add
Display Style: 
Row Style

नेवाः जातीय महासंघको भिंतुना कार्यक्रम सम्पन्न

Swoniga Online – Swonigaonline Reporter | २०७८ कार्तिक ८, सोमबार वर्गीकृत

जातको नाम लिने वित्तिकै साम्प्रदायिक देख्ने सोचबाट माथि उठ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपालीहरुको दोश्रो महान चाड तिहार र नयाँ वर्ष नेपाल सम्वत ११४२ को अवसरमा नेवाः जातीय महासंघका वक्ताहरुले बहुलजाती नै नेपालको पहिचान साथै शक्ति भएकोमा दोष दिँदै जातिय एकताबाटै देशलाई पनि बलियो बनाउन सकिनेमा जोड दिए ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले नेवाः समुदायको बहुजातीको बहुधर्म, बहुसंस्कृति नै नेपाल राष्ट्रकैसमेत शक्ति र पहिचान भएको विचार राख्दै समुदायको यहि विविधतायुक्त शक्तिलाई संगठित गर्दै महासंघ गठन गरिएको जानकारी दिनुभयो ।

‘नेवाः समाजमा विभिन्न जातजाति, धर्म, संस्कृति छ । यी सबै विविधतालाई एकै ठाउँमा संगठित गरेर विविधतामा एकता गर्नु हाम्रो उद्देश्य हो । सबैलाई यसमा संगठित हुन म आह्वान गर्न चाहन्छु’ खड्गीले भने ।

त्यसैगरी सबै जातीय संघसंस्थाको प्रतिनिधित्व गर्दै आफ्नो विचार राख्ने क्रममा राजोपाध्याय समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले महासंघले देशैभरिका नेवार जातीय संघसंस्थालाई संगठित गर्दै समुदाय र देशकै विकासमा टेवा दिनमा लाग्नुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा महासंघको लोगोसमेत सार्वजनिक गरिएको थियो । साथै, संचारकर्मी साथै लेखक पदम श्रेष्ठबाट लिखित ‘जातजाती र संघीयता : कति ठिक कति वेठिक’ पुस्तकको पनि लोकार्पण गरिएको थियो ।

महासंघका अध्यक्ष खड्गीको साथमा विभिन्न जातीय संस्थाका अध्यक्षहरुबाट संयुक्त रुपमा महासंघको लोगो र पुस्तक सार्वजनिक गरिएको थियो । 

यस बर्ष दशैंमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन नरोकिने

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ आश्विन २७, बुधबार वर्गीकृत

यस बर्ष दशैंका मुख्य दिनहरुमा फोहोर नियमित संकलन गरिने भएको छ। कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समय मिलाएर फोहोर उठाउने वातावरण व्यवस्थापन विभागले योजना बनाएको छ। विभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ,— संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि जनशक्ति खटाएका छौँ। 

यो स्वच्छ पर्व मनाउने प्रयास हो। यसका लागि हरेक फोहोर उत्पादकले पनि सहयोग गर्नुपर्छ। श्रेष्ठ भन्नुहुन्छ — यस अवधिमा उद्योग÷व्यवसाय÷कार्यालय बन्द नै रहन्छन्। धेरै मानिस काठमाडौं बाहिर जाने भएकोले मात्रा त्यसै पनि घट्छ। काठमाडौंमा हुनेले कम फोहोर निकालिदिए पुग्छ। अहिले देवी शक्तिपीठसहित मानिसहरुको धेरै चहलपहल धेरै हुने ठाउँ बजार र मठ—मन्दिरमा सरसफाइ गर्ने, चोक, गल्ली र खुल्ला ठाउँमा पानी छर्किने, बढार्नेलगायतका काम भइरहेका छन्। 

महानगरको फोहोर संकलनमा साझेदारिता गर्दै आएका निजी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु ल्याण्डफिल साइट सञ्चालन भए आफूहरुलाई नियमित काम गर्न कठिन नहुने बताउँछन्। वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहाल भन्नुहुन्छ — सरसफाई कार्य जटिल प्रकृतिको काम हो । पर्वमा सबै व्यक्ति रमाइलो गरिरहेका हुन्छन्। यो सफाइकर्मीको पनि पर्व हो। त्यसैले आधा समय सफाइमा र आधा समय पर्वमा लगाउन पाए हुन्थ्यो। यसका लागि फोहोर उत्पादन गर्नेहरुले पनि जिम्मेवार भएर फोहोर व्यवस्थापनमा सहयोगी बन्नुपर्छ । फोहोरमैला व्यवस्थापन संघ स्वमानका अध्यक्ष धु्रव आचार्यको भनाइ पनि उस्तै छ। सार्वजनिक ठाउँहरु सफाइ गर्ने काम नियमित हुन्छ। सामान्यतयाः पर्वका समयमा ल्याण्डफिल साइटका स्थानीयको चाहना फोहोर नल्याइदिए हुन्थ्यो भन्ने हुन्छ । त्यसैले हामी द्वादशीपछि फोहोर संकलन कार्यलाई नियमित गर्छौँ।

दशैँ अवधिमध्ये फुलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ । सहरमा उत्पादन भएको फोहोर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्याण्डफिल साईटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ । उता निजी तथा गैरसरकारी संघसंस्थाले भने सहरका बिभिन्न ठाउँमा जम्मा गरेर ढुवानीको प्रबन्ध गर्दै आएका छन्।

गुठी संस्थान र पुरातत्व विभागले सहयोग गरेको भए धेरै काम गर्न सकिन्थ्यो — प्रमुख शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ आश्विन २७, बुधबार वर्गीकृत

काठमाडौँको मरुस्थित शाक्यकेतु महाविहारको पुननिर्माणमा सम्पन्न भएको छ । पुननिर्मित महाविहारको काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो । 

०७२ सालको भूकम्पले जीर्ण भएको महाविहार पुननिर्माणका लागि प्रमुख शाक्यले ०७६ माघ महिनामा शिलान्यास गर्नुभएको थियो । करीब ४६ लाख ६९ हजार रुपैयाँमा महाविहारको पुननिर्माण सम्पन्न भएसँगै आँगन घर (आग छेँ) पुननिर्माणका लागि क्षमा पूजा गरियो । 

महाविहार उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले, गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि जग्गा दिएको तर महानगरले भाडामा लिएर पार्क तथा खुल्ला स्थान बनाउन खोज्दा नदिएकोप्रति टिप्पणी गर्दै भन्नुभयो, जग्गाको भाडा महानगरले तिर्ने गरी खाली जमिन मागेका थियौँ । व्यक्तिले व्यापारिक प्रयोजनमा ल्याउँदा उहाँहरुलाई केही समस्या छैन तर महानगरलाई दिन चाहनुहुन्न । जग्गामात्र होइन, गुठीको स्वामित्वमा भएका धेरै सांस्कृतिक संरचनाहरु जीर्ण छन् । उहाँहरु हामीलाई संरक्षण गर्न पनि दिनुहुन्न । तपाईँहरु आफैँ संरक्षण गर्नोस्, अलपत्र नछाड्नोस् भन्दा पैसा पनि छैन र कार्यक्रम पनि छैन भन्नुहुुन्छ ।’ गुठी संस्थानसँगै पुरातत्व विभागले पनि यसै गर्छ । शाक्यले प्राचीन स्मारक संरक्षणको कुरा जोड्दै भन्नुभयो, ‘संरचना भत्किएर जाँदै छन् । सुन्दर हुनुपर्ने संरचना कुरुप बन्दैछन् । यी सबै उहाँहरुलाई मञ्जुर छ । यस्ता सांस्कृतिक संरचनाको संरक्षणमा हामी लगानी गछौँ भन्दा उहाँहरुलाई मञ्जुर हुँदैन ।’

त्यस क्रममा उहाँले स्वामित्व वा उपयोगमा विवाद नभएका सांस्कृतिक भौतिक संरचना जोगाउन महानगरले पर्याप्त लगानी गर्ने, संरक्षित संरचनाको उपभोग समुदायलाई दिने र यस्ता संरचनासँग पर्यटकीय सम्बन्ध जोड्ने नीतिअनुरुप काम भइरहेको बताउनुभयो  

शाक्यहरुका १६ वटा प्रमुख वहिलमध्येको यो एक हो । यस महाविहारमा गणबहिल (गणवहाल, खिचापोखरी र ओमवहालकोविच), खुशीबहिल (ताहाचाल) का शाक्य र भिक्षुहरुको चुडा कर्म गरिन्छ । 

सर्वसंघबाट हुने नियमित धार्मिक तथा सामाजिक कार्य महाविहारमा नियमित हुने गरेका छन्।

भिमसेन मन्दिर पुनःनिर्माणका नेतृत्वकर्ता महर्जनलाई पितृशोक

Swoniga Online | २०७८ आश्विन २५, सोमबार वर्गीकृत

स्वनिगःअनलाईन, ललितपुर ।

विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित भिमसेन मन्दिर पुनःनिर्माणका नेतृत्वकर्ता एवं उद्यमी कृष्णलाल महर्जनलाई पितृशोक परेको छ ।

ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहनुभएका महर्जनका पिता रत्नलाल महर्जन (नायचा) को आईतबार बिहान ८ः ४० मा सानेपास्थित स्टार हस्पिटलमा निधन भएको थियो। ८२ वर्षीय महर्जनको फोक्सोमा देखिएको समस्याको उपचार गराउने क्रममा निधन भएको थियो। गत बैशाखमा कोरोना संक्रमित हुनुभएका महर्जन संक्रमणबाट मुक्त भएपनि फोक्सोमा केही समस्या देखिएको थियो । स्वर्गीय महर्जन १० वर्षदेखि मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो ।

स्वर्गीय महर्जनको सोही दिन दिउँसो शंखमुलस्थित घाटमा नेवारी परम्परा अनुसार दाहसंस्कार गरिएको थियो । उहाँको पार्थिव शरीरमा ज्येष्ठ सुपत्रको हिसाबले निर्वतमान अध्यक्ष महर्जनले दागबती दिनुभएको थियो । स्वर्गीय महर्जनप्रति अन्तिम श्रद्धाञ्जली दिन उद्यमी व्यवसायी, भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिका प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरु शंखमुल पुगेका थिए । स्वर्गीय महर्जनका पत्नी लक्ष्मीमाया महर्जन, छोरा कृष्णलाल महर्जनसहित सुनीललाल महर्जन, सुशील महर्जन र सुमन महर्जन र छोरीहरु नानीमाया महर्जन, लक्ष्मीदेवी महर्जन, मैया महर्जन रहनुभएको छ ।

चिरिबाबुको स्वार्थले ज्यापू समाजमा चिरै चिरा

Swoniga Online | २०७८ आश्विन २३, शनिबार वर्गीकृत

पूर्वअध्यक्षहरुको गुटद्वारा बलजफ्ती 

स्वनिगः अनलाईन, काठमाडौं ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको राजनीतिक महत्वाकांक्षाको परिपूर्तिका निम्ति ज्यापू समाज यलको नयाँ कार्यसमिति चयनमा पूर्वअध्यक्षहरुको गुटले बलजफ्ती गरेका छन् ।

पूर्वअध्यक्ष समेत रहनुभएका मेयर महर्जनको नितान्त वैयक्तिक राजनीतिक आकांक्षा ज्यापू समाज यलको सांगठनिक प्रभावलाई दुरुपयोग गरी परिपूर्ति गर्ने सोच राखेर सोे गुटले बलजफ्ती गरेका हुन् । ज्यापू समाज यल पाटनका ४० परम्परागत ज्यापू टाेलकाे साझा र प्रतिनिधि संस्था हाे ।

चुनावको लागि आफूले जे भनेपनि मान्ने (एस म्यान) र चुनावमा आर्थिक जोहो गर्ने र परिआएको खण्डमा गुण्डा परिचालन समेत गर्ने मानिसको जरुरत हुने गर्दछ । चुनावमा सहजै चढ्न सकिने घोडाको रुपमा तीर्थलाल महर्जनलाई ल्याउन पूर्वअध्यक्षको गुटले बन्दसत्रमा नांगो हस्तक्षेप गरेका थिए ।

कुलाल डंगोलको संयोजनमा पूर्वअध्यक्षहरुको संरक्षक परिषद रहेको छ । सो परिषद्मा पूर्वअध्यक्षको हैसियतले  मेयर महर्जन, अधिवक्ता मंगल महर्जन लगायत सात जना सदस्य रहेका छन्।हरेक अधिवेशनमा नयाँ कार्यसमिति चयन गर्दा ति नै पूर्वअध्यक्षहरु हावी हुँदै आएका छन् । पूर्वअध्यक्षको गुटले भित्रभित्रै वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनलाई अध्यक्ष हुनबाट रोक्नको लागि अनेक तिकडम र षडयन्त्र गरेका थिए। सन्तमानलाई फेरी वरिष्ठ उपाध्यक्षमै चित्त बुझाउन पूर्वअध्यक्षहरुले लगातार दबाब, भावनात्मक रुपमा शोषण र अनेक तिकडम गर्दै आएका थिए । 

असोज १५ गते शुक्रबार भएको बन्दसत्रमा संरक्षकहरुको तर्फबाट बोल्ने क्रममा संयोजक कुलाल डंगोलले पूर्वअध्यक्षहरु सातै जनाको सहमति भनेर अध्यक्षमा तीर्थलाल महर्जनको नाम प्रस्तावित गर्नुभयो । त्यसमा अधिकाशं प्रतिनिधिले विरोध जनाएका थिए ।  सहमतिको प्रयास गर्ने भन्दै वार्ताको नाटक रचियो । पूर्वअध्यक्षहरुको गुटले अनेक तिकडम गर्दा पनि वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनलाई अध्यक्ष बनाउने अडानमा हौगल टोलका अध्यक्ष र प्रतिनिधिहरु एक इन्चपनि टसमस भएन ।

पूर्वअध्यक्षको दबाबमा निर्वाचन मण्डलका संयोजक अधिवक्ता चन्द्रबहादुर महर्जनले नयाँ कार्यसमितिको नामावली वाचन गर्नुभयो । त्यसबीचमा सुनियोजित तरिकाले जम्मा पारिएका मुस्किलले १० , १२ जना युवाहरुले निकै तनाव र होहल्लाको वातावरणका बीच ‘ताली भनेर’ ताली बजाउन थाले । बन्दसत्रमा सहभागी अधिकाशं सदस्य टोलका अध्यक्ष र प्रतिनिधिले विरोध जनाए । पूर्वअध्यक्ष डंगोलले वाचन गर्दा विरोध भएकै प्रस्तावित नामावली पुनः अधिवक्ता महर्जनले दोह¥याएर वाचन गरिएपछि ‘यसमा हाम्रो मञ्जुरी छैन’ भनेर सभामा हुटिङ भएको थियो । त्यसपछि भनाभन हुने क्रम चल्न थाल्यो।झन्डै झन्डै हात हालाहाल  हुने अवस्था निम्तियो ।बन्दसत्रको माहौल निकै तनावपूर्ण रह्यो ।

त्यसपछि निर्वाचन मण्डलका संयोजकले पुनः सहमतिमा नाम प्रस्तावित गर्ने भन्दै केही समयको लागि सभा स्थगित गरेका थिए ।सभा स्थगित गरिएपछि सहमतिको लागि कुनै पहल भएन। यो त समय लम्ब्याउने फगत चाल मात्र थियो ।निकै रात परिसकेको थियो । मध्यराति करिब १ः ४५ को समयमा निर्वाचनको प्रक्रिया अहिले हुँदैन भन्ने अनुमान गरी अधिकाश सहभागीहरु आफ्नो घर फर्किसकेका थिए । त्यसपछि प्रस्तावित कार्यसमितिको नामावली अनुमोदन नै नगरी करिब करिब २ः ३० देखि ३ बजेको बीचमा शपथ ग्रहण गराइयो । शपथ ग्रहणमा मात्र चिरिबाबुसहित पूर्वअध्यक्ष र ताली बजाउने युवाहरुको उपस्थिति रहेको थियो । कार्यसमितिमा रहेका वरिष्ठ उपाध्यक्ष महर्जन, प्रथम उपाध्यक्ष मोहन व्यञ्जनकार, तृतीय उपाध्यक्ष किरण डंगोल, कार्यसमिति सदस्य शर्मिला महर्जनले यस अघि नै सभा वहिष्कार गरी निस्किसकेका थिए । नयाँ निर्वाचित कार्यसमितिको माइन्युट पनि उठाउन सकेको छैन ।

परम्परा तोडियो

कार्यसमिति भित्रैबाट सामान्यतयाः वरियताक्रम अनुसार अध्यक्ष चयन गर्ने विधिलाई समाजले स्थापनाकालदेखि संस्थागत गर्दै आएको थियो। समाजको दसौं महाधिवेशन र २८ औ साधारण सभापछि सो अभ्यास अनुरुप अध्यक्ष हुन पालो वरिष्ठ उपाध्यक्ष महर्जनकै थियो।२७ वर्षदेखि समाजमा सक्रिय पूर्वक काम गर्दै आउनुभएका महर्जन अध्यक्ष बन्ने पालो आउँदा नेतृत्व चयन गर्ने संस्थागत परम्परालाई तोडिएको हो ।

असन्तुष्टि सम्बोधन भएन

नेतृत्व चयनको विषयमा सहमति हुन नसकेर यस अघि भदौं २६, असोज १ गते बोलाइएको बन्द सत्र स्थगित गरिएको थियो।तेस्रो पटक असोज १५ गते शुक्रबार बोलाइएको थियो।शुक्रबार दिउँसो २ बजे शुरु भएको बन्दसत्र राति अबेर सम्म चलेको थियो।पटक पटकको बन्दसत्रमा उठेका प्रश्न, गुनासोको केही जवाफ दिइएन । बन्दसत्रमा न समाजको कमीकमजोरी सुधार गर्दै जाने विषयमा सार्थक बहस नै भयो । नटोल लगायत विभिन्न सदस्य टोलले उठाउँदै आएको प्रश्न, गुनासो र असन्तुष्टिको कुनै सम्बोधन नगरी उल्टै आफूले आफैलाई अक्षम अध्यक्षको घोषणा गरी अध्यक्ष चन्द्र महर्जनले हठात ढंगले सभा समापन भएको घोषणा गर्नुभयो।

शक्ति केन्द्रको दबाब

साधारण सभाअघिसम्म अध्यक्ष महर्जनले समाजको अबको अध्यक्ष सन्तमान महर्जन नै भनेर कार्यसमिति बैठकमा सर्वसम्मत रुपमा अनौपचारिक निर्णय गराउनुभएको थियो । राज्यका उच्च ओहोदामा रहेका व्यक्तिहरुसंगको  भेटघाटमा अध्यक्षले सन्तमान महर्जनलाई नै भावि अध्यक्षको रुपमा चिनाउँदै आएका थिए।तर पूर्वअध्यक्षसहित विभिन्न शक्तिकेन्द्रको दबाबले गर्दा अध्यक्ष महर्जन आफ्नो वचनबाट पछि हट्न बाध्य भएको बुझिएको छ ।

कार्यसमितिमा काँग्रेसका कार्यकता

नयाँ कार्यसमितिका रहेका अध्यक्ष तीर्थलाल महर्जन सहित नयाँ अनुहारहरु सबैजसो नेपाली काँग्रेसका क्रियाशील सदस्य वा कार्यकता रहेका छन्।

कार्यसमितिका नयाँ अनुहारहरुमा प्रमिला महर्जन, मञ्जु महर्जन, रमिता महर्जन, बुद्ध महर्जन, दिनेश महर्जन, मदन महर्जन र रत्नमान महर्जन रहनुभएको छ । प्रमिला नेपाली काँग्रेसबाट निर्वाचित ललितपुर - २० वडाका महिला सदस्य हुनुहुन्छ । मञ्जुले २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट ललितपुर- १७ वडामा उम्मेदवारी दिनुभएको थियो ।समाजको नेतृत्व चयनको परम्परा तोडेर राजनीतिक रुपमा विभाजन गर्न उस्काउने कार्यमा उहाँहरुले सहयोग पु¥याएको देखिन्छ ।काँग्रेस पृष्ठभूमीका केही सदस्यहरु पर्नुलाई संयोग मान्न सकिएला, तर लगभग अधिकाशः काँग्रेसका क्रियाशील सदस्यहरु र कार्यकताहरु कार्यसमितिमा पर्नुलाई आकस्मिक मान्न नसकिने बन्दसत्रका सहभागीहरु बताउँछन् । ‘ त्यसमा पनि अघिपछि समाजमा खासै क्रियाशील नभएका मानिसहरु रहेका छन्।‘काँग्रेसका कार्यकर्ताहरु मात्र पर्नु सुनियोजित कदम हो।’ बन्दसत्रका सहभागीहरु भन्छन् ।केही व्यक्तिको स्वार्थको लागि काँग्रेसको आवरणमा छापामार शैलीमा समाजको नेतृत्व कब्जा गरिएकोमा काँग्रेसका अरु कार्यकताहरु पनि खुशी छैनन् । यसले पार्टीलाई समेत बदनाम बनाएको अर्थमा उनीहरुले लिएका छन् । 

निर्वाचन अधिकृतद्वारा राजिनामा 

पूर्वअध्यक्षको दबाबमा अवैध कार्यसमितिलाई निर्वाचन मण्डलबाट जबरजस्ती अनुमोदन गराउन खोजिएपछि निर्वाचन अधिकृत दुई जनाले राजिनामा दिएका छन् ।

निर्वाचन अधिकृतद्वय अधिवक्ता नानीछोरी महर्जन, अधिवक्ता सागर सुवाः व्यञ्जनकारले दबाबका बीच काम गर्ने वातावरण नभएको भन्दै सभाहलबाट निस्किनुभएको हो । अधिकृत नानीछोरी महर्जनले दबाबका बीच निर्वाचनको विधि र प्रक्रिया अनुरुप काम गर्ने वातावरण नभएको, प्रस्तावित उम्मेदवारहरु समेत सभा हल वहिष्कार गरी फर्किसकेको, गणपुरक संख्या नपुगेको, मतदाता नामावली, उम्मेदवार मनोनयन लगायत निर्वाचन कार्यक्रम नगरी जबरजस्ती कार्यसमिति घोषणा गर्न नसकिने भन्दै लिखित रुपमा नै निर्वाचन अधिकृतबाट राजिनामा दिएका थिए ।

सदस्य टोलद्वारा वहिष्कार

बहुमतको भावना विपरीत पूर्वअध्यक्षहरुको गुटले नांगो हस्तक्षेप गरेपछि सभा वहिष्कार भन्दै विभिन्न टोलका अध्यक्ष र प्रतिनिधिहरु सभाहलबाट धमाधम बाहिर निस्किएका थिए । शुरुमा नटोलका अध्यक्ष एवं प्रतिनिधि कदमलाल महर्जन सभा वहिष्कार भन्दै बाहिरिए । त्यसक्रममा सन्तमान महर्जन पनि सभा वहिष्कार भन्दै सभाहलबाट निस्किनुभयो। त्यसपछि नोट अफ डिसेन्ट भन्दै हौगल टोलका प्रतिनिधि बाहिरिए। यतिकैमा च्यासल, तःननी लगायत विभिन्न सदस्य टोलका नाईके र प्रतिनिधिहरु बाहिरिएका थिए। कार्यसमितिमा दोह¥याएर राखिएका पदाधिकारी पनि सभा हलबाट निस्किएका थिए । 

सबैतिरबाट भत्र्सना

समाजका पूर्वअध्यक्षहरुको नांगो हस्तक्षेपका कारण समाजको एकताको भावनामा चिरैचिरा प¥यो भन्दै विभिन्न टोलका सचेत प्रतिनिधिहरुले असन्तुष्टि पोखेका छन् । उनीहरुले व्यक्ति विशेषको राजनीतिक र आर्थिक स्वार्थको लागि पूर्वअध्यक्षको हठ र अनेक छलले समाजको परम्परामाथि ठाडो प्रहार गरी राजनीतिक रुपमा विभाजन गर्न खोजिएको भन्दै सो कदमको निन्दा गरेका छन् । उनीहरुले असोज १५ गतेको रात समाजको इतिहासकै कालो रातोको संज्ञा दिएका छन् ।

 

 

सामाजिक क्षेत्रमा क्रियाशील सञ्चारकर्मी बज्राचार्यलाई पितृशोक

Swoniga Online | २०७८ आश्विन ३, आइतबार वर्गीकृत

स्वनिगः अनलाईन, ललितपुर ।

झन्डै अढाई दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील एवं सञ्चारकर्मी राजेश बज्राचार्यलाई पितृशोक परेको छ । उहाँका पिता सोमनरसिंह बज्राचार्यको शनिबार राति निधन भएको छ ।

 बज्राचार्यको ७९ वर्षको उमेरमा निधन भएको हो। छातीमा समस्या आएपछि उहाँलाई शनिबार साँझ पाटन अस्पतालमा भर्ना गरिएको थियो। स्वर्गीय बज्राचार्य २०३७ सालको जनमतसंग्रहपछि भएको स्थानीय निकायको निर्वाचनमा साविकको ललितपुर नगर पञ्चायत– १७ को वडाअध्यक्ष समेत हुनुहुन्थ्यो। हाल यशोधर महाविहार बुबहालका १० जना आजु  ‘ज्येष्ठ ’ मध्ये एक रहनुभएका स्वर्गीय बज्राचार्य आफ्नो मनमा लागेको कुरो स्पष्टसंग राख्ने र सामाजिक भावना भएका व्यक्ति रुपमा रहेको पूर्वमन्त्री एवं ललितपुर उपमहानगरपालिकाका पूर्वमेयर बुद्धिराज बज्राचार्य स्मरण गर्नुहुन्छ ।

 स्वर्गीय बज्राचार्यको ललितपुरको विष्णुदेवी (यपा)मा  नेवारी परम्परा अनुसार आईतबार दाहसंस्कार गरियो। उहाँका जेष्ठ सुपुत्र लेखनरसिंह बज्राचार्यले उहाँको पार्थिव शरीरमा दागबती दिनुभएको थियो। यस अघि वाग्मती प्रदेशका सांसद शोभा शाक्य, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, गुठी संस्थानका प्रमुख प्रशासक किरण शाक्य, ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य, लगायत सञ्चारकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवीहरु विष्णुदेवीस्थित घाटमा पुगेर स्वर्गीय बज्राचार्यप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 स्वर्गीय बज्राचार्यका पत्नी नानीमाया बज्राचार्य सहित छोरा अष्ट्रनरसिंह  बज्राचार्य, छोरी पूर्णदेवी बज्राचार्यसहित तीन छोरा एक छोरी रहेका छन् ।कान्छा पुत्र बज्राचार्य राष्ट्रिय युवा महासंघ ललितपुरका पूर्वअध्यक्ष, नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरका पूर्व सचिव, पाटन सामुदायिक पुनःस्थापना केन्द्रका पूर्व कार्यसमिति सदस्य, रोट्रयाक्ट क्लब अफ यलका पूर्वअध्यक्ष, मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रका सचिव समेत रहनुभएको छ ।

 

 

भक्तपुरका निवा शाक्यहरुको ४सय बर्षअघिको इतिहास सम्बन्धी लेखेको पुस्तक विमोचन

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ भाद्र २७, आइतबार वर्गीकृत

भक्तपुर दरवार क्षेत्रमा रहेको सुनकोे ढोका (लुंःध्वाका) बनाउने ‘निवा’ शाक्यहरुको ईतिहास समेतेर नेपाल भाषामा लेखेको “ख्यपया ‘निवा’ शाक्यतयेगु इतिहास” नामक पुस्तक आज बिमोेचन गरेको छ । भक्तपुरको चारसय बर्ष अघिको इतिहास समेटिएको पुस्तक प्राध्यपक सूवर्ण शाक्यले बिमोचन गर्नुभएको हो । विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रा. सूर्वण शाक्यले काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेका निावा शाक्यहरुको इतिहासका बारेमा बोल्दै यो पुस्तकले  निवा शाक्यहरुको बारेमा धेरै जानरीदिने पनि बताउनु भयो । पुस्तक भक्तपुरको खौमा निवासी आरती गुठी निवा संघका नायो (अध्यक्ष) संघरत्न शाक्यले लेख्नु भएको हो । 

पुस्तकमा भक्तपुरको चारसय बर्षहघिको इतिहास रहेको लेखक शाक्यले जानकारी दिनु भयो । उहाँले सो पुस्तकमा भक्तपुरको बिश्व प्रसिद्ध लुंःध्वाका, (स्वर्णद्धार) ङाताःपोल्हँको गजुर लगायत बिभिन्न मुर्तिहरुको निर्माणमा भक्तपुरका निवा शाक्यहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको विषयमा बिभिन्न प्रमाणको आधार पुस्तकमा समेटिएको लेखक शाक्यले बताउनु भयो ।

किताबमा शाक्य समुदायमा निवा शाक्य छ भने धेरैलाई थाहा नभएको हुनाले जानकारीको लागि यो किताव निकालेको लेखकका छोरा शाक्यन शाक्यले बताउनु भयो । वास्तवमा निवा भनेको शब्द के हो ? कस्तो ब्यक्तिलाई प्रयोग गरिन्छ ? उहाँले कहाँबाट आएको हो ? निवाहरुसँग भएको कला कौशल कस्तो हो ? भने बारे जान चाहनेहरुको लागि यो कितावले धेरै सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा अतिथिहरु त्रिरत्न शाक्य, प्रा.सिद्धिरत्न शाक्य, साहित्यकार तिलक प्रकाश कायस्थ, वौद्ध विद्वान रत्नसुन्दर शाक्यलगायतले पुस्तकबारे चर्चा गरेको थिए ।अतिथिहरुले पुस्तकले भक्तपुरमा रहेका लुकेका इतिहास उजागर गर्न र राजामहाराजाहरुको (सिलान्यस गर्ने र उद्घाटन गर्ने)हरुको मात्र नभइ बास्तविक कामदारहरुको समेत इतिहासबारे बुझ्न सघाउ पुर्याउने भन्दै सो पुस्तक महत्वपूर्ण रहेको चर्चा गरेका थिए ।

आरती गुठी निवा संघले प्रकाशन गरेको सो पुस्तकमा मल्लकालीन राजा विश्वमल्लदेखि रणजीत मल्लसम्मको इतिहास समेटिएको गुठीको छ।

समाजसेवी अजरमान जोशीलाई मातृशोक

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ भाद्र २७, आइतबार वर्गीकृत

समाजसेवी एवं ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीलाई मातृशोक परेको छ ।

उहाँकी आमा रमादेवी जोशीको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो।स्वर्गीय जोशी उच्चरक्त चाप र मधुमेहले गर्दा सामान्य बिरामी हुनुहुन्थ्यो।

जोशीको पार्थिव शरीरलाई दिउँसो पशुपतिस्थित आर्यघाटमा धार्मिक विधिपूर्वक दाहसंस्कार गरियो।

स्वर्गीय जोशीको पार्थिव शरीरमा उहाँका कान्छो छोरा अमरेश जोशीले दागबती दिनुभएको थियो।स्वर्गीय जोशीका पति अमरमान जोशी र छोेरा अजरमान जोशी, अरुमान जोशी गरी तीन छोरा रहेका छन्।

वन्दे फल्चा शिलान्यास

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र २५, शुक्रबार वर्गीकृत

काठमाडौँ महानगरपालिका वडा १२ मा वन्दे फल्चा (पाटी) शिलान्यास भएको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष विकास डंगोलले फल्चा निर्माण हुने ठाउँको भूमिपुजन गर्नुभएको थियो । भूमिपुजन पछि प्रमुख शाक्यले शिलान्यास गर्नुभएको थियो।

भ्याटसहित १८ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने फल्चा आउँदो २ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । फल्चा २७ फिट ४ इञ्च लम्बाई, ६ फिट ४ इन्च चौडाई र १४ फिट उचाइको हुनेछ।

शिलान्यासपछि सम्पदा पुननिर्माणको कार्यक्रममा महानगर कहाँ पुगेको छ? प्रश्नको उत्तरमा प्रतिक्रिया दिँदै प्रमुख शाक्यले, महानगरमा माग भएर आएका विवाद नभएका सबै सम्पदा निर्माण र पुननिर्माणको क्रममा रहेको बताउनुभयो । भूकम्पले जीर्ण भएका र समय समयमा मर्मत गर्नुपर्ने संरचनालाई बचाउन गुठीयार, समुदाय र सरोकारवालासँग समन्वय गरेर लगानी गरिरहेका छौँ ।

पहिले समुदायले बचाएका सम्पदालाई राज्यकोतर्फबाट सहभागिता जनाएका छौँ। हामीले भनिरहेका छौँ । सम्पदाको बचावटका लागि केही गर्नुपर्ने भए निर्धक्क योजना माग लिएर आउनोस् । हामी पुननिर्माण तथा मर्मत गरेर संरक्षण तथा उपभोगका लागि समुदायलाई नै जिम्मा लगाउँछौँ । प्रमुख शाक्यको भनाइ थियो।

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, काठमाडौँको पहिचान नै सम्पदा क्षेत्र भएकोले यसको लगानीमा नडराउने बताउनुभयो। सांस्कृतिक संरचना सामाजिक सद्भावका केन्द्र पनि हुन् । यसको महत्व फल्चा हेर्दा सानो योजना जस्तो लाग्छ। तर सांस्कृतिक कोणबाट यसको ठूलो महत्व छ । वडाध्यक्ष विकास डंगोलले, फल्चा पुननिर्माण भइसकेपछि पाका मानिसहरुको वन्देमा चहलपहल बढ्ने अपेक्षा गर्नुभयो।

नवयुग मा. वि. मा कम्प्युटर ल्याव शुभारम्भ

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ भाद्र २१, सोमबार वर्गीकृत

आजबाट नवयुग माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनमा आएको छ। काठमाडौँ महानगरको वडा २१ मा रहेको विद्यालयमा प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलभक्त शाक्यलाई डेक्सटप कम्प्युटर र प्रधानाध्यापक चुडामणि शर्मालाई ल्यापटप हस्तान्तरण गरेर ल्याब शुभारम्भ गर्नुभएको हो।

त्यस अवसरमा बोल्दै प्रमुख शाक्यले सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले माग भएबमोजिमको लगानी बढाएको उल्लेख गर्नुभयो । ‘हामी मागअनुसारका संरचना बनाइदिन्छौँ। प्रविधि र प्राविधिक सुविधा उपलब्ध गराउँछौँ । उच्चस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति बनाइदिन्छौँ। तर विद्यालयले प्रतिफल दिनुपर्छ । मैले भन्दै आएको छु, हामी संस्थागत विद्यालय विस्थापनको कुरा गर्दै छैनौँ तर प्रतिस्पर्धा गछौँ ।’ उहाँले विद्यार्थी संख्याको प्रसङ्ग जोड्दै भन्नुभयो, ‘निःशुल्क शिक्षा दिन्छौँ भन्ने सामुदायिक विद्यालयमा विद्यार्थी नहुनु र शुल्क लिएर अध्यापन गराउने संस्थागत विद्यालयमा विद्यार्थीको संख्या किन धेरै हुन्छ । अव समीक्षा गर्नुपर्छ र सामुदायिक विद्यालयले आफूलाई प्रतिस्पर्धी बनाउनुपर्छ।’

महानगरले शिक्षामा गरेको लगानीको विषय उल्लेख गर्दै प्रमुख शाक्यले, विद्यालयलाई वातावरणमैत्री बनाउन हरियाली बढाउने, खेल मैदानलाई धुलोमुक्त बनाउने, सबै सामुदायिक विद्यालयमा  एउटै रङ्ग लगाउने, महावाणी, भित्तेलेखन र भित्ते चित्र बनाउनेजस्ता संरचनागत काम गरेका छौँ। उहाँले प्राविधिक शिक्षाको कुरा गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) स्थापना गरिएको बताउनुभयो । यसबाट सामुदायिक विद्यालयको सार्वजनिक छविमा सुधार हुँदै आएको बताउनुभयो।

कार्यक्रममा वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले शिक्षकहरुलाई प्रविधिमैत्री बन्न आग्रह गर्नुभयो । हामी सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउँदैछौँ । यदि शिक्षक प्रविधिमैत्री भएनन् भने पूर्वाधारले प्रतिफल दिन सक्दैन। त्यसैले शिक्षकहरु समयानुसार रुपान्तरण हुनुपर्छ, वडाध्यक्ष बज्राचार्यको भनाइ थियो।

विद्यालय शिक्षामा महानगरले लगानी बढाएपछि विद्यार्थी संख्या बढ्न थालेको छ। विद्यालय प्रशासन र शिक्षकहरुमा नयाँ उत्साह थपिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाक्यले भन्नुभयो, सामुदायिक विद्यालयहरुले अब आफूलाई अब्बल भएको पुष्टि गर्ने बेला आएको धारणा राख्नुभयो।

विद्यालय शिक्षा महानगरमा आएपछि हामी उत्साहित भएका छौँ । महानगरसँग आफ्ना आवश्यकता सुनाउन पाएका छौँ। विद्यालयका प्रधानाध्यापक शर्माले, माग गरिएका सुविधा पाएपछि अभिभावक सँगै रहेको अनुभूति भएको बताउनुभयो । उहाँकाअनुसार आज शुभारम्भ गरिएको ल्याबमा ८ वडा डेक्सटप, एउटा ल्यापटप र एउटा ट्वाब छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त ६ लाख ५० हजार रुपैयाँबाट यी उपकरण खरिद गरिएका हुन्।

२०१५ सालमा स्थापना भएको यो विद्यालय नमूना विद्यालयका लागि छनौट भएको छ । यस विद्यालयमा करीब २ सय विद्यार्थी छन्।

Pages