add
Display Style: 
Column Style

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र २६, सोमबार वर्गीकृत

चितवन/२६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताउनुभएको छ ।

बागमती प्रदेश खेलकुद परिषद्द्वारा शनिबार आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उहाँले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताउनुभयो ।

“गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निर्माणकार्य द्रूततापूर्वक अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।”

क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोट्र्स् हब’ का रूपमा विकास हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिताहरू सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताउनुभयो ।

खेलकुदमा नयाँ अवसर सिर्जना भएसँगै युवामा शारीरिक एवं मानसिक स्फूर्ति, सामाजिक जीवनका बहुआयमिक क्षेत्रमा विकास गर्नुका साथै चुनौतीपूर्ण परिस्थितिमा रहेको युवा पलायन रोक्नसमेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले राष्ट्रिय, प्रदेशस्तरीय एवं स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताको बहुआयमिक महत्त्व रहने बताउनुभयो ।

चितवनमा आयोजना भएको प्रतियोगिताले यहाँका पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाँच हजारभन्दा बढी खेलकर्मीले यस प्रतियोगितामा प्रत्यक्ष सहभागी हुने भएकाले चितवनका कला संस्कृतिको समेत प्रवर्द्धन हुने बताउनुभयो ।

सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र आधुनिक नेपाल नै नेपालीको चाहना: राष्ट्रपति

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र २३, शुक्रबार वर्गीकृत

लमजुङ/२३ चैत: राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पुरा गर्नु रहेको बताउनुभएको छ । 

“स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार” भन्ने नारासाथ शुक्रबारदेखि प्रारम्भ भएको आठौं लमजुङ महोत्सव, २०८० को उद्घाटन तथा लमजुङ भ्रमण वर्ष २०८१ को घोषणा समारोहलाई शुक्रबाार वेशीशरमा सम्बोधन गर्दे उहाँले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ अब हामीले विशेष ध्यान दिनुपर्दछ भन्नुभयो । 

“त्यसका लागि श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ, मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकरणको मार्ग प्रशस्त गर्न सक्दछौ जुन ठूलो त्याग, बलिदान र संघर्षबाट प्राप्त हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पनि लक्ष्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

उहाँले राजनीतिक दल, सरकार र नीति निर्माताहरूले सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना हो भन्ने भुल्नु हुँदैन भन्नुभयो । 

 

निजी क्षेत्रसँगको सहकार्यमा यहाँको पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति विकास तथा मौलिक कला, संस्कृति, सम्पदा र रैथाने उत्पादनलाई पर्यटनसँग आवद्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । उत्पादन, उत्पादकत्व र यस क्षेत्रको आर्थिक उन्नतिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्नुपर्ने आवश्यकता छ भन्दै उहाँले जलविद्युतका धेरै आयोजनाहरू यसै क्षेत्रमा निर्माण भइरहेकाले भविष्यमा ऊर्जाको आपूर्ति सहज हुने हुँदा यस क्षेत्रमा उद्योग स्थापना गर्ने वातावरण समयमै सृजना गर्नु उपयुक्त हने धारणा व्यक्त गर्नुभयो ।

देशका विभिन्न भागमा हुने महोत्सव तथा मेला पर्वहरूले सो क्षेत्रका धर्म, कला, सस्ंकृति, परम्परा संरक्षण र संवद्र्धन तथा यस क्षेत्रको पर्यटन, व्यवसाय तथा उत्पादनको प्रवद्र्धन, औद्योगि, पूर्वाधार परियोजनाका लागि लगानीमैत्री वातावरणसमेत सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो । “ भौगोलिक रूपमा नेपालकै मध्यभागमा अवस्थित लमजुङ जिल्ला अनुपम प्राकृतिक सौन्दर्य, आस्थाका धरोहरका रूपमा धार्मिक सम्पदाहरू, गौरवपूर्ण ऐतिहासिक गाथा, लोकतान्त्रिक राजनीतिक आन्दोलनको उर्वर भूमि, साहित्य तथा सास्कृतिक पक्षका दृष्टिले पनि आकर्षणको केन्द्रमा रहेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

२००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा जातीय भेदभाव, छुवाछुत विरुद्ध सामाजिक आन्दोलनको चम्किलो जागरण बनेको हलो क्रान्ति यही भूमिबाट उब्जिएको प्रसंग उल्लेख गर्दै उहाँले राजनीतिक चेतनाका लागि ब्राह्मणहरूले चलाएको सामाजिक जागरणको उक्त अभियानले राणा शासनको जग नै हल्लाइदिएको थियो र यहीबाट प्रजातन्त्रको उज्यालो प्रकाश पहाडी कन्दरा फैलिएको थियो भन्नुभयो । 

उहाँले आजको नेपालमा लमजुङ लुकेको सम्पत्ति ( हिडन ट्रेजर) को रुपमा रहेको र यहाँको हावापानी  माटो र सिंगो प्रकृति अनुपम छ, कृषि क्रान्ति, पर्यटनको विस्तार र जलस्रोतको विकास तिनवटै कुराको सशक्त आधार भूमि लमजुङ हो भन्नुभयो । “यसमा अन्तरनिहीत संभावनालाई उजागर गर्न सके समृद्धिको स्वर्ग यही नै भेटिन्छ, रोजगारी र आम्दानीको खोजीमा देश विदेशमा भौतारिरहनु पर्दैन”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  

विश्वमै उत्कृष्ट पर्यटकीय पदयात्राको ख्याती कमाएको अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका कारण आवश्यक सुविधा र पूर्वाधार खडा गरी यसले पर्यटन व्यवसायबाट लाभ लिन सक्ने प्रशस्त संभावना रहेको उहाँको भनाइ थियो । आन्तरिक पर्यटनको केन्द्र बनेको घले गाउँ, काउलेपानी र भुजुङसहितका गाउँ अनि होमस्टेहरू मात्र हैन गाउँशहर वेँशीशहर, राइनासटार, भोर्लेटार हुँदै चितिदेखि चसंकूसम्म, घनपोखरादेखि डाँडा– कुन्छासम्म र विचौरदेखि रिस्ति रम्घासम्मका पुराना नामी गाउँहरूले यहाँको मनोरम ऐतिहासिक आकर्षणको आयामलाई बढाइदिएको उहाँले बताउनुभयो । 

“यहाँको जस्तो जमिन रसिलो हो, मान्छे पनि रसिला र पाखा पखेरा पनि हसिला छन् । आफै हुर्केबढेको, संघर्ष र आन्दोलनका उकाली ओराली गरेको यही सुन्दर प्रकृति, संस्कृति र पाखा पखेरा देखेपछि अनि मलाई भन्न मन लाग्छ ः ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरा, हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो”, उहाँले भन्नुभयो । 

“धार्मिक, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाः दीगो पर्यटन उद्योग – समुन्नत लमजुङको मार्गदिशा ” भन्ने अवधारणासाथ जिल्लाका भौगोलिक, ऐतिहासिक, साहित्यिक तथा साँस्कृतिक पर्यटनका गन्तव्यहरूका अलावा प्राकृतिक सम्पदाहरूको प्रचार प्रसार गरी जिल्लाको दीगो पर्यटन प्रवर्धनमा सहयोग पुरयाउन यस्ता कार्यक्रमले सहयोग दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । “यस्ता अभियान र गतिविधिले राष्ट्रिय अर्थतन्त्रमासमेत महत्वपूर्ण टेवा पुर्याउने छ भन्ने विश्वास  लिएको छु”, उहाँले भन्नुभयो ।

केन्द्रको सत्ता समीकरणले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा असर पर्दैन : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र २३, शुक्रबार वर्गीकृत

 गोरखा/ २३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताउनुभएको छ । 

गोरखा जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशनक दिने क्रममा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारका प्रमुखलाई ढुक्क भएर जनताका काम गर्न निर्देशन दिनुभयो ।

जिल्लामा रहेका सङ्घीय र प्रादेशिक कार्यालयहरूले आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले आयोजनामा देखिने दोहोरोपन अवस्था हटाउनुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “केन्द्र र प्रदेश आयोजना छनोट गर्दा स्थानीय सरकारको सिफारिस लिने र सोको अभिलेख स्थानीय सरकारसँग रहनेगरी समन्वय गर्नुहोला ।”

स्थानीय सरकारले कानुनबमोजिम अधिकार प्रयोग गर्दा कर लगायत जनतासँग प्रत्यक्ष सम्बन्ध रहने विषयहरूमा सबै पालिकाले सकेसम्म समान धारणा बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायबीच पनि आवश्यक समन्वय हुनुपर्ने बताउनुभयो । 

कार्यालयमा भेटेर आफ्ना गुनासो सुनाउने जनताको अधिकार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्भव भएसम्म कार्यालय प्रमुखहरूले जनताका गुनासा सुन्नुपर्छ, जनताका लागि कार्यालय प्रमुखले सधैँ ढोका खुला राख्नुपर्छ भन्नुभयो । 

शान्ति सुरक्षाका कामलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिँदै उहाँले सुरक्षा संवदेशनशीलताका आधारमा सम्भावित परिस्थितीको आंकलन गरी काम गर्न निर्देशन दिनुभयो ।

देश र व्यवस्थालाई अप्ठयारो नहोस भन्ने मेरो चिन्ता हो - राष्ट्रपति पाैडेल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र २३, शुक्रबार वर्गीकृत

तनहुँ/२३ चैत:  राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पार्नुभएको छ । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

‘राजनीतिक अस्थिरताको श्रृङखलाले यो देश र व्यवस्थालाई अप्ठयारो नहोस भन्ने मेरो चिन्ता हो मैले प्रधानमन्त्रीलाई  पनि यही भनेको छु,’ तपाइहरूको राजनीतिमा मेरो भन्नु केही छैन तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस भन्ने मेरो चिन्ता हो, प्रधानमन्त्रीले तपाई र म रहेसम्म केही हुँदैन भन्नुभएको छ”, उहाँले भन्नुभयो, “ तपाईहरुले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु ।”

 उहाँले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्दै भन्नुभयो, “ एउटा जिपी कोइराला श्वास प्रश्साव केन्द्रलाई  शिक्षण अस्पताल बनाउने  र अर्को संसारमा कुनै पनि नेपालीले एक पटक नआई नहुने भानु साहित्य उद्यान, यसैले  यो तनहुँलाई विशिष्ट जिल्ला बनाउँछ । ”

उहाँले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ  न्यायक्षेत्रको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो,“ विकासको काम रोकेर कानुनको कुरा नगरौ, न्याय पनि जनताको पक्षमा हुनुपर्छ  यो मेरो सुझाव र सल्लाह हो ।”

राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले त्यसको लागि एउटा राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी छ भन्नुभयो । 

“त्यसैले सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । रोजगारी र शिक्षाको लागि शहर पस्ने र शहर हुँदै विदेशीने प्रवृत्ति बढीरहेका बेला स्थानीयस्तरमै विद्यालय हुँदै क्याम्पस तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदानगर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता नै आजको आवश्यकता हो भन्दै उहाँले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी हो जसले भौतिक विकास, संस्कार र सभ्यता निर्माणको जग बसाल्छ भन्नुभयो । “ज्ञानको शक्ति र सामथ्र्य व्यापक र विराट छ, भूमण्डलीकरण र विश्वव्यापीकरणको आधुनिक युगमा प्राविधिक, व्यावसायीक र प्रतिस्पर्धी शिक्षा दिन सरकार, नीति निर्माता र शिक्षासँग सरोकारवालाहरुले एक भएर सोच्नुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

उहाँले पठनपाठन र ज्ञानआर्जनको परम्परागत शैली र ढर्रालाई त्यागेर नीति निर्माण र योजनातहमा बस्नेले ग्लोबज भिलेजको जमानमा जहाँ कही बस्ने र जहाँसुकै पुग्नेलाई प्रतिस्पर्धी, योग्य, स्वरोजगार, स्वाबलम्बी र आत्मनिर्भर हुने खालको शिक्षा दिन सक्नुपर्दछ भन्नुभयो । राष्ट्रप्रेम र देशभक्ति त छदैछ देश निर्माण गर्ने एक अनुशासित, सीपवान र शीलवान नागरिक तयार गर्ने संस्कार र शिक्षा दिन जरुरी रहेको आफूलाई लागेको उहाँको भनाइ थियो । 

सामाजिक अगुवा एवं शिक्षानुरागीहरूको अथक प्रयासमा डेढ दशक अघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले यस क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको प्रसंग उल्लेख गर्दै तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्र्थीहरूको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गर्नुभयो । 

उहाँले भीमाद बजार र सेरोफेरो गुल्जार हुँदै गएपछि यहाँका शैक्षिक संस्थाको महत्व बढ्नु स्वभाविक भएको र यस क्षेत्र विस्तारै सडक, शिक्षा र सञ्चारसँगै विकासको बाटोमा अघि बढेको छ भन्नुभयो । भीमादबाट रिसिङ, भीरकोट हुँदै चितवन र रिसिङ राम्जाकोट, पिपलटार हुँदै नवलपरासीसम्मको फराकिलो सडक पूर्वाधार बनाएर उत्तर र दक्षिणका छिमेकी देशलाई जोड्ने संभावनातर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । “निर्माणाधिन १४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाले बनाउने जलाशयले यस क्षेत्रको पर्यटकीय आकर्षण बढाउन योगदान दिननैछ”, उहाँले भन्नुभयो ।

नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र २३, शुक्रबार वर्गीकृत

काठमाडौँ/२३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताउनुभएको छ । 

मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभएको हो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक बृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।”

विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले परिवर्तनशील वैश्विक परिवेश एवं राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई थप प्राथमिकता दिन सुझाव दिनुभयो ।

 

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाहरूको बजारीकरण र बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा नेपाल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 

संविधानबाट निर्दिष्ट गणतान्त्रिक राज्यव्यवस्थाले अनुसरण गरेको सुशासन र  सामाजिक न्यायको सिद्घान्तमा आधारित समाजवादउन्मूख शैक्षिक नीति, रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्‍याउन विश्वविद्यालयले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

 

उहाँले कृषि तथा वन विज्ञानका क्षेत्रमा कर्णाली प्रदेश र समग्र नेपालकै भौगोलिक, सामाजिक एवं आर्थिक अवस्थालाई मध्यनजर गर्दै जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिमा आधारित शैक्षिक, व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आधुनिक र रैथाने कृषि प्रणाली र ज्ञान–सीपको संयोजन गरी विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक विविधता र प्राकृतिक स्रोत–साधनले सम्पन्न तर भौतिक पूर्वाधार विकास, औद्योगिकीकरण तथा मानव विकासका सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा स्थापित मध्यपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमै प्राज्ञिक उन्नयन, भौतिक विकास, सूचना प्रविधि सहितको कार्यप्रणाली विकासमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । 

संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गरौँ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र २०, मंगलबार वर्गीकृत

काठमाडौँ/२० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको  प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ।  

‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माआवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समावादी एवं देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसकारण यही विषयलाई आत्मसात गरेर मैले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।”

समाजवादको जन्म कहाँबाट हुन्छ ? भन्ने तर्क आउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।” 

पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो । 

यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा आगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पूरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पार्नुभयो । 

नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई डेलिभरी दिनेगरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो ।

कुन तहबाट कुन काम सम्पन्न भएको छ, मूल्यांकन गर्ने बेला भयो: राष्ट्रपति

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र १७, शनिबार वर्गीकृत

चितवन/ १७ चैत: राष्ट्रपति रामचन्द्र पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम  सम्पन्न भएको छ भन्ने कुराको अब  मूल्यांकन गर्नुपर्ने बेला भएको बताउनुभएको छ । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशुली नदी पुलको शनिबार उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । 

“ सरकारले धेरै योजनामा धेरै ठाउँमा धेरै बजेट राखेको छ, तर ती अलपत्र छन्, तर जहाँ स्थानीय जनताले मेहेनत गरेका छन्, त्यहाँ मात्रै काम सम्पन्न भएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले अब मूल्यांकन हुनुपर्छ कि  माथिल्लो जिम्मेवारीमा  बसेकाले काम सम्पन्न गरेका छन् की स्थानीय जनताको मेहेनतबाट मात्र काम सम्पन्न भएका  छन् । ”

राष्ट्रपति पौडेलले अब भोटको र छाडा राजनीति गरेर जथाभावी सार्वजनिक जग्गा बाड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै सार्वजनिक जग्गालाई पार्क र बगैचा बनाएर पर्यटक आकर्षित गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । 

राष्ट्रपति पौडेलले नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्रप्राप्तीसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको वृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवम् भरोसा जगाएको छ  भन्नुभयो । 

“केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न हामी सबै एक भएर जुटनुको विकल्प छैन”, उहाँले भन्नुभयो ।  

देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास हो परन्तु त्यसको लागि पहिलो खाँचो सुशासन नै भएको उहाँले स्पष्ट गर्नुभयो । “म त्यही एजेण्डामा आज पनि उभिएको छु, राष्ट्रपतिमा निर्वाचित भएपछि मैले भनेको पनि छु म राजनीतिमा हात हाल्दिन र विकासबाट टाढा भाग्दिन, अर्थात देश विकास नै मेरो अभिष्ट र अभिभावकीय भूमिका र चाहना हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । यस अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकतावद्ध र समन्वयात्मक हुन प्रेरित गर्ने उहाँको भनाइ थियो ।  

ठूलो त्याग, बलिदान र संघर्षबाट हामीले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै उहाँले आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको बताउनुभयो । “सफल राजनीतिक आन्दोलनको कार्यभार पुरा गरेपछि अब हाम्रो ध्यान सुशासन, विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ, यसमा कहींकतै द्विविधा हुनुहुँदैन”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  

 उत्पादन, रोजगारी, उद्योगधन्दासहितका आर्थिक क्रियाकलाप र निर्यातमुखी अर्थतन्त्रको विकास समयको माग भएको उहाँको भनाइ थियो । “यस क्षेत्रको  विकासका लागि यो पुल कोशेढुङगा सावित हुनसक्छ भन्ने मलाई लाग्छ, किनभने यहीँबाट यस क्षेत्रको व्यवसायीकरणसहित तीव्र रुपमा कृषि उत्पादन अनि त्यसको बजारीकरण, ऊर्जा र पर्यटन क्षेत्रको विकास र विस्तार तथा शालीग्राममार्गलाई कालीगण्डकी कोरीडोर हुँदै उत्तर दक्षिण जोड्ने एउटा कडी बनाउन सकिने मैले देखेको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  

मुलुककै महत्वपूर्ण केन्द्र मानिएको चितवन, नवलपरासी र तनहुँको संगमस्थल पवित्र तपोभूमि देवघाटमा उपस्थित भएर यहाँ क्षेत्रका वासिन्दाहरुसँग भेटघाट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले यहाँसम्म आईपुग्दा गर्नुपरेका संघर्ष र अनेक अवरोधहरू तपाईहरूबाट छिपेको छैन भन्ने उल्लेख गर्नुभयो । 

उहाँले दामोदर कुण्डबाट बहेर आएको कृष्णा (कालीगण्डकी ) र गोसाइँकुण्डबाट बहेर आएको त्रिशूलीजस्ता पवित्र नदीको संगम देवघाटधाम क्षेत्रको व्यापक प्रचार गरी यसलाई राष्ट्रिय गौरवको योजनामा सहभागी गरेर यहाँको विकास गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । 

“ऋषिमुनीहरूले तपस्या गरेको यहाँका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राचीन महत्वको स्थलहरूको संरक्षण र संवद्र्धन गरी सरोकारवालाहरूको सहयोगमा उत्कृष्ट धार्मिक तथा आध्यात्मिक केन्द्र बनाएर विश्वकै ध्यान यसतर्फ केन्द्रित गर्न जरुरी छ, देवघाट धाम, गण्डकी नदी, तीनका सहायक नदीहरू तथा यहाँका विविध क्षेत्रको महत्वबारे परिचित गराउन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले देवघाट क्षेत्र विकास समितिको स्थापनाकालदेखिनै यहाँको समग्र विकासमा आफूले ध्यान दिएको स्मरण गर्दै यसको थप विकासमा पनि सधै साथ रहने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति पौडेलले यति पवित्र भूमिमा वर्षौदेखि एउटा झोलुङगे पुलको भरमा यस क्षेत्रका वासिन्दा र भक्तजनले आवतजावत गर्नुपर्ने कष्टकर अवस्थाकोे पुल निर्माणसँगै अन्त्य भएको बताउनुभयो । दशक लामो कठिन प्रयत्नपछि बन्दै भत्कदै बनेको यो केवल एउटा पुल मात्र नभएर यस सेरोफेरोको कृषि, पर्यटन, व्यापार–व्यवसायलगायत विकासको बलियो जग खडा हुनेछ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “देशविदेशबाट चितवन आउने जोकोहीलाई भरतपुरबाट सहज पहुँचको मार्गप्रशस्त गरेको यस पुलले देवघाटधामको सर्वाङ्गीण विकासको ढोका खोलेको छ, दुईवटा प्रदेश र दुई जिल्ला जोड्ने यो पुल यहीक्षेत्र भएर जाने शालिग्राम मार्गको प्रस्थान विन्दु हो”, उहाँले भन्नुभयो । 

“दासढुंगा पुलले माथिल्लो भागलाई जोडेको थियो भने यो पुलले देवघाटलाई सोझै नारायणघाटसँग जोड्दछ । यो ठाउँ त देवघाट पालिकाको दुई वटा वडामात्र हो । सिङ्गै चार वटा वडाका मानिस त्यो माथि भीरपाखामा बस्छन् । मान्छे हिड्न र त्यहाँ उत्पादित सुन्तला तार्न तीनका लागि गाईघाटमा अर्को पुल चाहिएको छ । त्यस्तै, १२६ मेघावाटको  विद्युत परियोजनाको पावर हाउस पनि त्यहीँ बनाउनुछ“, उहाँले भन्नुभयो ।

महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र १७, शनिबार वर्गीकृत

काठमाडौँ/ १७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताउनुभएको छ ।

महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीति दलका प्रतिनिधिमण्डलले आज बालुवाटारमा गर्नुभएको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

जलेश्वर भन्सार कार्यालय र  जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीलगायत विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन केन्द्रमा राखेर देशको समग्र विकासमा सरकार निरन्तर लागिपरेको स्पष्ट पार्नुभयो ।

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र १६, शुक्रबार वर्गीकृत

काठमाडौँ/१६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन तहबीच राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले कार्य प्रारम्भ गरेको जानकारी गराउनुभएको छ । 

राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले तीन तहबीच राजस्व बाँडफाँटका सम्बन्धमा उठेका विभिन्न सवालका विषयमा काम सुरु भएको बताउनुभयो । 

“वित्त आयोगले सरकारलाई पाँच वर्षका लागि राजस्व बाँडफाँटसम्बन्धी सिफारिस गरेबमोजिम काम भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसबीचमा तीन तहबीच राजस्व बाँडफाँटका सम्बन्धमा उठेका विभिन्न सवाल र अनुभवसमेत समेटेर विद्यमान मापदण्डलाई थप वस्तुनिष्ठ, व्यवहारिक एवं वैज्ञानिक बनाई राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन २०७४ को दफा १५ बमोजिम आगामी आर्थिक वर्षमा बाँडफाँटका सूचकहरू पुनरावलोकन गर्न आयोगले कार्य प्रारम्भ गरिसकेको छ ।” 

आगामी दिनमा तीन तहबीच श्रोतको न्यायोचित वितरण सुनिश्चित हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तहगत सरकारबीच प्राकृतिक श्रोतको बाँडफाँट तथा उपयोगका सन्दर्भमा देखिएका विवादहरू समाधान गर्न प्राकृतिक स्रोत परिचालनसम्बन्धी एकीकृत कानुनको मस्यौदा कार्य अगाडि बढाइएको बताउनुभयो ।

वित्तीय सङ्घीयतालाई थप सुदृढ गर्न सरकारले गम्भीरतापूर्वक कार्य अघि बढाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसै साता वित्तीय सङ्घीयताका क्षेत्रमा अवलम्बन गरिएका अभ्यासलाई संविधानको मर्मअनुरूप सुदृढ गर्न राष्ट्रिय समन्वय समिति एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा छलफल गरिएको जानकारी गराउनुभयो ।

“प्रदेश र स्थानीय तहमा गरिने वित्तीय हस्तान्तरणसम्बन्धी कार्य थप प्रभावकारी समन्यायिक र सन्तुलित बनाउँदै लगिनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाल प्रदान गरिँदै आएका चार प्रकारका अनुदानहरूमध्ये समानीकरण अनुदानलाई क्रमशः वृद्धि गर्ने, सशर्त अनुदानलाई घटाउँदै जाने नीति  सरकारले लिनेछ । समपूरक र विशेष अनुदानलाई समेत थप प्रभावकारी बनाउँदै लगिनेछ ।”

उहाँले तीन तहबीच राजस्वको अधिकारका सम्बन्धमा सङ्घीयता कार्यान्वयनका लागि गठन भएका विभिन्न उच्चस्तरीय संरचनाहरूको नियमित बैठकमा आएका सुझाव समेत ध्यानमा राखेर वित्तीय सङ्घीयतालाई प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल भइरहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाल प्रचलित अन्तरसरकारी वित्त व्यवस्थापन ऐनलाई समसामयिक बनाउन संशोधनको प्रक्रियासमेत अघि बढेको छ । यसले तीन तहबीच राजस्व बाँडफाँटमा देखिएका विद्यमान समस्या समाधान गर्नेछ ।”

राष्ट्रिय योजना आयोगलाई रोजगारीका कार्यक्रम प्रस्तुत गर्न प्रधानमन्त्रीकाे निर्देशन

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र १३, मंगलबार वर्गीकृत

काठमाडौँ, १३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताउनुभयो ।

“आयोगले सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन् ।” उहाँले तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन दिर्नेशन दिनुभयो । 

“मलाई विश्वास छ, अहिले बनेको नयाँ टिमले राष्ट्रिय योजना आयोगको काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाहरूको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।”

उहाँले सोह्रौँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमहरूलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिनुभयो ।

सोह्रौं योजनाले प्रमुख रूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हामीले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पुर्‍याउँछ, त्यसको आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ ।”

Pages