add
Display Style: 
Column Style

गंकी धुस्वां–बसुन्धरा पुरस्कार निलम कार्कीलाई धुस्वां साय्मि सिर्जना पुरस्कार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने

Swoniga Online – स्वनिगः संवाददात | २०७८ पौष १६, शुक्रबार वर्गीकृत

 वि.सं. २०७८ सालको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ।त्यस्तै यस वर्षको धुस्वां साय्मि सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरेको छ।

गंकी धुंस्वां–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष डा. अरुण साय्मिको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपालभाषाका उपन्याससम्राट धुस्वां साय्मि र उहाँकी श्रीमति बसुन्धरा मानन्धरको नामबाट स्थापित उक्त पुरस्कार नेपालका विविध भाषाका उपन्यासकारहरूलाई प्रदान गरिने गरिन्छ।

साथै धुस्वां साय्मि सिर्जना पुरस्कार संगीत र कला क्षेत्रका श्रष्टाहरूलाई प्रदान गरिंदै आएको छ । दुवै पुरस्कारको राशी जनही रु ५०,०००÷– (पचास हजार मात्र) र ताम्रपत्र सहितको रहेको छ । दुवै पुरस्कारको लागि दुई वटा सिफारिस समिति गठन गरिएको थियो ।

गंकी धुस्वां बसुन्धरा पुरस्कारको लागि सात्यिकार विमल भौकाजीको संयोजकत्वमा कवि नवीन चित्रकार र कवयित्री प्रतिसरा साय्मि सदस्य रहेको समिति व धुस्वां साय्मि सिर्जना पुरस्कारको लागि वरिष्ठ कलाकार हरिप्रसाद वैद्य संयोजकत्वमा युवा कवि सुरेश किरण मानन्धर व कवयित्री प्रतिसरा साय्मि सदस्य रहनु भएको छनोटि समिति गठन गरिएको थियो।

प्रत्येक दुइ वर्षमा एकचोटी प्रदान गरिने दुवै पुरस्कारमध्ये गंकी धुस्वां–बसुन्धरा पुरस्कार नेपालभाषा, खस नेपाली र नेपालका विविध भाषाका उपन्यासकारहरूलाई पालै पालो प्रदान गरिंदै आएको छ । यस वर्ष सो पुरस्कार खस नेपाली विधामा दिइने भएको छ ।उक्त दुवै पुरस्कार यही आउँदो माघ १ गतेका दिन एक समारोहका वीच प्रदान गरिने कार्यक्रम रहेको छ।

सम्पदा पुननिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव छैन — मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ पौष १६, शुक्रबार वर्गीकृत

दि प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को खरु पूजा (मूल ढोकाको पूजा) गरिएको छ । काठमाडौँ महानगरपालिका वडा १८ बिज्यापुननी, किलागलमा रहेको देवघरमा गएर महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा सदस्यहरु, नाचका नायो, कजि र गुरुसहित गुठियारहरुले मुल ढोकाको पूजा गर्नुभएको हो।

पूजापछि अमूर्त सम्पदासँग जोडिएका मूर्त सम्पदा संरक्षणका विषयमा कुरा गर्दै मेयर शाक्यले, परम्परागत एवं तान्त्रिक नाच, बाद्यबादन, श्रृङ्गारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौँका मूर्त सम्पदालाई जीवन्त बनाइ राखेको उल्लेख गर्नुभयो । ‘यी चालचलनविचको सम्वन्ध आपसमा जोडिएका छन् । एकको अभावमा अर्को अधुरो हुन्छ । त्यसैले हामीले सम्पदासँग जोडिएका सबै पक्ष (मूर्त अमूर्त) जोगिने गरी पुननिर्माणका लागि राज्यकातर्फबाट लगानी गरिरहेका छौँ । हामीले बनाउँछौँ त्यसपछि संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित गुठियारलाई जिम्मा लगाउँछौँ ।’ शाक्यको भनाइ थियो । समस्या सुनिसकेपछि प्रतिक्रिया दिँदै मेयर शाक्यले भन्नुभयो, ‘उपभोक्तासँग महानगरले गर्ने कामको बजेट सीमा कम भएकोले यस्ता प्राविधिक समस्या परेका छन् । कलाकारितासँग जोडिएका काम व्यवसायिकभन्दा फरक प्रकृतिका हुन्छन् । यसमा लाग्ने खर्च धेरै हुन सक्छ । यस्ता खर्चलाई प्राविधिक रुपमा पुष्टि गर्नु पर्नेहुन्छ । सम्पदा पुननिर्माण गर्न रकमको होइन, यस्ता केही कानुनी र विधिगत समस्या छन् । प्रक्रियाले मिल्ने भए एकै पटक ६ करोड रुपैयाँ उपलब्ध गराउन महानगरलाई समस्या छैन । तर, विधिगत कारणले सबै रकम एकैपटक दिन सकिने अवस्था छैन ।’ 

त्यस क्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले, देवघर पुननिर्माणका लागि वडाले महानगरसँग गर्नुपर्ने प्रशासनिक र प्राविधिक समन्वयमा कमी हुन नदिनेृ बताउनुभयो । समयमा निर्माण सम्पन्न होस् भन्ने हाम्रो चाहना हो । महर्जनको भनाइ थियो । 

देवघरका कजि नातिकाजी महर्जनले भवन निर्माण सम्पन्न भएपछि देवी नाचसँग सम्बन्धित सांस्कृतिक र सामाजिक काम गर्न धेरै सहज हुने धारणा राख्नुभयो । 

भवन निर्माणका लागि ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महानगरले यसका लागि गएको बर्ष १ करोड रुपैयाँ र चालु आर्थिक बर्षका लागि १ करोड रुपैयाँ छुट््याएको छ । जसमध्ये २ किस्ताबाट १ करोड २८ लाख ५८ हजार रुपैयाँ प्राप्त भइसकेको निर्माण समितिका कोषाध्यक्ष राजा महर्जनले बताउनुभयो । उहाँका अनुसार थप २५ लाख रुपैयाँ अर्को किस्तामा निकासा हुने चरणमा छ । अहिलेसम्ममा २ करोड १५ लाख रुपैयाँबराबरको काम भएको छ । भवन ७ तले हुनेछ । देवी नाचमा ७ जना देवगण हुने भएकोले भवनलाई ७ तले बनाइने भएको हो।

ज्ञवाली मन्त्रालय सरुवा ः महानगरबाट विदाइ कार्यक्रम आयोजना

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ पौष १४, बुधबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई आज विदाइ गरिएको छ । २०७६ पुस १८ गते महानगरमा पदवहाली गर्नुभएका ज्ञवाली २०७८ पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासनको निर्णयबाट सरुवा हुनुभएको हो । मन्त्रालयको त्यही दिनको निर्णयबाट महानगरमा लोकनाथ पौड्यालले प्रमुख प्रशासकीय अधिकृत पदमा वहाली गर्नुभएको छ। विदाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई ‘महानगर सेवा सम्मान’ र वुद्ध मूर्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्य, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष हीरालाल तण्डुकारसहित कर्मचारीहरु सहभागी हुनुहुन्थ्यो । 

२०७४ जेठ १७ गते जनप्रतिनिधिले पदवहाली गरेपछि महानगरबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेर सरुवा भइ जानेमा उहाँ छैटौँ हुनुहुन्छ । जनप्रतिनिधिको पदबहालीका गर्दा ईश्वरराज पौडेल कार्यकारी अधिकृत हुनुहुन्थ्यो । त्यसपछि क्रमशः धनिराम शर्मा, यादव कोइराला, केदार न्यौपाने, एकनारायण अर्याल र ज्ञवालीले प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसक्नु भएको छ । उहाँहरुमध्ये कोइराला, न्यौपाने र अर्याल सचिव हुनुहुन्छ भने पौडेल, शर्मा र ज्ञवाली सहसचिव हुनुहुन्छ। यस्तै कोइरालाअघिसम्म कार्यकारी अधिकृत भनिन्थ्यो भने त्यसपछि प्रमुख प्रशासकीय अधिकृत भनिन थाल्यो।

पदस्थापन हुन आउने र जाने समयका बीचका केही समय सहसचिव ज्ञवालीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसक्नु भएको छ।

विदाई कार्यक्रममा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, प्रमुख प्रशासकीय अधिकृतहरु समय समयमा परिवर्तन भइरहने हुँदा निर्णय कार्यान्वयन प्रक्रियामा असर पर्ने र महानगरलाई लक्ष्यमा पुग्न कठिन हुने बताउनुभयो । ‘मैले प्रमुख प्रशासकीय अधिकृत ल्याउन व्यक्ति छानेको छैन र सरुवा गरेर पठाउन कसैलाई भनेको छैन । आएका प्रशासकीय अधिकृतसँग समन्वय गरेको छु । कुरा बुझ्दा बुझ्दै पुरानोको सरुवा हुन्छ । नयाँ आउनेलाई कुरा बुझ्न समय लाग्छ ।’ महानगरले गर्नुपर्ने कामको लक्ष्यका विषयमा कुरा गर्दै मेयर शाक्यले, नीति, बजेट र कार्यक्रम तथा क्षमता भएर पनि महानगरलाई लक्ष्यमा पुग्न कठिन हुनुका कारणमध्ये प्रशासनिक नेतृतव गर्ने प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवा भइरहनु पनि एउटा भएको उल्लेख गर्नुभयो ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत पौड्यालले महानगरको लक्ष्य पूरा गर्न थोरै समयमा धेरै काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै सामुहिक प्रयासबाट लक्ष्यमा पुग्न प्रयास गर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनको कुरा चल्न थालेको छ । महानगरको वार्षिक लक्ष्य र कार्यक्रम कार्यान्वयनलाई तीब्र बनाएर जनप्रतिनिधिले जनतासँग गरेका वाचा पूरा गराउन प्रशासनिक नेतृत्वलाई समन्वयकारी बनाउनेछु । पौड्यालको भनाइ थियो । 

विदाइ भएर जानुहुने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, काठमाडौँ महानगरपालिका स्थानीय सेवा, सहरी विकास र व्यवस्थापनको विश्वविद्यालय भएको उल्लेख गर्नुभयो । आफूले गरेका महत्वपूर्ण कामको सम्झना गर्दै ज्ञवालीले भन्नुभयो, ‘करीव २ बर्षे कार्यकालमा महानगरको संगठन संरचना, कर्मचारीको सेवा शर्त सम्बन्धी ऐन, समायोजन ऐनमार्फत १ हजार ५५१ जना कर्मचारीको समायोजनजस्ता काम अविस्मरणीय रहे । विषयलाई प्रक्रियामा लैजाने र निर्णय गर्न जनप्रतिनिधिसँग समन्वयकारी भूमिका गर्न प्रशासनिक नेतृत्व गर्ने अवसर पाएँ । यो मेरालागि पनि अविस्मरणीय रहनेछ ।’  

कार्यक्रममा कर्मचारीहरुकातर्फबाट निर्देशकहरु महेशकुमार काफ्ले र वसन्त आचार्यले ज्ञवालीका कार्यकालमा भएका कामका बारेमा चर्चा गर्नभएको थियो । कर्मचारीको वृत्ति विकास तथा क्षमता विकास र महानगरको संस्थागत सुधारका लागि ज्ञवालीले व्यक्तिगत र संस्थागत दुवै प्रकारका प्रयत्न गर्नुभएको उहाँहरुको भनाइ थियो । 

कर्मचारी संघ संगठनकातर्फबाट स्थानीय तह कर्मचारी युनियन, महानगर एकाइका अध्यक्ष शिवजी भट्टराई र स्थानीय तह कर्मचारी संघ, महानगर एकाईका अध्यक्ष शम्भु बरालले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका पालामा कर्मचारी समायोजन गरेर पेशागत हितका लागि महत्वपूर्ण काम भएको धारणा राख्नुभयो । 

महानगरमा प्रमुख प्रशासकीय अधिकृत

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि महानगरबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेर सरुवा भइ जानेमा ज्ञवाली छैटौँ हुनुहुन्छ । २०७४ जेठ १७ गते जनप्रतिनिधिले पदबहाली गर्दा ईश्वरराज पौडेल कार्यकारी अधिकृतका रुपमा हुनुहुन्थ्यो । त्यसपछि २०७४ श्रावण १९ को मन्त्री परिषद्को निर्णयबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा हुनु भएका धनीराम शर्मा श्रावण २९ गतेको उपप्रधानमन्त्री स्तरीय निर्णयबमोजिम महानगरको कार्यकारी अधिकृतका रुपमा आउनुभयो । 

२३७ दिन काम गरेर शर्मा चैत्र २० गतेको मन्त्री स्तरीय निर्णयबाट अर्थ मन्त्रालयअन्तर्गतको ठूला करदाता सेवा कार्यालयमा सरुवा भइ जानुभयो । यही दिन (चैत २०) महानगरमा का. मु. प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरकारका सचिव यादवप्रसाद कोइरालालाई पठाउने निर्णय भयो । यहाँबाट कार्यकारी अधिकृत पद प्रमुख प्रशासकीय अधिकृतमा परिर्वन भयो । यस्तै महानगरले विशिष्ट श्रेणीको प्रमुख प्रशासकीय अधिकृत प्राप्त ग¥यो । त्यस अघि सरकारले सहसचिव स्तरका कर्मचारीलाई यस पदमा पठाउने गरेको थियो । २०७५ बैशाख २ गते महानगरमा हाजिर हुनुभएका कोइराला २०७६ बैशाख ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवका रुपमा हाजिर हुनुभयो । 

२०७६ बैशाख २ गतेको मन्त्री परिषद्को निर्णयबाट कोइराला मन्त्रालय जानुभयो भने प्रदेश १ को प्रमुख सचिवका रुपमा कार्यरत केदार न्यौपाने प्रमुख प्रशासकीय अधिकृतका रुपमा महानगरमा आउनुभयो ।

नेपाल सरकार, मन्त्री परिषद्को २०७६ फागुन १८ गते बसेको बैठकले एकनारायण अर्याललाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय ग¥यो । त्यसबेला उहाँ भारतको महावाणिज्य दूताबासमा हुनुहुन्थ्यो । त्यसबेला कोविड संक्रमण फैलिइसकेको हुनाले विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णयबमोजिम १५ दिनपछि चैत २४ गते महानगरमा हाजिर हुनुभयो । 

पूर्व प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने करीब १ महिना अघि नै भूमि व्यवस्था सहकारी तथा गरीबि निवारण मन्त्रालयमा सरुवा भएर गएपछि सहसचिव राजेश्वर ज्ञवालीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दै आउनुभएको थियो ।   

२०७७ असोज २९ गते बसेको मन्त्री परिषद्को वैठकको निर्णयबाट अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवका सरुवा हुनुभयो । उहाँले कार्तिक २ गते मन्त्रालयमा पदबहाली गर्नुभएको थियो । त्यसपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत हुृँदै प्रमुख प्रशासकीय अधिकृतका रुपमा राजेश्वर ज्ञवालीले पदस्थापन गर्नुभएको थियो । 

२०७८ पुस ७ गतेको मन्त्रीस्तरीय निर्णयबाट ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भइ जानुभएको हो भने लोकनाथ पौड्यालले पदबहाली गर्नुभएको हो

महिला उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी सम्पन्न

Swoniga Online – स्वनिगः संवाददात | २०७८ पौष १४, बुधबार वर्गीकृत

कीर्तिपुर नगरपालिका वडा नं.८ ध्वाकासी, पाँगामा पाँगा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं स्थापना दिवसको उपलक्ष्यमा उद्यमी सदस्यहरूद्वारा उत्पादित विभिन्न सामग्रीहरूको प्रदर्शनी तथा बिक्री मेला सम्पन्न भएको छ । पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले विभिन्न तालिमबाट प्राप्त सिपलाई कार्यन्वयन गर्ने सिलसिलामा विभिन्न वस्तुहरूको उत्पादन गरिरहेका छन् ।

उत्पादित सामाग्रीहरूको बजारीकरण तथा प्रवद्र्धन गर्नका लागि सो प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको थियो । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाले आयोेजना गरेको मेलाको उद्घाटन गर्नुहुँदै यस मेलाले महिला उद्यमीहरूको हौसला वृद्धि पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिला उद्यमीहरूद्वारा उत्पादित सामाग्रीहरूलाई प्रवद्र्धन गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अन्तर्गत सौगात गृह कोसेली घर स्थापना गर्दै महिला लक्षित उद्यमशीलता विकास तालिम, सीप विकास तालिम सञ्चालन उल्लेख गर्नुभयो ।

प्रदर्शनी तथा बिक्री मेला सञ्चालन गर्न सहयोग गर्ने सामुदायिक महिला मञ्च, लुमन्ति आवासको लागि सहयोग समूहलाई धन्यवाद् व्यक्त गर्नुभयो । कार्यक्रम पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव चन्द्रमाया महर्जनले सञ्चालन गर्नुभएको थियो ।

दाफा गायन तथा हार्माेनियम बाजा प्रशिक्षण

Swoniga Online | २०७८ पौष १४, बुधबार वर्गीकृत

नेवाः मौलिक अमूर्त संस्कृति दाफा संस्कृतिलाई संरक्षण र संबद्र्धन गर्ने उद्देश्यका साथ कीर्तिपुरका विभिन्न दाफा खलःहरूलाई कीर्तिपुर नगरपालिकाले दाफा गायन र हार्माेनियम प्रशिक्षण शुरू गरेको छ। उक्त प्रशिक्षणको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले एक कार्यक्रमका बीच पानस प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख महर्जनले नेपालको संविधानद्वारा प्रदत्त संघीय संरचनाअनुसार तीन तहको सरकार रहेकोले जनतासँग प्रत्यक्ष सरोकार राख्ने नगरपालिका पहिले जस्तो निकाय नभई स्थानीय सरकार नै भएकोले यहाँका सबै क्षेत्रको विकास गर्नु पर्ने दायित्व रहेको बताउनु भयो । निर्वाचनका बेला आफूहरूले घोषणा गरे अनुसार नयाँ बस्तीहरूलाई व्यवस्थित गर्ने र पुराना बस्तिहरूलाई साँस्कृतिक शहरको रुपमा विकास गर्ने भन्ने कुरालाई ध्यानमा राखी यहाँका मूर्त अमूर्त सम्पदाहरूको संरक्षण र पुनर्निर्माणका कामहरू गरिरहेको बताउनुभयो।

उप–प्रमुख सरस्वती खड्काले यो तीन महिनाको हार्माेनियम प्रशिक्षण उपलब्धिमूलक रहोस् भनी कामना गर्नुहुँदै यो सिकाइ आफैलाई पनि राम्रो हुने र संस्कृतिको पनि जगेर्ना हुने बताउनु भयो । कीर्तिपुर नगरपालिकामा हालको जनप्रतिनिधि आउनु अघि जम्मा ११ वटा मात्र दाफा खलः सक्रिय रहेका थिए भने हालको जनप्रतिनिधि आइसकेपछि दाफाको महत्वलाई ध्यानदिई विभिन्न कार्यक्रम गरिएकोले हाल १७ वटा दाफा खलः सक्रिय रहेका छन् । नेपालभाषा एकेदेमि हलमा तीन महिनासम्म सञ्चालन हुने यस प्रशिक्षणमा तीर्थ माली, सुरेन्द्र श्रेष्ठ र राजेन्द्र महर्जनले प्रशिक्षण दिइरहनु भएको हो।

कार्यक्रममा प्रशिक्षण तीर्थ माली, कीर्तिपुर नगरपालिका वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो भने कीर्तिपुर नगरपालिकाको नगर प्रमुख सचिवालयका विकास महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

Swoniga Online | २०७८ पौष १४, बुधबार वर्गीकृत

स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ।

स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरुले सो माग गरेका हुन्।हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुख समेत हुनुहुन्छ।

२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उहाँलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेवाः पत्रकार राष्ट्रिय दबूको माग छ । स्वर्गीय श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक हुनुहुन्थ्यो । उहाँकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्न गरिएको छ।

उहाँकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो।यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो।यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति हुनुभएको थियो । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।

समारोहका वक्ताहरुले २०१२ चैत्र १६ गते स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थापित नेपाल पत्रकार महासंघ सोही पत्रकार संघलाई पुनःगठन गरी बनाइएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक रुपमा सम्मान गर्नुपर्ने माग गरेका थिए।

सो अवसरमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघको संस्थापक बहसबारे महासंघका सम्बद्ध पक्ष पन्छिन नहुने बताउनुभयो। ‘नेपाली सञ्चारवृतमा उठिरहेको महासंघको संस्थापक अध्यक्ष बारेको बहसमा सम्बद्ध पक्ष्ँले जवाफ दिन आलटाल गर्ने होइन । यसबारे गम्भीर बहस र छलफल गर्नुपर्दछ ।’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

समारोहमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले संस्थापक अध्यक्षको बहसको उद्देश्य २०१२ सालमा महासंघको नेतृत्व गर्नुहुने स्वर्गीय भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासमा बंग्याइएको तथ्यलाई स्थापित गर्ने हो । नेपाल पत्रकार महासंघले आफ्नो संस्थापक अध्यक्ष्ँको प्रश्नमा पुनःविचार गर्न जरुरी रहेको पनि वरिष्ठ उपाध्यक्ष राईको भनाई रहेको छ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार एवं वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यका सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।

मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिहंले सत्यतथ्य सबैलाई थाहा भएपनि कसैले सम्बोधन नगरेको बताउँदै भन्नुभयो ‘ महासंघको अहिलेको संस्थापक अध्यक्षमा देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले स्वर्गीय श्रेष्ठको योगदानको इतिहासको बिस्मृतिमा परेको हो।’

स्वर्गीय श्रेष्ठकी छोरी सुजिता मानन्धरले सो विषयमा थप अध्ययन र प्रमाणहरु जुटाउँदै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले इतिहासको तथ्यलाई मेट्न खोजिएकोले पत्रकार महासंघको संस्थापकको मुद्दा न्यायको लडाई रहेको बताउनुभयो।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जनले इतिहासको अपव्याख्या गर्न नहुनेमा जोड दिँदै भन्नुभयो ‘ २००७ सालमा देशमा प्रजातन्त्र आयो । २००८ सालमा नै श्रेष्ठले पत्रकारहरुका संगठन गठन गर्नुभयो । यो उहाँको दुरदर्शीताको प्रमाण हो । इतिहासको यो कालखण्डको अपव्याख्या गर्नुहुन्न।’

उहाँको तस्वीरमा अतिथी तथा उपस्थिति पत्रकारहरुले माल्यार्पण गरी समारोहको शुरुआत गरिएको थियो।सोही समारोहमा प्रमुख अतिथीको रुपमा व्यक्ति विशेष कसैलाई उल्लेख नगरी उहा“लाई प्रतिकात्मक रुपमा कार्यक्रमको मुख्य व्यक्ति रुपमा सम्बोधन गरिएको थियो।

नेपाली सञ्चारवृतमा गृष्मबहादुर देवकोटाको नेपाली छापाखानाको इतिहास नामक पुस्तक र केही अन्य दस्तावेजलाई आधार लिएर महासंघको संस्थापक अध्यक्ष बारे बहस हुँदै आएकोमा एक दशकयता पत्रकार राष्ट्रिय दबूले ‘न्यायको लडाई’ को  रुपमा अभियानलाई निरन्तरता दिदैैँ आएको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पौड्याल पदबहाली

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ पौष १२, सोमबार वर्गीकृत

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड््यालले बहाली गर्नुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ जानुभएको छ । 

पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौड््यालले, भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नु पर्ने बताउनुभयो । पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्नुपर्ने पौड््यालको भनाइ थियो । 

त्यस क्रममा प्रशासन विभागका प्रमुख महेश काफ्लेले स्वागत कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवा र स्थानीय प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत पौड््यालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि बढाउनमा सहयोग पुग्ने बताउनुभयो । 

२०५३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका पौड््याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव हुनुभएको हो । उहाँ स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गर्नुभएको छ।

 

फोनिज ललितपुरको अध्यक्षमा सन्जय श्रेष्ठ निर्वाचित

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ पौष ११, आइतबार वर्गीकृत

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौ जिल्ला अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । ललितपुरमा  भएको पाँचौ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले १३ जनाको कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रकाश थिङ, सचिवमा सुनिता बटाजु, सह–सचिवमा शुभप्रभात राई र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठलाई निर्वाचित गरेको छ ।

अधिवेशनमा फोनिजलाइ एकताबद्ध, सुदृढ र सक्रिय बनाउन सबै फोनिजका सदस्यलाई लाग्न अध्यक्ष श्रेष्ठले अग्रह गरेको छन् । उनले आफुले कार्यसमितिको भावना, चाहना र आवश्यकता अनुसार अगाडी बड्ने भन्दै अध्यक्षभन्दा पनि सहपाठी साथीको रुपमा काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सदस्यमा सुजाता राई सम्झना महर्जन, किरण शाही, सनिराज शाक्य, अनुप शाक्य, राजन महर्जन, बाबुलाल स्याजतान सर्वसम्मत निर्वाचित भइको छ।

सांस्कृतिक र सामाजिक चालचलन जोगाउन राज्यकातर्फबाट लगानी — मेयर शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ पौष १०, शनिबार वर्गीकृत

काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा खुशिँवुमा एक कार्यक्रमविच उहाँहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो । 

सम्मान कार्यक्रममा बोल्दै मेयर शाक्यले, महानगरभित्रका सामाजिक र सांस्कृतिक जीवनसँग सम्बन्धित मूर्त अमूर्त सम्पदाको संरक्षण र प्रवर्धनका लागि काठमाडौँ महानगरले राज्यकातर्फबाट लगानी गरिरहेको बताउनुभयो । ‘वर्तमान कुमारी, गणेश र भैरव, पूर्व कुमारी, गणेश र भैरवको मासिक भत्ता बढाएका छौँ । जो देवी देवताका रुपमा रहनुहुन्छ । उहाँहरुले अन्य पेशा गर्न नसक्ने भएपछि जीवन तथा घर व्यवहार चलाउन कठिन हुन्छ । यसले परम्पराप्रतिको आकर्षण घट्न सक्छ । यसप्रतिको आकर्षणलाई बचाउन हामीले परम्परागत संस्कारको निरन्तरताका लागि जसले पूरा समय दिनुहुन्छ, उहाँहरुका लागि भत्ताको व्यवस्था गरेका हौँ । परम्परागत बाजागाजाको संरक्षण र प्रशिक्षणका लागि  यसबाट जात्रा, पर्व, संस्कार र संस्कृतिको निरन्तरतामा प्रोत्साहन हुनेछ ।’ 

तहगत संरचनामा ३ तहका सरकार छन् । तीमध्ये स्थानीय तहका जनप्रतिनिधिले जनतासँगसँगै काम गर्ने हुन् । प्रदेश र संघ सरकारमा प्रतिनिधित्व गर्ने सदस्यहरुको जनताका दुःखसँग कम परिचय हुन्छ । मेयर शाक्यले, जनताका दुःखको सबैभन्दा नजिक पालिकाका जनप्रतिनिधि नै हुने बताउँदै आफूहरुले सामाजिक र सांस्कृतिक जीवनको महत्व नजिकबाट बुझेको बताउनुभयो । 

महानगरको परम्परागत चिनारीलाई यथावत राख्न बाजा गुरुहरुको सीप र कलालाई पुस्तान्तरण गर्नु पर्नेछ । यसका लागि हामीले प्रयास गरिरहेका छौँ । कार्यक्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले भन्नुभयो, ‘सांस्कृतिक पहिचान जोगाउनुलाई हामीले प्राथमिक कामका रुपमा लिएका छौँ । बाजागाजाहरु सामाजिक काम, मठमन्दिर तथा जीवन मृत्यु पर्यन्तका संस्कारसँग जोडिन्छन् । यिनीहरुको एकीकृत विकासमा हामीले लगानी बढाएका छौँ ।’

सम्मानपछि गुरुहरु ज्योती शाक्य र राजभाइ ज्यापूले महानगरबाट प्राप्त भएको सहयोगले परम्परागत बाजा संरक्षण, वादन प्रशिक्षणका कार्यक्रम बढ्दै गएको धारणा राख्नुभयो । महानगरको लगानीबाट परम्परालाई पुस्तान्तरण गर्न सहज भएको हामीलाई महसुस भएको छ । दाफा गुरुहरुको भनाइ थियो।

काठमाडौँ महानगरभित्रका परम्परागत टोलहरुमा सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न र निरन्तरता दिन गुठीलगायत विविध सामाजिक संगठन बनाइएको हुन्छ । त्यसमा नायो, कजि र गुरुहरु हुन्छन् । नायोले प्रशासनिक, कजिले व्यवस्थापकीय र गुरुले बाजागाजा सिकाउने काम गर्छन्।

बाद्यबादन र गायनसँग सम्बन्धित दाफा यही संगठनबाट सञ्चालन गरिने परम्परागत संस्कार हो । दाफा डवली, पाटी, मन्दिरको अगाडि वा सत्तलमा मात्र सञ्चालन हुन्छ । खिँ र ता बाजा बजाउँदै गायन गर्नु दाफाको परम्परागत चिनारी हो । पछि अन्य बाजाहरु मिसाएर गाउने चलन छ।

काठमाडौँका हरेक जात्रा, पर्व र संस्कार बाद्यवादन तथा गायनसँग सम्बन्धित हुन्छन् । यसरी बजाइने बाजा र गाइने गीत सम्बन्धी आफ्नै नियम हुन्छन् । ऋतु, पर्व र संस्कारअनुसार समय तोकिएको हुन्छ । टाढाबाट बाजाको बोल सुनेर कुन क्रियाकलाप भएको हो, थाहा पाउन सकिन्छ।

कला नगरी घोषणा गरिएपनि सोही अनुरुप ठोस काम हुन नसकेको गुनासो

Swoniga Online | २०७८ पौष ९, शुक्रबार वर्गीकृत

ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरिएपनि सोही अनुरुप ठोस काम हुन नसकेको सम्बद्ध उद्योगी व्यवसायीहरुले बताएका छन् ।

आज शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको सम्पन्न ४२ औं साधारण सभाका वक्ताहरुले सो कुरा बताएका हुन्। हस्तकला घोषणा गरिएपनि सोही अनुरुप काम हुन नसक्दा पुस्तौंदेखि हस्तकला, काष्ठकला, प्रस्तर कला, सुनचाँदी व्यवसायमा विस्तारै संकटमा पर्न थालेको र कुनै व्यवसाय विस्थापित हुने खतरामा रहेको पनि उनीहरुको भनाई रहेको छ । ‘मल्लकालीन समयदेखि नै समृद्ध अर्थतन्त्रको आधारका रुपमा हस्तकलाजन्य उत्पादनलाई लिईन्छ ।अहिले आएर ती उत्पादनहरुको स्वरुप कुनै बृहतस्तरमा छन् भने कु्नै सानास्तरमा वा विस्थापित हुने अवस्थामा पुगेको छ ।’ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले भन्नुभयो।

वल्र्ड क्राफ्ट काउन्सिलले तीन वर्षअघि ललितपुर नगरलाई हस्तकला नगरीको रुपमा घोषणा गरेको उल्लेख गर्र्दै अध्यक्ष न्याछ्योंले भन्नुभयो ‘ यस क्षेत्रमा अपेक्षाकृत काम हुन सकेन । यस विषयमा सबैको ध्यान आकृष्ट गराउन चाहन्छौं ।’हस्तकलाजन्य सामग्रीको प्रयोगमा बढावा दिन पनि अध्यक्ष न्याछ्योंले ललितपुरका स्थानीय तह समक्ष माग गर्नुभयो।हस्तकलासंगै स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री, खाद्य एवंम पेय पदार्थलाई ब्राण्डिङ गरी बिक्री गर्न सकिने अवस्था रहेको हुँदा त्यसको व्यवस्था मिलाउन संघ, प्रदेशसंगै स्थानीय तह बढी दायित्व लिनुपर्ने पनि अध्यक्ष न्याछ्योको धारणा रहेको छ।

सो अवसरमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले ललितपुरको लुभुमा कपडा उद्योगको विशेष क्षेत्र र हस्तकला ग्राम बनाउनुपर्ने खाँचो औल्याउँदै त्यसका लागि पहल भइरहेको बताउनुभयो।‘ महालक्ष्मी नगरपालिका क्षेत्र, गोदावरी नगरपालिका क्षेत्रमा दुई वटा विशेष क्षेत्र बनाउनुपर्ने देखिन्छ। डुकुछाप हस्तकलाको क्षेत्र बनाउने तयारी भइरहेको छ।’मन्त्री भुसालले भन्नुभयो। मन्त्री भुसालले ललितपुरलाई सांस्कृतिक राजधानीको रुपमा विकास गर्नुपर्ने बताउँदै पर्यटन र हस्तकला नै अर्थतन्त्रको मुख्य आधार रहेको विचार व्यक्त गर्नुभयो ।

समारोहमा वाग्मती प्रदेशका सांसद् शोभा शाक्य हस्तकला विकासको चर्चा गरिएपनि व्यवहारमा ठोस काम हुन नसकेकोले हस्तकला व्यवसायीहरु पलायन हुने अवस्थामा रहेको बताउनुभयो।आफू पनि हस्तकला व्यवसाय गर्दै  राजनीति प्रवेश गरेको उल्लेख गर्दै उहाँले हस्तकला व्यवसायीहरुले अहिले भोग्नुपरिरहेको समस्या समाधान गर्न राज्यले गम्भीर पहल नगरेको बताउनुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, महासचिव रुपकमान महर्जनले जिम्मेवार पक्षले समय समयमा व्यक्त प्रतिबद्धता अनुरुप काम हुन नसकेकोले कोरोना महामारीले संकटमा परेको व्यवसाय झन् मारमा परेकोमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो 

Pages