि असोजसम्म १ करोड २ लाख खोप सुनिश्चित गरिसकेका छौं,’ राज्यमन्त्री श्रेष्ठले दाबी गरेका थिए। श्रेष्ठले भनेको एक करोड २ लाख खोप चीन, भारत र जापानबाट आउने सुनिश्चित भएको हो। चीन र जापानको अनुदान तथा भारत र चीनसँग खरिदबाट उक्त परिमाणमा खोप आउने सुनिश्चित भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

जापानबाट एस्ट्राजेनेका र चीनबाट भेरोसेल १६–१६ लाख डोज अनुदानमा आउनेछ। त्यसबाहेक चीनबाट ६० लाख डोज खरिद गर्ने प्रक्रिया टुंगिएको र भारतबाट यसअघि खरिद गरेको १० लाख डोज खोप असोजसम्म आउने भन्दै सरकारले असोजसम्म १ करोड २ लाख खोप सुनिश्चित भइसकेको जनाएको हो। 

जापानले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई उक्त खोप दिन लागेको हो। जसमध्ये ८ लाख खोप आइपुगिसकेको छ भने बाँकी खोप एक सातापछि आउने मन्त्रालयका सचिव डा। रोशन पोखरेलले बताए। जापान र भुटानले दिएको एस्ट्राजेनेका खोप यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई लगाइएको छ। बाँकी खोप आउनेबित्तिकै क्रमशः अन्य नागरिकलाई पनि लगाउँदै जाने पोखरेलले बताए।

भारतबाट कोभिसिल्डको खरिद गरेको खोप नआउँदा ६५ वर्षमाथिका १३ लाख ४८ हजार मानिसले दोस्रो डोज कुरिरहेका थिए। चीन सरकारले अनुदानमा घोषणा गरेको १६ लाख डोज खोप भदौ पहिलो साता नेपाल भित्र्निे सचिव पोखरेलले बताए। त्यसपछि क्रमशः खरिद गरिएको ६० लाख डोज खोप भदौभित्र आइसक्ने उनको दाबी छ। 

‘चीनसँग नन–डिस्क्लोजर एग्रिमेन्टअनुसार उक्त खोपको भुक्तानी भइसकेको छ। विभिन्न चरणमा  भदौभित्र उक्त खोप ल्याइसक्ने योजना छ,’ पोखरेलले भने। यसअघि पनि सरकारले चीनबाट नन–डिस्क्लोजर एग्रिमेन्ट गरेर ४० लाख डोज खोप किनेको थियो। चीनले नेपाललाई सहुलियत मूल्यमा खोप दिएकाले खोपको रकम खुलाउन नचाहेको मन्त्रालयले दाबी गर्दै आएको छ। 

गतवर्ष फागुनमा नै नेपालले भारतस्थित सेरम इन्सिच्युट अफ इन्डियालाई २० लाख खोपका लागि ९३ करोड रुपैयाँ भुक्तानी गरेको थियो। दुई हप्ताभित्र १०–१० लाख गरी दुई पटकमा खोप पठाउने सहमति भए पनि भारतले हालसम्म १० लाख खोप मात्रै पठाएको छ। 

बाँकी १० लाख खोप पनि असोजभित्रै आउने मन्त्रालय आशा गरेको छ। तर सेरमले उक्त खोप आपूर्ति गर्ने सुनिश्चित गरिसकेको छैन। 

‘हामी निरन्तर सम्पर्कमा छौँ। भारतमा दोस्रो वेभ आएको र अदालतले पनि खोप निर्यातमा प्रतिबन्ध लगाएकाले समस्या भएको हो। अहिले केही सहज भएको छ। उक्त खोप केही समयमा आउनेमा विश्वस्त छौँ,’ सचिव पोखरेलले भने। 

सरकारले आगामी माघसम्म ५ करोड २२ लाख डोज खोप नेपाल भित्र्सिक्ने गरी कार्य गरिरहेको जनाएको छ। राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना महामारी नियन्त्रणका लागि सरकारले भौतिक क्षमता सुदृढ गर्नुका साथै खोप ल्याउने विषयलाई प्राथमिकतामा राखेको बताए। 

‘अनुदान, ऋण अथवा किनेरै भए पनि सबै नेपालीलाई खोप उपलब्ध गराइने लक्ष्य सरकारको छ,’ उनले भने, ‘कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधिहरू सुचारु गर्न सकिन्छ। हाम्रो ध्यान खोपसँगै भएका संरचनाको सुदृढ गर्नमा केन्द्रित छ।’

माघसम्म मोर्डनाको ४० लाख खोप नेपाल भित्र्निे निश्चित भइसकेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन्। उक्त खोपको समेत भुक्तानी भइसकेको छ। उक्त खोप सन् २०२२ को मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरिएको छ। कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा उक्त खोप ल्याउन लागिएको हो। खोप साझेदार गाभीको सहकार्यमा उक्त खोप आउन लागेको हो। 

‘चुनौतीपूर्ण परिस्थितिका बाबजुद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउन सम्झौता गर्न सफल भयौँ,’ श्रेष्ठले भने, ‘यसले नेपालको कोरोना रोकथाम तथा नियन्त्रणमा ठूलो भूमिका खेल्नेछ।’ त्यसबाहेक मोर्डनाकै थप १ करोड १० लाख खोप कोभ्याक्सको लागत सहभागितामा र बालबालिकालाई लक्षित गरेर फाइजरको ६० लाख खोप खरिदको प्रक्रिया अघि रहेको मन्त्रालयले जनाएको छ। 

जापान पुगेका ३ जना नेपालीको कोभिड संक्रमणका कारण मृत्यु

Swoniga Online – Rosni | २०७८ श्रावण ३१, आइतबार वर्गीकृत

जापानमा एक हप्ताको अवधिमा तीन जना नेपालीको निधन भएको छ । काम र पढाइको शिलशिलामा जापान पुगेका ३ जना नेपालीको निधन भएको हो ।

अगष्ट ८ गते आइतबार बागलुङ घर भइ ओशाकामा बस्ने ४२ बर्षीय हरिकला भण्डारीको उपचारको क्रममा निधन भयो ।

भण्डारी फोक्सोमा समस्या देखिएपछि एक वर्षदेखि उपचाररत थिइन । त्यस्तै बुधबार मुस्ताङ घर भइ टोकियोमा बस्दै आएका उज्वल तुलाचनको कोभिड संक्रमणका कारण मृत्यु भयो ।

जापानमा कोभिड संक्रमणको दर बढेसँगै अस्पतालमा बेडको अभाव हुनथालेपछि उनलाई घरमै आराम गर्न भनिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकोक्रममा निधन भएको हो ।

अर्का नेपाली महेन्द्रनगर घर भई सेन्दाइमा अध्ययनरत ३१ वर्षका कुवेर धामीको शनिबार मृत्यु भएको छ । शनिबार काम बाट फर्केपछि आफ्नै कोठामा सुतेका उनी ढिलासम्म नउठेपछि उठाउन जादाँ मृत अवस्थामा भेटिएका थिए ।

धामी विद्यार्थी भिसामा २ वर्षअघि मात्र जापान पुगेका थिए । कोभिड संक्रमण बढे सँगै नेपाली दूतावासले स्वास्थ्य मापदण्डसहित सतर्कता अपनाउन नेपाली समुदायमा अनुरोध गरेको छ ।

कोरोनाको जोमिख भन्दै मनपरी भाडा

Swoniga Online – Rosni | २०७८ श्रावण ३१, आइतबार वर्गीकृत

कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् ।

कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु तीन हजारसम्म भाडा असुल्ने गरेका छन् । कालीकोटदेखि सुर्खेत जानका लागि कालीकोट नरहरिनाथ गाउँपालिका–९ का अनिल रावलले रु तीन हजार असुल तिरेको बताउनुभयो ।

“कोरोनाका बेला २८ प्रतिशत भाडा वृद्धि गरेको जोड्दा पनि जिपले रु एक हजार २५ लिनुपर्ने हो”, उहाँले भन्नुभयो । कर्णाली करिडोरअन्तर्गत कालीकोटको जितेगडाँडादेखि घाटपारी चौरसम्म जम्मा ३० किलोमिटर सडकखण्डमा लकडाउन अघिसम्म रु ३०० भाडा दर भएकामा गत वर्षको लकडाउनमा रु ५०० र यसवर्ष रु ८०० सवारी भाडा यातायात व्यवसायी आफैले बढाएका छन् ।

 

सेनाले निर्माण गरेर सो सडक गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिएको कर्णाली करिडोरमा यात्रुबाहक गाडीले मात्र नभएर मालबाहक मिनी टाटा र ट्याक्टरले पनि मनपरी ढुवानी भाडा असुल्ने गरेको पचालझरना व्यापारी रामबहादुर बोगटीले बताउनुभो । आफूकहाँ कसैको गुनासो नआएको र छड्के जाँदा पनि यात्रुले भाडा ठिकै लिएको बताउने गरेको ट्राफिक कार्यालयले जनाएको छ । भाडामा मनपरी भएको भन्नेबारे गुनासो सुनिए पनि आधिकारिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । “अनौपचारिक रुपमा भाडा बढी लिएको गुनासो आउने गरेको छ”, उहाँले भन्नुभयो, “औपचारिक जानकारी आए कारवाही गर्छौं ।”

महाबौद्धको १६ हाते गणेश मन्दिर पुननिर्माण सम्पन्न

Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण ३१, आइतबार वर्गीकृत

महानगरको वडा २७ महाबौद्धमा रहेको १६ हाते गणेश, महाङ्काल भैरव र शनिदेवको मन्दिर पुननिर्माण सम्पन्न भएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मन्दिरको उद्घाटन गर्नुभयो । वडाको करीव १० लाख रुपैयाँ लागतमा गरिएको पुननिर्माणमा स्थानीय मित्र युवा क्लव, मिसा पुच र टोल सुधार समितिले सहयोग गरेका थिए । 

उद्घाटनपछिको संक्षिप्त प्रतिक्रियामा महानगरका प्रमुख शाक्यले, सम्पदा पुननिर्माणसँगै सन्तुलित सहरी विकासका सबै पक्षमा महानगरले उत्तिकै जोड दिएर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । पैसाको अभावमा अमूर्त सम्पदासँग सम्बन्धित कुनै पनि क्रियाकलाप नरोकिउन भनेर महानगरले परम्परागत गुठीहरुलाई १÷१ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेका छौँ । यसबाट जीवन्त सांस्कृतिक सहर निर्माणमा सहयोग पुग्ने हाम्रो अपेक्षा हो । शाक्यको भनाइ थियो ।   

यो मन्दिरसँग सम्बन्धित सांस्कृतिक र पुरातात्विक सम्बन्ध खोज्दैछौँ । मन्दिरको महत्वका विषयमा जानकारी दिँदै वडाध्यक्ष चिनियाँमान बज्राचार्यले, यस अघि सडकमा भएको मन्दिर व्यवस्थित गरेर किनारामा स्थापना गरिएको बताउनुभयो । 

उद्घाटन अवसरमा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा २७ का वडा सदस्यहरु तथा स्थानीयहरुको सहभागिता थियो।

१६ वडा कार्यालय भवन शिलान्यास

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण ३०, शनिबार वर्गीकृत

आज काठमाडौँ महानगरको वडा १६ कार्यालय भवन शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभएको हो । वैदिक मन्त्र उच्चारणसहितको शिलान्यासमा अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन), महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष मुकुन्द रिजाल, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र वडा सदस्यहरुले शिलान्यास पूजा गर्नुभएको थियो । 

भवन निर्माणका लागि साउन २९ गते कायादेश दिइएको हो । यसको निर्माण अवधि १८ महिना (०७९ फागुन १५) सम्म रहनेछ । भवनको लागत अनुमान १० करोड ३७ लाख ३७ हजार ३१० रुपैयाँ गरिएको थियो । बोलपत्रका माध्यमबाट गरिएको खुल्ला प्रतिस्पर्धाबाट गौरी पार्वती÷के एण्ड के. जी ÷ रमिता जेभीले ७ करोड ५३ लाख २२ हजार ६४० अर्थात् २९.१६ प्रतिशत कममा निर्माण कबोल गरेर जिम्मा पाएको छ । 

शिलान्यास कार्यक्रमपछि बोल्दै प्रमुख शाक्यले महानगरको व्यवस्थित सेवा प्रवाहका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधारका विषयमा कुरा गर्दै धेरैजसो वडा भवनहरु शिलान्यास भइसकेको बताउनुभयो । शिलान्यास भएकामध्ये केही उद्घाटन भइसकेका छन् भने केही निर्माण सम्पन्नताका चरणमा छन् । प्रमुख शाक्यले भन्नुभयो, ‘केह भवन हामीले शिलान्यास गरेका र्छौँ । उद्घाटन हाम्रो कार्यकालपछि हुनेछ । हामीले केही वडा भवन निर्माणका लागि प्रयासलाई सार्थक बनाउन सकिरहेका छैनौँ । मुद्दा चलाएर काम रोकिदिने प्रवृत्तिले केन्द्रीय कार्यालय निर्माण पनि ढिला भएको छ । वडाहरुमा कहीँ जग्गाको समस्या छ भने कहीँ न जग्गा खरिद गर्न पाइन्छ । न भवन नै किन्न पाइन्छ । यसबाहेक हामी निर्वाचित भइसकेपछिको पहिलो कार्यपालिका बैठकको निर्णय गरेको निर्णय (महानगरको आफ्नै केन्द्रीय कार्यालय र वडा भवन बनाउने) प्रभावकारी कार्यान्वयन भइरहेको छ ।’ उहाँले कोविड नियन्त्रण, सम्पदा संरक्षण र प्रवर्धन, स्वास्थ्य शिक्षा र रोजगारी तथा आर्थिक र सामाजिक विकासका क्षेत्रमा महानगरले गरेका कामका बारे चर्चा गर्नुभएको थियो । 

अहिले गरिएका कामको परिणाम यसपछिको समयमा महसुस हुन्छ । अहिले गरिएका काम स्थानीय सरकारको जग हुन् । कार्यक्रममा अमरगढी नगरका प्रमुख ओझाले, शासन व्यवस्थापछिको पालिकाहरुको अवस्थाका विषयमा चर्चा गर्दै, अन्तरपालिका समन्वय र सहकार्यले काठमाडौँ महानगर र अमरगढी नगरविच भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।   

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, सुविधा सम्पन्न वडाबाट गुणस्तरीय सेवा प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । स्थानीय शासन चलाउन जग बलियो बनाउनु पर्छ । हामीले कार्यालय भवन निर्माण गरेर महानगरको सेवा व्यवस्थापनको जग मजवुत बनाउने प्रयास गरेका हौँ । खड्गी श्रेष्ठको भनाइ थियो । 

वडा कार्यालयको डिजाइन गर्दा आजभन्दा १० पछिको अवस्थालाई आँकलन गरिएको छ । हामी वडाको सेवा कुनै पनि कारणले नरोकिने संरचना बनाउँदैछौँ । वडाध्यक्ष मुकुन्द रिजालले भन्नुभयो, ‘वडा कार्यालय बनाउने महानगरको निर्णय हरेक सेवाग्राहीको सुविधासँग जोडिएको विषय हो । यसकारण वडा कार्यालन बन्नुलाई सबैले गौरवका रुपमा ग्रहण गर्नुपर्छ ।’

भवनका डिजाइनर सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार बेसमेन्टसहित भवन १० हजार ७०३ बर्गफुट क्षेत्रफलको हुनेछ । भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता हुनेछ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हुनेछ ।   

भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको हुनेछ भने भित्र आधुनिक सुविधा हुनेछन् । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सदस्यहरु र वडा सचिवको कक्ष रहनेछ । दोस्रो तलामा प्रशासनिक कक्ष तेस्रो तलामा प्रमुखको बैठक र कार्यालय कोठा हुनेछ । भवनमा सुविधा सम्पन्न बैठक कक्ष हुनेछ । 

१ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण हुने भवनको बाहिरी भागमा मोटरसाइकल पार्किङ् गर्ने ठाउँ र हरियाली हुनेछ।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यबाट ५१ औँ रक्तदान

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण ३०, शनिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गर्नुभएको छ ।  प्रमुख शाक्यले महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औँ पटक रक्तदान गर्नुभएको हो । 

‘क्लवको स्थापनादेखि नै रक्तदान गर्दै आएको छु। यो मेरो ५१ औँ पटकको रक्तदान हो’ सोही वडाका स्थानीय वासिन्दा समेत रहनुभएका शाक्यले भन्नुभयो, ‘अरुलाई बचाउनका लागि गरिने रक्तदान उत्कृष्ट दान रक्तदान हो। त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो । क्लवले ०४४ सालदेखि नियमित रक्तदानको आयोजना गर्दै आएको छ।’ 

कोभिडका बेलामा समेत रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रक्तदान गर्न प्रमुख शाक्यले अरुलाई पनि सुझाव दिनुभयो ।  ‘सामाजिक दूरी कायम गरी सुरक्षित भएर स्वस्थ व्यक्तिले रक्तदान गर्दा रगत अभाव हुन नदिइ अरुको पनि ज्यान बचाउन सकिन्छ,’ शाक्यले भन्नुभयो । 

रक्तदान कार्यक्रममा केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित गरेको डडेलधुराको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले पनि मेयर शाक्यसँगै रक्तदान गर्नुभयो । उहाँले भगिनी सम्वन्ध स्थापित महानगरपालिकामा आएर मेयर शाक्यसँगै रक्तदान गर्ने अवसर प्राप्त हुँदा खुशी लागेको बताउनुभयो 

काठमाडौँ गन्तव्य हुने यातायातको व्यवस्थापनमा महानगरले नेतृत्व लिन्छ, यसमा संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ — प्रमुख शाक्य

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण ३०, शनिबार वर्गीकृत

 काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ ले आज प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले मध्यम दुरीका सवारी साधनको दिगो व्यवस्थापनलाई दृष्टिगत गर्दै ३ बुँदे सुझाव दिएको छ । सुझावको पहिलो बुँदामा राष्ट्रिय यातायात व्यवसायी महासंघले मध्यम दुरीका सवारीका लागि बसपार्कका सम्बन्धमा राखेको विषयलाई समेटेको छ । यसमा भनिएको छ, ‘तत्काल यात्रुवाहक सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर मर्मत सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट दैनिक रुपमा सवारी साधन सञ्चालनमा ल्याउने ।’

खुल्ला मञ्चबाट सञ्चालन भएको बसपार्क ०७८ बैशाख १६ बाट बन्द गरेर महानगरले सहरी यातायातलाई ‘पिक एण्ड ड्रप’ प्रणालीबाट र मध्यम दुरीका सवारीलाई नयाँ बसपार्क गोङ्गबुबाट सञ्चालन गर्न अनुरोध गरेको थियो । महानगरको यो आग्रहपछि राष्ट्रिय यातायात व्यवसायी महासंघले नयाँ बसपार्क मध्यम दुरीका सवारी सञ्चालनका लागि अपायक हुने भन्दै हाललाई खुल्ला मञ्च नै उपलब्ध गराउन निवेदन दर्ता गरेको थियो । 

व्यवसायीको मागका विषयमा अध्ययन गर्न साउन १५ गते बसेको महानगरको ६५ औँ कार्यपालिका बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिको सदस्यहरुमा कार्यपालिका सदस्यहरु नवराज पराजुली, चिनियाँमान बज्राचार्य, ख्यामराज तिवारी र चिनीकाजी महर्जन हुनुहुन्थ्यो । उहाँहरुलाई महानगरका निर्देशक ध्रुवकुमार काफ्ले, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा, ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाह र प्रहरी निरीक्षक दामोदर सिलवालले सहजीकरण गर्नुभएको थियो । 

प्रतिवेदन बुझाउँदै समितिका संयोजक खड्गी श्रेष्ठले, सरोकारवालासँग गरिएको कुराकानी, स्थलगत भ्रमण अवलोकन र सहरी आवश्यकतालाई अध्ययनको आधार बनाइएको बताउनुभयो । 

तत्कालका लागि गरिने समाधानसँगै संघ र प्रदेश सरकारको सहयोग तथा लागत सहभागितामा सवारी साधनको प्रकृतिअनुसार यात्रुवाहक बस, मालबाहक ट्रक र मालबाहक ठूला कन्टेनरका लागि छुट्टाछुट्टै टर्मिनल बनाएर सञ्चालन गर्नुपर्ने हाम्रो सुझाव छ । संयोजक खड्गी श्रेष्ठले भन्नुभयो, दिगो व्यवस्थापनका लागि ‘काठमाडौँ उपत्यकाका सबै पालिका, काभ्रेका धुलिखेल, बनेपा र पनौती नगरपालिका तथा यातायात व्यवसायीसहित सरोकारवालाको सहभागितामा यातायात कम्पनी स्थापना गरेर कम्पनीमार्फत दीर्घकालीन योजना सञ्चालन गर्नुपर्ने’ हामीले दिएको प्रतिवेदनको अर्को सुझाव हो । 

प्रतिवेदन बुझेपछि प्रमुख शाक्यले, लामो दुरीका सार्वजनिक सवारी सञ्चालन र व्यवस्थापन संघ र प्रदेश सरकारको पनि जिम्मेवारी रहने हुँदा काठमाडौँ महानगरले नेतृत्व गर्ने दुवै सरकारले सहयोग गर्ने गरी योजना निर्माण गर्नुपर्ने बताउनुभयो । ‘अध्ययन समितिबाट प्रतिवेदन प्राप्त भयो । यो प्रतिवेदन ६८ औँ कार्यपालिका बैठकको एजेन्डा हुनेछ । त्यहाँबाट प्राप्त हुने सुझावका आधारमा अगाडि बढ्न सहज हुनेछ ।’  प्रमुख शाक्यले तत्काल बसपार्क सञ्चालन गर्न सकिने ठाउँको पूर्वाधार निर्माणमा महानगरले लगानी गर्नेछ । यसमा व्यवसायीको पनि लगानी हुनेछ । 

अन्य पालिकाका जनप्रतिनिधिले सवारी व्यवस्थापन आफ्नो समस्याका रुपमा नबुझेको महसुस भयो । प्रतिवेदन बुझाएपछिको प्रतिक्रियामा समितिका सदस्यहरु नवराज पराजुली र चिनीकाजी महर्जनले बुझाइ सुनाउनुभयो । सहरी व्यवस्थापनको धेरै दायित्व महानगरले लिनुपर्छ । तर, अन्य पालिकाले पनि समस्याको महसुस गर्नुपर्छ । उहाँहरुको भनाइ थियो ।   

प्रतिवेदनमा, काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी काठमाडौँ महानगरपालिका क्षेत्र केन्द्रीत भएर चलेको तथ्याङ राखिएको छ ।

Pages