पत्रकार मञ्चलाई बोधिसत्व बिहारद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
Swoniga Online – स्वनिगः संवाददात | २०७८ आषाढ १६, बुधबार वर्गीकृत
बोधिसत्व बिहार बुढानिलकण्ठले नेपाल पत्रकार मञ्चलाई कोविड संक्रमणबाट बचावटका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको प्रदान गरेको छ । मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
प्रदान गरिएका सामग्रीहरुमा व्यक्तिगत सुरक्षा सामाग्री –पीपीई) २०० थान, केएन ९५ माक्स २०० थान, सर्जिकल माक्स १० हजार थान, पञ्जा ५०० थान र सेनिटाइजर ५०० मि.लि.को २०० थान उपलब्ध छन् ।
सामग्री हस्तान्तरण गर्दै विहारका अध्यक्ष हुई गुआङले महामारीबाट मानव जगतमा हुन सक्ने क्षति घटाउनु र मनको त्रास हटाउनु अहिल सबैको पहिलो दायित्व भएको बताउनुभयो । सामाजिक कामको मुल्याङ्कन जटिल परिस्थितिमा हुने बताउँदै हुईले आफूले पत्रकारहरु पनि जोखिममा रहेर काम गरिरहेको अनुभूति गरेकाले मञ्चमार्फत दैनिक खवर संकलन गर्न जाने पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको उल्लेख गर्नुभयो ।
सामग्री र उपकरणको अभावमा कतिपय अस्पतालहरुले अझै पनि सेवालाई गुणस्तरीय बनाउन सकिरहेका छैनन् । यस्ता संस्थाहरुलाई र महामारीमा खान लाउन नै समस्यामा परेका परिवारलाई आफूहरुले नियमित सहयोग गरिरहेको उहाँको भनाइ थियो ।
महामारी सक्रमणको जोखिममा रहेका समूहमध्ये पत्रकार पनि पर्छन् । उनीहरुको सुरक्षाका लागि कम मात्र संस्थाको नजर पर्ने गरेको छ । यसबेला विहारले पत्रकारलाई गरेको सहयोगले ठूलो भूमिका राख्छ । त्यस अवसरमा मञ्चका अध्यक्ष युवराज विद्रोहीले, आम नागरिकलाई सुसूचित गर्ने काममा गर्न अग्रभागमा पुग्नु पर्ने करीव ३ हजार पत्रकार कोरोना संक्रमणमा परेको र करीव २० जनाले मृत्युवरण गर्नुपरेको बताउनुभयो । सहयोग परिमाण वा संख्यासँगभन्दा भावनासँग सम्बन्धित भएको बताउँदै उहाँले कहिलेकाही सानो बस्तुले ठूलो काम गर्छ । सही समय नपर्दा महङ्गो बस्तुले पनि मुल्य पाउँदैन, विद्रोहीले भन्नुभयो, पत्रकारहरुका लागि सम्झना गर्नु नै ठूलो कुरा हो ।
पत्रकारहरुमा कोविडले आर्थिक, सामाजिक र पारिवारिक समस्या सिर्जना गरेको छ । यसकारण कतिपय पेशाकर्मी पेशाबाट विस्थापित हुनु पर्ने अवस्था आएको छ । त्यस क्रममा मञ्चका कोविड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराईले प्राप्त सामाग्री प्राथमिकताका आधारमा पत्रकारहरु वितरण हुने जानकारी दिनुभयो । हामीले पत्रकारलाई पेशामा टिकाइ राख्न उनीहरुको पारिवारिक व्यवस्थापनमा पनि काम गर्नु पर्ने अवस्था छ । यही अवस्था जारी रहे दैनिक गुजारामा नै समस्या आउन सक्ने खतराप्रति अहिले नै सचेत भएर प्रतिकार्यका योजना सञ्चालन गर्न जरुरी छ, भट्टराईको जोड थियो ।
महामारीका कारण समस्या पर्ने र महामारी व्यवस्थापनका लागि अग्र पङ्तिमा खटिनेको जोखिम कम गराउन साथ दिने क्रममा पत्रकारहरुसँग जोडिन पाउनुले आफ्नो काम सार्थक भएको महसुस भएको त्रिरत्न स्कूलका प्रधानाध्यापक राजु लामाको भनाइ थियो ।
त्यस क्रममा महामारीको जोखिम र जोखिम व्यवस्थापनका विषयमा इन्टरनेशनल यूथ सोसाइटीका अध्यक्ष डा. प्रियरत्न महर्जन, मञ्चका महासचिव विमलकुमार थापासहितका वक्ताले धारणा राख्नुभएको थियो ।
विहारले काठमाडाँै उपत्यकासहित अन्य जिल्लामा करिब १५ हजार गरीब तथा विपन्न कोभिड प्रभावित परिवारलाई राहत सामग्री समेत वितरण गरिसकेको छ । त्यस्तै संक्रमण रोकथाम, रोगको उपचार र यस काममा खटिनेको स्वास्थ्य सुरक्षाका लागि सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ।
उपत्यकामा ५७२ सहित देशभर २८९२ जनालाई कोरोना संक्रमण पुष्टि, ३३५६१ सक्रिय संक्रमित
Swoniga Online – Rosni | २०७८ आषाढ १६, बुधबार वर्गीकृत
काठमाडौं । काठमाडौं उपत्यकामा आज ५७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ४३६, भक्तपुरमा ४७र ललितपुरमा १८९ गरी ५७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर २ हजार ८९२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या भनेको परीक्षण गरिएकोमध्ये पोजेटिभ देखिएको दर २६ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलका अनुसार सोही अवधिमा ३ हजार ५९७ जना निको भएका छन् । बैशाख र जेठ महिनामा छुटेका गरि आज मन्त्रालयले ४१ जना मृतकको तथ्यांक सार्वजनिक गरेको छ ।
सक्रिय संक्रमितको संख्या घट्दै गएपनि संक्रमणदर अझै २५ प्रतिशतमाथि नै छ । संक्रमणदर ५ प्रतिशतभन्दा कम भएको अवस्थामा मात्रै संक्रमण नियन्त्रणमा छ भन्न सकिन्छ । अहिले देशभर ३३ हजार ५६१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ७ हजार १८७ पीसीआर र ४ हजार ३८१ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ५६८ जनाको कोरोना परीक्षण भएको छ । जसमा १८ सय ८९ पीसीआर र १००३ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ ।
बीपीको कार्यकर्ता नभए पनि अनुयायी हुँः मेयर शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ १६, बुधबार वर्गीकृत
जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले मात्रै रु २ करोड आर्थिक सहयोग गरेको छ । भवन निर्माणका लागि वागमती प्रदेश सरकारले ५० लाख र ट्रष्ट आफैँको रु १ करोड लगानी रहने छ । थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ । भवन निर्माणको मात्रै लागत करीब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।
काठमाडौँ महानगरपालिका वडा–५ को हाँडीगाउँमा निर्माण हुने सो भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकासँगै प्रदेश सरकारलगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस सभापति देउवाले बीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौँ महानगरपालिका र अन्यले गरेको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद दिनुभयो । ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो, देउवाले भन्नुभयो, ‘बीपीको सम्झना हामी सबैले गर्नुपर्छ । उहाँ विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो ।’
करीब दुई मिनेट जति मात्रै सम्वोधन गर्नुभएका देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र बीपीको ख्याती र उहाँका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस महामन्त्री समेत रहनु भएको बीपीपुत्र सशांकले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाका मेयरज्युलाई धन्यवाद,’ कोइरालाले भन्नुभयो, ‘उहाँले बजेट दिनुभयो । त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका छौँ । भवन त संरचना मात्रै हो । त्यहाँ आत्मा हुनुपर्छ । आत्माले नै प्रोत्साहन गर्ने हो । आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला ।’
कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफु कुनै समय बीपीलाई हेर्न र सुन्न सार्जजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज उहाँकै स्मृतिमा निर्माण हुन लागेको बीपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा काठमाडौँ महानगरपालिका सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो । ‘ कुनै समय टाढाबाट सुनेको, हेरिएको र आफूले पनि सम्मान गरेको व्यक्तिको स्मृतिमा निर्माण हुने भवनलाई सहयोग गर्न पाउँदा खशी लागेको छ,’ शाक्यले भन्नुभयो, ‘बीपी पुत्र सशांकले भन्ने वित्तिकै राम्रो काममा सबैले सहमतिका साथ सहयोग गर्नुपर्छ भनेर महानगरपालिकाले सहयोग गरेको हो ।
कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रमुख शाक्यले काँग्रेस सभापति देउवातिर संकेत गर्दै दुर्घटनाबाट देशलाई बचाउन आग्रह गर्नुभयो । ‘बीपीले २०१५ सालमा ल्याएको दुइ–तिहाई पछि तत्कालिन शासकबाट खोसियो,’ शाक्यले भन्नुभयो, ‘अहिलेको नेतृत्वले मुलुकलाई कुनै पनि दुर्घटना नहुने गरी देशलाई बचाएर अघि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
शाक्यले आफू स्वर्गीय बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको स्मरण गराउनुभयो । ‘देश विकासका लागि जीवन समर्पण गर्ने सबै नेता आदर्नीय हुनुहुन्छ,’ शाक्यले भन्नुभयो, ‘उहाँहरुलाई पढ्नुपर्छ, बुझ्नुपर्छ ।’
ट्रष्टका महासचिव पोख्रेलले नेपाली साहित्यलाई अन्तराष्ट्रियस्तरमा समेत ख्याती कमाउन सफल बीपीलाई अन्तराष्ट्रियस्तरसम्म परिचित गराउन उहाँको स्मृतिमा अध्ययन–अनुसन्धान केन्द्र स्थापना गरेको बताउनुभयो । ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले किसान र र मजदुरलाई केन्द्रविन्दुमा राखेर समाजवादको आन्दोलन अघि बढाउनुभयो,’ पोख्रेलले भन्नुभयो, ‘उहाँको सामाजिक आन्दोलनमा पनि विशिष्ट भूमिका छ । उहाँको अध्ययन गर्न आवश्यक छ ।’
पोख्रेलले बीपीका भाषण, उहाँले लेखेका पुस्तक र उहाँले राष्ट्रका लागि गरेका योगदानलाई समेत ध्यान दिदैँ उहाँकाबारेमा अध्ययन र विविध अनुसन्धान गर्ने उदेश्य रहेको बताउनुभयो । ‘अन्तराष्ट्रियस्तरका व्यक्तिहरुलाई समेत नेपालमा आएर बीपीका बारेमा एकै ठाउँ बसेर अध्ययन गर्ने केन्द्रका रुपमा स्थापित गर्न यो अध्यययन र अनुसन्धानमा केन्द्रित हुन्छ ।’ कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको पनि सहभागिता थियो।
काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान
Swoniga Online – स्वनिगः संवाददात | २०७८ आषाढ १५, मंगलबार वर्गीकृत
काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो ।
०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो । सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख दिएको थियो । पुनः पाँच–पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल रु ११ करोड ५० लाख पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिनुभयो ।
ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताउनुभयो ।
‘काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख उपलब्ध गराएको छ,’ पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले भन्नुभयो, ‘हामीले करीब १२ करोडमा काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक रकम सहयोग गर्ने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सम्पुर्ण टिमलाई धन्यवाद ।’
शाक्यले पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटनको चरणमा पुग्ने बताउनुभयो । ‘हामीले समयमै काम सम्पन्न गर्न लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिदैँ आएका छौँ,’ उहाँले भन्नुभयो, ‘काठ अभावका कारण पनि सामान्य ढिलाई भयो । अब त्यो समस्या पनि समाधान भैसकेको छ । हामीले रौतहटलगायतका जिल्लाबाट काठ ल्याई हेटौडामा चिरान गरेर ल्याउँदै आएका छौँ । अब काठ अभावले काम रोकिन्न । हामी छिट्टै उद्घाटनको तयारीमा जुट्छौँ ।’
शाक्यले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा ४५८सहित देशभर २ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
Swoniga Online – Rosni | २०७८ आषाढ १५, मंगलबार वर्गीकृत
काठमाडौं । काठमाडौं उपत्यकामा आज ४५८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० गरी ४५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर २ हजार ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ३४८जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७२५९ पीसीआर र ४४८९ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ७४८ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआरमा १७२८ र एन्टीजेनमा ९०८ जनालाई पोजेटिभ देखिएको छ ।
नेपालमा अहिलेसम्म ६ लाख ७० हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ९२ हजार ५३५ जनाले कोरोना जितेका छन् भने ९ हजार ७१ जनाको मृत्यु भएको छ । अहिले ३५ हजार ३१० जना संक्रमित आइसोलेसनमा रहेका छन् ।
भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने
Swoniga Online – Rosni | २०७८ आषाढ १५, मंगलबार वर्गीकृत
काठमाडौँ । भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानहरूबाट मात्रै कोभिड–१९ सङ्क्रमितको निःशुल्क उपचार हुने भएको छ। सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका मेडिकल कलेजहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएपछि अब सरकारी र अस्पताल र प्रतिष्ठानबाट मात्रै निःशुल्क उपचार हुने भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि, सम्झौता गरिएका मेडिकल कलेजहरूलाई आजसम्म भर्ना भएकाहरूको आजकै मितिले १० दिनसम्मको शोधभर्ना रकम उपलब्ध गराइने र भोलिदेखि भर्ना भएका कोभिड सङ्क्रमितको उपचार गोरेबापतको शोधभर्ना रकम उपलब्ध नगराइने जानकारी दिएको छ । साथै, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई कोभिड सङ्क्रमितको उपचारमा सरकारले तोकेभन्दा बढी शुल्क नलिन पनि मन्त्रालयले आग्रह गरेको छ।
सरकारले यसअघि विभिन्न निजी अस्पतालहरूसँग सम्झौता गरी कोभिड सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो। सामान्य सङ्क्रमितको उपचार गरेबापत तीन हजार ५००, अक्सिजनसहितका सङ्क्रमितको सात हजार र सघन उपचार गरेबापत १५ हजार दैनिक प्रतिव्यक्ति रकम उपलब्ध गराउँदै आएको थियो ।
यातायात व्यवसायीको चेतावनी : असार १८ गतेदेखि सबै सार्वजनिक यातायात चलाउँछौं
Swoniga Online – Rosni | २०७८ आषाढ १५, मंगलबार वर्गीकृत
काठमाडौं । निषेधाज्ञा खुकुलोसँगै स्थानीय प्रशासनले सार्वजनिक सवारीमा लागू गरेको जोरबिजोर प्रणालीको यातायात व्यवसायीले विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सबै सार्वजनिक यातायात असार १८ गतेदेखि संचालन उद्घोष गरेका छन् ।
सरकारले काठमाडौं उपत्यकामा भएका ६ लाख सर्वाजनिक यातायातमध्ये २५ सिट क्षमताभन्दा माथिका मात्रै सञ्चालन गर्ने भनेपछि १२ हजार मात्रै सञ्चालन हुने भएकाले सरकारको निर्णयको विरोध गरेको व्यवसायीको भनाइ छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारको ठूला सवारीसाधनमात्रै सञ्चालन गर्ने निर्णयले थोरै सवारीसाधन संचालन हुँदा भीडभाड भएर कोरोनाको जोखिम बढ्ने भएकाले सबै असार १८ गतेबाट सवारीसाधन सञ्चालन गर्ने बताए ।
राईले भने, ‘ठूला बसहरूले पनि क्षमताभन्दा आधामात्रै यात्रुलाई सेवा दिइने भनिएको छ । गाडी पनि थोरै सञ्चालन हुने, अनि त्यसमा पनि क्षमता अनुसार यात्रु हाल्न नपाउँदा अझ कोरोना संक्रमण वृद्धि हुने जोखिम हुन्छ । कोरोनाको संक्रमण कम गर्न पनि सबै सार्वजनिक सवारीसाधन संचालन गर्नुपर्ने अवस्था आएको छ ।’
अनामनगरको सरकारी जग्गामा बनेका टहरा महानगरपालिकाले हटाइदियो
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ १५, मंगलबार वर्गीकृत
काठमाडौँ । अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी काठमाडौँ महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएर विभिन्न गतिविधि गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ती टहरा हटाइदिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौँ महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिनुभयो ।
‘हामीलाई जानकारी भए अनुसार करीब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरुले त्यहाँ टहरा बनाउनु भएको रहेछ,’ ज्ञवालीले भन्नुभयो, ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ–जिडाइन तयारी अवस्थामा छ। हामीले काम अघि बढाउन उहाँहरुलाई पटक–पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ ।’
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटक–पटक उहाँहरुलाई आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको जानकारी दिनुभयो । ‘उहाँहरुको अभियानप्रति हाम्रो विमती छैन,’ सापकोटाले भन्नुभयो, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन ।’
हामीले उहाँहरुलाई पटक–पटक आग्रह गरेका छौँ । तर, उहाँहरुले हाम्रो आग्रहलाई बेवास्था गरेपछि बाध्य भएका हौँ ।’
उहाँले पनि अब त्यो स्थानमा हरियाली पार्क निर्माण हुने बताउनुभयो । टहरा हटाउने सिलिसिलामा केही झडप समेत भएको थियो भने अवरोध गर्ने केही पक्राउ परेका छन् ।
उपत्यकामा असार २१ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइँदैन ?
Swoniga Online – Rosni | २०७८ आषाढ १४, सोमबार वर्गीकृत
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै एक साता थपिएको छ । सोमबार उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलो बनाएर असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार मंगलबारदेखि सार्वजनिक यातायातसमेत जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार विभिन्न व्यवसायमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।
अब २५ सिट क्षमता बढी भएका सार्वजनिक यातायातका सवारीसाधन बिहान ६ बजेबाट बेलुका ७ बजेसम्म चल्न पाउनेगरी निषेधाज्ञा खुकुलो भएको छ । त्यस्तै, औषधि तथा स्वास्थ्य सामग्री, सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाउने भएका छन् । त्यस्तै खाद्यान्न दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरीरपुस्तक पसलहरू बिहानदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् ।
डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) र निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) लगायत अन्य पसलरव्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै, अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेष्टुरेण्ट एंव फास्टफुड तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कशपहरू साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने नयाँ आदेशमा उल्लेख छ । पसल तथा व्यवसाय सञ्चालन सञ्चालन गर्न कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्ने, अनपवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।
यी क्षेत्र बन्द
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न रोक लगाइएको छ । खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न नपाईने भनिएको छ । यस्तै शैक्षिक संस्थाहरु विघालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन परीक्षाहरु संचालन गर्न गराउन नपाउने भनिएको छ ।
वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमा मेयरसँगै जनप्रतिनिधि, फलफुल र १२ हजार विशेष भत्ता
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ १३, आइतबार वर्गीकृत
काठमाडौं । केही दिन अघि लौरोको सहायतामा काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा भेटिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता थाप्न त्यहाँ आउनु भएकी लामाको मुहारमा बिचित्रको चहक छाएको थियो । ‘९० सालमा जन्मिएकी हुँ, ८८ वर्षकी भएँ । काम गर्न सक्दिन, यो भत्ता मेरा लागि साहारा बनेको छ,’ चिम्सा आँखासहित चमकदार अनुहार बनाउँदै लामाले भन्नुभयो, ‘मेयरज्यु र काठमाडौँ महानगरपालिकालाई धेरैधेरै धन्यवाद । हामी डाँडामाथिका घाँम भइसकेकाहरुका लागि लौरोसँगै यो भत्ता पनि सहारा बनेको छ । म बहुत खुशी छु ।’
त्यसो त बाथ रोगी ७८ वर्षीया श्रीमती तेजकुमारीसँगै महानगर विशेष भत्ता थाप्न वडा कार्यालय पुग्नुभएका ८० वर्षीय दिपकराज पुडासैनीको पनि मुहारमा निकै चमक थियो । एकै पटक परिवारका दुई जनाले २४ हजार भत्ता थापेपछि उत्साहित हुँदै पुडासैनीले भन्नुभयो,’ ‘यो भत्ता कसैलाई दिने होइन । यसले इच्छा लागेको खाने कुरा किनेर खाने हो । श्रीमती वाथ रोगी छिन् । नियमित औषधी खानुपर्छ । यहि पैसाले औषधी किन्ने हो ।’
पुडासैनीले पनि लामाले जस्तै महानगरपालिकाले सम्मान स्वरुप दिएको भत्ताले आफूहरु खुशी भएको बताउनुभयो । पुडासैनीसँगै बस्नु भएकी तेजकुमारीले दिपकका कुरा नसिकदैँ आखाँ तेज बनाउँदै भन्नुभयो, ‘मैले पहिलो पटक महानगरपालिकाले दिएको विशेष भत्ता थाप्न पाएँ । औधी खुशी छु । यो हाम्रो उमेरका नागरिकका लागि साहरा हो ।’
वडा नम्बर–१८ नरदेवीमा भत्ता थाप्न आउनु भएका ८८ वर्षीय इन्द्रलाल महर्जनको पनि खुशी लामा र पुडासैनीसँगै मिल्दो–जुल्दो छ । ८२ वर्षीया आशमाया महर्जनसँगै भेटिनुभएका इन्द्रलालले महानगरले एकमुष्ठ दिएको १२ हजार विशेष भत्ताले नियमित सेवन गर्दै आएको औषधी किन्ने, फलफुल खाने बताउनुभयो । जेष्ठ नागरिक अशोककुमार हुँमागाई, गुणराज सुवेदी र खड्गबहादुर पौडेलले एकै स्वरमा महानगर विशेष ज्येष्ठ नागरिक भत्ताले धेरै ठूलो सहायता भएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकालाई धेरैधेरै धन्यवाद र शुभकामना भन्न चाहन्छौँ,’ उहाँहरुले भन्नुभयो, ‘काठमाडौँ महानगले हामीलाई सम्मान गरेको छ । यो रकम भन्दा पनि हामीलाई गरेको सम्मान ठूलो कुरा हो । यस्तो सम्मानले हामीलाई अझै धेरै बर्ष बाँच्ने रहर पलाएको छ ।’
काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो चुनावी घोषणपत्र अनुसार नै आफु निर्वाचित भएर आएपछि महानगरपालिका भित्रका ७५ वर्ष पुगेका जेष्ठ नागरिक महिला र ८० वर्ष पुगेका जेष्ठ नागरिक पुरुषलाई वरिष्ठ जेष्ठ नागरिक भत्ता दिने घोषणा गर्नुभएको थियो । महानगरपालिकाले अघिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेटमै गरेको व्यवस्था अनुसार ०७७ फागुन मसान्तसम्म ७५ पुगेका महिला–पुरुष दुबै जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता एकमुष्ठ दिदैँ आएको छ ।
यो वर्ष मात्रै काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडाका ११ हजार २ सय ७६ जनालाई वरिष्ठ जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने तयारी भएको महानगरपालिकाले जानकारी दिएको छ । ‘७५ बर्ष उमेर पुगेका र काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने वरिष्ठ ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँका दरले बार्षिक एकमुष्ट १२ हजार रुपैयाँ प्रदान गर्दै आएका छौँ,’ विभिन्न वडामा महानगर विशेष भत्ता वितरणमा सहभागी हुनुभएका प्रमुख शाक्यले भन्नुभयो, ‘अहिले विश्व नै कोभिडको कहरमा छ । यस्तो बेलामा बढी भिडभाड नहोस भनेर हामीले स्वास्थ्य मापदण्डको ख्याल गर्दै सकेसम्म उहाँरुको स्वास्थ्य अवस्थालाई पनि ध्यानमा राखेर घर–दैलोमै पुगेर विशेष भत्ता प्रदान गरिरहेका छौँ ।’
उहाँले कोही पनि जेष्ठ नागरिकले मेरो कोही छैन भन्ने महसुस गर्नु नपरोस् भनेर यो भत्ता प्रदान गरेको पनि जानकारी दिनुभयो ।
उहाँले जेष्ठ नागरिकले जीवनको उर्वर समय समाज र परिवारका लागि बिताएको भन्दै पाको उमेरमा बेसहारा भएँ भन्नु नपरोस् भनेर भत्ताको व्यवस्था गरेको बताउनुभयो । ‘हामीले उहाँहरुका लागि जेष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गरिरहेका छौं । सहरका कोही पनि जेष्ठ नागरिकले अब एक्लो महसुस गर्नुपर्दैन,’ उहाँले भन्नुभयो ।
शाक्यले परिवारका लागि मात्रै होइन देशका लागि समेत विशिष्ठ योगदान गरेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप सानो सहयोग गरेर काठमाडौँ महानगरपालिकाले आफ्नो दायित्व निर्वाह गरेको स्मरण गराउनुभयो । काठमाडौँ महानगरपालिका वडा नम्बर–९ की वडा सदस्य श्रृजना भेटवालले वडाका सबै वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमै पुगेर भत्तासँगै फलफुल वितरण गरेको जानकारी दिनुभयो । ‘कोभिड कहरका कारण बढी भिडभाड नहोस भनेर हामीले उहाँहरुको टोल–टोल र घर–दैलोमै पुगेर यस प्रकारको भत्ता वितरण गरिरहेका छौँ ।’ गत बर्र्ष १ हजार ९ सय ३६ पुरुष र ५ हजार ६ सय २१ महिला गरी ७ हजार ५ सय ५७ जनालाई महानगरपालिकाले यस्तो प्रकारको भत्ता उपलब्ध गराएको थियो । यो भत्ता सामाजिक सुरक्षा भत्ता बाहेकको भत्ता हो । महानगरमा गएको बर्ष ४९ हजार ६ सय ८४ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए


