add
Display Style: 
Column Style

कीर्तिपुरमा तलेजु निर्माण हुने

Swoniga Online | २०७८ मङ्सिर २८, मंगलबार वर्गीकृत

कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित लाय्कूको गुलक्वाः क्षेत्रमा लाय्कूको एउटा अङ्गको रुपमा तलेजु निर्माणको तयारी भइरहेको छ । कीर्तिपुर नगरपालिकाले कलात्मक रुपमा सो क्षेत्रको दक्षिणी मोहडामा वडा भवन निर्माणको तयारी गरेपछि सो विषयलाई लिएर कीर्तिपुर नगरवासीले चासो लिएको हो ।

लाय्कूको गुलक्वाः क्षेत्रमा तलेजु संरचना निर्माण गर्नुपर्ने जनताको भावनालाई आत्मसाथ गर्दै कीर्तिपुर नगरपालिकाले लाय्कू तलेजु अध्ययन समिति समेत गठन गरेको थियो। यही मंसिर १२ गते आइतबारका दिन गठित सो अध्ययन समितिमा प्रयागमान प्रधान संयोजक र सदस्यहरूमा बुद्धिलाल ज्यापु, वीरप्रसाद भन्सारी, डा. वज्रमुनि वज्राचार्य, श्रीकृष्ण महर्जन, अर्जुन “नेपाःमि” र भरत महर्जन रहेका छन्। यही मंसिर १६ गते बिहीबारका दिन सो समितिका सबै सदस्यहरू साथै कीर्तिपुर नगरपालिका वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलको सहभागितामा कान्तिपुर, ललितपुर, भक्तपुर र मध्यपुर थिमिको तलेजुको बारेमा स्थलगत अध्ययन गरेको थियो ।

अध्ययन पछि समितिको यही मंसिर २० गते सोमबार एक बैठक बसी कीर्तिपुरको वडा नं. १ लाय्कू क्षेत्रको गुलक्वाःमा जाने दक्षिण मोहडामा ललितपुरको तलेजु प्रवेश गर्ने मूल ढोकाको आधारमा बनाउनुपर्ने, सो दक्षिण मोहडाको भवनलाई कलात्मक बनाउनु पर्ने, ढोकाको खुड्किलाको दायाँ बायाँ दुई वटा सिंह राख्नुपर्ने, गुलक्वाःमा उत्तर मोहडा पर्ने गरी वास्तुकला अनुसारको तलेजु निर्माण गर्नुपर्ने सुझाव पेश गर्ने निर्णय गरेको थियो ।

सोही सुझाव कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलाई मंसिर २१ गते मंगलबार नगर प्रमुखको कार्यकक्षमै हस्तान्तरण गर्नुका साथै व्यापक छलफल समेत भएको थियो भने भोलि पल्ट मंसिर २२ गते बुधबार नै कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित गुलक्वाः क्षेत्रमा के कसरी संरचना निर्माण गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक सहित स्थलगत अवलोकन भएको थियो।

परम्परागत बाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ मङ्सिर २६, आइतबार वर्गीकृत

‘काठमाडौंका मौलिक एवम् परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग गरिएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिएको छ भने सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय विषयका रुपमा नेपालभाषाको पाठ््यक्रम ‘येँ देय् म्हसीके’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । महानगरबाट एक वडा एक नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयहरुमा कार्यक्रम सञ्चालन भएको छ ।’ 

काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट महानगरका करिब १२ हजार बरिष्ठ ज्येष्ठ नागरिक बार्षिक १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको र पूर्ण अपाङ्गहरुलाई मासिक ३ हजार रुपौयाँ उपलब्ध गराईदै आएको पनि जानकारी दिनुभयो ।  ‘आर्थिक बर्ष २०७५÷०७६ देखि ए डिभिजनका फुटबल क्लबलाई बार्षिक १० लाख रुपैयाँ, बी डिभिजनका फुटबल क्लबलाई ३ लाख रुपैयाँ र सी  डिभिजनका फुटबल क्लबहरुलाई बार्षिक २ लाख प्रदान गरिँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘सहिदहरु (दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री), नेपाल सम्बत्का प्रवद्र्धक तथा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्ण कदको शालिक निर्माण गरिएको छ । तारादेवी स्मृति फाउन्डेसन, नातिकाजी स्मृति प्रतिष्ठान, प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानलाई २० लाखका दरले सहयोग प्रदान गरिएको छ ।’

महानगरपालिकाले १ सय ९६ दशमलव १ किलोमिटर सडक

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ मङ्सिर २६, आइतबार वर्गीकृत

कालोपत्रे गरेको जानकारी दिएको छ । २७ औँ महानगर दिवसको अवसरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो । 

उहाँले कार्यक्रमलाई सम्वोधन गर्दै १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । ‘मेरो कार्यकालमा ४ सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २ सय २६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ उहाँले भन्नुभयो, ‘वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी छ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको । वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी दश वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको ।  वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरुको स्तरोन्नति गरिएको ।’ 

त्यसैगरी उहाँले अहिलेसम्म  २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन÷निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको जानकारी दिनुभयो ।  ‘१ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘४० वटा राजपत्र र एउटा ऐन संग्रह प्रकाशन भएको छ । महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।’ 

उहाँले पत्रकार सम्मेलनमा सम्वोधन गर्दै डाक्टरसहित ५ हजार ७ सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा शुरु गरिएको पनि जानकारी दिनुभयो ।  ‘वडा २, ९, ११, २०, २१, २२ र ३० गरी सात वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापनागरी महानगरपालिकाको सबै वडाहरुमा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको छ,’ उहाँले भन्नुभयो, ‘विरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु गरिएको छ ।  कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटर प्रदान गरिएको छ भने छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालयमा कोभिड विशेष अस्पताल र राधास्वामी आइसोलेसन केन्द्र स्थापना गरिएको छ । कोभिड विरुद्धको खोप ३ लाख ७९ हजार ४३ महिला र ३ लाख ८९ हजार ६१७ पुरुष गरी ७ लाख ६८ हजार ६६६ जनालाई दिइसकिएको छ ।’ 

उहाँले विशेषज्ञ स्वास्थ्य सेवा सुधारका लागि त्रि.वि. शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न, १० वटा भेन्टिलेटर मेसिन उपलब्ध गराइएको,वीरेन्द्र सैनिक अस्पताललाई डाइलासिस मेसिन खरिद, शहीद गंगालाल ह्रदय केन्द्रलाइ अक्सिजन प्लन खरिद सहयोग गरी प्लान्ट सञ्चालनमा अएको, रगतका तत्व छुट््याउने मेसिन किन्न कान्ति बाल अस्पताललाई सहयोग र जलेका विरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई सहयोग, अक्सिजन प्लान्ट स्थापना गर्न मनमोहन अस्पताल, दक्षिणकालीलाई सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको पनि जानकारी दिनुभयो ।  

त्यसैगरी उहाँले वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको र वडा नं. ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणधिन अवस्थामा रहेको पनि जानकारी दिनुभयो । ‘महानगर भित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ,’ उहाँले भन्नुभयो, ‘महानगरभित्र करिब१७ वटा नयाँ पार्क निर्माण गरिएको छ भने ५३ वटा निर्माण सम्पन्न हुने चरणमा छन् ।’ 

त्यसैगरी पत्रकार सम्मेलनमा नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याइएको पनि जानकारी दिनुभयो । 

उपत्यका विकास प्राधिकरण खारेजीको हाम्रो माग यथावत छः मेयर शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर २६, आइतबार वर्गीकृत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यका विकास प्राधिकरणलाई सबै कामको जिम्मा आफैले मात्रै लिनु उचित नभएको बताउनु भएको छ । २७ औँ काठमाडौँ महानगर दिवसको अवसर पारेर आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘उपत्यका विकास प्राधिकरण आफैँ कार्यकारी निकाय हो । उसको काम भनेको नीति बनाउन हो,’ शाक्यले भन्नुभयो, ‘स्थानीय निर्माणसँगै सबै काम स्थानीय तहले गर्ने र त्यो अधिकार स्थानीय तहमा आएपछि त्यहि प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गरेको हो । अहिले पनि त्यो माग यथावत छ ।’ 

त्यसैरी उहाँले संघीय र प्रदेश सांसदहरुलाई पनि उहाँले सकेसम्म एकिकृत योजनासहित ठूला–ठूला योजनाका काम गर्न आग्रह गर्दै महानगरपालिकाले गर्ने काममा बजेट खर्च नगर्न सुझाव दिनुभयो । ‘माननीयज्युहरुको पनि बाध्यता छ । आफूलाई जिताएर पठाएका मतदाताको माग अनुसार र आफ्नो उपस्थिति देखाउन पनि ढल राख्ने, ब्लक छाप्ने जस्ता काम गर्नुपरेको छ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म उहाँहरुले संसदकोषको बजेटबाट मिलेर ठूला–ठूला योजनाका काम गरिदिनुहोस् भन्ने छ । हामीले जुन काम गर्न बजेट विनियोजन गरेका छौँ । त्यही काम उहाँहरुले गर्दा खर्च बढ्ने र कामको डुब्लीकेशन हुनेभयो ।’ 

उहाँले चुनावी घोषणापत्रमा उल्लेख भएका केही कामगर्न नसकेको पनि स्वीकार गर्नुभयो । ‘हामीले चुनावी घोषणापत्रमा उल्लेख गरेका केही काम गर्न सकेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘चक्रपथ विस्तारको काम सम्पन्न नहँुँदा हामीले मोनोरेलको काम अघि बढाउन सकेनौँ । त्यसैगरी तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भयो,’ उहाँले भन्नुभयो, ‘भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि हामीले अघि बढाउन सकेका छैनौँ ।’ उहाँले महानगरपालिका भवन निर्माण सुरु भएको भन्दै केही सम्पदा पुर्ननिर्माणमा मुद्धा परेका कारण ढिलाई भएको पनि जानकारी दिनुभयो।

कीतिपुण्य महाविहार च्वाकँ वहीः आँगछे शिलान्यास

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर २५, शनिबार वर्गीकृत

‘काठमाडौँ महानगरभित्र पुननिर्माण गर्नु पर्ने सबैजसो सम्पदा पुननिर्माण भएका छन् । केही निर्माण भइ सके । केही निर्माणका क्रममा छन् । हामीले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि बढ्न सकेका छैनन् । केही गुठी संस्थान र पुरातत्व विभागको स्वामित्वमा भएकाकारण प्रक्रियामा जान सकेका छ्रैनन् । यसबाहेक अन्य सम्पदामा महानगरले आफ्नै लगानीमा पुननिर्माण गरिरहेको छ ।’ सम्पदा पुननिर्माणका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘अहिले शिलान्यास भएका कुनै पनि काम रकम नभएर निर्माण रोकिँदैन । त्यसका लागि महानगरले योजनाअनुसारको रकम विनियोजन गरिसकेको छ ।’ आज वडा २१ ल्गनटोलमा रहेको कीर्तिपुण्य महाविहार, च्वाकँ वही आँगछें शिलान्यास गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । 

अहिले पुननिर्माण गरिएका सम्पदा आउँदा सय बर्षसम्म सामान्य मर्मत गरे पुग्छ । पुननिर्मित सम्पदाको गुणस्तरका विषयमा कुरा गर्दै प्रमुख शाक्यले, हामीले वितेको कार्यकालमा तत्काल प्रभाव देखिने र दिगो कालसम्म रहिरहने योजनालाई प्राथमिकता दिएर सञ्चालन ग¥यौँ । 

त्यस क्रममा बागमती प्रदेश सभाका सदस्य डा. अजयक्रान्ति शाक्यले, काठमाडौँ महानगरले अन्तरसरकार समन्वयबाट पूर्वाधार निर्माण र सम्पदा पुननिर्माणमा उल्लेखनीय काम गरेको आफूलाई महसुस भएको धारणा राख्नुभयो । ’पूर्वाग्रह विना गरिएका यी कामहरुले महानगरको मौलिकता जोगाइ राख्न ठूलो योगदान पुगेको छ ।‘ डा. शाक्यको भनाइ थियो ।

वडा २१ सम्पदा भएको वडा हो । त्यसैले हामीले सम्पदा संरक्षणलाई योगदान दिएका छौँ । कार्यक्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, सेवा प्रवाह र पूर्वाधार निर्माणलाई समान महत्व दिएको बताउनुभयो । 

करीव १ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको यसको निर्माणका लागि करीव १ करोड ५ लाख रुपैयाँ कबोल गरेर समन्द्री कन्स्ट्रसनले जिम्मा पाएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयन भएको पुननिर्माण ०७९ कार्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । 

इञ्जिनियर अमित बज्राचार्यकाअनुसार ३ तले भवनको हरेक तला करीव ६३० बर्गफुटको हुनेछ।

विद्यालयका बालबालिकाकासँग लैङ्गिक हिँसा सम्बन्धी अन्तरक्रिया

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ मङ्सिर २२, बुधबार वर्गीकृत

लैङ्गिक हिँसाका विषयमा विद्यालयका बालबालिकासँग अन्तरक्रिया गरिएको छ । काठमाडौँ महानगरको वडा १५ कार्यालय र सामुदायिक प्रहरी, स्वयम्भूको संयुक्त आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न गरिएको हो । 

त्यस अवसरमा नेपाली सेनाको महावीर सौर्य गण (रेञ्जर) आइकीडो डोजो छाउनीले आत्म सुरक्षा सम्बन्धी प्रदर्शन गरेको थियो । 

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले, हिँसा न्युनीकरण तथा व्यवस्थापनका लागि समुदायकै भूमिका ठूलो हुने उल्लेख गर्नुभयो । उजुरी परेका घटना मात्र प्रहरीको सूचनामा हुन्छन् । प्रहरीमा नआउनेको संख्या धेरै भएको तथ्याङ्कले देखाउँछ । त्यसैले घटनालाई सुरुमै नियन्त्रण गर्न व्यक्ति र समुदायको भूमिका बढाउनु पर्छ । सिंहको भनाइ थियो ।   

कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, सामाजिक न्यायमा आधारित समाज निर्माणलाई महानगरले प्राथमिक योजनाका साथ दायित्व लिएको उल्लेख गर्नुभयो । हामीले वडामार्फत सञ्चालन गर्ने कार्यक्रममा पनि यो क्षेत्रलाई महत्व दिएका छौँ । डंगोलको भनाइ थियो । 

जागरणमुलक कार्यक्रमबाट व्यक्तिहरुमा हिँसाका लागि आउन सक्ने भाव घटाउने दिशामा हामी कार्यक्रम गरिरहेका छौँ । कार्यक्रममा वडा सदस्य मैयाँलक्ष्मी महर्जनको भनाइ थियो । 

समाजमा महिला र पुरुष दुवैमा हिँसा हुने गरेका छन् । तर तुलना गर्दा पुरुष हिँसाका घटना कम र महिला हिँसाका घटना धेरै छन् । त्यसैले महिला हिँसाका घटनाका बारेमा धेरै चर्चा गर्नु परेको हो, महानगरीय प्रहरी वृत्त, स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन के. सी. ले धारणा राख्नुभयो । हिँसा के हो? यसलाई कसरी चिन्ने? विषयमा स्टोरी किचनका कार्यक्रम संयोजक विजु कँडेलले प्रशिक्षण दिनुभएको थियो । अहिले समाजमा केही परिवर्तन भएको छ । रुपान्तरण हुन बाँकी छ । कँडेलको भनाइ थियो । 

कार्यक्रममा सहभागी विद्यार्थीहरुले हिँसा, यसका प्रकार र सुरक्षाका विषयमा प्रश्न राखेका थिए । 

हरेक बर्ष नोभेम्बर २५ तारिखदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गरेको छ । यही अभियानका अवसरमा कार्यक्रम सञ्चालन गरिएको हो । 

महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुृन् । कानुनले यी सबै प्रकारका गतिबिधिलाई अपराध मानेको छ । 

नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरी सम्बन्धि मूल्य मान्यता, गाली, बेइज्जती, छुवाछुत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रुण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यसप्रकारका अपराध हुन नदिन नेपालको संविधानले बिभिन्न अधिकारको व्यवस्था गरेृको छ । महिलाको हक, शोषण विरुद्धको हक, छुवाछुत र भेदभाव विरुद्धको हक, समानताको हक, न्याय सम्बन्धि हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्य रुपमा लिन सकिन्छ । 

सन् १९९१ देखि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बिभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो।

यस बर्ष मंसिर ९ गतेदेखि १६ दिनसम्म अभियान सञ्चालन हुनेछ । यस बर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिँसा अन्त्य गरौँ’ रहेको छ 

हल्चोकको भैरव मुर्ति चोरी

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ मङ्सिर २१, मंगलबार वर्गीकृत

 हल्चोकमा आकाश भैरवको मुर्ति आज राति चोरी भएको छ।

करिब चार पाच वटा मोटरसाइकल आएर १२ बजे देखि साढे १२ बजे बिचमा उक्त चोरी भएको हो। 

फोनिज काठमाडौं जिल्लामा शैलेस डंगोल सर्वसम्मत निर्वाचित

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ मङ्सिर २०, सोमबार वर्गीकृत

आदीवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदीवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला शाखा काठमाडौंको छैठौं जिल्ला अधिवेशन सम्पन्न भइको छ । राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भइको छ ।

अधिवेशनले उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन गरेको छ । यस्तै सदस्यहरुमा सरु श्रेष्ठ, भीम लामा, सुजन पाख्रिन, गीतु छन्त्याल, तेज किराँती, आङ्गेलु शेर्पा, मिङ्मा लामा र नितु डंगोल सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले बागमती प्रदेश महाधिवेशनका लागि १७ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । राजेन्द्र मानन्धर, उदेन न्हुसाय्मी, प्रविन महर्जन, श्याम राई, हरिश लामा, दिक बहादुर श्रेष्ठ, नेम्गेल मोक्तान, पासाङ शेर्पा, सरु श्रेष्ठ, अरविन्द्र मान सिंह, रसिया श्रेष्ठ, दिव्य रत्न महर्जन, सृजना मगर, मीनु तामाङ, लक्ष्मी श्रेष्ठ, रेजिना श्रेष्ठ र मिङ्मा यस श्रेष्ठ चयन भएका हुन् ।

जिल्ला अधिवेशन बाटै संघिय महाधिवेशका लागि ११ जना प्रतिनिधि सर्वसम्मत चयन भएको छ । सुरेन्द्रभक्त श्रेष्ठ, अमिर लामा, मञ्जीत महर्जन, श्याम नापित, सम्पदा लिम्बु, नुनुता राई, निशा तामाङ, रत्न काजी महर्जन, यशोदा भुजेल, राम मगर र राज्यलक्ष्मी शाक्य संघिय महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी प्रमूख अतिथीको रुपमा रहेकी थिईन् । उनले आदिवासी जनजातिहरुको साझा मुद्धा र संरक्षण आदिवासी जनजाति पत्रकारहरुले गर्नुपर्ने बताईन् ।

यस्तै फोनिज संघिय कोषाध्यक्ष अमरध्वज लामाले आदीवासी जनजाति पत्रकारहरु आफ्नो व्यक्तित्व विकासमा लाग्नुपर्ने र व्यवसायिक पत्रकारितासँगै आदिवासीका सवालहरुमा केन्द्रित हुनुपर्ने बताए । अध्यक्ष मण्डलका संयोजक समेत रहेका फोनिज बागतीका ईन्चार्ज समीर बलामीले पछिल्लो समय फोनिज शाखाहरु निश्क्रिय रहेको भन्दै सक्रिय हुन निर्देशन दिए । फोनिजले फोनिजकर्मीलाई क्षमता विकाससँगै व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने बताए ।

फोनिजको मंसिर २५ गते सबै शाखाहरुको अधिवेशन हुँदैछ । यस्तै पौष २४ गते सातै प्रदेशको महाधिवेशन हुँदैछ । माघको ७ र ८ गते फोनिजको सातौं संघिय महाधिवेशन हुँदैछ ।

काष्ठमण्डप पुननिर्माण अन्तिम चरणमा

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर १९, आइतबार वर्गीकृत

काष्ठमण्डप पुननिर्माणका लागि कार्तिक मसान्नसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ । बैङ्क व्याजसहित उपभोक्ता समितिलाई प्राप्त ११ करोड ७५ लाख ७३ हजार ५४७ रुपैयाँ ५१ पैसा आयबाट यो रकम खर्च भएको हो । पुननिर्माण कार्य अन्तिम चरणमा पुगेपछि हिजो (मंसिर १७ गते) पुननिर्माण समितिले कार्य प्रगति र आर्थिक विवरण जानकारी दिन आयोजना गरेको आयोजना गरेको सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा यस सम्बन्धी जानकारी दिइएको हो । 

२०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको भेलाको निर्णयबाट प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएपछि प्रक्रिया अगाडि बढेको हो । ०७५ को वैशाखबाट थालिएको कामका लागि पहिलो किस्तामा किस्तामा ०७५ जेठ २९ गते ५० लाख रुपैयाँ, त्यसपछि ०७५ असोज २७ गते ५ करोड रुपैयाँ, ०७६ माघ ९ गते ५ करोड रुपैयाँ र ०७८ असार १६ गते १ करोड रुपैयाँ प्रदान गरेको हो । 

काष्ठमण्डप पुननिर्माणका लागि आवश्यक पर्ने सबै रकम काठमाडौँ महानगरपालिकाले व्यहोर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिबद्धता व्यक्त गर्नुभएपछि पुननिर्माणको काम उपभोक्ता समितिबाट थालिएको थियो । 

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि नगर कार्यपालिकाको २०७५ जेष्ठ २४ गते बसेको बैठकले उपभोक्ता समितिमार्पmत काम अघि बढाउने निर्णय गरेको थियो । यसका लागि जनस्तर वा अन्य कुनै पनि निकायबाट रकम लिइएृको छैन । जनताको अपनत्व गराउन जनसहभागिता रहने गरी र मौलिक बिधिको अनुसरण गरेर पुननिर्माणको काम भइरहेको छ । 

अहिलेसम्मको प्रगतिका विषयमा जानकारी गराउँदै समितिका अध्यक्ष एवं प्रदेश सभा सदस्य राजेश शाक्यले भन्नुभयो, ‘हामी पुननिर्माणको अन्तिम चरणमा छौँ । छिट्टै नै यसको औपचारिक शुरुवात गर्नेछौँ ।’ पुननिर्माणको सिकाइको सन्दर्भ उठाउँदै शाक्यले, काष्ठमण्डप निर्माणको अन्तिम चरणमा पुगेपछि आफ्नै स्रोत, सीप र प्रविधिबाट प्राचीन स्मारक पुननिर्माण गर्न सक्छौँ भन्ने भन्ने कुरा पुष्टि भएको छ । 

पुननिर्माण समितिका सचिव गौतम डंगोलकाअनुसार ०७८ कार्तिक मसान्तसम्ममा पुननिर्माणका लागि ल्याइएका ७६ हजार ११ वटा माः अप्पा (ठूलो) मध्ये ७५ हजार ७६१ वटा प्रयोग भइसकेको छन् । यसैगरी ८६ हजार ८ सय वटा माः अप्पा (सानो,) मध्ये ८३ हजार ८ सय र २२४ वटा फः अप्पामध्ये १७९ अप्पाको प्रयोग भइसकेको छ । 

१७ हजार २६० तेलिया इटामध्ये १४ हजार २६० इटाको प्रयोग भइसकेको छ । यसैगरी ९१ ह्जार २५० वटा झिँगटीमध्ये ७४ हजार ४५० झिँगटीको प्रयोग भइसकेको छ । २० वटा कुँपामध्ये १२ वटा प्रयोगमा आइसकेका छन् । 

यसैगरी ९ हजार २२४.१३ क्युविक फिट काठ प्राप्त भएको छ । जसमध्ये ८ हजार ३४४.६५ क्युविक फिट काठ प्रयोग भइसकेको छ । पुरानामध्ये ४९३.८ क्युविक फिट काठ प्रयोगमा ल्याइएको छ । 

काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएपछि पहिलो चरणमा कार्यालय स्थापना गर्ने, विज्ञ टोली र कार्यटोलीको गठन गर्ने, सिकर्मीहरुका लागि कार्यशाला गर्ने काम थालिएको थियो । दोस्रो चरणमा पुननिर्माणका लागि योजना निर्माण, नक्साको तयारी, काठ र इँटाजस्ता निर्माण सामग्रीको आपूर्तिका लागि प्रयास, साइटको सरसफाइ गरिएको थियो । भूकम्प र भूकम्प लगत्तैको खोज तथा उद्धारका लागि प्रयोग गरिएको एस्काभेटरको भार तथा प्रयोगका कारण थप क्षति भएको जगमा रहेको गारोहरुको मर्मत र पुननिर्माण तेस्रो चरणमा भएको थियो ।  

नक्साको तयारी गर्ने क्रममा यसको स्ट्रक्चरल एनालिसिस गराइएको थियो । यसको विश्लेषण प्रतिवेदनमा भार संप्रेषण क्षमता उत्कृष्ट रहेको कुरा उल्लेख छ । मौलिक सामग्री र शैलीकै प्रयोगबाट निर्माण गर्न सकिने केही सामान्य सुधारहरुबाहेक यसमा विशेष अरु ठूलो संशोधन गर्नुपर्ने आवश्यकता नरहेको प्रतिवेदनमा उल्लेख छ । 

काष्ठमण्डपको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको कुरा युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीले गरेको पुरातात्विक अनुसन्धानले पनि औल्याएको थियो । त्यसअनुसार सुरक्षित रहेको जगको गारोलाई नबिगारी त्यसलाई नै मर्मत गरी त्यसमाथि नयाँ गारो थप्ने कार्य भएको हो । 

अध्ययनका क्रममा काष्ठमण्डपको इतिहास कम्तीमा ७ औँैं शताब्दी हाराहारीमा भएको हुनसक्ने प्रमाणहरु भेटिएको थियो ।  काष्ठमण्डपमा प्रयोग गरिने निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने सन्दर्भमा पनि केही परीक्षण गरिएको थियो । यसका लागि पुरानो माः अप्पाको नमूनालाई प्रयोगशालामा पठाई इन्जिनियरिङ्ग परीक्षण गराइएको थियो । काष्ठमण्डपमा प्रयोग भएको माः अप्पा हाल बजारमा उपलब्धभन्दा भिन्न आकारको रहेकोले सोहीबमोजिम यसको उत्पादन र आपूर्तिको लागि प्रयास गरियो।

काष्ठमण्डपको गारोमा प्रयोग भएको माटोको प्रयोगशालामा नमूना परीक्षण गराउँदा (क्ले, सिल्ट र बालुवा) को विशेष अनुपात रहेको माटो प्रयोग गरिएको कुरा देखियो । जगमा भरिएको माटोका विषयमा दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीको अध्ययन प्रतिवेदनमा यसमा विशेष अनुपात मिलाएर तयार गरेर भरिएको माटो हो भन्ने कुरा उल्लेख छ । पुननिर्माण गर्दा यही अध्ययनले देखाएको पूर्व अवस्थालाई सोहीबमोजिम पुननिर्माण गराइएको छ ।

कार्यक्रममा पुननिर्माणका क्रममा गरिएका कामलाई समयक्रमसँग विवरणात्मक ढाँचामा सार्वजनिक गरिएको थियो।

पुननिर्माणका क्रममा अघिल्लो महिना कार्तिकमा, तल्लो छानामा झिँगटी लगाउने काम भयो । माथिल्लो तलाबाट सुरु गरिएको काम तल्लो तलामा पुगेको हो । यससँगै भुइँ तलाको बुर्जाको मिखाफुसि कोलाँ र मुठलमा बुट्टा  काट्ने काम, बुर्जाहरुको बार्दली जडान गर्ने कामलाई निरन्तरता दिइयो।

पुननिर्माणका क्रममा लगाइएका वरिपरिका खटहरु खोलि सकिएको छ । भुइँ तलामा तेलिया टायल लगाउने, पूर्वी प्रवेशको खुड्किला बनाउने काम थालिसकिएको छ।

१७ गते भुइँ तलामा दोस्रो घेराको उत्तरपश्चिम कुनाको गणेश (सूर्य विनायक) भन्दा अगाडि रहेको माय्सिं जडान भयो । यसै दिन गोरखनाथको आसन तयार गरी गोरखनाथको मूर्तिलाई त्यसमाथि राखिएको हो।

पूर्वी प्रवेशद्वारमा रहेका सिंहहरुको आसन तयार गर्ने काम २२ गतेबाट सुरु गरेर २५ गते सकिएको हो । २६ गते दुवै सिंहहरुलाई आसनमाथि लगेर राखिएको छ।

कार्यक्रममा वास्तुविद, सल्लाहकार समिति तथा विज्ञ समूहबाट प्रा. डा. सुदर्शन राज तिवारी, कोषप्रसाद आचार्य, काइवाइ सेसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो।

पत्रकार दबूद्वारा पत्रकारिता पुरस्कार प्रदान

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर १९, आइतबार वर्गीकृत

पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील चार  जना जना पत्रकारहरुलाई विभिन्न पुरस्कार दिइएको छ ।

नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार ललितपुरमा सप्तपुर महाविहार चिकंबहीमा सम्पन्न नवौं ं वार्षिक साधारण सभा एवं कार्यकारिणी सभाको अवसरमा सो पुरस्कार वितरण गरिएको हो ।

ज्ञानज्योति – लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार पोखरका पत्रकार उदयबहादुर अमात्यलाई प्रदान गरिएको थियो ।यो पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । 

त्यसैगरी ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिनुभएका समाजसेवी मोतिशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गर्नुभएको ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार नागरिक कान्तिपुर दैनिकमा कार्यरत पत्रकार प्रशान्त मालीलाई प्र्रदान गरियो । यस पुरस्कारको नगद राशि १५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गर्नुभएका आठ भिक्षु मध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गर्नुभएको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार बोधि टेलिभिजनका पत्रकार विमला शँक्यलाई प्रदान गरियो । यस पुरस्कारको नगद राशि १२ हजार रुपैयाँरहेको छ ।त्यसैगरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार वरिष्ठ फोटोपत्रकार पद्मसागर कक्षपतिलाई प्रदान गरियो । यस पुरस्कारको नगर राशि १० हजार रुपैयाँ रहेको छ ।

पुरस्कृत व्यक्तित्वहरुलाई पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले माल्यार्पण, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले दोसल्ला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नुृभयो । नगद पुरस्कार भने सम्बन्धित पुरस्कार दाताले प्रदान गरिएको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेपाल भाषाको पत्रकारिताको विकासको लागि, सञ्चारमाध्यम समावेशी बनाउने कार्यमा सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताउनुभयो । उहाँले समाजको विकासको लागि जनउत्तरदायी स्वस्थ पत्रकारिता हुुनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार नरेशवीर शाक्यले मातृभाषाको पत्रकारिताको विकास गर्न पहिलो नेपाल भाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशन गरेको उल्लेख गर्र्दै धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारको रुपमा स्थापित गर्न अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवार पत्रकार दबूसंगै फोनिजले राज्यको ध्यानाकर्षण गराउँदै आएको बताउदै समावेशीले राष्ट्रिय एकता, सामाजिक सद्भावलाई बलियो बनाउने धारणा राख्नुभयो । नेपाली पत्रकारलाई सबभन्दा पहिले संगठित गर्ने अग्रज पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ, पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्दै उहाँले करिब १५ वर्षदेखि अभियान पछि नेपाल पत्रकार महासंघमा समावेशी बन्दै गएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बुले महासंघलाई समावेशी बनाउँदै समावेशी पत्रकारिताको विकासको लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषाको संरक्षणको साथै परम्परा, संस्वृmति, सम्पदाको प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै मातृभाषा पत्रकारिताको विकासको लागि राज्यले विशेष प्याकेजकै घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यको सभापतित्वमा भएको सो सभामा वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनील महर्जन,सचिव के. के मानन्धर लगायतले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्ने र मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यको ध्यान जानुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो ।

सो अवसरमा पत्रकार दबुका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरु कुनै बिरामी, दुर्घटना वा कुनै समस्या उत्पन्न भए आर्थिक सहयोग दिनका लागि खडा गरिएको अक्षय कोषमा रकम बढाएर यस वर्ष ५० लाख पु¥याउने लक्ष्य राखेको बताउनुभयो ।

Pages