add
Display Style: 
Column Style

फोनिजद्धारा ८ वरिष्ठ पत्रकार पुरस्कृत र दुई संचार संस्था सम्मानित हुँदै

Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण २४, आइतबार वर्गीकृत

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ ।

गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना पुस्कृत व्यक्तिको नाम फोनिजले सार्वजनिक गरेको हो । फोनिजका महासचिव मनोज घर्तीमगरद्धारा जारी विज्ञप्तीअनुसार फोनिज अवार्ड–२०७७ बाट पत्रकार आङदावा शेर्पा, मौसम रोका मगर, कुमार यात्रु र राजकुमार दिक्पाल पुरस्कृत हुनेछन् । त्यसै गरी फोनिज अवार्ड–२०७८ बाट तिलक पुन, रचना श्रेष्ठ, इन्द्रजीत मुखिया र भवानी बराल पुस्कृत हुनेछन् ।

फोनिजले यस वर्षबाट ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ समेत प्रारम्भ गरेको छ । ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट थारु भाषामा प्रकाशित हुँदै आएको ‘पहुरा दैनिक’ र लिम्बू भाषामा प्रकाशित हुँदै आएको ‘तान्छोपा मासिक’लाई संयुक्त रुपमा सम्मानित गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।

पत्रकारिता पुरस्कार र मातृभाषा सम्मानको राशी २० हजार रुपैयाँ रहेको छ । फोनिजले आफ्नो २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा साउन २७ गते ८ जना वरिष्ठ पत्रकारलाई पुरस्कार र दुई मातृभाषी संचार संस्थालाई सम्मान प्रदान गर्ने बताइएको छ।

यी प्रदेशहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाका सम्भावना

Swoniga Online – Rosni | २०७८ श्रावण २४, आइतबार वर्गीकृत

काठमाडौं । आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै, प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण आज पहाडी भू–भागमा भूक्षय, पहिरोको सम्भावनासमेत रहेको छ ।

त्यस्तै, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ र बाग्मती प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले आग्रह गरेको छ ।

सोमबारदेखि पहिलो जोड कोभिशिल्ड लगाएकालाई एस्ट्राजेनेका खोप लगाइँदै , यी हुन् खोप केन्द्र

Swoniga Online – Rosni | २०७८ श्रावण २४, आइतबार वर्गीकृत

काठमाडौं । सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ।

यो खोप सोमबार र मंगलबार लगाइनेछ। त्यसका लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइनेछ।  कोभिडविरुद्धको एस्ट्राजेनेकाको खोप तोकिएको लक्षित समूहलाई दोस्रो मात्रा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुनेगरी लगाउन अनुरोध गरिएको छ।

यस्तै, स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई मात्र खोप प्रदान गरिनेछ। सोहीअनुसार खोप अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत स्वास्थ्य कार्यालयले दिएको छ । खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको प्रमाणपत्र र अन्य परिचय खुल्ने कागजपत्र साथमा लानुपर्नेछ।

स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग, भदौं ३ देखि अनसन बस्ने घोषणा

Swoniga Online – Rosni | २०७८ श्रावण २२, शुक्रबार वर्गीकृत

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न सरकारसँग माग गरेका छन् । उनले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित माग राखेर आगामी ३ भदौदेखि अनसन बस्ने घोषणा गरेका हुन् । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको डा. केसीको आरोप लगाएका छन् ।

आज (शुक्रबार) एक विज्ञप्ति सार्वजनिक गर्दै डा। केसीले कोरोना महामारीका बेला कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प नभएको बताएका हुन् ।

‘स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायीको नियुक्ति हचुवा, छिटपुट वा असावधानीपूर्वक गरिएको नभइ अरु दशौं वर्षसम्म राजनीतिमा कालो धनको भूमिका संस्थागत गर्ने र नीतिगत भ्रष्टाचार सुनिश्चित गर्ने प्रयासका रुपमा भएको छ । यस्तो प्रवृत्ति स्वास्थ्य र मेडिकल शिक्षाका लागि त घातक छ नै, देशको लोकतन्त्र र विधिको शासनका लागि झनै घातक छ,’ डा। केसीको विज्ञप्तिमा भनिएको छ ।

उनले आगामी दिनमा व्यापारी, व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई चोर बाटोबाट सांसद र मन्त्री हुने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआउने सुनिश्चित गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी प्रष्ट कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

यसका साथै आफूहरुसँग यसअघि भएका सबै सम्झौताहरु कार्यान्वयन गर्न समेत उनले माग गरेका छन् । तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गर्न उनको माग छ ।

बढ्न थाल्यो कोरोना : अक्सिजनसहितका आइसोलेशन तयारी अवस्थामा राख्न निर्देशन

Swoniga Online – Rosni | २०७८ श्रावण २२, शुक्रबार वर्गीकृत

पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेपलाञ्चोकको  कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले आवश्यक अक्सिजनसहित पूर्ववत् अवस्थामा राख्न निर्देश गरेको हो । 

स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारीदिए ।

“सङ्क्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ”, उनले भने । उनका अनुसार सङ्क्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् । पाँचखाल नगरको आइसोलेशनमा पाँच सङ्क्रमित उपचाररत छन् । 

जिल्लामा दैनिक सङ्क्रमणदर बढिरहेको तर थोरै मात्रामा कोरोनामुक्त हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । अघिल्लो महिना जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शुन्यतामा झरे पनि यही साउनमा मृत्यु भइरहेका छन् । साउनमा मात्रै एक हजार १४ मा सङ्क्रमण देखियो भने सातले ज्यान गुमाइसकेका छन् । 

जिल्लामा हालसम्म १३ हजार ९३ मा सङ्क्रमण देखिएकोमध्ये १७८ को मृत्यु भइसकेको छ । मृतकमध्ये पनि १३३ कोरोना दोस्रो लहरका हुन् । जिल्लाका अस्पतालमासमेत कोरोनाका बिरामीको चाप बढिरहेको जनाइएको छ ।

हाल जिल्लामा एक हजार ८४२ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरमा २०५, धुलिखेलमा १६५, पाँचखालमा १३७, नमोबुद्धमा ६७, मण्डनदेउपुरमा ४७ तथा रोशी २१, चौँरीदेउरालीमा तीन, तेमालमा आठ, भुम्लुमा २१, बेथानचोकमा नौ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । तेह्र स्थानीय तहमध्ये हाल खानीखोला गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएको छ । 

बागलुङमा सक्रिय सङ्क्रमित ५००
कोरोना सङ्क्रमितको सङ्ख्या पुनःउकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको छ । 

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ सङ्क्रमित फेला परेको जानकारीदिए। “आज निको हुने थपिएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या केही घट्न पनि सक्छ”, उनले भने ।

पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिन्छ । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या ४९७ पुगेकामा अहिले बढेर ५८० पुगिसकेको छ । गत असार तेस्रो साता जिल्लाभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर २५४ मा पुगेको थियो ।

यसपछि भने सङ्क्रमितको सङ्ख्या लगातार बढेको छ । यसरी केही समय थामिएजस्तो देखिएको सङ्क्रमण दर फेरि उकालो लागेको हो । जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २७।४ प्रतिशत छ जबकि नेपालको सङ्क्रमण दर १९।०३ प्रतिशत मात्र छ । 

देशभरको तुलनामा निको हुने दर पनि यहाँ कम छ । नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने बागलुङमा ९१ प्रतिशत । देशभर मृत्युदर १।०५ हुँदा यहाँ भने त्यो भन्दा कम ०.९९ प्रतिशत छ । कोरोनाका जिल्लामा हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् । 

जिल्ला बाहिर पनि मृत्युवरण गर्नेको सङ्ख्या हेर्दा भने सयभन्दा बढी पुगेको स्रोत व्यक्ति घिमिरले बताए । सङ्क्रमणसँगै मृत्युका घटना पनि बढ्न थालेका छन् । निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले बताए ।

 पहिलो र दोस्रो लहरमा गरी यहाँका २२ हजार जनामा कोरोना परीक्षण गर्दा ६३०० बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना नियन्त्रणका लागि खोप अभियान पनि चलिरहेको छ । 

पचली भैरवमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यबात पाटीको शिलान्यास

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण २२, शुक्रबार वर्गीकृत

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाटीको शिलान्यास गर्नुभएको हो । पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास भएको छ ।

८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको फल्चाको पुनर्निर्माणको जिम्मा नमोवुद्ध विल्डर्सले पाएको छ ।

शिलान्यास पछि बोल्दै प्रमुख शाक्यले आफुहरुले पुननिर्माण गरेका सम्पदा पुनर्निर्माण पछि सम्वन्धित समुदायलाई नै सञ्चालन र व्यवस्थापनका लागि जिम्मा लगाउने बताउनुभयो ।

‘पचली भैरव संरक्षणका लागि बनाएको गुरुयोजनामा सबैको अपनत्व गराउन यस क्षेत्रसँग सम्बन्धित गुठियार र सरोकारवालासँग छलफल गर्दा कार्यान्वयनमा केही ढिलाइ भयो, आज फल्चा शिलान्यास गरेपछि गुरुयोजना कार्यान्वयन चरणमा पुगेको अनुभूति भएको छ’ शाक्यले भन्नुभयो।

काठमाडौं महानगरमा बढ्दै सङ्क्रमित, कुन वडामा कति

Swoniga Online – Rosni | २०७८ श्रावण २१, बिहिबार वर्गीकृत

कोरोना भारइसको दोस्रो लहर रोकथाम र नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकासहित देशभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।

पछिल्लो समय देशभर फेला पर्ने सङ्क्रमितमध्ये एक तिहाइ उपत्यकामा फेला पर्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको वडागत प्रारम्भिक विवरण हेर्ने हो भने अहिले काठमाडौं जिल्लामा तीन हजार २८४ जना सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशमा गत सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाडौं महानगरपालिकाले साउन १८ गते सार्वजनिक गरेको प्रारम्भिक विवरणमा काठमाडौं महानगरका ३२ जटा वडामा हालसम्म ७२ हजार ५८ जना कोभिड १९ बाट सङ्क्रमित भइरहेका छन् । जसमा तीन हजार २८४ जना सक्रिय सङ्क्रमित छन् ।

उनीहरुमध्ये तीन हजार १०४ जना होम आइसोलेसनमा, १२१ जना अस्पतालमा र ५९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोना सङ्क्रमणका कारण काठमाडौं जिल्लामा अहिलेसम्म ५१० जनाले ज्यान गुमाइसकेका छन् भने ६८ हजार २६४ जना सङ्क्रमण मुक्त भएका छन् ।

काठमाडौं महानगर वडा नम्बर १ मा हालसम्म ४१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ३६ जना होम आइसोलेसनमा, तीन जना अस्पतालमा र दुई जना संस्थागत आइसोलेसनमा छन् ।

वडा नम्बर २ मा ४६ जना सक्रिय सङ्क्रमित  छन् । जसमध्ये ४४ जना होम आइसोलेसनमा र दुई जना अस्पतालमा उपचाररत छन् । वडा नम्बर ३ मा १७५ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये १२८ जना होम आइसोलेसनमा, ४१ जना अस्पतालमा र छ जना संस्थागत आइसोलेसनमा छन् । वडा नम्बर ४ मा १५१ जना होम आइसोलेसनमा, ११ जना अस्पतालमा र छ जना संस्थागत आइसोलेसनमा गरि १६८ जना सक्रिय सङ्क्रमित छन् ।

यसैगरी वडा नम्बर ५ मा १९० जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित सबैजना होम आइसोलेसनमा रहेको काठमाडौं महानगरद्वारा जारी प्रारम्भिक विवरणमा उल्लेख छ । वडा नम्बर ६ मा होम आइसोलेसनमा २३६ जना र दुई जना अस्पतालमा गरि २३८ जना सक्रिय सङ्क्रमित छन् । वडा नम्बर ७ मा ११० जना सक्रिय सङ्क्रमित छन् । सबै जना होम आइसोलेसनमा छन् ।

वडा नम्बर ८ मा १३ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै होम आइसोलेसनमा छन् । वडा नम्बर ९ मा ७७७ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ७७६ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा छन् । वडा नम्बर १० मा १०२ जना होम आइसोलेसनमा र १० जना आस्पतालमा गरी ११२ जना सक्रिय सङ्क्रमित छन् ।

वडा नम्बर ११ मा ३२२ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबैजना होम आइसोलेसनमा  छन् । वडा नम्बर १२ मा नौ जना सक्रिय सङ्क्रमित छन् । जसमा पाँच जना होम आइसोलेसनमा र चार जना अस्पतालमा उपचाररत छन् । वडा नम्बर १३ मा ५६ जना सक्रिय सङ्क्रमित छन् । जसमा ५४ जना होम आइसोलेसनमा र दुई जना अस्पतालमा छन् । वडा नम्बर १४ मा ९० जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ८४ जना होम आइसोलेसनमा, पाँच जना अस्पतालमा र एक जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

वडा नम्बर १५ मा १२६ जना सक्रिय सङ्क्रमित छन् । जसमा ८९ जना होम आइसोलेसनमा, सात जना अस्पतालमा र ३० जना संस्थागत आइसोलेसनमा छन् । वडा नम्बर १६ मा २२१ जना होम आइसोलेसनमा, २० जना अस्पतालमा गरि २४१ जना सक्रिय सङ्क्रमित छन् । वडा नम्बर १७ मा ३० जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै होम आइसोलेसनमा छन् । वडा नम्बर १८ मा तीन जना सक्रिय सङ्क्रमित छन् । तीनै जना होम आइसोलेसनमा  छन् ।

वडा नम्बर १९ मा एक जना पनि सक्रिय सङ्क्रमित नरहेको काठमाडौं महानगरद्वारा जारी प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । वडा नम्बर २० मा जम्मा दुई जना सक्रिय सङ्क्रमित छन् । दुवै जना होम आइसोलेसनमा छन् । वडा नम्बर २१ मा १३ जना सक्रिय सङ्क्रमित छन् । १३ जना होम आइसोलेसनमा छन् । वडा नम्बर २२ मा पनि दुई जना मात्र सक्रिय सङ्क्रमित छन् । दुवै जना होम आइसोलेसनम छन् । वडा नम्बर २३ मा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

वडा नम्बर २४ मा छ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् । वडा नम्बर २५ मा नौ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् । वडा नम्बर २६ मा ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमा ६८ जना होम आइसोलेसनमा, आठ जना अस्पतालमा र सात जना संस्थागत आइसोलेसनमा रहेका छन् । वडा नम्बर २७ मा सात जना सक्रिय सङ्क्रमित  छन् । जसमा छ जना होम आइसोलेसनमा र एक म जना अस्पतालमा उपचाररत छन् ।

वडा नम्बर २८ मा ११ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै जना होम आइसोलेसनमा छन् । वडा नम्बर २९ मा ४५ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै जना होम आइसोलेसनमा छन् । वडा नम्बर ३० मा १३ जना सक्रिय सङ्क्रमित छन् । १३ जना होम आइसोलेसनमा छन् । वडा नम्बर ३१ मा ७९ जना होम आइसोलेसनमा र दुई जना अस्पतालमा गरी ८१ जना सक्रिय सङ्क्रमित छन् । वडा नम्बर ३२ मा २६५ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये २५६ जना होम आइसोलेसनमा, तीन जना अस्पतालमा र छ जना संस्थागत आइसोलेसनमा रहेको काठमाडौं महानगरपालिकाद्वारा प्रारम्भिक विवरणमा उल्लेख छ ।

बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या

Swoniga Online – Rosni | २०७८ श्रावण २१, बिहिबार वर्गीकृत

काठमाडौं । आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ।

बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ।

इसेवा, खल्ती, मोबाइल बैंकिङजस्ता माध्यमबाट भने रिचार्ज भएको छैन। नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले रिचार्ज नहुने समस्या आएकोले समाधानका लागि प्रयास भइरहेको बताए।

कार्डबाट रिजार्च भइरहेको छ। विद्युतीय माध्यमबाट रिचार्ज गर्ने हाम्रो इक्युपमेन्टमा समस्या आएको हो। समाधानका लागि प्राविधिकहरूले काम गरिरहेका छन्, उनले भने।

समयमै काम नगर्ने ७ ठेकेदार कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

Swoniga Online – Rosni | २०७८ श्रावण २१, बिहिबार वर्गीकृत

काठमाडौं । सरकारकोे सम्झौता बमोजिम समयमै काम नगर्ने ७ वटा ठेकेदार कम्पनी तथा आपूर्तिकर्तालाई एक देखि दुईवर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)ले सूचना प्रकाशित गरी ७ कम्पनीलाई कालोसूचीमा राखेकोे हो। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा परेका कम्पनीहरुमा काठमाडौंको श्री ए. के. एण्ड गान्बा कन्स्ट्रक्सन, कुस्माको कालिगंगा निमार्ण सेवा, इलामको कन्टा निमार्ण सेवा, धनगढीको लाटिनाथ कन्स्ट्रक्सन सेवा रेहका छन् ।

त्यसैगरी कालोसूचीमा पर्नेमा उदयपुरको अम्बर सप्लायर्स एण्ड ट्रेडर्स, सुनसरीको आवीद निमार्ण सेवा र काभ्रेको बिक्रम खाद्य स्टोर रहेका छन् । ए. के एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्ष तथा अन्य सबैलाई एक वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरिएको छ ।

एकै दिन ४१०७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

Swoniga Online – Rosni | २०७८ श्रावण २०, बुधबार वर्गीकृत

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ९७५ र र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो। 

आज देशभर एक हजार ५३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ। 

देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ७१४ जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Pages