कानुनी अज्ञानता छुट छैन, त्यसैले कानून नबुझी सुखै छैन — मेयर शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ फाल्गुण १४, शनिबार वर्गीकृत
काठमाडौँ महानगरको कानून तथा मानव अधिकार विभागले कर्मचारीहरुका लागि ‘स्थानीय सरकार र कानून’ सम्बन्धी तालिम आयोजना गरेको छ । २ दिन हुने तालिममा स्थानीय सरकारसँग सम्बन्धित कानुनी व्यवस्था र प्रयोगका विषयमा प्रस्तुतिकरण र छलफल गरिनेछ ।
तालिम उद्घाटन गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘कानून जानिन भन्न कसैलाई छुट छैन । कर्मचारीलाई झन् छैन । सेवा प्रवाह कानूनबमोजिम गर्नुपर्छ । त्यसैले कानुनी ज्ञान अपरिहार्य छ ।’ मेयर शाक्यले भन्नुभयो, ‘महानगरमा हुने विवादको चाप घटाउन विभागले काम गर्नुपर्छ । दर्ता नगर्दा पक्ष विपक्ष दुवैलाई फाइदा हुने मुद्दालाई दर्ता गर्नुअघि नै सम्झाउन सक्नुपर्छ । उहाँहरुलाई सही बाटो देखाउनुपर्छ । मुद्दा दर्ता भएपछि पक्ष विपक्ष दुवै पक्षको समय वर्वाद हुन्छ । खर्च बढ्छ । यो व्यक्ति, समाज र सार्वजनिक सेवा प्रदायक हामी सबैका लागि घाटा हो ।’
‘हामीले न्यायिक सम्पादनमा धेरै अनुभव लिएका छौँ । काठमाडौँ महानगरको न्यायिक प्रशासन अनुकरणीय हुनुपर्छ। मुद्दा फैसला हुँदा जित्नेले मात्र होइन, हार्नेले पनि चित्त बुझाउन सकोस् ।’ विभागले यसरी कार्यसम्पादन गरोस् भन्ने मेरो चाहना हो । मेयर शाक्यको भनाइ थियो ।
स्थानीय सरकारसँग सम्बन्धित कानूनका विषयमा जनप्रतिनिधि र कर्मचारीलाई सँगै राखेर क्षमता विकासको काम गर्नुपर्छ । कार्यक्रममा वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले भन्नुभयो, ‘यसले सेवा प्रदायकहरुविच समान धारणा निर्माण गराउँछ । यसबाट आन्तरिक विवाद घट्छ।’
तालिममा कानून तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र काठमाडौँ महानगरपालिकाका सन्दर्भमा कानूनको आधारभूत जानकारीका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
स्थानीय सरकार गठन भए यता काठमाडौँ महानगरले करीव ७० वटा कानून निर्माण गरेको अनुभव सुनाउँदै आचार्यले, कानून निर्माण गर्नुभन्दा कार्यान्वयन गर्नु महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । प्रस्तुतिमा विवाद निरुपण ऐन र कार्यविधिको विषय समावेश गरिएको थियो।
कहिले मुद्दाका रुपमा अगाडि बढाउनु नपर्ने विवाद दर्ताका लागि आउने गरेका छन् भने कहिलेकाहीँ क्षेत्राधिकारभित्र नपर्ने मुद्दा पनि आउने गरेका छन् । तालिममा न्याय प्रशासक रामप्रसाद पौडेलले, काठमाडौँ महानगरमा पर्ने विवाद र क्षेत्राधिकारका विषयमा प्रस्तुतिकरण गर्दै न्याय निरुपणका लागि महानगरले अवलम्बन गरेको पद्धतिका विषयमा चर्चा गर्नुभएको थियो।
तालिममा विवादमा उजुरी दर्तादेखि निर्णय लिने चरणसम्म पुग्दा अपनाइने प्रक्रियालगायत कानूनका सिद्धान्त, प्रयोग र व्यवहारका विषयमा प्रस्तुतिकरण र छलफल हुनेछ।
जनताका लागि गरिने काममा अस्वस्थ्य प्रतिस्पर्धा हुनुहुँदैन — मेयर शाक्य
Swoniga Online – स्वनिगः संवाददात | २०७८ फाल्गुण ३, मंगलबार वर्गीकृत
काठमाडौँको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेश द्वारको आज महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) सहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न ६ वटा क्षेत्रमा काम हुँदैछ । नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो । यो बर्ष सञ्चालन हुने परियोजनाको लागत १ करोड २४ लाख रुपैयाँ रहेको थियो । खुल्ला प्रतिस्पर्धाबाट ठेक्केदारले ८६ लाख ३३ हजार रुपैयाँमा निर्माण कबोल गरेको छ ।
शिलान्यासपछि बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, जनताले उपभोग गर्ने वा जनताले लाभ पाउने कुरामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने बताउनुभयो । ‘काठमाडौँ उपत्यकाका समस्याहरु एउटै छन् । एउटा ठाउँलाई छोडेर अर्को ठाउँ मात्र विकास गर्छौँ, भनेर काम गर्दा खण्डीकृत हुन्छ । हामी उपत्यकाको एकीकृत विकास गर्न चाहन्छौँ । यसका लागि नगरहरुकाविचमा सहकार्य आवश्यक थियो । त्यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरले नेतृत्व गरिरहेको छ ।’ मेयर शाक्यले भन्नुभयो, ‘हामीले काठमाडौँका सवै पालिकासँग सहकार्य गरेपछि भक्तपुरका २ वटा नगरसँग साझेदारी सहयोग ग¥यौँ । यसै गरेर एक प्रदेश एक भगिनी सहरको नीति लियौँ । त्यसअनुसार विभिन्न ५ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको छ । ती नगरलाई पनि पार्क निर्माण गर्न अनुदान सहयोग गरेका छौँ । पहिले लिएका नीति र कार्यक्रमलाई असर नहुने गरी थप सहयोग गर्न तयार छौँ ।’
त्यस क्रममा दक्षिणकाली नगरका मेयर मोहन बस्नेतले, काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गर्नुभयो । ‘काठमाडौँका जनतालाई आवश्यक पर्ने उत्पादन तथा सामग्री हाम्रो नगरमा छन् । हामी पनि महानगरका जनताको समस्या समाधानमा सघाउन चाहन्छौँ ।’
सबै नगरहरुको समृद्धिलाई साथमा लिएर काठमाडौँ महानगरपालिका अगाडि बढेको बताउँदै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सहरी विकासका सानातिना समस्या समाधान गर्ने हो भने ठूला र जटिल ठाउँमा पुग्नै नपर्ने धारणा राख्नुभयो । ‘महानगर एक्लै समृद्ध भएर हुँदैन । यो अनुभूति गरेर हामीले साझेदारी कार्यक्रमलाई बढाएका हौँ । महानगरमा पार्क बनाउने जग्गा छैन छिमेकी नगरमा जग्गा छ । अब महानगरका जनता छिमेकी नगरमा घुम्न जाने संस्कार बनाउन चाहन्छौँ ।’
दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) ले साझेदारी कार्यक्रमलाई नजिकबाट अनुभव गर्न पाएको धारणा राख्नुभयो । ‘काठमाडौँ महानगरले साना नगरहरुलाई उदार मनले विकासमा अगाडि बढायो । हाम्रै सन्दर्भमा दक्षिणकाली मन्दिर पूर्वाधार विकासमा सहयोग ग¥यो । यसबाट देखाउन सकिने काम गर्न पाइएको छ ।’
नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम थालनी भएको छ ।
एमसीसी विरुद्ध विरोध प्रदर्शन
Swoniga Online – स्वनिगः संवाददात | २०७८ फाल्गुण २, सोमबार वर्गीकृत
२२ दलीय गठबन्धनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
उनीहरुले एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन-देश बेच्न पाइदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्ने ठाउँ होइनलगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत सहभागी थिए ।
उपत्यकाको फोहोर विसर्जनमा संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छः मेयर शाक्य
Swoniga Online – स्वनिगः संवाददात | २०७८ फाल्गुण २, सोमबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको छ । पासाङल्यामू राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरवाह भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि प्रमुख शाक्यले संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको हो । ‘स्थानीयको आन्दोलनका कारण फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौँ महानगरपालिका मात्रै होइन सम्पूर्ण उपत्यकाकै फोहोर उठ्न नसक्दा दुर्घन्ध फैलिएर थप समस्या हुनसक्छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘त्यसैले संघीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहोर विसर्जनको अवरोध हटाउन आग्रह गर्दछु ।’
उहाँले ०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा समेत अवरोध हुने गरेको पनि स्मरण गराउनुभयो । ‘यस्तो विषयमा सरकार संवेदनशील हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सबै भन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्वन्धित निकायले पहल गरोस् ।’
उहाँले त्यहाँको बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक–पटक रोकिदा गाली काठमाडौँ महानगरपालिकाले खानुपरेको पनि बताउनुभयो । ‘अहिले पनि कोरोनाको कहर हटेको छैन । यस्तो बेलामा सडकमा फोहोर थुप्रिने हो भने अन्य रोग फैलिने खतरा बढी हुन्छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘त्यसैले फोहोरको राजनीति कसैले नगरौँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।’
शाक्यले बञ्चरे डाँडाको अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा थप समस्या हुने पनि बताउनुभयो । ‘सरकारले समयमा निर्माण सम्पन्न नगर्ने हो भने अहिले फोहोर विसर्जन गरिरहेको स्थान सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाइ भई आउँदो असार–साउनबाट फोहोर विसर्जनमा थप समस्या सिर्जना हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसले काठमाडौँ महानगर र उपत्यका नै दुर्घन्धले भयावह हुने खतरा बढी छ । त्यसैले छिटो भन्दा छिटो बञ्चरे डाँडाको काम सम्पन्न गरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यसो भयो भने मात्रै आउँदो बर्षातमा फोहोर विसर्जनमा सहज हुने उहाँको भनाई छ । ‘फोहोर रोकेर आन्दोलन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि फोहोर–मैला व्यवस्थापनमा सरकारले सबैसँग समन्वय गरेर समाधान खोज्न आवश्यक छ,’ शाक्यले भन्नुभयो, ‘महानगरपालिकाका तर्फबाट गर्ने सबै प्रयासमा महानगरपालिका तयार छ । बाटो छिटो निर्माण होस् भन्ने स्थानीयको माग जायज छ तर फाहोर जस्तो संवेदनशील विषयलाई विसर्जनमै अवरोध गर्नु भन्दा पनि सम्वन्धित निकायलाई बैकल्पिक बाटोबाट दबाब दिनु उपयुक्त हुन्छ भन्ने मेरो उहाँहरुलाई सुझाव छ ।’
काठमाडौँ महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले पनि आइतबारबाट फहोरो विसर्जनका लागि अवरोध भएको जानकारी दिनुभयो । ‘हिजोबाट उपत्यकाको फोहोर विसर्जनको काममा अवरोध भएको छ,’ उहाँले भन्नुभयो, ‘मुड्खु–तीनपिप्ले सडक खण्डमा स्थानीयले सडकमा अवरोध गरेपछि फाहोर विसर्जनमा अवरोध भएको हो ।’
उहाँले सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदारसँग सम्पर्क गर्ने र जतिसक्दो छिटो बाटो निर्माण गर्ने प्रतिवद्धता उहाँहरुबाट प्राप्त भए सडक अवरोध खुल्ने र फोहोर विसर्जनमा सहज हुने भन्दै त्यसका लागि पहल गरिरहेको जानकारी दिनुभयो । ‘सडक निर्माण गर्ने जिम्मेवारी महानगरपालिकाको होइन,’ उहाँले भन्नुभयो, ‘तर फोहोर विसर्जनका लागि सहज वातावरण निर्माणका लागि हामीले सक्दो प्रयास गरिरहेका छौँ । स्थानीयले पनि सडक बन्ने प्रतिवद्धता व्यक्त भए भए अवरोध नगर्ने भन्नुभएको छ ।’
स्वास्थ्यमन्त्री विरोध खतिवडाले सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए
Swoniga Online | २०७८ माघ २७, बिहिबार वर्गीकृत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। सो अवसरमा मन्त्री खतिवडाले जोशीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए।
मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ ।
अब केही दिनमा कमलपोखरीको उद्घाटन गर्छौः मेयर शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ माघ २६, बुधबार वर्गीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने जानकारी दिनुभएको छ । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । ‘काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘ ठेकेदारले १५ दिन भित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यो लगत्तै हामी पोखरीको उद्घाटन गर्छौँ ।’ पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा यो पोखरीलाई विकास हुने उहाँले बताउनुभयो ।
उहाँले पोखरी पूर्ननिमार्णणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिलासुस्ती भएको बताउनुभयो । ‘ठेकेदारको पनि कोभिडको कारण देखाएर ढिला–सुस्ती गर्दा काम समयमा सम्पन्न गर्न केही कठिनाई भयो,’ उहाँले भन्नुभयो, ‘निर्माण कार्यको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप पोखरीको किनारमा ९ वटा चैत्यको प्राणप्रतिस्थापन गर्ने कार्य आज सम्पन्न भयो । पहिलो चरणको काम ठेकेदारले १५ दिन भित्र सम्पन्न गर्छौ भनेका छन् । हामी पहिलो चरणको काम सम्पन्न हुने वित्तिकै कमलपोखरीको उद्घाटन गर्ने छौँ र दास्रो चरणको काम सँगसँगै सुरुवात गछौ ।’
उहाँले चैत्यसँगै यहाँको सास्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरीपरी वृक्षारोपन गर्ने तयारी भएको पनि जनकारी दिनुभयो । ‘यहाँका मठ–मन्दिरको संरक्षण गर्दै यो पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउँने पर्यटकलाई समेत आर्कषित गराउने उदेश्यका साथ पोखरी पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो, ‘छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्छौँ ।’
एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको उहाँको भनाई छ । ‘पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका हाँैँ,’ शाक्यले भन्नुभयो, ‘वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुर्ननिर्माण गर्दै पुर्नजिवन दिने काम गरेका छौँ ।’ उहाँले कमलपोखरीको पुर्ननिर्माणको काम संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएको स्मरण गराउनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहि अनुरुप काम अघि बढेको पनि बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफुलाई आनन्द महशुस भएको भन्दै जति सक्दो छिटो पोखरी उद्घाटनको तयारीमा रहेको जानकारी दिनुभयो । ‘यो ऐतिहासिक कमलपोखरी हो,’ उहाँले भन्नुभयो, ‘यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ । मेरो घर कमलपोखरीबाट नजिकै छ । बिहान–बेलुका स्वच्छ हावा लिदैँ हरियालीको आनन्द लिनका लागि यो उपयुक्त ठाउँ हुने भयो ।’
प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले करीब २३ रोपनी क्षेत्रफलमा पुर्ननिर्माण भैरहेको कमलपोखरी सहरी सौदर्य अभिवृद्धिका लागि उपयुक्त हुने बताउनुभयो । ‘यो पोखरी वास्तुकलालाई आधार मानेर पुर्ननिर्माण भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँको संकृति र देशकै प्रतिनिधिमुलुक पर्वको रुपमा मानिदैँ आएको छठ पर्वका लागि समेत उपयुक्त हुने गरी यो पोखरी पुर्ननिर्माण गरेका हौँ ।’ उहाँले छठ वाहेक पनि हरियालीको मनोरञ्जन दिदैँ घुमिफिर गर्न र आकर्षक सहरी सौदर्यका रुपमा यो पोखरी उपयुक्त हुनेमा आशावादी रहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेते कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिनुभयो ।
करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि पनि बस्नेतले जानकारी दिनुभयो । उहाँले परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरेको पनि जानकारी दिनुभयो । ‘पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ,’ बस्नेतले भन्नुभयो, ‘पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहने छन् ।’ उहाँले पोखरी पुर्ननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिएको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापाले काठमाडौँ महानगरपालिका रहेको यो पोखरी हेर्न, वस्न र केही समय मनोरञ्जनसहित व्यथित गर्न लायक हुने ढाँचासहित पुर्ननिर्माण गरिरहेको जानकारी दिनुभयो । ‘सबै भन्दा ठूलो कुरा त पोखरीलाई पुर्नजिवित गर्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘हिलो, ढल र घाँसले भरियो यो पोखरी अहिले अनुपम सौदर्यले भरिपूर्ण देखिएको छ र पोखरीले आफ्नो स्वरुप प्राप्त गरेको छ ।’ उहाँले काठमाडौँको मौलिक संस्कृतिलाई प्राथमिकतामा राखेर घाट निर्माण गर्ने जस्ता कार्य गरेको पनि जानकारी दिनुभयो ।
२४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु
Swoniga Online | २०७८ माघ १३, बिहिबार वर्गीकृत
पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा ३९३, मोरङमा २८१, कैलालीमा १८४, सुनसरीमा १५८, रुपन्देहीमा १४३, चितवनमा १२७, धनुषामा ११५, झापा र बाँकेमा १०६/१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काभ्रेपलाञ्चोकमा ६७, सप्तरी र क्चनपुरमा ६१/६१ जना, सिरहामा ५८, नुवाकोट र मकवारमा ५४/५४ जना, दाङमा ४१, पाल्पामा ४०, स्याङ्जामा ३९, नवलपरासी पुर्वमा ३५, तनहुँमा २९, गोरखा र बर्दियामा २४/२४ जना तथा गुम्लीमा २१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
Swoniga Online – स्वनिगः संवाददात | २०७८ माघ १३, बिहिबार वर्गीकृत
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।
बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन् ।
‘यो नियमित भेटघाट नै हो, भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ’ उनले भने ।
धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु
Swoniga Online | २०७८ माघ १३, बिहिबार वर्गीकृत
धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान नगरपालिका-१५का ७२ वर्षीय पुरूष र सुनसरीको धरान नगरपालिका-११ का ४५ वर्षीय पुरूष रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८: ४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७:४० बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो
धर्मभक्त माथेमाको स्मृतिमा पुष्पगुच्छा अर्पण
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ माघ १३, बिहिबार वर्गीकृत
आज प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन हो । यो दिनको सम्झना गर्दै उहाँले अमरत्व पाएकै ठाउँमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरिएको छ । सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल तथा वडा सदस्यहरु र सीमित कर्मचारी सहभागी भएर शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कोविड संक्रमण बढिरहेकोले यस बर्ष सहिद सप्ताहका कार्यक्रमहरु सीमित व्यक्तिहरुका विच आयोजना भइरहेका छन् ।
काठमाडौँ महानगरले सहिद माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्दैछ । नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा आश्रम निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन बुझाइसकेको छ ।
यस्तै माथेमा जन्मिएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा महानगरले उहाँको पूर्ण कदको शालिक प्रतिस्थापन गरेको छ ।
पहिलो पटक २०५३ माघ १३ गते सिफलमा माथेमाको शालिक राखिएको थियो । यो शालिक अहिलेको स्थानभन्दा करीब ५ मिटर पूर्वमा अर्धकदको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यसलाई थप सुधार गरेर महानगरले शालिकसहित त्यस क्षेत्रमा पूर्वाधार विकास गरेको हो ।
वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेके बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मनु भएका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई ज्यानदण्ड दिएका थिए ।
धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।
धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षक हुनुहुन्थ्यो । उहाँले प्रजातन्त्रका पक्षमा काम गर्न राजालाई प्रजा परिषद्को सदस्यसमेत बनाउनुभएको थियो।


