add
Display Style: 
Row Style

प्रदेश सभामा तामाङ र नेपालभाषाको अनुवादक राखिने

Swoniga Online – स्वनिगःअनलाइन रिपाेर्टर | २०८१ कार्तिक १७, शनिबार वर्गीकृत

नेपाल सम्वतलाई राज्यले राष्ट्रिय सम्वतको मान्यता दिएपनि अझै पूर्ण कार्यान्वयन हुन नसकेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल सम्वत ११४५ नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् । गत मंगलबार इन्द्र विनायक क्लबले कंकेश्वरीमा तिहार पर्व र नेपाल सम्वत ११४५ नयाँ वर्षको उपलक्ष्यमा सुकुन्दा ¥यालीको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष साथै पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल सम्वतको आन्दोलन अझै नसकिएको विचार राखे ।

राष्ट्रिय सम्वतको मान्यता पाइसकेको नेपाल सम्वतलाई सबै मन्त्रालय, सरकारी निकायहरुमा प्रयोग गर्न लगाउन निरन्तर लागिरहनुपर्ने विचार राखे ।

‘राष्ट्रिय मान्यता पाएको घोषणा मात्र गरेर पुग्छ, व्यवहारमा लागू गर्न पर्दैन ? यसलाई पूर्ण रुपमा व्यवहारमा लागू गराउन दबाब अझै आवश्यक छ, हामी निरन्तर लागिरहनु आवश्यक छ’ अध्यक्ष साथै पूर्व मन्त्री श्रेष्ठको भनाई हो ।

कार्यक्रममा वागमती प्रदेश सभा सदस्य समिता खड्गीले नेपालभाषा र तामाङ भाषाले प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता दिलाउन धेरै मिहिनेत गरेको बताउँदै अब प्रदेश सभामा अनुवादकको व्यवस्था आफुहरुले पहल गरीरहेको बताइन् ।

‘अचेल म प्रदेश सभामा नेपालभाषामै बोल्ने गरेको छु, अब कसैले बुझ्दैन भए अनुवादक राख्नुपर्यो । अनुवादकको व्यवस्था गर्न हामीले प्रयास गरीरहेका छौं’ प्रदेश सभा सदस्य खड्गीले भनिन् ।

कार्यक्रममा नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापितले देशकै नामबाट रहेको नेपाल सम्वत नेवाः समुदायको मात्र नभएकोमा जोड दिए ।

काठमाडौं महानगरपालिका १९ वडाका अध्यक्ष राजेश श्रेष्ठ र भूमि अधिकार संरक्षण संघर्ष समितिका संयोजक श्यामकृष्ण प्रजापतिले राज्यले विभिन्न नीति र मापदण्डको नाममा भूमि खोस्न खोजिरहेको दावी गरे ।

स्थानीय जनताको भूमि संरक्षणको लागि आफुहरुले कुनै कसर बाँकि नराख्ने वडाध्यक्ष श्रेष्ठ र संयोजक प्रजापतिको भनाई हो ।

कार्यक्रमलाई संयुक्त युवा क्लब, नेपाल राष्ट्रिय खड्गी समाज १९ वडा शाखा, ढोका फल्चा पुचः र झीगु इनाःत्वाः पुचःले सह आयोजना गरेको थियो ।

कार्यक्रममा आयोजकका तर्फबाट इन्द्र विनायक क्लबका अध्यक्ष प्रतिक खड्गी, ढोका फल्चा पुचःका अध्यक्ष जेशिस शाहीले आआफ्नो विचार राखेका थिए ।

औपचारिक उद्घाटन कार्यक्रमपछि सुकुन्दा र्‍याली निकालिएको थियो । इन्द्रसभा मार्गबाट सुरु भएको ¥याली मरुढोका, कंकेश्वरी, दमाइटोल, यट्खा, चसान हुँदै प्याफलबाट मरुहिति, शान्ति निकुन्ज चोक हुँदै इन्द्रसभा मार्गमै पुगेर सम्पन्न भएको थियो ।

सुकुन्दा र्‍याली पछि विभिन्न गायक कलाकारहरुबाट सांगितिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।

बाल दिवसमा बाल दिवस मेला आयोजना हुँदै

Swoniga Online – स्वनिगः अनलाइन रिपाेर्टर | २०८१ भाद्र २६, बुधबार वर्गीकृत

राष्ट्रिय बाल दिवसको अवसरमा बाल दिवस मेलाको आयोजना हुने भएको छ । जावलाखेलस्थित लभ्ली होम प्रिस्कूलले आउँदो भाद्र २९ गते शनिवारको दिन राष्ट्रिय बाल दिवसको अवसरमा बाल दिवस मेला २०८१ को आयोजना गर्न लागेको हो ।

दिवसको अवसरमा लभ्ली होमले ललितपुरको जाउलाखेलस्थित खेल मैदानमा बाल दिवस मेला २०८१ को आयोजना गर्न लागेको हो ।

आज (मंगलवार) लभ्ली होमले ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम र विद्यार्थीहरुको लागि खेल गतिविधिसहित मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

लभ्ली होम स्कूलकी संस्थापक माहेश्वरी अमात्यले बालबालिकाको बाल्यकाल र बालापनको महत्व अभिभावकलाई बुझाउन विभिन्न खेल गतिविधि, सांस्कृतिक कार्यक्रम र अन्यय विभिन्न गतिविधिहरु सहित मेलाको आयोजना गर्न लागेको बताइन् ।

‘हामी बालबालिकाको बालापनसँग जोड्दै अभिभावकलाई आफ्नो बाल्यकालको अनुभूति गराउन चाहन्छौं, जसले बाल दिवसलाई एउटा उत्सवको रुप दिओस्’ संस्थापक अमात्यले भनिन् ।

अरु दिवस वा अवसरलाई उत्सवको रुपमा मनाए जस्तै बाल दिवसलाई खासै महत्व नदिइएको परिस्थितीमा बाल दिवसको महत्व सम्वन्धि जनचेतना फैलाउन पनि यस मेलाको आयोजना गर्न लागेको अमात्यले भनिन् ।

कार्यक्रममा अन्य मनोरन्जनात्मक प्रस्तुतिहरुको साथै संस्कृति पुस्तान्तरणको माध्यमको रुपमा विद्यार्थीहरुबाट कार्यक्रममा लाखेय्, पुलुकिसिको प्रस्तुति समेत रहने जानकारी लभ्ली होमका डान्स कोअर्डिनेटर सुजन बज्राचार्यले दिए ।

सोही पत्रकार सम्मेलनमा यल लाय्कू मिप्वाः लाखय् पुचःका संरक्षक उत्तम रत्न शाक्यले लाखेय् लगायतका स्थानीय संस्कृतिसँग जोडिएका मूर्त अमूर्त सम्पदालाई यसको मूल मर्मलाई कायम राख्दै विद्यार्थीहरुमार्फत पुस्तान्तरण हुनु राम्रो विषय भएको विचार राखे ।

‘विद्यार्थीहरु लाखय् नाच नाच्छन् भने उनीहरुले लाखय्बारे थाहा पाउँछन्, सिक्छन्, बुझ्छन् । जथाभावी ठाउँमा नचाएर दुरुपयोग पो गर्नु भएन, यसरी भविष्यका कर्णधारहरुलाई सिकाउनु, संस्कृति पुस्तान्तरण गरिनु त राम्रो कुरा हो’ संरक्षक शाक्यले भने ।

कार्यक्रममा विभिन्न सांस्कृतिक गतिविधिको साथमा कार्यक्रमको मुख्य आकर्षणको रुपमा निशा देसार र रोजमान महर्जनको प्रस्तुति रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

साथमा विभिन्न खाद्य परिकारका स्टलहरु, खेल गतिविधिहरुसहित विहानको ११ बजेदेखि साँझको ४ बजेसम्म मेलाको आयोजना हुने जानकारी आयोजकले दिएको छ ।

मेलामा स्कूलका विद्यार्थी, अभिभावक, अन्य स्कूल, प्रिस्कूल, मन्टेश्वरीका प्रतिनिधि, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिसमेत गरी पाँच हजार बढिले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।

मछिन्द्रनाथको जात्रा सकिएकाे जानकारी दिन जाेडी भंगेरा उडाइयाे, सप्तपातल पाेखरीमा जाेडी माछा छाेडियाे

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र ९, आइतबार वर्गीकृत

ललितपुर/ ९ भदौ : मछिन्द्रनाथको रथजात्रा सकिएकाे जानकारी दिन शनिबार जाेडी भंगेरा उडाएर सप्तपातल पाेखरीमा जाेडी माछा छाेडिकाे छ । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथजात्रा सकिएकाे जानकारी इन्द्र महाराजलाई जानकारी दिनुपर्ने मान्यता रहिआएकाे पाटनका स्थानीय किरण स्थापितले बताउनुभयो । 

"रथ जात्रा सकिएकाे जानकारी स्वर्गमा इन्द्र महाराजलाई गराउनुपर्ने कथन छ, साेही अनुसार मर्त्यमण्डलमा जानकारी जाेडी भंगेरा उठाउने र पातालमा जानकारी दिन जाेडी माछा सप्तपाताल पाेखरीमा छाेडिन्छ, त्यही कार्य आज भयाे।" स्थापितले भन्नुभयो । 

जाेडी भंगेरा उठाउनु र जाेडी माछा पाेखरी छाेड्नु अगाडी  जात्रा समापनकाे प्रक्रिया पूरा गर्न  विहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जाेडी भंगेरालाई कथा सुनाइएकाे थियाे । 

गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा आइतबार साउन २० गते आइतबार भाेटाे देखाएपछि सम्पन्न भएको थियाे । 

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्‍याउनुपर्ने परम्परा अनुसार उक्त कार्य सम्पन्न भएको थियाे । 

यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ । 

काठमाडौं १८ वडाद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र ४, मंगलबार वर्गीकृत

काठमाडौं महानगरपालिका १८ वडा कार्यालयद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा ५० भन्दा बढिमा मोतिविन्दुको समस्या देखिएको छ ।

वडा १८ शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सञ्चालित शिविरमा दुई सय भन्दा बढिको निःशुल्क आँखा जाँच गरिएको थियो। स्वास्थ्य जाँच गराउने मध्ये ५० जना भन्दा बढिमा मोतिविन्दुको समस्या देखिएको हो ।

मोतिविन्दुको समस्या देखिएकाको आँखाको शल्यक्रिया पनि निःशुल्क नै गरिने कामपा वडा १८ का वडाध्यक्ष न्हुछेँकाजी महर्जनले बताउनुभयाे ।

शिविरमा आँखा जाँचको क्रममा मोतिविन्दुको समस्या देखिएकाको आँखाको शल्यक्रिया आउँदो भाद्र १५ गते हुने र शल्यक्रिया पछि लाग्ने औषधी पनि निःशुल्क वितरण गरिने वडाध्यक्ष महर्जनले जानकारी गराउनुभयाे ।

‘समयमै रोग पत्ता लागे उपचार सजिलै र समयमै गर्न सकिन्छ । र आर्थिक अभावकै कारण कोही पनि स्वास्थ्य उपचारबाट बञ्चित रहन नपरोस् भनी हामीले शिविर सञ्चालन गरेका हौं’ वडाध्यक्ष महर्जनको भनाई छ ।

करीब दुई महिनाकाे अन्तरमा स्वास्थ्य सम्वन्धि शिविर सञ्चालन गर्दै आइरकेको र वडामा आँखा सम्वन्धि समस्या बढि देखिएकाले शिविर सञ्चालन गरिएको कामपा १८ वडाकी महिला वडा सदस्य हेराशोभा डंगोल महर्जनले बताउनुभयाे ।

‘हामीले विगतमा पनि आँखा शिविर संचालन गरेका थियौं । मोतिविन्दुको समस्या बढि देखिन थालेपछि यस पटक हामीले मोतिविन्दुको समस्यालाई नै केन्द्रमा राखेर शिविर संचालन गरेका हौं’ महिला वडा सदस्य डंगोल महर्जनले भन्नुभयाे।

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेश भन्ने भनाईलाई आत्मसात गर्दै निरन्तर यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको वडा कार्यालयले जनाएकाे छ ।

कामपा १८ वडाले मातृका आइ सेन्टरको प्राविधिक सहयोगमा शिविरको आयोजना गरेको हो ।

बंगलामुखी मन्दिर नजिकै आगलागी

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र ३, सोमबार वर्गीकृत

ललितपुर/ ३ भदौ, ललितपुरको बंगलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ । अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हो । ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास भएर आगलागी भएको हाछेथुको भनाई छ । उहाँका अनुसार महानगरको तीनवटा दमकल र एउटा ट्याङ्कर आगलागी नियन्त्रणका लागि खटिएको थियो । साथै ३० जना नगर प्रहरी पनि घटनास्थलमा खटिएका थिए । आगो अहिले नियन्त्रणमा आएको हाछेथुले जानकारी गराउनुभयाे ।

ललितपुरका निर्माण व्यवसायी संघकाे कर सम्बन्धि तालिम

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र ३, सोमबार वर्गीकृत

ललितपुर/ ३ भदौ, ललितपुर निर्माण व्यवसायी संघले निर्माण व्यवस्थापन, कर तथा विमा सम्बन्धि नीति बिषयमा केन्द्रित रहेर एक दिने तालिम सम्पन्न गरेकाे छ। ललितपुर निर्माण व्यवसायी संघमा आवद्ध व्यवसायीहरुलाई लक्षित गरेर कर सम्बन्धि एक दिने प्रशिक्षण आयाेजना गरेकाे संघका बरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिनाले जानकारी गराउनुभयाे । "हालसालै कर कानुनमा भएका परिवर्तन र उनीहरुको निर्माण व्यवसायमा पर्न सक्ने प्रभावका बारेमा समेत जानकारी गराउनु याे तालिमकाे उद्देश्य हाे । तालिमबाट निर्माण व्यवसायीहरुलाई कानूनी रूपमा कर सम्बन्धि दायित्वहरु पूरा गर्न र करसम्बन्धी प्रावधानहरु पालना गर्न सक्षम बनाउनु हाे ।"तिमल्सिनाले भन्नुभयो ।
यस प्रशिक्षणले निर्माण व्यवसायीहरुलाई कानूनी रूपमा करसम्बन्धी दायित्व पुरा गर्न, अनुगमन र कर जाँचबाट बच्न, र करसम्बन्धी जोखिम घटाउन मद्दत गर्ने उहाँले बताउनुभयो ।

प्रशिक्षणमा लेखा प्रणाली, कर सम्बन्धि व्यवस्थाका बारेमा प्रशिक्षक सालिग्राम अर्यालले सहभागीहरुलाई प्रशिक्षण गर्नुभएको थियोे । उहाँले निर्माण व्यवसायीहरुलाई दर्ता नभएको राजनीतिक दल, दर्ता नभएको संघसंस्था, कानुनी अस्तित्वमा नरहेका समूह वा संस्थालाई दिएको चन्दा खर्चमा देखाउन नपाइने व्यवस्था रहेकाे जानकारी गराउँदै हरेक काराेवार बैंक खाता मार्फत मात्रै काराेवार गर्न आग्रह गर्नुभएकाे थियाे ।
उहाँले सहभागीहरुलाई नेपालकाे कर प्रणाली, कर नियमावली, र कानूनी दायित्वहरुको बारेमा प्रष्ट पार्नुभएकाे थियाे । प्रशिक्षणमा निर्माण व्यवसायमा लाग्ने विभिन्न करहरू जस्तै मूल्य अभिवृद्धि कर, आयकर, स्रोत कर, आदि बारेमा जानकारी गराइएको थियाे ।
तालिममा दश वर्षदेखि इन्स्योरेन्स क्षेत्रमा लाग्नु भएका विमा सर्भेयर जगन्नाथ गाैत्तमले निर्माण व्यवसायमा विमाकाे आवश्यकता, महत्व र विमा दावी गर्न सक्ने अवस्थाहरु, दावीका लागि पुर्‍याउनु पर्ने कागजातहरुलगायतका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियाे ।
उहाँले सार्वजनिक खरिद क्षेत्रमा विमा चाहिन्छ भन्ने वकालत गर्दै आएकाे बताउँदै विमा दावी गर्न हुने ढिलासुस्तीले हुने हानी र विमा दावी गर्दा हुने कमजोरीले विमा रकम प्राप्त हुने नसक्ने अवस्थाहरुका बारेमा जानकारी गराउनुभएकाे थियाे। उहाँले विमा गर्दा विमा नीति सम्बन्धि सबै कुरा बुझेर मात्रै गर्न र माग दावी गर्न सकिने आधारहरुका बारेमा सुसूचित हुन आग्रह गर्नुभएको थियोे ।

जनै पूर्णिमाका दिन बज्रबाराहीमा दिनभर भजन हुने

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ भाद्र २, आइतबार वर्गीकृत

ललितपुर/ ०१ भदौ, जनै पूर्णिमाका दिन बज्रबाराहीमा दिनभर भजन हुने हुने भएको छ । पूर्णिमाका दिन हुने भजनकाे व्यवस्थापन गर्दै आउनुभएको चिरीनानी श्रेष्ठले दिनुभएको जानकारी अनुसार स्वर्गीय ज्ञानलाल महर्जनको नाती शान्तकुमार महर्जनको छाेरा गाेदावरी  नगरपालिका वडा नं. १२ निवासी सन्ताेष महर्जन र सम्राट महर्जनले आफ्नाे स्वर्गीय माता रामकेशरी महर्जनको सम्झनामा यही आउँदो जनै पूर्मिमा भजनमा सहभागी हुने भक्तजनहरुलाई खाना र खाजाकाे व्यवस्था गर्नुहुने भएको छ।
गाेदावरी नगरपालिका वडा नं. ५ निवासी हरिबहादुर सिल्वालकाे नाति जगन्नाथ सिल्वाल र रेणु सिल्वालकाे छाेरा राेहित सिलवालले हरेक पूर्णिमाका दिन हुने भजनका लागि पाँच हजार रुपैयाँ सहयाेग गर्नुभएकाे छ।
बज्रवाराही मन्दिरमा हरेक पूर्णिमाका दिन भजन सञ्चालनका लागि चिरीनानी श्रेष्ठ, गुणलक्ष्मी श्रेष्ठ, हिरामाया देसार र सुनकेशरी देसारले व्यवस्थापन गर्दै आउनुभएको छ ।
पूर्णिमा भजन व्यवस्थापनका लागि सहयाेग गर्न चाहाने महानुभावहरुले चिरीनानी श्रेष्ठकाे नम्बर ९८४३५७६५३२ र गुणलक्ष्मी श्रेष्ठकाे नम्बर ९८४९१०७४६४ मा सम्पर्क गरेर स्वेच्छिक रुपमा सहयाेग गर्न सकिने व्यवस्था रहेकाे छ ।
यसअघि भजनमा सहभागीहरुलाई खानाकाे प्रबन्धका लागि अक्षयकोष स्थापना गर्न गाेदावरी- ११ बुलुका मदन महर्जनले एघार हजार एक सय ५० रुपैयाँ, तान्त्रिक गुरु तेजमुनि बज्राचार्यले दश हजार पाँच सय ५१ रुपैयाँ सहयाेग गर्नुभएको थियाे, त्यस्तै साउन ६ गते गुरु पूर्णिमाका दिन भजनमा सहभागीहरुलाई खाना र खाजाकाे व्यवस्था गाेदावरी नगरपालिका १२ ठेचाे न्हुछे लाइझाेल टाेल  निवासी राजेश महर्जनले  गर्नुभएको थियाे।
जेष्ठ नागरिकहरुलाई भजनमा सहभागी गराउँदै संस्कृति, सभ्यताकाे जगेर्ना गर्न हरेक दिन नित्य भजन गरिने गरेको उहाँले जानकारी गराउनुभयाे।  जेष्ठ नागरिकहरूको मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यको लागि सामुहिक रुपमा भजन गर्ने कार्य धेरै लाभदायक हुन सक्छ। भजनमा सहभागी हुँदा ध्यान र मानसिक शान्ति प्राप्त गर्न मद्दत गर्छ। यसले तनाव कम गर्छ र सकारात्मक मानसिकता विकास गर्न मद्दत पुर्‍याउँछ। यस कार्यबाट उहाँहरुकाे अन्य व्यक्तिहरूसँग भेटघाट हुन्छ, जसले सामाजिक सम्पर्क बढाउँछ। यसले एकान्त र एक्लोपनको समस्या समाधान गर्न सहयोग पुर्‍याउँछ।
त्यस्तै, धार्मिक आस्था र आध्यात्मिकता व्यक्त गर्न भजन सहयोगी हुन्छ। यसले जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न मद्दत गर्छ। भजन गाउन र सुन्नाले स्मरण शक्ति र मानसिक सतर्कता बढाउँछ। भजन गाउँदा सास फेर्ने प्रक्रिया राम्रो हुन्छ र सासको तालमेल समेत राम्रो हुन्छ। भजनमा समावेश हुने संगीतले भावनाहरू व्यक्त गर्न मद्दत गर्छ, जसले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउँछ।
यसरी, भजनमा सहभागी हुँदा जेष्ठ नागरिकहरूको मानसिक, शारीरिक, र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। यसलाई दैनिक जीवनको हिस्सा बनाउन प्रोत्साहन गर्नु उपयुक्त हुन्छ।
मठमन्दिर, देवालय तथा शिवालयहरुमा हुने नित्य भजन तथा समयसापेक्ष हुने भजनकिर्तन सुनेर दर्शनका लागि आउने दर्शनार्थीहरु समेत आनन्दित हुन्छन् । भजन गाउने र सुन्ने बानीले मनलाई आनन्दित बनाउनुका साथै सनातन धर्म–संस्कृति र परम्परा संरक्षणका हिसाबले पनि उपयुक्त हुन्छ । जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नका लागि मात्रै नभई युवावर्गमा पनि आध्यात्मिक चिन्तन र चेतना जगाउनका लागि पनि भजनका लागि केही समय दिनु उपयुक्त मानिन्छ ।
आममानिसमा भजनप्रतिको सहभागिता, रौनक, उत्सुकता र थकाइबिनाको मनोरञ्जनले दिन वा रात बितेको पत्तै हुँदैन । परम्परा अनुसार जाग्राम बस्न भजन, कीर्तनकै सहारा लिने गरिन्छ । वास्तवमा शास्त्रमा आधारित र धार्मिक महत्त्व रहेकाले जनसंस्कृति र लोक भाकाको प्रतीकका रूपमा समेत भजनलाई लिइन्छ ।

अहिलेको विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छः प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २६, शनिबार वर्गीकृत

काठमाडौँ/ २६ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुुभएको छ ।
ठैँटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–उपासिकाहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता, दया  र परोपकारभाव धेरै आवश्यक भएकाले बुद्धका शिक्षाहरु थप सामयिक भएको बताउनुुभएको हो । प्रशिक्षणमा सहभागी ६४ जना उत्तीर्ण भएका थिए ।
खराबी उन्माद, आक्रोस र दम्भको मार्ग छाडेर शालीनता, विनयशीलता, मानवनीयता र आत्मियभाव देखाउन सकिए विश्वमा शान्ति छाउने र पृथ्वीको पनि सुरक्षा गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “आज विश्वमा मानवीय उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति मच्चिएको छ । आफ्नो जिद्धीका लागि निर्दाेष मान्छेमाथि पनि कस्ले कतिबेला कहाँ सशस्त्र हतियार प्रहार र प्रतिप्रहार गर्ने हो भन्ने खालको भय पैदा भएको छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।’’ । उहाँले परस्पर बेमेल र अशान्ति गर्ने प्रवृत्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनास मात्रै निम्त्याउने धारणा राख्नुुभयो ।
कार्यक्रममा बिहारका प्रमुख धम्मवती गुरुमाँले प्रधानमन्त्री ओलीलाई आरोग्यसहित नेपाललाई राम्रो बाटोमा लान सक्नुुहोस् भनी कामना गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी हुनुहुन्थ्यो ।

सुझवुझका साथ नगरप्रहरीकाे काम सम्पन्न भएको छ - महानगरप्रमुख महर्जन

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण २४, बिहिबार वर्गीकृत

ललितपुर/ २४ साउन : ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले सुझवुझका साथ नगरप्रहरीकाे काम सम्पन्न भएको बताउनु भएको छ। ललितपुर महानगरपालिकाद्वारा प्रकाशित तश्वीरमा नगरप्रहरी नामक पुस्तक बिमाेचनका लागि आज आयाेजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै महानगरबाट भएका निर्णय विवादरहीत तबरले कार्यान्वयन गर्न नगरप्रहरीले सराहनीय काम गरेको धारणा राख्नुभएको हाे ।
"मुर्त तथा अमुर्त सम्पदन संरक्षणमा शुन्य सहनशीलताकाे नीति अनुसार काम गरिरहेका छाैं, एउटा तश्वीरले धेरै शब्द बाेल्छ भने जस्तै तश्वीरले थुप्रै काम भएको देखाएकाे छ, महानगर प्रहरीले वादविवाद रहित तरिकाले कार्यसम्पादन गर्न सफल भएको छ, महानगरका लागि सबै बराबर हुन, कसैलाई काखापाखा हुने गरी निर्णय हुँदैन, यही अनुसार काम गर्न नगरप्रहरीले राम्रो काम गरिरहेको छ ।" उहाँले भन्नुभयो ।
उहाँले विवादरहीत तबरले स्थानीय तहका निर्णय कार्यान्वयनमा ललितपुर महानगर प्रहरीले गरेको काम अन्य महानगर र नगरपालिकाहरुले पनि पछ्याउन याेग्य रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले ललितपुर महानगरले गरेकाे निर्णयलाई कार्यान्वयन गर्ने र विपद व्यवस्थापन गर्नेक्रममा नगरप्रहरीले खेलेको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो । " समस्या समाधान गर्नेक्रममा राम्रो काम गरेकाे छ, सम्पदा संरक्षण, फुटपाथ व्यवस्था र ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा सहयाेगी भूमिका निर्वाह हुनेछ, थप रचनात्मक कामले आगामी दिनमा अझै राम्रो काम हुनेछ भन्ने विश्वास छ।" उहाँले भन्नुभयो ।
चलचित्र निर्माता  तथा निर्देशक प्रकाश सायमीले तश्वीर हुनुले धेरै लामाे समयसम्म इतिहास कायम रहने बताउनुभयाे । नगरप्रहरीले आफूले गरेकाे कामलाई समेटेर तश्वीर प्रकाशन गर्न सक्नु भनेकाे काम प्रतिकाे विश्वास भएको धारणा राख्नुभयाे। इमानदारीपूर्वक काम गर्दा जनता सधैं साथमा हुने बताउनुहुँदै ललितपुरको सम्पदा र संस्कृति संरक्षणमा प्रहरीले पुर्‍याएकाे याेगदान अतुलनीय भएको बताउनुभयो ।

प्रमुख प्रशाशकीय अधिकृत रेखादास श्रेष्ठले नगरप्रहरीले सम्पादन गरेका क्रियाकलापहरु समेटेर निकै राम्रो पुस्तक तयार भएको बताउनुभयो ।  "शहरी साैन्दर्यता कायम गर्न, अतिक्रमण भएका सार्वजनिक सम्पत्तिकाे संरक्षण गर्न, स्थानीय समस्याहरु समाधानमा नगरप्रहरीबाट महत्त्वपूर्ण काम भएको छ, स्थानीय तहकाे प्रभावकारिता बृद्धिमा नगरप्रहरीकाे भूमिका महत्त्वपूर्ण छ। उहाँले भन्नुभयो ।
उहाँले राजश्व संकलनमा घरघरमा नगरप्रहरी अभियानले महत्त्वपूर्ण सहयाेग पुगेको बताउँदै जनताकाे जनविश्वास आर्जन गर्नेगरि काम गर्न आग्रह गर्नुभयो ।

पुस्तकमा नगरप्रहरीले कार्यसम्पादनकाे सिलसिलामा नगरप्रहरीले नै खिचेका तश्वीरहरु मात्रै समेटिएको छ। ललितपुर महानगरले व्यवस्था गरेकाे हटलाइन ११३१ मा एक घण्टामा ५५ वटासम्म गुनासो दर्ता हुने गरेको नगरप्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी गराउनुभयाे ।

नेवाः सूचना केन्द्रको साधारणसभा सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १२, शनिबार वर्गीकृत

ललितपुर/१२ साउन: नेवाः सूचना केन्द्रको आठौं वार्षिक साधारणसभा आज ललितपुरमा सम्पन्न भएकाे छ । नेपाल भाषाबाट हुने साहित्यिक, भाषिक तथा सांस्कृतिक गतिविधिहरुको अद्यावधिक जानकारी दिने र ती गतिविधिहरुलाई सक्दो सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्ने जिम्मेवारी वहन गर्दै आएको यस सूचना केन्द्रले आफ्नो स्थापनाको सात वर्ष पूरा गरेको हाे
साधारणसभामा लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन मनिकरत्न शाक्यले सूचना केन्द्रले गर्दै आएका काम प्रशंसनीय भएको बताउँदै प्रत्यक्ष प्रसारण भएका श्रव्यदृश्य सामग्रीहरुलाई एकै ठाउँमा संगृहीत गर्न र ती सामग्रीहरुको उपयोग गर्न चाहने संघसंस्थाहरुलाई शुल्क लिएर उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो ।
नेपाल भाषाका वरिष्ठ कथाकार तथा शिक्षाविद् हितकरवीर सिंह कंसकारले ‘नेवारी’ शब्दको प्रयोगले नेपाल भाषाको ऐतिहासिकता र मौलिकता प्रतिविम्बित नहुने भएकाले यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना केन्द्रका अध्यक्ष रमिता बज्राचार्यले नेवाः सूचना केन्द्रप्रति संघ संस्थाहरुबाट दर्शाइएको सदाशयता आउँदा दिनहरुमा पनि कायम रहने विश्वास व्यक्त गर्नुभयो । 
नेवा: समुदायका थुप्रै भाषिक तथा साहित्यिक संस्थाहरुको सहभागिता रहेको यस कार्यक्रममा सूचना केन्द्रप्रति विश्वासका साथसाथै सहकार्य गरेका संस्थाहरुलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

Pages