नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने
Swoniga Online | २०७८ माघ ७, शुक्रबार वर्गीकृत
एफटीटीएच उपलब्ध नभएका सुगमका साथै अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डेटा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ। कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ।
फोरजी एलटीई नमस्ते वाईफाईमार्फत टेलिकमले हाल व्यक्तिगत र सरकारी संस्था गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ। व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडव्यान्ड बेसिक आठ सय रुपैयाँमा ६० जीबी ३० दिनका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यसैगरी, एक वर्षका लागि नौ हजा रुपैयाँमा ७२० जीबी प्याक पाइने टेलिकमले जनाएको छ।
कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ। माघ ५ गते भएको सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्सका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्।
होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १२ सय रुपैयाँमा १२० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुने बताइएको छ। त्यसैगरी एक वर्षका लागि १३ हजार पाँच सय रुपैयाँमा १४४० जीबी प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ। यसलाई प्रतिमहिना १२० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एड अन प्याकको रुपमा ६ सय रुपैयाँमा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिने कम्पनीले जनाएको छ।
`यसलाई प्रतिमहिना ६० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एड अन प्याकको रुपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिने कम्पनीले जनाएको छ।
सरकारी संस्था प्याकेजमा ३६ सय ५० रुपैयाँ र २१ सय रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध रहेको टेलिकमले जनाएको छ। यी प्याकेजबाट अनलिमिटेड डेटा चलाउन सकिने बताइएको छ। वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
सडकलाई आश्रय बनाउनेहरुलाई पारिवारिक पुनमिलन गराउने, विकल्प नभएकालाई आश्रममा आश्रय दिइने — मेयर शाक्य
Swoniga Online | २०७८ माघ ६, बिहिबार वर्गीकृत
सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गर्न काठमाडौँ महानगरपालिकाले नागार्जुन नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन हस्तान्तरण गरेको छ । आज रााष्ट्रिय सभा गृहमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । भवन निर्माणका लागि गएको असोज २० गते त्रिपक्षीय सम्झौता भएको थियो । यसका लागि काठमाडौँ महानगरपालिकाले २०७८ असोज १२ बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । यसैगरी नागार्जुन नगरपालिकाको असार २१ गते सम्पन्न नगरसभाले निर्णय गरेको थियो ।
नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान दिने, यसबाट नागार्जुन नगरपालिकाले खरिद ऐनको प्रक्रिया अवलम्बन गरेर भवन निर्माण गर्ने र मानव सेवा आश्रमले सेवा सञ्चालन गर्ने गरी सम्झौता भएको थियो । यो सम्झौतापछि महानगरको सहरी योजना आयोगले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो ।
प्रतिवेदनअनुसार ९८४ बर्गमिटर प्लिन्थ एरिया भएको भवन १ हजार ९५४ बर्ग मिटर क्षेत्रफलमा निर्माण हुने भवनको लागत करीव ११ करोड रुपैयाँको हुनेछ । सहरी योजना आयोगका सदस्य सजीव शाक्यकाअनुसार भवनमा १ सय जना अट्ने एउटा, ४० जना अट्ने एउटा गरी २ वटा सभा कक्ष र २० जना अट्ने बैठक कक्ष हुनेछन् । १८० जना सहयोगापेक्षी राख्न सकिने भवनमा २६ जना स्वयमसेवक बस्न सक्नेछन् । भवनमा १० वटा कार र ४० वटा मोटरसाइकल अट्ने पार्किङ्ग सुविधा हुनेछ । प्राइभेट, सेमी प्राइभेट र पब्लिक गरी भवनलाई ३ भागमा बाँडेर प्रयोग हुनेछ । शाक्यकाअनुसार, सुरक्षा र गोपनीयताजस्ता विषयलाई ध्यानमा राखेर यस्तो डिजाइन गरिएको हो । सुत्ने कोठा र स्वास्थ्य उपचार कक्ष प्राइभेट अर्थात सबैको पहुँच नहुने गरी बनाइनेछ ।
नागार्जुन नगरपालिका वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । भवनको नाम ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ हुनेछ । यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट््याएर अधिकतम मानवीयताको प्रवर्धन गर्ने गरी संरचना निर्माण गरिनेछ ।
विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनका लागि भवनको प्रयोग हुनेछ । यो उद्देश्यअनुसार भवनको व्यवस्थापन तथा प्रयोग हुन नसकेमा वा भवनको दुरुपयोग भएमा भवन फिर्ता हुनेछ ।
सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यले काठमाडौँ महानगरका मेयरको संयोजकत्वमा ४ सदस्यीय निर्देशक समिति हुनेछ । समितिको सदस्यमा नागार्जुन नगरपालिकाका मेयर, मानव सेवा आश्रमका अध्यक्ष र काठमाडौँ महानगरपालिका वा नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी १÷१ जना रहनुहुनेछ ।
निर्देशक समितिले तोकेका पदाधिकारीहरु रहेको एक भवन निर्माण तथा व्यवस्थापन उपसमिति गठन हुनेछ । उपसमितिले निर्देशक समितिले तोकेबमोजिम काम गर्नेछ ।
डीपीआर हस्तान्तरण गरिसकेपछि बोल्दै मेयर शाक्यले, काठमाडौँमा जन्मिएर देशको स्वाधीनताका लागि प्राण आहुती गर्ने सहिद धर्मभक्त माथेकाका नाममा मानव सेवा आश्रम र प्रजातन्त्र प्राप्तिका लागि नेतृत्व गर्ने गणेशमानका नाममा पार्क निर्माण गर्न नागार्जुन नगरसँग हस्ताक्षर गर्न पाएको खुशी लागेको बताउनुभयो । ‘शासन परिवर्तनको लाभ समुदायका तल्लो तहमा पुगोस् भन्ने उहाँहरुको चाहना थियो । उहाँहरुको चाहना पूरा गराउन हामीले वेसहारालाई खाना, नाना र छानासँगै स्वास्थ्य र शिक्षाका लागि लगानी गरेका हौँ । काम समयमा सकिएर लक्षित समूहले लाभ पाउनेमा मैलै विश्वाश गरेको छु ।’
‘सडकमा वेसहारा मात्र छैनन् । परिवारमा बस्न चाहिने नियन नमानेर स्वतन्त्र जीवन विताउन चाहने पनि छन् । हामी परिवार भएकालाई पारिवारिक पुनर्मिलन गराउने र विकल्प नभएकालाई निःशुल्क बास र खाना, स्वास्थ्य तथा आवश्यकताका आधारमा शिक्षा उपलब्ध गराउँछौँ ।’ मेयर शाक्यको भनाइ थियो ।
त्यस क्रममा नागार्जुन नगरका मेयर बस्नेतले, सहिदको बलिदानीबाट अहिलेको व्यवस्था प्राप्त भएकोले काठमाडौँ महानगरको सहयोगमा सहिदकै नाममा सामाजिक काम थालिएको बताउनुभयो । त्यस्तै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, दुई नगरको सहकार्यमा अगाडि बढेको योजना अन्तरसरकार साझेदारी कार्यक्रमको नमूना भएको उल्लेख गर्नुभयो ।
सडक सहयोगापेक्षी मानवरहित सहर बनाउने संकल्प गरेदेखि नै काठमाडौँ महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेपछि आफूहरुले सेवामा निर्धक्क हुन पाएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको भनाइ छ । वेसहारा मानिसहरु सहरका धेरै छन् । त्यसैले हाम्रा कार्यक्रम सहर केन्द्रीत छन् । यस क्रममा २४ वटा शाखाबाट सेवा दिइरहेका छौँ । अध्यक्ष अधिकारीको भनाइ थियो ।
महानगरले २०७४ मंसिर १ गते मानव सेवा आश्रमसँग सडकमा वेसहारा जीवन विताइरहेकाहरुको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरेको हो । सहरका सडक किनारामा वेसहारा जीवन विताउने हरेक उमेर समूहका मानिसलाई उद्धार गरेर, आश्रममा लाने, सम्भव भए पारिवारिक पुनर्मिलन गराउने सहमतिबमोजिम काम भइरहेको छ ।
त्यसपछि महानगरका सडक पेटी तथा खुल्ला स्थानमा भेटिएका सवै उमेर समूहका, शारीरिक र मानसिक अवस्था जस्तोसुकै भएपनि, सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई उद्धार गर्ने, उपचार तथा पालनपोषण गर्ने, आधारभूत आवश्यकता परिपूर्ति गरिदिने, शिक्षा दीक्षा दिने काम आश्रमले गरिरहेको छ । यसबापत् महानगरले वडा नं. २६ सामाखुशीमा आश्रम सञ्चालन भएको एउटा र बुढानिलकण्ठ नगरपालिका वडा नं. १ नीलो पुलमा सञ्चालित एउटा गरी २ वटा घरको मासिक बहाल तिर्दै आएको छ । यसै गरी उद्धार कार्यमा प्रयोग गर्न एउटा सवारी खरिद गरिदिएको छ ।
मौसम खराब भएर आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस
Swoniga Online | २०७८ माघ ६, बिहिबार वर्गीकृत
काठमाण्डौबाट नेपालगञ्जका लागी उडेको बुद्ध एअरको जहाज मौसम खराब हुँदा बिहान झण्डै आधा घण्टा जहाज आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस भएका छन् ।
बिहान काठमाण्डौबाट ८ बजे उडान भरेको बुद्ध एअरको जहाज ८ बजेर ५५ मिनेटसम्म अवतरण गर्नुपर्नेमा भिजिबिलिटी कम हुँदा ९ बजेर २५ मिनेटमा अवतरण भएको थियो ।
काठमाण्डौ महानगरपालिका वडा नम्वर–२३ की ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आत्तिएर बेहोस हुनुभएकी उहाँलाई तत्काल नेपाली सेनाको अस्पतालमा लगिएको थियो । अहिले थापाको आवस्था सामान्य छ ।
भेरोसेलको अभाव हुन सक्न कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन
Swoniga Online | २०७८ माघ ६, बिहिबार वर्गीकृत
भेरोसेल खोपको मौज्दात देशैभर कम भएको भन्दै स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ । विभागले पहिलो मात्रा लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन भनेको हो ।
विभागको परिवार कल्याण महाशाखाले परिपत्र गर्दै ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन दिएको हो । विभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमन सिंहले खोपको व्यवस्थापन गर्न पहिलो डोजमा अब कोभिसिल्ड दिने तयारी गरेको बताउनुभयो ।
तर, यसअघि पहिलो र दोस्रो डोजमा भेरोसेल खोप लगाएका अग्रपङ्क्तिमा खटिनेहरुले भने बुस्टर डोजमा भेरोसेल खोप पाउने पनि उहाँले स्पष्ट पार्नुभयो । त्यसका लागि यस अघिको खोप कार्ड भने अनिवार्य लैजानु पर्नेछ ।
कीर्तिपुर नगरपालिका वडा नं.३ मा कुसन र डल बनाउने तालिम सम्पन्न
Swoniga Online | २०७८ माघ ५, बुधबार वर्गीकृत
कीर्तिपुर नगरपालिका वडा नं. ३ को आयोजनामा सञ्चालित महिला लक्षित कार्यक्रम अन्तर्गत कुसन, डल बनाउने तालिम समापन भएको छ ।
प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको समापन कार्यक्रममा सहभागीहरूलाई नगर प्रमुख महर्जन, उप–प्रमुख सरस्वती खड्का, वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, कार्यक्रमका सभापति तथा वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं. ३ का सदस्य ज्ञानप्रसाद महर्जन, कार्यक्रमका संयोजक तथा कार्यपालिका सदस्य नन्ददेवी महर्जनले प्रमाण पत्रका साथै आ–आफैंले बनाएको डल (टेडि बियर) प्रदान गरिएको थियो ।
३ नं. वडा भरिका ३० जना महिलाहरूको सहभागिता रहेको सो तालिम राजेश्वरी माली प्रमुख प्रशिक्षक तथा रामदेवी महर्जनले सह–प्रशिक्षकको रुपमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख महर्जनले नगरको विकास भौतिक संरचनाको विकासले मात्र विकास नभई समग्र जीवन सुखी भयो भने मात्र साँच्चैको विकास हुने बताउनुभयो।
नगर प्रमुख महर्जनले पहिला नगरपालिका एक निकाय जस्तो मात्र भएको तर हालको नगरपालिका सम्पूर्ण जिम्मेवार बोकेको भएर हरेक नागरिक प्रतिको दायित्व बोकेको नगरपालिका भएकोले प्रत्येक नागरिकलाई कुनै न कुनै सीप सिकाउनु नगरपालिकाकै दायित्व भएकोले पनि यो तालिम निकै महत्वपूर्ण रहेको बताउनु भयो ।
उप–प्रमुख खड्काले यस तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गरी सफल उद्यमी बन्नु पर्नेमा जोड दिनुभयो । तालिम मात्र लिएर काम नगर्दा तालिमकुमारी हुने बताउनुहुँदै उप–प्रमुख खड्काले केही समस्या अप्ठ््यारो भए नगरपालिका वा वडा कार्यालयमा सम्पर्क गर्न पनि सुझाव दिनुभयो । गत पुस २६ गतेदेखि वडा नं. ३ हितिगाः स्थित भ्वय्छेँमा सञ्चालित सो तालिमको समापन कार्यक्रममा सहभागीहरूले आ–आफ्नो मन्तब्य दिनुभएको थियो भने कार्यक्रमका संयोजक नन्ददेवी महर्जनले स्वागत गर्नु भएको थियो । कार्यक्रम उर्मिला महर्जनले सञ्चालन गर्नुभएको थियो ।
हारती माता देवता घरको शिलान्यास
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ माघ ४, मंगलबार वर्गीकृत
आजदेखि हारतीमाता (अजिमा द्यः) देवता घरको पुननिर्माण थालिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. २५ श्रीघ विहार, शान्तिघट बज्रधातु चैत्य महाविहार परिसरमा रहेको मन्दिरको महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेर पुननिर्माणको काम शुरुवात गर्नुभएको हो । पुननिर्माणका लागि महानगरले १ करोड रुपैयाँ उपलब्ध गराउनेछ । यसमा शान्तिघट बज्रधातु चैत्य महाविहार संरक्षण समितिले उपभोक्ताकातर्फबाट ५ प्रतिशत रकम थप गरेर पुननिर्माण गर्नेछ ।
शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर शाक्यले, काठमाडौँको इतिहासलाई जीवन्त बनाइराख्न प्राचीन स्मारकहरुको मर्मत, सम्भार, जीर्णोद्धार र पुननिर्माणलाई नीतिगत प्रबन्ध, बजेट र कार्यक्रमबाट काम गरिरहेको बताउनुभयो । ‘काठमाडौँ प्राचीन सांस्कृतिक र ऐतिहासिक सहर हो । यसको पहिचानलाई दिगो बनाइ राख्न, सहरमा भएका स्मारकहरुलाई यथावत राख्नुपर्छ । त्यसैले हामीले जीवन्त सांस्कृतिक सहरको पहिचान जोगाउन समुदाय, पुजारी र गुठीयारहरुसँग सहकार्य गरिरहेका छौँ । ’ हारती माता देवघर पुननिर्माणको सन्दर्भ उठाउँदै मेयर शाक्यले भन्नुभयो, ‘मन्दिरका काठहरु मक्काएका थिए । पर्खाल कमजोर भएको थियो । त्यसैले परम्परागत निर्माण सामग्रीको प्रयोग गरेर पूर्ववत स्वरुप र शैली हुने गरी उपभोक्ता, गुठीयार र पुजारीहरुसँगको सहकार्यमा पुननिर्माण थालेका हौँ ।’
समितिका पदाधिकारीकाअनुसार मन्दिर करीब ३ सय बर्ष पुरानो हो । यसको पुननिर्माण आजभन्दा करीव १ सय ५६ बर्ष अघि एक पटक भएको अभिलेख पाइन्छ । १९९० सालको भूकम्पको धक्का व्यहारेको मन्दिरलाई २०७२ सालको भूकम्पले कमजोर बनाएको थियो ।
शिलान्यास अवसरमा वडा २५ का अध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्य, कार्यपालिका सदस्य रमिताकमल स्थापितसहित जनप्रतिनिधि र संरक्षण समितिका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
कोरोनासँग जति बढी हेलचेक्रयाईँ त्यति नै बढी मानवीय क्षतिः मेयर शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ माघ ४, मंगलबार वर्गीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईँका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गर्नुभएको छ । काठमाडौँ महानगर वडा-२३मा आयाेजित एक कार्यक्रममा सम्वाेधन गर्दै सीसीएमसीसँग उहाँले यस्तो आग्रह गर्नुभएको हो । ‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले भन्नुभयो, ‘अहिले काठमाडौँ कोरोनाको हटस्पट बनेको छ । तर, सीसीएमसीले हामीसँग समन्वय गरेको छैन ।’
उहाँले त्यसबारे गृहमन्त्रीलाई समेत जानकारी गराएको स्मरण गराउनुभयो । ‘मैले गृहमन्त्रीज्युलाई संघीय सरकारले हामीलाई उपेक्षा गरेको हो कि भन्ने विषयमा जानकारी गराएको छु,’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने थलो भनेको स्थानीय सरकार हो । त्यसैले संघीय सरकारले हामीसँग समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गरेर अघि बढ्न सकिन्छ ।’
प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले अघिल्लो पटक निशुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गरेको र यो पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको बताउनुभयो । ‘हामीले त्यसका लागि गृहमन्त्रीज्यु, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक पर्यो भने तुरुन्तै निशुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गर्न सक्छौँ ।’
शाक्यले नेपाल मात्रै होइन अहिले विश्व नै कोरोनाको तेस्रो लहरले आक्रान्त बनेको स्मरण गराउनुभयो । ‘अहिले मुख्य गरेर काठमाडौँ उपत्यका ओमिक्रोनका रुपमा कोरोनाको तेस्रो लहरले बढी प्रभावित छ,’ उहाँले भन्नुभयो, ‘ घना वस्ती भएको ठाउँ भएका कारण यहाँका वासिन्दा स्वाभाविक रुपमा बढी प्रभावित छन् । यो बढी संक्रामक भएकाले छिटै संक्रमण फैलिन सक्ने भएकाले सबैलाई सतर्क रहन पनि म अपिल गर्छु ।’
उहाँले प्रदेश, स्थानीय र केन्द्र सरकारले पटक–पटक सतर्क रहन अपिल गरे पनि आम मानिसले भने कोरोना केही होइन भन्दै अलिक बढी नै लापरवाही गरेको जस्तो देखिएको बताउनुभयो । ‘अहिले कोरोना संक्रमण दर बढिरहेको अवस्थामा म पुनः काठमाडौँ महानगरवासी र उपत्यकावासीलाई बढी हेलचेक्रयाइँ नगरौँ भन्ने अपिल गर्न चाहन्छु,’ शाक्यले भन्नुभयो, ‘हामी स्वयंले सावधानी अपनाउने हो भने बढ्दो संक्रमण दरलाई कम गर्न सकिन्छ । हामीले रोग लाग्नु भन्दा पनि रोग नै लाग्न नदिने वातावरण निर्माण गर्नुपर्छ ।’
विगतको अनुभवले जति बढी लापरवाही भयो त्यति नै बढी मानवीय क्षति भएको देखाएको उहाँले स्मरण गराउनुभयो । ‘विश्व स्वस्थ्य संगठनको मान्यता अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले जारी गरेका मापदण्ड पालना गर्दै सचेत र सतर्क रहन पनि म अपिल गर्छु,’ उहाँले भन्नुभयो, ‘यसो भयो भने हामीले धेरै हदसम्म मानवीय क्षति कम गर्न सक्छौँ र आफू पनि बच्न सक्छौँ ।’
उहाँले भोलिका दिनमा कुनै पनि आवश्यकता पर्यो भने काठमाडौँ महानगरपालिका भित्रका अस्पतालहरुसँग सहकार्य गरेर हिजोका दिनमा जस्तै अघि बढ्न महानगरपालिका तयार रहेको पनि उहाँले बताउनुभयो । ‘त्यसका लागि ती अस्पतालका केही आवश्यकता पूरा गर्दै क्षमतावृद्धि गरी कोरोनाविरुद्ध लड्ने कार्यमा आर्थिक–भौतिक सहयोग गर्न महानगरपालिका तयार छ,’ उहाँले भन्नुभयो, ‘त्योसँगै त्यहाँ कार्यरत नर्स–डाक्टरहरुको मनोवल बढाउन पनि महानरपालिका तयार छ । त्यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको अवस्था छ । महानगरवासीलाई थप केही जटिल भयो भने महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लीनिक र स्वास्थ्य विभागमा सम्र्पक गर्न पनि अपिल र्गछु ।’
उहाँले संघीय सरकारको निर्देशन र मापदण्ड अनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपङ्क्तिमा खटिएका, जेष्ठ नागरिकलगायतका लागि खोपको तेस्रो मात्रा पनि महानगरले व्यवस्थापन गरेको भन्दै खोप लगाउन अपिल गर्नुभयो ।
शाक्यधिता ध्यान घरको शिलान्यास
Swoniga Online | २०७८ माघ ३, सोमबार वर्गीकृत
‘नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्छ । विश्वले वुद्ध दर्शनलाई आदर्शका रुपमा मानेको छ । यसप्रति गर्व गरौँ ।’ काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले धारणा राख्नुभएको छ । आज काठमाडौँ महानगरको वडा १५ किमडोलस्थित किमडोल बहालमा शाक्यधिता नेपालको ध्यान भवन शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘वुद्ध धर्मको मर्मलाई प्रवर्धन तथा प्रचार प्रसार गर्न काठमाडौँ महानगरपालिकाले थेरवादी तथा बज्रयानी विहारको निर्माण, पुननिर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको छ । वुद्धको दर्शनलाई प्रबर्धन गर्न यो सरकारकातर्फबाट लगानी हो ।’ शाक्यले भन्नुभयो, ‘वुद्ध दर्शनका लागि विश्वका धेरै देशहरुले लगानी गरेका छन् । त्यस प्रकारका लगानी नेपालमै पनि छन् । यसबेला नेपालले पनि लगानी गर्नुपर्छ भनेर हामी अगाडि बढेका हौँ ।’
बहालभित्र करीव ३ हजार ५ सय बर्गफिट क्षेत्रफलमा साढे ३ तले भवन निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले करीव ७६ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । उपभोक्ताको ५ प्रतिशत सहभागिता रहनेछ ।
शिलान्यास कार्यक्रममा बोल्दै शाक्यधिताका पदाधिकारीहरुले, महानगरपालिकाबाट प्राप्त सहयोगको प्रशंशा गरेका थिए । महानगरले हामीलाई सरकार भएको अनुभूति दिएको छ । प्राप्त सहयोगलाई हामी उपासक उपासिकाको सहजताका निम्ति पूर्वाधार तयार पार्नेछौँ । उहाँहरुको भनाइ थियो
वुद्ध दर्शनको प्रवर्धन घटेका बेला यस बहालबाट प्रवर्धनका योजना गरिन्थे । प्रचार प्रसार र प्रवर्धनका काम हुन्थे । वहालमा रहनुभएका गुरुमाहरु इन्द्रावती र मेत्तावतीले यसको प्राचीनताको साइनो देखाउनुभयो ।
काठमाडौंमा २,५४५ संक्रमित
Swoniga Online | २०७८ माघ २, आइतबार वर्गीकृत
नयाँ संक्रमित मध्ये दुई तिहाइ भन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् । काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४,५३४ र २,५६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ ।
नयाँ संक्रमित मध्ये ३,३४७ जना काठमाडौं उपत्यकाका हुन् । यो संख्या आइतबार पहिचान भएका कुल संक्रमित ४,९६१ दुई तिहाइभन्दा बढी हो।
थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि
Swoniga Online | २०७८ माघ २, आइतबार वर्गीकृत
नेपालमा आइतबार थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार ५७३ पीसीआर परीक्षणका क्रममा ४ हजार ५३४ जना र २ हजार ५६९ एन्टिजेन परीक्षणका क्रममा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५५ हजार २०६ पुगेको छ ।


