जीवनस्तर माथि उठाउन वैचारिक बहस आवश्यक: राष्ट्रपति पौडेल
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १७, बुधबार वर्गीकृत
काठमाडौं/१७ माघ, राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडि) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा.मार्टीन शुल्जले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्न लागिरहेको र यसैको माध्यमबाट लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने प्रयत्न भइरहेको बताउनुभयो । उहाँंले नयाँं नयाँं प्रविधिको वर्तमान युगमा कसरी लोकतान्त्रिक समाजवादमार्फत नेपालजस्तो मुलुकमा जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने सम्बन्धमा एफइएसजस्तो संस्थाले वैचारिक बहस चलाउनुपर्ने पनि बताउनुभयो । राष्ट्रपति पौडेलले नेपालीहरूले लामो संघर्ष र बलिदानपछि आफ्नो संविधान आफैं बनाएको र उक्त संविधानले समाजवाद नजिक पु¥याएको बताउँंदै त्यसैमार्फत लोकतन्त्रलाई अझ सुधार गरेर जनताको हितमा कसरी लगाउने भन्नेमा प्रयत्नशील रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाल र एफइयसबीच यसबारेमा गहिरो छलफल र विमर्श आवश्यक रहेको बताउँंदै यसमा आपसी सहयोगको खाँचो औल्याउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा डा. शुल्जले नेपालको संविधान अत्यन्त प्रगतिशील र उदाहरणीय रहेको उल्लेख गर्दैै नेपालमा लोकतन्त्र सुदृढीकरणको साक्षी बन्न एफइएस नेपालमा स्थापना भएको हुनाले यसका लागि हरतरहका सहयोग विश्वास व्यक्त गर्नुभयो ।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १७, बुधबार वर्गीकृत
माघ १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिनुभएको हो। नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो। वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तात्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारले उद्योग पुनः सञ्चालनको विषय नीति तथा कार्यक्रममा समावेश गरेपश्चात नेपाली सेनाले सोको सम्भावना अध्ययन गरेको थियो। सो प्रतिवेदनको सारसंक्षेप नेपाली सेनाले बुधबार प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको हो। अध्ययन प्रतिवेदनमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङको अवस्था हुनु, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा आर्थिक भार पर्नु र व्यवस्थापकीय क्षमतामा कमि हुनु आदि कारणले विगतमा उद्योग बन्द हुन पुगेको निष्कर्ष निकालेको छ। अध्ययन प्रतिवेदनमा उद्योगका विद्यमान केही संरचना र मेसिनहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको, उद्योग सञ्चालनका लागि नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको, उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको तथा नेपाली सेना लगायत सरकारी कर्मचारीका लागि लत्ताकपडाको माग उद्योगले परिपूर्ति भएकाले बजारका लागि कुनै समस्या नभएको उल्लेख छ।प्रतिवेदनले उद्योग पुनः सञ्चालनको आवश्यकता र औचित्यसमेत निर्क्यौल गरेको छ। जसअनुसार उद्योग पुनः सञ्चालन गर्दा विगतको औद्योगिक शाख कायम हुने, मुलुकको औद्योगिक क्षेत्रको विकास र कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने, विश्वबजारमा औद्योगिक सन्देश जाने, आयत प्रतिस्थापन र आत्मर्निभरतामा अभिवृद्धि हुने, रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान हुने भएकाले युवा पलायन रोक्न सकिने निष्कर्ष छ। अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनको मोडालिटीसमेत प्रस्ताव गरेको छ। तीन वर्षे कार्यतालिकासहितको प्रस्तावित मोडालिटीमा अनुमानित २६ लाख मिटर कपडा उत्पादनका लागि आर्थिक वर्ष २०८०।०८१ मा नीतिगत निर्णय गरी नेपाली सेनालाई उद्योगको हस्तान्तरण, डिपिआर निर्माण, नयाँ मेसिनरी सामानको छनोट र खरिदको काम सम्पन्न गर्ने उल्लेख छ।
त्यसैगरि आर्थिक वर्ष २०८१।०८२ मा पूर्वाधार निर्माण, मेसिन र उपकरण खरिदको काम सम्पन्न गरी परीक्षण उत्पादन सुरू गर्ने प्रस्तावित मोडालिटीमा उल्लेख छ। त्यस्तै आ.व. २०८२।०८३ मा मेसिनहरू थप गर्ने, उद्योगको क्षमता बिस्तार गर्ने, बुटवल धागो उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थको व्यवस्था र नियमित उत्पादन सुरू गर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि रू. १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च रू. ७८ करोड लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ। उद्योग पुनः सञ्चालन गर्दा ९ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने कार्यदलको निष्कर्ष छ।
कार्यदलले उद्योग पुनः सञ्चालनका निम्ति नेपाल सरकारको नीतिगत र कानुनी सहयोगको समेत प्रस्ताव गरेको छ। जसअनुसार उद्योग पुनः सञ्चालनका लागि नीतिगत र कानुनी प्रक्रियामा सहयोग हुनुपर्ने, हालसम्मको दायित्व फरफारक गरी उद्योगको स्वामित्व नेपाली सेनामा हस्तान्तरण गर्नुपर्ने, उद्योगबाट उत्पादित कपडाको खपत सरकारी निकायमा गर्नेगरि नीतिगत व्यवस्था हुनुपर्ने लगायतका विषय समावेश गरेको छ। ब्रिफिङपछिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उद्योग पुनः सञ्चालनमा केन्द्रित भएर नेपाली सेनाले गरेको अध्ययन महत्वपूर्ण भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली सेनाले राम्रो अध्ययन गरेको छ। यसबारे राजनीतिक तहमा पनि एकचरण छलफल गर्छु। अध्ययनका निम्ति सरकारको तर्फबाट पनि सानो टीम बनाएर जान सकिन्छ। त्यसपछि मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिनेछौँ।”
प्रधानमन्त्रीले देशका उद्योगहरू निजीकरण गर्दै जाँदा देशको उत्पादकत्वमा ह्रास आउनुका साथै रोजगारीका अवसर घट्दै जानु नकारात्मक भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विगतका सरकारी उद्योगहरू निजीकरण गरिए। त्यसको परिणाम राम्रो भएन, उद्योगहरू कौडीमा निजीकरण गरिए, देशमा औद्योगिक वातावरण कमजोर भयो। रोजगारी सिर्जना खुम्चिँदै गयो। त्यसले युवा पलायनको भयावह स्थिति बन्दै गयो। अब पनि हामीले पहल लिएनौँ र औद्योगिक वातावरण बनाएनौँ भने देशको समस्या सम्बोधन गर्न सक्दैनौँ।” उक्त बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल सरकारका सचिवहरू र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १७, बुधबार वर्गीकृत
काठमाडौँ/१७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिनुभयो । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकोमा खुसी व्यक्त गर्दै उहाँले विश्व विद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।”
देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “यस विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्छ ।” उहाँले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको उल्लेख गर्नुभयो। विश्वविद्यालयले देशैभरि सबै प्रदेशहरूमा आंगिक कलेजहरू स्थापना गर्नेे लक्ष्यअनुरूप विभिन्न प्रदेशहरूमा ८ वटा कृषि संकाय र १ वटा वनविज्ञान संकायअन्र्तगतका कलेज र दुई वटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गर्दै उहाँले स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरू गर्न सुझाव दिनुभयो ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिको टोली भारत भ्रमणमा
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १७, बुधबार वर्गीकृत
काठमाडौं/ १७ माघ, संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिको टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका हुन् ।
भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरुमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् । सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।
बेलायतका सेना प्रमुखद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत
आज शहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत
काठमाडौँ, १६ माघ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ । शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”
शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभयो । उहाँले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको स्मरण र सम्मान गर्नुभयो ।
सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।
कैलाश मानसरोवर सिधा उडान सुरु
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत
नेपालगन्ज/ १६ माघ, लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।
भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए ।
पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुशी व्यक्त गर्दै नेपालगन्ज पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको बताए ।
नेपाल एशोशिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटन प्रर्वद्धनमा नेपालगन्ज– कैलाश मानसरोवर उडान फलदायी हुने विश्वास व्यक्त गर्दै नेपालगन्ज—पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे ।
संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो: राष्ट्रपति
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत
काठमाडौँ/ १६ माघ, राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताउनुभएको छ ।
शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नातर्फबाट इमान्दारीका साथ उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको हो ।
महान् शहीदहरूको बलिदानले नै संविधानमार्फत मुलुकले सर्वोत्कृष्ट शासन प्रणाली सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताउनुभयो ।
शहीद दिवस, २०८० को अवसरमा राष्ट्रपति पौडेलले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नेशहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
स्वतन्त्रता र नागरिक अधिकार शहीदका बलिदानको प्रतिफल : पूर्वष्ट्रपति भण्डारी
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै पूर्वष्ट्रपति भण्डारीले भनिन्, 'शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको सङ्घर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।'
नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण अमर शहीदप्रति राष्ट्रपतिले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपतिले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीरवीराङ्गनाप्रति सम्मान व्यक्त गरिन ।
शहीद दिवसले हामीहरुलाई शहीदले गरेको सर्वोच्च त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपतिले भनेकी छन्, 'शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने मैले विश्वास लिएको छु ।'
देशलाई द्रुत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन शहीद दिवसले सबैलाई हौसला दिने पूर्वष्ट्रपतिकाे सन्देशमा उल्लेख छ । हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउने गरिएको छ ।
आजबाट देशभरका सरकारी कार्यालय ५ बजेसम्म सञ्चालन
Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत
काठमाडौं/ १६ माघ, आज मंगलबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।


