यी हुन् पुरस्कार पाउने ४० जना निजामती कर्मचारी
Swoniga Online – Rosni | २०७८ भाद्र २२, मंगलबार वर्गीकृत
काठमाडौं । आज निजामती कर्मचारी दिवस मनाइँदै छ । दिवसका अवसरमा ४० जना निजामती कर्मचारी सम्मानित हुँदै छन् ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र३० जनालाई निजामती सेवा पुरुस्कार प्रदान गर्न लागिएको हो ।
दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएको छैन । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् ।
यी हुन् पुरस्कार पाउने कर्मचारीहरु –

काठमाडौं डुबानमा :३८२ घर डुबे, १३८ जनाको उद्धार
Swoniga Online – Rosni | २०७८ भाद्र २१, सोमबार वर्गीकृत
अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ।
गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो। उनका अनुसार राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।
भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ।
मौसमविद् अर्यालका अनुसार अहिले बागमती प्रदेशभरि वर्षा भइरहेको छ। केही घन्टाअघि लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो।
भिमसेन जात्राको लागि ललितपु्र – १६ द्वारा ५ लाख रुपैयाँ सहयोग
Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ भाद्र २०, आइतबार वर्गीकृत
ललितपुरको ऐतिहासिक भिमसेन जात्राको लागि ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले ५ लाख रुपैयाँ प्रदान गरेको छ ।
वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । अर्मूत संस्कृति संरक्षणको लागि सम्बद्ध गुठीयार, सरोकारवालासंग समन्वय गरी अक्षयकोषको लागि रकम प्रदान गर्दै आएको बताउँदै वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ यसले संस्कृति संरक्षणका निम्ति क्रियाशील सरोकारवाला पक्षहरुलाई उत्साहित तुल्याउने विश्वास रहेको छ ।’
सो समारोहमा समितिका अध्यक्ष प्रधानले हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हुने पाटन मंगलबजारमा लाग्ने मेला र त्यसको पर्सिपल्ट दशमीका दिन राति हजारौ मानिसको सहभागितामा हुने भिमसेन जात्रामा स्वयंसेवक परिचालनको लागि सो रकमको ब्याज वर्षेनी खर्च गर्ने जानकारी दिनुभयो ।
संस्कृति संरक्षणमा वडाले गर्दै आएको कामको प्रशंसा गर्दै अध्यक्ष प्रधानले यस कार्य सबैका लागि अनुकरणीय रहेको धारणा राख्नुभयो ।
नेपालभाषा पाठ्यक्रम सम्बन्धी शिक्षण तालिम समापन
Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र २०, आइतबार वर्गीकृत
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक समारोह बीच संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूका लागि चलाइएको नेपालभाषा पाठ्यक्रम सम्बन्धी शिक्षण तालिमको समापन गर्नुका साथै काठमाडौं महानगरपालिका सहरी योजना आयोगद्वारा प्रकाशित त्रिभाषिक शब्द चित्र पुस्तिकाको विमोचन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले नगरको संस्कृति, सम्पदा र भाषा बचाउनकै लागि नेपालभाषाको माध्यमबाट स्थानीय विषयको पाठ्यक्रम पढाउने निर्णय गरिएको बताउनुभयो । अहिले महानगरकै बाटोलाई पछ्याउँदै उपत्यकाका अन्य नगरपालिकाहरूले पनि नेपालभाषाका माध्यमबाट स्थानीय विषयको पठनपाठन गर्न लागिएको बताउनुभयो ।
नेपालभाषाको पठनपाठनलाई सहयोग पु¥याउनको लागि सहयोगी सामग्रीका रुपमा सचित्र शब्द पुस्तिका पनि प्रकाशन गरिएको बताउँदै उहाँले आगामी दिनमा यस्ता सहयोगी सामग्रीहरू अरु पनि क्रमशः प्रकाशन गर्दै जाने पनि बताउनुभयो ।
त्यस्तै कामपाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अहिले आफ्नो पालामा शुरु गरिएको नेपालभाषाको पठनपाठनलाई अब कसैले पनि बन्द गर्न नसक्ने दावी गर्दै यदि आफ्नो पार्टीले यसको विषयमा कुनै अप्रिय कार्य ग¥यो भने आफू पनि सडक उत्रिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पुस्तकको प्रकाशन संस्था कामपा सहरी योजना आयोगले काठमाडौं महानगरपालिकाले नगरको सांस्कृतिक मौलिकता बचाउने क्रममै भाषा, कला, संस्कृति, सम्पदा संरक्षणको कार्यलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
सहरी योजना आयोगका सदस्य एवं सचित्र शब्द पुस्तिकाकी संयोजक गुजेश्वरी श्रेष्ठले अहिले चार विषयमा प्रकाशन गरिएको सचित्र पुस्तिका अब अर्को दुई विषयमा पनि छिट्टै प्रकाशन हुने बताउनुभयो ।
कामपा शिक्षा विभागका अधिकारी मोतिराज खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आफूले दिएको यो प्रशिक्षणलाई भरपूर उपयोग गर्दै शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूलाई उत्कृष्ट ढंगले पठन पाठन गराउन अनुरोध गर्नुभयो ।
काठमाडौं महानगरपालिका शिक्षा विभागको आयोजना र नेवाः स्यनामि दबूको प्राविधिक सहयोगमा गत एक सातादेखि उक्त नेपालभाषा शिक्षण तालिम सञ्चालन गरिएको थियो ।
काठमाडौं महानगरपालिकाले आफू मातहतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म गत वर्षदेखि काठमाडौंको चिनारी समेटिएको ‘येँ देय् म्हसीके’ नामक पाठ्यक्रमको अध्यापन शुरु गरेको थियो । सोही पाठ्यक्रम पठनपाठनका लागि उक्त प्रशिक्षण सञ्चालन गरिएको थियो ।
प्रशिक्षणमा विभिन्न ५५ वटा संस्थागत विद्यालयका करिब ७० जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो । गएको भदौ १३ गतेदेखि कामपा २० वडास्थित परोपकार माविमा उक्त प्रशिक्षण शुरु गरिएको थियो । प्रशिक्षण कार्यक्रमका संयोजक वरुणप्रसाद वैद्यका अनुसार अरु विद्यालयहरूबाट पनि प्रशिक्षणको माग आएकोले अर्को प्रशिक्षण पनि अब छिट्टै सञ्चालन हुने तयारी भएको छ ।
छत्रपाटी चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा सुरु
Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ भाद्र २०, आइतबार वर्गीकृत
छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिन सुरु गरेको छ । कोरोना महामारीका बेला निशुल्क रुपमा संक्रमितको उपचार गरेको अस्पतालले अत्याधुनिक एक्सरे मेसिन जडान गरेर सेवा दिन थालेको हो । आज नेपाल मेडिकल काउसिलका अध्यक्ष तथा वरिष्ठ मुटुरोग बिशेषज्ञ डा .भगवान कोइरालाले आज चिकित्सालयमा उक्त एक्सरे मेसिनको उत्घाटन गरेका थिए ।
डा. कोइरालाले नयाँ डिजिटल प्रणालीले स्वास्थ्य उपचारमा थप सहज र व्यबस्थित हुने बताए । यनले मेसिन उद्घाटन कार्यक्रममा बोल्दै समुदायसंग जोडिएको यस्ता किसिमको चिकित्सालय उदाहरणिय भएको समेत बताए ।
त्यसैगरी कार्यक्रममा चिनिया मेंद्रे कम्पनीले अत्याधुनिक इको मेसिन पनि प्रदान गरेको छ, कम्पानीका नेपाल म्यानेजर नियो वाङगले मेसिन हस्तान्तरण गर्दै आफूहरुले भविष्यमा पनि नेपाल र नेपालीको सहयोगमा सर्मपित हुने प्रतिबद्धता जनाए । नेपाल सरकारको तर्फबाट २ वटा प्रोटेबल भेन्टिलेटर जडान गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले बताए । अस्पताल अध्यक्ष श्रेष्ठले अफूहरु निरन्तर जनताको पक्षमा लागेको र जसको फल पनि प्रप्त गरिरहेको पनि जानकारी दिदै भने, “हामीले कोविड अस्पताल ३ महिना संचालनको गरेकोले आजको यो सफलता हासिल गरेका छौं । यस दौरान अस्पताललाई नयाँ स्वास्थ्य सामग्री थप गरि वार्डहरु थप गर्न समेत सक्षम भएको छ, दैनिक १०० सिलिन्डर क्षमतको अक्सिजन प्लान्ट समेत छिटै निर्माण हुन् लागिएकोमा यस्लाइ सुखद मान्नु पर्छ ।”
सो चिकित्सालयका अध्क्षय डा.मनोज मान श्रेष्ठले अन्य ठुला अस्पतालले हालै प्रयोग गर्न थालेको यस मेसिन आफ्नो चिकित्सालयले पनि प्रयोग गर्न सक्षम भएकोमा खुसि व्यक्त गरे । उनले देशैभरी रहेका सामुदायीक अस्पतालहरु मध्ये पहिलो पटक आफूहरुले डिजिटल एक्सरे मेसिन प्रयोग भएको दाबी गरे । ‘अहिले कोविड्को समयमा हामीले यो अत्याधुनिक प्रणालीलाई जोड दिदै बिशेष प्राथमिकतामा राखेका हौ’ श्रेष्ठले बताए ।
नीजि ताथा सुबिधासम्पन्न अस्पतालले समेत सन्चालनमा ल्याईनसकेको उक्त अत्याधुनिक मेसिन जडान गरेर बिरामीलाई उपचार सेवा दिनु ठूलो सफलता भएको पनि श्रेष्ठको भनाई छ । अध्याधुनिक मेसिन र प्रविधिकै कारण अब बिरामीले उपचारका लागि महङ्गो अस्पताल जानुपर्ने बाध्यता पनि हट्ने बताए ।
काठमाडौँ महानगरले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एक चित्त भएर लाग्ने अभिभावक गुमायो : मेयर शाक्य
Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १८, शुक्रबार वर्गीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएपछि आफूलाई अभिभावक गुमाएको अनुभूति भएको बताउनुभएको छ । आज एक शोक सन्देश जारी गर्दै उहाँले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताउनु भएको छ । सन्देशमा प्रमुख शाक्यले मृत आत्माको चीर शान्तिको काम गर्दै वियोग पीडामा रहनु भएका शोकाकुल एवम वेदनाग्रस्त परिवारजनमा जनप्रतिनिधि, कर्मचारी र महानगरवासीको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ।
श्रेष्ठको परलोक गमनपछि महानगरपालिकाले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एकचित्त भएर लाग्ने एक अभिभावक गुमाएको छ । उहाँको योगदान काठमाडौँ महानगरपालिकाले स्मरण गरिरहनेछ । प्रमुख शाक्यको शोक सन्देशमा उल्लेख गरिएको छ । मृतक श्रेष्ठका ३ छोरी, १ छोरा र श्रीमती हुनुहुन्छ।
हिजो साँझ ५ बजेर २६ मिनेटमा उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हुनु भएका श्रेष्ठको शव राती अस्पतालमै राखिएको थियो । आज विहान करीव साढे ९ बजेतिर अन्तिम श्रद्धाञ्जली शवलाई वडा प्राङ्गण दमाइ टोल लगियो । त्यहाँ पुगेर प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु वडा सदस्यहरु, कर्मचारीसँगै स्थानीयबासीले पार्थिक सरीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो।
मध्यान्न १ बजेसम्म वडामा राखिएको शव त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगियो । त्यहाँ आएका शुभचिन्तकले श्रद्धाञ्जली दिएपछि अहिले अन्तिम संस्कार भइरहेको छ।
मृतक श्रेष्ठ सरल, असल, मृदुभाषी, निडर, महानगरपालिकाको सम्पदा संरक्षण, विकास र समृद्धिप्रति प्रतिवद्ध हुनुहुन्थ्यो । २०१३ साल पुस १४ गते जन्मिनु भएका श्रेष्ठ विगत डेढ महिनादेखि खाना नलीको क्यान्सरको उपचार गराइरहनुभएको थियो । भदौ १६ गते बेलुका करीव साढे १० बजे उल्टी भएर असजिलो हुन थालेपछि उपचारका लागि उहाँलाई नर्भिक अस्पताल लगिएको थियो । उहाँको क्यान्सरको उपचार पनि त्यहीँ चलिरहेको थियो।
१७ गते मध्यान्न करीव १ बजेसम्म स्वास्थ्य अवस्था सामान्य थियो । दिउँसो २ बजे शौचालय गएर गएर फर्किएपछि छातीमा असजिलो भएको देखिन थालेको थियो । उहाँ आफैँले आसीयुमा उपचार गर्नुपर्छ भन्नुभएको थियो । त्यसपछि आईसीयु र भेन्टिलेटरमा राखेर उपचार जीवन बचाउने प्रयास गरिएको थियो । अन्तिम समयमा मधुमेह धेरै माथि र सोडियमको मात्रा निकै कम भए पछि बचाउने प्रयास विफल भएको थियो।
उहाँले ०४३ सालमा पहिलो पटक वडा सदस्यका रुपमा काम काम गर्नुभयो । त्यसपछि ०४९ र ०५४ सालको स्थानीय निर्वाचनमा यसै वडाको वडाध्यक्षका रुपमा निर्वाचित हुनुभयो । साविक स्थानीइ निकाय जनप्रतिनिधिविहिन भएका बेला ०६० सालमा उहाँ मनोनित वडाध्यक्ष हुनुभएको थियो । त्यसपछि शासन व्यवस्था परिवर्तनसँगै ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधित्व गर्दै फेरि वडाध्यक्षमा निर्वाचित हुनुभयो । मृत्यु हुने दिन पनि उहाँ वडामा मानिसहरुको हुल भयो होला । भनेर चिन्ता गरिरहनुभएको थियो।
उहाँको निधनमा शोक मनाउँदै काठमाडौँ महानगरपालिकाले आज एक दिन आफू मातहतका सबै कार्यालय विदा गरेको छ।
बज्राचार्य पुजाविधिलाई १६ वडाबाटै पाँच लाख सहयोग
Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १७, बिहिबार वर्गीकृत
बौद्ध संस्कृति र संस्कारको जर्गेना गर्न ललितपुर महानगरपालिका– १६ वडाले बज्राचार्य पुजाविधि अध्ययन समितिलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ ।
बज्राचार्य गुरुजुहरुबाट विहीबार धार्मिक पुजा गरी वडा अध्यक्ष निर्मलरत्न शाक्य, वडासदस्यद्वय पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्यले संयुक्त रुपमा समितिका अध्यक्ष दीपक बज्राचार्यलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो।चेक हस्तान्तरणका क्रममा बज्राचार्य गुरुजुहरुले मंगलास्तोत्र पाठ गरेका थिए ।
सो अवसरमा वडाअध्यक्ष शाक्यले नेवार बौद्ध समाजका प्रत्येक संस्कृति, परम्परा, संस्कारमा पुजाआजा पाटो जोडिएको उल्लेख गर्दै पुजाआजा गर्ने धार्मिक विधि, पद्धतिको संरक्षण र आधुनिक पुस्ताका गुरुजुहरु उत्पादन गर्न खडा गरिएको अक्षय कोषको लागि सो रकम प्रदान गरिएको बताउनुभयो ।
भौतिक पूर्वाधारका साथै संस्कृति, संस्कार पनि मानवीय विकासको अभिन्न भएको हुनाले त्यसको संरक्षण गर्नु पनि स्थानीय तहको दायित्व रहेको वडाअध्यक्ष शाक्यको भनाई रहेको छ ।
सो समारोहमा समितिका अध्यक्ष दीपक बज्राचार्यले धार्मिक पुजाविधिको सैद्धान्तिक ज्ञान, विधि र त्यसको महत्व पुस्तान्तरण नहुँदा एक समयमा लोप हुनै लागिसकेको उल्लेख गर्दै भन्नुभयो ‘ समितिको अघि सारेका कार्यक्रमले लोप हुनै लागेको संस्कार, मानिस जन्मिएदेखि नमरुञ्जेल गर्नुपर्ने संस्कार र पुजा विधिले पुनःजीवन पाएको छ । यस कार्यमा थप उत्साहका साथ अघि बढाउन वडाको सहयोगले समितिलाई प्रेरित गरेको छ।’
समिति स्थापना हुनु भन्दा दु्ई वर्ष अघि २०५२ सालमा बौद्ध संस्कृति विद्यार्थी संघका आठ जना गुरुजु मार्फत पुजाआजा विधिबारे औपचारिक रुपमा प्रशिक्षण दिने कार्य शुरु गरिएको थियो।करिब २५ वर्षको दौरानमा समितिले युवापुस्ता माझबाट धार्मिक पुजाआजा गर्न सक्षम १ सय जना भन्दा बढी बज्राचार्य गुरुजु उत्पादन भइसकेको समितिले जनाएको छ ।
समितिका अनुसार प्रत्येक वर्ष छ महिने बज्राचार्य पुजा विधि प्रशिक्षण, नेवार बौद्ध समाजमा प्रचलित पञ्चदान, आर्यतारा, मुखष्टमी लगायत ब्रतहरु सञ्चालन गर्ने, दिक्षा दिने, बेलविवाह र गुफा राख्ने लगायत संस्कारलाई निरन्तरता दिने कार्यहरु गर्दै आएको छ।
काठमाडौँ उपत्यकामा निषेधाज्ञा हट्यो, के-के गर्न पाँइदैन ?
Swoniga Online – Rosni | २०७८ भाद्र १६, बुधबार वर्गीकृत
काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटाइएको छ। उपत्यकाका सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो।
भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी जारी गरिएको सूचनामा आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि भनिएको छ।
स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन तथा शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने र गर्नैपरेमा स्थानीय तहको समन्वयमा जिल्लास्थित कोभिड व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ।

निषेधाज्ञा थप्न उपत्यकाका सिडिओको बैठक बस्ने, विद्यालय सञ्चालनको मोडालिटी सार्वजनिक गर्ने तयारी
Swoniga Online – Rosni | २०७८ भाद्र १६, बुधबार वर्गीकृत
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय कोरोना संक्रमणदर स्थिर रहेकाले निषेधाज्ञा थप गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमणबारे समीक्षा भएपछि निषेधाज्ञा थप गरिने जानकारी दिए ।
‘‘अन्य नगरपालिकामा संक्रमणदर कम हुँदै गए पनि काठमाडौंमा स्थिर रहेको छ । जनसंख्याको चाप पनि उत्तिकै छ । त्यसैले तत्काल विद्यालय सञ्चालन हुने सम्भावना कम छ,” प्रजिअ निरौलाले भने, ‘‘छलफल भइरहेको छ । छलफलपछि सिडियो बैठकले औपचारिक निर्णय सार्वजनिक गर्नेछ ।”
संक्रमणदर कम भएका नगरपालिकाका विद्यालयहरु क्रमशः खुल्दै गएका छन् । पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजेपछि सबै किसिमका सवारी साधन सञ्चालन गर्ने निर्णय भएको थियो । एकसाताका लागि थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।
भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने
Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १५, मंगलबार वर्गीकृत
भोलि बिहान ६ बजेदेखि काठमाडौं महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर उठाइने भएको हो । ‘‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,” महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘‘स्थानीय समस्या समाधान गर्ने काम निरन्तर हुनेछ ।
हामीले समाधान गर्न नसक्ने समस्या भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौैँ । तर, लामो समयसम्म फोहोर रोकेर समस्या बढाउने काम हुँदैन । स्थानीय जीवन र वातावरणलाई असर नपार्ने गरी भोलिदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम नियमित हुनेछ । हामी स्थानीयले उठाएका जायज माग पूरा गर्न तयार छौँ ।”
आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो निर्णय गरेको हो ।
सडक भत्किएपछि साइटमा फोहोर लैजान कठिनाइ भइरहेका बेला भदौ ६ गते ककनी गाउँपालिका वडा १ की एकजना ७० वर्षीया वृद्धाको मृत्यु भयो । उनको मृत्यु हैजाको कारण भएको जनाउँदै स्थानीयले भदौ १० गतेदेखि साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् ।
हैजाको एकिन गर्न महानगरबाट सम्भावित क्षेत्रका ५ जना व्यक्तिको दिसा र ४ वटा परिवारले पिउने गरेको पानीको नमुना सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइसकेको छ । प्रयोगशालाबाट प्राप्त रिपोर्टले त्यस क्षेत्रमा हैजाका जीवाणु नभेटिएको देखाएको छ ।
बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले, फोहोर व्यवस्थापन कार्य अत्यावश्यक सेवा भएकोले अवरोध नहुने बताए । उनले फोहोर व्यवस्थापनमा सुरक्षा चुनौती देखिएमा गृह प्रशासनले समन्वय गरेर सुरक्षा व्यवस्था मिलाउने बताए ।
“अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नुपर्ने हुन सक्छ । स्थानीय विषयलाई समन्वय र सम्बोधन गर्ने काम काठमाडौँ महानगरले गरिरहेको छ । समस्याको समाधान छलफलबाटै हुने भएकोले बल प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन सबै सजग हुनुपर्छ । समन्वय गर्दा वा सम्झाइ–बुझाइ गर्दा पनि भएन भने बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नैपर्ने हुन्छ,” उनले भने ।
फोहोर व्यवस्थापनका विषयमा सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहजीकरणका लागि आग्रह गरेका थिए ।


