add
Display Style: 
Column Style

नेपालमका सबै जातजाति भाषा संस्कृतिको उत्थान र विकास आवशक छ – राष्ट्रपति पाैडेल

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र २, आइतबार वर्गीकृत

काठमाडौं/ २ भदौ, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनुपर्ने खाँचो औल्याउनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी एवं पत्रकारहरुसंग राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले सो खाँचो औल्याउनुभयो।

सो अवसरमा राष्ट्रपति पौडेलले विविध भाषाभाषी, संस्कृति र समुदायको विकास र अधिकारको उपभोगले राष्ट्रिय एकता बलियो हुने धारणा पनि राख्नुभयो। उहाँले नेपालभाषा लगायतका विभिन्न मातृभाषामा पत्रपत्रिकाको प्रकाशन र विकासले सम्बन्धित भाषा, साहित्य, संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले पत्रकारिताको समावेशीकरण,नेपालमा मातृभाषाको पत्रकारिताको विकासको लागि आफ्नो पूर्ण सहयोग र समर्थन रहने पनि बताउनुभयो।

सो अवसरमा उहाँ सबै भाषाका मूर्धन्य साहित्यकारहरुको सालिक एक ठाउँमा राख्ने भानु उद्यान बनाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो। सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण पत्र बुझाउनुभयो।यस अघि राष्ट्रपति पौडेल समक्ष पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकासको लागि संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिको तर्फबाट सरकारलाई सुझाव र ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो। राज्यको चरित्र समावेशी बनाउन सञ्चारमाध्यमपनि समावेशी हुनुपर्ने पनि वरिष्ठ उपाध्यक्ष महर्जनको भनाई रहेको छ ।

नेपाल भाषाको पत्रकारिता शुरु भएको एक सय वर्ष पुगेको सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शत्ताब्दी महोत्सवको मनाउँदै आएको छ । यस सन्दर्भमा पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले राष्ट्रपति पौडेललाई भेटेको हो।

यस अघि राष्ट्रपति पौडेल समक्ष पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकासको लागि संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिको तर्फबाट सरकारलाई सुझाव र ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो। राज्यको चरित्र समावेशी बनाउन सञ्चारमाध्यमपनि समावेशी हुनुपर्ने पनि वरिष्ठ उपाध्यक्ष महर्जनको भनाई रहेको छ ।

नेपाल भाषाको पत्रकारिता शुरु भएको एक सय वर्ष पुगेको सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शत्ताब्दी महोत्सवको मनाउँदै आएको छ । यस सन्दर्भमा पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले राष्ट्रपति पौडेललाई भेटेको हो।

देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री ओली

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २६, शनिबार वर्गीकृत

काठमाडौँ/ २६ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुुभएको छ । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताउनुुभयो ।
“मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ । आउँदो असोजको पहिलो साता राष्ट्रसङ्घको महासभामा पनि म यिनै विषयलाई महत्व दिएर बोल्नेछुु । मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्न सक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानवअधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै सत्य र मानवसेवामा लाग्ने लायन्सहरुका साथमा अहिलेको सरकार रहने स्पष्ट गर्नुभयो । “म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।’’ प्रधानमन्त्री ओलीको अठोट थियो ।  
प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सही नहुने बताउनुुभयो ।

अस्पतालमा बिरामीको लाइन अन्त्य गराउन प्रधानमन्त्री चासो

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २५, शुक्रबार वर्गीकृत

काठमाडौँ/ २५ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिनुभएको छ । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोध्नुभएको हो । प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गर्नुभयो । “सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।”, प्रधानमन्त्री ओलीको भनाइ थियो ।
बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उहाँले स्वास्थ्य बीमालाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गर्नुभयो ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, मुख्यसचिव, सम्बन्धित सचिवहरुलगायत सहभागी हुनुहुन्थ्यो ।

गुणस्तरीय शिक्षाको योजना ल्याउन शिक्षा मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देश

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २४, बिहिबार वर्गीकृत

काठमाडौँ/ २४ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख गर्नुभयो । “जति पढे पनि कुनै क्षेत्रमा काम गर्ने सीप छैन भने त्यस्तो जनशक्ति प्रयोगबिहीन हुन्छ भने रोजगारी पनि नपाउने सम्भावना हुन्छ, त्यसैले सीपमुलक जनशक्ति उत्पादनमा ध्यान दिन म निर्देशन दिन्छु”, उहाँले भन्नुभयो, “उच्च आचरणयुक्त जनशक्ति तयार गर्न आवश्यक भएकाले सोहीअनुसार नीति निर्माण र कार्यान्वयन गनुैहोस् ।” वर्तमान सन्दर्भमा मुलुकमा समाज बनाउने खालको जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले विद्यालय तहमा भर्नादर बढाउने, ‘ड्रपआउट’ घटाउने र शिक्षाको गुणस्तर बढाउने गरी काम गर्न आवश्यक भएको उल्लेख गर्दै आगामी वर्षको एसइईमा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी सक्षम शिक्षक र निशुल्क इन्टरनेटको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चासो दिनुभयो । “एसइईमा कम्तीमा पनि ७० प्रतिशत विद्यार्थी गर्ने लक्ष्य निर्धारण गरी काम गर्नुहोस्, यसका लागि स्मार्ट शिक्षक छनोट, निःशुल्क इन्टरनेट र अनलाइन कक्षा सञ्चालनको तयारी गर्नुहोस्”, उहाँले भन्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयमा हालै सम्पन्न सिनेट बैठकमा तत्काल जरुरी भएका ग्रेस लिस्ट र बजेट पारित गर्न पदाधिकारीहरुसँगको गृहकार्यका आधारमा आफूले सहमति दिएको उल्लेख गर्नुभयो । विश्वविद्यालयको कुलपतिका हैसियतमा आफूलाई नीति तथा कार्यक्रम अघिल्लो दिन मात्रै उपलब्ध गराइएकाले अध्ययन गर्न नभ्याइएको र नीति तथा कार्यक्रमसम्बन्धी सिनेटको अर्को बैठक पदाधिकारीहरुकै सहमतिमा चाँडै बस्ने समेत तय भएकोमा कुलपतिले हस्तक्षेप भएको भन्ने प्रचार गरिएकोमा टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई उच्चतम प्रयोगमा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै यससम्बन्धी ठोस कार्यक्रम बनाउन पनि निर्देशन दिनुभयो । “नागरिकको स्वास्थ्यको सुरक्षा, शुद्धता परीक्षण र प्रमाणिकरण गर्ने, निरोगी नेपालको अवधारणालाई सहयोग गर्ने, गरिबी घटाउने, कृषि र उद्योगका क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग बढाउने गरी काम गर्ने गरी ठोस कार्यक्रम बनाएर अघि बढ्नुहोस”, उहाँले भन्नुभयो । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, नेपाल सरकारका मुख्यसचिव लिलादेवी गड्तौला र सचिवद्वय डा दीपक काफ्ले र विश्वबाबु पुडासैनीलगायत सहभागी हुनुहुन्थ्यो ।

लैङ्गगिक समानता महिलाकाे मात्रै समस्या हैन, पुरुषहरुकाे पनि हाे - मन्त्री सुड्डी

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २३, बुधबार वर्गीकृत

ललितपुर/ २३ साउन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशाेर शाह सुड्डीले लैङ्गगिक समानता महिलाकाे मात्रै समस्या नभई पुरुषहरुकाे पनि भएको बताउनुभएको छ । साथीले संस्थाले आज ललितपुरमा आयाेजना गरेको लैङ्गिक समानताका लागि पुरुष र युवाहरूको सहभागिता बिषयक दक्षिण एसियाली क्षेत्रीय सम्वाद कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री सुड्डीले नेपाल सरकारले भेदभावकाे अन्त्य गरि समतामूलक समाज निर्माण गर्ने नीति लिएको छ भन्नुहुँदै साेही नीति अनुसार मन्त्रालयले रुढीगत लैङ्गिक असमानता हटाउनका लागि काम गरिरहेको बताउनुभएको हाे ।
"लैङ्गिक समानताकाे बिषय र महिलाहरुमाथि हुने विभेदको अन्त्य गर्ने बिषय नेपाल सरकारकाे उच्च प्राथमिकतामा रहेकाे छ, महिला पुरुष वेग्लावेग्लै जीव हैन, हामीले मिलेर काम गर्नुपर्छ, निरासाजनक कुरामात्रै गरेर हुँदैन, विगतका दश वर्षमा धेरै परिवर्तन आएकाे छ, महिला सहभागिता बढेकाे छ । अझ मधेश प्रदेशमा महिलाहरुका लागि पचास प्रतिशत आरक्षणकाे व्यवस्था छ " मन्त्री सुड्डीले भन्नुभयो ।

सरकारले कानून बनाएर मात्रै समानता आउन सक्दैन भन्नुहुँदै उहाँले सानाेसानाे कुरामा पनि परिवर्तन गरेर हामीले धेरै ठूला परिवर्तन गर्न सक्छौं भन्ने धारणा व्यक्त गर्नुभयाे।
"नेपाल सरकारले आर्थिकसामाजिक, राजनीतिक  तथा कानूनी रुपमा सुनिश्चित गरि लैङ्गिक समानता ऐन २०७७ कार्यान्वयनमा ल्याइसकेकाे छ, व्यवहार र कानूनमा धेरै अन्तर छ, कानून बनेकाे छ, अब व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ, हामी प्रगतिशील अवस्थामा छाैं, निराशा हुनुपर्ने अवस्था छैन, असन्तुलित अवस्थालाई निराकरण गर्दै लाग्नुपर्छ।" उहाँले भन्नुभयो ।
परिणाममा समानता कायम गर्न घरपरिवारमा परिवर्तन ल्याउनु आवश्यक छ भन्नुहुँदै उहाँले लैङ्गिक समानताकाे पक्षमा र महिला समावेशिताकाे सन्दर्भमा भारत, बंगलादेश, श्रीलंका, भूटान, अफगानिस्तानलगायतका देशकाे तुलनामा नेपालकाे कानुन अग्रगामी छ भन्नुभयो । उहाँले बनेका कानूनलाई व्यवहारिक रुपमा प्रभावकारी कार्यान्वयन गर्न घरसमाजमा परिवर्तन ल्याउनु आवश्यक भन्नेमा जाड दिनुभयाे ।
संयुक्त राष्ट्रसंघीय महिलाविरुद्धको विभेद उन्मूलन समितिका सदस्य बन्दना राणाले पुरुषकाे मानसिकतामा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य हुन सक्दैन भन्ने धारणा राख्नुभयाे । "मानसिकतामा परिवर्तन ल्याउने कुरालाई कानूनले बाँध्न सक्दैन, यसका लागि व्यवहारमा परिवर्तन र रुपान्तरण हुनुपर्छ, लैङ्गिक समानताका लागि महिला र पुरुष मिलेर समाधान गर्नुपर्छ, सुरक्षा विनाकाे कानूनले कुनै परिवर्तन ल्याउन सक्दैन, पुरुषकाे मानसिकतामा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य हुन सक्दैन, मानसिकतामा परिवर्तन ल्याउने कुरालाई कानूनले बाँध्न सक्दैन।" राणाले भन्नुभयो । उहाँले यसकिसिमकाे संवादले हाम्रो जिम्मेवारी र भूमिकालाई रुपान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने धारणा राख्नुभयाे ।
‘युएन वुमन’ का देशीय प्रतिनिधि पत्रिसिया फर्नान्डेजले लैङ्गिक समानताकाे बिषय दक्षिण एसियाका धेरै देशमा चुनाैतीपूर्ण रहेकाेबताउनुहुँदै याे चुनाैतीलाई समाधान गर्न याे संवाद महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयाे ।
समूहगत छलफलमा भाग लिनुहुँदै नेपाल सरकारका पूर्वसचिब कृष्णहरि बास्काेटा नेपालमा आर्थिक वर्ष २०६४/६५ देखि लैङ्गिक उत्तरदायी र समावेशी बजेट ल्याउन सुरु भएको बताउनुहुँदै कानूनी रुपमा सरकारी तहबाट भएका व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले लैङ्गिक समानताका लागि पुरुषकाे मनस्थितिमा परिवर्तन आउनुपर्छ भन्नेमा जाेड दिनुभयाे ।
'मीन इन्जेग ग्लाेबल एलायन्स'का सहनिर्देशक लक्ष्मण वेल्वासेले पुरुषत्वकाे भावनाबाट माथि उठेर हिंसात्मक अवस्थालाई अन्त्य गर्न व्यवहार परिवर्तन, सामाजिक मुल्यमान्यतालाई समावेशी बनाउन लाग्नुपर्छ भन्नुभयो । उहाँले लैङ्गिक समानताका लागि महिलाहरुकाे सहभागिता मात्रै हैन शसक्तिकरणकाे आवश्यकता रहेकाे छ भन्नुहुँदै उहाँले नीतिगत तहमा सुनिश्चितता गरेका मात्रै हुँदैन, निर्णायक तहमा रहेका पुरुषहरुमा जिम्मेवारीबाेध गराउँदै साेचमा परिवर्तन ल्याउनु जरुरी छ भन्नुभयाे ।
'मीन इन्जेग एलायन्स' श्रीलंकाका 'स्टेरिङ कमिटी' सदस्य प्राध्यापक विजय जयन्तिलिका लैङ्गिक समानताको बिषय ज्यादै चुनाैतीपूर्ण रहेकाे बताउनुहुँदै सामाजिक प्रणाली र ओैपचारिक शिक्षा प्रणालीमा नै सहभागितामूलक वनाउनेमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले महिलाकाे सहभागिता र नेतृत्वलाई सम्मान गर्ने संस्कारकाे विकास गराउनु आवश्यक छ भन्नुहुँदै यसका लागि शैक्षिक गतिविधिभित्र समावेश गरेर सिकाईमा समावेश गरिनुपर्छ भन्नेमा जाेड दिनुभयो  ।
'व्लु डाइमण्ड साेसाइटी'का कार्यक्रम निर्देशक भूमिका श्रेष्ठले पितृसत्तात्मक साेचले समाजकाे संरचनालाई विभाजन गरिएको छ भन्नुभयाे । उहाँले महिला र पुरुषभन्दा पृथक पहिचान भएकाहरु पनि हुन्छन् भनेर सिकाइको हुँदैन भन्नुहुँदै समाजले विविधताकाे कुरालाई स्वीकार्न सकेकाे छैन भन्ने धारणा राख्नुभयाे ।
संविधानकाे धारा १८ ले समानताकाे हकलाई स्वीकार गरेकाे छ भन्नुहुँदै उहाँले लैङ्गिक समानताको लागि पुरुष र युवाहरूको सहभागिताका लागि जिम्मेवारीपूर्ण जवाफदेही बनाउन साेचमा परिवर्तन आवश्यक छ भन्नुभयो ।
साथी संस्थाकी कार्यकारी निर्देशक शुभेच्छा राणाले सकरात्मक सामाजिक रुपान्तरणका लागि पुरुष र युवाकाे भूमिका आवश्यक रहेकाे बताउनुहुँदै याे संवाद कार्यक्रममा व्यक्त हुने विचार भविष्यकाे लागि उपयाेगी हुने बताउनुभयो ।
साथी संस्थाका अध्यक्ष सजनी अमात्यले समतामूलक समाज निर्माणमा पुरुष र युवाहरुकाे भूमिका आगामी दिजहरुमा प्रभावकारी बनाउन याे संवाद महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयाे । उहाँले संवादबाट प्रेरणादायी सुझावहरु प्राप्त भएको बताउनुभयो ।

प्रधानमन्त्रीसँग उपत्यका मेयर्स फोरमको भेट, केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ काम गर्न आग्रह

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २३, बुधबार वर्गीकृत

काठमाडौँ/ २३ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ । उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिनुभएको हो ।
“जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।”
उक्त फोरमले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने  विश्वास दिलाउनुभयो । उहाँले फोहोरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट गर्नुभयो ।  
फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरु प्रतिबद्धता रहेकाले केन्द्र सरकारबाट हुुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ माग्नुभएको थियो ।

राष्ट्रपतिद्धारा भोटोजात्रा अवलोकन

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २०, आइतबार वर्गीकृत

काठमाडौँ, २० साउन। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएकाे छ ।  ललितपुरको जावलाखेलमा आईतबार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गर्नुभएकाे हाे । राताे मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आईतबार राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएकाे हाे ।
राष्ट्रपति पाैडेल भाेटाे जात्रा अवलाेकनका लागि जावलाखेल पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका अधिकारीहरू तथा गुठि संस्थानका पदाधिकारीहरूले स्वागत गर्नुभएकाे थियाे ।
सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएकाे थियाे । भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधनन्याधीश विश्वमभर श्र्ष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष  नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूकाे सहभागी रहेकाे थियाे ।  साथै भोटो जात्रा हेर्न आम नागरिकको उल्लेख्य सहभागिता थियो ।

अनुभव, ज्ञान र सीप जनताको सर्वोत्तम हितमा केन्द्रित गरौँ: राष्ट्रपति पौडेल

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १६, बुधबार वर्गीकृत

काठमाडौं/ १६ साउन, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ । 

डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हामीले आर्जन गरेको अनुभव, ज्ञान, सीप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि केन्द्रित र समर्पित गनुपर्ने बताउनुभयो । 

उहाँले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिवद्धता हुनुपर्ने बताउँदै भन्नुभयो–‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेअनुसार राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोतर्फ लैजान सकेमात्र हाम्रा अग्रज राजनीतिज्ञहरूले परिकल्पना गरेको लक्ष्य साकार हुन्छ । त्यसैले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिवद्धता हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।’

राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएका डा. रेग्मीको व्यक्तित्व बहुआयामिक भएको बताउँदै नेपालको राजनीतिक, साहित्यिक  र सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदान प्रेरणादायी भएको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले अंग्रेजी भाषामा नेपालको इतिहास लेखेर नेपाललाई संसारमा चिनाउन रेग्मीले दिनुभएको योगदानको स्मरण गर्नुभयो । 

यस वर्षको एक लाख राशिको डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार नेपालका पाका तथा प्रतिष्ठित पत्रकार भैरव रिसाललाई तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई प्रदान गरिएको छ ।

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १६, बुधबार वर्गीकृत

काठमाडौं, १६ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ ।

शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आउनुभएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताउनुभयो । उहाँले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गर्नुभयो । नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो । 

राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुईपक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाउनुभएको थियो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनहुन्थ्यो । 

हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १६, बुधबार वर्गीकृत

काठमाडौँ/ १६ साउन, बलिउडकाे हिरामण्डीकी अभिनेत्री सन्जिदा शेख नेपाल आउनु हुने भएकाे छ ।  साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुन नेपाल आउन लाग्नु भएकाे हाे ।

ट्रुडर्मा ब्राण्डका कम्पनी कन्सल्टयान्ट दिपक जैशवालले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिनुभयो ।

शेख आफैँले प्रोडक्टको अनावरण गर्नुहुनेछ । उहाँले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली  ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उहाँले बताउनुभयाे । उहाँका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट 'ट्रु स्किन'को लन्चमा सहभागी हुनुहुने छ । ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो  । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उहाँले उल्लेख गर्नुभयाे।

प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको जैशवालले जानकारी दिनुभयाे। त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उहाँको भनाइ छ ।

ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्‍न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको जैशवालले बताउनुभयाे ।

‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पुरा गर्ने विश्वास छ,’ उहाँले भन्नुभयाे ।

Pages