add
Display Style: 
Column Style

विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजना तयार, कार्ययोजनामा के छ ?

Swoniga Online – Rosni | २०७८ भाद्र १५, मंगलबार वर्गीकृत

काठमाडौं । सरकारले विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजना तयार पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको कार्ययोजना कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको हो ।

मन्त्रालयले तयार पारेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिइएको छ । त्यस्तै संक्रमणको जोखिम नरहेको वा न्यून रहेको ठाउँमा आलोपालो सिफ्ट वा अन्य उपयुक्त मोडालिटीको प्रयोग गर्न सकिने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।

कार्ययोजनामा के छ ?

मन्त्रालयले बनाएको ६ बुँदे कार्ययोजनामा निषेधाज्ञाको प्रकृति हेरेर विद्यालय सञ्चालन गर्न सकिने उल्लेख छ । लकडाउनलाई चार भागमा वर्गीकरण गरिएको छ । जसमा हार्ड लकडाउन (रेड जोन), मिक्स्ड लकडाउन (गाढा पहेँलो जोन), सफ्ट लकडाउन (पहेँलो जोन ) र मिनिमल लकडाउन (ग्रीन जोन) रहेका छन् । वर्गीकरण गरिएका चारखाले लकडाउनका आधारमा कुन ठाउँमा कसरी विद्यालय सञ्चालन गर्ने र परीक्षा कसरी लिने भन्ने उल्लेख गरिएको छ ।

१. विद्यालयको पठनपाठन सञ्चालन र व्यवस्थापन

हार्ड लकडाउन (रेड) क्षेत्रमा

वैकल्पिक सिकाइका माध्यमको प्रयोगका लागि प्रविधिमा विद्यार्थीको पहुँचको आधारमा समूहगत गर्ने :

–सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी ।

–रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी ।

–टेलिभिजनको पहुँचमा भएका विद्यार्थी ।

–कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी ।

–इन्टरनेट तथा सूचना सञ्चारको पहुँचमा भएका विद्यार्थी ।

प्रधानाध्यापकको नेतृत्वमा कम्तीमा एक तिहाइ शिक्षक आलोपालो विद्यालयमा उपस्थित भई स्वास्थ्य मापदण्ड तथा भौतिक दूरी कायम गरी विद्यार्थी समूह अनुसारको सिकाइ सहजीकरण योजना तयार गरेर स्थानीय तहसँगको समन्वयमा विद्यार्थीलाई सहजीकरण गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।

विद्यालयले विद्यार्थीलाई सीयूजीमा आवद्ध गरी नियमित टेलिफोन सम्पर्क र परिवेश अनुसार अनलाइन लर्निङ श्रव्य दृश्य वा श्रव्य सामग्री प्रसारणको माध्यमद्वारा विद्यार्थी सिकाइसम्बन्धी सहजीकरण निर्देशिका कार्यान्वयन गर्ने । उक्त जानकारी स्थानीय तहको शिक्षा हेर्ने निकायलाई दिने कार्ययोजनामा छ ।

मिक्स्ड लकडाउन (गाढा पहेँलो) क्षेत्रमा

वैकल्पिक सिकाइका विभिन्न माध्यमको प्रयोगका लागि प्रविधिमा विद्यार्थीको पहुँचको आधारमा विद्यालयले विद्यार्थीको समूहगत गर्ने :

–सबै किसिमको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी ।

–रेडियो र एफएमको पहुँचमा भएका विद्यार्थी ।

–टेलिभिजनको पहुँचमा भएका विद्यार्थी ।

–कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी ।

–इन्टरनेट तथा सूचना प्रविधिको साधन पहुँच नभएका विद्यार्थी ।

प्रधानाध्यापकको नेतृत्वमा ५० प्रतिशत शिक्षक आलोपालो विद्यालयमा उपस्थित भई स्वास्थ्यको मापदण्ड पालना गरी विद्यार्थी समूह अनुसारको सिकाइ सहजीकरण गरिने छ ।

विद्यार्थीलाई सीयूजीमा आवद्ध गरी नियमित टेलिफोन सम्पर्क र परिवेश अनुसार अनलाइन लर्निङ श्रव्य दृश्य वा श्रव्य सामग्री प्रसारणको उपयुक्त विधिबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र सोको जानकारी स्थानीय तहको शिक्षा हेर्ने निकायलाई दिने ।

विद्यालय, समुदाय सिकाइ केन्द्र वा उपयुक्त स्थानमा विद्यार्थीलाई सानो समूहमा राखेर सिकाइ सामग्री, गृहकार्य वितरण, विद्यार्थीले गरेका गृहकार्य संकलन गर्ने, विद्यार्थीको समस्या समाधान गर्ने र आवश्यक पृष्ठपोषण दिई निरन्तर शिक्षण सिकाइको वस्तुगत मूल्याङ्कन प्रणालीको अवलम्बन गरिने ।

सफ्ट लकडाउन (पहेँलो) क्षेत्रमा

शिक्षकले विद्यालयमा उपस्थित भई थप सिकाइ सामग्री तथा प्रत्येक हप्ताका लागि विद्यार्थी क्रियाकलाप र गृहकार्य तयार गर्ने, विद्यार्थीहरूलाई छुट्टाछुट्टै समयमा विद्यालयमा वा सिकाइ केन्द्रमा भौतिक दूरी कायम हुने साना–साना समूहमा बोलाएर सिकाइ सामग्री, गृहकार्य वितरण गर्ने, विद्यार्थीले गरेको गृहकार्य संकलन गर्ने र आवश्यक पृष्ठपोषण दिई निरन्तर मूल्याङ्कन गर्ने ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पूरा गरी कूल कक्षा संख्या वा विद्यार्थीको संख्याको एक तिहाइ आलोपालो वा सिफ्टमा उपस्थित गराई पठनपाठन गरिनेछ ।

मिनिमल लकडाउन (ग्रीन जोन) क्षेत्रमा

सीसीएमसीको कार्ययोजनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारका मापदण्ड र प्रक्रिया पूरा गरेर पठनपाठन सञ्चालन गर्ने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिइएको छ । विद्यालय बन्द वा पुनः सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तहले उपलब्ध भएसम्म जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक महासंघ, विद्यालय सञ्चालकहरूको छाता संगठनका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, स्वास्थ्यकर्मी, बाल युवा क्लबका प्रतिनिधिसँग छलफल गर्नुपर्ने कार्यढाँचामा उल्लेख गरिएको छ । संक्रमणको जोखिम नरहेको वा न्यून रहेको ठाउँमा आलोपालो सिफ्ट वा अन्य उपयुक्त मोडालिटीको प्रयोग गर्न सकिने छ ।

२. उच्च शिक्षाको सञ्चालन र व्यवस्थापन

हार्ड लकडाउन र मिक्स्ड लकडाउन भएको क्षेत्रमा शिक्षण संस्थाहरूले भर्चुअल माध्यमबाट पठनपाठन गराउने र सम्बन्धित विश्वविद्यालयलाई विद्युतीय माध्यमबाट जानकारी गराउने ।

सफ्ट लकडाउन भएको क्षेत्रमा शिक्षण संस्थाहरूले विद्यार्थीहरूलाई छुट्टाछुट्टै समयमा कार्यक्रमगत सानो समूहमा विभाजन गरेर कूल कक्षा संख्या वा विद्यार्थीको संख्याको एक तिहाइ आलोपालो वा सिफ्टमा उपस्थित गराई पठनपाठन गराउने ।

सम्बन्धित विश्वविद्यालयलाई जानकारी गराउने, मिनिमल लकडाउन भएको क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड तथा भौतिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्ने कार्ययोजनामा छ ।

३. परीक्षा सञ्चालन तथा व्यवस्थापन

हार्ड लकडाउन भएको क्षेत्रमा शिक्षण संस्थाहरूले अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने, मिक्स्ड लकडाउन भएको क्षेत्रमा शिक्षण संस्थाहरूले अनलाइन परीक्षा र परियोजना कार्यहरू मात्र सञ्चालन गर्नुपर्ने भएको छ ।

सफ्ट लकडाउन भएको क्षेत्रमा विद्यालय, कलेज, विश्वविद्यालय बोर्ड तथा परिषद्हरूले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी एक बेञ्चमा एक वा जेड आकारमा विद्यार्थी राखेर होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने ।

मिनिमल लकडाउन भएको क्षेत्रमा विद्यालय, कलेज, विश्वविद्यालय, बोर्ड तथा परिषद्हरूले स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्नुपर्ने कार्ययोजनामा छ ।

४.पाठ्यपुस्तक छपाई ढुवानी तथा बिक्री वितरण

हार्ड लकडाउन, मिक्स्ड लकडाउन र सफ्ट लकडाउन भएको क्षेत्रमा पाठ्यपुस्तक उत्पादन, छपाई, ढुवानी र बिक्री वितरणलाई अत्यावश्यक वस्तुको सूचीमा राखेर आवश्यक कार्य गर्ने योजना मन्त्रालयले बनाएको छ ।

‘स्थानीय तहसँग समन्वय गरी बिक्रेता र विद्यालयले विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने, स्थानीय तहको प्रशासकीय प्रमुखहरूको सहयोग लिने । सामुदायिक विद्यालयहरूले आलोपालो गरी विद्यार्थी बोलाएर निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने, ’ कार्ययोजनामा भनिएको छ ।

मिनिमल लकडाउन भएको क्षेत्रमा स्वास्थ्यको मापदण्ड पालना गरेर पाठ्यपुस्तक उत्पादन, छपाई, ढुवानी र बिक्री वितरण गर्ने । सामुदायिक विद्यालयहरूले आलोपालो गरी विद्यार्थी बोलाएर निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने मन्त्रालयको योजनामा छ ।

५.शिक्षक तालिम र छोटो अवधिका व्यवसायिक तथा सीपमुलक तालिम सञ्चालन

हार्ड लकडाउन र मिक्स्ड लकडाउन भएको क्षेत्रमा भर्चुअल माध्यमबाट गर्ने, सफ्ट लकडाउन र मिनिमल लकडाउन भएको ठाउँमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी सञ्चालन गर्न भनिएको छ ।

६.विद्यालय भवन तथा अन्य पूर्वाधार निर्माण कार्य

हार्ड लकडाउन र मिक्सड लकडाउन भएको ठाउँमा स्वास्थ्य मापदण्ड तथा भौतिक दूरी कायम गरी सीमित जनशक्तिमा भवन निर्माण गर्ने, सफ्ट लकडाउन भएको क्षेत्रमा मापदण्ड पालना गरेर आवश्यक जनशक्तिको उपस्थितिमा निर्माण गर्ने, मिनिमल लकडाउन भएको ठाउँमा आवश्यकता अनुसारको जनशक्तिको उपस्थितिमा निर्माण गर्ने योजनामा उल्लेख गरिएको छ ।

एनसेलले ल्यायाे एसइई दिएका विद्यार्थीहरूका लागि विषेश अफर

Swoniga Online – Rosni | २०७८ भाद्र १५, मंगलबार वर्गीकृत

एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजना मंगलबार (भदौ १५)देखि संचालनमा ल्याएको हो । 

एसइईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डाटा लगायत विभिन्न फाइदा लिन सकिने एनसेलले जनाएको छ । 

पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र १०० वा सो भन्दा बढीको पहिलो रिचार्जमा रु २० मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डाटा पाउने छन् ।
 
त्यसै गरी रु ५० वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधाहरूको फाइदा लिन सकिन्छ । यस्तो रिचार्जमा विद्यार्थीहरूले ३ दिन मान्य हुने ५०० एमबी डाटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसै गरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस प्राप्त हुने छ ।

विद्यार्थीहरूलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी आवश्यक पर्दछ । विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।

भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरूले आफूलाई सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँचवटा एनसेल नम्बरहरू सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सक्छन् । 

 

नम्बरहरू माइफाइभ समूहमा राखेपछि विद्यार्थीहरूले पहिलो ३० दिनसम्म ती नम्बरहरूमा मात्र ५० पैसा प्रति मिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, रु १०० वा सो भन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउनेछ।

प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, छलफल उपलब्धीमुलक रह्यो :मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १४, सोमबार वर्गीकृत

काठमाडौँ । फोहोर व्यवस्थापनका विषयमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरका प्रमुखविच कुराकानी भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितको कुराकानीका क्रममा प्रमुख शाक्यले, सडक विग्रिएर फोहोर उठाउन कठिन भएको कारण बताएपछि प्रधानमन्त्री देउवाले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरेर तत्काल सडकलाई सुचारु हुने बनाउन निर्देशन दिनुभयो । त्यस्तै शान्ति सुरक्षालाई मजवुत बनाउन गृहमन्त्री बालकृष्ण खाँडलाई टेलिफोन गरेर आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभयो ।   

भेटपछि छलफलका विषयमा प्रतिक्रिया दिँदै प्रमुख शाक्यले, फोहोर व्यवस्थापनको तत्काल र दिगो समाधानका विषयमा कुराकानी भएको जानकारी दिनुभयो । ‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छौँ,’ शाक्यले भन्नुभयो, ‘मैले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्रमार्फत फोहोर व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेको थिएँ । त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ । आज भेटघाटको मिति तय भयो । कुराकानी सकारात्मक भएको छ । महानगर सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च तयार छ ।’ 

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो साइटसम्म पुग्ने बाटोसमेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको छ । ‘यस अवस्थामा बञ्चरे डाँडा ल्याण्डफिल साइड र सो साइडसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाई दिनुहुन अनुरोध गर्दछु ।’ पत्रको व्यहोरामा लेखिएको छ । 

सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । जसका कारण अहिले उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो।

एकतर्फी खुल्यो नागढुङ्गा सडक

Swoniga Online – Rosni | २०७८ भाद्र १४, सोमबार वर्गीकृत

काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खस्दा बन्द भएको काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुलेको छ ।

बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएर बन्द भएको यो सडक केहीबेर अघिदेखि एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।

एकतर्फी रुपमा सडक खुले पनि गाडी चापमा चलिरहेका प्रहरीले जनाएको छ । अहिले सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

भदौ २० देखि ‘ड्राइभिङ लाइसेन्स’को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने

Swoniga Online – Rosni | २०७८ भाद्र १३, आइतबार वर्गीकृत

कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ ।

बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षाहरु (रिट्रायल समेत) सञ्चालन हुने जानकारी दिएको हो ।

गत बैशाख १५ गतेदेखि स्थगित भएका परीक्षा यातायात व्यवस्था विभागले स्वीकृत गरेको स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डको पालना गरी लिखित तथा प्रयोगात्मक परीक्षा हुने जनाइएको छ । 

नयाँ आवेदन अनिश्चित

झन्डै ६ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम देखिन्छ। पुराना परीक्षार्थीको संख्या ६ लाखको हाराहारीमा रहेकाले नयाँ कहिलेबाट खुलाउने भन्ने निश्चत नभएको विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् ।

‘हामीले यातायात कार्यालयलाई डबल सिफ्टमा काम गराउन भनेका छौं संख्या घट्दै गएपछि नयाँका लागि अनलाइन फारम खोल्ने तयारी गर्नेछौं’, उनले भने।

त्यस्तै विभागले लिखित परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्दै परीक्षा हलको उपलब्धता अनुसार एक सिफ्टमा सय जना परीक्षार्थीको परीक्षा गराउने व्यवस्था गरेको छ । एउटा कोठामा कम्तीमा २५ जना परीक्षार्थी रहने गरी व्यवस्थापन गर्नुपर्नेछ ।

कसरी हेर्ने म्यासेन्जरबाट डिलिट भएको म्यासेज ?यस्ता छन् तरिका

Swoniga Online – Rosni | २०७८ भाद्र १३, आइतबार वर्गीकृत

कहिलेकाहीँ कुनै कारणले हामीले डिलिट गरिसकेको म्यासेजलाई पुनः रिस्टोर गर्नुपर्ने हुन सक्छ । महत्वपूर्ण कुरा पनि कहिलेकाहीँ झुक्किएर डिलिट भएको हुन सक्छ ।

यस्तो अवस्थामा डिलिट गरिएको म्यासेज पुनः हेर्न पाएमा कुनै कामलाई यसले सजिलो बनाउन सक्छ । डिलिट भएका म्यासेज हेर्न फेसबुकले तरिका दिएको छ । आज हामी तपाईलाई डिलिट भएको म्यासेज पुनः कसरी हेर्ने भनेर जानकारी दिदैछौं । 

मेसेज अर्काइभ गरिएको छ की भनेर जाँच गर्ने 

अर्काइभ गरिएको म्यासेज म्यासेन्जरको इनबक्समा लुकेको हुन्छ, डिलिट भएको हुँदैन् । कहिलेकाँही हामीले मेसेज डिलिट गर्दा डिलिटको सट्टा अर्काइभ थिचेको हुन सक्छौँ ।

च्याटमा औँला स्लाइड गर्दा अप्सनहरु अर्काइभ एण्ड मोर हुने गर्दछ जसमा डिलिटको अप्सन हुन्छ । जस कारणले झुक्किएर अर्काइभ थिचेको खण्डमा पुनः रिस्टोर गर्न सकिन्छ ।

आईओएस मेसेन्जर एपमा आर्काइभ गरिएको हो की भनेर जाँच गर्न सर्वप्रथम आफ्नो आईफोन वा आईप्याडमा मेसेन्जर एप खोल्नुपर्ने हुन्छ । त्यसपछि प्रोफाइल पिक्चरमा थिचेर अर्काइभड च्याटमा थिच्नुपर्छ ।  

यदि च्याट अर्काइभ भएको भएमा यहाँ उपलब्ध हुने गर्दछ । त्यहाँ छ भने दायाँ देखि बायाँ भाग सम्म औँलाले स्लाईड गर्नुपर्छ र अनअर्काइभ सेलेक्ट गर्नुपर्छ जसले च्याट पाउन सकिन्छ ।

त्यस्तै एन्ड्रोइड लागि सर्वप्रथम फोनमा म्यासेन्जर एप खोल्नुपर्छ । त्यसपछि जोसँगको च्याट हो त्यसको नाम स्क्रीन माथिको सर्च ट्याबमा टाइप गर्नुपर्छ । त्यसपछि मेसेनजरले सबै मेसेज देखाउँछ र त्यसमा अर्काइभ मेसेज पनि हुने गर्दछ । 

फेसबुकको वेबसाइटबाट अर्काइभ म्यासेज चेक गर्न 

ब्राउजरबाट फेसबुक चलाइरहेको खण्डमा वेब ब्राउजरमा फेसबुक खोलेर पेजको माथिल्लो भागबाट म्यासेन्जर सेलेक्ट गर्नुपर्छ र त्यसपछि म्यासेन्जर लिस्टको तल्लो पट्टी बाट सी अल इन म्यासेन्जर भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । यति गरेपछि च्याटको छेउमा रहेको तीन ओटा थोप्ला थिच्नुपर्छ ।

फेसबुकबाट डेटा डाउनलोड गरेर 

अर्को उपाय भनेको फेसबुकबाट डेटा डाउनलोड गर्नु हो । फेसबुकले केही समयसम्म सर्भरमै म्यासेज राखिरहेको हुन्छ र पछि मात्रै डिलिट गर्ने गर्दछ । त्यस कारण फेसबुक डेटा डाउनलोड गरेर पनि म्यासेज पुनः पाउन सकिन्छ । 

१) आईओएस म्यासेन्जर एपबाट फेसबुक डेटा डाउनलोड 

फेसबुकलाई तपाईको डेटाको कपी पठाउन भनेर पनि कहिलेकाही डेटा फिर्ता पाउन सकिन्छ । त्यो डेटामा म्यासेज मात्रै पनि पठाउन लगाउन सकिन्छ । 

यसका लागि सर्वप्रथम मेसेन्जर एप खोल्नुपर्छ र स्क्रीनको तल्लो भागमा रहेको आफ्नो ईमेजमा क्लिक गर्नुपर्छ । त्यसपछि स्क्रोल गरेर अकाउन्ट सेटिङ सेलेक्ट गर्नुपर्छ ।

यति गरेपछि फेरि स्क्रोल गरेर फेसबुक इन्फर्मेसन सेक्सनमा गएर डाउनलोड प्रोफाइल इन्फर्मेसन भन्ने अप्सनमा थिच्नुपर्छ । त्यसपछि खुलेको स्क्रीनमा मेसेजेज भन्ने अप्सनको छेउमा टिक लाउनुपर्छ । अरु विधाहरुलाई अनचेक गर्दा पनि हुन्छ । तपाईले चेक गरेको विधाको रिपोर्ट त्यहाँ उपलब्ध भएको हुने गर्दछ ।

अब स्क्रीनको तल सम्म स्क्रोल गरेर क्रियट फाइल भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । यसपछि फेसबुकले रिपोर्ट बनाउने गर्दछ र बनेपछि तपाईलाई सम्पर्क गर्ने गर्दछ । बनाईराख्दा पेन्डिङ भनेर देखाउने गर्दछ । म्यासेन्जर डेटा अरु डेटा भन्दा छिटो पाइन्छ । त्यो रिपोर्टमा हेरेर चाहिएको जानकारी लिन सक्नुहुनेछ । 

२) फेसबुकको वेबसाइटबाट डेटा डाउनलोड

कम्प्यूटरबाट पनि फेसबुक डेटा डाउनलोड गर्न सकिन्छ । यसका लागि वेब ब्राउजरमा फेसबुक खोल्नुपर्छ र फेसबुक पेजको माथिल्लो बायाँ भागमा रहेको डाउन एरोमा थिचेर मेन्युमा सेटिङग एण्ड प्राईभेसी भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ । त्यसपछि खुलेको स्क्रीनमा सेटिङग छानेर प्राईभेसी छान्नुपर्छ ।

प्राईभेसी साइडबारबाट योर फेसबुक इन्फोरमेसन सेलेक्ट गर्नुपर्छ । यसपछि डाउनलोड प्रोफाइल इन्फोरमेसन भन्ने अप्सन छानेर भ्यूमा क्लिक गर्नुपर्छ ।

म्यासेजेजलाई चेक गरेको छैन् भने गर्नुपर्ने हुन्छ । नचाहिने जानकारीलाई चेक गरेको बाट हटाउने र क्रियट फाइल भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ ।

रिपोर्ट पुरा भएपछि उक्त फाइल डाउनलोडका लागि तयार भएको फेसबुकले जानकारी गराउने गर्दछ । त्यसपछि उक्त फाइल डाउनलोड गरेर डिलिट भएको म्यासेज हेर्न सकिन्छ । 

ठगी धन्दा बढ्दै, युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

Swoniga Online – Rosni | २०७८ भाद्र १०, बिहिबार वर्गीकृत

काठमाण्डौ । पछिल्लो समय युरोपेली देश पठाइदिन्छु भन्दै ठगी गर्नेहरु बढेका छन् । राम्रो कमाइ हुने भन्दै रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने र फरार हुने क्रम बढिरहेको छ ।

यसरी नै प्रलोभन देखाएर युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाण्डौको कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा–३ का ३३ वर्षीय पोशबहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ज्याम्दीका ६ जनालाई कामदार भिसामा युरोपेली देश लिथुआनिया पठाइदिने भन्दै ठगी गरेका हुन् । उनले लिथुआनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ मागेका प्रहरीले जनाएको छ ।

सबैबाट पैसा उठाइ सम्पर्क विहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।

बौद्ध भावना केन्द्रमा प्रतिस्थापित वुद्ध प्रतिमा अनावरण

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र ७, सोमबार वर्गीकृत

काठमाडौँको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको छ । केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहनुभएका वुद्धको प्रतिमा अनावरण गरिएको हो । 

मूर्ति अनावरण गरिसकेपछि प्रमुख शाक्यले, बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यकोतर्फबाट लगानी बढाएको बताउनुभयो । ‘बुद्ध नेपालमा जन्मिए तर बिहारहरु सबै अरु देशको सहयोगमा निर्माण भए । बिहार कसले बनायो भनेर सोध्यो भने, कुनै श्रीलङकाले, कुनै थाइल्याण्डले, कुनै जापानले भन्ने उत्तर आउँछ । तर नेपालको नाम कमै मात्र आउँछ । त्यसैले मेरो नेतृत्वमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक निर्णय गरेर नेपाली बज्रयान परम्पराको विहार निर्माणमा सघाउन थालेका हौँ । यस अघि दाताहरुको सहयोगमा मात्र विहार निर्माण हुने गरेका थिए । हामी आए पछि राज्यको उपस्थिति जनाएका हौँ ।’

महानगरले लुम्बिनीमा नेपाली शैलीको विहार बनाउन सघाएको छ । काठमाडौँको वडा २८ मा वुद्ध विहार, वडा ५ मा नरविहारलगायत अन्य विहारमा हाम्रो सहयोग छ । प्रमुख शाक्यको भनाइ थियो । 

आज प्रतिस्थापित प्रतिमा बाबुकाजी शाक्यको परिवारले आफ्ना दिवंगत मातापिता, श्रीमति र छोराका नाममा दान गर्नुभएको हो । 

प्रतिमा प्रतिस्थापनका अवसरमा भिक्षु इन्दक स्थविरले शील प्रदान गर्नुभएको थियो भने भिक्षु संघबाट वुद्धाभिषेक (मंगल पाठ) र बुद्ध पूजा गरिएको थियो । भिक्षु ञाणाबुध स्थविरले उपदेश दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा पुण्यानुमोदन गरिएको थियो ।  

कार्यक्रमपछि प्रमुख शाक्यले धम्महल भवनको अवलोकन गर्नुभएको थियो । यो भवन बनाउन महानगरले करीव ४ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । केन्द्रका अध्यक्ष प्रत्येकरत्न ताम्राकारकाअनुसार भवन निर्माणको काम सन्तोषजनक रुपमा भइरहेको छ । महानगरले यत्तिका सहयोग गरेको छ । अब हाम्रो चाहना भनेको घरजग्गा कर मिनाहा गरिदेओस् भन्ने हो । 

२०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउने, ध्यान शिविर चलाउनेलगायत काम गर्दै आएको छ।

जापानबाट नेपाल आइपुग्यो थप साढे ५ लाख डोज खोप

Swoniga Online – Rosni | २०७८ भाद्र ७, सोमबार वर्गीकृत

काठमाडौं । जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रम अनुसार अनुदान दिएको कोरोनाविरुद्धको खोपको दोस्रो खेप सोमबार काठमाडौं आइपुगेको छ । काठमाडौंस्थित जापानी दूतावासले खोपको दोस्रो खेप सोमबार त्रिभुवन विमानस्थालमा आइपुगेको जानकारी दिएको छ । जापानी दूतावासका अधिकारीहरुले खोप स्थास्थ्य मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् ।

जापानले नेपाललाई अस्ट्राजेनेका खोप अनुदान सहयोग गरेको हो । जापानले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने प्रतिवद्धता जनाएको थियो । सो अनुसार पहिलो खेप यसअघि नै आइसकेको छ। र सो खोप यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा पर्खिरहेका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइएको छ ।

सोमबार आइपुगेको ५ लाख ५९ हजार ३६० डोज खोप पनि कोभिशिल्डको दोस्रो डोज पर्खेकाहरुलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब प्रदेश नम्बर १ र २ मा यो खोप लगाइने छ ।

गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवामा महानगर प्रतिवद्ध — प्रमुख शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र ७, सोमबार वर्गीकृत

काठमाडौँ महानगरको वडा २९ डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा कम्प्युटर ल्यावको उद्घाटन गरिएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, ल्याब शुभारम्भ गर्नुभएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त १९ लाख ५० हजार रुपैयाँमा आन्तरिक स्रोतबाट करीब ९३ हजार रुपैयाँ थप गरेर कम्प्युटर र फर्निचर खरिद गरेर ल्याव स्थापना गरिएको हो । 

ल्याब शुभारम्भ गरिसकेपछि बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाका लागि महानगरले लगानी गरिरहेको उल्लेख गर्नुभयो । 

हामी जनअपेक्षाअनुरुपको सेवा दिन्छौँ । हामीले सञ्चालन गरेका कार्यक्रममा सहभागी बन्नोस् । प्रमुख शाक्यले भन्नुभयो, ‘वाहिरबाट आलोचना गरेर होइन, सेवा लिएपछि त्यहाँ भएका कमजोरीका विषयमा सुझाव दिएर सरकारी सेवाको गुणस्तर सुधार गर्न सकिन्छ । यसमा दोष दिएर होइन, नागरिकले उत्तरदायित्व पूरा गरेर सुधारको प्रयासमा सहभागी हुनुपर्छ ।’ 

उपचारका लागि निजी स्वास्थ्य संस्थामा गएर उपचार महङ्गो भयो भन्नुभन्दा राज्यले सञ्चालन गरेको ठाउँमा सेवा लिएर अपुग भएका कुरालाई थप गर्न सहयोग गर्नुपर्छ । प्रमुख शाक्यले भन्नुभयो, ‘धेरै शुल्क लाग्ने ठाउँमा गएर महङ्गो भयो भनेपछि त्यसको जवाफ दिन कठिन हुन्छ । हामीले हाम्रा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगेका छौँ । विद्यालय स्तरको शिक्षालाई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउँदैछौँ । हामीलाई विश्वाश गर्नोस् । सेवा लिन हाम्रै संयन्त्रमा आउनोस् ।’

विजय स्मारक स्कूलमा विज्ञान प्रयोगशाला र पुस्तकालय बनाउन महानगरले सहयोग गर्ने प्रमुख शाक्यको भनाइ थियो । 

पद्मकन्या विद्याश्रम स्रोत केन्द्रका स्रोत व्यक्ति खगराज जोशीकाअनुसार यस स्रोतकेन्द्रमातहतका ९ वटा विद्यालयमध्ये ८ वटाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको अनुदान प्राप्त गरेका छन् । 

हामीले अहिले ३० वटा कम्प्युटरबाट  ल्याव स्थापना गरेका छौँ । यसमा ६ वटा थप गर्दैछौँ । विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा भन्नुहुन्छ, यसमा इन्टरनेट सुविधा जोडेर सूचना प्रविधि ल्याबका रुपमा विकास गर्ने योजना छ । शर्माकाअनुसार ५ वटादेखि १० वटासम्म कम्प्युटर राखेर विद्युतीय लाइव्रेरी स्थापना गर्दैछौँ । यसपछि सूचना प्रविधिमा हामी एक चरण माथि उक्लिनेछौँ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रकुमार कार्कीले महानगरको अभिभावकत्वबाट विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारमा उपलब्धी हासील हुने अपेक्षा गर्नुभयो । 

यो स्कूल ०१२ सालमा स्थापना भएको हो । कम्प्युटर ल्याब थपिए पछि एघार र बाह्र कक्षाका विद्यार्थीका लागि कम्प्युटर विषय थप्ने विद्यालयको योजना छ ।

Pages