सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र १७, मंगलबार वर्गीकृत
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था आजदेखि चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताएका थिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याललगायतको सहभागिता थियो ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।
सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रकाबासिन्दाले फोहोर–मैला विसर्जनमा गरेको अवरोधप्रति काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण
Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ चैत्र १६, सोमबार वर्गीकृत
नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर–मैला विसर्जनमा गरेको अवरोधप्रति काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको बताएको छ ।
काठमाडौँ महानगरपालिकाले फोहोर लिन आउने गाडीमा फोहोरपठाई फाहोर व्यवस्थापन कार्यमा सहयोग गरी कोभिड–१९ जोखिम न्युनिकरण कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ । फोहोर मैला प्रभावित क्षेत्रका स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् ।
काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले एक विज्ञप्ति निकाल्दै यस्तो ध्यानाकर्षण भएको जानकारी दिएको हो । ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा–२ स्थित ल्याण्डफिल्ड साइटका प्रभावित बासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा २०७७ चैत १३ देखि अवरुद्ध गर्दै आएकोमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ ‘विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय बासिन्दाको माग सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सम्वन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक अपेक्षा गर्छ ।’
विज्ञप्तिमा ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दालाई फोहोरमैला विसर्जन कार्यमा सहयोग गर्न पनि अपील गरिएको छ । ‘फोहोरमैला विसर्जन कार्यमा सहयोग गरिदिनु हुन फोहोरमैला प्रभावित स्थानीयवासीसँग काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ,’ ‘विज्ञप्तिमै भनिएको छ, ‘साथै उपत्यकावासीले आ–आफ्नो घर–पसल–कलकारखाना–व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नुहुन र नकुहिने फोहोरलाई सडकमा जथाभावी नफाल्नुहुन अनुरोध छ ।
‘हामी सिसडोलबासीका मागप्रति सकारात्मक छौँ । हाम्रो तर्फबाट उहाँहरुका माग सम्वोधनका लागि सम्वन्धित निकायसँग निरन्तर छलफल जारी राखेका छौँ । शिक्षामन्त्रालय पनि उहाँहरुका माग जति सक्दो छिटो सम्वोधन गर्न प्रयासरत छ,’ काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले भन्नुभयो, ‘सिसडोलबासीलाई वार्ताका माध्ययमबाट समस्या समाधान गर्न आग्रह गरिरहेका छौँ ।
उहाँहरुले निरन्तर अवरोध गर्ने हो भने हामीले फोहोर विसर्जन कार्यका लागि थप कदम चाल्नुपर्ने हुनसक्छ ।’
थप ७७ जनामा कोरोना संक्रमण पुष्टि
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ८, आइतबार वर्गीकृत
पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार १८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ ।
उनीहरु मध्ये २ लाख ७१ हजार ९२१ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ नलिने
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ८, आइतबार वर्गीकृत
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् ।
नेता जोशीका स्वकीय सचिवले जोशीको परिवारले उक्त रकम नलिने बताएको छ ।
चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो ।
उनको अहिलेसम्म होस खुलेको छैन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
दिगु तलेजुका मूल पूजारीकाे रूपमा पुरूषाेत्तम नियुक्त
Swoniga Online – Birajkaji Rajopadhyaya | २०७७ चैत्र ८, आइतबार वर्गीकृत
काठमाडौंको दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो ।
शनिबार दिगु तलेजुका सहायक पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पुजारी पुरुषोत्तम सुवेदीलाई दिगु तलेजु मन्दिरमा भित्र्याए । दिगु तलेजुका सहायक पूजारी जोशी थकाली पुष्पमान जोशीको अनुपस्थितीमा नारायणमान जोशीले सुवेदीलाई दिगु तलेजु भित्र्याएका हुन् । सहायक पूजारी मदनराज जोशीको संयोजकत्वमा आज मूल पूजारी भित्र्याउने काम भएको हो ।
मूल पूजारी सुवेदीले आजैबाट नित्य पूजा पनि शुरु गरेका छन् ।
गत कार्तिक १९ गते दिगु तलेजुका तत्कालीन मूल पूजारी नारायण राज सुवेदी राजोपाध्यायको निधनपछि मूल पूजारी पद रिक्त रहेको थियो ।
यहाँको पूजा दिक्षा प्राप्त राजोपाध्यायले नै सम्पन्न गर्नुपर्ने भएको हुँदा मूल पूजारी पद रिक्त रहेको थियो । मूल पूजारी नहुँदा यहाँका जोशीहरुबाट पूजा सम्पन्न हुँदै आएको थियो ।
‘दिक्षा प्राप्त मूलपूजारी नभएको अवस्थामा समस्या भइरहेको थियो, आफ्नो पुर्खाले धानेको परम्परालाई निरन्तरता दिन आफुले योगदान दिन पाउँदा खुसी लागेको छ’ मूल पूजारी सुवेदीले भने ।
दिगुतलेजु मल्ल राजाहरुकी कुलदेवीको रुपमा लिइन्छ । विगतमा नित्य पूजामा राजाहरु स्वयम् नै उपस्थित रहने भनिएको छ ।
काठमाडौं हनुमानढोकास्थित तलेजु मन्दिरको बाहिर प्रतापमल्लको स्तम्भको ठीक अगाडि श्वेतभैरवको मन्दिरसँगै दिगु तलेजुको प्यागोडा शैलीको ६२ हात उचाइको कलात्मक मन्दिर रहेको छ । भाषावंशावलीअनुसार यो मन्दिर राजा शिवसिंह मल्लले बनाएका थिए । पछि वि.सं. १७२७ भाद्रमा राजा प्रतापमल्लले यस मन्दिरमा सुनको छाना र गजुर हाली मन्दिर जीर्णोद्धार गरेका थिए ।
कुलदेवता वा देवीलाई अलग्गै कोठामा राख्ने प्रचलन छ । कुलदेवता रहेको मन्दिरमा जो कोही पस्न नपाइने नियम रहन्छ र कुलदेवता वा देवीको पूजा गुप्त रुपमा गर्ने गरिन्छ । काठमाडौँको दिगुतलेजुकै अनुकरणमा पाटनमा दिगुतलेजु राजा सिद्धिनरसिंह मल्लले वि.सं. १६९७ फागुनमा बनाएका थिए ।
मिस नेवाः कृषा महर्जन सम्मानित
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ७, शनिबार वर्गीकृत
काठमाडौं महानगरपालिका वडा नं. १५ बस्ने कृषा महर्जन मिस नेवाः ११४१ को उपाधि जित्न सफल भएकोमा उनलाई बधाई दिने कार्यक्रम सम्पन्न भएको छ ।
नेवाः देय् दबू, १५ वडा समितिले सुश्री महर्जनलाई १५ वडाको सामुदायिक भवनमा नेवार परम्परा अनुरुप सगुन दिएर सम्मान गरेको थियो । मिस नेवाः ११४१ को उपाधि जित्न सफल महर्जनले नेवार जाति, भाषा र नेवार कला, संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्नका लागि कदम चाल्न सकोस् भनी सम्मानपत्रका साथै मायाको चिनो प्रदान गरी सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कामपा १५ वडाका वडाध्यक्ष एवं कामपा प्रवक्ता इश्वरमान डंगोल उपस्थित भएका थिए । उनले ने.सं. ११४१ मिस नेवाः हुन सफल कृषा महर्जनलाई सम्मानपत्र र मायाको चिनो हस्तान्तरण गरेका थिए । सम्मानका क्रममा डंगोलले काठमाडौं महानगरपालिकामा पाइलैपिच्छे धेरै सम्पदा रहेको र ती सम्पदाहरु संरक्षण गर्न सचेतना कार्यक्रम मिस नेवाः ११४१ कृषा महर्जनबाट सञ्चालन गर्ने बताए ।
‘नेवार भाषाका कारणले नै नेवार संस्कृति, सम्पदा संरक्षण भइरहेको छ । यस कुरालाई मनन गरेर कामपाबाट स्थानीय भाषाको माध्यमबाटकाठमाडौंका सम्पदा संस्कृति संरक्षणका लागि स्थानीय विद्यालयमा अनिवार्यरुपमा कक्षा १ देखि ८ सम्म ‘येँ देय् म्हसिके’ पाठ्य पुस्तक समावेश भएको हो ।’ प्रमुख अतिथि डंगोलले बताए ।
सम्मान कार्यक्रममा विशेष अतिथिका रुपमा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार उपस्थित रहेका थिए । उनले नेवार समाजमा छोरीहरुलाई अन्य समाजमा भन्दा आवश्यकता अनुरुप उच्च प्राथमिकता दिइ रहेको कारणले गर्व महसूस गरे । ‘मिस नेवाः ११४१ कृषा महर्जनले अब चाँडै हुन लागेको जनगणनामा नेवारहरुको संख्या कम हुन नदिन सचेतना कार्यक्रमबाट आफ्नो भूमिका खेल्ने विश्वास लिएको छु ।’ ताम्राकारले भने, ‘नेवाः देय् दबूको पहिलो वडा शाखा १५ वडा समितिले सम्मानित गरेकी कृषा महर्जनले समग्र नेवार जाति, भाषा, कला, संस्कृति उत्थानमा सफलता मिलोस् ।’
कार्यक्रममा अतिथिका रुपमा नेवाः देय् दबू बागमती प्रदेशका अध्यक्ष उमेश स्थापित, काठमाडौं महानगरपालिकाका अध्यक्षमचाराजा महर्जनका साथै सम्मानित मिस नेवाः ११४१ की बुबा कृष्णकाजी महर्जन र आमा हसना महर्जन पनि उपस्थित भएका थिए ।
कार्यक्रममा समितिकी सदस्य निर्मला डंगोलले स्वागत मन्तव्य राखेका थिए भने सभापति नेवाः देय् दबू १५ वडा कमितिका अध्यक्ष मनराजा रंजितले सम्मान कार्यक्रममा सहभागिता जनाएर टेवा दिनुभएका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन शिलन्यास
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ७, शनिबार वर्गीकृत
नुवाकोटको बेलकोटगढी नगरपालिका देउरालीमा सम्पदा संरक्षणको अभियानअन्तर्गत सामुदायिक भवन शिलन्यास गरिएको छ । वडा नं ६ नेपालथोकमा झिल्टुङ नेपाल समाजको पहलमा झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।
ऐतिहासिक महत्व बोकेको झिल्टुङ क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धनका लागि स्थानीयले गरेको प्रयास सह्रानिय रहेको उल्लेख गर्नुभयो ।
भवन निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा स्थानीय कला संस्कृति झल्किने झाँकी तथा साँस्कृतिक प्रस्तुती गरिएको थियो ।
आज काठमाण्डौका विभिन्न ठाउँमा केही समय बिजुली नआउने
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ७, शनिबार वर्गीकृत
नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारण बत्ती जाने जानकारी दिदैं आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा केही समय बिजुली नआउने भएको छ ।
बत्तीसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म ८ घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगङ्गा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा पनि लाइन मर्मत गर्न बिजुली काट्न लागिएको सूचनामा उल्लेख छ ।
यस्तै, बानेश्वर वितरण केन्द्र अन्तर्गतकाे कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल, सीसीआरसी कलेज, सूर्यकोट गेटसम्म बिजुली जाने प्राधिकरणले जनाएकाे छ ।
यी ठाउँमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ । सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काट्न लागिएको प्राधिकरणले जनाएको छ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ७, शनिबार वर्गीकृत
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।
त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ ।
माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा नजाने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलाउनुभएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल-खनाल समूह गएको थिएन ।
उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने नेपाल–खनाल समूहको भनाइ छ ।
महिला पत्रकार सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ६, शुक्रबार वर्गीकृत
विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहडा(दक्षिणी २०७५ ज्येष्ठ ९ गते) र तिब्बती मोहडा (उत्तरी २०७६ ज्येष्ठ ९ गते) दिन आरोहण गर्न सफल ललितपुरकी पत्रकार कल्पनाले विश्वको पहिलो महिला पत्रकार सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी छिन् ।
उनले सन् २०१९ मे २३ (उत्तरी २०७६ ज्येष्ठ ९ गते) का दिन शिक्षाको माध्यमबाट बालविवाह रोकथाम अभियानको उद्घोष सगरमाथाको शिखरबाट गरेका थिए ।
सगरमाथा आरोही कल्पना महर्जनलाई बुधवार ललितपुर महानगरपालिकाले नगर प्रमुख चिरिबाबु महर्जनको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र वर्ल्ड बुक अफ नेपालका अध्यक्ष सागर कटवालले संयुक्त रूपमा विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
पूर्वराष्टिपति रामवरण यादवले कल्पना नेपाल र नेपालीको लागि गौरव भएको बताए । शिक्षा मार्फत बालबिवहा रोकथामको लागि कल्पनाले गरेको कामको प्रशंसा गर्दै उनले वातावरण संरक्षणमा पनि काम गर्नुपर्ने धारणा राखे । उनले भने, ग्लोबल वार्मिड.ले हिमालहरू पंग्लिदै गएर काल पत्थर हुँदै गएका छन् । हिमालको हिउँ जोगाउन के गर्न सकिन्छ, त्यस तर्फ काम गर्नु अत्यावश्यक छ ।
सगरमाथा आरोही कल्पना महर्जनले सबैको सद्भाव, शुभेच्छा र सगरमाथा आरोहण व्यवस्थापन ऐक्स्पेरियन्स आउटसोर्स नेपालको कुशल ब्यवस्थापनले मात्र सफल आरोहण सम्भव भएको बताइन् । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरे पनि सामाजिक सगरमाथा चढ्न कठिन भइरहेको बताइन । उनले ललितपुरको सामुदायिक विद्यालय शिक्षा र बालबिवहा विरुद्ध काम गरिरहेको जानकारी दिइन् ।
त्यसै गरी ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरकी चेली कल्पनाले हिमाल चढेर विश्वमा नेपाल र ललितपुरको नाम उच्च बनाएको बताए । उनले ललितपुर महानगरपालिकाको खुल्ला क्षेत्र र हरियालीको लागि पार्कहरू निमार्ण गरिरहेको बताए । उपप्रमुख गीता सत्यालले महिलाले अवसर पाए चुनौतीपूर्ण भनिएका काम गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण कल्पना महर्जन भएको बताइन् । सगरमाथा चढेर कल्पनाले ललितपुरलाई विश्व सामु चिनाएको उनले दाबी गरिन् ।


