add
Display Style: 
Column Style

संस्कृति संरक्षणमा पत्रकारिताको भूमिकाको चर्चा

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरको आठौं वार्षिक साधारण सभा पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको विहीबार जावालाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कुल देवता परिसर ताम्रकार समाजमा सम्न्न आठौं वार्षिक साधारण सभाका वक्ताहरुले सो कुरा बताएका हुन् ।उनीहरुले संस्कृति सम्पदा संरक्षणमा पत्रकारिता भूमिकालाई अझ प्रभावकारी बनाउन पत्रकारहरुमा सांस्कृतिक संवेदनशीलता बारे अझ सचेतना अभियान थाल्नुपर्नेमा पनि जोड दिएका छन् ।

सभाको उद्घाटन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले शाखाले ललितपुरको ठोस, सामाजिक सांस्कृतिक परिवेशमा लोपोन्मुख नवदुर्गा नाच गथुँ प्याखँ र पाय (खड्ग) जात्रा सञ्चालनका लागि पैरवी पत्रकारितासंगै संयोजनकारी भूमिका निर्वाह गरेकोमा सराहना गर्नुभयो । पत्रकारितालाई अझ जिम्मेवार र स्थानीय सरोकारमा सम्बन्धित निकायको ध्यानाकर्षणको लागि शाखाले भविष्यमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले भाषा, संस्कृति र सम्पदाप्रतिको संवेदनशीलतालाई पत्रकारिताको माध्यमबाट उठान गर्न शाखाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दैै ललितपुरका जातीय समाज र पत्रकारहरुबीचको एकजुट भएर ललितपुरलाई सांस्कृतिक नगरीको रुपमा विकास गर्न अघि बढ्नुपर्ने खाँचो औल्याउनुभयो ।

सभामा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपालको पहिलो मातृभाषाको पत्रकार धर्मादित्य धर्माचार्यको योगदानलाई जनजनमा पु¥याउन र मातृभाषाको पत्रकारिताको विकासको लागि स्थानीय तहसंग मिलेर ठोस कार्यहरु गर्दै जानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति महिलाहरु अझ कम रहेको उल्लेख गर्दै उपाध्यक्ष रचना श्रेष्ठले महिला पत्रकारहरुको संख्या बढाउनुपर्ने खाँचो औल्याउनुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनील महर्जनले स्थानीय तहमा जनप्रतिनिधिविहीन हुँदा स्थानीय सरोकारको विषयमा प्रहरी प्रशासनसंगै स्थानीय निकायको ध्यानाकृष्ट गराउन शाखाले निर्वाह गरेको भूमिका आजका दिनमा झन् महत्व बढेको र पनि उतिकै खाँचो रहेको बताउनुभयो ।

ललितपुरलाई सांस्कृतिक नगरी भनिएपनि जात्रा, पर्व र सम्पदा क्षेत्रमा पर्याप्त बजे विनियोजित नगरेको तथ्य उल्लेख गर्दै महासचिव महर्जनले स्थानीय तहलाई जिम्मेवार बनाउन शाखाको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो ।सभामा कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरु बिरामी वा दीर्घ रोग भएमा आर्थिक सहयोगको लागि खडा गरिएको अक्षयकोष रकम १५ लाखबाट बढाएर ५० लाख रुपैयाँ पु¥याउने प्रतिबद्धता दोह¥याउनुभयो ।

सो अवसरमा सचिव विकास मालीले प्रगति प्रतिवेदन र कोेषाध्यक्ष सुनील बज्रचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । स्वर्गीय अग्रज पत्रकार विक्रम शाक्यको स्मृतिमा एक मिनेट मौन धारण गरी शुरु गरिएको सो सभामा शाखाका अध्यक्ष सागर महर्जन, उपाध्यक्ष प्रशान्त माली र सहसचिव मञ्जु बज्राचार्य लगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै पत्रकारितालाई आवाजविहीनको आवाज बनाउन शाखाले विगत आठ वर्षयता निर्वाह गरेको भूमिकाको निचोड निकाल्दै संस्कृति, सम्पदा संरक्षणमा ठोस काम गर्नु अहिलेको उपलब्धि रहेको बताएका थिए ।

निशुल्क शिविरबाट ७ सय जना लाभान्वित

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

ललितपुरमा लगातार ६ सातासम्म सञ्चालित बृहत निशुल्क स्वास्थ्य शिविरमा करिब ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

ललितपुर महानगरपालिका– १६ ले अरनिको समाजसंग मिलेर माघ १७ देखि फागुण २२ गते शनिबारसम्म प्रत्येक साता वडाका विभिन्न स्थानमा सञ्चालित शिविरबाट सो संख्यामा मानिसहरु लाभान्वित भएका हुन् ।शनिबार ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालित शिविरमा ९० वर्ष नाघेका तीन जनासहित १ सय ६० जना लाभान्वित भएको वडाका सदस्य एवं ज्येष्ठ नागरिक समितिका संयोजक पञ्चबज्र बज्राचार्यले जानकारी दिनुभयो। मधुमेह, पिसाब, पेट तथा कलेजो, र जनरल रोगको हिजो जाँच गरिएको थियो ।

कोरोना संक्रमण तीब्र गतिले फैलिरहेको बेला नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका स्थानीयहरु शिविरबाट बढीभन्दा बढी लाभ लिएको पाइएको अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष चैत्र ११ देखि शुरु भएको लकडाउन, त्यसपछिको निषेधाज्ञा र कोरोनाको संक्रमण हुने डरले अस्पताल, स्वास्थ्य क्लिनिकमा गएर जँचाउने मानिसहरुको संख्यामा कमी आएको थियो । त्यसमा पनि विशेषतः बालबालिका र ज्येष्ठ नागरिकहरु घरबाटै निस्किएको थिएन। यस्तो अवस्थामा आफ्नै घर, आगँनमा लगातार शिविर सञ्चालन समयको माग र आवश्यकता सिद्ध भएको पनि वरिष्ठ नशारोग विशेषज्ञ समेत रहनुभएका समाजका अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

शिविरबाट मानिसहरुले आफूलाई रोग बारे सामान्य जानकार, थप उपचारको चिकित्सकहरुबाट आवश्यक सल्लाह सुझाव पाएको पनि डा अमितमणी उपाध्यायले बताउनुभयो ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँच र आर्थिक स्तर कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी वडाले स्वास्थ्य शिविर सञ्चालन गरेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो। ‘ अरनिको समाजमा आबद्ध चिकित्सकहरुसंग एकदिन भेटघाट हुँदा अहिले शिविरको खाँचो रहेको कुरा उठेको थियो । त्यसपछि वडा समितिको बैठक बसेर शिविर सञ्चालन गर्ने निर्णय ग¥यौं ।’ स्वास्थ्य सेवालाई जनमुखी बनाउन महानगरपालिकाले पहल गर्नुपर्ने पनि वडाअध्यक्ष शाक्यको जोड रहेको छ ।

गत माघ १७ गते मंगलबजारमा भएको पहिलो शिविरमा नशा तथा हाडजोर्नीको परीक्षण गरिएको थियो । दोस्रो माघ २४ गते बुबहालमा मुटु रोग सम्बन्धी, तेस्रो फागुण १ गते बालिफल (अशोक हलमा) बाल तथा छाला रोग सम्बन्धी र चौथो फागुण ८ गते नागबहालमा स्त्रीरोग सम्बन्धी शिविर भएको थियो । पाँचौ फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर सञ्चालन गरिएको थियो । शिविरमा आवश्यकता अनुसार अल्टासाउण्डबाट जाँच पनि गरिएको थियो ।

प्रत्येक शिविरमा आवश्यकता अनुसार निशुल्क औषधी वितरण गरिएको र ४५ वर्ष नाघेका ३० जना महिलाहरुको पायप्स्मेर परीक्षण गरिएको समाजका महासचिव डा. सुशील प्रजापतिले जानकारी दिनुभयो ।अभियानकै रुपमा ललितपुरको ‘कोर सिटी’ मा लगातार स्वास्थ्य शिविर सञ्चालन भएको यो नै पहिलो पटक रहेको वडा र सम्बद्ध चिकित्सकहरुले दाबी गरेको छ ।

शिविरको समापन समारोहमा त्यसको सफलताका लागि सहयोग गर्ने चिकित्सक, नर्स, औषधी व्यवसायी, वडाको स्वास्थ्य कार्यान्वयन समिति महापाल र धौैगलका स्वास्थ्य सेवक, व्यवस्थापन सहयोगी युवा स्वयंसेवक र सञ्चारकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियोे । सो अवसरमा वडाका वडा सदस्य एवं ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्य सुप्रभा शाक्यले शिविरको सफलताको लागि विभिन्न पक्षहरुसंगै स्वास्थ्य स्वयं सेवक महिलाहरुको ज्ञान, अनुभव र सक्रियता पनि निकै महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

१३ वटा पत्रकार संगठनद्वारा संयुक्त विज्ञप्ति जारी,

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

महासंघको चुनावलाई मध्यनजर गर्दै १३ वटा पत्रकार संगठनद्वारा संयुक्त विज्ञप्ति जारी, पाँच बुँदे प्रतिवद्धता  

 नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै १३ वटा पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विभिन्न राजनीतिक पार्टी र स्वतन्त्ररुपमा संक्रिय संगठनहरुले पाँच बुँदे प्रतिवद्धतासहित सोमबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् । 

नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तीनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागतरुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दवावको लागि राष्ट्रिय अभियान चलाउने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 त्यसैगरी नेपाल पत्रकार महासंघलाई साझा बनाउन सबै संघसंगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुनेगरी सबै संगठनलाई प्रतिवद्धताका लागि आह्वान गर्ने र आफूहरुको तर्फबाट नेतृत्वदायी भूमिकामा सुनिश्चित गराउन अन्य सबै संघ÷संगठनहरुसँग वार्ता–संवाद थाल्ने निर्णय समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

संयुक्त विज्ञप्तिमा राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष  विनोद पहाडी,  क्रान्तिकारी पत्रकार संगठन, नेपालका महासचिव बाबुराम भुसाल, प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर बिक, जागरण मिडिया सेन्टरका अध्यक्ष रेशबहादुर बिक, लोकतान्त्रिक छापामााध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, संचार गृहका पीडित पत्रकार÷कर्मचारी संयुक्त संघर्ष समितिका अध्यक्ष धमेन्द्र कर्ण, स्थानीय पत्रकार नेपालका अध्यक्ष शंकरप्रसाद ज्ञवालीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, स्वतन्त्र पत्रकार संगठन नेपालका संयोजक एलएस लामा, देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्र प्रसाई, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी र अनलाइन मिडिया नेटवर्ककाका महासचिव लोकश लिवाङ लिम्बुले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

यस्ता छन् पाँच बुँदे प्रतिवद्धता 

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा हामी तपसिलका सञ्चार सम्बद संघ÷संगठनहरु एकतावद्ध भई महासंघको चरित्रलाई साझा र स्वरोजगार एवं श्रमजीवीमैत्री बनाउन हामीहरु दृढ संकल्पित छौं, निम्न लिखित ५ बुँदे संकल्प र प्रतिवद्धता पूरा गर्न हामी सहमत भएका छौं ।

१)  नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तिनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागत रुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दवावसहितको राष्ट्रिय अभियान चलाउने ।

२ ) महासंघलाई श्रमजीवी पत्रकार र स्वरोजगारकर्मीहरुको अभिभावक संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने, साथै साना तथा स्वरोजगार मिडिया र ‘न्यु मिडिया’को संरक्षण र प्रवद्र्धनमा निर्णायक भूमिका खेल्ने ।

३) श्रमजीवी पत्रकारहरूको पेशागत, भौतिक, सामाजिक एवं अर्थ सुरक्षाका लागि महासंघको जारी आन्दोलनलाई अझ उन्नत स्तरमा उठाउन हाम्रा संगठनका सबै तह र निकायलाई परिचालन गर्ने, मुद्दामा सहमत सबै संघ÷संगठनसँग दिर्घकालीन सहकार्य गर्दै दवावमूलक अभियान चलाउने ।

४) पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, नागरिकका राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारको ग्यारेण्टी, मिडियामैत्री कानुन निर्माण र श्रमजीवी मैत्री ऐन बनाउन एवं सञ्चार क्षेत्रलाई पारदर्शी, आत्मनिर्भर, विस्वसनीय बनाउन पहल गर्ने । 

५) महासंघलाई साझा बनाउन सबै संघ संगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुने गरी सबै संगठनलाई प्रतिवद्धताका लागि आव्हान गर्ने । हाम्रा संघ÷संगठनका तर्फबाट नेतृत्वदायी भूमिकामा सुनिश्चित गराउन अन्य सबै संघ÷संगठनहरुसँग वार्ता–संवाद थाल्ने ।

स्वास्थ्य शिविरमा पनि महिलाहरुको स्वास्थ्यप्रति सोही दृष्टिकोणलाई पुन प्रमाणित

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

शहरी क्षेत्रमा समेत महिलाहरु लाज र संकोचले गर्दा आफूलाई परेको स्वास्थ्य समस्याबारे समयमै परीक्षण गराउन हिचकिच्चाउने गरेको पाइएको छ ।

ललितपुरको नागबहालमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा पनि महिलाहरुको स्वास्थ्यप्रति सोही दृष्टिकोणलाई पुन प्रमाणित गरेको धारणा चिकित्सकहरुले अघि सारेका छन् । ललितपुर महानगरपालिका वडा नं १६ ले अरनिको समाजसंग मिलेर सो शिविर आयोजना गरेको हो ।बृहत निशुल्क स्वास्थ्य शिविरको अभियान अन्तर्गत चौथो साता स्त्री रोग सम्बन्धी शिविर सञ्चालन गरिएको हो । महिलाहरुको तल्लो पेट दुख्ने, पाठ्यघर, गर्भ तुहिएपछिको अवस्था, स्तन, महिनावारी लगायतकोे जाँच गरिएको थियो ।शिविरबाट ८० जना महिला लाभान्वित भएका थिए ।

‘गाउँघरमा मात्र होइन, शहरमा पनि समाजले केही भन्लान् वा थाहा पाउँलान् भनेर आफ्नो रोग लुकाउने वा बेवास्ता गर्ने गरेको पाइएको छ । आफ्नो रोगबारे परिवारसंग खुलेर कुरा राख्ने र समयमै परीक्षण गराउने हो भने धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।’ डा. चुनुमिला महर्जनले भन्नुभयो । डा. महर्जनका अनुसार महिलाहरुले आफ्नो जीवनशैलीमा परिर्वतन गर्नुपर्ने, पर्याप्त मात्रामा पानी पिउने, व्यायाम गर्ने, विभिन्न रोगबारे सजग भइरहनुपर्ने बारे स्वास्थ्य परीक्षण गर्न आउनेहरुलाई सल्लाह दिएको बताउनुभयो ।

डा मर्हजन सहित डा.रश्मि महर्जनले रोग परीक्षण गर्नुभएको थियो भने रोगबारे डा. सर्वोेत्तम श्रेष्ठ, डा सुशील प्रजापति र डा. कृष्णगोपाल महर्जनले बिरामीहरुलाई स्वास्थ्य सल्लाह दिनुभएको थियो । सो शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो भने ३० जना महिलाको पायप्स्मेर जाँच गरिएको समाजले जनाएको छ ।

स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियानकैै रुपमा गत माघ १७ गते शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यका अनुसार शिविरबाट १६ वडाका साथै आसपासका वडाहरु क्रमशः ८,९, ११, १२, १९ र २० का मानिसहरु पनि लाभान्वित भएका छन् ।

वडाका वडा सदस्य पञ्चबज्र बज्राचार्यका अनुसार आउँदो शनिबार दौबहालमा पेट तथा कलेजोको शिविर सञ्चालन हुने छ । सो शिविरमा अल्ट्रासाउण्ड बाट बिरामीको स्वास्थ्य परीक्षण गरिने छ । छैटौं तथा अन्तिम शिविर ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर फागुण २२ गते सञ्चालन हुने वडाका ज्येष्ठ नागरिक समितिका संयोजक समेत रहनुभएका वडा सदस्य बज्राचार्यले जानकारी दिनुभयो । सो शिविरमा नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी पनि परीक्षण गरिने छ ।

क्षत्रपाटी निःशुल्क चिकित्सालय लिफ्ट जडान

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरको ३० लाख आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालय लिफ्ट जडान 

काठमाडौँ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु भएको छ । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटीमा अवस्थित निशुल्क चिकित्सालयको ६४ औँ वार्षिक उत्सवको अवसरका काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले लिफ्टको उद्घाटन गर्नुभएको हो । करीब ४५ लाखको लागतमा निर्माणाधिन लिफ्ट निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।  

उद्घाटनपछि सम्वोधन गर्दै प्रमुख शाक्यले, काठमाडौंमा ठूला र विशेषज्ञ सेवा दिने अस्पतालकाबीच भित्री सहरी क्षेत्रका स्थानीयलाई सेवा दिने लक्ष्य राखेर सञ्चालनमा रहेको चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।  ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ठूला–ठूला राष्ट्रियस्तरका अस्पताल छन् । ती अस्पतालमा ७७ वटै जिल्लाका नागरिकले सेवा लिइरहेका हुन्छन्,’ शाक्यले भन्नुभयो तर, यो भित्री सहरमा अवस्थित चिकित्सालयबाट यहाँका नागरिकले बढी सेवा लिइरहेका हुन्छन् । महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुन्छ । तपाईँहरुले पनि त्यो महशुस हुने गरी काम गर्नुहोला । सहयोग गर्न महानगरपालिका तयार छ ।’

शाक्यले जति सहयोग आयो त्यतिको काम गर्ने बाँकी योजना अधुरो छाड्ने नगर्न पनि सुझाव दिनुभयो ।  

चिकित्सालयको नयाँ भवन निर्माणका लागि महानगरले चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।  

३ सय विरामीलाई दैनिक ओपिडीमार्फत स्वास्थ्य सेवा दिदैँ आइरहेको सो २५ शैयाको अस्पतालमा लिफ्ट जडानसँगै थप सहज भएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिनुभयो । ‘यो अस्पतालबाट नाक, कान घाँटी, दन्त सेवा, मुटु रोगलगायत जटिल खालका रोगमा बिशेषज्ञ सेवा दिइरहेका छौं,’ डाक्टर श्रेष्ठले भन्नुभयो, ‘भित्री सहरका नागरिकलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको यो अस्पतालले आगामी दिनमा थप सेवा विस्तारको योजना अघि सारेको छ । सेवा विस्तारका लागि महानगरबाट प्राप्त सहयोगले हामीलाई अगाडि बढ्न ठूलो हौसला प्राप्त भएको छ । ‘२०१३ सालमा स्थापनाको चिकित्सालयमा अहिले २५ शैया छन्,’ डाक्टर श्रेष्ठले भन्नुभयो, ‘ती बेडहरु माथिल्लो तलामा भएकोले सेवा प्रवाहमा कठिन थियो । लिफ्ट जडानसँगै सेवा सहज हुने अपेक्षा गरेका छौँ ।’ चिकित्सालयले भूमिगत २ तलासहित १० तले भवन बनाउने योजना कार्यान्वयन चरणमा पु¥याएको पनि उहाँले जानकारी दिनुभयो ।

केशचन्द्रवृmत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा रहेको श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गरेका छन् ।

मेयर शाक्यले उद्घाटनपछि मूर्त÷अमूर्त अभियानअन्तर्गत आप्mनो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको जानकारी दिए । मेयर शाक्यले मूर्तमात्र होइन अमूर्त सम्पदाको संरक्षणमा पनि काम भइरहेको छ, भने ।

मेयर शाक्यका अनुसार पुननिर्माण गरेर देवाद्यः छेँ श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजलाई सुम्मिसकेपछि अब महानगरपालिकाको काम सकिएको छ । उहाँ भन्छन्– अब यसमा महानगरपालिकाले हस्तक्षेप गर्ने छैन । अबदेखि यसको संरक्षण गर्ने जिम्मेवारी केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजको हो । काठमाडौँको मुटुमा रहेको इतुम्बहाःमा काठमाडौँ महानगपालिकाको सहयोगमा देवाद्यः छेँको पुननिर्माण भएको हो । जुन इतुम्बहाःका करीब १५० भन्दा बढी घरधुरीको इस्ट देवताको घरको रुपमा रहेको छ । सो देवाद्यः छेँको पुननिर्माण गर्न करीब दुई वर्षअघि शिलान्यास गरिएको थियो । 

केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादर शाक्यले इतुम्बहाःको गौरव र प्रतिष्ठाको रुपमा देवाद्यः छेँको पुननिर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । उनले यस क्रममा श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार नेपाल मण्डलकै समृद्ध र सुविधायुक्त महाविहार हो, भनेका छन् ।

यसैगरी, महाविहार संरक्षण समाजका महासचिव प्रज्ञारत्न शाक्यले मूर्त सम्पदाको रुपमा रहेको देवाद्यः छेँको पुननिर्माण सकिएपनि यस समाजमा रहेका कैयौँ अमूर्त सम्पदाको संरक्षण र जगेर्णा गर्न बाँकी रहेको भनाई राखे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाएका छन् । खनाल र नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलले ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध आपत्ति जनाउँदै बक्तव्य नै जारी गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको फैसला अनुसार एमाले पुनर्स्थापित भएको हो । तर, अहिले जस्तो गतिविधि भइरहेको छ, त्यसप्रति आपत्ति छ’, एक स्थायी कमिटी सदस्यले भने ।

खनाल नेपाल समूहले एमाले सरकार बाँकी दुई वर्ष टिकाउन पहल गर्ने र त्यो सरकार वाम गठबन्धनको बनाउन लागि पर्ने निश्कर्ष निकालेको छ । यसअघि यो समूहको केन्द्रीय कमिटी बैठक र सांसदहरुको छलफलले पनि यही निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्रीओली र जसपा नेताहरुबीच भेटवार्ता

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ । वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्नेछ ।

प्रधानमन्त्री ओलीले अहिले त्यसै विषयमा जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरु राजेन्द्र महतो, र अशोक राई बिहीबार छलफलमा बसेका थिए ।

उनीहरुले साँझ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको जसपाका एक नेताले जानकारी दिए ।

देशभर ९७ जनामा कोरोना संक्रमण पुष्टि

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

४ हजार ४८४ जनाको नमुना परीक्षण गर्दा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।

उनीहरुमध्ये ३ हजार १२ जनाको मृत्यु भएको छ ।गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

यस्तै थप ६६ जनासहित हालसम्म २ लाख ७१ हजार ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९४२ रहेको मन्त्रालयले जनाएको छ ।

बौद्ध परम्परा ‘प्रवज्या संवर’बारे प्रवचन

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

नेवार समुदायभित्र बज्राचार्य एवं शाक्य जातिले गर्दै आएको विहार (संघ) प्रवेश गर्ने परम्परा प्रवज्या सबर (बरे छुइगु) बारे प्रा.डा नरेशमान बज्राचार्यले प्रष्ट पार्नुभएको छ । परम्पराबारे ज्ञानको कमी हुन थालेको र यसकारण परम्परा निरन्तरतामा समेत चुनौती थपिएकोप्रति ध्यान दिँदै जिसि आजु गुठी, रत्न केतु महाविहार झ्वाःबाहालले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बरे छुईगु अर्थात प्रबज्या सबर भनेको के हो ? किन गरिन्छ ?  र कसरी गरिन्छ ? भन्ने विषयमा लुम्बिनी बौद्ध विश्व विद्यालयको निवर्तमान उप कुलपति समेत रहनु भएका प्रा. डा. बज्राचार्यले बताउनु भएको हो । कार्यक्रममा प्रा.डा. बज्राचार्यले “आजीवन जिम्मेवारी वहन गर्ने प्रतिवद्धताका साथ सदस्यता प्राप्त गर्नु नै ‘बरे छुइगु’ परम्परा हो भन्नु हुँदै १० शील पालना गर्नु, समाधि (ध्यान) गर्ने अर्थात प्राप्त ज्ञानको चिन्तन मनन गरी साक्षात्कार गर्ने, तथा बौद्ध विद्यार्थी जीवनयापन गर्ने अभ्यासको आरम्भ नै प्रवज्या सबर हो ।” भन्नुभयो । 

प्रबज्या सबर (बरे छुईगु) बारे शैक्षिक कार्यक्रम आवश्यक भएको महशुस गर्दै आयोजना गरेको नेपाल सरकारका पूर्व सह–सचिव एवं समितिका सह–संयोजक÷संचालक आनन्दरत्न बज्राचार्यले बताउनु भयो । प्रा.डा. गौतमरत्न बज्राचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा गुथिका पाँच थकाली (ज्येष्ठ सदस्यहरु) अशोक रत्न बज्राचार्य, प्रा. डा. गौतम रत्न बज्राचार्य , मोहनमानन्द बज्राचार्य, सानुराजा बज्राचार्य र नरेन्द्र रत्न बज्राचार्यको उपस्थिति रहेको उक्त कार्यक्रममा गुथिका ६ जनाको प्र्रवज्या सबर हुन गइरहेको समेत जानकारी गराइएको छ । कार्यक्रम फागुन ५, ७, ८ र ११ गते हुनेछ ।

 

Pages