add
Display Style: 
Column Style

काठमाडौँ देशको अनुहार हो, यसको व्यवस्थापनमा हामी सहयोग गर्न चाहन्छौँ — यूसीएलजी

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ भाद्र २७, आइतबार वर्गीकृत

काठमाडौँ । स्थानीय सरकार तथा सहरहरुको अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिकका अधिकारीहरुले काठमाडौँ महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् । शनिवार सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती जन्द्रादेवी, काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभागका प्रमुख महेश काफ्ले, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोलासहित अधिकारीविच अन्तरदेशीय सहकार्यमा काठमाडौँ महानगरका विषयमा कुराकानी भएको थियो । 

त्यस क्रममा सञ्जालका अध्यक्ष व्याञ्जुले, काठमाडौँ देशको मुहार भएकोले यसलाई थप उज्यालो बनाउन सहकार्य उपयुक्त हुने बताउनुभयो । काठमाडौँमा गरिएका अभ्यासले अन्य सरकारमा पनि लाभ पुग्ने भएकोले काठमाडौँसँग सहकार्य गर्ने हाम्रो प्रस्ताव हो । व्याञ्जुको भनाइ थियो ।

त्यस क्रममा महानगरकी उपप्रमुख खड्गी श्रेष्ठले सञ्जालले सहरी वातावरण सुधारका लागि मानव मलमुत्र व्यवस्थापनमा गरेको कामबाट आफू प्रभावित भएको बताउँदै अन्य सहरको अनुभव काठमाडौँले सिक्न सक्ने बताउनुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, अन्तरनगर सिकाइबाट नागरिक तहमा लाभ प्रदान गर्न महानगरले राष्ट्रिय अन्तरराष्ट्रिय नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको उल्लेख गर्नुभयो । 

सहरी विकास र व्यवस्थापनका कोणबाट काठमाडौँसँग सम्भावना र क्षमता दुवै छन् । यो क्षमतालाई पूरा उपयोग गर्न काठमाडौँको सक्रियता भए हामी सहकार्य गर्न तयार छौँ । छलफलमा सञ्जालकी महासचिव डा. बर्नाडियाले धारणा राख्नुभएको थियो ।    

सञ्जालको आठौँ सम्मेलन भदौ २२ गतेदेखि २४ गतेसम्म काठमाडौँमा सञ्चालन भएको थियो । सम्मेलनमा स्थानीय सरकार प्रमुखहरुले कोविड व्यवस्थापनमा आफूले गरेको प्रयास र अब चुनौतीका विषयमा प्रस्तुति गर्नुभएको थियो । 

सञ्जालमा विश्वभरका २ लाख ४० हजार बढी सहर र एशिया प्यासिफिक क्षेत्रबाट ७ हजार बढी सहरहरु सदस्य छन् । यसमा काठमाडौँ महानगरसहित नेपालका १० वटा पालिका सदस्य छन्।

नेपालमा हालसम्म कोरोनाविरुद्धको खोप कतिले लगाए

Swoniga Online – Rosni | २०७८ भाद्र २७, आइतबार वर्गीकृत

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाविरुद्धको खोप ६८ हजार ६ सय ३० जनाले लगाएका छन् । स्वास्थ्य मन्त्रालयको अनुसार जापानमा तयार भएको एष्ट्रेजेनिका खोपको पहिलो मात्रा हालसम्म २३ लाख ६० हजार ८ सय ४७ जनाले लगाएका छन् भने दोस्रो खोपको मात्रा १३ लाख ७८ हजार ९ सय १५ जनाले लगाएका छन् । शनिबार मात्र ४८ हजार बढीले खोप लगाएका छन् ।

त्यस्तै, चीनमा तयार भएको भेरोसेल खोपको पहिलो मात्रा नेपालमा ३४ लाख ८ हजार ८१ जनाले लगाएका छन् भने खोपको दोस्रो मात्रा लगाउनेको संख्या २३ लाख ९९ हजार ३ सय ९० रहेको छ । शनिबार मात्र ५४ हजार बढीले भेरोसेल खोप लगाएका छन् ।मन्त्रालयको अनुसार कोरोनाविरुद्धको जोन्सन् एण्ड जोन्सन् खोप हालसम्म १३ लाख ८२ हजार २ सय १९ जनाले लगाएका छन्।

मन्त्रालयको अनुसार १ सय २२ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ भने ४ सय ५६ जनाको सघन उपचार कक्ष ९आइसीयु०मा उपचार भैरहेको छ । नेपालमा हालसम्म ९५ दशमलव ७ प्रतिशत संक्रमित निको भएका छनु भने ३ दशमलव ५२ प्रतिशत संक्रिय संक्रमितको संख्या र १ दशमलव ४१ प्रतिशत मृत्यु हुनेको संख्या रहेको छ । कुल संक्रमित मध्ये ४० दशमलव ४८ प्रतिशत महिला र ५९ दशमलव ५२ प्रतिशत पुरुष रहेका छन् ।

सम्पदा पुनर्निर्माणको अभियानमा छौँः मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र २६, शनिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्र–पर्व मनाउन अपिल गर्नुभएको छ । विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तरराष्ट्रिय स्तरमा पनि छ । इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्दछु,’ शाक्यले भन्नुभयो, ‘इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३ सय जनााई खोपको व्यवस्था गरेका छौँ । आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार छौँ ।’ 

शाक्यले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो । ‘कोभिडपछि हामी जात्रा सार्वजनिक रुपमा मनाउन गैरहेका छौँ । जात्रालाई भव्य रुपमा मनाउनुपर्छ,’ शाक्यले भन्नुभयो,  ‘यस्तो अवस्थामा अग्रपङ्तिमा रहेर जात्रा चलाउँदै आएका गुठियारलाई सचेत भएर स्वास्थ्य मापदण्डको पालना गरी आफू–आफू सचेत भएर मनाउन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘कोभिडको त्रास अझै समाप्त भै सकेको छैन । त्यसैले जात्रामा अग्रपङ्त्तिमा खट्नै पर्नेले मात्रै सहभागी भैदिनु होला । अरुले टाढै बसेर व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर इन्द्रजात्रा मनाउनु होला । इन्द्रजात्रा हामीले व्यवस्थित गर्न सकेको अवस्थामा अन्य जात्रा पनि बनाउन थप सहज हुन्छ ।’ 

त्यसैगरी आजै २ सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गर्दै प्रमुख शाक्यले सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानमा काठमाडौँ महानगरपालिका निरन्तर लागि रहेको बताउनुभयो । प्रमुख शाक्यको गृह वडा–२१ को सवल बहालमा रहेको उक्त मन्दिरको उद्घाटनपछि सम्वोधन गर्दै शाक्यले भन्नुभयो– ‘कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनको अभियानमा हामी योजना बनाएर लागेका छौँ ।’ 

उहाँले २०७२ सालको भूकम्पमा भत्केका काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहाललगायतका सम्पदा पुनर्निर्माणको अभियानमा काठमाडौं महानगरपालिकाका लागेको स्मरण गराउनुभयो । 

उहाँले नासः मन्दिर यो क्षेत्रको ऐतिहासिक सम्पदा रहेको पनि बताउनुभयो । ‘यो तल्लो भेगलाई तल नै परेको ठाउँ भनिन्थ्यो, तर अहिले यो ठाउँले विकास गरी माथि आइसकेको छ,’ उहाँले भन्नुभयो, ‘पहिले पहिले यो सबल बहालमा आउने मानिसहरू नाक थुनेर आउने गर्थे, अहिले आफूलाई सबल बहालको नागरिक भन्दा गर्व गर्न सक्ने अवस्था आएको छ । यसको गौरव अझ बढाउन हामीले आर्थिक समृद्धि  गर्नुपर्दछ ।’

शाक्यले आर्थिक समृद्धि भयो रैथाने थातथलोको घर बेचेर अन्त जानु पर्ने अवस्था नआउने बताउनुभयो । ‘यसको लागि सबैभन्दा पहिले घरको दाजुभाइहरू मिल्नु, त्यसपछि परिवार मिल्नु प¥यो,’ उहाँले भन्नुभयो, ‘त्यो भयो भने टोल र समाज पनि मिल्न सकिन्छ ।’ शाक्यले आफु यहि क्षेत्रको जनप्रतिनिधि भएकाले आफ्नो तहबाट विकासका लागि कुनै कमी हुन नदिने भन्दै प्रदेशमा यहि क्षेत्रका माननीय डाक्टर अजयक्रान्ति शाक्य मन्त्री हुनु भएको स्मरण गराउनुभयो । ‘प्रदेशबाट आवश्यक काम प्रदेश मन्त्रीले गर्नुहुन्छ,’ कार्यक्रममा उपस्थित पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठतिर संकेत गर्दै भन्नुभयो, ‘केन्द्रबाट पर्ने सहयोग उहाँबाट हुन्छ ।’ 

 कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहनु भएका कृष्णगोपाल श्रेष्ठ २०७२ सालको भूकम्पमा भत्केको काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहालहरू जम्मै अहिले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा पुनर्निर्माण भइसकेको बताउनुभयो । ‘उहाँकै नेतृत्वमा काठमाडौंको भाषा बचाउन १ देखि ८ कक्षासम्म नेपालभाषामा पठन पाठन गराउने ऐतिहासिक कार्य भएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘काठमाडौंमा अहिले आधुनिक दमकल, आधुनिक मेशिनहरू ल्याएर सरसफाइ गर्ने कार्यहरू भइरहेका छन् । मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा कति महत्वपूर्ण काम गर्नुभएको छ भन्ने कुरा यही सवल बहालको अवस्थालाई मात्रै हेरे पनि थाहा हुन्छ । अब ६ महिना पछि हुने चुनावमा यहाँहरूले उहाँको मूल्यांकन गर्नुपर्छ ।’

उहँँले सवल बहाल भनेको भूमिगत कालमा धेरै धेरै नै पार्टीहरूलाई सेल्टर दिएर, पालेर पठाएको ऐतिहासिक ठाउँ भएको पनि उहाँले स्मरण गर्नुभयो । 

नासः मन्दिर जिर्णाेद्घार कमिटीका अध्यक्ष लक्ष्मीनारायण पोडेले उक्त मन्दिर नेपाल सम्मत् ९२७ अर्थात् वि.संंं १८६४ मा निर्माण भएको भन्दै हाल जिर्ण भै भत्किने अवस्थामा पुगेकाले काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोग र कमिटीको सक्रियतामा जिर्णाेद्घार गरेको बताउनुभयो । कमिटीले दिएको जानकारी अुनसार महानगरपालिकाले ४८ लाख सहयोग गरेको थियो ।

ऊर्जामन्त्री पम्फा भुसालसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र २५, शुक्रबार वर्गीकृत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भयो ।

भेटका अवसरमा उहाँहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनको विषयमा छलफल भयो ।

उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसिसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले एमसिसीका विषयमा नेपालमा भएका चर्चाका विविध विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रही आएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसिसीका सन्दर्भमा राजनीतिक सहमती र जनताको चाहना अनुसार नै निष्कर्षमा पुगिने बताउनुभयो । उहाँले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारी एवं अमेरिकाका तर्फबाट नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीसहितको सहभागीता थियो । अमेरिकी सरकारका तर्फबाट एमसिसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको थियो।

छत्रपाटी चिकित्सालयको नयाँ भवन शिलान्यास

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र २५, शुक्रबार वर्गीकृत

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो। त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पुजन गर्नुभएको थियो।

छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको १० आना १ दाम जग्गामा करीब ३५ करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण थालिएको हो।

शिलान्यास अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाक्यले योजनाहरु समयमा कार्यान्वयन नभए व्ययभार थपिनेप्रति सजग हुनुपर्ने बताउनुभयो । महानगरले गएको बर्ष पनि अस्पताल भवनका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । पोहोर काम नभएपछि पैसा खर्च गर्न पाइएन । अर्कोतिर यस बर्ष लागत बढेर खर्च थपिएको छ । उहाँले भन्नुभयो, ‘समयमा काम गर्नोस् । स्तरीय काम गर्नोस् । पैसाको चिन्ता नगर्नोस् ।’

उहाँले अस्पतालले निजी क्षेत्रसँग प्रतिस्पर्धी सेवा दिन सकेन भने लगानीको उपयोग नहुने बताउँदै अस्पतालले यसतर्पmका योजनामा ख्याल गर्नुपर्ने धारणा राख्नुभयो । 

कोविड संक्रमणको दोस्रो लहर चलेका बेला महानगरले यस अस्पताललाई महानगरको कोविड विशेष अस्पतालका रुपमा चलाएको थियो । भोलि आवश्यक परे हामी फेरि कोविड अस्पतालका रुपमा चलाउन सक्छौँ । प्रमुख शाक्यको भनाइ थियो । 

स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो । यसको सहज वितरणका लागि काठमाडौँ महानगरले लगानी बढाउँदै लगेको छ । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोविडको रोकथाम, उपचार र नियन्त्रणका लागि सामुदायिक र सरकारी अस्पतालहरुसँग सहकार्य गरेको बताउनुभयो । व्यक्ति निरोगी रहे मात्र सरकारले उपलब्ध गराएका अरु अधिकार प्रयोग हुन्छन् । सेवा भोग्न सक्छन् । त्यसैले सबै अधिकारमध्ये पनि नागरिकलाई स्वास्थ्य सम्बन्धी अधिकारको प्रत्याभूति गराउन आफूहरु प्रयासरत रहेको उहाँको भनाइ थियो ।   

समुदायमा स्वास्थ्य संकट भएका बेला यो चिकित्सालयको स्थापना भएको हो । ०१७ सालमा राजनीतिक अस्थिरता भएका बेला भएका झडप बेला घाइते भएकालाई उपचार गर्न यसको उल्लेखनीय भूमिका छ । चिकित्सालयको विगतका बारेमा चर्चा गर्दै वडा १७ का अध्यक्ष नविन मानन्धरले, समुदायलाई अप्ठ््यारो परेका बेला चिकित्सालयले र चिकित्सालयलाई कठिन भएका बेला काठमाडौँ महानगरले सहयोग गरेको बताउनुभयो ।   

०७२ सालको भूकम्पको संकट, ०७५ तिर महानगरमा फैलिएको डेङ्गु र त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोविडका समयमा चिकित्सालयले स्वास्थ्योपचारमा गरेको योगदान प्रशंसनीय छ । मानन्धरको भनाइ थियो । 

स्वास्थ्योपचारका सबै सेवालाई आत्मनिर्भर बनाउन गरिएको प्रयासका बारेमा चर्चा गर्दै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अर्को साताबाट दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिनुभयो । अस्पतालको विकासका लागि काठमाडौँ महानगरको आर्थिक सहयोग एवम् अभिभावकीय साथबाट विकसित हुने मौका पाएको डा. श्रेष्ठको भनाइ थियो । 

अस्पताल निर्माणको पहिलो चरणमा भूमिगत १ तलासहित ७ तले भवनको स्ट्रक्चर तयार पारिनेछ । यसका लागि करीब १२ करोड रुपैयाँ खर्च हुनेछ । भवन निर्माणका लागि काठमाडौँ महानगरले उपलब्ध २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । यसमा २ करोड ५० लाख रुपैयाँ थपेर यो बर्ष ५ करोड रुपैयाँ दिनेछ । यसबाहेक अस्पतालको आन्तरिक आय र दाताहरुबाट प्राप्त हुने रकम प्रयोग गरिनेछ।

चिकित्सालयमा २४ घण्टै इमर्जेन्सी, शल्यक्रिया, जनरल वार्ड, आइसीयू, भेन्टिलेटर, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा छन्।

यी हुन् इजरायल रोजगारीका लागि परिक्षा लिईन तोकिएका ११ वटा केन्द्र (बिवरण सहित)

Swoniga Online – Rosni | २०७८ भाद्र २३, बुधबार वर्गीकृत

वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको अङ्ग्रजीको भाषाको परीक्षा केन्द्र तोकेको छ । विभागले आज एक सूचना जारी गर्दै विभिन्न ११ वटा परीक्षा केन्द्र तोकेको हो ।

विभागले कलंकीस्थानमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार विद्यालय साधारण, नयाँबानेश्वरको मदन भण्डारी मेमोरियल कलेज, नोबेल एकेडेमी, एम्बिसन एकेडेमी, कोटेश्वर सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, वसुन्धारको साउथ वेस्टर्न कलेज र बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेश्नल कलेजमा परीक्षा केन्द्र तोकेको छ ।

इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको हुने भएको छ । उक्त रोजगारीको लागि इजरायल सरकारले अङ्ग्रजी भाषालाई प्राथमिकता दिएको छ । त्यसमा अङ्ग्रेजी भाषाको लिखित परीक्षाको पूर्णाङ्क ८० तोकेको छ भने ४० ल्याए उत्तीर्ण हुन सक्ने जनाएको छ । त्यस्तै दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताका लागि २० अङ्क छुट्टाइएको छ ।

विभागले यसअघि नै रोजगारी जाने इच्छुक नेपालीहरूलाई आवेदनको खुलाएको छ । उक्त आवेदन खुलाएकोमा ९ हजार ६९९ जनाले आवेदन दिएका छन् । त्यसमध्ये आवेदन दिनेमा ५ हजार ४९९ जना पुरुष छन् भने ४ हजार २ सय महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायल सरकारले पहिलो चरणमा ‘केयर गिभर’लाई प्राथमिकतामा राखेर १ हजार श्रमिक लैजाने भएको छ । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सरकारले जनाएको छ ।

संखुवासभा हत्या प्रकरण : सकियो ६ जनाकै पोष्टमार्टम

Swoniga Online – Rosni | २०७८ भाद्र २३, बुधबार वर्गीकृत

धरान । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा अज्ञात समूहले बिभत्स हत्या गरेका एकै परिवारका ६ जनाको पोष्टमार्टम सकिएको छ। मंगलबार राति ६ जनाकै सब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए पश्चात बुधबार शबको पोष्टमार्टम सुरु गरिएको हो।

पाँच घण्टा लगाएर ६ वटै शवको पोष्टमार्टम सकिएको प्रतिष्ठानको फोरन्सिक विभागका एसोसियट प्रोफेसर डा. विकास साहले जानकारी दिए। डा. विकास नेतृत्वको ६ जनाको टोलीले बिहान १० बजेदेखि ३ बजेसम्मको समय लगाएर पोष्टमार्टम गरिएको हो।

सोमबार स्थानीय बौदमान कार्की श्रीमती ८४ वर्षीय पार्वता कार्की, ५८ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, बौद्धमानकी नातिनि बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षका पनाती दीपेन कार्की र ७ वर्षीया पनातिनि गोमा कार्कीको अज्ञात समुहले हत्या गरेको थियो। ६ जनाकै पोष्टमार्टम सकिएको छ, डा. शाहले भने 'आवश्यक कागजात तयार गरी शव परिवारलाई जिम्मा लगाउने छौं।' उनले पोष्टमार्टको रिपोर्ट आउन केही दिन लाग्ने बताएका छन्। 

६ जनाकै शव बुधबार नै संखुवासभा लैजाने तयारी भैरहेको बीपी प्रतिष्ठानको  अस्थायी प्रहरी पोष्टका हबल्दार टिका कटेवालले जानकारी दिए। हत्या पश्चात संघिय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहित एसपी भीम दाहालको नेतृत्वमा प्रहरीको विशेष टोली हत्याराको खोजीमा घटनास्थल वरपर परिचालन गरिएको छ।

प्रहरीले हत्याराको पहिचान भैसकेको र उनीहरुलाई पक्राउ गर्न प्रहरी नजिक पुगिसकेको जानकारी दिएको छ। घटनास्थलमा प्रहरीको प्रदेश प्रहरी कार्यालय विराटनगरको विषेश व्युरोको टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट उल्लेखिय प्रहरीको टोली परिचालन गरिएको बताइएको छ।

अब खल्तीबाट १ रुपैयाँमै हवाई टिकट

Swoniga Online – Rosni | २०७८ भाद्र २३, बुधबार वर्गीकृत

काठमाडौँ । खल्ती डिजिटल वालेटले अब मात्र एक रुपैयाँमा खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गरेर खरिद गर्न सकिने आकर्षक अफर सार्वजनिक गरेको छ।

यस अफरमार्फत् टिकट बुक गर्दा हरेक प्रयोगकर्ताले रु ८०० सम्मको क्यास ब्याक पाउने खल्तीका सहायक प्रबन्धक सौरभ ओझाले जानकारी दिए।

उनका अनुसार यस अफरअन्तर्गत दैनिक एकजना भाग्यशाली विजेताले एक रुपैयाँमै उडान टिकट प्राप्त गर्नेछन्। हवाई टिकटको कुल रकमबाट मात्र एक रुपैयाँ कटौती गरी बाँकी रकम विजेताको खल्ती खातामै ट्रान्सफर हुने उनी बताउँछन्।

उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने खल्तीले जनाएको छ। उक्त अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्ममात्र लागू हुने खल्ती वालेटले जनाएको छ।

डिजिटल भुक्तानीमार्फत दसैँको समयमा टिकट काट्न घन्टौं लाइनमा बस्न पर्ने झन्झटबाट मुक्त गर्न सुलभ मूल्यमा टिकट पनि उपलब्ध गराइने भएको छ। खल्तीबाट टिकट किन्दा भारी क्यास ब्याक दिइने सहायक प्रबन्धक ओझाले जानकारी दिए।

खल्तीका २० लाखभन्दा बढी प्रयोगकर्ताहरू बताइएको छ। खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूमा पैसा पठाउन सकिन्छ। साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, फोहोर व्यवस्थापन शुल्क यसैबाट भुक्तानी गर्न सकिन्छ।

ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता अन्य सेवा पनि यसबाट लिन सकिन्छ।

प्रधानसेनापति थापाको अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक : कहाँ के–कति रहेछ सम्पत्ति ?

Swoniga Online – Rosni | २०७८ भाद्र २२, मंगलबार वर्गीकृत

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर जग्गा रहेको छ ।

उनले  लम्जुङ बेँसीशहर–२ मा अंशवण्डावापत प्राप्त १२–०–२–२ क्षेत्रफल जग्गा, काठमाडौं महानगरपालिका–२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०–२–०–२ जग्गा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाका कमाइ आदिबाट खरिद गरिएको ४१६४.५७ वर्गमिटर जग्गा तथा  छोरी रुरु थापाको नाममा बेँसीशहर नपा–२ पैत्रिक १–०–१–३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । बूढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जगगा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

महारथी थापा दम्पतीसँग पैत्रिक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र रु १४ लाखमा खरिद गरिएकोसमेत औठीसहित हीरा हार छ । उहाँहरूसँग घरभाडा, शान्ति सेना र सरकारी तलबभत्तासमेत गरी मेगा बैंकमा रु एक लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैंकमा रु ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैंकमा रु २० लाख २२ हजार ३८१ र अमेरकी डलर छ हजार ७० रहेको छ ।

प्रधानसेनापति थापा र श्रीमती दीपासँग तलबभत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब रु। ४६ लाख मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । उनीहरुले  नेपाल बैंकबाट रु। एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन रु। ३० लाख ऋण लिएकामा रु १२ लाख २४ हजार तिर्न बाँकी रहेको देखाइएको छ । श्रीमती दीपाको रु। २० लाख र छोरा रौनकको रु। ५१ लाख मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट रु। ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट रु। १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात रु। २५ लाख ९० हजार ७३२ तथा आवास र बिमावापत रु। चार लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ ।

महारथी थापाले सेनाको नेतृत्व सम्हालेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । उनी नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक हुन् । तीनवर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी आगामी बिहीबार सेवानिवृत्त हुँदै गर्दा उनले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

काठमाडौंमा आज यी अस्पतालबाट दिइँदै छ कोभिड–१९ विरुद्धको खोप

Swoniga Online – Rosni | २०७८ भाद्र २२, मंगलबार वर्गीकृत

काठमाडौं । काठमाडौंमा आज विभिन्न आठवटा अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आज भेरोसेल, अस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज दिइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार प्रहरी अस्पताल महाराजगन्ज र सैनिक अस्पताल छाउनीबाट जोन्सन एन्ड जोन्सन, भेरोसेल र अस्ट्राजेनिका खोपको पहिलो तथा दोस्रो दुवै डोज दिइँदै छ ।

त्यसैगरी, समाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, परोपकार प्रसूतिगृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा अस्ट्राजेनिका खोपको पहिलो डोज दिइँदै छ ।

Pages