add
Display Style: 
Row Style

बज्राचार्य अवार्ड पुस २ मा

Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर २६, सोमबार वर्गीकृत

शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने बज्राचार्यहरुलाई दिईँदै आएको बज्राचार्य अवार्डस्को दोश्रो संस्करण आउँदो पुस २ गते हुने भएको छ ।

आउँदो पुस २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य समारोहको आयोजना गर्दै अवार्ड वितरण गर्न लागिएको हो ।

शैक्षिक क्षेत्रमा केन्द्रीत हुँदै बज्राचार्य समुदायमा वितरण गरिँदै आएको अवार्डमा यस पटक सय भन्दा बढि विद्यार्थीहरु पुरस्कृत हुन लागिएको कार्यक्रम संयोजक शैलेन्द्रमान बज्राचार्यले बताउनुभयो ।

विश्वका विभिन्न कुनाकाप्चामा बसोबास गरेर बसेका पाँच सय बढिले अवार्डका लागि आफ्नो नाम दर्ता गराएका थिए ।

अवार्ड कार्यक्रममा एस.ई.ई. देखि स्नातकोत्तर तहसम्म हरेक संकायको हरेक विधामा उच्च अङ्क ल्याइ उत्तीर्ण हुने बज्राचार्यहरु अवार्डबाट पुरस्कृत हुनेछन् ।

यसैगरी, पि. एचडी. पूरा गरेका, नेपालभाषा र बुद्धिष्ट विषयमा उत्तीर्ण भएका हरेक विद्यार्थीलाई अवार्ड प्रदान गरिनेछ ।

त्यसैगरी अवार्डको दोश्रो संस्करणमा बौद्ध विद्वान फनिन्द्ररत्न बज्राचार्य लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुँदैछन् ।

बौद्ध धर्म, संस्कारको क्षेत्रमा लामो समयदेखि अनवरतमा रुपमा दिँदै आएको योगदानको कदर स्वरुप बज्राचार्यलाई सम्मान गर्न लागिएको आयोजक बज्राचार्य क्लबले जनाएको छ ।

त्यस्तै, बौद्ध सम्पदा संरक्षण, जिर्णोद्धार साथै पुनर्निर्माण र बुद्ध शिक्षा प्रचार प्रसारमा विशिष्ट योगदान पु¥याएको भन्दै काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यलाई विशेष सम्मानबाट सम्मानित गर्न लागिएको छ ।

बौद्ध सम्पदा र शिक्षाप्रति युवा पुस्तामा जागरण ल्याउने उद्देश्यले अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको संयोकज शैलेन्द्रले बताए ।

क्लबका अध्यक्ष सर्जु बज्राचार्यले यो अवार्ड शैक्षिक क्षेत्रमा केन्द्रीत रहेको र भविष्यमा विभिन्न क्षेत्रमा योगदान दिनेहरुको सम्मानको लागि अलग अलग कार्यक्रमको आयोजना गर्ने योजना रहेको पनि सुनाए ।

‘अहिले हामी शैक्षिक क्षेत्रमा केन्द्रीत छौं, भविष्यमा बज्राचार्य स्पोर्ट्स अवार्ड, बज्राचार्य बिजनेस अवार्ड आदि पनि गर्ने हाम्रो योजना छ’ अध्यक्ष सर्जुले बताए ।

प्रत्यके दुई वर्षमा आयोजना गर्ने भनिएको अवार्डको पहिलो संस्करण सन् २०१९ मा भएको थियो भने दोश्रो संस्करण कोभिड महामारीका कारण तीन वर्षपछि मात्र हुन लागेको आयोजक संस्थाले जनाएको छ ।

सार्क जर्नालिष्ट फोरमको सचिवालय गठन

Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर २४, शनिबार वर्गीकृत

दक्षिण एसियाली श्रमजीवि पत्रकारहरुको साझा मञ्च सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरले आगामी जनवरीमा भारतमा हुन लागेको सार्क जर्नालिजम कन्फ्रेन्समा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ ।

फोरम नेपाल च्याप्टरको काठमाडौंमा शनिबार बसेको वैठकले भारतको राजधानी नयाँ दिल्लीमा आगामी आगामी जनवरी १० देखि ११ सम्म आयोजना हुने नेपालकातर्फबाट सक्रीयतापूर्वक भाग लिने निर्णय गरेको हो ।

त्यसका लागि आवश्यक संयोजन र पुर्वतयारी गर्ने निर्णयसमेत वैठकले गरेको छ । बैठकले नेपाल च्याप्टरको संस्थागत सबलीकरणका लागि श्रोतको पहिचान र परिचालन गर्ने निर्णय समेत गरेको छ ।

सोही वैठकले पत्रकार प्रकाश सिलवालको नेतृत्वमा ११ सदस्सीय सचिवालय गठन गरेको छ । फोरम नेपाल च्याप्टरका संयोजक प्रकाश सिलवालको अध्यक्षतामा शनिबार बसेको बैठकले सचिवालय गठन गरेको हो ।

वैठकमा फोरमका अध्यक्ष राजु लामाकोसमेत उपस्थिती रहेको थियो ।

वैठकबाट गठित सचिवालयको अध्यक्षमा प्रकाश सिलवाल रहेका छन् भने संगठन विभाग प्रमुखमा रूपेश आचार्य रहेका छन् ।

प्रचार प्रसार विभागमा रत्नकाजी महर्जन, आर्थिक विभागमा सुरेन्द्रभक्त श्रेष्ठ रहने छन् भने अन्य सदस्यहरुमा कविता थापा, नृपेन्द्रलाल श्रेष्ठ, सुनिल महर्जन र माधव तिवारी रहेका छन् । बाँकी पाँच सदस्य पछि नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ । 

त्वाःछेँ बचाउन संघर्ष समिति

Swoniga Online – Swonigaonline Reporter | २०७९ कार्तिक ४, शुक्रबार वर्गीकृत

थायमदु (बाङ्गेमुढा) स्थित त्वाः छेँ बचाउनको लागि भन्दै त्वाःछेँ बचाउ संघर्ष समिति गठन गरिएको छ । आज त्वाःछेँ समितिको आयोजनामा थाय्मदु बहालमा आयोजना भएको छलफल कार्यक्रमबाट संघर्ष समिति गठन गरिएको हो ।

त्वाःछेँ समितिका अध्यक्ष प्रा.रमेश श्रेष्ठको अध्यक्षतामा गठन गरिएको समितिलाई तिहार लगत्तै तत्कालीन २८ वडा भित्रका टोलका प्रतिनिधि साथै सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु थप गर्दै पूर्णता दिने बताइएको छ ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष प्रा.श्रेष्ठले काठमाडौं भित्र लालपूर्जा नभएका र नक्सा पास नगरिएका सामुदायिक भवनहरुको साथै पाटी, पौवाहरु थुप्रो रहेको भन्दै यस्ता सम्पदाको बचाउको लागि संघर्ष समिति गठन गरिएको बताए ।

‘विगतमा यस्ता संरचना बनाउन नक्सा पास व लालपूर्जा समेत चाहिँदैन थियो । अहिले यहि नक्सा पास र लालपूर्जाको नाममा सामुदायिक सम्पत्तिमा महानगरले डोजर चलाउन थालेको छ’, श्रेष्ठले भने, अस्तित्व संकटमा परेको यस्ता सम्पदाको संरक्षणका लागि हामी जुट्नुपर्छ ।’

गत असोज १४ गते थायमदुस्थित त्वाःछेँ भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि उच्च अदालत पाटनले त्वाःछेँ समिति र वडा कार्यालय दुवै पक्षले त्वाःछेँ भवनमा क्षति पुग्ने कुनै काम नगर्न र भवनलाई यथास्थितीमा राख्न अन्तरिम आदेश जारी गरेको थियो ।

तर अदालतको अन्तरिम आदेशका बाबजुद हिजो काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष राजेश डंगोलहरुले कामदारहरुको टोली ल्याई भवन भत्काउने प्रयास गरेका थिए ।

प्रा. श्रेष्ठले अदालतको अन्तरिम आदेश देखाउँदा वडाध्यक्षले आफुलाई यस आदेशबारे थाहा नभएको र सर्वोच्च अदालतको आदेश लिएर आउन भनेको बताए ।

विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहिन रहेको अवस्थामा तत्कालीन प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर राईको पालामा काठमाडौं महानगरपालिकाबाटै त्वाःछेँ भवन बनाइदिने र हालको भवनको पछाडी रहेको ४ आना जग्गामा वडा भवन बनाउने सहमति भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

‘तत्कालीन प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर राईको पालामा सम्झौता नै भइसकेको थियो तर एकाएक पछि एक हप्ताभित्र भवन खाली गरिदिन भन्दै वडा कार्यालयबाट पत्र आयो’ अध्यक्ष श्रेष्ठले भने ।

श्रेष्ठले थप जानकारी दिँदै भने, ‘त्यसपछि हामी जिल्ला अदालत गयौं, जिल्ला अदालतमा दुबै पक्षको प्रमाण नपुगेको भन्दै फैसला सुनायो र पछि हामी उच्च अदालत गयौं । अहिले यो मुद्दा उच्च अदालतमा विचाराधीन छ ।’

२०४४ सालमा नापी आउँदा फिल्डबुकमा त्वाःछेँ भनेरै उल्लेख गरिएको तर ५७ सालमा आएर भवनलाई वडा अफिस भनेर लेखिएको अर्को फिल्डबुक देखिएको श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै त्वाःछेँ समितिका उपाध्यक्ष राजेश श्रेष्ठले समितिमा त्वाःछेँको नामबाट कसैले आर्थिक अनियमितता गरेको भए प्रमाण सार्वजनिक गर्न समितिले चुनौती दिए ।

उपाध्यक्ष श्रेष्ठले केही व्यक्तिहरुले त्वाःछेँको नाममा दुई चार जनाले पैसा खाएको भनी भ्रामक प्रचार गर्दै हिँडेको भन्दै सके प्रमाण लिएर आउन चुनौती दिए ।

‘त्वाःछेँ समितिको सबै पैसा शुभ गणपति, मंकाः धुकू र मिलन सहकारी संस्थाको खातामा सुरक्षित छ । यो कुनै व्यक्तिले चलाएको छैन र विभिन्न सामुदायिक उद्देश्यको लागि नै खर्च गर्ने गरिएको छ’ उपाध्यक्ष श्रेष्ठले भने, ‘पैसा खाएको भन्ने हो भने प्रमाण लिएर आउनु, नभए सिमित स्वार्थ पूर्तिका लागि भ्रामक प्रचार नगर्नु ।’ 

२०३५ सालमा उक्त भवन निर्माण गर्न आर्थिक सहयोगको साथमा जन श्रमदान समेत गरेका स्थानीय ८२ वर्षीय ज्येष्ठ नागरिक गुह्यरत्न शाक्यले २०३५ सालमा भवन बन्दाको शिलापत्रले सबै यथार्थ बताइदिने दावी गरे ।

कार्यक्रममा वक्ताहरुले आम जन समुदायले सरकारी र सार्वजनिक जग्गाको फरक बुझ्नुपर्नेमा जोड दिइएको थियो ।

साथै त्वाःछेँ भवनमा वडा कार्यालयलाई स्थान दिन आफुहरुलाई कुनै आपत्ती नभएको तर सामुदायिक सम्पत्तिको अस्तित्व नै सिध्याइदिन खोजेकोमा आफुहरुको आपत्ती भएको समितिले जनाएको छ ।

मखन महोदवमा पञ्चाभिषेक रूद्रीको समापन

Swoniga Online – Swonigaonline Reporter | २०७९ श्रावण २५, बुधबार वर्गीकृत

राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्रीको समापन गरेको छ । मंगलबार काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्रीको समापन गरिएको हो ।

राजोपाध्याय समाजको आयोजनामा काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय ब्राह्मणहरुबाट विभिन्न पूजा पाठ गर्दै पंचाभिषेक रूद्रीको समापन गरिएको हो ।

१०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, ९ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ग पाठ गरिएको थियो भने १० हजार संख्याको अयुताहुति यज्ञसमेत सम्पन्न गरिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसमेत कार्यक्रममा उपस्थित भई पूजामा सरिक भएका थिए । साथै मन्त्री श्रेष्ठले काठमाडौंका ओमधरानन्द राजोपाध्यायबाट संकलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक समेत सार्वजनिक गरेका थिए ।

समाजका प्रतिनिधिहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले पवित्र र भव्य धार्मिक अनुष्ठानमा सहभागी हुन पाउँदा निकै आनन्द र खुसी लागेको बताउनुभयो ।

नेपालको मौलिक पहिचान र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न यस अनुष्ठानहरुको आयोजना गरिरहनुपर्ने विचार मन्त्री श्रेष्ठले राख्नुभयो ।

काठमाडौं उपत्यकाका आदिवासी राजोपाध्याय ब्राह्मणहरुको छाता संगठन राजोपाध्याय समाजले कोरोना महामारीबाट मुक्तिको कामना गर्दै गत वर्षबाट पञ्चाभिषेक रूद्री पाठ कार्यक्रमको सुरुवाट गरेको थियो ।

२०७८ श्रावण १२ गतेबाट सुरु गरिएको कार्यक्रममा काठमाडौं उपत्यकाका तीनवटै शहरहरुको शिवालयमा एकै दिन एकै समयमा पाँच पाँच जना देव ब्राह्मणहरुबाट रूद्री पाठ हुँदै आएको थियो ।

यस क्रममा काठमाडौंमा महिन्द्रेश्वर महादेव मखनमा, पाटनमा विश्वेश्वर महादेव मंगलबजार र भक्तपुरमा तिलेश्वर महादेव टौमढीमा मासिक रूपमा रूद्री पाठ गरिँदै आएको हो ।

मासिक रूपमा हुँदै आएको कार्यक्रम अन्तर्गत गत असार ११ गतेका दिन १२ औं पटकको कार्यक्रम सम्पन्न भएपछि मंगलबार यसको औपचारिक समापन गरिएको हो ।

सबैको साथ र सहयोग रहे यस किसिमका कार्यक्रम हरेक वर्ष गर्दै जाने समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनुभयो ।

वैकुण्ठ लाकाैल पुरस्कार मानन्धर र तमाेटलाई

Swoniga Online – Swonigaonline Reporter | २०७९ श्रावण ९, सोमबार वर्गीकृत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन उद्योग उकास्न स्थानीयतालाई जोड दिनुपर्ने बताउनुभएको छ ।

पर्यटकहरु हिमालमात्र हेरेर फर्कीरहेको अवस्थामा तिनीहरुको नेपाल बसाइ लम्ब्याउन सकिए पर्यटन उद्योग फस्टाउने विचार मन्त्री श्रेष्ठले राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागमा शुक्रबार आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले नयाँ पुस्ताले महत्व नबुझ्दा दैनिक रुपमा यहाँको संस्कृति परम्परा हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उच्च शिक्षामा यस्ता विषयवस्तुको खोजमूलक अनुसन्धान र पठनपाठनको आवश्यकतामा श्रेष्ठले जोड दिए ।

‘विभागभित्र तयार भएको जाति, भाषा, धर्म, संस्कृति, इतिहास, परम्परा विषयक खोजमूलक सामग्रीहरु पर्यटकहरुलाई आकर्षित गर्ने विषयवस्तु हुन् र ती सामग्री नेपालको सम्पत्ति भएकोले त्यसलाई दराजभित्र सीमित नगरी प्रकाशित गर्नुपर्छ’ श्रेष्ठले भने ।

कार्यक्रममा ३७ वर्ष अघि स्थापित वैकुण्ठ लाकौल पुरस्कार प्रा.डा.त्रिरत्न मानन्धर र काशीनाथ तमोटलाई प्रदान गरिएकाे थियाे । पुरस्कृत व्यक्तित्वहरूलाई मन्त्री श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयाे ।

पुरस्कृत व्यक्तित्व प्रा.डा.त्रिरत्न मानन्धरले अत्यन्त प्रतिष्ठित व्यक्तित्वहरुलाईमात्र उपलव्ध गराउँदै आएको स्व.वैकुण्ठ प्रसाद लाकौलबाट स्थापित वैकुण्ठ लाकौल पुरस्कार आफूलाई प्रदान गरेकोमा गौरव महसूस भएको बताउनुभयो ।

उहाँले नेपालभाषाका कवि शिरोमणि वैकुण्ठ लाकौलले साहित्य क्षेत्रमा मात्र योगदान गरेको नभइ शिक्षामा पनि ठूलो लगानी रहेको बताउनुभयो ।

स्व. लाकौलले नेपालभाषा केन्द्रीय विभागको भवन निर्माण गर्नुका साथै छात्राहरुलाई शैक्षिक रुपमा उकास्नका लागि विभिन्न पुरस्कारहरु स्थापना गरेको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा अर्का पुरस्कृत व्यक्तित्व काशीनाथ तमोटका साथमा नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशी, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पुरस्कारका दाता श्रीकण्ठ लाकौल, डा. सुन्दरकृष्ण जोशीले पनि आआफ्ना विचार राखेका थिए ।

सोही कार्यक्रममा नेपालभाषामा स्नातकोत्तर गर्ने छात्राहरुलाई नगद पुरस्कारसहित चैन लाकौल, तारा लाकौल र रजनी लाकौल पुरस्कार पनि वितरण गरिएको थियो ।

शर्माकै उपस्थितीमा पुस्तक प्रकाशन गर्न नपाएकोमा राजोपाध्यायको दुःख

Swoniga Online – Swonigaonline Reporter | २०७९ आषाढ ८, बुधबार वर्गीकृत

राजोपाध्याय समाजका अध्यक्ष संजय शर्मा राजोपाध्याले स्वगीृइ इतिहासविद् सह प्राध्यापक गोवर्धन शर्माको पुस्तक प्रकाशन गर्न पाउँदा आफुलाई खुसीको साथमा दुःखको पनि लागेको बताउनुभएको छ ।

स्वनिगः अनलाईनसँग कुरा गर्दै अध्यक्ष राजोपाध्यायले इतिहासविद् शर्माको जीवनकालमै पुस्तक प्रकाशन गर्न नपाएकोमा दुःख पोख्नुभएको हो ।

‘गोवर्धन शर्माको निधन भएको करीब १४ वर्ष पछि भएपनि हामीले उहाँको पुस्तक प्रकाशन गर्न पायौं, खुसी लागेको छ तर, पुस्तक विमोचन कार्यक्रममा बस्दा उहाँलाई निकै सम्झैं, उहाँलाई सँगै राखेर पुस्तक विमोचन गर्न पाए कति राम्रो हुन्थ्यो’ भावुक हुँदै राजोपाध्यायले भने ।

ईतिहासविद् शर्माको २०६५ साल भाद्र १३ गतेको दिनमा निधन भएको थियो ।

निधन अघि विभिन्न समयमा शर्माले लेखेका नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीका उपन्यासहरुको समालोचनलाई संकलन गरेर समाजले पुस्तकको रुपमा प्रकाशन गरेको हो ।

गत शुक्रबार समाजले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरेको हो ।

कार्यक्रममा समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्यलगायतले पुस्तक सार्वजनिक गरेका थिए ।

समालोचक ताम्राकार, देय् दबूका अध्यक्ष बज्राचार्य र ईल्वहँका प्रवन्ध निर्देशक शाक्यले कार्यक्रममा बोल्दै महाकवि जोशीको साहित्यिक प्रतिभा र इतिहासविद् शर्माको समालोचकिय प्रतिभाको प्रशंसा गरेका थिए ।

समाजका अध्यक्ष संजय र संस्थापक अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायले समाजको उद्देश्य, हुँदै आएका गतिविधिको बारेमा प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा २०७६ र २०७७ सालमा एसईई उत्तीर्ण भएका राजोपाध्याय विद्यार्थीहरु र महामारीको समयमा अग्रपंक्तिमा खटेर स्वास्थ्य सेवा दिने राजोपाध्याय स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको थियो ।

समाजले सोही कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो । मेलामा सनातनी धर्म, वेद, तन्त्र, संस्कार, संस्कृतिको साथै विभिन्न क्षेत्रसँग सम्वन्धित र साहित्यिक पुस्तकहरु समेत राखिएको थियो ।

एक दिनेमा मेलामा २ हजार भन्दा बढिले सहभागीता जनाएको मेला संयोजक सुजित राजोपाध्यायले जानकारी दिनुभयो । संयोजक राजोपाध्यायका अनुसार मेलामा एक लाख बढि रकमको पुस्तकहरु विक्रि भएको छ । 

एसईई परिक्षार्थीहरुलाई अभिभावकले विशेष ध्यान दिन विज्ञहरुको सुझाव

Swoniga Online – Swonigaonline Reporter | २०७९ जेठ २०, शुक्रबार वर्गीकृत

एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै अभिभावकहरुलाई कुशल अभिभावकत्वबारे परामर्श दिइएको थियो ।

कार्यक्रममा शैक्षिक परामर्शदाता इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङले विद्यार्थी र अभिभावकहरुलाई परामर्श दिएका थिए । साथमा विभिन्न विद्यालयका प्रधानाध्यापकले पनि विगतका शैक्षिक गतिविधिको अनुभवका आधारमा सुझाव दिएका थिए ।

‘विद्यार्थीको जीवनमा एसईई परिक्षा महत्वपूर्ण समय हो, यसपछि अगाडी बढ्न विद्यार्थीको साथमा अभिभावकीय भूमिका पनि महत्वपूर्ण हुन्छ,’ परामर्शदाता इन्द्रले भने, ‘अहिले तपाईँहरुले आफ्ना बालबच्चाको लागि अझ बढि समय दिनुस्, धेरै भन्दा धेरै कुराकानी गर्दै उनीहरुलाई आवश्यक सल्लाह सुझाव दिनुस् ।’

अभिभावकहरुले आफ्ना सन्तानलाई पढाई वा विषय छनौटमा कुनै किसिमको दबाब नदिन गुरुङले आग्रह गरे । विद्यार्थीहरुलाई अरुको लहलहैमा लागेर विषय नचुन्न र आफ्नो चाह, कार्य कुशलता र क्षमताको आधारमा शैक्षिक यात्रा अगाडी बढाउन सुझाए ।

एसईई विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रमहरु हुने गरिए पनि कुशल अभिभावकत्व तालीम खासै नहुने गरेको कार्यक्रम संयोजक दिनेश महर्जनको दावी छ ।

‘एसईई पछि विषय छनौटमा विद्यार्थीहरु निकै गम्भीर हुनुपर्छ, यसमा अभिभावकको सुझाव, मार्गनिर्देशन पनि निकै महत्वपूर्ण कुरा हो,’ संयोजक महर्जनले भने, ‘कुशल अभिभावकत्व परामर्शको सवालमा यो पहिलो कार्यक्रम नै हुनसक्छ ।’

सोही कार्यक्रममा काठमाडौ बनहार्ट कलेजका उपप्राध्यापक सुरज शिवाकोटीले आफ्नो कलेजमा ज्यापु महागुथिको सिफारिसमा दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे ।

आर्थिक अवस्था, परीक्षामा प्राप्त अङ्कको आधारमा छात्रवृत्ति दिने जानकारी शिवाकोटीले दिनुभयो । कार्यक्रममा समृद्धि कलेजका प्रधानाध्यापक नरेश श्रेष्ठले विद्यार्थीहरुलाई शुभकामना दिँदै विज्ञहरुको परामर्शलाई मनन गर्दै अगाडी बढ्न सुझाव दिनुभयो ।

युवा जोश भएका एमालेका उम्मेदवार राजेन्द्रको जीत

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ ८, आइतबार वर्गीकृत

ललितपुर  महानगरपालिका वडा नंवर १९ मा नेकपा  एमालेका युवा उम्मेदवार राजेन्द्र महर्जन वडाध्यक्षमा निर्वाचित भएको छ ।  

उहाँले १०६९ मत प्राप्त गरेका थिए  भने  प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार निबर्तमन वडाध्यक्ष विनोद ताम्राकारले ७३८ मतमा सिमित  भएका थिए  । त्यसैगरी एकिकृत समाजवादीका दिपक श्रेष्ठले १४६ मत ल्याएर तेस्रो भएका थिए  ।

वर्ल्ड नेवा: अर्गनाइजेसन नेपा: च्याप्तरका सदस्य अनिता मानन्धरको निधन

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ १, आइतबार वर्गीकृत

वर्ल्ड  नेवा: अर्गनाइजेसन नेपाल च्यप्तरका सदस्य  सुश्री अनिता मानन्धरको आज दिउँसो २.३० बजे हरिसिद्दी स्थित  नेपाल क्यन्सर हस्पिटलमा ६५ बर्षको उमेरमा निधन  भएको छ  । 

वहाँलाई  २ दिन  अगाडि  सास  फेर्न कठिनाई  भएपछि  उक्त  हस्पिटल  लगिएको परिवारबाट जानकारी प्राप्त भएको  छ  ।

वहाँ  डा. सुमित्रा  मानन्धर गुरुङ   र डा.लोचन मानन्धरको बहिनी हुनुहुन्छ  भने कमलाछीमा रहेको पंचनारायण अषटनारापणका प्रोप्राइटर तिर्थनारायण मानन्धरका कान्छी  सुपुत्री हुनुहुन्छ  ।

काभ्रेका पत्रकार रमा कर्णजितलाइ धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ १, आइतबार वर्गीकृत

नेवा: पत्रकार राष्ट्रिय दबू ललितपुर  शाखाले सातौं  मातृभाषा  पत्रकारिता  दिवसको अवसरमा यस वर्षको धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार काभ्रेका पत्रकार रमा कर्णजित (ताम्रकार) लाई १५ हजार  नगद सहित प्रदान गरिएको छ । 

धर्मादित्य धर्माचार्यको जम्मस्थल ललितपुरको चिकंबहिलमाआयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो। नेपालीभाषाको पत्रकारितासंगै आफ्नै सम्पादक र प्रकाशनको रुपमा नेपाल भाषाको मासिक पत्रिका दलुचा नियमित प्रकाशन गरी नेपाल भाषाको पत्रकारिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु्र्याउनु भएकोलाई मध्यनजर गरी सो पुरस्कार प्रदान गरिएको कोषाध्यक्ष सुनील बज्राचार्यले जानकारी दिनुभयो ।

नेवा: पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका अध्यक्ष  सागर महर्जनको सभापतित्वमा संचालित उक्त कार्यक्रममा नेवा: देय दबूको अध्यक्ष  पबित्र बज्राचार्य प्रमुख अतिथि रहनु  भएको  थियो ।

Pages