पुनर्निर्माण प्राधिकरणबाट रानीपोखरी काठमाडौँ महानगरपालिकाको स्वामित्वमा हस्तान्तर
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ पौष ८, बिहिबार वर्गीकृत
रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त पोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महागरपालिकालाई हस्तान्तरण गरेको हो ।
स्वामित्व हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम ०७२ सालमै महानगरपालिका आफैँले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पुनर्निर्माणको जिम्मेवारी दिएको बताउनुभयो।‘रानीपोखरी पुनर्निर्माणको काम ०७२ सालमै महानगरपालिका आफैँले सुरु गरेको थियो। ०७४ सालमा आएपछि हामीलाई आरोप–प्रत्यारोप गर्ने काम भयो । मेयरले रानीपोखरी बेचेर खायो भन्ने आरोप पनि आयो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘त्यसपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई बोलाएर तपाईँ यो विवादमा नफस्नुहोस्
अरु काममा लाग्नुहोस् । यसको पुनर्निर्माणको जिम्मेवारी प्राधिकरण लाई दिऔँ भन्नुभयो ।’ शाक्यले पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणले लिएपछि महानगरपालिकाको डिजाइन अनुसार नै पोखरी पुनर्निर्माण भएको बताउनुभयो । ‘त्यतिबेला पनि मैले प्रधानमन्त्रीज्युलाई रानीपोखरीको डिजाइन तयारी अवस्थामा छ । त्यहि अनुसार बनऔँ भनेको थिएँ । त्यो अनुसार हुन्छ भने मात्रै सहमति जनाउँछु भनेको थिएँ’ प्रमुख शाक्यले भन्नुभयो, ‘ हामी भने अनुसार नै काम गर्ने भनेपछि मैले त्यो प्रस्ताव कार्यपालिकामा राखेको थिएँ । केही साथीहरुले हामी आफैँ बनाऔँ पनि भन्नुभएको थियो । त्यतिबेला नै पुनर्निर्माणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्ने भन्ने सहमति भएको थियो । अहिले जुन रानीपोखरी बनेको छ, त्यो हाम्रो डिजाइन र सर्त अनुसार नै बनेको छ ।’
शाक्यले काठमाडौँ महानगरपालिकाको वडा १, २७ र २८ का अध्यक्षको अनुगमन समिति बनाएर काम अघि बढाएको पनि जानकारी दिनुभयो । ‘महानगरपालिकाकै सल्लाह अनुसार अजय स्थापितको नेतृत्वमा उपभोक्ता समिति बनाएर पुनर्निर्माण सम्पन्न गरेको हो,’ उहाँले भन्नुभयो, ‘सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौं महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको थियो ।’ शाक्यले मन्दिर गुम्बज शैलीमा बनाउने भनिए पनि त्यसको ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर इतिहासको खोजी गरी महानगरपालिकाकै प्रयासमा ग्रन्थकुट (खिशर) शैलीमै पुनर्निर्माण गरेको जानकारी दिनुभयो। ‘गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय गर्ने काठमाडौँ महानगरपालिका हो,’ उहाँले भन्नुभयो, ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेका थियौँ । लामो समय त्यो विषय विवादमा रह्यो। सबैको सल्लाह–सुझावअनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ । यो गौरवको कुरा हो ।’
राष्ट्रपति विद्यादेवी भणडारीबाट शिलान्यास भएको रानीपोखरी केही समय अघि उहाँबाटै उद्घाटन भएको थियो । ऐतिहासिक मात्रै होइन, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी विश्वका लागि पनि उदाहरणीय पोखरी भएको भन्दै शाक्यले पोखरी पुर्ननिर्माण सम्पन्न भइ हस्तान्तरण हुँदा आनन्दित भएको बताउनुभयो । शाक्यले करीब ३ सय ६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनर्निर्माण गर्ने काम चुनौतिपूर्ण भएको बताउनुभयो ।
रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेबाट पुनर्निर्माणको काम शुरु भएको थियो । पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पनि काम प्राधिकरणले गरे पनि काठमाडौँ महानगरपालिकाकै सल्लाह अनुसार काम गरेको जानकारी दिनुभयो । ‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले प्राधिकरणले काम गर्यो भनेर दुःख मान्नुपर्दैन,’ ज्ञवालीले भन्नुभयो, ‘महानगरपालिकासँग सरसल्लाह अनुसार नै बनाएको हो ।’
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले सकेसम्म महानगरपालिकाले नै पुर्ननिर्माण गर्न पाएको भए हुने भन्दै प्राधिकरणले पुनर्निर्माण सम्पन्न गरेर आज हस्तान्तरण गर्दा खुशी लागेको बताउनुभयो । पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत ८ करोड १५ लाख र पहिलो चरण अन्र्तरगतनै सौदर्यीकरण, बालगोपालेश्वर मन्दिर निर्माण, पुल निर्माणलगायतका लागि १७ करोड ४५ लाख गरी करीब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचन वैशाख २० गतेभित्र गर्ने तयारी
Swoniga Online | २०७८ पौष ७, बुधबार वर्गीकृत
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्र सवै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्।
काभ्रेको धुलिखेलमा जिल्ला निर्वाचन कार्यालयले गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने पनि बताए ।
२०७९ फागुनभित्र प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको प्रमुख आयुक्त थपलियाले बताए।
थप एक जनामा नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि
Swoniga Online | २०७८ पौष ७, बुधबार वर्गीकृत
नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको थप एक जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको उनले बताइन् । अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।
एमालेको विरोधकै बीच प्रतिनिधिसभा बैठक सञ्चालन
Swoniga Online | २०७८ पौष ६, मंगलबार वर्गीकृत
प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच मंगलबार प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ। बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले नाराबाजी जारी गरे पनि बैठक अगाडि बढाए । मंगलबारको बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ।
यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । तर उनको प्रस्ताव बहुमतले अस्वीकार भयो ।
प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक
Swoniga Online | २०७८ पौष ६, मंगलबार वर्गीकृत
प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न भनेका छन्।
पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ।
यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो । तर मंगलबार भने पत्रकारलाई बाल्कोनी जान दिइएको छैन
नेपालमण्डल राष्ट्रिय गानको लागि कीर्तिपुर नगरपालिकालाई धन्यवाद ज्ञापन
Swoniga Online | २०७८ पौष ६, मंगलबार वर्गीकृत
कीर्तिपुर नगरपालिकामा केही दिन अघिदेखि कार्यालयमा काम गर्नु अघि बिहान १० बजे राष्ट्रको सम्मानमा राष्ट्रिय गान गाउन शुरू गरिएको थियो । गत मंसिर७ गते मंगलबारदेखि शुरू गरिएको नेपालको राष्ट्रिय गानसँगै मंसिर ९ गते बिहीबारदेखि कीर्तिपुर नगरपालिकामा नेपालभाषामा नेपालमण्डलको राष्ट्रिय गान पनि गाउन शुरू गरिएको थियो ।
नेपालमण्डल भनेको हालको बागमती प्रदेश नामकरण भएको क्षेत्र हो ।नेपालभाषामा नेपालमण्डलको “धुन दने धुन सँन्ह्यलं झी” बोलको राष्ट्रिय गान गाउन शुरू गरेकोले नेपालभाषाका विभिन्न संघसंस्थाहरू र नेपालभाषालगायत संस्कृति, सम्पदा अभियन्ताहरूले कीर्तिपुर नगरपालिकाको यस सकारात्मक कामको प्रशंसा गर्दै गत पुष १ गते नगर प्रमुख रमेश महर्जनलाई धन्यवाद् पत्र हस्तान्तरण गरेको छ।
नगर प्रमुख महर्जनले यो नेपालमण्डलको राष्ट्रिय गान गाउन पनि कर्मचारीहरूलाई नलाद्ने बताउनुहुँदै हाललाई हप्ताको एक दिनमात्र यो गान गाउन लगाउने विस्तारै विस्तारै प्रत्येक दिन नै गाउने प्रचलन गर्ने स्पष्ट पार्नु भयो। राष्ट्रिय गानको प्रार्थनामा बिना कारण सहभागी नहुने कर्मचारीहरूको भत्तामा कटौती हुने समेत नगर प्रमुख महर्जनले बताउनु भएको छ।
उप–प्रमुख सरस्वती खड्काले नेपालमण्डलको राष्ट्रिय गान एकै पटक सबैलाई कण्ठ नआउने भएकोले सबैलाई कण्ठ हुने वातावरण बनाइदिने बताउनुभयो ।झी कवि दुर्गालाल श्रेष्ठले रचना गर्नुभएको कीर्तिपुर नगरपालिका वडा नं. ७ भाजंगल निवासी तीर्थ मालीले संगीत दिनुभएको र कीर्तिपुर नगरपालिका वडा नं. ३ निवासी हरिशरण साय्मिले एरेञ्ज गर्नुभएको यस नेपालमण्डल राष्ट्रिय गान गाउने प्रचलन गरेको कीर्तिपुर नगरपालिका पहिलो पालिका भएको छ ।
आदिवासी पत्रकारका लागि अक्षय कोष स्थापना गर्ने
Swoniga Online | २०७८ पौष ६, मंगलबार वर्गीकृत
आदिवासी जनजाति अगुवा पत्रकारलाई सम्मान÷पुरस्कार प्रदान गर्न तथा तालिम संचालन र आपतकालिन सहयोग गर्न अक्षय कोष स्थापना गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले कोषमा सहयोग गर्न सहयोगीहरुलाई अनुरोध पनि गरेको छ।
फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले मकवानपुरका आदिवासी जनजाति पत्रकारको विस्तृत तथ्यांक संकलन गर्ने निर्णय समेत गरेको छ । फोनिज मकवानपुरकी सचिव रुपा गुरुङ संयोजक तथा सहसचिव मनिता राना र सदस्य भुपेन्द्र राना मगर सदस्य रहेको उपसमिति गठन गरिएको छ।
यस्तै, यही पुस २४ गते हुने फोनिज बागमती प्रदेश अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न फोनिज मकवानपुरले आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको सचिव गुरुङले बताईन् । साथै, फोनिज मकवानपुरको वार्षिक कार्ययोजना बनाउँन आदिवासी अगुवा, पत्रकार तथा फोनिजका उच्च नेतृत्वसँग समन्वय गर्ने निर्णय गरिएको उनले बताईन्।
बैठकले फोनिज मकवानपुरको चौथो जिल्ला अधिवेशनबाट चयन भएको कृष्ण सारु मगर नेतृत्वको निवर्तमान कार्यसमिति र फोनिजको संघीय अनुशासन विभाग प्रमुख कुमार नेगीको संयोजकत्वको निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ।
जीम सेन्टरमा आगलागी हुँदा २ करोड क्षति
Swoniga Online | २०७८ पौष ५, सोमबार वर्गीकृत
आज सोमवार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आज आगलागी हुँदा २ करोड रुपैयाँ बढीको क्षति भएको छ।
आज सोमवार दिउँसो ३ बजे आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी थियो। आगलागीको सूचना पाउना साथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करीब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो।
काठमाडौं, भक्तपुर र ललितपुर तिनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डिएसपी लामाले बताए ।
थिमिमा एक हप्तासम्म नवदुर्गा नाच नचाउने
Swoniga Online | २०७८ पौष ५, सोमबार वर्गीकृत
भक्तपुरमा ऐतिहासिक नवदुर्गा नाच आईतबार देखि मध्यपुर थिमि एक हप्तासम्म नचाउन ल्याईपुर्याएको छ । योमरी पूर्णिमाको दिन मध्यपुर थिमि ५, दिगु भैरव मन्दिरको प्राङ्णमा अपरान्ह पुर्याईने र त्यसदिन बेलुकीसम्म त्यही नचाउने र विधिवट रूपमा नचाउन सकेपछि वनदुर्गा द्यः छें बालकुमारी मन्दिरको पछाडीको सत्तलमा वास वस्ने चलन रहेको छ।
यो नाच आईतबार दिगु भैरव प्राङ्गण, सोमबार, बुद्वबार र शुक्रबार नचाईदैन । मंगलबार लायकू टोलमा बेलुका, बिहीबार दथुटोल नासद्यमा बेलुका, शनिबार वामुने, ताचो र तछुटोलमा नचाएर मरूटोलमा बाँस बस्ने गरिन्छ भने आईतबार दिनभरी मरूटोलमा नचाईने अनि बेलुका सुतिभैल नचाएर नाच सकाउने र सोही राति भक्तपुर फर्किनु पर्ने परम्परा रहेको छ । यो बाहेक द्यः वयेकेगु भनेर विभिन्न ठाउमा देवतालाई सगुन दिने पनि गरिन्छ ।
काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य सम्मानित
Swoniga Online | २०७८ पौष ५, सोमबार वर्गीकृत
१८ औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य सम्मानित भएको छ ।
काठमाडौंको बसन्तुरमा आयोजित एक समारोहका विच शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका थिए ।
सो अवसरमा समाज विकासमा सहोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई ज्यापु रत्न, ज्यापु सरस्वती पदक, ज्यापु प्रतिभा सम्मान, ज्यापु विशेष सम्मान लागायत पदवीहरुले सम्मान गरिएको थियो ।
ज्यापु संस्कृतिको संरक्षण काठमाडौं महानगरले पुराएको योगदानको कदर गर्दै प्रमुख शाक्यलाई सम्मान गरिएको ज्यापू संस्कृति विकास कोषले जनाएको छ ।


