add
Display Style: 
Column Style

विद्यालय शिक्षा प्रवर्तकया रुपं महानगरया मेयर उप मेयर सम्मानित

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र ७, सोमबार वर्गीकृत

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ विद्यालय शिक्षा प्रवर्तकका रुपमा सम्मानित हुनुभएको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘विद्यालय व्यवस्थापन समाज’ ले उहाँहरुलाई सम्मान गरेको हो । 

सम्मान पत्रमा स्थानीय भाषाका रुपमा नेपाल भाषाको अध्यापन अनिवार्य गर्ने प्रवर्तकका रुपमा अभिनन्दन गरिएको उल्लेख छ । यसै गरी महानगरले विद्यालयहरुको भौतिक, वातावरणीय र  शैक्षिक सुधारका लागि गरिएको कामहरु उल्लेख गरिएको छ । 

सम्मान ग्रहण गरिसकेपछि बोल्दै प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि महानगरले लगानी बढाएको उल्लेख गर्नुभयो । यो खर्च होइन, लगानी हो । निश्चित समयपछि यसबाट प्रतिफल आउन थाल्नेछ । प्रमुख शाक्यको भनाइ छ । 

‘अहिले गरिएका कामलाई क्रमशः बढाउँदै लैजानु पर्छ । आशा रोकियो भने विकास पनि रोकिन्छ । अहिले कामको थालनी भएको छ । यसलाई विस्तार गर्दै जानुपर्छ भन्नेमा सबैको सोच हुनुपर्छ ।’ शाक्यले थप्दै भन्नुभयो, ‘अरुको आलोचनामा समय खर्च गर्नुभन्दा आअरुको आलोचनामा समय खर्च गर्नुभन्दा आफ्नो स्तर सुधार गर्नमा समय खर्च गर्नुपर्छ । मलाई आशा छ । काठमाडौँ महानगरका सामुदायिक विद्यालयको स्तर सुधार भएर संस्थागत विद्यालयसँग तुलना गर्ने होइन । त्योभन्दा माथिको अवस्थामा पुग्नेछन् ।’ स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषाको अध्यापन शुरुवातको सन्दर्भमा प्रमुख शाक्यले, यो निर्णय काठमाडौँ महानगरका सबै जनप्रतिनिधिको सामुहिक र सर्वसम्मत निर्णय भएकोले विषयलाई पक्ष वा विपक्षका कोणबाट हेर्न नहुने उल्लेख गर्नुभयो । हामी सहरी विकास र सुविधा वितरणका क्षेत्रमा काम गर्ने सबैको शिर उच्च हुने काम गर्छौँ । कसैले शिर झुकाएर हिँड्नु पर्दैन । प्रमुख शाक्यको भनाइ थियो । 

सम्मानपछिको प्रतिक्रियामा उपप्रमुख खड्गी श्रेष्ठले, काठमाडौँको पहिचान नेपाल भाषासँग जोडिएकाले यसलाई जोगाउन नेपाल भाषी अभिभावकले आफ्ना सन्तानलाई भाषा सिकाउनु पर्ने बताउनुभयो । ‘महानगरले स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषा अध्यापन थालनी गरेको छ । यो रोकिँदैन । वरु विस्तार भएर जान्छ ।’ उहाँको भनाइ थियो ।   

कार्यक्रममा वडा १२ का अध्यक्ष विकास डंगोलले, सामुदायिक विद्यालयहरु प्रतिस्पर्धी हुँदै गएको उल्लेख गर्नुभयो भने सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले, थालिएका कामबाट उचित प्रतिफल लिन शिक्षक प्रोत्साहनका काम गर्दै जानु पर्ने खाँचो देखाउनुभयो । त्यस्तै शिक्षा अधिकृत मोतीराज खनालले, महानगरको नेतृत्वले शैक्षिक सुधारका लागि लिएको नीति कार्यान्वयनका लागि विभागले प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।   

कार्यक्रममा समाजका अध्यक्ष एवं प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश्वर श्रेष्ठ, ज्ञानोदय मा. वि. का प्रधानाध्यापक नातिकाजी महर्जन, विश्व निकेतम मा. वि. का प्रमुख हेरम्बराज कँडेल, भक्त विद्याश्रम मा. वि. का प्रधानाध्यापक सुदर्शन कट्टेल, सरस्वती निकेतन मा. वि. का प्रधानाध्यापक रविना महर्जनसहितका वक्ताले महानगरले विद्यालय शिक्षाका लागि गरेको लगानीबाट आफूहरुले शैक्षिक सुधारका लागि संरक्षण प्रदान महसुस भएको धारणा राख्नुभएको थियो । महानगरले सामुदायियक विद्यालयहरुमा एउटै पहेँलो रङ्ग लगाइदिएको छ । भित्तामा महावाणी लेखन भएको छ । हरित विद्यालय कार्यक्रमले वातावरणीय क्षेत्रको सुधारमा सघाउ पु¥याएृको छ । 

एव वडा, एक नमूना विद्यालय, स्टिम शिक्षाअन्तर्गत आविष्कार क्लवको थालनीले विद्यार्थीहरुमा सकारात्मक परिवर्तन आउन थालेका छन् । प्रधानाध्यापकहरुले भन्नुभयो, ‘महानगरले स्थानीय नेपाल भाषाको पाठ््यक्रम र त्यसका आधारमा पाठ््यपुस्तकको व्यवस्था गरेको छ । यसको अध्यापनका लागि तालिम दिएर प्रशिक्षक उत्पादन गरेको छ । यसप्रकारको स्थानीय भाषाकोमाध्यमबाट काठमाडौँका मूर्त अमूर्त सम्पदा, परम्परा र सांस्कृतिक एवं प्राकृतिक वस्तुस्थितिको ज्ञान पुस्तान्तरण गर्नु अनुकरणीय काम हो । महानगरको नेतृत्वले लिएको लक्ष्यलाई पूरा गर्न हामी प्रतिवद्ध भएर काम गर्नेछौँ ।’

त्यस क्रममा विद्यालयका शिक्षकहरुलाई महानगरको लोगो अङ्कित परिचय पत्र प्रदान गर्नु पर्ने, त्रैमासिक वा चौमासिक तलव निकासालाई मासिक बनाउनु पर्ने, क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायत धारणालाई मागका रुपमा राखिएका थिए।

प्रधान पुरस्कारबाट शान्तराज सम्मानित

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र ६, आइतबार वर्गीकृत

साहित्यकार शान्तराज शाक्यलाई यस वर्षको प्रधान साहित्य पुरस्कार प्रदान गरियो । ललितपुरमा आयोजित एक समारोहकाबीच पुरस्कार दाता कवियत्री प्रधानका छोरा मञ्जुर प्रधानले साहित्यकार शाक्यलाई प्रमाणपत्र र नगद राशी १० हजार रुपैयाँ प्रदान गर्नुभयो ।

गत वर्ष लकडाउन भएको बेलाको आफ्नो फुर्सिदिलो समयलाई साहित्यकार शाक्य भने फेसबुकबाट कथा सुनाउन व्यस्त हुनुहुन्थ्यो ।महिनौं दिन जारी लकडाउनको समयमा मानिसहरु घरमा गुम्सिएर बस्नुपर्दा शाक्यको नियमित कथा वाचनका स्रोता हजारौं पुगिसकेको थियो । हरेक दिन नियमित रुपमा वाचन गर्ने विश्वप्रसिद्ध कथा, नेपाल भाषाको लोककथा, ऐतिहासिक कथा वाचन र शैली धेरै स्रोताहरुका लागि छुटाउन नहुने कार्यक्रम बनिसकेको थियो । 

‘लकडाउन धेरैका लागि समस्या दिने, दुःखदायी बन्यो तर, मेरो लागि भने अवसर बन्यो । फुर्सदको समयलाई फेसबुक माध्यम प्रयोग गरी कथा वाचन गर्दा शुरुमा स्रोताहरुले कसरी लेनान् भन्ने लागेको थियो ।’  साहित्यकार शाक्यले भन्नुभयो ‘ पछि आएका प्रतिक्रियाहरुले मलाई निकै उत्साहित तुल्यायो । एक दिन मात्र कथा वाचन गर्न सकेन भने पनि मानिसहरुले मलाई सञ्चो छैन कि भन्ने खबर पठाउँथ्यो । यसरी पुरस्कार पाउलान् भनेको सोचेको पनि थिएन ।’

कथावाचन मार्फत कथा वाचन गर्ने र श्रवणको परम्परालाई पुनःजीवन दिइएको, विभिन्न कथाकारका पुराना कृतिलाई आधुनिक पुस्तामाझ चिनाउन, नेपाल र नेपाली भाषाको कथाको माध्यमबाट त्यसको नैतिक, सांस्कृतिक सन्देशलाई प्रचार गर्नमा योगदान पु¥याएकोलाई कदर गरी सो पुरस्कार दिइएको हो । 

सो अवसरमा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न असंबरले कोरोना संक्रमणको बेला मानिसहरु अत्यधिक चिन्तित, डरले घरमै सीमित भइरहनुपर्दा शाक्यले फेसबुकको माध्यमबाट साहित्यको श्रीवृद्धिको लागि पु¥याउनुभएको योगदानको सराहना गर्नुभयो ।

समारोहमा नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले साहित्यकार शान्तराज शाक्यको कथा वाचन, भाव सम्प्रेषणको कला र नैतिक, सांस्कृतिक चेत युक्त कथा कोरोनाकालमा गुम्सिएर बसिरहेको मानिसहरुको लागि आनन्दले श्वास फेर्ने ‘ भेन्टिलेटर’ समान भएको धारणा राख्नुभयो ।पुरस्कारको इभेन्ट म्यानेजर सुरेन्द्रभक्त श्रेष्ठले भाषा, साहित्यमा योगदान पु¥याउनेलाई प्रेरित गरिरहन पुरस्कारको महत्वको विषयमा आफ्नो धारणा राख्नुभयो । स्वर्गीय कवियत्री मन्दिरा प्रधानको नाउँमा ४९ वर्ष अघि स्थापित सो पुरस्कार नेपाल भाषाको साहित्यमा योगदान पु¥याउने साहित्यकारलाई दिँदै आएको छ।

मुख्यमन्त्री शाक्यको अभिनन्दन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबु येँ जिल्ला

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र ६, आइतबार वर्गीकृत

नेवाः पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सफल कार्यकालको शुभकामना दिएको छ। आज राजधानीमा एक कार्यक्रमबिच पहिलो महिला मुख्यमन्त्री शाक्यलाई दबुको तर्फबाट बधाई सहित शुभकामना व्यक्त गरिएको हो।

त्यसक्रममा दबु येँ जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंले मुख्यमन्त्री शाक्यलाई अभिन्नदन पत्र समेत हस्तान्तरण गरेका थिए। 

दबुले मुख्यमन्त्री शाक्यलाई बागमती प्रदेशमा नेवाः हरुको जनसंख्या धेरै रहेको र संचार क्षेत्रमा पनि उत्तिकै नेवाः पत्रकारहरु सक्रिय रहेको जानकारी दिएको थियो। दबुले थप नेवाः पत्रकारको विकासका लागि प्रदेशस्तीय नेवाः प्रेस काउन्सिल गठन गर्नुपर्ने माग समेत राख्नेको छ। उक्त काउन्सिलबाट नेवाः पत्रकारहरुको सिप विकास, तालिमका साथै नेवाः मिडियाको अनुगमन सहज हुने सुझाप दबु येँ जिल्लाले मुख्यमन्त्री शाक्यलाई दिएको छ। 

दबु येँ जिल्लाले बागमती प्रदेशमा नेपाली भाषासँगै नेपाल भाषालाई पनि सम्पर्क भाषाका रुपमा मान्यता दिन समेत माग राखेको छ। 

यस्तै, दबु येँ जिल्लाले नेपालभाषा सहित अन्य आदिवासी जनजातीको भाषाबाट संचालित मिडियाहरुलाई प्रदेश सरकारले अनुदान दिएर स्थानीय भाषाको माध्यमबाट हुने संचारलाई थप विस्तार गर्नुपर्ने सुझाव दिएको छ। नेवाः सम्पदा र सभ्यताको जगेर्णाका लागि परेका नेवा पत्रकारहरुको सिप र दक्षता विकासका लागि अक्षकोष स्थापनाका लागि पनि दबुले जोड दिएको छ।  

काठमाडौं महानगरपालिमा नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू भइसकेको भन्दै दबुले प्रदेशका अन्य जिल्लामा पनि त्यहाँको स्थानीय भाषामा पठनपाठन हुने वातावरण सिर्जना गर्नुपर्ने सुझाव समेत दिएको छ। यस्तै, स्वनिगमा कक्षा ९ देखि १२ सम्म नेपाल भाषा पनि पठनपाठन हुने व्यवस्था गर्न माग गरेको छ। 

दबुको पत्र बुझ्दै मुख्यमन्त्री शाक्यले संचार क्षेत्रको स्थान महत्वपूर्ण हुने भन्दै मातृभाषाको पत्रकारिता विकासका लागि पनि प्रदेश सरकारले जोड दिने बताइन्। दबुले राखेका माग र सुझावबारे अध्ययन गरेर निर्णय लिने शाक्यले बताइन्।

ज्यापू समाजको भवन देखेर प्रधानमन्त्री दंड्ड

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ भाद्र ६, आइतबार वर्गीकृत

ललितपुरको बागडोरमा निर्मित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको निर्माण सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिकहरुलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले बनाइएको सो भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गर्नुभएको छ । 

सो अवसरमा प्रधानमन्त्री देउवाले वृद्धाश्रमको लागि मौलिक कलासंस्कृति झल्किने भवन तयार भएकोमा खुशी प्रकट गर्दै सो भवन सञ्चालनको लागि सरकारले यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिकहरुको लागि भवन बनाउनु भन्दा सञ्चालन गर्नु कठिनाई रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो ‘ यस कार्यमा सरकारले केही न केही सहयोग गर्दछु ।’

प्रधानमन्त्री देउवाले नेपालको कला संस्कृति, सम्पदाको संरक्षणमा नेवाः समुदायको महत्वपूर्ण भूमिका रहेको पनि सराहना व्यक्त गर्दे ज्येष्ठ नागरिक भवन सोही कला र संस्कृतिको उपज रहेको धारणा राख्नुभयो ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन नेवाः समुदायको कला, संस्कृति, भाषा विशिष्ट योगदान रहेको बताउँदै त्यसको संरक्षणमा सरकार गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले धन, सम्पति, जग्गा जमिनको लागि मारकाट हुने गरेको सन्दर्भमा स्वर्गीय महर्जनले सामाजिक हितको लागि जग्गा दान गर्नुको नैतिक सन्देश महत्वपूर्ण रहेको धारणा राख्नुभयो । 

समारोहमा वाग्मती प्रदेशका मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले वृद्धाश्रम भवन सबैको त्याग, तपस्या र मिहिनतले बनेको उल्लेख गर्दै कलात्मक शैलीमा बनाइएको सो भवन वाग्मती प्रदेशकै ठूलो सम्पति रहेको बताउनुभयो । 

सो अवसरमा नेपालको लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो भवन नेपाल र भारत मिलेर सामाजिक हितको लागि गरेको एउटा महत्वपूर्ण काम रहेको बताउनुभयो । समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भवन सञ्चालनको लागि महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार सो भवन १४ करोड रुपैयाँको लागतमा तयार भएको हो । १ रोपनी १३ आना क्षेत्रफलमा बनाइएको भवन तयार गर्न करिब १० वर्ष लागेको थियो । स्वर्गीय अष्टमान महर्जनले भवन बनाउन जग्गा दान गर्नुभएको थियो । पाँच तल्ले सो भवन मौलिक कलात्मक शैलीमा बनाइएको छ । स्वर्गीय अष्टमान महर्जनले भवन बनाउनको लागि जग्गा दान दिनुभएको थियो । 

समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनका अनुसार भवन बनाउन भारत सरकारले पाँच करोड रुपैयाँ, वाग्मती प्रदेश सरकारले २ करोड ९१ लख ६१ हजार ३ सय ५५ रुपैयाँ, ललितपुर महानगरपालिकाले ३ करोड १४ लाख ८२ हजार ७ सय रुपैयाँ, संविधानसभा सदस्यको सांसद् विकास कोषबाट १८ लाख ३६ हजार ९ सय १८ रुपैयाँ, पम्फा भुसालको सांसद् विकास कोषबाट १४ लाख ६३ हजार ८ सय ३५ रुपैयाँ,रामकाजी अवालले ८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, किसलाल महर्जनले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको थियो।

आधाभन्दा बढीले पाएनन् कोरोना बीमा रकम

Swoniga Online – Rosni | २०७८ भाद्र ४, शुक्रबार वर्गीकृत

संकटका बेला गरिएको कोरोना बीमाको दाबी भुक्तानी नपाएर हजारौंँ बिमित निराश बनेका छन् । सरकारले एक वर्षदेखिको बीमाको दाबी भुक्तानी गर्न नसक्दा बिमितहरू अन्योलमा परेका हुन् ।

लामो समयदेखि अड्किएको दाबी भुक्तानीका फाइलहरू खुल्न अझै कति समय लाग्ने हो टुंगो छैन । सरकार, बीमा कम्पनी र बीमा समितिको चेपुवामा यो भुक्तानी परेको छ ।

आधाभन्दा बढी भुक्तानी गर्न बाँकी 

कोराना बीमाका लागि हालसम्म १ लाख ३७ हजार ७५४ जनाको भुक्तानी दाबी परेको छ । बीमा समितिका अनुसार करिब १३ अर्ब बराबरको दाबी भुक्तानीको दायित्व छ ।  तर, अहिलेसम्म करिब ३५ हजार फाइलको मात्रै टुंगो लागेको बीमा समितिले जनाएको छ ।

हालसम्म अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनी मिलेर ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरिएको बीमा समितिले जनाएको छ । कोरोना बीमा गर्दाको शुल्कबापत कम्पनीहरूले १ अर्ब ५ करोड ५ लाख रुपैयाँ उठाएका थिए ।

कोरोना मापदण्डअनुसार एक अर्ब बीमा समितिले, एक अर्ब बीमा कम्पनीले, ५० करोड महाविपत्ति कोष र पुनर्बीमा कम्पनीबाट भुक्तानी दिने उल्लेख छ ।  ३ अर्ब ५० करोडभन्दा माथि नेपाल सरकारले व्यहोर्ने मापदण्डमा स्पष्ट पारिएकोे छ । अहिले सरकारले कोरोना बीमा वापतको व्यहोर्नुपर्ने दायित्व करिब १० अर्ब पुगेको छ । 

कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, ५ जनाभन्दा बढी घाइते

Swoniga Online – Rosni | २०७८ भाद्र ४, शुक्रबार वर्गीकृत

कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् ।
 
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए । अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको छ । 

जसले काठमाडौंको भाषा संस्कृतिको संरक्षण गर्दैन उसले चुनाव जित्दैन, मेयर विद्यासुन्दर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र ४, शुक्रबार वर्गीकृत

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण नगर्ने मान्छेहरू अबको चुनावमा जित्न नसक्ने बताउनुभएको छ । काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्न सके मात्रै यो नगरको अस्तित्व कायम रहने विचार पनि उहाँले प्रकट गर्नुभएको छ । 

नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मेयर शाक्यले काठमाडौं महानगरपालिकामा आफूहरू निर्वाचित भएर आइसके पछि यहाँको संस्कृति, सम्पदा र भाषा संरक्षणमा धेरै लगानी गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुमारी संस्कृति अहिले विश्वमै परिचित नेपालको संस्कृति हो त्यसैले यो संस्कृतिमा कुनै पनि प्रकारको समस्या नआओस् भनेर हामी वर्तमान जीवित देवी कुमारीका लागि मासिक ५० हजार, जीवित देवता गणेश र भैरवका लागि मासिक ३०–३० हजार विशेष भत्ताको व्यवस्था गरेका छौँ । त्यस्तै भूतपूर्व कुमारीका लागि मासिक १५ हजार र गणेश तथा भैवरका लागि मासिक १२–१२ हजारको व्यवस्था गरेका छौँ । कुमारीको हेरचाह गर्ने चिताइदार परिवारका लागि पनि मासिक ५० हजार दिने गरेका छौँ ।’

काठमाडौं महानगरपालिकाले हालै कक्षा १ देखि ८ सम्म शुरु गरेको नेपालभाषाको पाठ्यक्रम येँ देय् म्हसीके आफूले शुरु मात्र गरेको र अब पछि आउने जनप्रतिनिधिहरूले त्यसलाई अझ थप्दै लाने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘जसले त्यसो गर्छ, अबको चुनावमा त्यही मात्र जित्छ ।’

सोही कार्यक्रममा बोल्नुहुँदै काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौंको संस्कृति भनेकै अहिले विश्वमा नेपालको संस्कृति भनेर परिचित रहेको र त्यो संस्कृतिलाई काठमाडौंका नेवार समुदायले बचाउँदै आएको कारणले नेवार समुदायको भाषा, संस्कार, संस्कृतिको संरक्षणलाई काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले अहिले त्रिविविले नेपालको पहिचान स्थापित गर्ने भाषा, कला, संस्कृति, सम्पदा सम्बन्धी विषयको अध्ययनलाई पनि प्राथमिकतामा राखेको बताउँनुहुँदै यो क्षेत्रमा काठमाडौं महानगरपालिकाले गर्दै आइरहेको कार्य अत्यन्त स¥हाहनीय छ भन्नुभयो । 

नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण कुँवरले पनि बोल्नुभएको थियो । 

उक्त कार्यक्रममा केन्द्रीय विभागले नेपालभाषामा स्नातकोत्तर विषयको पठनपाठन शुरु गरेको ४१ वर्ष पुगेको उपलक्ष्यमा नेपालभाषाका महाकवि सिद्धिादास महाजुका सम्पूर्ण कृतिहरूको संकलन ‘सिद्धिमाः’ लगायत पुस्तकारका रुपमा आएका विभिन्न शोधग्रन्थहरूको पनि सामुहिक विमोचन गरिएको थियो । सोही कार्यक्रममा नेपालभाषा केन्द्रीय विभागमा संग्रहित करिब ३० हजार पुस्तकलाई डिजटाइज गरी ई–पुस्तकालयमा रुपान्तरण गर्न काठमाडौं महानगरपालिकाले रु. ५० लाख बजेट विनियोजन गरिएको जानकारी पनि दिइएको थियो ।

कुलमानविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ भदौ ८ गते

Swoniga Online – Rosni | २०७८ भाद्र ३, बिहिबार वर्गीकृत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सरेको छ ।

बुधबार न्यायाधीश कुमार रेग्मीको इजलासमा रहने गरी सुनुवाइ मिति राखिएको थियो । तर, बुधबार उक्त मुद्दा हेर्न नभ्याएकाले आगामी भदौ ८ गते मंगलबारलाई अर्को पेशी तोकिएको हो ।

शाक्यले आफूलाई गैर कानूनी रुपमा कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।

आफूलाई राजीनामा गर्न दवाव दिएको तर आफूले राजीनामा नदिएको भन्दै शाक्यले आफूलाई जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने सरकारको निर्णय गलत भएको दावी गरेका छन् । 

वडा १२ कार्यालय भवनको शिलान्यास

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र २, बुधबार वर्गीकृत

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उहाँले आज सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो । 

‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार गरेका थियौँ । सुन्दर बगैँचा र खुल्ला स्थानसहितको वडा भवन बनाउने प्रस्तावित ठाउँमा केही विवाद देखियो । विवाद समाधानको समय कुर्दा समय लाग्यो । नत्र अहिलेसम्ममा वडा भवन निर्माण भएर प्रयोगमा आइसक्ने थियो ।’ शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भन्नुभयो, ‘हामी विवादमा पर्न चाहेनौँ । त्यसैले पुरानै वडा भएको ठाउँमा नयाँ भवन बनाउने निर्णयमा पुग्यौँ ।’

मेरो नेतृत्वमा महानगरमा जनप्रतिनिधि आइसकेपछिको पहिलो कार्यपालिका बैठकमा हामीले महानगरको व्यवस्थित सेवाका लागि केन्द्रीय र वडा भवन निर्माण गर्ने सर्वसम्मत निर्णय गरेका थियौँ । त्यही निर्णय कार्यान्वयनका क्रममा आज वडा १२ को कार्यालय भवन शिलान्यास गरिएको हो । प्रमुख शाक्यको भनाइ थियो । 

सेवा प्रवाहका लागि यो महत्वपूर्ण काम भएको छ । भवन निर्माणका विषयमा कुरा गर्दै वडाध्यक्ष विकास डंगोलले भन्नुभयो, ‘भ्याटसहित वडाको लागत ४ करोड २५ लाख ३२ हजार ४४८ लागत अनुमान गरिएको थियो । निर्माण कार्य खरिद प्रक्रियामा भ्याटसहित ३ करोड २० लाख ५१ ह्जार ६७० रुपैयाँ कवोल गर्ने निर्माण पक्षले यसको जिम्मेवारी पाएको छ ।’ 

भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवन जमिनतलासहित ६ तले हुनेछ । ०—४—१—२ मा निर्माण हुने भवनको भूमिगत तलामा पार्किङ् हुनेछ । अपाङ्गमैत्री भवनमा ६ जना अट्ने लिफ्ट पनि जडान हुनेछ । पाँचौँ तलामा ६० जना अट्ने सभा कक्ष हुनेछ । भवनको निर्माण अवधि १५ महिना अर्थात् ०७९ असार १५ गतेसम्म राखिएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थपिए ३४०३ जना कोरोना संक्रमित, ४२ को मृत्यु

Swoniga Online – Rosni | २०७८ भाद्र २, बुधबार वर्गीकृत

नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले सोही अवधिमा २१ सय ४ जना संक्रमणमुक्त हुनुका साथै ४२ जनको मृत्यु भएको बताउनुभयो । आज थपिएकामध्ये काठमाडौं उपत्यकामा ९९३ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ७११,भक्तपुरमा १२२ र ललितपुरमा १६० जनालाई संक्रमण पुष्टि भएको छ । 

अहिले ४० हजार ३३८ जना सक्रिय संक्रमित छन् जसमध्ये ७७० जना आइसियु र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । 

उहाँले अझै पनि नेपालमा संक्रमणदर २० प्रतिशतभन्दा माथिनै रहेको बताउदै सामान्य लक्षण देखिनासाथ परीक्षण् गर्न अपिल गर्नुभयो । 
अहिलेसम्म नेपालमा ८ लाख १७ हजार ५३० जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ९२ प्रतिशत अर्थात् ६ लाख ८९ हजार १७३ जना निको भएका छन् भने १० हजार ३९६ जनाको मृत्यु भएको छ ।

Pages