कुसुन्तीमा लिफ्ट सहितकाे अपाङ्गतामैत्री आकाशे पुलकाे सिलान्यास
Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण २८, सोमबार वर्गीकृत
ललितपुर/ २८ फागुन, ललितपुर महानगरको वडा नं. १३ कुसुन्तीकाे रिङराेड सडकमा लिफ्ट सहितकाे अपाङ्गतामैत्री आकाशे पुलकाे सिलान्यास भएको छ । एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिव ५ मिटरकाे दूरीमा बन्न लागेको याे आकाशे पुलमा सडककाे दुवैतर्फ लिफ्ट हुनेछ । ललितपुर महानगरपालिकाकाे ४ कराेड ६८ लाख ९ हजार पाँच सय ६१ रुपैयाँकाे लागतमा निर्माण सम्पन्न हुनेछ । एक बर्षभित्र निर्माण सम्पन्न हुने उक्त अपाङ्गमैत्री आकाशेपुलकाे महानगर प्रमुख चिरीबाबु महर्जनले आज बिशेष पूजासहित सिलान्यास गर्नुभएको हाे ।
उक्त पुल निर्माणका लागि निर्माण व्यवसायी लामा प्रगति - मणि बुद्ध जे भीले महानगरसंग फागुन २० गते सम्झौता गरी २१ गतेदेखि १२ महिनाभित्र काम सम्पन्न गर्नेगरी ठेक्कामा लिएको महानगरका सिडिई प्रदिप पाैडेलले जानकारी दिनुभयो । याे आयाेजनाकाे परामर्शदाता डि.बि. मल्टि इन्जिनियरिङ प्राइभेट लिमिटेड रहेकाे छ । पुलकाे पाँच बर्षसम्मकाे मर्मतसम्भार निर्माण व्यवसायीले नै गर्नुपर्ने छ ।
सिलान्यास पश्चात् मन्तव्य राख्नुहुँदै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आफूहरु नयाँ नाैलाे काम गर्न रुचाउने बताउनुहुँदै याे सम्भवतः नेपालमै पहिलाे भएको बताउनुभयो। "याे क्षेत्रमा दुर्घटना भएर १७ जनाभन्दा बढिले ज्यान गुमाइसकेका छन् , महानगरबासीलाई बचाउनका लागि याे काम गर्न धेरै मेहनत गर्नु पर्याे । अब याे निर्माणका क्रममा नेपाल सरकारकाे कुनै पनि तहबाट बाधा व्यावधान हुँदैन भन्ने प्रतिवद्धता गर्छौं । निर्माण व्यवसायी, परामर्शदाताहरुबाट पनि याे काममा कुनै विलम्ब नहाेस् ।" प्रमुख महर्जनले भन्नुभयो ।
उहाँले कुनै पनि आयाेजना समयमा सम्पन्न नहुने गरेका कारण नेपालमा ठेकेदारहरुप्रति नकारात्मक धारणा रहेकाे भन्दै त्यस्तो यहाँ नहाेस् भन्ने धारणा राख्नुभयाे । उहाँले आयाेजना निर्माणमा सुरक्षा पहिलाे प्राथमिकता भन्ने सिद्धान्तमा आधारित रहेर काम गर्न आग्रह गर्नुभयाे । प्रमुख महर्जनले आयाेजना निर्माणका क्रममा गुणस्तरमा कुनै हालतमा पनि सम्झौता हुनुहुँदैन भन्दै यसका लागि निर्माण कम्पनी, परामर्शदाता र यसमा संग्लग्न इन्जिनियरहरुले ध्यान दिनु हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँले निर्माणका क्रममा आइपर्ने समस्या समाधान गर्न स्थानीयहरुकाे सहयाेग अपरिहार्य छ भन्नुहुँदै निर्माणका क्रममा सहजीकरणका लागि आग्रह गर्नुभयाे ।
उहाँले ललितपुर खण्डमा पर्ने रिङ्गराेडकाे
७ दशमलव ९ किलोमिटर सडकमा स्मार्ट स्टेट लाइट जडानका लागि ठेक्का आव्हान भइ छनाैटकाे चरणमा रहेकाे बताउनुहुँदै एक बर्षभित्र जडान सम्मान हुने बताउनुभयो ।
वडा नं. १३ का अध्यक्ष गणेश के.सी.ले चार बर्षकाे प्रयासपछि याे पुल निर्माणका लागि सडक विभागबाट भदौ ११ गते स्वीकृत पाएकाे बताउनुहुँदै याे क्षेत्रमा हुने सडक दुर्घटनाकाे जाेखिम राेक्नका लागि लगातार काम गरेर समय अगावै सम्पन्न गर्न आग्रह गर्नुभयो ।
परामर्शदाता डि.बि. मल्टि इन्जिनियरिङ प्राइभेट लिमिटेडका प्रतिनिधि तथा आयाेजनाका डिजाइनर विनाेद न्याैपानेले शहरलाई साैन्दर्यिकरण हुने गरी पुलकाे डिजाइन गरिएको बताउनुभयो ।
निर्माण व्यवसायी लामा प्रगति - मणि बुद्ध जे भी सञ्चालक चन्द्रबहादुर लामाले निर्माण व्यवसायीले चाहेर भन्दा पनि स्थानीयहरुकाे समन्वय र सहकार्यका कारण निर्माण सम्पन्न छिटो हुने बताउनुभयाे । उहाँले परामर्शदाताकाे तर्फबाट कुनै परिवर्तन भएन र स्थानीयकाे तर्फबाट कुनै बाधा अबरोध भने समयभित्रै काम सम्पन्न हुन्छ भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । महानगरले बजेटकाे अभाव नहुने गरि सम्झौता अनुसारकाे रकम समयमा नै उपलब्ध भयाे भने गुणस्तरमा सम्झौता नगरी निर्माण सम्पन्न गरेर आयाेजना हस्तान्तरण गर्ने बताउनुभयो ।
२०७२ को भूकम्पले ढालेको गरुढ मूर्ति पुनरुत्थापित
Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण २०, आइतबार वर्गीकृत
काठमाडौँ/ २० फागुन, २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा शुक्रबार मूर्तिको आसन र मूर्ति पुनरुस्थापित गरिएको हो । यो काठमाडौँ महानगरपालिका वडा नं. १ मा पर्छ ।
"भूकम्पको कम्पनले पोखरी छेउमा रहेको फल्चा भत्कियो । यसले मूर्ति ढालेको थियो । मूर्ति पुनरुस्थापित भयो । अब फल्चा पुनःनिर्माण गराउँछौँ ।" वडाध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो, ‘परम्परागत हिटी, पोखरी र यससँग सम्बन्धित भौतिक संरचना पुनःस्थापना हाम्रो प्राथमिक काम हो ।’
मूर्ति राखेपछि पोखरीमा गहना थपिएको जस्तै भएको छ । वडा सदस्य शुभरत्न खड्गी भन्नुहुन्छ, ‘काम ठूलो त होइन तर महत्व ठूलो छ ।’
नयाँ नक्सा दर्तासँगै अब घरधनीको बायोमेट्रिक
Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १६, बुधबार वर्गीकृत
काठमाडौँ/ १६ फागुन, काठमाडौँ महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायो मेट्रिक लिन सुरु गरेको छ । मंगलबार (फागुन १५) गतेबाट सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो । विभागका स्ट्रक्चरल इञ्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बुढी औला र चोर औलाको चिन्ह लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ । पाण्डेकाअनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा लगिनेछ।
इवीपीएस प्रणालीबाट आवेदन दिनु अघि इञ्जिनियरले नक्सा बनाउँछ । यससँग सम्बन्धित कागजात संकलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट भवन निर्माण इजाजतका लागि पेश गरिन्छ । सामान्यतया यो प्रक्रियाका लागि घरधनीले इञ्जिनियर वा परामर्शदाताको सहयोग लिएका हुन्छ । यसरी पठाइएको विवरण ठिक छ कि छैन भनेर घरधनी महानगरपालिकामा जाँच गर्न आउँदा बायोमेट्रिक लिइने हो । पाण्डे भन्नुहुन्छ, ‘महानगर आउँदा घरधनीले लालपूर्जा र नापी नक्साको सक्कल लिएर आउनुपर्छ । विवरण दोहोरो नहोस् भनेर हेर्नका लागि यो चाहिएको हो। सक्कल कागजपत्र तत्काल फिर्ता हुन्छ ।’
एकपटक बायोमेट्रिक गरिसकेपछि घरधनीले जहाँ जहाँ हस्ताक्षर गर्नुपर्ने हो, त्यो ठाउँमा प्रणालीले नै हस्ताक्षर राखिदिन्छ ।
यो प्रणालीलाई अहिले सम्पत्ति कर आवद्ध भइसकेको छ । बैङ्किङ् प्रणालीसँग अटोमेसन भइसकेको छ । भवन नक्सा स्वीकृतिका लागि तिर्नु बुझाउनु पर्ने सबै प्रकारका शुल्क मोवाइलबाटै तिर्न सकिन्छ । प्रणालीमा घरधनीकै मोवाइल नम्बर हुने भएकोले प्रमाणिकरण गर्न सहज हुनेछ ।
सम्पत्ति करसँग प्रणाली आवद्ध भइसकेकोले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड (संकेत नं.) राखिसकेपछि मात्र पेज खुल्छ ।
बिजुलीको पोलबाट वडा सदस्यकाे मृत्युु
Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १६, बुधबार वर्गीकृत
मकवानपुर/१६ फागुन, मकवानपुरको बकैया गाउँपालिका-७ को मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
मङ्गलबार दिउँसो १ः३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर उहाँ सख्त घाइते हुनुभएपछि उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको र घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।
न्यायमा पहुँच महंगो छैन भन्ने मान्यता स्थापित गरिरहेका छौँ - उपप्रमुख डंगोल
Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत
काठमाडौँ/१५ फागुन, काठमाडौँ महानगरपालिकाले न्यायमा पहुँच महङ्गो छैन भन्ने मान्यता स्थापित गरिरहेको बताउँदै उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले, स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने तथ्य पनि स्थापित भएको धारणा राख्नुभएको छ । उहाँको कार्यकक्षमा महानगरपालिकाका न्यायिक सिकाइका बारेमा जानकारी लिन आउनु भएका जापान अन्तरराष्ट्रिय सहयोग नियोगका पदाधिकारीसँग छलफल गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
विवादबाट पीडामा परेको व्यक्तिसँग पीडित भएको प्रमाण नहुन सक्छ । यसमा व्यवहार पनि हेर्नु पर्छ । अनुभव सुनाउँदै डंगोलले भन्नुभयो, ‘स्थानीय सरकारलाई दिएका न्यायिक निरुपणका अधिकार हामीले वडा तहमा लगेका छौँ । महिला सञ्जाल र मेलमिलाप केन्द्रले यी अधिकारहरुको प्रयोग गरिरहेका छन् । निःशुल्क कानुनी सेवाका लागि विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्टर्नमा लिएका छौँ । मेलमिलाप कक्ष सञ्चालन गर्न तालिम प्राप्त मेलमिलापकर्ता सूचीकरण गरेका छौँ । मेलमिलापकर्ताहरुको शुल्क महानगर आफैँले तिरिदिएर विवादका पक्षहरुले शुल्क तिर्नु नपर्ने बनाएका छौँ ।’
जति धेरै मानिस भए, विवादको संख्या उत्तिकै धेरै हुनु स्वभाविक हो । काठमाडौँमा स्थायी बसोबास गर्ने मानिसको तुलनामा अस्थायी बसोबास गर्ने व्यक्ति धेरै छन् । यस्ता व्यक्तिहरुको विवादको गहिराई थाहा पाउनु र समाधान गरिदिनु चुनौतीपूर्ण काम हो । उहाँको भनाइ थियो ।
महानगरपालिकाले एउटा विवादको मेलमिलापका लागि ३ वटा सत्र (फरक फरक ३ पटक) मा टुङ्ग्याउनु पर्ने कार्यविधिमार्फत व्यवस्था गरेको छ । मेलमिलापको प्रक्रियाका बारेमा जानकारी दिँदै कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले भन्नुभयो, ‘मेलमिलापकर्ताले विवादका कुनै पनि पक्षसँग शुल्क लिन पाउँदैनन् । महानगरपालिकाले एउटा सत्रका लागि १ हजार ५ सय रुपैयाँ प्रदान गर्ने गरेको छ ।’
छलफलमा नियोगका परियोजना निर्माण सल्लाहकार (प्रोजेक्ट फर्मुलेसन एडभाइजर) जुन कुडोले विज्ञ सहयोग, आर्थिक, प्राविधिक, कार्यक्रम, स्वयमसेवकजस्ता विभिन्न ढाँचामध्ये उपयुक्त ढाँचा छानेर सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । त्यस्तै मीहा इसोइले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकाससँगै मेलमिलाप सम्बन्धी सामाजिक जागरणका लागि काम गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।
छलफलका क्रममा जापान र नेपालको छुट्टाछुट्टै सामाजिक संरचना भएकोले विवादका प्रकृति पनि फरक हुने विषयमा छलफल गर्दै न्यायिक निरुपणका विश्वव्यापी मान्य आधारभूत सिद्धान्त कार्यान्वयन गर्न कुन सामाजिक संरचनामा सहज छ । यसका चुनौती र सम्भावनाका विषयमा कुराकानी भएको थियो ।
जापानमा सेवा निवृत्त कर्मचारी, शिक्षक, कम्पनीका व्यक्तिहरुलाई तालिम दिएर मेलमिलापकर्ताको जिम्मेवारी दिने गरिएको अधिकारीहरुले जानकारी दिनुभयो । नेपालमा मेलमिलापकर्ता हुनका लागि ४८ घण्टाको तालिम अनिवार्य रुपमा लिएको हुनुपर्छ ।
उपप्रमुखको सचिवालय प्रमुख सौरभ गौत्तमका अनुसार यसअघि गएको भदौ ११ गते जापान सरकारको न्याय मन्त्रालयअन्तर्गतको अन्तरराष्ट्रिय सहयोग कार्यक्रमका पदाधिकारीसँगको अन्तरक्रियात्मक छलफलमा भएको थियो । त्यस छलफलमा न्यायिक समितिको क्षेत्राधिकार र प्रयोग, न्याय सम्पादन गर्दा अपनाइने कानूनका सर्वमान्य सिद्धान्त, नजिरको सिद्धान्त साथै प्रचलित ऐन कानूनको मुल्य मान्यतामा आपसी अभ्यासका विषयमा कुराकानी भएको थियो।
बाल अधिकार प्रणाली सुदृढीकरणका लागि परामर्श कार्यक्रम सम्पन्न
Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत
ललितपुर/ १५ फागुन: बाल अधिकार प्रणाली सुदृढीकरणका लागि परामर्श कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बालअधिकार परिषद, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान र गुड सेफर्ड इन्टरनेशनल फाउन्डेसन नेपालकाे संयुक्त आयाेजनामा फाल्गुन ८ गते मंगलवार काठमाडौमा भएको कार्यक्रममा सहभागीहरुले बाल अधिकार प्रणाली सुदृढीकरण गर्न बालमैत्री, लैङ्गिकमैत्री, पोषणमैत्री , बालश्रममुक्त स्थानीय तह घोषणा गरिनुपर्नेमा जाेड दिनु भएको थियाे ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँले बाल अधिकार क्षेत्रमा पैरवी संगसंगै छलफल र जनचेतनामूलक कृयाकलापहरु पनि आवश्यक रहेको बताउनुभयो । उहाँले निजीक्षेत्रलाई पनि बाल अधिकार संरक्षणको क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
मन्तव्य राख्नुहुँदै परिषद् सदस्य‐सचिव इन्द्रादेवी ढकालले बाल अधिकार सुनिश्चित गर्न नेपाल सरकार निरन्तर लागि रहेको बताउनुभयो । उहाँले बाल अधिकारको क्षेत्रमा विभिन्न विकास साझेदारहरु, सञ्जालहरु र संघ संस्थाहरुको सहकार्यको महत्वपूर्ण भूमिका रहेको विचार राख्दै भविष्यमा पनि अर्थपूर्ण सहकार्य रहिरहने बताउनुभयो । उहाँले बालबालिका सम्बन्धि ऐन २०७५ ले गरेको व्यवस्था सबै स्थानीय तहमा लागु गर्नु नै बाल अधिकार सुनिश्चितताको आधार भएको बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तहमा पनि बाल अधिकार समिति, स्थानीय बालकल्याण अधिकारी, समाजसेवी तथा बाल मनोविज्ञ सूचिकरण, बाल कोष, जिल्ला बाल न्याय समितिकाे ब्यवस्थापन ऐनले गरेको बताउनुहुँदै याे महत्वपूर्ण संरचना भएको बताउनुभयो ।
कार्यक्रममा परिषद्को तर्फबाट रामबहादुर चन्दले बालबालिकाको अवस्थामा प्रस्तुतिकरण गर्नु भएको थियो भने सुम्निमा तुलाधरले बाल अधिकार प्रणाली सबलीकरण विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
छलफलको क्रममा सहभागीहरुले परित्यक्त बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक,जोखिममा रहेका, अपाङ्गता भएका बालबालिकाको सवाललाई प्राथमिकतामा राखिनु पर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा परिषद्का सदस्यहरु, नेपाल सरकारका विभिन्न मन्त्रालयबाट प्रतिनिधित्व गर्ने ब्यक्तित्वहरु, विकास साझेदार संस्थाहरु, बालबालिकाको क्षेत्रमा क्रियाशील सञ्जालहरु, बालबालिकाको क्षेत्रमा कार्य गर्ने संस्थाहरु तथा बाल सञ्जाल प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले बालबालिका र विद्यालय शान्तिक्षेत्र हुन, बालबालिका राष्ट्रिय गौरव हुन् बाल संवेदनशील तथा विपदमैत्री सामाजिक सुरक्षा जस्ता अभियानहरुसंगसंगै लैजानुपर्नेमा जाेड दिएका थिए। बालबालिका खाेज सम्बन्धि हटलाइन १०९८ र १०४ लाई प्रभावकारी स्रोत साधन सम्पन्न बनाउनु पर्ने आवज कार्यक्रममा उठेको थियाे। बालबालिकाको क्षेत्रमा काम गर्ने सम्पूर्ण सरकारी निकाय मन्त्रालय, विभाग, निर्देशनालय, प्रदेश र स्थानीय सरकारबीच सञ्चार र समन्वयको कमी रहेकाेमा आगामी दिनमा यसलाई प्रभावकारी बनाइनुपर्छ भन्ने सहभागीहरुकाे धारणा थियो ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि काम गर्न सरकारी तथा गैरसरकारी निकायबीच निरन्तर सञ्चार गर्न एकीकृत सूचना प्रणालीको अवाश्यकता रहेको, बालबालिकाको क्षेत्रमा अध्ययन, अनुसन्धानमा तीनै तहको सरकार र अन्य निकायबाट सोध अनुसन्धानमा समन्वय हुनुपर्ने, बालबालिका सम्बन्धि ऐनमा भएका सम्पूर्ण व्यवस्था स्थानीय तहमा लागु गराउन स्थानीय तहलाई सहजिकरण गर्ने, मानव अधिकार आयोगमा बालबालिका डेस्क राखिनुपर्ने र दिर्घकालिन रुपमा बाल अधिकार आयोग गठन गर्ने पैरवी गरिनुपर्ने, बालबालिका बजेट कोडको व्यवस्था गर्ने पैरवी गर्नुपर्ने संघीय सरकारले बालबालिकाको मुद्दा सम्बोधन गर्न बनाएका विभिन्न रणनीतिहरु स्थानीय सरकारले पनि पालना गर्नुपर्नेमा सराेकारवालाहरुकाे जाेड थियाे ।
स्थानीय तहले स्थानीय बाल अधिकार समिति, न्यायिक समिति र बाल कल्याण अधिकारीहरुको र अन्य सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्न कार्यक्रमहरु संचालन गर्ने, बालबालिकाको एकिकृत तथ्याङक व्यवस्थापन गर्ने र तथ्याङकमा रहेका ग्याप हटाउँदै जानको लागि २०७८ को तथ्याङ्क अनुसार अध्यावधिक गर्ने, बालबालिकाको अधिकारको विषयमा गाउँगाउँका बालबालिकाहरुले सुन्ने जान्ने र बुझ्ने अवसरको सृजना हुनुपर्ने, बालबालिकाको गुनासो सुन्ने व्यवस्था प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशिका तयार गर्नुपर्ने, बालअधिकारको मुल्याङ्कन र अनुगमन गर्ने व्यवस्था हुनुपर्ने, सेवाको गुणस्तर र पहुँचमा वृद्धि गर्ने, जोखिमको लेखाजोखा गर्ने, अनलाईन सुरक्षा, बालविवाह अन्त्य, बालश्रम अन्त्य, बालबालिका बेचविखन तथा ओसार पसार, हिंसा जस्ता विषयमा बाल क्लव, स्थानीय सरकार र अभिभावक सहित सरोकारवालाको क्षमता अभिवृद्धि गर्नुपर्ने जस्ता विषय उठेका थिए ।
शिक्षासँगै खेलकुद क्षेत्रको विकासमा लागौँ : मन्त्री चित्रकार
Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १४, सोमबार वर्गीकृत
ललितपुर/ १४ फागुन : बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले शिक्षासँगै खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुलले आइतबार यहाँ आयोजना गरेको अन्तरविद्यालय कराँते च्याम्पियनसीप प्रतियोगिताको उद्घाटन गर्दै विद्यालयले शिक्षासँगै खेलकुद क्षेत्रको समेत विकास गर्नुपर्ने बताउनुभएको हो ।
“खेलकुद र शिक्षालाई एक आपसमा समायोजन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्नेछ,”– उहाँले भन्नुभयो ।
बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जनले सरकारले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले वडा र विद्यालय स्तरबाटै खेलकुदको विकासमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रतियोगितामा ओमेगा स्कुलसहित फुल्चोकी मावि, सन्तानेश्वर विद्या मन्दिर, बज्र एकेडेमी, एभेन्स स्कुल, उन्नती इङ्लिस स्कुल, काष्ठमण्डप स्कुल, सत्य साई शिक्षा सदन गरी आठ विद्यालयका विद्यार्थीको सहभागीता रहेको थियो ।
प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र २३ कास्यपदकसहित ओमेगा स्कुल प्रथम, फुल्चोकी मावि द्धितीय र सन्तानेश्वर विद्या मन्दिर तृतीय भएको विद्यालयका सहायक प्राचार्य भरतसिंह धामीले जानकारी दिनुभयो ।
ललितपुर महानगरका ९२ हजार बालबालिकालाई दादुरा रुबेलाको खोप
Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १३, आइतबार वर्गीकृत
ललितपुर/१३ फागुन, ललितपुर महानगरका ९२ हजार तीन सय बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाउने भएका छन् । आज फागुन १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने दादुरा—रुबेला खोप अभियान अन्तर्गत महानगर भित्रका दुई सय १२ वटा .खोप केन्द्रबाट ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले दादुरा—रुबेलाविरुद्ध खोप लगाउन लागिएको हो ।
ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले १३ देखि २३ गतेसम्म विद्यालयहरुमा खोप केन्द्र राखेको जानकारी दिइन् । उनले भनिन्, ‘२३ गते महानगरको २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौं ।’ फागुन १३ गते महानगरका २५, २६, २७, २८ र २९ का विद्यालयहरुमा खोप दिइनेछ ।
फागुन १४ गते वडा नंं.२२, २३, २४ का विद्यालय खोप दिने व्यवस्था मिलाइएको छ । त्यसैगरी फागुन १५ गते वडा नं.१८, १९ र २० र २१ का विद्यालयहरुमा दादुरा रुवेला विरुद्धको खोप दिइन्छ । १६ गते वडा नंं.१४, १६ र १७ वडाका विद्यालयहरुमा खोप दिने व्यवस्था मिलाइएको छ । फाल्गुन १७ गते १५ वडाका विद्यालयहरुमा फागुन १८ गते ८,९, १०, ११, १२, १३ का विद्यालयहरुमा खोप दिइनेछ । फागुन २० गते वडा न.५, ६ र ७ मा रहेका विद्यालयहरुबाट खोप दिइनेछ । फागुन २१ गते वडा नं. ४ का विद्यालयहरुमा, फागुन २२ गते वडा नंं.१, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ । फाल्गुन २३ गते वडा नंं १देखि २९सै वडाका स्वास्थ्य संस्थाहरुमा खोप दिइनेछ ।
कलंकीबाट दुई लाख बराबरको धनमाल चोरी
Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ११, शुक्रबार वर्गीकृत
काठमाडौं/ ११ फागुन, काठमाडौंको कलंकीबाट दुई लाख बराबरको विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका १४ कलंकी डेरा गरी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका ३ घर भएकी ३० वर्षीया कमला मगरको कोठाबाट कोही नभएको अवस्थामा नगद २ लाख रूपैयाँ बिहीबार बेलुकी चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
न्यू जेनिथ स्कुलको रजत जयन्ती भव्यताका साथ सम्पन्न
Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ४, शुक्रबार वर्गीकृत
काठमाडौं/ ०४ फागुन, लामाे समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रही आफ्नो अलग पहिचान बनाउन सफल न्यू जेनिथ इङ्गलिस मोडल स्कूलले २५ औं वार्षिकोत्सव आइतवार भव्यरुपमा सम्पन्न गरेकाे छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा भएको बार्षिकाेत्वमा विद्यालयका प्रधानाध्यापक राजु महर्जनको कृति ‘सानो सफलतामा धेरै रमाउने मान्छे’ र यूनिभर्स अफ न्यू जेनिथको तेश्रो अंक विमोचन गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदैकाठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफू विभिन्न रुपमा न्यू जेनिथसँग जोडिन पाएको बताउनु भयो । उहाँले आफूले भर्खरै मिस नेवाःको उपाधि जितेको समयमा बालबालिकाका लागि बालबालिका अभियान सञ्चालन गरेको र सो अभियानमा न्यू जेनिथका विद्यार्थी र विद्यालयबाट सहयोग प्राप्त भएको स्मरण गर्नुभयो । उहाँले न्यू जेनिथले शिक्षा मात्र नभएर बालबालिकालाई समाजसेवा अग्रसर हुन समेत प्रेरित गर्दै आएको बताउनुभयो ।
विद्यालयका संस्थापक प्रधानाध्यापक राजु महर्जनले २०५६ सालमा जेनिथ इङ्गलिस स्कूलको प्राथमिक तह स्थापना भएको स्कूलले २५ वर्ष पूरा गर्दा आफूलाई खुसी लागेको बताउनुभयो । उहाँले स्कूल स्थापना गर्दा ७४ जना विद्यार्थी र ९ जना शिक्षकबाट सुरु भएको र अहिले हजारौंको संख्यामा विद्यार्थीं र ९० भन्दा बढी शिक्षकहरु विद्यालयमा रहेको पनि कार्यक्रममा बताउनुभयो ।
विमोचित पुस्तकबारे प्रकाश पार्नुहुँदै प्रधानाध्यापक महर्जनले यो पुस्तक कोभिडको देन भएको बताउनुभयो । उहाँले कोभिडमा घरमा थुनिएर बस्नुपर्दा यो किताब लेखन कार्य भएको र यसले जीवनमा केही गरौं भन्नेहरुका लागि हौसला दिने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित हुनुभएका काठमाडौं प्याब्सनका अध्यक्ष प्रेम कुमार राईले विमोचित पुस्तकको समीक्षा गर्नुहुँदै एक शिक्षकको जीवनबाट पनि धेरै कुरा सिक्न सकिने बताउनुभयो ।
कार्यक्रममा काठमाडौं मनपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जन, २३ वडाका अध्यक्ष मचाराजा महर्जन, ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुको सामूहिक अर्केष्ट्रा, नृत्य, गायन, तेक्वाण्डो प्रदर्शन, स्काउट पिरामिड, नाटकको पनि प्रदर्शन गरिएको थियो । यसैगरी विद्यालयमा ५ वर्षभन्दा बढी सेवा गर्नु हुने शिक्षकहरुलाई पनि सो कार्यक्रममा सम्मान गरिएको थियो ।


