प्रधानमन्त्रीद्वारा विमान दुर्घटनास्थकाे अवलोकन
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ९, बुधबार वर्गीकृत
काठमाडौं/ ९ साउन, सौर्य एयरको विमान दुर्घटनास्थलका अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिनुभएको छ । प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभयो । उहाँले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्रीले घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गर्नुभयो । उहाँले यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिनेे बताउदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभयो । घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रह गर्नुभयो । घटनास्थलकाे अवलोकन र ब्रिफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहितका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ८, मंगलबार वर्गीकृत
काठमाण्डौ, ८साउन, शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयले समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ ।
सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिदा अपनाउनुपर्ने प्रक्रिया, लाग्ने दस्तुर लगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह-सचिब केशब प्रसाद दाहालले जानकारी दिनुभयो । प्रबक्ता दाहालका अनुसार शिक्षा तथा मानब स्रोत बिकास केन्द्रका उप महानिर्देशकको संयोजकत्वमा गठित तिन सदस्यीय समितिलाई सुझाब सहितको प्रतिबेदन पेश गर्न मन्त्रिस्तरीय निर्णय अनुसार ७ दिनको समयसीमा प्रदान गरिएको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरूले सो बिषयमा प्रश्न उठाएका थिए।
भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपतिलाई
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ७, सोमबार वर्गीकृत
काठमाडौँ/ ७ साउन, दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन् ।
भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने प्रचलन छ । राष्ट्रप्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिने प्रचलन पनि छ । शनिबार दिउँसो भीमसेनको मूर्तिको बाँया भागमा पसिना आएको बताइएको छ ।
विश्वविद्यालयका अनुसन्धानकर्तालाई समुदायसंग जाेड्नुपर्छ - मन्त्री भट्टराई
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ५, शनिबार वर्गीकृत
ललितपुर, ५ साउन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयसंग भएका अनुसन्धानकर्तालाई समुदायसंग जाेड्नु पर्छ भन्ने धारणा राख्नुभएको छ । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले आज ललितपुरमा आयाेजना गरेको 'एजुकेसन सिस्टम इम्पिमेन्टेशन' कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री भट्टराईले अनुसन्धानकर्तालाई समुदायसंग जाेड्दै विद्यार्थीकाे आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिबृद्धिका काम गर्नुपर्छ भन्ने बताउनुभएको हाे । "विश्वविद्यालयले अनुसन्धान गरेका बिषयवस्तुहरुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान दिन सकेकाे छैन, कार्यकारी भूमिकामा रहेकाे सरकार र विश्वविद्यालय अन्तरसम्बन्धित भएर अगाडि बढ्नुपर्छ, निरन्तर सम्बाद चल्नुपर्छ, युवा देशबाट विदेशिनुकाे कारण राज्य पहिलाे भन्ने कुरा स्थापित गर्न नसक्नु हाे, हामीले पारस्परिक सहकार्य र सहयाेगका माध्यमबाट यसलाई समाधान गर्न सक्छौं ।" मन्त्री भट्टराईले भन्नुभयो। उहाँले विश्वविद्यालयसंग समन्वय गरेर ७० प्रतिशत प्राविधिक शिक्षालाई जाेड दिनुपर्नेछ भन्नुहुँदै प्रदेश र स्थानीय तहसंग बसेर धेरै काम गर्न बाँकी छ भन्ने धारणा राख्नुभयाे । उहाँले युवाहरुकाे चाहानमा देशको विकास गर्ने गरि उनीहरुकै चाहानामा ज्ञानसीप युक्त बनाउन तालिम र काेर्षहरुकाे विकास गरिनुपर्छ भन्नेमा जाेड दिनुभयाे । "हामी विद्यार्थीमैत्री हुन सकेका छैनौं,विद्यार्थीकाे आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिबृद्धिका काम गर्नुपर्छ, तीनै तहका सरकारले निर्धारण गरेका याेजनालाई जाेड्नुपर्छ।" उहाँले भन्नुभयो । प्रविधिकाे क्षेत्रमा विश्वविद्यालयसंग समन्वय र छलफल गर्नेबताउनुहुँदै मन्त्री भट्टराईले दुई दिने कार्यक्रमबाट प्राप्त निष्कर्ष मन्त्रालयले पाउने विश्वास व्यक्त गर्नुभयाे ।
काठमाडौं विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर भाेला थापाले विश्वविद्यालयकाे काम शिक्षा र सेवा दिने मात्रै हैन अनुसन्धान गर्ने पनि हाे भन्ने धारणा राख्नुभयाे । "नाैलाे र नवीन काम गर्न डराउनु हुँदैन, विद्यालय शिक्षालाई उत्कृष्ट बनाउन उच्चशिक्षा पनि राम्रो हुनुपर्छ, देशकाे उन्नति र स्राेत र साधनको उपयाेगका लागि ध्यान दिनुपर्छ। जिम्मेवारी, रणनीति याेगदानकाे मुल्यांकन गर्दै नेपालकाे शिक्षालाई अगाडि बढाउने काममा हामीले गर्ने काम महत्त्वपूर्ण हुनेछ।" प्रा.डा. थापाले भन्नुभयो । माध्यमिक शिक्षककाे हैसियत भन्दा प्राविधिक धारका शिक्षा दिने इन्जिनियरकाे मान्यता विद्यालय तहमा नहुनुले समस्या छ भन्नुहुँदै उहाँले विद्यार्थीले खाेजेका चाहाना पूरा गरेर ज्ञान पनि भरिदिनु पर्ने अहिलेकाे आवश्यकता रहेकाे बताउनुभयो । नविनतम् प्रविधि र शिक्षाकाे क्षेत्रमा नेपाल सरकारले के भन्छ भन्दापनि अन्तर्राष्ट्रिय संस्थाहरुले के भन्छ भन्ने अहिले हाम्रो चुनाैती छ भन्नुहुँदै उहाँले विश्वविद्यालयले 'मेन्टरिङ' गर्नेमा ध्यान दिनुपर्छ भन्नेमा जाेड दिनुभयाे । हामीलाई समृद्ध बनाउने परम्परागत सीपलाई छाेडेर आधुनिकतातर्फ जाँदा दु:ख पाइरहेका छाैं भन्नुहुँदै उहाँले काठमाडौं विश्वविद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अत्यन्तै प्रभावकारी ढंगले अगाडि बढ्ने बताउनुभयो । मन्त्रालयका सहसचिव वैकुण्ठ प्रसाद अर्यालले प्रविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम प्रदान गर्ने निकायमा विद्यार्थी भर्ना दर सन्ताेषजनक नभएको बताउनुभयो । उहाँले प्राविधिक शिक्षाका क्षेत्रमा लक्ष्य र बजारको तालमेल हुन सकिरहेको छैन भन्दै यसतर्फ सरकारकाे बजेट विनियोजन कम भएको धारणा राख्नुभयाे। उहाँले बजारकाे माग अनुसार सिटिइभिटीकाे क्षमता अभिबृद्धि गर्ने कार्यलाई ध्यान दिनुपर्नेमा ध्यानाकृष्ट गर्नुभयाे ।
काठमाडौं स्कुल अफ एजुकेसनका डीन प्रा डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयले तीन वर्षयता समुदायसंग मिलेर काम गरिरहेको जानकारी गराउनुभयाे । उहाँले देशका १९ वटा पलिकाका समुदायमा पुगेर ३६ वटा शैक्षिक संस्थाका साथै अन्य निजी संस्थाहरुसंग समेत मिलेर काम गरिरहेको बताउनुभयो । पूर्वडिन तथा प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले प्राविधिक र व्यवसायिक शिक्षा क्षेत्रमा लामाे समयदेखि काम गर्दै आएकाे विश्वविद्यालयले देशभरका विभिन्न पाँच स्थानमा कार्यक्रमहरु गर्दै आएकाे र सात वर्षदेखि विभिन्न विषयमा अनुसन्धान गरेकाे जानकारी गराउनुभयाे । उहाँले प्राविधिक तथा व्यवसायिक शिक्षामा सहयाेग पुर्याउन गरिने अनुसन्धान र तथ्यांकलाई विश्वासनीय बनाउँदै संघीय सरकारलाई कसरी सहयाेग गर्न सकिन्छ भन्ने अभिप्राय विश्वविद्यालयकाे रहेकाे बताउनुभयो ।
आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २, बुधबार वर्गीकृत
काठमाडौं/ २ साउन, आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन् । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ ।
आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत-उपवास र पूजापाठलाई महत्त्व दिइन्छ । यसैगरी यो अवधिमा पर्ने आठ एकादशीलाई विशेषरूपमा लिइन्छ ।
हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीका दिनलाई देवशयनी एकादशी, पद्मनाभ एकादशी पनि भनिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान विष्णुको प्रतीक मानिन्छ ।
आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुले क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद्हरु बताउँछन् ।
पुराणहरूका मत अनुसार भगवान विष्णु यस दिन देखि चार महिनासम्म पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । त्यसैले यस दिनलाई देवशयनी एकादशी भनिएको हो। भगवान् विष्णु शयन गर्ने चार महिनालाई चर्तुमास पनि भनिन्छ ।
चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।
एक वर्षमा पर्ने २४ एकादशी मध्य सक्नेले सबै र नसक्नेले चर्तुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्ने गर्छन् । यी आठ एकादशी पनि सम्भव नहुनेले भने हरिशयनी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
देवशयनी एकादशी व्रतविधि
एकादशीको दिन बिहानै उठेर घरको सर–सफाई गरि नुहाएर पवित्र जल घरमा छर्कने । घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा भगवान विष्णुको सुन, चाँदी, तामा अथवा पितलको मूर्ति स्थापना गर्ने । भगवान विष्णुलाई पहेँलो फूल, पहेँलो वस्त्र, पहेँलो चन्दन चढाउने । उनको हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित गर्ने प्रचलन छ।
त्यसपश्चात एकादशीको व्रतकगा सुन्ने । कथा सुनिसकेपछि आरती गरेर प्रसाद ग्रहण गर्ने । अन्तमा सेतो चादरले ढाकेको गद्दा(सिरानी) भएको खाटमा भगवान श्री विष्णुलाई शयन गराउने । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने, रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।
देवशयनी एकादशीको पौराणिक व्रतकथा
सत्ययुगमा मान्धाता नामका एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । एक समय राज्यमा लगातार तीन वर्षसम्म पानी परेन । त्यही कारण भयांकर अनिकाल सुरु भयो । प्रजा व्याकुल भए र चारैतर्फ हाहाकार मच्चियो ।
प्रजाको दयानीय अवस्था देखेर राजा समाधान खोज्नका लागि जंगलतर्फ निस्किए । यसै क्रममा विचरण गर्दै राजा मान्धाता अङ्गिरा ऋषिको आश्रममा पुगे । राजाको कुरा सुनेर अङ्गिरा ऋषिले भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा अवश्य पानी पर्नेछ ।’
अङ्गिरा ऋषिको कुरा सुनेर राजा मान्धाता आफ्नो राज्य फर्किए । राजाले विधिविधानपूर्वक देवशयनी एकादशीको व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो । राज्यमा समृद्धि फर्कियो । धार्मिक मान्यता अनुसार यस दिन भगवान विष्णुको पूजा र व्रत गर्नाले भगवान प्रशन्न हुन्छन् र मनोकामना पूरा हुन्छ ।
वैज्ञानिक महत्व
वैज्ञानिक रुपमा बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएको स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
‘कुमोन सिकाइ विधि’ नेपालमा
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १, मंगलबार वर्गीकृत
काठमाडौँ/१ साउनः जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै शैलीमा सिक्ने जनाइएको छ ।
उक्त विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको ग्वार्काे युनाइटेड र काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का करिब एक हजार पाँच सय विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो ।
जापानको कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयका सञ्चालित कुमोन अभ्यासको अवलोकनका साथै विद्यार्थीसँग अन्तरक्रिया गरेका छन् । उनले नेपालका धेरैभन्दा धेरै विद्यार्थीलाई स्वतन्त्र रूपले आफ्नो लयमा आफैँ सिक्ने सीपहरू बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि हुने बताए । यो विधिबाट समस्या समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उनले जनाए ।
एलआरआइ स्कुलका प्रिन्सिपल डा देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरूको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताए । युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्धितीय स्वयं सिकाइ र विद्यार्थीकेन्द्रित विधि भएकाले नेपालमा प्रभावकारी हुने बताए ।
आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले उक्त विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने गरे पनि विद्यार्थीको दिमागी तालिम र अभिवृद्धिका लागि सोचको विकास भइनसकेको बताए ।
यस विधिले विद्यार्थीले ‘आइक्यु’स्तरमा सुधार गरेर ‘अपरेटिङ’ प्रणालीलाई छिटो गर्न मद्दत गर्ने अध्यक्ष लामाले जानकारी दिए । यसले विद्यार्थीको दैनिक क्रियाकलापको मूल्याङ्कन गर्छ भने विद्यार्थीको दिमागको कसरी प्रयोगको भइरहेको छ भन्नेबारेमा आइआए (कृत्रिम बुद्धिमत्ता)का माध्यमबाट कुमोनका कर्मचारीलाई सूचित हुन्छ ।
सोको प्रतिक्रिया विधिका प्रशिक्षकलाई पुग्ने र प्राप्त निर्देशनअुसार दिमागको प्रयोगमा सुधार गर्दै लगिनेछ ।यो पद्धति हाल संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा युरोपका विभिन्न मुलुकमा सञ्चालन भइसकेको छ । आर्थिक रूपमा महँगो मानिने यो विधि नेपालमा सरल मूल्यमा उपलब्ध गराइएको छ ।
लोक–संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको छ - राष्ट्रपति पौडेल
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १, मंगलबार वर्गीकृत
काठमाडौँ/१ साउन, राष्ट्रपति रामचन्द्र पौडेलले लोक–संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ । धर्मराज – सावित्री थापा प्रतिष्ठानद्वारा मङगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकविकेशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।
“लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ”, उहाँले भन्नुभयो ।
नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो भन्दै राष्ट्रपति पौडेलले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता हो भन्नुभयो । “हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन्, यसैको विकास, संरक्षण र प्रवद्र्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, संगीत र साहित्यका माध्यमबाट नेपाली वाङमयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको बताउँदै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवद्र्धनमा उहाँको योगदान नेपाल र नेपालीले कहिल्यै विर्सने छैनन् भन्नुभयो । यस्ता कार्यक्रमले आफ्नो साधनामा समर्पित प्रतिभालाई समाज र राष्ट्रको विकासमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले ५० हजार राशिको धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० साहित्यकार वैरागी काइला र धर्मराज सावित्री थापा लोकगीत संगीत पुरस्कार एल पी जोशीलाई प्रदान गर्नुभयो ।
राष्ट्रपतिद्वारा सरकार गठनको लागि आह्वान
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ २८, शुक्रबार वर्गीकृत
आन्दोलनमा उत्रिने निर्माण व्यवसायीको चेतावनी
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ २७, बिहिबार वर्गीकृत
काठमाडौं/२७ असार, नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म सम्पन्न भएको कामको भूक्तानी नपाए निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आर्थिक वर्ष समाप्त हुनै लाग्दा पनि व्यवसायीहरुको अरवौं रकम भूक्तानी हुन बाँकी रहेकाले रकमान्तर गरी हालसम्मको बाँकी रकम असार मसान्तभित्र भुक्तानी गर्न सरकारसँग माग गरेको हो। सरकारले विगत दुई वर्षदेखि निर्माण व्यवसायीहरूले पाउनु पर्ने भुक्तानी रोकेको जनाएको छ।
महासंघले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षका आयोजना निर्माण कार्य सम्पन्न गरेबापतको ६० अर्ब रुपैयाँ सरकारले भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौँ रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति उत्पन्न भएको बताउनुभयो।
“बैङ्कको किस्ता र अन्य कर तिर्न नसकी हजारौँ व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा मनोवैज्ञानिक दबाब परेको छ” अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा भन्नुभयो
आर्थिक वर्षको अन्त्यमा स्रोत सुनिश्चिता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले दिएका कारण हजारौँ व्यवसायी प्रभावित भएको उहाँले बताउनुभयो। यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको उहाँले बताउनुभयो।
विभिन्न जिल्लाका आफ्ना सहकर्मी आन्दोलनमा उत्रिएका जानकारी दिँदै सिंहले त्यस्तो परिस्थिति ननिम्तियोस् भन्नेमा आफूहरू रहेको बताउनुभयो।
काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले एक बिज्ञप्ती प्रकाशन गर्दै नेपालको विकास निर्माणको पूर्ण जिम्मेवारी लिई सक्रिय रहेका निर्माण व्यवसायीहरु घर न घाटको स्थितिमा पुगेको वताएको छ।
नेपाल सरकारले आर्थिक बर्ष ०८०(८१ सम्म निर्माण कार्य सम्पन्न गरेका योजनाहरुको विल भरपाई अनुसार भुक्तानी दिने आसमा रहेका निर्माण व्यवसायीहरु भुक्तानी नपाएर मानसिक रुपमा विक्षिप्त भई आत्माहत्या गर्ने अवस्थामा पुगेका र निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी समयमा नपाएका कारण सामान्य कारोबार मिलाउन नसकेर जेल सजाय भोगीरहेको विज्ञप्तीमा उल्लेख गरेको छ।
केही दिन आगाडि मात्र नेपाल सरकारबाट निर्माण कार्य सम्पन्न गरेका आयोजनाहरुको बिल अनुसारको भुक्तानी दिने आश्वासन पाएका निर्माण व्यवसायीहरुले भुक्तानी नपाउँदा निर्माण सामग्री, मजदुरको पारिश्रमिक, बैकिङ कारोबार लगायत अन्य कार्य मिलाउँन नसक्दा नै डडेलधुराका निर्माण व्यवसायी डम्बर देव ९सन्तोष० भट्टले आत्महत्या गरेको बताएको छ।
अझै पनि केही दिन भित्र भुक्तानी दिन सरकारले आलटाला गरेमा कयौ निर्माण व्यवसायीहरुले गम्भीर बाटो रोज्न बाध्य हुने अवस्था आउने र निर्माण कार्य लथालिङ अवस्थामा छोडेर सम्र्पकविहिन अवस्थामा पुग्न सक्ने संघका महासचिव पञ्च बहादुर तामाङ (विजय)ले जनाउनुभयो।
नेपाल सरकारले तत्कालै अधुरा रहेका निर्माण आयोजनाहरुको अध्ययन र निर्माण व्यवसायीले पाउनुपर्ने भूक्तानीका सम्बन्धमा राजनीतिक दल र विज्ञ निर्माण व्यवसायी सहितको उच्चस्तरिय समिति गठन गर्नु पर्ने संघ माग छ। संघले सम्पूर्ण निर्माण व्यवसायीहरुलाई संयमता र धैर्यतामा रहन आग्रह गरेको छ।
सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ - सञ्चारमन्त्री शर्मा
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ २७, बिहिबार वर्गीकृत
ललितपुर/२७ असार, सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ भन्ने धारणा राख्नुभएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा संयुक्त रुपमा आज पुल्चोकमा आयाेजित 'सेन्टर अफ एक्सिलेन्स फर आइसिटि रिसर्च एण्ड डेभलपमेन्ट' काे उद्घाटन पश्चात मन्तव्य राख्नुहुँदै मन्त्री शर्माले सूचना प्रविधिको वर्तमान युगमा यसकाे विकास नेपाली जनताले बुझ्ने र प्रयाेग गर्ने भाषामा हुनुपर्छ भन्ने धारणा राख्नुभएको हाे ।
"नेपाल सरकारले आइसिटीकाे महत्त्वलाई बुझेर विकासका लागि धेरै काम गरेको छ, अभियानकाे रुपमा विकास गरिनुपर्छ, सर्वसाधारणले बुझ्ने गरी सूचना प्रविधिलाई अगाडि बढाइनुपर्छ, यस वर्षको बजेटमा पनि आर्थिक समृद्धिका पाँच रणनीतिक क्षेत्रभित्र सूचनाप्रविधिलाई समेटिएको छ, १६ ओै पञ्चवर्षीय याेजनामा समेत आइसिटीलाई समेटिएको छ, वजेटमा कृषि दशक र आइसिटि दशक घाेषणा भएको छ, आईटीहब निर्माण गर्ने कुराहरु समेटिएको छ। उच्च क्षमताकाे इन्टरनेट उपलब्ध गराएर यूवाहरुलाई अनुसन्धानमा सहयाेग गर्नुपर्छ।" उहाँले भन्नुभयो ।
मन्त्री शर्माले चालु आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरताका कार्यक्रमहरु राखिएको भए पनि सञ्चालन हुन नसकेको भन्दै उक्त कार्यक्रमहरु आगामि आर्थिक बर्षमा सञ्चालन हुनेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान देश र विदेशमा ब्रान्डिङ भएको संस्था हाे भन्नुहुँदै दूरसञ्चार प्राधिकरणसंगकाे सहकार्यमा सञ्चालित याे कार्यक्रम सफल पार्न संस्थानकाे भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने धारणा राख्नुभयाे ।
"विश्वविद्यालयबाट तयार भएका जनशक्ति र उद्योगलाई कसरी जाेड्ने भन्ने चुनाैती छ, आईसिटीकाे विकासले विदेशिनु पर्ने बाध्यता हट्ने छ, विश्वभर प्रतिस्पर्धा गर्न सक्छौं, देशकाे सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने माध्यमकाे रुपमा संस्थान सफल हुनेछ।" उहाँले भन्नुभयो ।
मन्त्री शर्माले साइवर सूरक्षाका लागि पुराना कानूनलाई संशोधन गर्ने र नभएकोमा नयाँ कानून निर्माण गर्ने कार्यकाे सुरुवात भैसकेको पनि जानकारी गराउनुभयाे ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले आइसिटी क्षेत्रकाे विकासकाे लागि सरकार, विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानसंगसंगै जानुपर्छ भन्ने धारणा राख्नुभयाे ।
"सामाजिक जीवन र गुणस्तरीय जीवनका लागि उपयाेगी हुने गरि आइसिटी क्षेत्रकाे अनुसन्धान र नवप्रवर्तनमा ध्यान दिनुपर्ने छ, यसमा याे कार्यक्रम सफल हुनेछ भन्ने विश्वास छ।" प्राध्यापक डाक्टर बरालले भन्नुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर शशीधरराम जाेशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरुकाे आकर्षक बढाउनका लागि इन्जिनियरिङ अध्ययन संस्थानले सामसुङ कम्पनी, क्यानाडाकाे आइटी कम्पनीसहित अन्य देशका आईटी कम्पनीसंग सम्झौता गरेर काम गरेकाे बताउनुभयो । उहाँले संस्थानले आइसिटी क्षेत्रमा नेपालकाे लागि मात्रै हैन अन्तर्राष्ट्रिय जगतमा विक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताउनुहुँदै साइवर सेक्युरिटी लागि काेरियन विश्वविद्यालयहरुसंग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो ।
क्याम्पस प्रमुख प्राध्यापक डाक्टर इन्द्रप्रसाद आचार्यले निरन्तर अध्ययन र अनुसन्धानका लागि दूरसञ्चार प्राधिकरणबाट सहयाेग प्राप्त भएको बताउनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले अध्ययन अनुसन्धानबाट प्राप्त हुने उपलब्धिले देशलाई महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले यस सहकार्यबाट नेपाल सरकारलाई डिजिटल प्रशासन सञ्चालनका लागि समेत महत्त्वपूर्ण सहयाेग हुने गरी अनुसन्धान तथा विकासका कार्य हुने विश्वास व्यक्त गर्नुभयाे। उहाँले याे कार्यक्रमले विदेशी प्रविधि ल्याउने र प्रयाेगमात्रै गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने छ भन्नुभयाे ।
कार्यक्रममा धारणा राख्ने विज्ञ बक्ताहरुले यस कार्यक्रमले लामो समयकाे अध्ययन अनुसन्धानका साथै देशलाई आवश्यक परेको प्रविधि अनुसारकाे तालिम सञ्चालन गर्ने लक्ष्य राखेको बताउनुभएको थियाे । उहाँहरूले ज्ञानसीप हस्तान्तरणले सूचना प्रविधिको क्षेत्रमा आएकाे परिवर्तनलाई आत्मसात गर्दै बाैद्धिक जनशक्ति पलायनलाई राेक्न सहयाेगी सिद्ध हुने धारणा राख्नुभएको थियाे ।


