बेस्ट एक्टरले गरे रूद्री पाठ
Swoniga Online – Biraj | २०७८ भाद्र २०, आइतबार वर्गीकृत
केही दिन अघि मात्रै अमेरिकामा सम्पन्न नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव एवम् अवार्ड कार्यक्रममा बेस्ट एक्टर विधामा अवार्ड जितेका सुशील राजोपाध्यायले काठमाडौंमा रूद्री पाठ गरेका छन् ।
नेपालभाषाको चलचित्र जामनः गुभाःजुबाट बेस्ट एक्टरको साथमा बेस्ट स्क्रीनप्लेको अवार्डसमेत जितेका राजोपाध्यायले राजोपाध्याय समाजले आयोजना गरेको पञ्चाभिषेक रूद्री कार्यक्रममा पाठ गरेका हुन् ।
समाजले मासिक रूपमा गर्दै आएको कार्यक्रम अन्तर्गत शनिबार सम्पन्न कार्यक्रममा सुशील राजोपाध्यायसहित ५ जना देव ब्राम्हणहरुले रूद्री पाठ गरेका थिए ।
महादेवको पाँचवटा मुखलाई अभिषेक गर्दै पाँचै जना ब्राम्हणबाट रूद्री पाठ गर्ने गरिएको समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनुभयो ।
काठमाडौंमा रूद्री पाठ भइरहेकै समयमा ललितपुर र भक्तपुरमा पनि पाठ गरिएको थियो ।
काठमाडौंमा सानो पशुपति समेत भनिने मखनस्थित महिन्द्रेश्वर महादेवस्थानमा रूद्री पाठ गरिएको थियो । त्यस्तै ललितपुरमा मंगलबजारस्थित विश्वनाथ महादेवस्थानमा र भक्तपुरमा टौमढीस्थित तिलेश्वर महादेवस्थानमा रूद्री पाठ गरिएको थियो ।
समाजले कोरोना महामारीबाट मुक्ति र समग्र मानव समाजकै सुस्वास्थ्यको कामना गर्दै मासिक रुपमा उपत्यकाका तीनै शहरमा एकै दिन एकै समय पारेर पञ्चाभिषेक रूद्री कार्यक्रम गर्दै आएको छ ।
राजोपाध्याय समाज उपत्यकाका आदिवासी ब्राम्हण समुदायको रूपमा परिचित राजोपाध्याय देव ब्राम्हणहरुको छाता संगठन हो ।
ललितपुरको मेयरले कुरो घुमाएकोमा गृहसचिवको आपत्ति
Swoniga Online | २०७८ भाद्र १९, शनिबार वर्गीकृत
स्वनिगः अनलाईन, ललितपुर ।
गृह सचिव टेकनारायण पाण्डेले पुल्चोकस्थित समय फल्चाको बारेमा आफ्नो भनाईलाई मेयर चिरिबाबु महर्जनले बग्याएर प्रस्तुत गर्नुभएको स्पष्ट पार्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमा बोल्दै गृह सचिव पाण्डले भन्नुभयो ‘ मेयरले समय फल्चाको विषयमा बोलेको मैले युट्बमा सुने । समय फल्चा बनाउन मैले पनि स्वीकृति दिएको भनेर मेयरले भन्नुभएको रहेछ । मैले भन्दै नभनेको कुरालाई उहाँले भनेको हो भनेर बोल्नुभएको रहेछ । ’
अस्ति मेयरले समय फल्चा बनाउने भनि मसंग कुरा गर्दा मैले भनेको थिए ‘फल्चा बनाउन स्थानीय सहमति जुटाउनुहोस् । समय फल्चा पहिला कुन ठाउँमा थियो ? अहिले त्यहाँ खाली जग्गा छ कि छैन ? आवत जावतमा वा कसैलाई असर पर्छ कि पर्दैन् ? सबै पक्ष बुझेर अघि बढ्नु भनि मैले मेयरलाई भनेको थिए । ’ गृह सचिव पाण्डेले भन्नुभयो ‘ तर मेयरले दुई सय वर्ष पहिला फल्चा थियो भनेर पुरानै फोटो देखाएर फल्चा बनाउने भन्नुभयो । अहिले फल्चा बनाउन मैले पनि स्वीकृति दिएको छु भनेर स्थानीय जनताको बीचमा गएर मेयरले भन्नुभएको थाहा पाए । ’
समय फल्चा पुनःनिर्माणको शिलान्यास भदौं ३ गते तोकिएको थियो । त्यसको एकदिन अघि जिल्ला अदालत ललितपुरको अन्तरकालीन आदेशले गर्दा शिलान्यास रोकिएको थियो। सोही क्रममा मेयर महर्जनले गृह सचिव पाण्डेलाई साविकको पाटी रहेको फोटो देखाएको उल्लेख गर्दै भन्नुभयो ‘ फोटो देखाएर मैले भने, ल सचिवज्यू कुरो यही हो । सिडियो कार्यालले रोक्का गरेको छ । कुरो यो हो, अब त्यो पाटी बनाउने कि नबनाउने ?।उहाँले फोटो यसो हेर्नु भो । अंग्रेजीमा भनिन्छ नि । तस्वीरले हजार शब्द भन्दा बोलेको हुन्छ । गृह सचिवले सो फोटो हेरेर कुरै सिद्धियो नि, भो मेयर साहेब भनेर भन्नुभयो। त्यसपछि त्यहाँ अगाडि रहेको फोन टिपेर गृहसचिवले सिडियो साहेब लाई फोन गरेर ए ललितपुरको सिडियो साहेब, तपाईले रोकेको पार्टी बनाउनु छ । फुकुवा गरिदिनुुस् भन्नुभयो ।’
गृह मन्त्रालयको जिम्मेवारी कहाँ कहाँ र कसरी जोडिएको हुन्छ भन्ने सन्दर्भमाको उदाहरण दिँदै गृह सचिवले शुरुमै सो भनाई राख्नुभएको थियो ।गृह सचिव पाण्डेले यस्तो भनिरहँदा प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहित जिल्लाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अपराध अनुसन्धानका नेतृत्व र कार्यालयका सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।
जनसेवा सामुदायिक केन्द्र भवन शिलान्यास
Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १७, बिहिबार वर्गीकृत
जनसेवा सामुदायिक केन्द्र र नव युवा क्लवको संयुक्त भवन शिलान्यास भएको छ । वडा २० को मरु छासपाक्वमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भवनका शिलान्यास गर्नुभएको हो ।
भवन निर्माणका लागि १ करोड ४४ लाख २७ हजार ३१० रुपैयाँ लागत अनुमान गरिएको थियो । खुल्ला प्रतिस्पर्धाबाट निर्माण पक्ष छनौट गर्दा सृजना गौत्तम कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. ले ८६ लाख ९८ हजार ३७८ रुपैयाँमा निर्माण कवोल सम्पन्न गर्ने कबोल गरेको छ । प्रतिस्पर्धामा आउनेमध्ये यो सबैभन्दा कम रकम हो ।
गएको असार २९ गते सम्झौता भएको भवन निर्माण कार्य साउन २६ गतेबाट सुरु भएको छ । भवन आउँदो बर्ष (०७९) साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।
शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले बर्दीसहितका र बर्दीविनाका प्रहरीको संयुक्त सहभागिताले मात्र समाजमा शान्ति सुरक्षा कायम हुन सक्ने बताउनुभयो । ‘शान्त र सुरक्षित समाज सबैको चाहना हो । यो चाहना पूरा गराउन नागरिक र प्रहरीको संयुक्त कार्यक्रम हुनुपर्छ ।’ प्रमुख शाक्यले, सहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग र सडक सुरक्षाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गरिरहेको उल्लेख गर्नुभयो।
ग्वफः टोलमा त्वाः छेँ शिलान्यास
Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १७, बिहिबार वर्गीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २१ ग्वफः टोलमा त्वाः छेँ (भवन) को शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यसको शिलान्यास गर्नुभयो ।
पैसा नभएर कुनै पनि परम्परागत सस्कार बन्द हुन दिँदैनौँ । समुदायले बचाइ राखेको संस्कारलाई पुस्तान्तरण गर्न हामीले राज्यकोतर्फबाट लागत सहभागिता बढाएका छौँ ।
शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भन्नुभयो, ‘सांस्कृतिक भौतिक संरचनालाई यथावत राख्ने, जीर्णलाई मर्मत सम्भार वा पुननिर्माण गर्ने र संस्कार जोगाउने समुदायलाई यसप्रतिको आकर्षणमा प्रोत्साहन गर्ने काम गरिरहेका छौँ ।
भौतिक संरचना बनाएर हामी समुदायलाई हस्तान्तरण गर्छौँ । यसको संरक्षण र उपयोग समुदायबाट हुन्छ ।’
त्यस क्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, वडा २१ सांस्कृतिक वडा भएकोले भौतिक अभौतिक सम्पदाका योजनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
यसको लागत ५८ लाख ५० हजार रुपैयाँ हो।
नामसंगीति पर्वकोको निरन्तरताको लागि ललितपुर– १६ वडाबाट ५ लाख रुपैयाँ हस्तान्तरण
Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १४, सोमबार वर्गीकृत
नामसंगीति पर्व निरन्तरताका लागि ललितपुर महानगरपालिका–१६ ले नेपाल परम्परागत बौद्ध धर्मसंघलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ ।
ललितपुरको नकबहीलस्थित पाटीमा नामसंगीति पाठसंगै वडाअध्यक्ष निर्मलरत्न शाक्य, वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्य, पञ्चबज्र बज्राचार्य र विजय महर्जनले संघका महासचिव दिनेश शाक्यसहित संघका पदाधिकारीलाई संयुक्त रुपमा ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । विशेष दिन र गुँला पर्व अवधिभर एकमहिना टोलटोलमा बसेर नामसंगीति पाठ गर्ने परम्परा रहेको छ । बौद्ध अध्येयताहरुका अनुसार सो परम्परा नेपालमा ११ औं शताब्दीदेखि चलेको थियो ।
सो अवसरमा वडाअध्यक्ष शाक्यले काठमाडौं उपत्यकाको नेवाः बौद्ध समाजमा प्रचलित आर्य मञ्जुश्री नामसंगीति पाठ एउटा अर्मूत संस्कृतिको रुपमा रहेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि वडाको तर्फबाट सहयोग स्वरुप रकम प्रदान गरिएको बताउनुभयो ।
संस्कृति, सम्पदा संरक्षणलाई वडाले निकै प्राथमिकतामा राखेको बताउँदै वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘गुठी, संघसंस्था, स्थानीय जनताले सयौं वर्षदेखि यसको संरक्षण गर्दै आएको छ ।उहाँहरुलाई प्रोत्साहित गर्नुपर्ने दायित्व महशुस गरी वडाले सहयोग गरेको हौं ।’
सो अवसरमा संघका महासचिव शाक्यले हरेक वर्ष चैत्र पूर्णिमाको दिन ललितपुरमा सञ्चालन हुने नामसंगीति पर्वको निरन्तरताको लागि सो रकमको अक्षय कोष खडा गर्ने बताउँदै भन्नुभयो ‘त्यसबाट आउने ब्याज सो पर्वका लागि खर्चिने छौं । ’ बज्रपाणी नामक बोधिसत्वको आग्रहमा शाक्यमुनि बुद्धले चैत्र पूर्णिमाका दिन धान्यकटक महाचैत्यमा बसेर नामसंगीति बारे देशना गर्नुभएको बज्रयानी बौद्ध ग्रन्थमा उल्लेख गरिएको छ । मायाजाल तन्त्रराज सुत्र अन्तर्गत राखिएको नामसंगीति बुद्धत्व ज्ञान प्राप्त गर्ने चित्त उत्पन्न गर्नका लागि एउटा पवित्र चर्याको रुपमा पाठ गर्ने गरिन्छ ।
यस अघि सो वडाले कार्तिक नाच सञ्चालनको लागि स्थापित अक्षय कोषमा १० लाख रुपैयाँ कार्तिक नाचमा देखाईने नरसिंह र वराह नाचको लागि मुकुट र जिवित देवी कुमारीको आसन हस्तान्तरण गरेको थियो ।
झीगु इच्छुमती पार्क र इच्छुमती कोरिडोर शुभारम्भ
Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १२, शनिबार वर्गीकृत
काठमाडौँ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा २८ मा झीगु इच्छुमती पार्क र प्रदेश सभा सदस्य केशव स्थापितले शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोर शुभारम्भ गर्नुभएको छ। पार्क महानगरले निर्माण गराएको हो भने कोरिडोर प्रदेश सभा सदस्य स्थापितको संसद कोषबाट निर्माण भएको हो। पार्कको लागत ३७ लाख ७० हजार हो भने कोरिडोरको करीब १ करोड ३८ लाख रुपैयाँ हो। कोरिडोर १ सय ४० मिटर लम्बाईको छ।
यी संरचनाको उद्घाटनपछि बोल्दै काठमाडौँ महानगरपालिका प्रमुख शाक्यले, एउटा वडामा कम्तीमा एउटा पार्क बनाउने नीतिअनुरुप सार्वजनिक जग्गा संरक्षण गरेर त्यहाँ पार्क बनाइरहेको उल्लेख गर्नुभयो। ‘बजेटको समस्या छैन। स्थानीयमा विवाद भएन भने जुनसुकै काम पनि सजिलै गर्न सकिन्छ । हामी टुकुचा नदीको दायाँवायाँ दुवैतिर हिँड्न मिल्ने बनाउँछौँ।’ शाक्यले विकास निर्माण र निर्माणमा विरोध गर्ने प्रवृत्तिमा कुरा गर्दै काम गर्न नदिने तर काम भएपछि जस लिन हानाथाप गर्ने चरित्र हावी हुँदै गएको उल्लेख गर्नुभयो।
वडा र वडासँग सिमाना जोडिएका क्षेत्रको विकासका सन्दर्भमा प्रमुख शाक्यले भन्नुभयो, रानीपोखरीको पहिलो चरणको काम सम्पन्न भएको छ। दोस्रो चरणमा शान्तिवाटिका विकास गर्दैछौँ। वडा १ मा कमलपोखरीको पहिलो चरणको काम सकिएको छ। यसमा दोस्रो चरणको काम हुँदैछ।
त्यस क्रममा प्रदेश सभा सदस्य स्थापितले, नदी किनारामा कोरिडोर बनाउन कसैसँग समन्वय गरिरहनु नपर्ने बताउनुभयो। टुकुचामा कोरिडोर निर्माण गर्दा समाज कल्याण परिषदले स्वामित्व माग गरेको सन्दर्भ उठाउँदै उहाँले भन्नुभयो, ‘महानगरको विकासका अवरोध गर्ने परिषदसँग समन्वय गर्ने होइन, सम्पत्ति महानगरले लिएर विघटनको कुरा उठाउनुपर्छ ।’ टुकुचामाथि घर बनाउनेहरुको घर भत्काउनु पर्छ । टुकुचा जहाँ जहाँ बगेको छ । त्यहाँ त्यहाँ कोरिडोर बनाउनुपर्छ । दरबारभित्र पनि कोरिडोर बनाउनुपर्छ ।’
धेरै जनतालाई सुविधा हुने काम गर्दा कसले के भन्ला भनेर बाटो कुर्नु नहुने स्थापितको भनाइ थियो । काम सुरु गरिहाल्ने हो । विरोध आयो भने पछि जवाफ दिँदै जानुपर्छ ।
पार्क निर्माण गर्ने क्रममा सार्वजनिक जग्गा पहिचान गरेर वडाले १० लाख रुपैयाँ खर्च गरेर पर्खाल लगाएको थियो । वडा २८ का अध्यक्ष भाइराम खड्गीले, भौतिक पूर्वाधार विकास विभागको डिजाइन र उपभोक्ता समितिहरुको सक्रियताबाट पार्क निर्माण भएको उल्लेख गर्नुभयो ।
पहिले टुकुचाको बाढी आउँदा यो ठाउँका घर भत्काउला जस्तो हुन्थ्यो । कार्यक्रममा वडा सदस्य देवेन्द्र खड्गीले वडाका कामका बारेमा चर्चा गर्दै तार व्यवस्थापनमा काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।
सरकारले बागमती, विष्णमतीसहित उपत्यकाका नदी सफाइ तथा व्यवस्थापनमा काम गरेको छ । कार्यक्रममा झीगु ईच्छुमती खल उपभोक्ता समितिका अध्यक्ष मदन तण्डुकारले, ठूला नदी आमा र ईच्छुमती नदी छोरी भएको उल्लेख गर्दै यसको बचावट र सुन्दरतामा काम गर्नुपर्ने बताउनुभयो ।
यी कामका लागि झीगु ईच्छुमती खल उपभोक्ता समिति, ईच्छुमती खोला व्यवस्थापन उपभोक्ता समिति र ईच्छुमती खोला संरक्षण मुल उपभोक्ता समितिले काम गरेका छन्।
कर नबुझाएको करदातालाई कर तिर्न आउनको पञ्चेबाजा बजाए
Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १०, बिहिबार वर्गीकृत
काठमाडौं महानगरपालिकाले कर नबुझाएको करदातालाई कर तिर्न आउनका लागि सूचना दिन नौलो तरिका अपनाएको छ ।
पत्रपत्रिकामा नाम निकाल्ने, संचारमाध्यममार्फत कर तिर्न आउन आग्रह गर्ने, पत्र काट्ने लगायतका तरिहकाहरु त चलि नै आएका परम्परागत तरिका भए ।
काठमाडौं महानगरपालिकाले भने आज घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकैमा पुगेर पञ्चेबाजा बजाएको छ ।
महिला सहकारीको टोलीले करदाताको ढोकैमा पुगेर पञ्चेबाजा बजाए र गीत गाउँदै कर तिर्न आउन अनुरोध गरे । कर तिर्न आउन भन्दै महिलाहरुले यस्तो गीत गाए ‘महिला बाजा नमान्नु भारी, कर तिर्दिए हुनेथ्यौँ आभारी ।’
कर नतिरे सेवा रोक्का गर्ने सूचना समेत टाँसेको छ । महानगरको राजस्व विभागले २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना टाँस गरेको हो ।
आज सूचना टाँस भएका व्यवसायहरुमा वडा १ को कान्तिपुर होटल, वडा १३ को होटल प्लाटिनियम, वडा १७ को ह्वाइट फिल स्कूल, २२ का रञ्जना टे«ड सेन्टर, केशा प्रपर्टीज प्रा. लि., आर. वी. कम्प्लेक्स र वडा ३१ को शिशु अर्याल रहेका छन् ।
करदाताकोमा पुगेपछि नगर प्रहरीको टोलीले भदौ २४ गतेभित्र राजस्व विभागमा सम्पर्क गर्न आउने सूचना पढेर सुनाएको थियो ।
यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति/व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति/व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।
राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार नाम सार्वजनिक भएका ७५ मध्ये अहिलेसम्ममा १० जनाले आंशिक रुपमा तिरेको २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी २० जनाले विवरणसहित कर बुझाउन आउने प्रतिवद्धता गरेका छन् । नाम सार्वजनिक भएका तर सम्पर्कमा नआउनेहरु सन्दर्भमा भदौ २४ देखि प्रचलित कानुनबमोजिमको कारवाही सुरु हुनेछ ।
ऐतिहासिक समय् फल्चा पुरानै स्वरुपमा बनाउन प्रदर्शन
Swoniga Online | २०७८ भाद्र ८, मंगलबार वर्गीकृत
सर्वोच्च अदालतको फैसलाको मर्म अनुरुप समय् फल्चा पहिलेकै स्थानमा पुरानै स्वरुपमा निर्माण गर्नुपर्ने माग राख्दै मंगलबार पुल्चोकमा सम्पदाप्रेमीहरुले प्रदर्शन गरेका छन् ।
सेभ नेपाः भ्याली, आदिवासी नेवाःजागरण अभियान यल र सानो पाईलाले प्रदर्शनका लागि संयुक्त रुपमा आहवान गरेका हुन् । सो प्रदर्शनमा उनीहरुले ‘समय् फल्चा जस्तो छ, त्यस्तै र जुन ठाउँमा छ , त्यही ठाउँमा निर्माण गर्नुपर्नेमा’ ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
स्थानीयले प्रदर्शनमा समय् फल्चा जुन ठाउँमा रहेको हो, त्यसको नक्सांकन गर्नुपर्ने, समय् फल्चा पुनःनिर्माण व्यक्तिगत स्वार्थले प्रेरित गर्न नहुने भनि नेपाल भाषा र नेपालीमा लेखिएको प्लेकार्ड बोकेर आएका थिए । सोही वडामा अवस्थित नत्वाः पलेस्वा पुखू“ (पोखरी) को पुनःजीवन दिनुपर्ने भनि पनि प्लेकार्ड बोकेर स्थानीयहरु आएका थिए ।
प्रदर्शनलाई सम्बोधन गर्दै अभियन्ता राजाराम तण्डुकारले समय् फल्चाको पुनःनिर्माणलाई राजनीतिक लाभ वा हानी र कसैको पक्ष वा विपक्षको रुपमा लिन नहुनमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘सर्वोच्चको फैसला अनुसार सम्पदा निर्माण हुनुपर्दछ । समय् फल्चासंगै यसै वडामा रहेको ऐतिहासिक पलेस्वा पुखूँलाई पुनःजीवन दिनुपर्दछ । महानगरपालिकाले ऐतिहासिक पलेस्वा पुखूँमा दिएको पार्किङ ठेक्का खारेज गर्नुपर्दछ ।’ तीन वर्ष अघि स्थानीयलाई पेलेर महानगरपालिकाले ऐतिहासिक पलेस्वा पुखूँमा बस पार्किङको लागि ठेक्का दिएको थियो ।
सर्वोच्वको २०६५ बैशाख १२ गतेको फैसलामा साविककै पार्टी पुनःनिर्माण गर्दा कसैले रोक्नुनपर्ने भनिएको थियो । प्राचीन स्मारक ऐन २०१३ बमोजिम पुरानै स्वरुपमा पार्टी निर्माण गर्दा नगर विकास मापदण्ड र सार्वजनिक सडक ऐन, २०१९ लागू नहुने पनि पनि फैसलामा भनिएको छ ।‘ यसै मर्म अनुरुप पुरानै स्वरुपमा अलिकति पनि दायाँबाया नहुने गरी समय् फल्चा पुनःनिर्माण गर्नुपर्दछ । ’ अभियन्ता तण्डुकारले भन्नुभयो ।
अशोक स्तुपसँगै सडक किनारमा ‘समय फल्चा’ रहेको ७५ वर्ष स्थानीय श्यामकृष्ण महर्जनले बताउनुभयो । सो फल्चा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा विशिष्ट उपयोग गरिन्थ्यो । मच्छिन्द्रनाथको रथ तान्न प्रयोग हुने ‘घमा’ राखिने लामो पाटी र अशोक स्तुपसँगैको नामसङ्गाती फल्चाको बीचमा समय फल्चा थियो, जहाँ रथयात्राका बेला ‘समयबजी’ खुवाउने गरिन्थ्यो । विसं २०२९ तिर भत्किएको यो फल्चा फेरि उठेन । २०३८ सालमा नापी नक्सा आउँदा त्यहाँको जनप्रतिनिधिले समय् फल्चा समेत उल्लेख गराएनन् । जसले गर्दा महानगरपालिकाबाट सहजै नक्सा पास फल्चा वरवर घर बनाउन थाले ।
मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित
Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र ८, मंगलबार वर्गीकृत
साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे ।
कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उनले भने,– ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुङाल’ पाठकलाई रोचक र घोचक कोसेली हो ।’ यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उनले औंल्याए ।
पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन् । उनले भनिन्,– ‘शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । यस्तै इतिहासकार डा. ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताए । उनले भने,– ‘साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ । अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।’ उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै ै आधुनिकता र परम्पराको समन्वयको खाँचो औंल्याएको बताए ।
कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताए । ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ’– उनले भने ।
मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उनको तेस्रो उपन्यास हो । उनी बौद्ध दर्शनका अध्येता हुन्।
आज नागपञ्चमी : घरघरमा नागको पूजा आराधना गरि मनाइँदै
Swoniga Online – Rosni | २०७८ श्रावण २९, शुक्रबार वर्गीकृत
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरि घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङ्गको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो
नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।
प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । दुवैले दुर्जनको नास गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।
पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।
आज काठमाण्डौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।
वैज्ञानिकरूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।


