add
Display Style: 
Column Style

पत्रकार दबूको साधारण सभामा चार पत्रकारलाई पुरस्कृत गर्ने

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर १६, बिहिबार वर्गीकृत

नेवाः पत्रकार राष्ट्रिय दबूको नवौ साधारण सभामा चार जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।पत्रकार राष्ट्रिय दबूको केन्द्रीय समितिको बैठकले पत्रकारितामा लामो समयदेखि सक्रिय पत्रकारहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

चार जना पत्रकारमा उदयबहादुर अमात्य ९पोखरा०, वरिष्ठ फोटोपत्रकार पदमसागर कक्षपति, विमला शाक्य र प्रशान्त माली रहनुभएको छ ।

अमात्यलाई ज्ञानज्योति लक्ष्मी प्रभा स्मृति पत्रकारिता पुरस्कार, कक्षपतिलाई बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार, शाक्यलाई भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार र मालीलाई ज्ञानदेवी मणीरत्न स्थापित पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।

सो पुरस्कारको नगद राशी क्रमशः २० हजार,१० हजार १२-१२ हजार रुपैयाँ रहेको छ ।ललितपुरको सप्तपुर महाविहार चिकबहीमा शनिबार हुने एक समारोहकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाट सो पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

अनुगमन संयन्त्र र अभिलेखीकरण एकीकृत गर्दै काठमाडौँ महानगरपालिका

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर १६, बिहिबार वर्गीकृत

अनुगमनलाई सरल, सहज र व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकाले अहिलेका अनुगमन गर्ने संयन्त्रलाई एकीकृत गर्ने प्रक्रिया थालेको छ। कामको प्रकृतिअनुसार त्यसलाई हेर्ने अधिकारी र संयन्त्र छुट्टै भएपछि सूचना फरक फरक ठाउँमा छरिएका छन्। यसबाट समग्र स्थिति हेर्न नसकिने भएपछि महानगरले छाता कानुनी प्रबन्धबाट व्यवस्थापन प्रक्रिया थालेको हो। यस क्रममा आज योजना अनुगमन तथा मूल्याङ्कन एकाईले ‘अनुगमन तथा मूल्याङ्कन निर्देशिका तर्जुमा अन्तरक्रिया’ कार्यक्रम आयोजना ग¥यो। अन्तरक्रियामा अनुगमन गर्ने विभागका अधिकारीलाई भेला आफू सम्बद्ध अनुगमन सम्बन्धी प्रस्तुति गर्न लगाइएको थियो। 

प्रस्तुतिमा अनुगमन गर्दाको कानुनी आधार, अनुगमन र सूचना व्यवस्थापन, रिपोर्टिङ् गर्ने पद्धति, अनुगमनको सूचना संकलन गर्दा प्रयोग गरिएको ढाँचा, उजुरी वा गुनासो लिने प्रक्रिया, समुदायबाट प्राप्त प्रतिक्रिया, सम्भावना र चुनौतीका विषय समेटिएका थिए। 

स्थानीय सरकार सञ्चालनका लागि प्राप्त संवैधानिक अधिकार, स्थानीय सरकार सञ्चालन ऐनले पालिकाहरुलाई दिएका जिम्मेवारी, सेवा प्रवाह, नगर सभा र कार्यपालिका बैठकबाट गरिएका निर्णयहरुको कार्यान्वयनको अवस्था जस्ता विषयमा अनुगमन आवश्यक छ । यसैगरी दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजार, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, जनजीवनलाई सहज बनाउन मुद्दा नपरी हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्तिको स्थानान्तरण, हस्तान्तरण, संरक्षण र उपयोग, निर्माण कार्य, आफैँले बनाएको कानुन कार्यान्वयनको अवस्था, ऐनले दिएका जिम्मेवारी उपयोगको अवस्था अनुगमनका क्षेत्रहरु हुन्।   

संघ सरकार, प्रदेश सरकार, अदालत वा पारदर्शिताका लागि स्थापना भएका कार्यालयहरुबाट प्राप्त निर्देशनको पालनाजस्ता कामलाई राजनीतिक र प्रशासनिक संयन्त्रबाट अनुगमन हुने गरेको छ। अन्तरक्रियामा महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठले, महानगरले गर्ने जुनसुकै कामले जनतालाई लाभ पुग्नु पर्ने धारणा राख्नुभयो। ‘नतिजालाई गन्तव्य मानेर काम गर्ने हो भने निर्माण कार्यमा त्रम त्रुटी हुन्छ। सामान्य जनजीवनको अवस्थालाई सहज बनाउन उपभोग्य बस्तुको मूल्य र गुणस्तरमा गम्भीर बन्नुपर्छ।’ खड्गी श्रेष्ठले भन्नुभयो, ‘अनुगमन गरेपछि जनताले तत्काल त्यसबाट केही न केही परिवर्तन महसुस गर्नुपर्छ। यसको अभिलेखीकरणबाट संस्थागत व्यवस्थाबाट त्यसको सुधारको अवस्था जाँच गरिरहनु पर्छ।’

अनुगमनबाट देखिएको अवस्थालाई सफ्टवेयरमार्फत सम्बन्धित अधिकारीकोमा जानकारी दिने, तुलना गर्ने, सुधार हेर्ने प्रणाली आवश्यक भएकोले एकीकृत संयन्त्र आवश्यक भएको हो। अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, ‘जनप्रतिनिधिको नेतृत्वमा हुने अनुगमन र कर्मचारीको तहमा हुने अनुगमन फरक हो। तर अब सबै प्रकारका अनुगमनको अवस्थालाई हेर्न र बुझ्न सकिने खुल्ला तथ्याङ्कका रुपमा अभिलेखीकरण प्रणालीको विकास हुनेछ।’ 

काठमाडौँ महानगरपालिकाले साढे ४ बर्षको अवधिमा ६५ वटा कानुनहरु तर्जुमा गरेको छ। यीमध्ये अनुगमन सम्बन्धी ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७’ जारी भएको छ। स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्ने व्यवस्था गरिएको छ। यसबाट स्वच्छ तथा गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने महानगरको अपेक्षा छ। प्रशासन विभागका प्रमुख महेश काफ्ले भन्नुहुन्छ, ‘आन्तरिक कार्यप्रणालीको अनुगमनबाट जनशक्ति व्यवस्थापनमा चुस्तता आउनेछ।’

अब निर्माण हुने कानुनी व्यवस्थाबाट विगतमा भएका असमन्वय हटेर जाने तथा कामको प्रगति एकीकृत रुपमा अभिलेखीकरण हुनेछ। अन्तरक्रियामा कानुनी प्रबन्धबाट प्राप्त हुने उपलब्धीबा विषयमा निर्देशक बसन्त आचार्य र उपनिर्देशकहरु सुमन अधिकारी र प्रहलाद घिमिरेले प्रस्तुतिमार्फत धारणा राख्नुभएको थियो। 

maha

करदाताले तिरेको रकम करदाताकै समृद्धिमा खर्च गर्ने नीति अनुरुप कोष बनाइएको हो — प्रमुख शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर ८, बुधबार वर्गीकृत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । मंगलबार राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो।

आर्थिक बर्ष ०७५÷०७६ मा होटल व्यवसायीहरुले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको हो । त्यो बर्ष कोविडका कारण होटल व्यवसाय समस्या थियो । यसकारण महानगरले आर्थिक ऐनमार्फत उनीहरुलाई ६५ कर छुट दिएको थियो । बाँकी ३५ प्रतिशत दाखिला भएको करको ६५ प्रतिशत रकम कोषमा जम्मा हुनेछ।

कोष सञ्चालनका लागि काठमाडौँ महानगरका प्रमुखको अध्यक्षतामा महानगरकातर्फबाट ५ जना र होटल संघ, नेपालका ४ जना गरी ९ जनाको निर्देशक समिति हुनेछ । वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ । त्यस्तै राजस्व विभागका प्रमुखको संयोजकत्वमा संघको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ । 

कोषबाट पर्यटन क्षेत्रको प्रवर्धन हुने र व्यवसायीको सामुहिक हित हुने कार्यक्रम सञ्चालन गरिनेछन्।

बैठकका अध्यक्ष शाक्यले भन्नुभयो, ‘करदाताले तिरेको कर, करदाताकै सेवाका लागि खर्च गर्ने नीतिअनुरुप कोष बनाएका हौँ । यसबाट करको दायरामा आउन बाँकी करदाताहरु पनि दायरामा आउनुहुन्छ र साझा हितको काममा लाग्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७ औं महानगर दिवस मुल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरु हुनुहुन्छ।

त्यस्तै पुरस्कार छनौट र अन्य कार्यक्रमका लागि क्षेत्रगत उपसमितिहरु समेत गठन गरिएका छन्।

बैठकले डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र नेपाल, र मस्तिष्क पक्षघात स्वाबलम्बन समूह नेपाल गरी ४ वटा संस्थाहरुलाई आर्थिक अनुदान गर्ने दिने निर्णय स्वीकृत गरेको छ।

पूर्वप्रधानमन्त्री ओलीद्धारा काष्ठमण्डप अवलोकन

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर ४, शनिबार वर्गीकृत

पुननिर्माणको अन्तिम चरणमा पुगेको काष्ठमण्डपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार अवलोकन गरेका छन।

धर्मपत्नी राधिका शाक्यसँग काष्ठमण्डप अवलोकनको लागि पुगेका ओली पुननिर्माणबारे पुननिर्माण समितिका अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य राजेश शाक्यसँग जानकारी लिएका थिए।

पूर्व प्रम ओलीले अवलोकनपछि काष्ठमण्डप पुननिर्माणबारे सम्बोधन समेत गरेका थिए। विसं. २०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डपको तीन वर्षपछि पूर्नरनिर्माण संपन्न भएको हो।

कुनैपनि विदेशी सहयोग र विदेशी सामाग्री प्रयोग नगरिकन स्वदेशकै श्रम, सीप र काठमाडौं महानगरपालिकाको सहयोगवाट महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डप पूर्नरनिर्माण भएर पुरानै शैलीमा ठडिएकोमा अत्यन्त खुशी लागेको वताउंदै पूर्वप्रधानमन्त्री ओलीले काष्ठमण्डप पूर्नरनिर्माणमा अहोरात्र खट्ने काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक राजेश शाक्य लगायत सवैलाई धन्यवाद दिने कार्य पनि भएको छ।

 

कीर्तिपुर नगरपालिकाद्वारा नगरका सहकारी संस्थाहरूलाई तालिम

Swoniga Online – स्वनिगः संवाददात | २०७८ मङ्सिर ४, शनिबार वर्गीकृत

कीर्तिपुर नगरपालिकाले नगरमा सञ्चालित सहकारी संस्थाहरूलाई एकदिने तालिम सञ्चालन गरेको छ।

नगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा लेखा हेर्ने वा कम्प्युटर अपरेटरहरूका लागि सम्पत्ति शुद्धिकरण निवारण र कोपोमिस सम्बन्धी  तालिम आयोजना गरेको हो ।यही कार्तिक २५ गते कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको हलमा भएको तालिम तथा कार्यशाला गोष्ठीको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको थियो।

नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काको पनि उपस्थिति रहेको कार्यक्रममा कीर्तिपुर सहकारी सञ्जालका अध्यक्ष तथा कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिल बहादुर महर्जनलगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा इन्द्रबहादुर कार्कीले प्रशिक्षण दिनुभएको थियो। कीर्तिपुर नगरपालिका सहकारी शाखाका शाखा प्रमुख सुजिन्द्र महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रम बालकृष्ण महर्जनले सञ्चालन गर्नुभएको थियो ।

सरसफाइ विषयमा व्यवसायिक तालिमको पहिलो चरण सम्पन्न

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ कार्तिक ३०, मंगलबार वर्गीकृत

 सरसफाइ र स्वच्छताका लागि काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो चरणको तालिम सम्पन्न भएको छ । महानगरका २० जना अधिकारीहरु विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ् कोर्स — पिएलसि) लिइरहेका थिए । यसपछि थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा सहभागी गराइनेछ । तालिम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयबाट १ जना र एआइटीबाट १ जना प्रतिनिधिसहित ३ जनाको समितिले काम गरिरहेको छ । 

आज एक औपचारिक कार्यक्रम गरेर पहिलो चरणको कार्यक्रम सम्पन्न भएको जानकारी गराइएको हो । त्यस क्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, सहरी सेवा र सुविधा व्यवस्थापनका चुस्त बनाउन शैक्षिक र अनुसन्धानमुलक क्षेत्रसँग नियमित सहकार्य गरिने बताउनुभयो । ‘हेर्दा सामान्य लागे पनि सरसफाइ जटिल र जनताको दैनिकीसँग प्रत्यक्ष जोडिने काम हो । यसलाई राम्रो बनाउन सके सहरको गौरव बढ्छ । हामीले प्राविधिक र प्रशासन क्षेत्रका अधिकारीलाई तालिम दिएका छौँ । उहाँहरुले तालिमबाट सिकेको सीपबाट सहरी सरसफाईमा परिवर्तन हुने अपेक्षा लिएको छु ।’

त्यस क्रममा एआइटीका शैक्षिक मामिला उपाध्यक्ष प्रा. डा. शोभाकर ढकालले, काठमाडौँ महानगरले कर्मचारीलाई व्यवसायिक तालिम उपलब्ध गराउनु नै सहरी व्यवस्थापन सूचकमा राम्रो संकेत भएको बताउनुभयो । विश्वका सहरहरुलाई कार्वनमुक्त बनाउनु अहिलेको आवश्यकता हो । यस प्रकारका तालिमले सहरमा मानव बसोबासलाई सुरक्षित बनाउन मद्दत गर्नेछ । ढकालले तालिमबाट उपलब्धीको अपेक्षा गर्नुभयो । 

काठमाडौँबासीले सरसफाइका क्षेत्रमा परिवर्तनको महसुस गर्नु नै तालिमको उपलब्धीको हुनेछ । कार्यक्रममा विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूलका प्रधानाध्यापक डा. भीमप्रसाद श्रेष्ठले, काठमाडौँ महानगरलाई आवश्यक भएका शैक्षिक तथा अनुसन्धानमुलक क्षेत्रमा सहयोग गर्न आफूहरु तत्पर रहेको उल्लेख गर्नुभयो । 

यसप्रकारको तालिम सञ्चालन गर्न महानगरपालिका र काठमाडौं विश्वविद्यालयबिच ०७७ फागुन १४ गते सहमति पत्रमा हस्ताक्षर भएको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र विश्वविद्यालयकातर्फबाट स्कूल अफ इञ्जिनियरिङ्का डीन डा. डम्बरबहादुर नेपालीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

सम्झौताबमोजिम तालिम फागुन २१ गतेबाट सुरु गर्ने लक्ष्य राखिएको थियो तर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोविडका कारण निर्धारण गरिएको समयमा सुरु हुन सकेन । त्यसपछिका कक्षाहरु केही भौतिक उपस्थितिमा र केही अनलाइनका माध्यमबाट सञ्चालन गरिएका थिए । 

तालिमबाट आफूहरुको ज्ञान अद्यावधिक भएको, काम सम्पादन गर्ने तरिकामा परिवर्तन भएको र सेवा व्यवस्थापनमा आचरणमा सृुधार भएको महसुस भएको छ । तालिमको अनुृभव बाँड्दै उपनिर्देशक सुमन अधिकारीले आफू मानव संशाधन महाशाखामा आएपछि शैक्षिक र अनुसन्धानमुलक क्षेत्रमा जनशक्तिको क्षमता विकास गराउने कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएको बताउनुभयो । पढ्न जानु अघि आफूले जानेको जस्तो लागे पनि पढ्न थालेपछि नयाँ कुरा सिक्न बाँकी नै रहेको महसुस भयो । सहभागी सुधा रिजालले आफ्ना अनुभूति सुनाउनुभएको थियो । 

तालिममा सरसफाइका सैद्धान्तिक र व्यवहारिक ज्ञान, सरसफाइ सम्बन्धी आचरण, व्यवहार परिवर्तन, सरसफाइसँग सम्बन्धित व्यापार, व्यवस्थापन र प्रविधिलगायत विषय समावेश थिए । सहभागीहरुलाई दोस्रो चरणमा प्रयोगात्मक ज्ञान, अवलोकन भ्रमणलगायतका क्रियाकलाप गराइनेछ ।  

तालिमबाहेक महानगरले नीति अध्ययन विश्लेषणका लागि काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टसँग सहकार्य गरेको छ । यसका लागि ०७८ असार १ गते सम्झौता भइसकेको छ।

मध्यपुर थिमी नगरमा शंखधर पार्क उदघाटन

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ कार्तिक ३०, मंगलबार वर्गीकृत

भक्तपुरको मध्यपुर थिमी नगरमा शंखधर पार्क उदघाटन भएको छ । काठमाडौँ महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा थिमीस्थित शंखधर चोकमा पार्क निर्माण भएको हो । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नवनिर्मित पार्कको उदघाटन गर्नुभएको हो । 

उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले उदघाटन समारोहमा बोल्दै उपत्यकाका १२ वटा नगरपालिकालाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन र पार्क निर्माणका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो । ‘ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माण भइरहेका छन् । शंखधर पार्क तिनैमध्येको एउटा हो ।’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले आ. व. ०७७÷०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम यसप्रकार नगर–नगर साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ 

‘संघीय राजधानी अन्य नगरको अभिभावक पनि हो । यसले आफू विकास र समृद्धिको बाटोमा हिड्दा अरु नगरलाई पनि सँगै लिएर जानु पर्छ । हामीले यसै सोचबमोजिम देशभित्रकै नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेर सहयोग गरेका हौँ । काठमाडौँमा पाइने सेवा सुविधा देशका विभिन्न ठाउँमा पु¥याएर काठमाडौँ सँगै छ भन्ने महसुस गराउन सकेकोमा खुशी लागेको छ ।’ शाक्यले विकास निर्माण र व्यवस्थापनका कुरा गर्दै एक्लै होइन सहभागिता र सहकार्यबाट दिगो लक्ष्य हासील गर्न सकिनेमा जोड दिनुभयो ।  

काठमाडौँ महानगरले देशभित्रका नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गर्ने क्रमको पहिलो चरणमा उपत्यका बाहिर ७ प्रदेशमा प्रत्येकमा एउटाका दरले भगिनी सम्बन्ध स्थापना गरिरहेको छ । अहिलेसम्ममा ५ वटा प्रदेशका ५ वटा नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना भइसकेको छ । 

कार्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर थिमी नथरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौँ महानगरपालिकाको सहयोगबाट करीब १९ रोपनी क्षेत्रफलमा पानीको झरना, झुण्डिएको बगैँचा, ढुंगेधारा, डवली, वाकिङ रोड निर्माण गरिएको जानकारी दिनुभयो । यसमा काठमाडौँ महानगरपालिकाको २ करोड र मध्यपुर थिमीको ४ करोड गरी जम्मा ६ करोड रुपैयाँ खर्च भएको प्रमुख श्रेष्ठको भनाइ थियो । 

पार्क निर्माण अझै पनि सम्पन्न भइसकेको छैन । अझै केही लगानी आवश्यक छ । प्रमुख श्रेष्ठले भन्नुभयो, ‘महानगरले थप आर्थिक सहयोग दिने कुरामा हाम्रो अपेक्षा कायम छ ।’ 

कुनै समय फोहोरको पहाडमा नाक थुनेर हिड्नु पर्ने ठाउँ अहिले हेर्न र घुम्न लायक पार्क बन्यो । जनप्रतिनिधिले जनताको सेवा र सहजताका लागि जिम्मेवार भएर काम गर्छन् भन्ने यो एउटा उदाहरण हो । कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, संस्कृति र सम्पदा संरक्षण तथा प्रवर्धनमा काठमाडौँ र मध्यपुर सँगै हिँड्न सक्ने बताउनुभयो । काठमाडौँ मेरा कर्म घर हो । भक्तपुर माइती । म दुवै नगरको उत्तिकै समृद्धि चाहन्छु । उहाँले थप्दै भन्नुभयो ‘काठमाडौँ महानगरको विकासका लागि मेयर र उपमेयरकाविच कुनै पनि विवाद छैन । योजनाका विषयमा मनमा लागेका कुरा हामी कार्यपालिका बैठक र नगर सभामा राख्छौँ ।  हाम्रो कतै विवाद छैन,’ उहाँले भन्नुभयो, ‘केही विवाद भए हामीले आन्तरिक रुपमै हल गर्दै अघि बढेका छौँ ।’यस ठाउँमा पहिले फोहोर फाल्ने गरिएको थियो । नगरको वडा ४ मा पर्ने भिरालो जमिनमा सुन्दर पार्क निर्माण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरे । ‘गरे हुने रहेछ ।’ यो पार्क बनेपछि हामीलाई नगरसँग अझै अपेक्षा बढेको छ ।’ उदघाटन कार्यक्रममा सहभागी स्थानीयको भनाइ थियो।

कार्यक्रममा नेवारी संस्कृति झल्किने विभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो।

छत्रपाटी चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ कार्तिक १३, शनिबार वर्गीकृत

छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप गरेको छ । 

शनिबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सभासद वसन्त मानन्धरले उक्त ल्याबको समुद्घाटन गर्नुभएको छ। बिरामीहरुको उच्चतम सुविधालाई र उचित स्वास्थ उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ ल्याबले सो सुविधा थप गरेको हो ।

यस प्याथोलोजी ल्याबले अब बिरामीहरुको रिपोर्ट मोबाइलमा पाउने सुविधा पनि थप भएको छ । बागमती प्रदेश सभाका सभासद मानन्धरको प्रदेश पूर्वाधार विकास कार्यक्रमको कोषबाट प्राप्त ५० लाख सहयोगबाट अत्याधुनिक ल्याबको सुविधा थप गरेको हो ।

चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताउनुभयो । निम्न आय भएका नागरिकहरुका लागि स्वास्थ्य क्षेत्रमा राज्यबाट सञ्चालित मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम चिकित्सालयबाट पनि सञ्चालन गर्न इच्छुक भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सामाजिक सद्भाव बढाउन वडा ३ बाट सामुहिक टीका र जेष्ठ नागरिक सम्मान आयोजना

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ कार्तिक २, मंगलबार वर्गीकृत

पर्वले बोकेको सामाजिक सद्भावको पक्षलाई पुस्तान्तरण गर्न काठमाडौँ महानगरको वडा ३ ले आज सामुहिक टीका र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । त्यस क्रममा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष दीपक के. सी. ले दोसल्ला ओढाएर र रुद्राक्षको माला लगाइदिएर सम्मान प्रदान गर्नुभएको थियो । त्यसपछि उहाँहरु जेष्ठ नागरिक बसेको ठाउँमा गएर टीका ग्रहण गर्नुभएको थियो ।

त्यस अवसरमा पूर्व उपप्रधानमन्त्री पोखरेलले, दशै पर्वले सबै भाषाभाषी र जातजातिलाई सामाजिक सद्भावको सुत्रमा बाँधेको उल्लेख गर्नुभयो। यो आपसी सम्बन्ध स्थापना गर्ने समय पनि हो। जातजाति र भाषाभाषीकाविच आपसी दुःख सुख र सौहाद्र्रताका लागि दशैँ पर्वले ठूलो भूमिका खेलेको छ । यसको सवल पक्षको प्रयोग गर्ने कामलाई वडाले अघि बढाउनु उदाहरणीय काम हो । पोखरेलको भनाइ थियो।

जेष्ठ नागरिकको सहज जीवनका लागि काठमाडौँ महानगरपालिकाले महानगर विशेष भत्ताको व्यवस्था गरेको छ। कार्यक्रममा महानगरका प्रमुख शाक्यले भन्नुभयो, हरेक वडामा जेष्ठ नागरिक मनोरञ्जन केन्द्र बनाउँदै छौँ । जेष्ठ नागरिकमैत्री पार्क निर्माण गर्दैछौँ । स्वास्थ्य उपचारलाई सहज बनाउने प्रणाली विकास गर्दैछौँ।

दशैको टीकालाई समावेशी बनाउन खोजेका छौँ । यहाँ हामीले जात छुट््याएका छैनौँ । वडामा भएका जुनसुकै जातका भए पनि जेष्ठ नागरिकलाई बोलाएका छौँ । सबैले सबैलाई टीका लगाइदिनुहुन्छ । वडाध्यक्ष के. सी., भन्नुहुन्छ, यसलाई हामीले वडाका क्रियाकलापका रुपमा चलाएका छौँ। हरेक वर्ष दशैँमा वडामा भएका बुबाआमाहरुबाट सामुहिक रुपमा शुभकामना लिने चलन चलाएका छौँ।

त्यस क्रममा ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उहाँहरुले विशिष्ट व्यक्तित्वहरुसँगै आगन्तुकलाई टीका लगाएर आशीर्वाद दिनुभएको थियो।

उहाँहरुलाई खीरसहित भोजनको व्यवस्था गरिएको थियो।

Pages