युके पत्रकारिता सम्मान रमिता लामा र पुरस्कार नृपेन्द्रलाल श्रेष्ठलाई
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ फाल्गुण ८, सोमबार वर्गीकृत
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई दिइने भएको छ ।
पुरस्कार छनौट समितिका संयोजक तथा फोनिज युकेका प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पाको अध्यक्षतामा बसेको समितिको हालै बैठकले सर्वसम्मतरुपमा लामालाई सम्मान र श्रेष्ठलाई पुरस्कार दिने निर्णय गरेको हो ।
रामेछाप दोरम्बामा जन्मिएकी लामा २०४९ सालदेखि पत्रकारितामा लाग्नुभएको हो । उहाँ रेडियो नेपालको समाचार महाशाखामा समाचार वाचक तथा सम्पादक हुनुहुन्छ । समाजसेवा रेडियो कार्यक्रम सञ्चालनबाट पत्रकारिता शुरु गर्नुभएकी लामाले तामाङ भाषाको समाचार वाचनका साथै सांसद फोन इन र तामाङ भाषाको कार्यक्रम श्यालगार पनि सञ्चालन गर्नुभएको छ । उहाँ नेपाल पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार संघ तथा फोनिजमा आवद्ध हुनुका साथै नेपाल तामाङ महिला घेदुङको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले थुप्रै पुरस्कार र सम्मान पनि हासिल गरिसक्नुभएको छ ।
काठमाडौँमा जन्मेका श्रेष्ठ २०४९ सालदेखि पत्रकारितामा आवद्ध हुनुहुन्छ । उहाँ म्हसिका मासिक, सम्यक साप्ताहिक, नेवा पौ मासिक, लहना साप्ताहिक पत्रिका तथा लहनान्युज डटकममा आवद्ध हुनुहुन्छ । साथै उहाँले टेलिभिजनमा पनि नेपालभाषाको कार्यक्रम सञ्चालन गर्नुभएको छ ।
श्रेष्ठ नेवा राष्ट्रिय पत्रकार दबूको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने विभिन्न भाषिक, साँस्कृतिक र सामाजिक संस्थामा पनि आवद्ध हुनुन्छ । उहाँलाई काठमाडौँ महानगरपालिकाबाट सुशासन पत्रकारिता पुरस्कार, त्रिमूर्ति निकेतन, खड्गी सेवा समिति, गोविन्द किपू प्रतिष्ठानबाट पनि सम्मान र पुरस्कार दिइएको छ ।
फोनिज युकेले हरेक वर्ष नेपालमा कार्यरत दुई जना पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने गरेको छ । सम्मान तथा पुरस्कारको राशी जनही २५ हजार र सम्मानपत्र रहेको छ । पुरस्कार यसअघि गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामी, टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिसकिएको छ ।
छनौट समितिमा सल्लाहकार दुत पुन, फोनिज युकेका पूर्व अध्यक्ष प्रमिला लाबुङ राई, वर्तमान अध्यक्ष गोमा राना र सचिव लीला सेलिङ माबो सदस्य रहेका थिए ।
विद्यासुन्दरले दिए बालेनलाई धन्यवाद
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ माघ २६, बिहिबार वर्गीकृत
काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा मेयर बालेन्द्र शाहलाई आभार प्रकट गर्नुभएको छ ।
शाक्यले विहीबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पूर्ववत सहमति अनुरुप महानगरपालिकाका मुख्य मुख्य क्षेत्रमा सडक बत्ती राख्ने कार्य शुरु गर्न लागिएकोमा आभार प्रकट गर्नुभएको हो ।
‘ काठमाडौंका सडकहरु झिलिमिलि बनाउने विषयमा तीन वर्ष अघि भएको सहमति कार्यान्वयन गर्न लागिएको थाहा पाउँदा खुशी लागेको छ । मेयर शाहलाई धन्यवाद ।’ शाक्यले भन्नुभयो ।
महानगरपालिकाका मुख्य मुख्य क्षेत्रहरुमा सडक बत्ती जडान गर्ने भनि महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच भएको २०७७ मंसिर २५ गते विहीबार सहमति भएको थियो । सहमति अनुरुप कार्य शुरु गर्न मंगलबार तीन वटै निकायबीच सम्झौता गरिएको महानगरपालिकाले जनाएको छ । सम्झौतामा बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लागत अनुमान गरिएको छ ।
यस अघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ्ग र तत्कालीन मेयर शाक्यको उपस्थितिमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, तत्कालीन प्राधिकरणका का.मु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, तत्कालीन विभागका महानिर्देशक केशवकुमार शर्माबीच सो सहमति भएको थियो।
महानगरपालिकाले ६० प्रतिशत र प्रँधिकरणले ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्ने सहमतिपत्रमा उल्लेख गरिएको थियो।प्राधिकरणले व्यर्होने ४० प्रतिशत रकम पनि शुरुमा महानगरपालिकाले राखिदिने र सो रकम आउने कार्यक्रममा प्रँधिकरणले गर्ने लगानीमा समायोजन गर्ने सहमति भएको थियो ।
सहमतिमा भनिएको छ ‘ सो कार्यको लागि लागत अनुमान तयार गर्ने,प्रविधिको छनौट गर्ने र निर्माण कार्यको सुपरीवेक्षण गर्ने लगायतको कार्य प्राधिकरणले गर्ने र आयोजनाको निर्माण कार्य पछि मर्मत गर्नुपर्ने सडक र फुटपाथ लगायतको कार्य विभाग गर्ने छ ।’
सडक बत्ती जडान, सञ्चालन विषयमा समन्वय,अनुगमन तथा रिपोटिंग गर्ने तीन वटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने,सोही संयन्त्रले सडक बत्तीको सम्भाव्य विस्तार स्थलहरुको पहिचान अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने भनि सहमतिपत्र भनिएको थियो ।
यस अघि महानगरपालिकाको लागि आवश्यक दमकल खरिद गरिसकेपछि त्यसको तयारी अघि बढाएकोमा मेयर शाहलाई शाक्यलाई धन्यवाद दिनुभएको थियो ।
सुकुम्वासीको विषयमा आयोगकाे प्रकाशमानसँग छलफल
Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर २४, शनिबार वर्गीकृत
राष्ट्रिय भूमि आयोग काठमाडौं समितिका पदाधिकारीले सुकुम्वासी समस्यालाई लिएर नेपाली काँग्रेसका शिर्ष नेता प्रकाशमान सिंहसँग भेटघाट गरी छलफल गरेको छ ।
आयोग काठमाडौं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिको नेतृत्वमा गएको टोलीले नेता सिंहलाई भेटेर सुकुम्वासी समाधानका लागि छलफल गरेको हो ।
भेटघाटको क्रममा सुकुम्वासी समस्या समाधानका सम्वन्धमा आयोगले गरेका कामहरु र भावी योजनाका बारेमा अध्यक्ष प्रजापतिले जानकारी गराएका थिए । ने
ता सिंहले सुकुम्वासी समस्याको समाधान र व्यवस्थापनको सवालमा आफु र आफ्नो पार्टीबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
छलफलका लागि आयोगका तर्फबाट अध्यक्ष प्रजापतिको साथमा आयोगका सदस्यद्वय मोतिलाल लामा र सुशीला खतिवडा सिंह निवास चाक्सीबारी पुगेका थिए ।
नेता सिंहसँग भेटभाट लगत्तै काठमाडौं महानगरपालिकाका प्रवक्ता साथै कामपा १७ वडाका अध्यक्ष नवीन मानन्धरसँगको पनि आयोगको टोलीले भेटघाट गरेका थिए ।
आयोगको टोलीले प्रवक्ता मानन्धरलाई सुकुम्वासी समस्या समाधानमा आयोगसँग समन्वय र सहकार्य गर्दै सहयोग गर्न आग्रह गरेका थिए ।
पछिल्लो समय आयोगले सुकुम्वासी समस्यालाई शान्तिपूर्ण र व्यवस्थित ढङ्गबाट दीर्घकालीन रुपमा समाधान गर्न भन्दै विभिन्न तहमा भेटघाट र छलफललाई तीव्रता दिएको छ ।
यसै क्रममा आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग पनि छलफलको लागि समय लिइसकेको अध्यक्ष प्रजापतिले जानकारी गराए ।
साथै अधिकार सम्पन्न वागमती सभ्यताका एकिकृत विकास योजनाका अध्यक्ष उद्धव तिमिल्सिना, उपाध्यक्ष साथै योजना प्रमुख बीरेन्द्र थपलिया, सदस्य माला खरेलसँग पनि घेटघाट गरी आवश्यक समन्वय गरी अघि बढ्ने विषयमा छलफल भइसकेको छ ।
eye
केन्द्रीय प्रहरी प्रवक्ता राई दक्षिण कोरिया प्रस्थान
Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर ४, आइतबार वर्गीकृत
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई दक्षिण कोरीया प्रस्थान गर्नुभएको छ ।
‘फ्रेन्ड्स अफ कोरिया’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन राई आइतबार मित्रराष्ट्र दक्षिण कोरियाको सिओल प्रस्थान गर्नुभएको हो ।
परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म उक्त कार्यक्रम संचालन हुन लागेको हो ।
राईको अनुपस्थितिमा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नु हुने बताइएको छ ।
सम्पदाको संरक्षण, संस्कृतिलाई आर्थिक विकाससंग जोड्ने छु : राजेश शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ कार्तिक २२, मंगलबार वर्गीकृत
राजेश शाक्य, जसको परिचय नै २०७२ साल वैशाख १२ गतेको भूकम्पले लडेको ७ औं शताब्दीको संरचना काष्ठमण्डप ठड्याउनुसँगै जोडिएको छ। शाक्यले अहिले पुनः वागमती प्रदेशसभा सदस्यको लागि नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिनुभएको छ । पार्टीबाट अघिल्लोपटक निर्वाचित ५८ जना सांसदमध्ये अहिले पुनः उम्मेदवारी दिने अवसर पाउने १७ जनाभित्र उहाँ पनि पर्नुभएको छ ।
देशको संघीय राजधानी काठमाडौं, त्यसमाथि हनुमानढोका, वसन्तपुर र काष्ठमण्डप रहेको भित्री काठमाडौंको क्षेत्र नं ८ (१) बाट उम्मेदवारी दिएका शाक्यको अघिल्लो पटक सांसद हुँदा अधिकांश समय काष्ठमण्डप पुनःनिर्माणमै बितेको थियो । त्यसले गर्दा शाक्यको नाम लिँदा र सुन्दा मानिसको मस्तिष्कमा काष्ठमण्डपको दृश्य पनि सँगै आउने स्थिति पैदा भएको हो ।
आजको काठमाडौंको नाउँ काठै काठले बनेको काष्ठमण्डपबाट बनेको इतिहासकारहरूको भनाइ छ । भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको दुई, तीन वर्षसम्म पनि त्यसको पुनःनिर्माण कार्य सरकारी प्राथमिकतामा नपर्दा कला, कृति र वास्तुकलाको बेजोड नमूना रहेको सम्पदामाथि सरकारले गौरव गर्न नसकेको हो कि भन्ने चर्चा निकै चलेको थियो । यसबीचमा भएको प्रदेशसभाको पहिलो निर्वाचनताका शाक्यले काष्ठमण्डप पुनःनिर्माणलाई आफ्नो प्रतिबद्धताको पहिलो सूचीमा राख्नुभएको थियो । तर, काष्ठमण्डप पुनःनिर्माण समितिमै बसेर काम गर्ने कुरो उहाँको कल्पना बाहिर कुरो थियो । प्रदेश सांसद भएपछि शाक्यलाई परिस्थितिले पुनःनिर्माण समितिको अध्यक्ष हुने स्थितिमा पु¥याएको थियो ।
त्यतिबेला उपभोक्ता समितिमार्फत समुदायस्तरबाट मन्दिर पुनःनिर्माण गर्न दुई÷दुई पटक उपभोक्ता समिति गठन गर्ने प्रयास नभएको भने होइन । यसरी बनेका दुई वटै समिति आन्तरिक विवादमै अलमलिएपछि कामै गर्न सकेन । त्यसबाट पाठ सिकेर तेस्रोपटक शाक्यको अध्यक्षतामा पुनःनिर्माण समिति गठन गरिएको थियो । सांसद् नै समितिको अध्यक्ष बनेपछि स्थानीयले पनि सहज रूपमा स्वीकार गरेका थिए ।
यता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य काष्ठमण्डप पुनःनिर्माण गर्नुपर्नेमा जोड दिइरहनुभएको थियो । उता सांसद् शाक्य समितिको अध्यक्ष । महानगरपालिकाको आर्थिक अनुदान र शाक्य नेतृत्व रहेको समितिको क्रियाशीलताका कारण भूकम्पबाट क्षतिग्रस्त भएको करिब ७ वर्षपछि बल्ल काष्ठमण्डपको पुनःनिर्माण भएको थियो । काष्ठमण्डप पुनःनिर्माण भएपछि त्यसको अवलोकन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्पदा क्षेत्रमा गौरव गर्न लायकको कार्य भनी अभिव्यक्ति दिएका थिए । ठेक्कामा बनाउन खोज्दा अनुमानित लागत १९ करोड रुपियाँ भनिएको सो मन्दिरको पुनःनिर्माण केवल ११ करोड रुपियाँ खर्च भएको थियो ।
सांसद भएका कारण पुनःनिर्माण कार्यमा धाउन र समन्वय गर्न सहज भएको जिकिर गर्दै उम्मेदवार शाक्यले भन्नुभयो– ‘पुनःनिर्माणले काष्ठमण्डप बनाउने सांसद् भनेर परिचय थपिदियो ।’
अघिल्लो निर्वाचनमा शाक्यले प्रतिबद्धता गरेका १३ वटामध्ये पूरा नभएको एउटा प्रतिबद्धता यस पटक पूरा गर्ने लागि पर्ने पनि शाक्यले बताउनुभयो । अर्थात भाषा आयोगको सिफारिसअनुसार वागमती प्रदेशमा नेपाली भाषासँगै नेपाल र तामाङ भाषालाई कामकाजी भाषा बनाउने अघिल्लो प्रतिबद्धता यसपटक पूरा गर्ने उहाँको योजना छ । त्यससँगै उहाँले हनुमानढोका दरबार संरक्षण क्षेत्रको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने, सम्पदाको संरक्षण, संस्कृतिलाई आर्थिक विकाससंग जोड्ने, मेलम्ची खानेपानीलाई छिटोभन्दा छिटो काठमाडौंमा ल्याउने, प्रदेश सरकारको लेटर प्याडमा नेपाल संवत् र रञ्जना लिपिको प्रयोग गराउने, उपत्यकाको वस्तुस्थिति अनुसार गुठी विधयेक ल्याउने, युवा रोजगारी र मनमती खोला करिडोर विकास गर्ने लगायत प्रतिबद्धता पनि अघि सार्नुभएको छ । नेवाःदेय् दबू उपत्यका विशेष प्रदेश र वागमती प्रदेशले अघि सारेको १३ बुँदे प्रतिबद्धतापत्रलाई शाक्यले आफ्नो घोषणापत्रको अभिन्न बनाउनुभएको छ ।
सामाजिक कार्य गर्दै राजनीतिमा आएका शाक्य पार्टीको तल्लो कमिटीदेखि काम गर्दै आएका नेता हुनुहुन्छ । जनतामा राम्ररी भिजेका शाक्यले अघिल्लोपटक संविधानसभाका सदस्य भइसक्नुभएका राज्यलक्ष्मी श्रेष्ठसँग १७ सय मतान्तरले निर्वाचनमा विजयी हुनुभएको थियो । शाक्यको अहिलेको प्रतिस्पर्धा नेपाली कांग्रेसका राजुराज जोशीसँग रहेको छ । जोशी अघिल्लो स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयरको लागि उम्मेदवारी दिनुभएको थियो । सो क्षेत्रमा कूल मतदाता ३२ हजार ३ सय ५८ रहेको छ ।
पत्रकार दबु चितवनको अध्यक्षमा अनुज जोशी निर्वाचित
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ श्रावण १५, आइतबार वर्गीकृत
नेवाः पत्रकार दबु चितवनको अध्यक्षमा अनुज जोशी निर्वाचित हुनुभएको छ।
शनिबार भरतपुरमा भएको छैठौं साधरण सभा तथा तेस्रो अधिवेशनले जोशीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।
शनिबार भएको अधिवेशनले जोशीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा सृजना ताम्राकार, सचिबमा सुनिल कुमार श्रेष्ठ, सहसचिवमा विनिता श्रेष्ठ र कोषाध्यक्षमा राजु श्रेष्ठलाई चयन गरेको छ। यस्तै सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, उमेश श्रेष्ठ, मनिषा श्रेष्ठ र निरुता श्रेष्ठ चयन भएका छन । निर्वाचन कमिटिका संयोजक पत्रकार दबुया संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन र पत्रकार दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले निर्वाचित हुनु भएका पदाधिकारी तथा सदस्यहरुलाई खादा तथा अबिर लगाइदिनु भइको थियो
अध्यक्ष जोशीले आफ्नो नेतृत्वमा दबुलाई अझै उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै दबुको नयाँ नेतृत्वले निवर्तमान अध्यक्ष कमलमान श्रेष्ठलाई सफल कार्याकाल सम्पन्न गरेको भन्दै सम्मान गरेको छ ।
चिकित्सक र पत्रकारलाई सम्मान

नेवाः पत्रकार राष्ट्रिय दब् चितवन शाखाको छैठौ साधरण सभा तथा तेस्रो अधिवेसनबाट चिकित्सक र पत्रकारलाई सम्मान गरिएको छ । छैठौं साधरण सभा तथा तेस्रो अधिवेशनका प्रमुख अतिथि पत्रकार दबुका बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रा डा अर्जुन श्रेष्ठ,वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा बरुण श्रेष्ठ, वरिष्ठ क्यान्सर सर्जन प्रा डा भक्तमान श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपिक डा। सुर्यज्योती श्रेष्ठलाई सम्मान गर्नु भएको थियो।

यस्तै पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याइरहेका तीनजना वरिष्ठ पत्रकारलाई पनि सम्मान गरिएको छ । पत्रकार दबु चितवनका संस्थापक अध्यक्ष अमर प्रधान, पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठ, वरिष्ठ स्वास्थ्य पत्रकार एवंम पत्रकार दबुका केन्द्रीय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।
सार्क पत्रकार मञ्च सार्क पत्रकार मञ्च
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ श्रावण १५, आइतबार वर्गीकृत
दक्षिण एशियाली मुलुकका पत्रकारको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ)को ३५ सदस्यीय नेपाल शाखा विस्तार भएको छ । मञ्चको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमानले विज्ञप्ति गरी समितिमा रहने सदस्यहरुको सूची सार्वजनिक गरेका हो ।
राष्ट्रिय समाचार समिति (रासस)का प्रकाश सिलवालको संयोजकत्वमा गठित समितिमा अनन्त सुवेदी, विजय दिमदोङ, चिरञ्जीवी अधिकारी, दिपक श्रेष्ठ, दीपेन्द्र प्रजापति, गोपाल सङ्ग्रौला, हेमराज ढकाल, इफ्रान बाबु, जीवन पराजुली, करन ताम्राकार, कौशल घिमिरे, कमल राना, कविता थापा, लक्की चौधरी, लव प्याकुरेल र माधवप्रसाद तिवारी रहेका छन् ।
यस्तै नृपेन्द्रलाल श्रेष्ठ, पुष्पा अधिकारी, प्रकाश पण्डित, रुद्रश्रीस मगर, रञ्जित तामाङ, रवीन्द्र काफ्ले, रत्नकाजी महर्जन, सुरेन्द्रभक्त श्रेष्ठ, सुनील महर्जन, सुनील आचार्य, सामना वियोगी, टेकेन्द्रबहादुर महत, उद्धवकुमार कार्की, उत्तम श्रेष्ठ र यमन दनुवार सदस्य रहेका छन् । समितिका सदस्यको पहिलो बैठकले आफ्नो कार्ययोेजना र पदाधिकारी तय गर्नेछ ।
सार्क क्षेत्रमा व्यावसायिक पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेशागत हक, अधिकारका लागि सन् २०१९ मा भारतमा स्थापित सो मञ्चले अन्तर्राष्ट्रियस्तरमा पत्रकारिताको गुणस्तर र पहुँचलाई सुदृढ पार्नु पनि उद्देश्य रहेको छ । सङ्गठनको हालसम्म दक्षिण एशियाका मुलुकका शाखा विस्तार भइसकेको छ भने हाल यसको मुख्यालय नेपालमा रहेको छ ।
दक्षिण एशियामा व्यावसायिक पत्रकारिताको विकास र प्रववद्र्धन गर्न, पत्रकारको जीवनस्तर उठाउन, सार्क राष्ट्रहरुका पत्रकारबीच आपसी विश्वास, एकार्काको समस्यालाई बुझ्न र मूल्याङ्कन गर्न मञ्चले भूमिका निर्वाह गर्नेछ । मञ्चलाई दक्षिण एशियाली सदस्य राष्ट्रको पत्रकारले क्षेत्रीय पत्रकार निकायका रूपमा मान्यता दिइएको छ । यस क्षेत्रमा पत्रकारिताको प्रवद्र्धन, विकास, विस्तार, नीतिगत सुधार र सार्क राष्ट्रमा पत्रकारिता क्षेत्रका साझा उद्देश्य हासिल गर्न मञ्चले काम गर्नेछ ।
फोनिजले तीन महिने सुदृढीकरण अभियान सञ्चालन गर्ने
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ आषाढ २५, शनिबार वर्गीकृत
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले तीन महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
फोनिजको शुक्रबार सम्पन्न संघीय समितिको तेस्रो पूर्ण बैठकले साउन १ गतेदेखि असोज २७ गतेसम्म अभियान चलाउने निर्णय गरेको हो ।
अभियान अवधिमा फोनिजको जिल्ला र विदेश शाखा, प्रादेशिक समितिहरुको बैठक सञ्चालन, वार्षिक क्यालेण्डर निर्माण, प्रशिक्षणलगायत कार्य गरिने महासचिव मिलन लिम्बूबाट प्रस्तुत कार्ययोजनामा उल्लेख छ ।
त्यस्तै तीन महिने अभियानकै बीच फोनिजले आफ्ना सदस्यहरुको अभिलेखलाई डिजिटलाइज गर्ने जनाएको छ । अब सदस्यताको लागि अनलाइन प्रणालीमार्फत आवेदन दिने र अनलइनबाटै सदस्यता स्वीकृतिलगायत प्रक्रिया सम्पन्न हुने छ ।
नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै कायम गराउन फोनिजले अभियानकै क्रममा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने, संघको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारको सञ्चार हेर्ने मन्त्रालयहरुबाट समेत सरकारलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।
त्यसैगरी अभियानकै क्रममा फोनिजले नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न आदिवासी जनजातिजन्य संघसंस्थाहरुसँग अन्तरसम्बन्ध सुधारका लागि विभिन्न चरणमा अन्तरक्रिया र छलफल गर्ने निर्णय गरेको छ ।
बैठकले असोज २८ र २९ गते फोनिजको नीति तथा विधान सम्मेलन गर्ने समेत निर्णय गरेको छ ।
टिकारामलाई फोनिज युके पत्रकारिता सम्मान
Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ आषाढ २५, शनिबार वर्गीकृत
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार दुईजना फोनिजकर्मी पत्रकारले पाएका छन् ।
फोनिज युके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज युके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा सम्मानित र पुरस्कृत भएका हुन् ।
काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थाप मगरले दुवैजनालाई सम्मान र पुरस्कार प्रदान गरे ।
सम्मान र पुरस्कारको राशी जनही २५ हजार रहेको छ । फोनिज युकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउदै आएका पत्रकारहरुलाई हरेक बर्ष सम्मानित र पुरस्कृत गर्दै आएको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी आयोगका अध्यक्ष राम बहादुर थापा मगरले आदिवासी जनजातिहरुको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताए ।
विभिन्न समयमा भएको आदिवासी जनजाति आन्दोलनको उपलब्धी रक्षाका लागि अझै पनि संघर्ष गर्न आवश्यक रहेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले यस्ता पुरस्कारहरुले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजनामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो।


