८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि
Swoniga Online – स्वनिगः संवाददात | २०७८ माघ १२, बुधबार वर्गीकृत
पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी 8 हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।
आठ जनाको मृत्यु भएको छ । ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।
कीर्तिपुर नगर युवा परिषद् घोषणा
Swoniga Online – स्वनिगः संवाददात | २०७८ माघ १२, बुधबार वर्गीकृत
कीर्तिपुर नगरपालिकाले यही एक कार्यक्रम गरी कीर्तिपुर नगर युवा परिषद् घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।
देशमा राष्ट्रिय युवा परिषद्को प्रावधान रहेको तथा प्रदेश स्तरमा समेत प्रदेश युवा परिषद् गठन भई विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेको अवस्थामा कीर्तिपुरका युवाहरू समेटी सो परिषद्को घोषणा गरेको हो ।
उक्त परिषद्मा नगरपालिका प्रमुख रमेश महर्जन अध्यक्ष, नगरपालिका उप–प्रमुख सरस्वती खड्का–सहअध्यक्ष पदेन रहने व्यवस्था रहेको छ भने परिषद्का अध्यक्ष तथा नगर प्रमुखबाट घोषणा भएको कार्यकारी समितिमा प्रविन महर्जन उपाध्यक्ष, वडाहरूबाट सिफारिस भई आएका कम्तीमा पाँच जना महिला सहित दशजना युवा सदस्य तथा बुँदा नं. ५ घ मा उल्लेखित दशजना मध्ये दुई जना युवा विकास क्षेत्रमा योगदान गरेका र दुई जना वडा क्लबहरूमा आवद्ध भएका युवा सदस्य रहने व्यवस्था रहेको छ ।
मनोनित पदाधिकारीमा उपाध्यक्षलाई अध्यक्ष तथा नगर प्रमुख महर्जनले सपथ गराउनु भएको थिया।
अनुगमनबाट आर्थिक र सामाजिक क्षेत्रमा परेको प्रभाव देखिने बनाउनु पर्छ — उपमेयर खड्गी श्रेष्ठ
Swoniga Online | २०७८ माघ ११, मंगलबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरिएको छ । अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी र व्यवस्थित गर्न कार्यविधि तयार गर्न लागिएको हो । आज महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा निर्देशकहरु शिवराज अधिकारी (पीएचडी) बसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी हुनुहुन्छ ।
बैठममा उपमेयर खड्गी श्रेष्ठले, अनुगमनबाट पूर्वाधार, बजार, आर्थिक तथा सामाजिक क्षेत्रमा परिवर्तन देखिनु पर्ने बताउनुभयो । ‘अनुगमनबाट प्राप्त भएको सूचनाबाट सुधारका योजना बनाउनुपर्छ । त्यसैले अनुगमनका सूचकलाई ठोस बनाउने, प्रतिवेदन लेख्ने र सम्बन्धित अधिकारीलाई पठाउने प्रणालीसहितको संयन्त्र आवश्यक छ ।’ खड्गी श्रेष्ठले भन्नुभयो, ‘स्थानीय सरकार सञ्चालनका लागि प्राप्त संवैधानिक अधिकार, स्थानीय सरकार सञ्चालन ऐनले पालिकाहरुलाई दिएका जिम्मेवारी, सेवा प्रवाह, नगर सभा र कार्यपालिका बैठकबाट गरिएका निर्णयहरुलाई आधार मानेर कार्यविधिमार्फत अनुगमनलाई एकीकृत र नतिजामुखी बनाउनुलाई लक्ष्य मानेर काम गरौँ ।’
बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, अनुगमनको उद्देश्य स्पष्ट हुनु पर्ने बताउँदै मापन गर्न सकिने सूचक र अनुगमनपछिको मूल्याङ्कनबाट परेको प्रभाव हेर्न सकिने गरी काम गर्नुपर्ने बताउनुभयो । ‘क्षमता र प्रयत्न हुँदा हुँदै लक्ष्यमा राखिएको काम नसकिएको हुन सक्छ । यस्ता कामलाई सम्पन्न गर्न प्रेरित गर्ने तथा शासन र व्यवस्थालाई अनुकरणीय बनाउन अनगुमन गरिने भएकोले कार्यविधिले यी विषयलाई समेट्नु पर्छ ।’ प्रमुख प्रशासकीय अधिकृत पौड्यालको भनाइ थियो ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा महानगर आफैँले नगर सभा तथा कार्यपालिका बैठकबाट गरेका निर्णय कार्यान्वयनको अवस्था अनुगमनका मुख्य क्षेत्र हुन् । यसमा पूर्वाधार निर्माण, दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजार, गैरसरकारी संघ संस्थाहरुले गर्ने कार्यक्रमहरु, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, स्वास्थ्य शिक्षा, सहकारी महानगरको अनुगमन क्षेत्रमा पर्छन् । त्यस्तै जनजीवनलाई सहज बनाउन मुद्दा नपरी हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्तिको स्थानान्तरण, हस्तान्तरण, संरक्षण र उपयोग, आफैँले बनाएको कानुन कार्यान्वयनको अवस्था, ऐनले दिएका जिम्मेवारी उपयोगको अवस्था महानगरले गर्नुपर्ने अनुगमनका क्षेत्रहरु हुन् ।
यी क्षेत्रहरु हेर्न एउटै टोलीलाई सम्भव नभएकोले राजनीतिक र प्रशासनिक अनुगमन तथा विभागीय अनुगमनलाई व्यवस्थित गर्न कार्यविधि आवश्यक भएको हो । बैठकमा एकाईका प्रमुख बज्राचार्यले प्रस्तुतिमार्फत आवश्यकता देखाउनुभएको थियो । यसका लागि गएको मंसिर १५ गते अनुगमनसँग सम्बन्धित विभागका प्रमुखहरुसँग छलफल गरिएको थियो ।
अहिले संघ सरकार, प्रदेश सरकार, अदालत वा पारदर्शिताका लागि स्थापना भएका कार्यालयहरुबाट प्राप्त निर्देशनको पालनाजस्ता कामलाई राजनीतिक र प्रशासनिक संयन्त्रबाट अनुगमन हुने गरेको छ । बजार र उपभोक्ता अधिकारसँग सम्बन्धित विषयमा उपभोक्ता हित तथा बजार व्यवस्थापन समितिले हेर्ने गरेको छ । त्यस्तै विभागले गरेका कामको विभाग र वडाले गरेका कामको वडा आफैँले पनि अनुगमन गर्ने गरेका छन् । कामको प्रकृतिअनुसार त्यसलाई हेर्ने अधिकारी र संयन्त्र छुट्टै छन् । यसकारण सूचना र अभिलेख फरक फरक ठाउँमा छरिएका छन् । यसबाट समग्र स्थिति हेर्न नसकिने अवस्था छ । यो अवस्थालाई सुधार गरेर जुन संयन्त्रबाट अनुगमन भए पनि केन्द्रीय एकाईमा जानकारी हुने प्रणालीको आवश्यकता भएकोले कार्यविधि तर्जुमा गर्नु पर्ने अवस्था भएको, एकाईका प्रमुख बज्राचार्यको भनाइ छ ।
काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७’ जारी गरिसकेको छ । स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्ने व्यवस्था गरेको छ । यसबाट स्वच्छ तथा गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने महानगरको अपेक्षा छ।
काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि
Swoniga Online | २०७८ माघ ११, मंगलबार वर्गीकृत
काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन संक्रमण पुष्टि
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ माघ ११, मंगलबार वर्गीकृत
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो । अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ ।
कञ्चनपुरका दुई जना, बझाङ र डाेटिका एक/एक जनामा ओकिक्रोन पुष्टि भएको जानकारी दिए । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका ओझाले बताए ।
शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ माघ ११, मंगलबार वर्गीकृत
शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौँ महानगरका मेयर एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो । कोविड महामारीका कारण यस बर्ष औपचारिक रुपमा सभा आयोजना गरिएन । मन्तव्य राखिएन । संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो । यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो।
पुष्पगुच्छा अर्पणपछि सहिद सप्ताहका कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै मुल समारोहका संयोजक मेयर शाक्यले, यस बर्ष सहिद सप्ताहका कार्यक्रममा केही परिवर्तन गरिएको जानकारी दिनुभयो । ‘अहिले कोविड संक्रमणको दर बढ्ने क्रममा छ । यसकारण हामी सीमित व्यक्तिहरुको उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम गर्नेछौँ ।’
पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानलाई प्रतिकुल परिस्थिति छ भनेर विर्सन मिल्दैन । त्यसैले कार्यक्रमको स्वरुप परिवर्तन गरेर सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिइएको मेयर शाक्यको भनाइ छ।
त्यस क्रममा उपमेयर खड्गी श्रेष्ठले, व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मानेर प्राणको आहुति दिने सहिदहरुको सम्मान अन्य कुनै कारण नरोकिने प्रतिक्रिया दिनुभयो ।
शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो । त्यस क्रममा उहाँले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीविच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालिसक्नु भएको थियो । त्यसपछि नेपाल फर्कनु भएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि हुनुहुन्थ्यो ।
धार्मिक गतिबिधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गर्नुभएको थियो । राणाको बिरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो ।
महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक उहाँहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ सालको श्रद्धाञ्जली सभामा स्थापना गरिएको हो ।
सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिनेछ ।
यस बर्ष प्रभात फेरी हुनेछैन । माघ १६ गते विहान ९ बजे लैनचौरको सहिद स्मारक ज्ञात अज्ञात सहिदको सम्झनामा संक्षिप्त स्मृति कार्यक्रम आयोजना हुनेछ । त्यस अवसरमा प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारी मात्र उपस्थित हुनुहुनेछ । सम्मान गारदका लागि नेपाली सेनाको सानो टुकडी मात्र हुनेछ । त्यसै दिन मध्यान्न १२ बजे टुँडिखेलमा तोपको सलामी अर्पण गरिनेछ।
दुई आकाशेपुलको मेयर शाक्यबाट आज एकै पटक शिलान्यास
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ माघ ११, मंगलबार वर्गीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ । आज मात्रै पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुईओटा आकाशेपुलको एकै पटक शिलान्यास गुर्नभयो । काठमाडौँ महानगरपालिका वडा–७ को चावहिलचोक र मित्रपार्कमा यस्ता दुई ओटा पुलको प्रमुख शाक्यले एकै पटक शिलान्यास गर्नुभएको हो । चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाई अनि मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइका दुई ओटा पुलको शिलान्यास गर्दै प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र भिडभाड र दुर्घटना बढी हुने स्थानहरुमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाएको जानकारी दिनुभयो ।
‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ । अझ चावहिल चोकका बाटो फराकिलो भए पनि अत्याधिक जाम हुने ठाउँ हो,’ उहाँले भन्नुभयो, ‘स्थानीयको माग अनुसार चावहिल चोकमा यस अघि पनि आकाशे पुल निर्माण सम्पन्न भएको छ । त्यो पुल निर्माणपछि अहिले फेरि चक्रपथ ओरोलोतिर थप एउटा पुलको माग भएपछि महानगरपालिकाले आज यो पुलको शिलान्यास गरेको हो ।’
उहाँले आजै मित्रपार्कमा पनि अर्को पुलको शिलान्यास गरेको जानकारी दिनुभयो । ‘चावहिल चोकमा मात्रै हामीले एउटा निर्माण सम्पन्न गरिसक्यौँ, थप एउटाको आज शिलान्यास गर्र्यौ । मित्रपार्कमा पनि आजै एउटा आकाशेपुलको शिलान्यास गरेका छौँ,’उहाँले भन्नुभयो, ‘जयवागेश्वरीको पुलको काम पनि अघि बढेको छ । यसरी हेर्दा यो क्षेत्रमा मात्रै हामीले चारओटा पुल निर्माण गर्दैछौँ ।’
उहाँले सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने भएकाले बढी भिडभाड र दुर्घटना हुने स्थानमा पुल निर्माणको अभियान चलाएको जानकारी दिनुभयो । उहाँले स्थानीयवासीको सहयोग भयो भने आज शिलान्यास भएका दुई पुल पनि समयमै सम्पन्न हुनेमा आशावादी रहेको जानकारी दिनुभयो । ‘यो बाहेक पनि हामीले अन्य स्थानमा आकाशेपुल निर्माणको काम अघि बढाएको छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘माइतीघरमा हामीले निर्माण गरेको पुल अहिले सञ्चालनमा छ । अन्य ठाउँका लागि पनि हामीले ड्रोइङ–डिजाइनको काम गरिरहेका छौँ ।’
उहाँले केही ठाउँमा प्राविधिक समस्याका कारण कठिनाइ भएको बताउनभयो । ‘हामी छिटै यो काम अघि बढाउँछौँ,’ उहाँले भन्नुभयो, ‘हामीले खोला तर्ने र वडा जोड्ने गरी पनि पैदलयात्री आकाशेपुल बनाउने योजना अघि बढाएका छौँ ।’
वडा–७ का अध्यक्ष शुद्ध डंगोलले चावहिल चोक जतिखेर पनि जाम भैरहने र भिडभाड पनि बढी हुने भएकाले यो स्थानमा आकाशेपुल निर्माण गरेको जानकारी दिनुभयो । उहाँले पनि पुल निर्माणसँगै सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा लिएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले ट्राफिक व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले सडक विभागको समेत समन्वयमा आकाशेपुल निर्माणको अभियान अघि बढाएको जानकारी दिनुभयो । ‘पछिल्लो समय ट्रष्ट र स्टील संरचनाका आकाशेपुल निर्माणमा जोड दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘आवश्यकता अनुसार कुनै पनि तोडफोड नगरी अन्य ठाउँमा पुनः प्रयोग गर्न मिल्ने भएकाले पछिल्लो समय यस्ता पुल निर्माणमा हामीले जोड दिएका छौँ ।’ उहाँले अहिलेसम्म यस्ता तीन ओटा निर्माण भैसकेको र एउटा अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । उहाँले यो वर्ष थप तीन ओटा पुल निर्माण गर्ने तयारी रहेको पनि जानकारी दिनुभयो । ‘हामीले सरकारी जग्गा भएको र फुटपाथ पनि भएको ठाउँ छनोट गरी बढी भिडभाड हुने स्थानमा थप पुल निर्माण गर्ने कार्यक्रम छ,’ उहाँले भन्नुभयो,’ ‘अहिले चावहिल र मित्रपार्कमा बन्न लागेका दुई पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रहेको छ ।’
काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेमकुमार श्रेष्ठले अहिलेसम्म माइतीघर चोक, चावहिल चोक र डल्लुमा यस्ताखाले पुल निर्माण भएको भन्दै आज चावहिल चोक र मित्रपार्कमा शिलान्यास भएको जानकारी दिनुभयो । उहाँले जयबागेश्वरी र विजयश्वरीमा पनि निर्माण प्रक्रिया अघि बढेको जानकारी दिनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन
Swoniga Online | २०७८ माघ ७, शुक्रबार वर्गीकृत
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशबासीलाई सम्बोधन गरिरहेका छन् ।
२९ असारमा प्रधानमन्त्री भएका देउवाले पहिलो पटक देशबासीलाई सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
Swoniga Online – स्वनिगः संवाददात | २०७८ माघ ७, शुक्रबार वर्गीकृत
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।
सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उहाँले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।
आजदेखि सार्वजनिक स्थान जाँदा खोप कार्ड देखाउनुपर्ने
Swoniga Online | २०७८ माघ ७, शुक्रबार वर्गीकृत
आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।
यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ ।
कोरोनाको खोप कार्ड हरायो, के गर्ने ?
सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।
यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ ।


