add
Display Style: 
Row Style

बज्रबाराहीमा हरेक पूर्णिमामा दिनभर भजन र जेष्ठ नागरिकलाई खानाकाे प्रबन्ध

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ ६, बिहिबार वर्गीकृत

ललितपुर/ ६ असार, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर भजन र जेष्ठ नागरिकलाई खानाकाे प्रबन्ध हुँदै आएकाे जनाइएको छ । बज्रबाराही भवन मन्डलका कार्यवाहक अध्यक्ष चिरी नानी श्रेष्ठका अनुसार हरेक दिन बिहान नित्य भजन हुने यस मन्दिरमा पूर्णिमाका दिन भजन हुने र भजनमा सहभागी हुनेहरुका साथै जेष्ठ नागरिकलाई खानकाे प्रबन्ध गरिएको छ ।
"प्रत्येक पूर्णिमामा दिनभर भजन हुन्छ, दैनिक रुपमा नित्य भजन भैरहेको छ, पूर्णिमाकाे दिन भजनमा सहभागी हुनेहरु र भजन सुनेर बस्ने श्रद्धालु भक्त जनलाई खाना र खाजाकाे व्यवस्था गरिएको छ। " उहाँले भन्नुभयो । चन्दादाता र भक्तजनबाट उठेको रकमबाट हालसम्म खाना र खाजकाे व्यवस्था गरिदै आएकाे उहाँले जानकारी गराउनुभयाे ।
भजन मण्डलकाे कसैले सहयाेग गर्न चाहेमा पनि लिएर काेष खडा गर्ने याेजना रहेकाे भनाई उहाँकाे छ ।  भजन मण्डलमा हुँदै आएकाे याे कार्य जेष्ठ नागरिकहरुकाे खुसीका लागि याे कार्य अत्यन्तै प्रभावकारी हुँदै आएकाे उहाँकाे भनाई छ। यही असार ८ गते पूर्णिमाका दिन समेत दिनभर भजन र जेष्ठ नागरिकलाई खाना खुवाउने कार्य हुने जनाइएको छ ।

उपत्यकामा चार वटा वाराही मन्दिर छन् । उत्तरमा स्वेतवाराही, पूर्वमा नीलवाराही, पश्चिममा धूमवाराही, दक्षिणमा वज्रवाराही । चार वाराहीमध्ये वज्रवाराही सबैभन्दा प्रख्यात वाराही मन्दिर हो । यो मन्दिरको पूर्वमा झरुवारासी, बडिखेल, पश्चिममा छम्पी, उत्तरमा धापाखेल र दक्षिणमा लेले छ । वज्रवाराही मन्दिर चाहीँ एक हजार पाँच सय मिटर उचाइमा छ । करिब २० हेक्टरमा फैलिएको यो मन्दिर जङ्गलभित्र छ ।  वज्रवाराहीको सम्बन्धमा वाराही शब्द बराहको स्त्री लिङ्गी रूप हो । यहाँ पूजा गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र सिद्धि प्राप्त हुने विश्वास गरिन्छ । वज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । तान्त्रिक विधिबाट कर्माचार्यहरुबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित वज्रवाराहीको शिलाको मूर्ति छ ।

ललितपुर महानगरकाे नीति तथा कार्यक्रम : आयाेजना बैक, श्रम बैक र

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ ५, बुधबार वर्गीकृत

ललितपुर/ ५ असार : आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा आयाेजना बैक र श्रम बैकलाई समेटिएको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गर्नुभएको आ.व. २०८१/०८२ काे नीति तथा कार्यक्रममा महानगरपालिकाको "आयोजना बैंक" को कार्य भईरहेकोले आगामी आ. व. देखि सो बैंङ्कबाट आयोजना छनौट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने परिपाटीको विकास गरिने उल्लेख गरिएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्षदेखि आवधिक योजना बमोजिम मध्यमकालीन खर्च संरचना तयार गरी सोही अनुसार वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाइने, बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न "कार्यक्रम कार्यान्वयन कार्ययोजना" तथा "खरिद योजना" अनिवार्य तवरले तर्जुमा गरिने, स्वीकृत योजनाको कार्यान्वयन तथा प्रगति सम्बन्धमा त्रैमासिक समीक्षा गर्ने व्यवस्था अनिवार्य  तवरले गरिने नीति प्रस्ताव गरिएको छ ।
महानगरपालिका भित्र विगत लामो समयदेखि अधुरा रहेका प्राविधिक, सामाजिक तथा आर्थिक हिसावले सम्भाव्य नरहेका योजनाहरुको लगत कट्टा गरिने  यसका लागि पेश्की/आयोजना फछर्यौट कार्यदल गठन गरिने र महानगर क्षेत्र भित्र विगत आ.व. २०७४/७५ देखि २०७९/८० सम्म सम्झौता भई सञ्चालन भएका तर विविध कारणले सम्पन्न हुन नसकेका र प्रचलित कार्यविधि बमोजिम म्याद थप हुन नसक्ने आयोजनाहरुको हकमा सम्बन्धित उपभोक्ता समितिबाट मूल्याङ्कन गरी फर्छ्यौटका लागि  निवेदन पेश हुन आएमा उक्त आयोजना जे जस्तो अवस्थामा छ सोही अवस्थामा मूल्याङ्कन गरी फर्छ्यौट गरिने नीति महानगरले तय गरेको छ ।
बढ्दो सवारी चापको व्यवस्थापन तथा पैदल यात्रीको सहजताका लागि ललितपुर चक्रपथ खण्ड र अन्य उपयुक्त स्थानहरुमा आकाशे पुल निर्माणको लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने र धुलो रहित सडक व्यवस्थापनका लागि नख्खु खोला र अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने बिषयलाई यस वर्षको नीति तथा कार्यक्रममा पनि समेटिएको छ ।
महानगरकाे नीति तथा कार्यक्रममा टिपर लगायतका मालवाहक सवारी साधनहरुको आवागमन करिडोर (नख्खु, बागमती) हरुबाट मात्र सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गरिनेछ। ठैब, हरिशिद्धि, धापाखेल लगायतका आवासीय क्षेत्रहरुबाट टिपर चलाउन नपाउने गरी समन्वय गरिने बिषयलाई पनि कार्यक्रममा समेटिएको छ ।

महानगर क्षेत्र भित्र रहेका सिल्पकला, काष्ठकला, धातुकला, प्रस्थरकलासँग सम्वन्धित श्रमिकहरुको लगत "श्रम बैंक" को रुपमा तयार गरी  सम्पदा संरक्षणका आयोजनाहरुमा परिचालन गर्ने व्यवस्था मिलाइने र पुरातात्विक संरचना, देवालय, शिवालय, मठ, मन्दिर, विहारमा प्रयोग हुने काठ, ढुङ्गा, माटो एवम् धातुबाट तयार गर्नुपर्ने विभिन्न कलात्मक वस्तुको प्रदर्शनी कक्ष स्थापना गरिने बिषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा सबै वडासंग समन्वय गरी बृक्षारोपण गर्न सकिने स्थानकाे क्षेत्रफल र विरुवाकाे प्रकार अध्ययन गरी संरक्षणकाे ग्यारेन्टी सहित बृक्षारोपण कार्यक्रम सम्पादन गरिने उल्लेख गरिएको छ ।
"हरेक वर्ष कम्तीमा एक हजार बाेट बिरुवा बृक्षारोपण गर्ने नीति अन्तर्गत व्यावसायिक सामाजिक उत्तरदायित्व लागू गरी निजी क्षेत्रकाे सहकार्यमा महानगरपालिकाले ताेकेकाे स्थानमा ताेकिएकाे प्रजातिकाे बिरुवा वृक्षरोपण गर्ने व्यवस्था मिलाइनेछ, सडकको दायाँबायाँ, नदि किनारा र भूक्षय हुने स्थानमा बृक्षाराेपण गरिने विरुवाका सम्बन्धमा विशेष नीति लिइनेछ।" महर्जनले भन्नुभयाे ।
वातावरण व्यस्थापन काठमाण्डौ उपत्यकाको वायु प्रदुषण नियन्त्रण तथा रोकथामको लागि युएसआइडीबाट सञ्चालित  “स्वच्छ हावा परियोजना” लगायतका सरोकारवालाहरुसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरिनेछ। वायु प्रदुषण काठमाण्डौ उपत्यकाका साझा समस्या भएकोले काठमाण्डौ उपत्यकाका अन्य स्थानीय तह, सङ्घीय सरकार तथा प्रदेश सरकारसँगको सहकार्यमा नियन्त्रण तथा रोकथामका लागि पहल गरिने बिषयलाई कार्यक्रममा समेटिएको छ। 
कार्यक्रममा जलवायु परिवर्तन अनुकुलन, वायु गुणस्तरमा सुधार तथा हरित नीति तर्जुमा गर्न विज्ञ सहितको समिति गठन गरिने उल्लेख छ। जलवायु परिवर्तन अनुकुलन, वायु गुणस्तरमा सुधार लगायतका वातावरण संरक्षण तथा सुधारका कार्यक्रमहरु सञ्चालन गर्ने नीति महानगरले लिएको छ ।
नवीकरणीय उर्जा प्रवर्द्धन तथा प्रोत्साहन गर्ने नीतिका साथै नगर क्षेत्रभित्र विघुतीय सवारी साधन परिचालन तथा साइकल लेन निर्माण,  साइकल स्टैण्डको व्यवस्था तथा साइकल साझेदारी सम्बन्धी कार्यक्रम महानगरले कार्यक्रममा समेटेको छ।

आकाशेपानी पुःनभरण कार्यक्रमलाई निरन्तरता दिने, ढलको फोहर पानी, दिसाजन्य लेदोको प्रशोधनका लागि प्रशोधन केन्द्र स्थापनालाई प्राथमिकता दिने,। अस्पताल र उद्योगहरुबाट उत्सर्जन हुने हानिकारक फोहर सिधै ढलमा मिसाउन नपाउने नीति लिइने,
४० माइक्रोनभन्दा कमका प्लाष्टिकका झोला/प्लाष्टिकका फूलहरुको प्रयोगलाई निरुत्साहित गरिने नीति महानगरले लिने भएको छ। वायु प्रदुषण कम गर्न पेट्रोल/डिजेल सवारी साधनलाई विद्युतीय सवारी प्रतिस्थापन गर्ने कार्यलाई प्रोत्साहित गरिने नीति  तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

ललितपुर महानगरकाे नीति तथा कार्यक्रममा सांसदहरूकाे सुझाव "नागरिकमैत्री सेवाप्रवाहका लागि नीतिगत सहयाेग गर्छाैं ।"

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ ३०, बुधबार वर्गीकृत

ललितपुर/  जेठ : ललितपुर जिल्लावाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरूले नागरिकमैत्री सेवाप्रवाहका लागि नीतिगत सहयाेग गर्ने बताउनुभएको छ। आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा महानगरद्वारा सोमबार आयाेजित ललितपुर जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरुसंग अन्तरक्रियामा सुझाव राख्नेक्रममा प्रतिवद्धता जनाउँदै संघीय सांसद तथा प्रदेशसभा सदस्यहरुले पूर्वाधारकाे विकास र पूँजीगत खर्चमा वृद्धि गर्नका लागि स्थानीय सरकारलाई परेकाे समस्यामा कानूनी सहजीकरणका लागि ध्यान दिएर सहयाेग गर्ने बताउनुभएको हाे ।
अन्तरक्रियामा सुझाव तथा धारणा राख्नुहुँदै पूर्वअर्थ राज्यमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा ललितपुर क्षेत्र नं. १ का सांसद उदयशम्शेर राणाले अहिलेकाे अवस्थामा अर्थतन्त्र चलायमान बनाउन बजारमा पैसाकाे काराेवारलाई बनाउने नीति आउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई सहयाेग र समर्थन गर्ने दायित्व यस जिल्लाबाट निर्वाचित संघीय सांसद र प्रदेशसभा सदस्यहरुकाे रहेकाे धारणा राख्नुहुँदै महानगरले विगतमा गरेका कामहरुकाे प्रशंसा गर्नुभयाे ।
"नागरिकलाई सेवा दिन तपाईंहरुलाइ परेको समस्या समाधान गर्न तपाईंहरुलाई हरतरहले सहयाेग गर्छाैं, पूर्वाधारकाे खर्चमा वृद्धि हुने व्यवस्था मिलाउनुस् । पूँजीगत खर्चमा वृद्धि हाेस्।उपत्यकाको फाेहाेर मैला व्यवस्थापनलाई बढि नै ध्यान दिनु जरुरी छ। स्थानीय सरकारलाई सहयाेग र समर्थन गर्ने हाम्रो दायित्व हाे ।" उहाँले भन्नुभयो ।
उहाँले महानगरभित्रकाे पार्किङकाे व्यवस्थापनलाई पनि विशेष ध्यान दिनुपर्नेछ भन्दै अन्डरग्राउण्ड पार्किङलाई व्यवसायिक र करकाे दायरामा ल्याउने गरि नीति बनाउनुस् भन्ने सुझाव राख्नुभयाे । ललितपुर महानगरले शहरी साैन्दर्यतामा ध्यान दिएकाे छ भन्दै उहाँले  यसकाे प्रशंसा गर्न  चाहान्छु भन्नुभयो ।

पूर्वस्वास्थ्य राज्यमन्त्री प्रतिनिधिसभा ललितपुर क्षेत्र नं. ३ की सांसद डाक्टर ताेसिमा कार्कीले नागरिककाे सन्तुष्टिकाे आधारमा कर संकलन गर्ने र संकलित करलाई प्रभावकारी रुपमा खर्च हुने व्यवस्था हाेस् भन्ने सुझाव राख्नुभयाे । प्रस्तावित नीति तथा कार्यक्रमकाे अध्ययन गर्नुहुँदै उहाँले नीति तथा कार्यक्रम अत्यन्तै उपयाेगी छन् भन्दै यसकाे प्रभावकारी कार्यन्वयन हाेस् भन्ने सुझाव राख्नुभयाे । "महानगरले ढल व्यवस्थापनलाई ध्यान दिनुपर्ने छ, ढलबाट फैलिएको फाेहाेरले धापाखेल र वडा नं. ४ काे मल पाेखरीमा समस्या देखिएकाे छ, सांस्कृतिक सम्पदाकाे संरक्षणमा प्रभावकारी नीति आवश्यक छ, रुद्रायणी मन्दिर र राताे मच्छिन्द्रनाथकाे मन्दिर निर्माणमा ढिला भएको छ, याे छिटोभन्दा सम्पन्न हुनुपर्याे, महालक्ष्मी चाेकमा भक्तराज आचार्यकाे सालिक बनाउने कुराकाे सम्भाव्यता अध्ययन गरिनुपर्ने छ।" डाक्टर कार्कीले भन्नुभयो ।
उहाँले महानगरभित्रका फाेहाेर मैला व्यवस्थापनमा सबै संघसंस्थाहरुकाे समन्वय हुनुपर्ने, नागरिकलाई फरकफरक शुल्क असुल्नु भएन भन्ने धारणा राख्नुभयाे । उहाँले महानगरकाे जनघनत्व बढ्दैछ भन्नुहुँदै  सार्वजनिक जग्गाकाे व्यवस्थापन र उपयाेगमा आउने गरी खुला राख्न आवश्यक रहेकाे बताउँदै सार्वजनिक जग्गाकाे नक्साङ्कन र सिमाङ्कन हाेस् भन्ने धारणा राख्नुभयाे।
प्रतिनिधिसभा ललितपुर क्षेत्र नं. २ का सांसद प्रेमबहादुर महर्जनले भाैतिक पूर्वाधारका लागि नीति तथा कार्यक्रम र बजेट केन्द्रीत भएकोमा खुसी छु भन्दै साइकल लेनका लागि गरेकाे प्रयास राम्रो छ भन्ने धारणा राख्नुभयाे । उहाँले प्रदुषण न्युनिकरणका लागि नीति तथा कार्यक्रममा समेटेर साईकलकाे प्रयाेगलाई बढाउन प्राेत्साहन गराैं भन्ने सुझाव राख्नुभयाे।
"वायु प्रदुषणलाई नियन्त्रण गर्न, हरियाली प्रवर्द्धन गर्न नदिकाे वरपर वृक्षरोपणमा ध्यान दिओैं, जातीय समुदायसंगकाे समन्वय हाेस्,माेवाइल अस्पताल सञ्चालन गर्ने ब्यवस्था हाेस्, सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न अलि ध्यान दिओैं, विद्युतीय सवारीलाई प्राेत्साहन गराैं ।" उहाँले भन्नुभयो ।
उहाँले स्थानीय जलस्रोतको संरक्षण गर्नुपर्ने बताउँदै पाेखरीकाे संरक्षणमा जाेड दिओैं भन्ने सुझाव राख्नुभयाे । साना तथा घरेलु उद्योगकाे संरक्षण र प्रवर्द्धनका लागि ध्यान दिनुस् भन्नुहुँदै उहाँले प्रशासनिक सुधार र सेवा प्रवाहमा ध्यान दिनु पर्याे भन्ने सुझाव राख्नुभयाे ।
प्रतिनिधिसभा सदस्य राेशन कार्कीले सरकारी स्वामित्वमा रेडियो नेपालकाे जग्गा दूरसञ्चार प्राधिकरणलाई विक्री गर्नबाट महानगरले राेक्नुपर्छ भन्ने धारणा राख्नुभयाे । "सार्वजनिक जग्गा, खुला स्थानकाे संरक्षणमा ध्यान दिनुपर्छ, महेन्द्र आदर्श मा.वि.काे जग्गाबाट उठेकाे भाडा विद्यालयकाे स्तराेन्नतिमा उपयाेग हुन नसकेको अवस्था छ, महानगरले ध्यान दिनुपर्याे, स्वच्छ खानेपानीकाे व्यवस्थाका लागि ध्यान दिनुपर्याे, धाराकाे बिल तिर्छाैं, तर पानीकाे व्यवस्था हुन सकेन, मेलम्चीको खानेपानीलाई व्यवस्था गरेर घरघरमा पुर्‍याउनु पर्याे, स्वच्छ तरकारी खान पाउने अवस्था सृजना गर्नका लागि कुनै खाली सार्वजनिक स्थानमा हप्ताको दुई दिन हाट बजारकाे व्यवस्था गरिनुपर्छ।" उहाँले भन्नुभयो ।
उहाँले सरकारी विद्यालयहरुकाे स्तराेन्नति गर्ने याेजना, महानगरभित्र जन्मने बच्चाहरुकाे जन्मदर्तालाई सहज बनाउने नीति समावेश गरिनुपर्ने बताउनुभयाे । उहाँहरुले मृगौला, क्यान्सर पीडितहरुकाे लागि सेवा सुविधाको व्यवस्था गरिनुपर्ने सुझाव राख्नुभयाे । उहाँले राेग लाग्न नदिन जनचेतना र स्वास्थ्य शिविरहरु गरिनुपर्नेमा जाेड दिनुभयाे ।
बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले दिगाे विकास लक्ष्य र सम्पदा संरक्षणकाे क्षेत्रमा महानगरले राम्रो काम गरेको छ भन्नुहुँदै अमुर्त सम्पदा र संस्कृति संरक्षणमा महानगरले निरन्तरता देओस् भन्ने सुझाव राख्नुभयाे ।
"पुराना सम्पदा संस्कृति संरक्षणमा अक्षयकोष स्थापना गर्ने कामलाई अझ जाेड दिनुपर्नेछ, अपाङ्गतामैत्री संरचनामा महानगरले विशेष ध्यान दिएकाे छ, यसलाई अझ बढि प्रभावकनरी र परिणाममुखी बनाउन संघीय र प्रदेश सभालाई पनि जाेड्नुपर्छ । पूर्वाधारकाे विकाससंगै नागरिकहरुकाे जीवनशैली सहज बनाउन पनि ध्यान दिनुपर्छ, युवा विदेशिने समस्यालाई राेक्न नागरिकको आयस्तर वृद्धि गर्ने गरि परिणाममुखी नीति लागू गर्न आग्रह
सार्वजनिक यातायातलाई नागरिकमैत्री बनाउन र समस्याहरित बनाउने गरि लाग्न आग्रह गर्दछु। " उहाँले भन्नुभयो ।
उहाँले करिडोरका सडकहरुलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयाे । सहकारी ठगी र अपचलनलाई गम्भीरताका साथ लिंदै क्षेत्राधिकारभित्र पर्ने सहकारीहरुकाे नियमन प्रभावकारी बनाउन आग्रह गर्नुभयाे । उहाँले बागमती प्रदेशले सरकारी कामकाजकाे भाषामा मान्यता दिएकाे नेपाल भाषालाई ओैपचारिक शिक्षामा मात्रै हैन अनाैपचारिक शिक्षाकाे रुपमा समेत शिक्षणकाे व्यवस्था गरिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयाे । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रममा वायु प्रदुषण न्युनिकरणकाे मुद्दा प्राथमिकतामा पराेस् भन्ने सुझाव राख्नुभयाे । उहाँले ललितपुर महानगरलाई हस्तकलाकाे राजधानी बनाउनुपर्छ भन्दै त्यसकाे लागि पूर्वाधार विकास गराैं भन्ने धारणा राख्नुभयाे ।
बागमती प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले नगरभित्र भएका खेती याेग्य जमिनलाई उपयाेग हुने गरि कृषि क्षेत्रमा एक वडा एक उत्पादनलाई ध्यान दिनुपर्याे भन्ने धारणा राख्नुभयाे ।
"स्वयम् सेविकाहरुलाई सुविधाको व्यवस्था गरिनुपर्छ, महानगरमा दर्ता भएका उद्योगका लागि सहजीकरण हुने नीति आउनुपर्छ । प्रत्येक वडामा जेष्ठ नागरिक क्लव स्थापना गर्ने नीति आउनुपर्याे ।" उहाँले भन्नुभयो ।
बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले संघ, प्रदेश र स्थानीय तहले जनताको आवश्यकता पुग्नेगरी संयुक्तरूपमा मिलेर नीति तथा कार्यक्रम लागु गर्नुपर्ने बताउनुभयाे । उहाँले यहाँकाे ढुंङ्गेधारा संरक्षणका लागि राजकूलाेलाई यथाशीघ्र सञ्चालनमा ल्याउने ब्यवस्था मिलाइनु पर्ने बताउनुभयो । स्थानीय सरकारले लागू गरेको नीति तथा कार्यक्रमबाट लाभ हासिल भएको महसुस नागरिकले गर्नेगरी नीति तथा कार्यक्रम तर्जुमा गरी बजेट निर्माण गर्न आग्रह गर्नुभयाे । महानगरवासीहरुलाई मेलम्चीको पानीले कुनै लाभ नहुने भन्दै ललितपुरकै ठाेट्ने खाेलाकाे पानी ल्याउने नीति तय गर्न आग्रह गर्नुभयाे ।
संघीय सांसद तथा प्रदेश सदस्यहरुकाे सुझाव ग्रहण गर्नुहुँदै महानगरप्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्रमा टेण्डर गर्ने नीति लिनु नहुने भन्दै यसका लागि संसदमा आवाज उठाएर कानूनी रुपमा लागू गर्न आग्रह गर्नुभयाे ।
"संघीय सरकारकाे कमजाेरीका कारण हामीलाई गाली गर्ने अवस्थाकाे अन्त्य गरिदिनुस्, सार्वजनिक खरिद ऐन २०६३ देश विकासकाे बाधक छ, यसले ठेकेदार माेटाउँछ, देशकाे विकास हुँदैन, यसलाई सुधार गरिदिनुस्, उपत्यकाकाे फाेहाेर मैला व्यवस्थापनका लागि संघीय सरकारले जुन २०११ मा गरेकाे सम्झौता बाधक छ, यसलाई ध्यान दिनस्।" उहाँले भन्नुभयो ।
उहाँले प्राप्त सुझावहरुकाे आधारमा यहाँकाे सम्पदा संरक्षण, बाताबरण संरक्षण, नगरविकासका सम्बन्धमा आगामी वर्षकाे नीति तथा याेजनालाई जनमुखी हुन सक्ने गरी नीति तथा कार्यक्रम तय गरिने बताउनुभयो ।

अन्तरक्रियामा सांसदहरू तथा प्रदेशसभा सदस्यहरुले राख्नुभएको जिज्ञासाहरु समेतकाे जवाफ दिनुहुँदै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्राप्त सुझावलाई समेटेर जनताकाे मर्मलाई सम्बाेधन गर्नेगरी सहकार्य, सहअस्तित्वकाे आधारमा काम गर्ने बताउनुभयो । उहाँले खानेपानीको समस्यालाई विशेष ध्यान दिएर प्राथमिकताका साथ बजेट व्यवस्थापन गरिने बताउनुभयो । उहाँले महानगरभित्र आफ्नै जलस्रोतकाे व्यवस्थापन नभएकोले जिम्मेवारी पालिका र छिमेकी जिल्लामा पालिकाकाे भर पर्नुपर्ने अवस्था रहेकाे बताउँदै त्यसका लागि काम गरिरहेकाे बताउनुभयो ।

ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन नीतिगत व्यवस्था गर्नेछौं - महानगरप्रमुख महर्जन

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ ३०, बुधबार वर्गीकृत

ललितपुर/३० जेठ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अब उप्रान्त उर्जा प्रभावकारी भवन निर्माणका लागि प्राेत्साहन गर्दै यसका लागि जनचेतना जगाउने बताउनुभएको छ । महानगरभित्र निर्माण हुने भवनहरूमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गर्न शुक्रबार ललितपुर महानगरपालिका र "विल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल (विन)"बीच हस्ताक्षर कार्यक्रममा मन्तव्य राख्नुहुँदै  महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरभित्र निर्माण हुने भवनहरूमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गर्न विद्युतीय सवारी प्रयाेग गर्नेलाई कर छुट दिएजस्तै उर्जा प्रभावकारी भवन निर्माण गर्नेलाई पनि छुट दिने नीति ल्याउन सकिने बताउनुभएको हाे ।
"हामी यसलाई महानगरकाे नीतिगत व्यवस्थामा समावेश गर्नेछौं, यसका लागि आगामी नगरसभाबाट पारित गर्ने प्रयास गर्नेछौं, सम्भव भएन भने हिउँदे अधिवेशनमा पारित गर्नेछौं ।" उहाँले भन्नुभयो ।
नगरप्रमुख महर्जनले उर्जा दक्षता उपयाेगी ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गर्नका लागि यस सम्बन्धी बिषयमा जनप्रतिनिधि र कर्माचारीलाई तालिम दिनुपर्ने बताउनुहुँदै यसका लागि विनले समन्वय र सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले महानगरकाे भवन निर्माण संहिता र नियमावलीमा समावेश गर्ने बताउनुहुँदै यसका लागि जनप्रतिनिधि र सबै कर्मचारीहरूलाई अभिमुखीकरण गर्दै महानगरवासीहरुमा सचेतनाका लागि प्रचारप्रसार गर्ने बताउनुभयो ।
उहाँले वातावरण परिवर्तनले काठमाडौं उपत्यकामा तापक्रम बढिरहेको अवस्थामा पनि पाटन दरवार क्षेत्रमा मल्लकालीन समयमा बनेकाे भवनमा एसी र कुलर प्रयोग गर्नुनपर्ने खालकाे उर्जा दक्षता भएको बताउनुभयाे । 
" पाटन दरवार क्षेत्रमा गर्मीमा शितलता, जाडाेमा न्यानाेपन मिल्छ, त्याे समयमा अहिलेजस्ताे इन्जिनियर थिएनन्,  त्यस्तो समयमा पनि दूरगामी महत्त्वका साथ भवन निर्माण गर्ने परम्परा थियाे, अब पनि एसी र कुलर प्रयोग गर्नुनपर्ने खालकाे ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गरेर भवन निर्माणका लागि प्रचारप्रसार गर्नैपर्छ ।" उहाँले भन्नुभयाे ।
सम्झाैतापत्रमा हस्ताक्षर पछि मन्तव्य राख्नुहुँदै परियोजनाका 'लिडर' डानिल नेयरले याे दीर्घकालीन प्रभाव पार्ने परियाेजना भएको बताउनुभयो । उहाँले मानव स्वास्थ्यका लागि समेत उपयाेगी हुने उर्जा दक्षतामैत्री भवन महानगरभित्र निर्माणका लागि  सम्झौता गरेर याे महत्त्वपूर्ण कामकाेे सुभारम्भ गरेकाेमा ललितपुर महानगरपालिकालाई धेरैधेरै धन्यवाद भन्दै यसले नयाँ पुस्ताका मानिसहरुकाे स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले प्राकृतिकमैत्री भएको याे घर आर्थिक हिसाबले समेत उपयुक्त र राम्रो  हुन्छ भन्ने बताउनुभयो ।
शहरी बिकास समितिका सदस्य तथा वडा नं. ४ का अध्यक्ष सन्ताेष खड्काले याे व्यवस्थालाई सुरुमा सरकारी भवन र सार्वजनिक भवन निर्माणमा लागू गर्ने प्रयास गरिने बताउनुभयाे । उहाँले महानगरमा आधुनिकता भन्दा पनि कसरी वातावरणमैत्री बनाउने भन्नेमा लागि पर्नेछाैं भन्ने बताउनुभयो । प्राविधिक जनशक्तिलाई तालिम दिंदै प्रचारप्रसारकाे माध्यमबाट सर्वसाधारणहरुमा जनचेतना जगाउन सके परियाेजनाले पूर्ण सफलता पाउने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा विनका "टिम लिडर" सुयश प्रजापतिले याे परियाेजनाका लागि विनले ६ वटा प्रदेशका ६० वटा पालिकाहरुसंग मिलेर काम गरिरहेकाे बताउनुभयो । उहाँले विश्वका अति शहरीकरण हुने देशहरुमध्ये दश भित्र नेपाल पर्ने भन्दै उर्जा दक्षतामैत्री भवन निर्माणले मानव स्वास्थ्यमा सकरात्मक प्रभाव पर्ने बताउनुभयो ।
महानगरभित्र निर्माण हुने भवनहरूमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गर्न ललितपुर महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र  "विल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल (विन)"का तर्फबाट परियोजनाका 'लिडर' डानिल नेयरले हस्ताक्षर गर्नुभएको थियाे ।

शुक्रबार र शनिबार चापागाउँमा मुवाँथाई प्रतियोगिता हुँदै

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २४, बिहिबार वर्गीकृत

ललितपुर/२३ जेठ: बज्रबाराही मुवाँथाई क्लवकाे आयाेजनामा ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित सेराफाँटमा भाेली शुक्रबारबाट मुवाँथाई प्रतियोगिता हुने भएको छ ।
बज्रबाराही मुवाँथाई क्लवका अध्यक्ष अनिल श्रेष्ठले दिएकाे जानकारी अनुसार शुक्रबारबाट सुरु हुने राष्ट्रव्यापी प्रतियोगितामा धादिङ, पाेखरा, चितवन, धरान, सर्लाही, काभ्रे, मकवानपुर, सल्यान, ललितपुर, काठमाडौं र एनआर एनबाट समेत गरि १५० जना सहभागी हुनेछन् ।
"पूरुषतर्फ ४५, ५०, ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथि ताैल समूहमा प्रतिस्पर्धा हुनेछ, त्यस्तै महिलातर्फ ४५, ५५, ६५ र ६५ केजी माथि ताैल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताकाे उद्घाटन बागमती प्रदेशकाे खेलकुद मन्त्री रमा आलेमगरले गर्नुहुनेछ, भने समापनका अवसरमा खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङकाे प्रमुख आतिथ्यता रहनेछ ।" श्रेष्ठले भन्नुभयो ।
प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको कार्यक्रम व्यवस्थापक दिलिप बिष्टले जानकारी गराउनुभयाे ।

वित्तीय सुशासनमा काठमाडौं भन्दा भरतपुर र ललितपुर अब्बल

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १४, सोमबार वर्गीकृत

ललितपुर/१४ जेठ : महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले वित्तीय सुशासनमा वित्तीय सुशासनमा काठमाडौं भन्दा भरतपुर र ललितपुर अब्बल रहेकाे देखाएको छ । महालेखाले आइतबार सार्वजनिक गरेकाे प्रतिवेदनमा चितवनको भरतपुर महानगरपालिकाकाे बेरुजु शुन्य दशमलव शुन्य एक प्रतिशत र ललितपुर महानगरपालिकाकाे बेरुजु शुन्य दशमलव ४६ प्रतिशत मात्रै रहेकाे देखाएको छ । देशकै केन्द्रीय राजधानी रहेकाे र सबैतिरबाट चासाेका साथ हेरिरहेको  काठमाडौं महानगरपालिकाकाे बेरुजु १ दशमलव ११ प्रतिशत रहेकाे छ भने माेरङ्गकाे विराटनगर महानगरपालिकाकाे बेरुजु १ दशमलव शुन्य ३ प्रतिशत रहेकाे छ । कास्कीकाे पाेखरा महानगरपालिकाकाे ७ दशमलब ९८ प्रतिशत रहेकाे छ भने पर्साकाे विरगंज महानगरपालिकाकाे बेरुजु  ७ दशमलव १४ प्रतिशत रहेकाे छ। मुलुककै जेठाे र कलानगरीका रुपमा परिचित ललितपुर महानगरपालिकाले सबैभन्दा बढि पुरानाे बेरुजु फर्छ्याैट गरेर पनि वित्तीय सुशासनमा अब्बल देखिएकाे छ । देशका छ वटा महानगरपालिकाहरु मध्ये पुरानाे बेरुजु धेरै फर्छ्याैट गर्नुका साथै नियमानुसार गरिएको खर्चमा बेरुजुलाई एक प्रतिशत भन्दा कममा सीमित राख्दै वित्तीय सुशासन कायम राख्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरप्रसाद धिमालले जानकारी गराउनुभयाे । "हाम्रो महानगरमा गत बर्षकाे बेरुजु शुन्य दशमलव ४६ प्रतिशतमा सीमित छ। पुरानाे बेरुजु असुलीमा अरु महानगरभन्दा हामी अब्बल छाैं, ५८ कराेडभन्दा माथिकाे पुरानाे बेरुजु रकम फर्छ्याैट भइसकेको छ।सवारी इन्धनको बचत गर्न विद्युतीय सवारी खरिद गरि प्रयाेगमा ल्याइएको छ, प्रशासनीक खर्च कम गरी पूँजीगत खर्चमा वृद्धि गरेका छाैं । चालु आर्थिक बर्षकाे दश महिनामा हामीले ५३ प्रतिशत भन्दा बढि पूँजीगत खर्च गरिसकेका छाैं, याे गतबर्षकाे तुलनामा अधिकतम उपलब्धि हाे।" उहाँले भन्नुभयो । वित्तीय सुशासनका आधारमा नियमानुसार गरिएको खर्चमा ३ प्रतिशतभन्दा कम बेरुजु हुनु, सञ्चालन खर्चमा भन्दा पुँजीगत खर्चमा वृद्धि हुनु, बेरुजु कम वा शुन्यता हुनु, पुराना बेरुजु फर्छ्याेट हुनु वित्तीय सुशासनका आधारमा हुन् ।

ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ १०, बिहिबार वर्गीकृत

ललितपुर/ १० जेठ: ललितपुर ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

३२ वर्षीय यादव सिराहा बरियापट्टि गाउँपालिका–४ घर भएर कोटेश्वरमा बस्दै आएका थिए । बुधबार राति करिब ९ बजेर ४० मिनेटमा ग्वार्को चोक स्थित सडक खण्डमा कोटेश्वरबाट सातदोवाटोतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उपचारको लागि बिएण्डबी अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि ठक्कर दिने टिपरको खोजीका लागि यस सडकमा गड्ने सबै टिपर रोकेर प्रहरीले जाँच गरेको थियो । दुर्घटना गराउने बा.३ ख ६६२१ नम्बरको टिपर टिका भैरवमा फेला पारिएको प्रहरीले जनाएको छ ।

'तालिम व्यवस्थापन सिंहावलाेकन' पुस्तक बिमाेचन

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ ८, मंगलबार वर्गीकृत

ललितपुर/ ८ जेठ: स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक नयनबहादुर खड्काद्वारा लिखित 'तालिम व्यवस्थापन सिंहावलाेकन' पुस्तक आइतबार ललितपुरमा बिमाेचन भएको छ।
८० बर्षीय खड्काद्वारा लिखित उक्त पुस्तककाे विमाेचन स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय याेजना आयाेगका पूर्व सदस्य डाक्टर राजेन्द्र सुवालले गर्नुभएको हाे । पुस्तक विमाेचन समारोहमा मन्तव्य राख्नुहुँदै सुवालले स्थानीय विकास प्रतिष्ठानमा अधिकृतदेखि कार्यकारी निर्देशकसम्मकाे पदमा रहेर कार्य सम्पादन गरेकाे अग्रज तथा बाैद्धिक व्यक्तित्वबाट लिखित पुस्तकले नयाँ पुस्तामा तालिमसम्बन्धी ज्ञान, सीप र क्षमताकाे अभिबृद्धिमा महत्त्वपूर्ण सहयाेग पुर्‍याउने बताउनुभयो ।
"याे किताब अत्यन्तै महत्त्वपूर्ण तथा उपयाेगी छ, यसले तालिम व्यवस्थापनका क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने कुरामा कुनै द्विविधा छैन।" उहाँले भन्नुभयो ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)का सेवानिवृत बिशिष्ठ कर्मचारी डाक्टर दिनेश पन्तले चार दशक उमेर व्यतीत गरिसकेको व्यक्तित्वले गरेकाे याे कार्यले नयाँ पुस्तामा ज्ञानकाे हस्तान्तरण भएको बताउनुभयो ।
" याे उमेरमा पनि उहाँले आफ्नो ज्ञान, सीप र अनुभवकाे आधारमा प्रकाशनमा ल्याउनु ठूलाे कुरा हाे । याे तेस्रो कृतिमा समेटिएको अनुभवलाई तालिम सञ्चालनमा उपयाेगमा ल्याउन सक्दा ज्यादै उपयाेगी हुनेछ।"उहाँले भन्नुभयो ।
बि.सं. २०३२ देखि २०६६ सालसम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानकाे सेवामा याेगदान गर्नुभएका नयनबहादुर खड्काले अधिकृतदेखि कार्यकारी निर्देशकसम्मकाे जिम्मेवारीमा रहेर कार्यसम्पादन गर्नुभएको थियाे । सेवा अवधिमा ७६ जिल्लामा पुगेकाे वताउनु भएका खड्काले पहिलाे पटक सूदुरपश्चिमकाे विकासको चित्रण र दाेस्राे पटक न्यायिक समिति एवम् मेलमिलापकर्ता स्राेत पुस्तिका प्रकाशन गर्नुभएको थियाे । याे पुस्तककाे प्रकाशन पैरवी प्रकाशनले गरेको हाे।

अग्रज पत्रकार सुरेश किरण भाषा आयोगकाे सदस्यमा मनोनित

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख ३०, आइतबार वर्गीकृत

ललितपुर/ ३० बैशाख, अग्रज पत्रकार सुरेश किरण मानन्धर भाषा आयोगकाे सदस्य पदमा मनाेनित हुनुभएको छ।
बैशाख २७ गते बिहिबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले संस्कृति मन्त्रालयकाे सिफारिसमा उहाँलाई सदस्य पदमा मनाेनित गरेको हाे । बागमती प्रदेशमा सरकारी कामकाजकाे भाषाकाे रुपमा नेपाल भाषा र तामाङ भाषालाई मान्यता दिन बैशाख २४ गते बसन्तपुरमा आयाेजित कार्यक्रममा प्रधानमन्त्रीले गरेकाे प्रतिवद्धता अनुरुप संघीय भषा आयाेगकाे रिक्त सदस्य पदमा नेवार समुदायबाट नै मानन्धरलाई मनाेनित गरिएको हाे ।
मानन्धर चार दशकदेखि नेपाल भाषाकाे पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख २४, सोमबार वर्गीकृत

ललितपुर/ २४ बैशाख, ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको आज मृत्यु भएको छ । आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।

उनीहरुको उपचारका क्रममा किष्ट अस्पतालमा राति ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ । एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । प्रवक्ता सुवेदीका अनुसार घर मालिक ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको छ । अर्का घाइते नित गिरीको अवस्था सामान्य छ । गिरीलाई साधारण वार्डमा सारिएको छ । केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शङ्कर र रमेश पहरीको मृत्यु भएको थियो ।

Pages