add
Display Style: 
Column Style

मातृभाषामा पत्रकारिता गर्नेलाई सरकारले प्रोत्साहन गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २१, सोमबार वर्गीकृत

भक्तपुर/ २१ जेठ : उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ।

आइतबार भक्तपुरमा भएको मातृभाषामा पहिलो अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो। उहाँले मातृभाषाको संरक्षण र विकासमा सरकारका निकायले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो।उहाँले मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहित गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।उहाँले मातृभाषाबाट सञ्चालन भएका सञ्चारमाध्यमप्रति सम्मान प्रकट गर्दै उहाँले यो प्रकाशन वा प्रसारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्नेछ। नेपाल सरकारको निकायले पनि यसमा ध्यान दिनु आवश्यक छ।मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले महत्त्व दिएर प्रोत्साहित गर्नु आवश्यक छ।मातृभाषाबाट सञ्चालन भएका मिडियालाई म सम्मान गर्न चाहन्छु ।’’, उहाँले भन्नुभयो।
मन्त्री श्रेष्ठले आदिवासी जनजातिका हराउँदै गएका मौलिकतालाई सङ्गठित भएर काम गर्नुले लोपोन्मुख संस्कृतिको जगेर्ना हुने विश्वास व्यक्त गर्नुभयो। 

'मातृभाषा पत्रकारिता सम्मेलनले अन्तरसांस्कृतिक सम्बन्ध र विविधताकाे प्रवर्द्धन हुनेछ।'

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २०, आइतबार वर्गीकृत

ललितपुर/ २० जेठ: प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा भाग लिने अधिकाँश वक्ताहरुले याे सम्मेलनबाट अन्तरसांस्कृतिक सम्बन्ध र विविधताकाे प्रवर्द्धन हुनेछ भन्ने धारणा राख्नुभएको छ ।  नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा शनिबारदेखि ललितपुरमा आयोजना गरिएको दुई दिवसीय अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनकाे उद्घाटन समारोहमा धारणा राख्नुहुने वक्ताहरुले मातृभाषामा पत्रकारिता गर्दा बहुभाषिक संस्कृतिलाई अझ सशक्त बनाउन मद्दत मिल्ने बताउनुभएको हाे ।
सार्क जर्नलिष्ट फाेरमका अध्यक्ष राजु लामाले प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा नै मातृभाषामा पत्रकारिताकाे अभ्यास गर्नेहरुलाई प्राेत्साहित गर्न सहयाेग पुर्‍याउने बतनउनुभयाे । "याे सम्मेलन सुरुवात भयाे, मातृभाषा पत्रकारिताकाे प्रवर्द्धन, विकास र उत्थानका लागि याे सम्मेलन महत्त्वपूर्ण हुनेछ । याे अन्तर्राष्ट्रिय सम्मेलन मात्रै नभएर मातृभाषामा पत्रकारिता सुरु भएको शताब्दी बर्षकाे अवसरमा आयाेजित कार्यक्रम पनि हाे, तसर्थ शताब्दी बर्षकाे सन्दर्भमा विभिन्न देशमा बर्षभरि कार्यक्रमहरु सञ्चालन गरेर समापन समारोह काेलकत्तामा गर्ने हाम्रो प्रयास रहन्छ ।" उहाँले भन्नुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार समाज (फाेनिज)का अध्यक्ष गजुरधन राईले अन्तर्राष्ट्रियस्तरकाे मातृभाषा पत्रकारिता सम्मेलन विश्वमा नै पहिलोपटक नेपाल भएकाे भन्नुहुँदै नेपालमा मातृभाषा पत्रकारिताकाे अवस्था दहनीय रहेकाे बताउनुभयो । उहाँले मातृभाषा पत्रकारिताकाे विकास र प्रवर्द्धनका लागि राज्यको तर्फबाट प्राेत्साहित हुन सकेको छैन भन्नुहुँदै सबै मातृभाषाकाे विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको बताउनुभयो ।  नेवा: पत्रकार दबूकाे आयाेजनामा भएको याे सम्मेलनले सबै देशका मातृभाषाकाे पत्रकारिता गर्नेहरुलाई सुसूचित गराउने र नेपालका लागि मात्रै नभएर दक्षिण एसियाकै लागि याे सम्मेलन मार्गनिर्देशन हुनेछ भन्ने बताउनुभयो ।
भाषा आयाेगका सदस्य सुरेशकिरण मानन्धरले बागमती प्रदेशबाट पारित भएको भाषा ऐन कार्यान्वयनका लागि भाषा आयाेगले काम गर्ने बताउनुभयो । उहाँले भाषा आयाेगले मातृभाषाकाे पत्रकारितालाई जाेडेर आफ्ना कार्यहरु गर्दै जाने बताउनुहुँदै भाषाकाे संरक्षण र मातृभाषाकाे संरक्षणका लागि पत्रकारिताले ठूलाे भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले मातृभाषाकाे संरक्षणका लागि विद्यालय तहमा काठमाडौं महानगरपालिकाबाट सु भएको अभियान देशभर पुर्‍याइनुपर्ने बताउनुभयो ।  
सार्क जर्नलिष्ट फाेरम भारतका अनिरुध सुधाँशुले भारत बहुभाषिक संस्कृति भएको देश भएको बताउँदै बहुभाषामा पत्रकारिता गरिरहेर बहुभाषिक संस्कृतिलाई अझ सशक्त बनाउँदै जानुपर्ने बताउनुभयो । उहाँले मातृभाषाकाे विकास र संरक्षण बिना लाेकतन्त्रका साथै बिचार तथा अभिब्यक्ति स्वतन्त्रताको विकास हुन नसक्ने बताउनुभयो । पत्रकारिता भाषामा निर्भर रहने बताउँदै मातृभाषाकाे विकास बिना पत्रकारिता समृद्ध हुन नसक्ने प्रष्ट पार्नुभयाे
काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख तथा सम्मानित व्यक्तित्व विद्यासुन्दर शाक्यले देशकाे संविधान अनुसार मातृभाषाका संरक्षणका लागि सबैकाे सहयाेगबाट सम्भव भएको बताउनुभयो । मातृभाषाकाे संरक्षण र विकासले देशलाई एकताबद्ध बनाउने भन्दै सबैभाषालाई संरक्षण गरेर अनेकतामा एकता कायम गर्नुपर्ने बताउनुभयो ।
नेवा: पत्रकार दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्षकाे अवसरमा आयाेजित यस सम्मेलनले नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा समेत मातृभाषा पत्रकारिताकाे अनुभव, याेगदान र विकासका लागि महत्त्वपूर्ण छलफल हुने बताउनुभयो ।
दबूका बरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले दबूकाे स्थापनाकाे उद्देश्यका साथै, मातृभाषा पत्रकारिताकाे विकासका लागि भएको कार्यहरुकाे  जानकारी गराउनु थियाे । उहाँले मातृभाषा पत्रकारिताकाे विकासका लागि नेपालमा मात्रै नभई एसियाली पत्रकारहरुकाे सहकार्य हुनुपर्ने बताउनुभएको थियाे । उहाँले मातृभाषा पत्रकारिताकाे विकासले बिचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अझ प्रभावकारी बनाउने बताउनुभयो ।
सम्मेलनका संयाेजक तथा नेवा: पत्रकार दबूका उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले धर्माद्वित्य धर्माचार्यले मातृभाषामा पत्रकारिता सुरु गरेको एक सय बर्ष भएकाे अवसरमा सम्मेलन आयाेजना भएको बताउनुहुँदै अन्तर्राष्ट्रियस्तरमा मातृभाषा पत्रकारिता सम्मेलनबाट सकरात्मक सन्देश जाने बताउनुभयो ।  यसले बिचार तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्ने प्रभावका सन्दर्भमा छलफल तथा व्यापक बहस आवश्यक छ भन्नुहुँदै मातृभाषा पत्रकारिताप्रति राज्यको बेवास्तालाई चिर्न पनि हामीले यसलाई अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक छ भन्ने बताउनुभयाे।
सम्मेलनमा मातृभाषाकाे पत्रकारिताकाे विकासमा सहयाेग पुर्‍याएवापत काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य र याेगदान पुर्‍याएवापत नेवा पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियाे । त्यस्तै मन्त्रीपरिषदकाे निर्णयबाट भाषा आयाेगकाे सदस्यकाे जिम्मेवारी पाउनुभएका सुरेश किरण मानन्धर, गुठी विद्येयक निर्माणका लागि संयाेजककाे जिम्मेवारी पाउनुभएका किरण शाक्यलाई समेत सम्मान गरिएको थियाे ।
एक सय वर्षअघि पत्रकार धर्मादित्य धर्माचार्यले पहिलोपटक मातृभाषामा भारतकाे कलकत्ताबाटनेपालभाषाकाे पत्रिका “बुद्ध धर्म व नेपालभाषा” सम्पादन गरी प्रकाशन गर्नुभएकाे थियाे । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्षका अवसरमा आयाेजित सम्मेलनमा नेपालका विभिन्न भाषाभाषी पत्रकारहरुका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्का लगायतका देशका पत्रकारको सहभागिता रहेकाे छ।  सम्मेलनमा भर्चुअल माध्यमबाट समेत विभिन्न देशका सहभागीहरुले भाग लिनुभएकाे छ। शनिबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको सम्मेलनकाे दाेस्राे दिनका कार्यक्रमहरु आज आइतबार मध्यपूर थिमीमा हुने नेवा: पत्रकार दबूका उपाध्यक्ष तथा कार्यक्रम संयाेजक सुरेन्द्र भक्त श्रेष्ठले जानकारी गराउनु भयाे ।

भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यक छ - पूर्वराष्ट्रपति भण्डारी

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २०, आइतबार वर्गीकृत

ललितपुर/१९ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारी भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यक छ भन्ने बताउनुभएको छ। नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको १०० वर्ष पुगेको सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजना गरिएको  ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन'को  उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले कुनै पनि भाषा खास समुदायको इतिहास, परम्परा र मूल्य मान्यतासँग गाँसिएको हुन्छ भन्नुहुँदै भावी पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यक रहेकाे बताउनुभएको हाे । 

"मातृभाषा पत्रकारिताले विश्वव्यापी रूपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सीमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्नुका साथै विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्बर्द्धनमा समेत योगदान पुऱ्याउँदछ भन्ने मलाई लाग्दछ । मातृभाषामा समाचार लेख्ने पत्रकारहरूमा स्थानीय परिस्थितिको बारेमा गहिरो जानकारी हुने हुनाले उनीहरूले आफ्ना पाठक एवं श्रोताहरूका लागि थप सटीक र सान्दर्भिक समाचारहरू

उपलब्ध गराउन सक्दछन्। मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायहरू बीच संवाद र आदानप्रदानको लागि प्लेटफर्म प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तरसांस्कृतिक समझदारीलाई प्रवर्द्धन गर्ने काममा योगदान गर्न सक्दछ ।" उहाँले भन्नुभयो ।

हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो भन्नुहुँदै उहाँले विविधता बिचको एकता नै हाम्रो राष्ट्रिय पहिचान, गौरव र सामर्थ्य  भएको बताउनुभयो । नेपालकाे संविधानले भाषिक विविधतालाई आत्मसात गर्दै नेपालमा बोलिने सबै मातृभाषाहरूलाई ‘राष्ट्रभाषा' र नेपाली भाषालाई सरकारी कामकाजको भाषाको मान्यता प्रदान गरेको छ भन्नुहुँदै उहाँले समावेशी सञ्चारको अवधारणा सहित मातृभाषा पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित नेवा: पत्रकार राष्ट्रिय दबुले नेपाल भाषा सहित नेपालमा मातृभाषा पत्रकारिताको विकास र प्रवर्द्धनका लागि पुऱ्याएको योगदान प्रशंसनीय छ भन्ने बताउनुभयो । 

उहाँले यस ऐतिहासिक सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधिहरू बिच हुने छलफल तथा अन्तर्क्रियाबाट मातृभाषा पत्रकारिताको क्षेत्रमा हासिल भएका अनुभव, सिकाई तथा असल अभ्यासहरूको आदानप्रदान गर्न सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु भन्ने बताउनुभयो । 

नेपालमा लोकतन्त्रको पुनर्बहाली, खासगरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हाम्रो अमूल्य सांस्कृतिक सम्पदाको रूपमा रहेका मातृभाषाहरूको संरक्षण र विकासका लागि विभिन्न पहलहरूको थालनी भएको छ भन्नुहुँदै उहाँले यस क्षेत्रको थप विकास र प्रवर्द्धनका लागि राज्यका निकायहरू, सामुदायिक संघ संस्थाहरू, लेखक तथा सञ्चारकर्मीहरूका साथै स्वयं मातृभाषा बोल्ने सम्बन्धित समुदायको पहल र प्रयत्न आवश्यक हुन्छ भन्ने बताउनुभयो । उहाँले लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ भन्नुहुँदै जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् भन्नुभयाे । पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ भन्नुहुँदै उहाँले पत्रकारिताको भाषा जुनसुकै भएतापनि आचारसंहिताको पालना एवं पेशागत आचरण कायम राखी पत्रकारिता क्षेत्रलाई स्वस्थ, स्वतन्त्र र उत्तरदायी बनाउनु पर्दछ भन्नुभयो । 

नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्षका अवसरमा आयाेजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा नेपालका विभिन्न भाषाभाषी पत्रकारहरुका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्का लगायतका देशका पत्रकारको सहभागिता रहेकाे छ।

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १७, बिहिबार वर्गीकृत

 काठमाडौँ/ १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताउनुभयो । 

“संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ ।”

जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि सङ्कल्प र पहल लिइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरबी गर्ने, जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

“पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्द्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।” उहाँले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताउनुभयो ।

“असल संस्कृति समृद्ध जीवनको प्राण हो, साहित्य, कला, नाट्य, गीतसङ्गीत, नृत्य, बास्तुकला जति पनि कलासँग सम्बन्धित विधाहरू छन्, तिनको संरक्षण, संवर्द्धन, विकास र समयानुकूल सुधार र रूपान्तरणको बलमा नै समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस दिशामा जनसांस्कृतिक महासङ्घ जस्ता संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ ।”

आन्दोलनमा सांस्कृतिक आन्दोलनलाई दृष्टिकोण निर्माणको प्रश्नसँग नजोडी कलासँग मात्र जोड्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले श्रम संस्कृतिलाई उपेक्षा गर्ने मनोविज्ञान र संस्कृति क्रमशः बलशाली हुँदै गएकाले  राजनीतिकर्मीले सांस्कृतिक आन्दोलनलाई सहायक विषय ठान्ने प्रवृत्तिलाई पराजित गर्न गम्भीर समीक्षा र उपर्युक्त पहल लिन जरूरी रहेको बताउनुभयो ।

प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्यकला प्रतिष्ठान, ललितकला प्रतिष्ठान लगायतका बौद्धिक एवं प्राज्ञिक मञ्चहरूमार्फत् परिवर्तनका उपलब्धीहरूको खोज, अध्ययन, अनुसन्धान र प्रकाशन गरी गणतन्त्रका बहुआयमिक उपलब्धीहरू आम जनसमुदायसम्म पुर्‍याउने जिम्मेवारी महासङ्घले लिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको बताउनुभयो । सरकारले गरेका ऐतिहासिक पहल र महत्त्वपूर्ण उपलब्धीहरू आम जनसमुदायसम्म पुर्‍याई परिवर्तनको पक्षमा जनमत निर्माण गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका स्थानमा संग्रहालय स्थापना गरिने बताउनुभयो । 

कीर्तिपुर, बन्दीपुर, बुङ्‍मती, थिमी, गोरखा, जनकपुर र मटिहानी लगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वर्द्धन गर्न विविध कार्यक्रम सञ्‍चालन गरिने विषय बजेटमा उल्लेख भएको छ । भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्य लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने र राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्रहालय निर्माण गर्ने लगायतका महत्त्वपूर्ण कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश छन् । 

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १७, बिहिबार वर्गीकृत

सिन्धुपाल्चोक/ १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताउनुभएको छ ।
चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताउनुभयो ।
“गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।” उहाँले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्‍याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।
“प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । उहाँले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताउनुभयो ।
देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गर्नुभयो । “शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्रै कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यही कुरालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ ।”
विसं २०७२ सालको महाभूकम्पले धरासायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको कठिन समयमा यहाँका जनताबाट माया पाएको स्मरण गर्नुभयो । “म थुप्रैपटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धको कठितम् दिनहरूमा मैले यहाँका गाउँवेशी चहारेको छु, यहाँका भीरपाखाहरू छिचोलेको छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बृद्ध आमाहरूले मायाले पकाएर दिनुभएको खोलेफाँडो खाएर क्रान्तिको मोर्चामा लामबद्ध भएको छु ।” 

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीकाे आह्वान

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १६, बुधबार वर्गीकृत

काठमाडौँ/ १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले  सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गर्नुभएको हो । 

विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौती थपिएको बताउनुभयो । 

“हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता  छ । यसका लागि नेपाल सरकारले ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारको यस नीतिगत प्राथमिकता र पहलमा सरोकारवाला लगायत सम्पूर्ण नेपालीहरूको बलियो साथ रहने मेरो विश्वास छ ।” उहाँले पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेका वातावरणीय सङ्कट खासगरी जलवायु परिवर्तन, तापमान वृद्धिले ल्याएको चुनौती गम्भीर भएको उल्लेख गर्नुभयो । 

“मुख्यतः तापमान वृद्धिसँगै हिमाल पग्लिने, हिमताल विष्फोटको खतरा बढ्दै जाने, वायु प्रदुषण बढ्दै जानेजस्ता कारणले हिमालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन, सभ्यता, विकास, जीवनशैली, स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकुलन गर्न उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्यायका लागि नेतृत्वदायी पैरबी गर्दै आइरहेको छ ।”

सगरमाथा दिवसले नेपालको पर्यटक आगमनमा वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहोरको न्यूनीकरण एवं उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरण एवं अनुकूलनका लागि काम गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

“सगरमाथा नेपालको विशिष्ट पहिचान र सौन्दर्य हो, यो जैविक विविधताको विशिष्ट केन्द्र पनि हो, हिमाली जाति र समुदायको ऐतिहासिकता र मौलिक संस्कृति हो,” प्रधानमन्त्रीले भन्नुभयो, “हिमाली क्षेत्रले विश्वलाई वातावरणीय सेवा, जैविक विविधता, स्वच्छ पानी, स्वच्छ हावा, तापमान नियन्त्रण एवं सन्तुलन, पारिस्थितिक प्रणालीमा सन्तुलन, मानव जीवनचक्र लगायतका बहुआयमिक पक्षमा महत्त्वपूर्ण योगदान गर्दछ ।” 

विश्व इतिहास र रङ्गमञ्चमा नेपाली पहिचान र विशेषताका बहुआयामिक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सगरमाथा र लुम्बिनी जस्ता प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक विश्व सम्पदा संसारभरिका मानिसका निम्ति गौरवको विषय बताउनुभयो । 

सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाल लगायत विश्वका विभिन्न हिमशिखरहरूको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूका साथै अन्य हिमालहरूको आरोहणमा आकर्षण बढिरहेको बताउनुभयो । 

सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो  । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्राउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाउने तथा टाकुरा पर्वतीय गन्तव्यको पहिचान, प्रवर्द्धन कार्यक्रम राखिएको उल्लेख गर्नुभयो ।  

“सगरमाथा आरोहणको दौरानमा सयौँ आरोहीहरूले जीवन गुमाउनुभएको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “यस दिनमा उहाँहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उहाँहरूका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

प्रत्येक नेपालीको अनुहार र आँगनमा खुशी र उज्यालो नपुगेसम्म गणतन्त्रको उद्देश्य पुरा हुँदैन: राष्ट्रपति

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १५, मंगलबार वर्गीकृत

काठमाडौँ/ १५ जेठ: राष्ट्रपति रामचन्द्र पौडेलले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन भन्नुभएको छ । 

राष्ट्रपति पौडेलले गणतन्त्र दिवस २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना सन्देश दिनुहुँदै आज गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तर माथि उठाउने नै भएको स्पष्ट गर्नुभएको छ ।  

“त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवं सुशासन हो, जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन”, शुभकामना सन्देशमा उल्लेख छ । उहाँले यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको बताउनुभएको छ । “म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौ, किनभने यो दायित्व पुरा नगरी हामी स्वाधिनता र समृद्धिको लक्ष्य कसैगरी हासिल गर्न सक्दैनौं”, सन्देशमा भनिएको छ ।  

गणतन्त्र दिवस हामीले विगतलाई संझने, वर्तमानलाई सजाउने र भविष्यका बारेमा चिन्तन गर्ने दिन पनि हो भन्दै उहाँले हामीले आजको पुस्तालाई सबल अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गरी आउने पुस्तालाई सबल, एकतावद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम् लोकतान्त्रिक संस्कृति दिने संकल्प पनि आजैबाट गर्नुपर्नेमा जोड दिनुभयो ।  

“नागरिकका आम समस्याहरू, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिवीको अन्त्य त गर्नुनै छ, साथै विश्वमञ्चमा हाम्रो प्रतिष्ठालाई पनि उँचो बनाउनुछ, हामीले हाम्रो मौलिक पहिचानको प्रवर्धन त गर्नुनै छ, साथै एक समृद्ध र आत्मगौरवसहितको देशको पहिचान पनि सुनिश्चित गर्नुछ”, सन्देशमा भनिएको छ ।  

उहाँले यसले गर्दा हाम्रो सरकार, नागरिक र माटोको सम्बन्ध बलियो बनोस् र हामी विकासको नयाँ उचाई प्राप्त गर्न सकौं तथा यसबाट हाम्रा सन्ततिहरूले भविष्यमा हामी माथि गर्व गरुन् भन्ने उल्लेख गर्नुभएको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको भन्दै राष्ट्रपति पौडेलले सन्देशमा यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर र राज्य तथा राष्ट्रनिर्माणको अभिभारा दिएको उल्लेख गर्नुभएको छ । 

सँगैसगै यतिबेला हामीले जनताको हित र कल्याणसँंग जोडिएका केही अहम् प्रश्नहरूमा सोच्नैपर्ने हुन्छ भन्ने आफूलाई लागेको उहाँले उल्लेख गर्नुभएको छ । “के हामीले प्राप्त गणतन्त्रलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गरेका छौं ? कि हाम्रा कामले गणतन्त्रले परिलक्षित गरेको उद्देश्यमा कँंही बाधा उत्पन्न भैरहेको छ ? किन  प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्न हामीलाई अझै कठिन भैरहेको छ ? यी प्रश्नहरूलाई पन्छाएर हामीले अब धर पाउने छैनौ”, सन्देशमा भनिएको छ ।  

यो दिन नेपाल र नेपालीको लागि ऐतिहासिक र गौरवमय दिन हो भन्दै उहाँले आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौं र यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरी एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएको स्मरण गर्नुभएको छ । 

“यो ऐतिहासिक दिनमा म गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने आदरणीय शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, यहाँंसम्म आइपुग्न ठूलो त्याग र बलिदान गर्ने अग्रज नेताहरूप्रति सम्मान गर्न चाहन्छु, साथै, जेल, नेल र यातना सहने नेपाली दाजुभाइ तथा दिदीबहिनी, परिवर्तनका सारथी नागरिक र राजनीतिक दल सबैलाई अभिनन्दन गर्न चाहन्छु”, सन्देशमा भनिएको छ ।  

गणतन्त्र घोषणा भएको त्यो गौरवमय क्षण आफूले सम्झिरहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । “त्यो क्षण हामीले शहीदहरूलाई सम्झिएर भनेका थियौ कि अब सामाजिक न्याय, स्वाधिनता र समृद्धि सुनिश्चित हुनेछ, कि हाम्रो देशको झण्डा अब संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक चिन्ह बनेर विश्व समुदायमा गर्वका साथ फहराउने छ । हाम्रो मातृभूमी धन्य धन्य भएको दिन थियो त्यो”, सन्देशमा भनिएको छ । 

यसको अर्थ अहिले हामी कुनै एक दिनलाई गणतन्त्र दिवस भनेर केवल औपचारिक उत्सव मनाईरहेका छैनौं भन्दै उहाँले त्यो ऐतिहासिक क्षणलाई संझिरहेका छौ र संकल्प गरिरहेका छौ कि हामी त्यो क्षण कहिल्यै नविर्सने बताउनुभएको छ । “जुन दिन गौरवपूर्ण परिवर्तको ओज र उज्यालोमा हामी प्रज्वलित भएका थियौं, त्यही क्षण, हामीले सम्पूर्ण नागरिक जीवनलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकारसम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिने संकल्प गरेका थियौं, जुन संकल्पको अर्थ, ओज र गरिमालाई हामीले भुलेका छैनौ र, आजको दिनले हाम्रो त्यो संकल्पलाई पुरा गर्न अझ धेरै प्रतिवद्ध बनाउनेछ भन्ने मैले विश्वास लिएको छु”, सन्देशमा भनिएको छ ।

आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १५, मंगलबार वर्गीकृत

काठमाडौं/ १५ जेठ आज विभिन्न कार्यक्रम गरी देशभरि गणतन्त्र दिवस मनाइँदै छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभरि गणतन्त्र दिवस मनाइन्छ ।
दिवसको अवसरमा सरकारले सार्वजनिक आज सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।
सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्य रूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले उनको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो ।
समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन् ।
देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गर्ने निर्णय भएको छ ।

सात सय छयालीस स्थानीय तहकाे लेखापरीक्षणमा ५ स्थानीय तहकाे बेजुरु शुन्य

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १४, सोमबार वर्गीकृत

ललितपुर/१४ जेठ : देशभरका सात सय  छयालीस स्थानीय तहकाे लेखापरीक्षण हुँदा ५ स्थानीय तहकाे बेजुरु पाइएकाे छ । महालेखापरीक्षककाे कार्यालयले सार्वजनिक गरेकाे प्रतिवेदन अनुसार ललितपुरको काेञ्ज्याेसाेम गाउँपालिका, ताप्लेजुङकाे पाथिभरा याङ्वरक गाउँपालिका, पाँचथरकाे याङ्वरक गाउँपालिका, काभ्रेकाे महाभारत गाउँपालिका र धादिङ्गकाे राेराङ्ग बेनीघाट गाउँपालिका रहेका छन् । महालेखाले आर्थिक वर्ष २०७९/८० मा सात सय  छयालीस स्थानीय तहकाे ११ खर्ब ३७ अर्ब ४ करोड १९ लाख रुपैयाँको लेखापरीक्षण गर्दा तीस अर्ब त्रियासी करोड त्रिपन्न लाख रुपैयाँ बेरुजु ओैल्याएकाे प्रतिवेदनमा उल्लेख गरिएको छ । देशका सात सय त्रिपन्न स्थानीय तहहरुमध्ये ८ वटा स्थानीय तहकाे लेखापरीक्षण हुन बाँकी रहेकाे प्रतिवेदनमा उल्लेख छ । याे बर्ष झापाकाे मेचीनगर नगरपालिका, सप्तरीको बिष्णुपुर गाउँपालिका, सिराहाकाे बरियारपट्टी गाउँपालिका, सर्लाहीको कविलासी नगरपालिका, बाराकाे सिम्राैनगढ नगरपालिका, हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाले लेखापरीक्षण गराएका छैनन् ।

पैँतिस हजार विपन्न नागरिकले पाए निःशुल्क उपचार

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १३, आइतबार वर्गीकृत

काठमाडौँ/१३ जेठ: सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म ३५ हजार विपन्न नागरिकले सेवा लिएका छन् । फागुनसम्म ३५ हजार एक सय ४३ विपन्न नागरिकले सेवा प्राप्त गरेका हुन् ।    आज सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८०/८१ मा १७ हजार आठ सय ८८ ले क्यान्सर, पाँच हजार दुई सय ९९ ले मुटु, एक सय ९१ ले मिर्गौला प्रत्यारोपणसहित आठ हजार आठ सय ८२ नागरिकले मिर्गौलासम्बन्धी सेवा पाएका छन् । त्यसैगरी हेमोडायलाइसिसको उपचार सात हजार तीन सय आठ, पेरिटोनियल डायलाइसिस तीन सय ६९, मिर्गौलाको औषधि सेवन गरिरेहका छ सय छ, सेरो पोजेटिभ हेमोडायलाइसिस एक सय ६६ जना र क्रस म्याचका दुई सय ४२ जना बिरामीले सेवा लिएका छन् ।

त्यस्तै, पार्किन्सन्सका ७८, अल्जाइमर ३४, हेड इन्जुरी पाँच सय ६४, स्पाइनल इन्जुरी आठ सय ७७ र सिकलसेल एनिमियाका एक हजार पाँच सय २१ जनाले सहुलियत लिएका छन् । गत आर्थिक वर्षमा ३५ हजार दुई सय ८४ विपन्न नागरिकले यी सेवा प्राप्त गरेका थिए ।     सरकारले उक्त कार्यक्रमअन्तर्गत मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियालगायत कडा रोगमा सहायता उपलब्ध गराउँदै आएको छ । सरकारले रु एक लाखसम्मको सहुलियत रकम प्रदान गर्दै आएको छ भने मिर्गौला प्रत्यारोपणक लाागि रु चार लाखसम्म सहुलियत रकम बिरामीले पाइरहेका छन् ।    

आर्थिक वर्ष २०७८/७९ देखि विपन्न नागरिकको औषधि उपचारवापत मासिकरुपमा रु पाँच हजार आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था सरकारले गरेको थियो । चालु आवको पुससम्म २४ हजार दुई सय २४ विपन्न नागरिकलाई रु ८५ करोड ३७ लाख ३१ हजार उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा ४० हजार ५६ विपन्न नागरिकलाई रु एक अर्ब १३ करोड ९२ लाख ५६ हजार उपलब्ध गराइएको थियो ।

Pages