add
Display Style: 
Column Style

दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ फाल्गुण ३०, मंगलबार वर्गीकृत

काठमाडौँ महानगरबासीले पूर्वाधार निर्माणमा भन्दा उपलब्ध अवस्थाको व्यवस्थापकीय पक्ष सुधारमा जोड दिएका छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले लिखित र मौखिकमार्फत यस्ता अपेक्षा गरेका हुन् ।

प्रश्नकर्ताले दिएका सुझाव तथा सोधिएका प्रश्नहरु, सडक पेटी, पैदल यात्रामैत्री सडक, पार्किङ् व्यवस्थापनबाट सहरी गतिशीलता, फोहोरको दिगो संकलन र व्यवस्थापन, विकास निर्माण र सुविधा वितरणमा काम गर्ने सरकारी कार्यालय बिच समन्वय लगायत विषयसँग सम्बन्धित छन् । यस्तै पूर्वाधार निर्माण गर्दा मौलिकता जोगाउँदै समावेशी र अपाङ्मैत्री संरचनामा ध्यान दिनुपर्ने लगायत बिषय छन् । खुल्ला मञ्च व्यवस्थापनको योजना के हो? सामुदायिक कुकुर व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ? जस्ता चासो अभिव्यक्त भएका छन् ।

महामारी नियन्त्रणलगायत सहरी स्वास्थ्य प्रवर्धन, सामाजिक सुरक्षा, प्रकोप व्यवस्थापन, सेवा प्रवाह र कार्यालय सञ्चालन प्रणालीका विषयमा सेवाग्राहीको प्रश्न थियो । सार्वजनिक स्थलहरुमा नागरिकको सुरक्षा, सरल र पहुँचयुक्त सार्वजनिक यातायात, तार, होर्डिङ् बोर्ड र डिजिटल बोर्डको व्यवस्थापनमा सेवाग्राहीको चासो छ ।

नागरिकका प्रश्न सुनिसकेपछि सुनुवाई कार्यक्रमको अध्यक्षता गरिरहनुभएकी महानगरकी उपप्रमुख सुनिता डंगोलले, सेवाग्राहीसँगको दोहोरो संवादबाट सुशासन र सेवाको पारदर्शितामा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो । ‘जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा गर्नु हो । हामी यसप्रति प्रतिवद्ध छौँ ।’ उपप्रमुख डंगोलले नेपाल भाषाको पाठ््यपुस्तक अझै सरल बनाउनु पर्ने जिज्ञासाको उत्तरमा भन्नुभयो, ‘ती पाठ््यपुस्तकबाट भाषा पढाउनेभन्दा काठमाडौँको मौलिकतालाई आम नागरिकको जानकारीमा पु¥याउने लक्ष्य राखिएको बताउनुभयो ।’

सुनुवाईका प्रमुख उत्तर दिने अधिकारी एवं काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, सहरी विकास र सुविधा वितरणका लागि धेरै निकाय भएकोले महानगर एक्लैको प्रयासले सोचेको जस्तो उपलब्धी नदेखिने बताउनुभयो । ‘असरल्ल तार काट्ने र अनावश्यक झिकेर जोडिदिने गरिएको छ । होर्डिङ् बोर्ड हटाउने कामलाई तीब्र बनाइएको, सार्वजनिक यातायात प्रणाली र पार्किङ् सुविधालाई व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।’

हामी विश्वाश, विचार र विकासको रणनीतिमा काम गरिरहेका छौँ । प्रवक्ता ननिव मानन्धरले भन्नुभयो, ‘नागरिकको विश्वाश जितेका छौँ । कार्य काल सुरु भएको १ बर्ष हुन लागेको छ । अहिले नागरिकको विचार बुझ्ने काम गरिरहेका छौँ । यसरी प्राप्त विचारका आधारमा विकास गर्नेछौँ ।’

सहरी सुरक्षा, मौलिकताको प्रवर्धन र विकास निर्माण सँगै स्वास्थ्य शिक्षा र रोजगारीलाई प्राथमिकता दिइएको प्रवक्ता मानन्धरको भनाइ छ ।

महानगरको योजना योजना वैङ्क भएका कार्यक्रम, वडाले सम्पादन गर्ने काम, सेवा लिन जाँदा सेवाग्राहीप्रति गरिने व्यवहार प्रश्नकर्ता अनुभवका रुपमा सोधिएका थिए ।

सुनुवाई सुरु गर्नुअघि स्वतन्त्र अनुसन्धानकर्ता सुरेन्द्र महतोले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गर्नु भएको थियो । महानगरका १५० जना सेवाग्राहीसँग सेवा सन्तुष्टि, सेवाको नियमितता, पूर्वाधार र सरसफाइ, पारदर्शितालगायत शीर्षकमा सोधिएका प्रश्न जवाफमा आधारित नतिजा आएको छ । सोधिएका प्रश्नमा नागरिकले दिएको उत्तरलाई नागरिक प्रतिवेदन पत्रका रुपमा प्रस्तुत गरिएको थियो । त्यसै गरी सेवा लिएर कार्यालयबाट बाहिर निस्कने सेवाग्राहीलाई सेवा कति सहजतापूर्वक प्राप्त भयो भनेर सोधिएको प्रश्नबाट प्राप्त भएको जवाफ समेटेर बहिर्गमन अभिमतको परिणाम तयार पारिएको थियो ।

यी प्रतिवेदनमा धेरै उत्तरकर्ताहरु तटस्थ देखिएका छन् ।

सेवा लिन जाँदा सूचना पर्याप्त प्राप्त गरेको, कम समयमा नै सेवा प्राप्त हुने गरेको, खोजेको कागज तुरुन्तै पाइने गरेको बहिर्गमन अभिमतले देखाएको परिणाम हो ।

अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ फाल्गुण ३०, मंगलबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ । फागुन २६ गते बालाजु बाइसधारास्थित महानगरको सभा कक्षमा सम्पन्न उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले फोरम गठन गरेको हो । यसको सदस्यमा उपत्यकाका सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनु हुनेछ ।

अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम, सहयोग र समन्वय सिकाइ, भोगाइ र अनुभव आदान प्रदान गर्ने फोरम गठनको मुख्य उद्द्श्य हो । फोरममा सार्वजनिक महत्वका विषयमा समान धारणा निर्माण गर्ने, जनप्रतिनिधिबाट तर्जुमा भएका नीतिगत निर्णयमा समान बुझाइ बनाएर उपत्यका एकीकृत विकासमा काम गर्ने विषयमा छलफल हुनेछ ।

बैठकमा प्रशासकीय अधिकृत अधिकारीले महानगरपालिकाका सफल अभ्यासका विषयमा प्रस्तुति गर्नुभएको थियोे ।

एकीकृत विद्युतीय सेवा सञ्चालनमा ल्याइएको, खरिद मूल्याङ्कन अधिकार विभाग र वडालाई दिइएको, आन्तरिक नियन्त्रण प्रणाली विकास गरिएको, वडाहरुको कार्य सम्पादन अनुगमन सूचक तयार पारिएको जस्ता कामलाई सिकाइका रुपमा अन्य पालिकाहरुमा विस्तार गर्न सकिने उहाँको भनाइ छ  । सामुदायिक विद्यालयहरुको सुधारका लागि प्रोफाइल तयार पारिएको, सहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा रुपान्तरण प्रक्रिया थालिएको उहाँको भनाइ छ । विशेषज्ञ स्वास्थ्य सेवासहितका यी केन्द्र सञ्चालनमा  सार्वजनिक सामाजिक उत्तरदायित्वको ढाँचा अबलम्बन गरिने उहाँले बताउनुभयो ।

अहिले गोकर्णेश्वर नगरपालिकामा बैकुष्ठप्रसाद सापकोटा, शंखरापुरमा बासुदे्व खनाल, बुढानिलकण्ठमा भुवनेश्वर खनाल, तारकेश्वरमा डा. कृष्णबहादुर घिमिरे, चन्द्रागिरीमा जीवनप्रसाद आचार्य प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । यसैगरी चाँगुनारायणमा हिरामणि सुवेदी, सूर्य बिनायकमा राजेन्द्रप्रसाद कँडेल, मध्यपुरमा विजयराज सुवेदी, टोखा नगरमा शेरबहादुर बि. सी. कीर्तिपुरमा लक्ष्मीप्रसाद बास्कोटा, कागेश्वरी मनोहरा नगरमा अजय बर्तौला हुनुहुन्छ । उहाँहरु बैठकमा सहभागी हुनुभएको थियो । 

बैठकमा उहाँहरुले राजस्वको दर एउटै हुनुपर्ने, फोहोरमैला व्यवस्थापनमा एउटै ढाँचाको कार्यक्रम चलाउनुपर्ने, पार्किङ्को मापदण्ड समान बनाउनु पर्ने लगायत विषयमा धारणा राख्नुभएको थियो । साझा कार्यक्रमका विषयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले राख्नुभएको प्रस्तावमाथि छलफल गर्दै उहाँहरुले सिमाना जोडिएका नगरहरुका समान मापदण्ड बनाउन सके सेवाग्राहीहरुमा सेवा सन्तुष्टि दिन सकिनेमा जोड दिनुभएको हो ।

सामुदायिक कुकुर र छाडा चौपाया व्यवस्थापन, डेङ्गी लगायत महामारी नियन्त्रण, वातावरणीय सुधार, ल्याण्डफिल साइटमा कमभन्दा कम फोहोर लैजाने प्रणालीको विकास, सहरी उज्यालो, नदी व्यवस्थापन, सडक सञ्जालको प्रयोग, सार्वजनिक यातायात प्रणालीका विषयमा छलफल भएको थियो ।

बैठकले चैत २४ गते फोरमको अर्को बैठक बस्ने निर्णय गरेको छ । त्यो बैठक कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गर्नेछ । अन्य बैठकमा विषयमा छलफल गर्दै बैठकले आगामी बैठकमा विषयमा अघिल्लो बैठकले निर्णय गर्ने सहमति गरेको छ । 

ताम्रकार समाजद्वारा सञ्चारमाध्यमसंग सहकार्यमा जोड

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ फाल्गुण २७, शनिबार वर्गीकृत

भाषा, संस्कृति र सम्पदा संरक्षणसंगै स्थानीय सरोकारको विषयलाई सम्बन्धित निकायबाट सम्बोधन गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

ताम्रकार समाजले शुक्रबार आयोजना गरेको नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा सो कुरा बताइएको हो।

सो अवसरमा समाजका अध्यक्ष विनोद ताम्रकारले नेपाल भाषा, संस्कृति, सम्पदा र मौलिक परम्पराको जर्गेना गर्ने लगायत राज्यको गलत नीति सरोकारवालालाई बेवास्ता गरी  गरिएका निर्णय का कारण सिर्जित समस्यासंग जुध्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

‘ सडक विस्तारको क्रममा ताम्रकारहरुको कुलदेवता उग्रचण्डीमाई मन्दिर क्षेत्र अतिक्रमण हुन नदिन समाजले गरेको विरोध, भूकम्पछि मन्दिर पुनःनिर्माण, ग्यास पड्किएर समाजका सदस्यहरुको मृत्यू हुुँदा क्षतिपूर्ण लिन कामदेखि समाजले गर्ने हरेक गतिविधिमा सञ्चारमाध्यमको भूमिका सहयोगी पूर्ण रहेको छ ।’ समाजको विकासमा सञ्चारमाध्यमको भूमिका महत्व रहेको उदाहरण दिँदै अध्यक्ष ताम्रकारले भन्नुभयो।

सो अवसरमा समाजका निर्वतमान अध्यक्ष रवीन्द्रराज ताम्रकारले समाजले आफ्नोे उद्देश्य प्राप्तिको दिशामा सञ्चारमाध्यमले पुरयाएको योगदाको प्रशंसा गर्दै समाजले फराकिलो दृष्टिकोण राखेर सबैंसंग सहकार्य गर्दै आएको बताउनुभयो।समाजले ताम्रकारहरुको मात्र नभई सिंगो नेवार समुदाय र राष्ट्रको हितको भावनाले काम गरिरहेको बताउँदै निर्वतमान अध्यक्ष  ताम्रकारले राज्य, स्थानीय तहको गलत नीति, समन्वय बिना काम गर्दा भोग्नुपरिरहेको समस्या समाधानका लागि सञ्चारमाध्यमको महत्व कति रहन्छ भन्ने कुराको आफू भुक्तभोगी रहेको बताउनुभयो।

नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सञ्चारमाध्यमसंग सहकार्य गरी अघि बढ्ने विषयमा अरु जातीय समाजले ताम्रकार समाजबाट सिक्नुपर्नेमा जोड दिनुभयोे।अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘ कुनै पनि कार्यक्रम गर्नुपूर्व सञ्चारकमीहरुसंग छलफल गरी उपयुक्त सञ्चार नीति अपनाउने, सञ्चारमाध्यमसंग सम्पर्क गर्ने ज्ञान, सीप, सञ्चारकर्मीहरुलाई प्रोत्साहित गर्ने र समाचारको असरबारे मूल्याङ्कन  गर्ने कार्यलाई संस्थागत गर्दै लगेको छ । यो राम्रो पक्ष हो ।’

नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले राज्यको विभिन्न ओहोदामा रहेका, धनीमानीको स्वार्थ  र समुदायको हित बाझिएको अवस्थामा  सञ्चारकर्मीहरुले विवेक पु¥याएर पत्रकारिताको धर्म अनुसार सदवै समुदायको हितलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो।ताम्रकार समाजको समन्वयकारी छवि, फराकिला चिन्तन र व्यवहार अरु जातीय समाज खलःपुचका लागि उदाहरणीय रहेको पनि वरिष्ठ उपाध्यक्ष महर्जनको भनाई रहेको छ ।

समाजका अध्यक्ष शम्भुगोविन्द्र ताम्रकार, सचिव दिपेश ताम्रकारले विविध भाषाभाषी र समुदायको रहेको देशमा सञ्चारमाध्यमले सबैका आवाज र भावनालाई प्रतिबिम्बित गर्दै जानुपर्नेमा केन्द्रीत गर्दै आआफ्नो भनाई राख्नुभयो।

नेवाः पत्रकार राष्ट्रिय दबूका ललितपुर जिल्ला मञ्जु बज्राचार्यले पत्रकार दबूको संस्थागत विकासमा समाजको सहयोगी भूमिका स्मरणीय रहेको बताउनुभयो।सो अवसरमा पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित पदाधिकारीहरुलाई नेवाः परम्परा अनुसार सगुण दिइएको थियो।

बालेन्द्र शाहसँग चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ फाल्गुण २५, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका लागि राजदूत सङ् प्रमुख शाहको कार्यकक्षमा आउनुभएको थियो । भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै प्रमुख शाहले काठमाडौँका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्धन गर्न चाहेको बताउनुभयो । ‘काठमाडौँसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ ।

यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ ।’ ‘दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्छन् । भेषभुषा र खानपान एउटै हुन सक्छन् । यो सम्बन्धबाट नागरिक स्तरमा प्रबर्धन गर्न सकिन्छ ।’ प्रमुख शाहले भन्नुभयो, ‘नेपाल र चीन विचको व्यापारिक सम्बन्ध २ हजार बर्षभन्दा पनि पुरानो छ ।

काठमाडौँले चीन र भारतको व्यापारिक सम्बन्ध जोडेको थियो । यो सम्बन्धलाई हामीले विर्सन हुँदैन ।’ उहाँले मौलिक आपसी सम्बन्धको नागरिक तहमा लाभ हुने विषयमा जोड दिनुभयो । भेटका क्रममा राजदूत सङ्ले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताउनुभयो । यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौँ ।

‘काठमाडौँको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन् ।’ राजदूत सङ्को भनाइ छ । कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ् स्टेशनलगायत सहरी व्यवस्थापनका विषय थिए ।

भेटका अवसरमा प्रमुखका व्यवस्थापन सल्लाहकार कुमार बेन (व्यञ्जनकार) सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तरराष्ट्रियसम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

भित्री वडामा कार्यालय चलाउन भवन भाडामा पाउनै मुस्किल

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ फाल्गुण २५, बिहिबार वर्गीकृत

महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा वडा कार्यालयमा उपलब्ध भौतिक संरचनाको स्थलगत अवलोकनका क्रममा यस्तो अवस्था पाइएको हो । न्यायिक समितिका सदस्य र कानुन तथा मानव अधिकार विभागसहितको टोलीले वडामा मेलमिलाप केन्द्र सञ्चालनलाई केन्द्रमा राखेर सेवा तथा कार्यालय व्यवस्थापनका पक्षमा अवलोकन गरिरहेको छ । यस क्रममा मंगलबार वडा १२, १७, १९, २०, २१ र २५ गरी ६ वटा वडाको निरीक्षण गरिएको छ ।

वडा १२ अहिले भाडाको भवनमा बसिरहेको छ । यसको नयाँ भवन निर्माण हुँदैछ । नयाँ भवनमा सरेपछि मेलमिलाप कक्षका लागि पर्याप्त ठाउँ हुने वडाध्यक्ष बालकृष्ण महर्जनको भनाइ छ । वडा वडा १७ को भवन छ । मेलमिलाप केन्द्र सञ्चालन गर्न छुट्टै कोठा छ । वडा १९ यति साँघुरो भवनमा छ कि यहाँ ५ जना जनप्रतिनिधि र वडा सचिव एउटै कक्षमा बसेर सेवा सञ्चालन गरिरहनुभएको छ । वडाध्यक्ष राजेशकुमार श्रेष्ठका अनुसार अहिले वडा बसेको भवन भत्काएर नयाँ भवन निर्माण गर्ने योजना छ । यस अवधिमा जहाँबाट कार्यालय सञ्चालन हुन्छ । त्यहीँबाट मेलमिलाप कक्ष सञ्चालन हुनेछ ।

वडा २१ नवनिर्मित भवनमा छ । यहाँ मेलमिलाप कक्ष व्यवस्थित छ । वडा २४ एक तला एउटा कोठा भएको भवनबाट सेवा दिइरहेको छ । वडालाई आवश्यक पर्ने ठाउँ खोजी भइरहेको छ ।  वडा २५ भाडाको भवनमा छ । वडाध्यक्ष राजेश डंगोलकाअनुसार वडालाई फराकिलो ठाउँमा सार्ने योजना भइरहेको छ । त्यो सम्भव नभए पनि वडासँगै जोडिएको भवनमा कोठा लिएर भए पनि केन्द्र सञ्चालन हुनेछ । आजसम्ममा टोलीले ३१ वटा वडाको वस्तुगत अवस्था अवलोकन गरिसकेको छ । उपप्रमुख डंगोल भन्नुहुन्छ, ‘एक प्रकारका वडाहरु आफ्नै भवनमा छन् । मेलमिलाप कक्ष सञ्चालन गर्ने स्थान पनि उपलब्ध छ ।

कतिपय वडाहरु आफ्नै भवनमा छन् । तर, मेलमिलाप कक्ष सञ्चालन गर्ने ठाउँ उपलब्ध छैन । भाडामा बसेका बडाहरुमध्ये केहीमा केन्द्र चलाउने ठाउँ छ केहीमा छैन ।’ उहाँले थप्दै भन्नुभयो, ‘वडा ६ मा नयाँ र पुरानो गरी २ वटा भवन छन् । दुईटा भवन हुँदा पनि केन्द्र सञ्चालन गर्ने ठाउँ नभएर भाडामा लिनु पर्ने अवस्था छ ।’ केन्द्र स्थापनाको लक्ष्यका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘निवेदकले दिएको निवेदनमा लेखिएका अक्षर हेरेर नभइ स्थलगत अवस्था हेरेर वडाकै जनप्रतिनिधिको रोहवरमा तालिम प्राप्त मेलमिलापकर्ताबाट स्थानीय विवाद निरुपण गर्न सबै वडामा केन्द्र स्थापना जरुरी भएको हो ।

पूर्वाधारका दृष्टिले सबैको अवस्था एउटै छैन । त्यसैले भएका विकल्पमध्ये उत्तम विकल्पलाई छानेर केन्द्र स्थापना गरौँ । उपप्रमुखको आग्रह छ । जुन वडामा वहालमा ठाउँ लिन सकिने अवस्था छैन । ती वडामा तत्कालका लागि कार्यालय समय अगाडि पछाडि बनाएर जनप्रतिनिधि बस्ने कक्ष वा अन्य उपयुक्त कक्षमा मेलमिलाप कक्ष चलाउन सकिने अवलोकनपछि निष्कर्ष निकालिएको छ । वडाहरुमा मेलमिलाप कक्षहरु तत्काल कार्यान्वयनमा ल्याउन प्रयास गरौँ । महानगरका प्रवक्ता नविन मानन्धर भन्नुहुन्छ, ‘नेपाल ल क्याम्पसबाट आएका इन्टर्न विद्यार्थीहरुलाई तत्काल वडामा खटाऔँ ।

महिला सञ्जालको क्षमता विकास गर्न सहयोग गरौँ । मेलमिलापकर्ताको सूचीलाई वडा वडामा लगौँ । यसपछि मेलमिलाप केन्द्र प्रभावकारी रुपमा सञ्चालनमा आउँछ ।’ सबै वडामा केन्द्र स्थापना भएपछि अहिले अदालत पुगिरहेका धेरै विवाद वडाबाटै समाधान हुन्छन् । न्यायिक समितिका सदस्य एवं वडा २९ का अध्यक्ष कुश ढकाल भन्नुहुन्छ, विश्वव्यापी अवस्था हेर्ने हो भने पनि संघीय शासन प्रणाली भएका देशहरुमा न्यायिक अधिकार वडा स्तरमा नै छ । यसलाई हामी पनि सफल बनाऔँ । विवाद लम्बिँदै जाँदा एकले अर्काको प्रतिष्ठा, समय र खर्चमा क्षति पु¥याइसकेको हुन्छ । यो क्षति भए पछि व्यक्तिमा द्वेष बढ्न थाल्छ । यो अवस्था आउनै दिनु हुँदैन ।

यो स्वच्छ कल्पना गरेर वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने नीतिलाई कार्यान्वयनमा लैजान पूर्वाधार विकास भइरहेको हो । कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य भन्नुहुन्छ, ‘संविधानको विधायिकी मनसाय पनि यही नै हो ।’यस अघि वडाका विवाद वडालाई नै थाहा नहुने अवस्था थियो । वडा सदस्य कविता दास भन्नुहुन्छ, ‘वडामा उजुरी दर्ता हुने भएपछि कसैले पनि झुटा विवरण दिन सक्दैनन् । यसले न्यायलाई दिगो बनाउँछ ।’वडाको अवलोकन गरिसकेपछि उजुरी दर्ता गर्ने अधिकारी वडा सचिवहरुलाई प्रचलित कानुनको प्रयोगका विषयमा तालिम दिइनेछ । यसबाट महानगरले हेर्न मिल्ने विवादका विषयमा वडा स्तरमा समान वुझाइ विकास हुनेछ ।

बजेट निर्माणका प्रक्रिया विषयमा छलफल

Swoniga Online – रेजिना श्रेष्ठ | २०७९ फाल्गुण २२, सोमबार वर्गीकृत

चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई आग्रह गर्नुभएको छ । आज जेडिए कम्प्लेक्सको सभा कक्षमा बसेको यसएमटी (सिनियर म्यानेजमेन्ट टीम) बैठकमा उहाँले यस्तो बताउनुभएको हो । ‘विभागले आफू सम्बद्ध नीतिको सुक्ष्म समीक्षा गर्नुपर्छ । यसबाट कुन नीतिलाई निरन्तरता दिने, कुन नीतिलाई छोड्ने र कस्ता नीति अबलम्बन गर्ने दिशा पत्ता लगाउनु पर्छ ।’ अधिकारीले भन्नुभयो, ‘नीतिसँगै बजेट तर्जुमा गर्न कानुनले तोकेको एक चरणको काम सकिएको छ । सबै चरणका प्रक्रिया पूरा गरेर आउँदो बर्ष कार्यान्वयन योग्य कार्यक्रम ल्याउनु पर्छ ।’

यो बर्ष छरिएर रहेका कार्यालयहरुलाई एउटै ठाउँमा ल्याउने र स्वीकृत कार्यक्रमको प्रगतिलाई लक्ष्यमा पु¥याउनु पर्ने दुईवटा महत्वपूर्ण काम गर्नु पर्नेछ । अधिकारीको भनाइ छ ।

बैठकमा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले सहरी पूर्वाधारको इञ्जिनियरिङ्, निकायगत समन्वयका पक्षसँग यातायात व्यवस्थापनका त्रुटीका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । 

सडक किनारामा राखिएका पोलहरुमा दुईटा संकेत देखिने चिन्ह राखिएका हुन्छन् । एउटै संकेतलाई भिन्न भिन्न आकार प्रकारमा राखिएको हुन्छ । चालकले कुन चिन्हको आदेश मान्ने ? यस्ता धेरै त्रुटी छन् । जिम्मेवारी अरुको भए पनि महानगरले यस क्षेत्रमा काम गर्नु पर्ने भएको छ । श्रेष्ठको भनाइ छ । 

काठमाडौँ प्लाजामा भाडामा लिने विषय कार्यान्वयन चरणमा पुगेको छ । असार मसान्तभित्र सेवालाई एउटै भवनमा लैजाने, यस कारण कुनै पनि सेवा अवरुद्ध गर्ने गरी कार्यालय सार्ने योजना बैठकमा महत्वका साथ छलफल भएको थियो । यस्तै ट्राफिक प्रहरीबिना स्वचालित रुपमा चिन्हको प्रयोग गरेर सञ्चालन हुने, सडक सुविधाका सबै अङ्ग भएको नमूना सडक तयार पार्ने विषयमा छलफल भएको थियो । सहरमा हिँड्ने संस्कृतिको विकास गर्न पार्क (सवारी साधन) एण्ड वक अभियान चलाउने, भेहिकल फ्री जोन बनाउने विषयमा पनि छलफल भएको थियो ।

फोनिज युके पत्रकारिता रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत

Swoniga Online | २०७९ फाल्गुण १४, आइतबार वर्गीकृत

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको ’फोनिज युके पत्रकारिता सम्मान २०२२’ बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ ।

 फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारलाई हरेक वर्ष सम्मानित र पुरस्कृत गर्दैआएको छ ।

रेडियो नेपालको समाचार महाशाखामा सम्पादकको जिम्मेवारीमा यसअघि कार्यरत रहनुभएकी रमिता लामा सो सम्मानबाट सम्मानित हुनुभयो । त्यस्तै, फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।

काठमाडौंमा शुक्रबार आयोजित पुरस्कार वितरण समारोहमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले दुवै जनालाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो । सम्मान तथा पुरस्कारको २५ हजार रुपियाँ र सम्मानपत्र छ। 

प्रत्येक वर्ष सञ्चार मन्त्रालयबाट सञ्चारमाध्यमलाई दिने अनुदान सहयोग फोनिजलाई पनि उपलब्ध गराउने मन्त्री मोदीले प्रतिबद्धता जनाउनुभयो ।आदिबासी जनजातिको अधिकार र सवालको पैरवीमा फोनिजले खेल्दैआएको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारको काममा रचनात्मक सुझाव दिन पत्रकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा फोनिजका अध्यक्ष गजुरधन राईले हरेक क्षेत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वका लागि फोनिजको तर्फबाट सधैं खबरदारी गरिरहने बताउनुभयो ।

धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता अन्तक्र्रिया

Swoniga Online | २०७९ फाल्गुण १४, आइतबार वर्गीकृत

नेवाः पत्रकार राष्ट्रिय दबूको समन्वय तथा प्रेस काउन्सिल नेपालको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारि ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिलको हलमा शुक्रबार सम्पन्न कार्यक्रममा बोल्दै सहभागीहरुले मातृभाषा पत्रकारिता विकासका लागि प्रेस काउन्सिल, नेपाल आदिवासी पत्रकार महासंघका साथै मातृभाषी पत्रकारहरुको संघसंस्थाहरु एकजुट भइ अगाडि बढ्नु पर्ने बताएका छन् । 

कार्यक्रम पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य र नेपाल पत्रकार महासंघया संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्बिरमा मालार्पण गरि शुरु गरिएको थियो । 

कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै वरिष्ठ पत्रकार सुरेश मानन्धरले भाषा संरक्षणको लागि मातृभाषा पत्रकारिता र सञ्चार माध्यमको विशेष भूमिका रहने बताउँदै मातृभाषा पत्रकारिका विकासको लागि राज्यस्तरबाट सहयोग जुटाउन काउन्सिलले भूमिका खेल्नु पर्ने बताए । त्यस्तै उनले काउन्सिले मातृभाषी सञ्चार माध्यमलाई मात्र हेर्न अलग्गै विभाग खडा गरेर काम गर्नुपर्ने पनि सुझाए ।

उनले कुनै एउटा भाषा मर्नु भनेको त्यससँगै एउटा इतिहास, संस्कृति, परम्परा, सम्पदा पनि मर्ने बिचार राख्दै भने, ‘मान्छे मरे सबै छोडेर जान्छन्, तर एउटा भाषा मरे त्यसले छोडेर जाने होइन, धेरै कुरा लिएर जान्छ । एउटा भाषा नाश भयो भने त्यस्ले एउटा इतिहास, त्यस भाषाका भित्र रहेका संस्कृति, परम्परा, सम्पदा सबैलाई लिएर जान्छ । त्यसैले भाषालाई बचाइ राख्नु राज्यको नै कर्तव्य हो ।’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिता विकासका लागि सहजीकरण गर्न काउन्सिल तयार रहेको बताए । अन्तक्र्रियामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने, ‘कुनै एक भाषामा मात्र काम गरेर काउन्सिलको दायित्व पूरा हुँदैन, सबै भाषाभाषीको पत्रकारितालाई एउटै मालामा उनेर काउन्सिल अगाडि बढ्छ ।’ 

कार्यक्रममा बोल्दै उनले मातृभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट नै मान्यता दिलाउन तथा सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापकका रुपमा मान्यता दिलाउन पनि प्रेस काउन्सिलले सहजीकरण गर्ने बताए । 

नेपाल आदिबासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष अमरध्वज लामालाई मातृभाषालाई राष्ट्रियता, राष्ट्रिय गौरब, ब्यापार, स्वास्थ्यसँग जोड्दै संविधानबाट नै मातृभाषीको हक अधिकारबारे सम्बोधन गरेको हुँदा राज्यले संविधानमात्र कार्यान्वयन गरे पनि मातृभाषा विकासमा महत्वपूर्ण योगदान हुने बताए । 

त्यस्तै मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह मातृभाषाबाट पत्रकारिता गर्नु फलामको चिउरा चपाउनु सरह भएको भन्दैे यस क्षेत्रमा कार्यरत भाषाप्रेमीहरुको संकल्पले मात्रै अहिलेसम्म मातृभाषाको पत्रकारिता बाँचिरहेको बिचार राखे । उनले भने, ‘प्रेस काउन्सिल, सरोकारवाला संस्थाहरुको सहकार्य भएमा राज्यस्तरबाट आवश्यक सहयोग लिन सकिन्छ ।’

कार्यक्रममा सार्क पत्रकार समाजका अध्यक्ष राजु लामाले प्रेस काउन्सिल, नेपाल आदिवासी पत्रकार महासंघ र समाजको सहकार्यमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन गर्न प्रस्ताव राखेका थिए । 

कार्यक्रममा बोल्दै बिचार गोष्ठीका संयोजक तेजनारायण महर्जनले पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषाको पत्रकारिता सुरु गरेको सयवर्ष पुग्न लाग्दा पनि मातृभाषा पत्रकारिताको विकास हुन नसकेको बताउँदै यसको लागि सरोकारवाला संस्था, प्रेस काउन्सिलले खेल्न पर्ने भूमिका बारे छलफल गर्न कार्यक्रमको आयोजना गरेको बताए । 

काउन्सिलका सदस्य शरद अधिकारीले कार्यक्रममा स्वागत गर्दै विविध भाषाभाषीको पत्रकारिता विकासको लागि काउन्सिलले गर्दै आइरहेको कार्यबारे जानकारि गराएको थियो भने नेवाः पत्रकार राष्ट्रिय दबूया महासचिव केके मानन्धरले धर्मादित्य धर्माचार्यलाई पहिलो मातृभाषी पत्रकारको मान्यता दिलाउन र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा मान्यता दिलाउन दबूले गर्दै कार्य र मातृभाषी पत्रकार र पत्रकारिताको विकासका लागि गर्दै आइरहेको गतिविधी बारे जानकारी गराएका  थिए ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट मान्यता दिलाउन हुलाक टिकट प्रकाशन गर्न, उनको शालिक राख्न, उनको नाममा मातृभाषी सञ्चार प्रतिष्ठान खोल्न काउन्सिलले पहल गरिदिन ध्यानकार्षण पत्र काउन्सिलका अध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए । 

दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम दबूका सहसचिव सुनिता महर्जनले संचालन गरेका थिए ।

सञ्चारमन्त्री रेखा शर्मा नेपाल टेलिभिजनमा नेपालभाषाको समाचार राख्न सकारात्मक

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ फाल्गुण १०, बुधबार वर्गीकृत

नेवाः पत्रकार राष्ट्रिय दबूले संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेट गरी आफ्ना विविध समस्या बारे ध्यानाकर्षण गराएको छ । 

दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा मन्त्री शर्मालाई बुझाएको ध्यानाकर्षणमा मातृभाषा पत्रकारिताको विकास र विस्तारको लागि राज्यबाट थप सहुलियत, सुविधालाई नीतिगत रुपमा सम्बोधन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ ।

त्यस्तै सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनबाट हालै तामाङ र लिम्बु भाषामा समाचार प्रसारण गर्न शुरु गरेकोमा हर्ष प्रकट गर्दै यसले सञ्चारमाध्यममा सबैको आवाज र मातृभाषामा सूसुचित हुने हकलाई सम्मान गरेको बताउँदै दबूले नेपाल टेलिभिजनमा नेपालभाषाकोे माध्यमबाट पनि समाचार प्रसारण गर्नका लागि आवश्यक पहल गरिदिन मन्त्री शर्माको ध्यानाकर्षण गराएको थियो । त्यस्तै पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट मान्यता दिनुपर्ने माग पनि मन्त्री समक्ष राखेका थिए ।

अध्यक्ष श्रेष्ठका अनुसार दबूले स्थापनाकालदेखि आत्मसात गर्दै आइरहेको विचार, उठाउ“दै आइरहेको मुद्दा र पैरवी गर्दै आइरहेको एजेण्डा विषयसँगै २०७९ पुस २३ गते ललितपुरमा सम्पन्न चौथौं महाधिवेशन तथा दसौं वार्षिक साधारण सभा र २०७९ माघ १९–२० गते लुम्बिनीमा सम्पन्न पहिलो केन्द्रीय समितिले पारित गरेका विषयमा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

भेटमा अध्यक्ष श्रेष्ठले नेपालमा मातृभाषाबाट पत्रकारिताको शुरुआत भएको सय वर्ष पुग्ने तरखरमा रहेको बताउँदै नेपाल संवत् १०४५ अर्थात् वि.सं. १९८२ सालको बुद्धजयन्तीको दिन नेपालभाषाको माध्यमबाट पहिलो पत्रिका ‘बुद्ध धर्म’ प्रकाशित भएको मन्त्री शर्मालाई जानकारी गराउँदै पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यबाट नं मान्यता प्रदान गर्नुपर्ने माग गरेका थिए ।

भाषानुरागी धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले भारतको कलकत्तामा प्रकाशित गरेको सो पत्रिका नेपालकै नागरिकले मातृभाषामा प्रकाशित गरेको पहिलो पत्रिका रहेको दावी अध्यक्ष श्रेष्ठले गर्नुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको समन्वयमा धर्मादित्य धर्माचार्यको जन्मदिन बुद्धजयन्तीको अघिल्लो दिनलाई विगत सात वर्षदेखि मातृभाषा पत्रकारिता दिवसको रुपमा मनाउन थालेको पनि मन्त्रीलाई जानकारी गराएका थिए । 

दबूले नेपाल संवत् ११४४ अर्र्थात् आगामी २०८० साल कार्तिकदेखि अर्को वर्ष कार्तिकसम्म मातृभाषा पत्रकारिता शताब्दी महोत्सव मनाउने तयारी गरिरहेको पनि सो अवसरमा जानकारी गराइएको थियो । 

शतवार्षिकीका अवसरमा पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को जीवनी प्रकाशित गर्ने, उहा“को कृतित्व र व्यक्तित्व चर्चा, उहा“को शालिक राख्ने, हुलाक टिकट प्रकाशित गर्ने, मातृभाषाको पत्रकारिता बारे विभिन्न गोष्ठी, सभा, अन्तक्र्रिया कार्यक्रमहरु गर्ने योजना रहेको पनि बताइएको छ ।

यस्तै समावेशी सञ्चार क्षेत्रको विषयमा सञ्चारकर्मीको दक्षता, क्षमता अभिवृद्धि, अभिमुखीकरण, युवावर्गलाई सञ्चार क्षेत्रमा आकर्षित गर्ने विषय पनि जोडिएको बताउँदै नेवाः लगायत आदिवासी जनजाति पत्रकारहरुको उत्पादन र पुनःताजगी तालिम संचालन रहेको पनि मन्त्री शर्मालाई जानकारी गराइएको थियो । 

यसैगरी राज्यले प्रदान गर्ने लोककल्याणकारी विज्ञापन र अन्य अनुदान वितरण गर्दा समानुपातिक समावेशीतालाई प्राथमिकता दिने संस्थाहरूलाई प्राथमिकता दिने र समावेशीताका लागि प्रोत्साहन गर्नुपर्ने, सञ्चार सम्बन्धी हाल अस्तित्वमा रहेका र भविष्यमा गठन हुने सम्पूर्ण निकायहरुलाई पूर्ण समावेशी बनाइनुपर्ने माग पनि दबूको रहेको छ । 

९ बुँदे ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री शर्माले नेवाः पत्रकारहरुको योगदानको प्रशंसा गर्दैै विभिन्न भाषाभाषी समेटेर नेपाल टेलिभिजनमा नेपालभाषाको समाचार प्रशारणका लागि आफूले कुरा राख्ने बताउनु भयो । उनले सबै भाषाभाषीले आफ्नो मातृभाषालाई माया गर्नु पर्ने र राज्यले पनि यसलाई सम्मान गर्नु पर्ने बताउनु भएको थियो । 

उहाँले पत्रकार महासंघले सबै पत्रकारहरुलाई समेत्नु पर्ने पनि सो अवसरमा बताउनु भयो । नेपालकै प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य प्रतिष्ठान बनाउने कुरामा खुशी व्यक्त गर्दै उहाँले राज्यले नै एउटा प्रतिष्ठान बनाउनको लागि एक छुट्टै समिति गठन गरी त्यस अन्तर्गत सबैमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसैबीच दबूका सदस्यहरुले नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बललाई पनि भेट गरेर नेपाल टेलिभिजनमा नेपालभाषाको पनि समाचार राख्नका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । 

उहा“ले नेवाः पत्रकार राष्ट्रिय दबूको कार्यले आफू खुशी भएको र नेपालभाषालाई आफूले पनि माया गरेको यस भाषालाई टेलिभिजनमा समावेश गर्न पाए आफु पनि खुशी हुने बताउनुभयो । साथै उनले नेपाल भाषाको रंजना लिपिले संसारमा नेपाल चिनाएकोले यस लिपिको संरक्षण सबै ठाउ“बाट हुनु पर्ने पनि बताउनु भयो ।

नेवाःपासा मुना पुचः अध्यक्षमा दिनेश श्रेष्ठ

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ फाल्गुण ९, मंगलबार वर्गीकृत

नेवाःपासा मुना पुचःबिर्तामोडको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको २९ औ वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष राजिव श्रेष्ठ, सचिव मिलन शाक्य, सहसचिव समिर ताम्राकार कोषाध्यक्ष शर्मिला शाक्य सह कोषाध्यक्ष गितादेवी श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा भोजकुमार मास्के, दिपेश बैध, तारा श्रेष्ठ, निरु खड्का  श्रेष्ठ, प्रविन शाक्य, तारामणी श्रेष्ठ, र सचिनराज खड्गी रहेका छन् । नयाँ कार्यसमिति चयन गर्न संस्थाकी निवर्तमान अध्यक्ष ईश्वरा श्रेष्ठ, लोकचन्द्र (एलसी)श्रेष्ठ,सन्तोष श्रेष्ठरहेको निर्वाचन समिति गठन गरिएको थियो । संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष राजिव श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा दिनेश शाक्य, रत्नकुमार श्रेष्ठ, देवीभक्त श्रेष्ठ, रुद्रमणी श्रेष्ठ, काजी श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेवाःपासा मुना पुचःबिर्तामोडले २०७९ सालमा गरेका बिभिन्न कार्यक्रम संयोजकहरु शर्मिला शाक्य, तारामणी श्रेष्ठ, प्रेम श्रेष्ठ, प्रविन शाक्य ,निलम प्रधान ,गम्भिररत्न शाक्य र गितादेवी श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने कार्यालय सचिव सञ्जय श्रेष्ठलाई खादा ओडाएर सम्मान गरिएको थियो । 

कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष समिर ताम्राकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल श्रेष्ठले गरेका थिए । 

Pages