एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको, प्रमुख विद्यासुन्दर शाक्य
Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण २५, सोमबार वर्गीकृत
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको बताएका छन् ।
उनले पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको स्मरण गराए । ‘पार्क निर्माणसँगै हामीले सम्पदा निर्माण, पुननिर्माणको अभियानलाई पनि प्राथमिकतामा राखेको छौँ,’ उनले भने, ‘बनाउने जिम्मा हामी लिन्छौँ, त्यसको व्यवस्थापन स्थानीयले गर्ने हो । हामी काठमाडौँ महानगरलाई सुन्दर बनाउने अभियानमा छौँ ।’
वडा नम्बर–५ को हाँडीगाउँमा आज नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताए । ‘कठमाडौँ महानगरपालिकाले एक वडा एक पार्कको नीति लिएको छ,’ शाक्यले भने, ‘नरबुद्ध पार्कको शिलान्यास त्यहि नीति अनुरुप नै हो ।प्रमुख शाक्यले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताए।
‘काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको छ,’ शाक्यले भने, ‘अहिलेसम्म करीब ७० वटा पार्क निर्माणको काम अघि बढेको छ । कुनै ठूला वडा छन्, कुनै साना वडा छन् कुनै सार्वजनिक जग्गा नभएका वडा पनि छन् । सार्वजनिक जग्गा धेरै भएका वडा पनि छन् । कुनै वडामा १०–१२ वटा पार्क पनि बनेका छन् । कुनै वडामा एउटा मात्रै भए पनि बनेको छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै वाग्मती प्रदेशका सांसद नारायण सिलवाले हाँडीगाउँदेखि कपन निलोपुलसम्मको क्षेत्रलाई पार्क हबको रुपमा विकास गर्ने योजनामा रहेको बताए । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिका पार्क निर्माण र हरियाली कायम गर्ने अभियानमा निरन्तर रहेको बताए।
करीब सात रोपनी क्षेत्रफलमा निर्माण हुन सो पार्कको लागत १ करोड ४८ लाख रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।पार्कमा कलात्मक डिजाइनका साना–ठूला गरी चारवटा ढोका रहने छन् भने आराम गर्नका लागि चौतारीसहितको छहारी रहने छ । त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौतारहरु पनि रहने छन् ।
पार्कमा हरियालीका लागि दुबोसहितका मैदान रहने भने १५ फिट गोलाइको फाउण्टेनसहितको पोखरी रहने छ । व्यायम र हिँडडुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ । वृद्धवृद्धा र अपाङ्गमैत्री पार्कमा अभय मुद्राको बुद्धको मुर्तिसमेत राख्ने योजना रहेको छ ।
वडाध्यक्ष रमेश डंगोलले भूमाफियाहरुले कब्जा गर्न आँटेको जग्गाको संरक्षण गर्दै पार्क निर्माणको काम अघि बढाउन पाउँदा खुशी लागेको बताए। कार्यक्रमलाई नरबुद्ध विहारका प्रमुख भिक्षु पुण्ण स्थविर भन्ते पञ्जारत्न स्थविरलगायतले पनि सम्वोधन गरेका थिए ।
हाम्रा सम्पदाको संरक्षण र प्रवर्धनका लागि हामी आफैँसँग पैसा छ, कसैसँग माग्नु पर्दैन — मेयर शाक्य
Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण २५, सोमबार वर्गीकृत
काठमाडौँ । इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई ‘इन्द्रजात्रा’ पुस्तक वितरण गरिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तक प्रदान गर्नुभएको हो ।
डा. अजय क्रान्ति शाक्य र सुरेश किरण मानन्धरको लेखन र सन्ध्या बज्राचार्यको सहलेखन रहेको यो पुस्तक सहरी योजना आयोगले प्रकाशनमा ल्याएको हो । ०७७ भदौमा १ हजार प्रति छापेर पुस्तकको पहिलो संस्करण तयार पारिएको थियो । यसलाई ०७७ मंसिर २९ गते २६ औँ महानगर दिवसको सन्दर्भ पारेर पहिलो पटक सार्वजनिक गरिएको थियो । पुस्तकमा जात्रा सञ्चालन हुने रुटलगायतका विषयमा रजिता शाक्य उदासका नक्साहरु र जात्राका सामाजिक, सांस्कृतिक पक्षमा स्व. एकाराम सिंहले कोर्नुभएका चित्र राखिएका छन् ।
पुस्तक वितरण गर्दै महानगरका प्रमुख शाक्यले, इन्द्रजात्राको व्यापकताका विषयमा कुरा गर्दै, राष्ट्रिय पर्वका रुपमा मनाइने जात्रालाई नेवार समुदायले सञ्चालन गरेको उल्लेख गर्नुभयो । जात्राको गरिमालाई अन्तरराष्ट्रियकरण गर्न महानगरले प्रयास गरिरहेको छ । शाक्यले भन्नुभयो, ‘०७६ सालमा महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुख र प्रतिनिधिलाई बोलाएर जात्राको अवलोकन गराएको थियो । त्यहाँ उहाँहरुले जात्राका प्रत्यक्ष क्रियाकलापमा आफूलाई सहभागी गराउनुभयो । त्यहाँका चालचलन श्पर्श गर्नुभो । महसुस गर्नु भो । अनेकथरी गतिविधि आफ्नै सुरमा एकतमासले चलिरहेको देख्नुभो । सामाजिक सद्भावका दृष्टिले यो उहाँहरुका लागि उदाहरण बन्यो ।’
जात्राको गरिमा उहाँहरुले आफ्नो परिवेशमा सुनाएका खवर आफूले प्राप्त गरिरहेको बताउँदै उहाँले, महामारीको अवस्था हेरेर अनुकुल भए यस बर्ष पनि भगिनी सहरका प्रमुख र प्रतिनिधिहरुलाई बोलाउने उल्लेख गर्नुभयो ।
त्यस अवसरमा मेयर शाक्यले, काठमाडौँका सबै वडाका जात्रा र पर्व सञ्चालन गर्न महानगरले आफ्नो दायित्वमा पर्ने काम गरेको उल्लेख गर्दै, मूर्त अमूर्त सम्पदा जोगाएर पर्यटन व्यवस्थापनसँग अन्तरसम्बन्धित बनाउने योजना कार्यान्वयनमा गुठीयारहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
त्यस क्रममा पुस्तकका लेखक तथा प्रदेश सभा सदस्य डा. अजय क्रान्ति शाक्यले, इन्द्रजात्रासँग सम्बन्धि व्यक्ति तथा सरोकारवालाहरुको भनाइलाई पहिलो तथ्य र शिलालेख, आलेख, ग्रन्थ तथा प्रकाशनहरुलाई दोस्रो तथ्यका रुपमा लिएर अनुसन्धानका प्रक्रियाबाट पुस्तक तयार पारिएको उल्लेख गर्नुभयो । हामीले इन्द्रजात्रालाई ३ सय बर्ष अघिको मान्दै आएका छौँ । तर, अनुसन्धानले यो पर्व वैदिक कालदेखि चल्दै आएको देखाउँछ । सिन्धुघाँटीको सभ्यतासँग यसका चालचलन मिल्दाजुल्दा छन् । डा. शाक्यले यसको ऐतिहासिकताका विषयमा थप्दै भन्नुभयो, ‘यसलाई काठमाडौँमा मनाइने भएकोले काठमाडौँसँग जोडेर बुझ्ने गरिन्छ । तर यो काठमाडौँभन्दा धेरै इन्द्रसँग सम्बन्धित पर्व हो । शुरुवात्देखि अहिलेसम्म इन्द्रध्वज उत्थानलाई मुल क्रियाकलाप मानेर विभिन्न सांस्कृतिक र सामाजिक पक्ष थपिँदै गएका हुन् ।’ उहाँकाअनुसार कुमारीको रथ तान्ने, विभिन्न तान्त्रिक नाचहरु देखाउने चलन करीव ३ सय बर्षदेखि चलेका हुन् भने जात्रालाई त्यस अघि नै मनाउने गरिन्थ्यो ।
महानगरले सांस्कृतिक चालचलन र सम्पदा बचाउन गरेका प्रयासका बारेमा चर्चा गर्दै उहाँले अनुसन्धानमा आधारित पुस्तक प्रकाशन गरेर सम्पदाको तथ्यगत अभिलेखीकरणको प्रशंशा गर्नुभयो ।
त्यस क्रममा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले, इन्द्रजात्राको प्राचीनताका विषयमा यस अघि हुने गरेका अड्कललाई पुस्तकले यथार्थ सूचना दिने विश्वाश व्यक्त गर्नुभयो । पर्वसँग सम्बन्धित चालचलनलाई व्यवस्थित गर्न तथा त्यसलाई सुधार गर्न पुस्तकले सहयोग गर्ने उहाँको भनाइ थियो ।
पुस्तकको परिचय खण्डमा मौलिक जात्राका रुपमा काठमाडौँ मनाइने जात्रा र काठमाडौँबाहिर भक्तपुर, ललितपुर, दोलखा, प्यांगा र विदेशमा मनाइने इन्द्रजात्राका विषयमा चर्चा गरिएको छ ।
इन्द्रजात्राको इतिहासका विषय उल्लेख गर्दै पुस्तकमा पूर्व वैदिक काल, वैदिक काल, पौराणिक काल, किराँत काल, लिच्छवीकाल, मल्ल काल, शाह काल र अहिलेको अभ्यासका विषयमा चर्चा गरिएको छ ।
इन्द्रजात्राका सांस्कृतिक पक्षहरु यःसिं थने, उपाकु बने, कुमारी, गणेश र भैरव छनौट तथा जात्रामा उहाँहरुको रथ यात्रा, हाथु हायेके, दागिं, इन्द्रद्य ब्वये, ग्वरा लगायत परम्पराका विषय समेटिएका छन् । जात्रासँग सम्बन्धित नाचहरुमा दीप्याखँ, लाखे, पुलुकिसी, सबःद्य, महाकाली प्याखँ, दश अवतार लगायतका विषयमा चर्चा गरिएको छ । यसै गरी लोप भएका दबू प्याखँ र खः प्याखंका विषयमा पनि चर्चा गरिएको छ ।
इन्द्रजात्रासँग सम्बन्धित गुठीयारहरु, यससँग राजनीतिक, सांस्कृतिक, सामाजिक सम्बन्ध, महानगरपालिका र जात्राको सम्बन्ध तथा यसलाई पर्यटन प्रवर्धनसँग जोड्न महानगरले गरेका प्रयास पनि पुस्तकमा समेटिएको छ ।
पर्वसँग सम्बन्धित चित्र, पर्व मनाउँदा फोटो पत्रकारहरुले खिचेका तस्विर र उपाकु मार्ग, क्वः नेयाः मार्ग, थः नेयाः मार्ग, दागिं र वौमत जाने मार्गको नक्सा राखिएको छ ।
पुस्तकले इन्द्रजात्रासँग सम्बन्धित तथ्यलाई अभिलेखीकरण र एकीकृत गर्ने प्रयास गरेको देखिन्छ ।
आजको पुस्तक वितरण कार्यक्रममा प्रदेश सभा सदस्य राजेश शाक्य, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनाल, शार्दुलजङ्ग गुल्मका गुल्मपति असीम श्रेष्ठसहित व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता थियो।
चाइनीज फाउन्डेसनबाट गोकर्णेश्वरमा ४२७ विद्यार्थीहरुलाई सहयोग
Swoniga Online – Bikesh Sharma | २०७८ जेठ २८, शुक्रबार वर्गीकृत
नेपालमा हाल निषेधाज्ञा जारी रहँदा निम्न आय भएका परिवारको लागि चाइनीज संस्था चाइना फाउन्डेसन फोर पभर्टि एलिभिएसनले सहयोग प्रदान गरेको छ । फाउन्डेसनले बिहिबार गोकर्णेश्वर नगरपालिकाका ४२७ जना विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको हो ।
फाउन्डेसनले सफा सुनौलो नेपालसँगको सहकार्यमा आपतकालीन समुदाय खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको हो ।
निषेधाज्ञाबाट प्रभावित भई समस्यामा परेका वागमती प्रदेशका विभिन्न चार वटा विद्यालयका ४२७ जना विद्यार्थीलाई दैनिक उपभोग्य खाद्यान्न प्रदान गरिएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित श्री खगेन्द्र माध्यामिक विद्यालय नारायणटारमा सम्पन्न कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुलाई दाल, चामल, तेल लगायतका दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले चाइनाबाट पाएको सहयोगले वर्तमान परिस्थितीमा महामारी नियन्त्रणका लागि अझ सशक्त ढङ्गले अघि बढ्न उत्साह दिएको बताउनुभयो ।
त्यस्तै गोकर्णेश्वर वडा नम्बर ६ का वडाध्यक्ष रमेश अर्यालले सबैलाई संयमित भई धैर्यताका साथ बसेर संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
फाउन्डेसनका नेपाल निर्देशक झाउ छियाङले नेपालको विभिन्न क्षेत्रमा निम्न आय भएका एक लाख बढि परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । निम्न आय भएका र दैनिक ज्याला मजदुरी गरी जीविका चलाउनुपर्ने परिवारलाई सहयोग गर्ने उद्देश्यसहित कार्यक्रम संचालन गरिएको झाउले बताउनुभयो ।
फाउन्डेसनले नेपालमा संक्रमणको पहिलो लहरमा पनि वागमती प्रदेशको साथै प्रदेश २ का विभिन्न स्थानमा विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको थियो । त्यस्तै विभिन्न अस्पताल तथा आइसोलेसनमा पनि विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आएको छ ।
छत्रपाटी अस्पतालमा अक्सिजन प्लान्ट राख्न पूर्व विद्यार्थीहरूकाे सहयोग
Swoniga Online – Bikesh Sharma | २०७८ जेठ २७, बिहिबार वर्गीकृत
काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सिद्धार्थ बनस्थली स्कूलका पूर्व विद्यार्थीहरुकाे समूहले आर्थिक सहयोग गरेका छन् ।
सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याच समूहले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
बुधवार अस्पताल परिसरमै पुगी पूर्व विद्यार्थीहरुले उक्त रकमको चेक अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरे।
सो अवसरमा अस्पतालका अध्यक्ष डा. श्रेष्ठले सहयोगको लागि कृतज्ञता पोख्दै संक्रमितलाई स्तरीय स्वास्थ्य सेवा दिन अस्पताल अहोरात्र खटिरहेको जानकारी गराउनुभयो ।
‘अत्याधुनिक प्रविधिसहितको आइसीयू, पोर्टबेल एक्सरे मेसीनसँगै विरामीलाई छरितो र स्तरीय सेवा दिन आवश्यक अत्याधुनिक मेसीन र प्रविधि यहाँ जडान गरेका छौं, अब अक्सिजनको समस्या नहोस् भनेर अक्सिजन प्लान्ट राख्न लागेका छौं’ श्रेष्ठको भनाई हो ।
विरामीलाई उपचारको साथमा खाना, औषधीसमेत निःशुक्ल उपलब्ध गराइएको श्रेष्ठले जानकारी गराउनुभयो ।
सिद्धार्थ वनस्थलीका पूर्व विद्यार्थीहरुको प्रतिनिधित्व गरेर बोल्दै दिपक जोशीले कोभिड महामारी नियन्त्रणका लागि महामारीको शुरुवाती दिनदेखि नै सहयोग गर्दै आएको जानकारी गराउनुभयो ।
पूर्व विद्यार्थी समूहबाट देशका विभिन्न स्थानमा सहयोग गर्दै आएकोमा त्यसैको निरन्तरताकै क्रममा डा. सोना श्रेष्ठ, डा. निरज श्रेष्ठ, डा. मिरु गुरुङ र डा. सपना श्रेष्ठको अगुवाईमा काठमाडौंको भित्री वस्ती क्षेत्रपाटी आइपुगेको जोशीले बताउनुभयो ।
कार्यक्रममा पूर्व विद्यार्थी समूहबाट दिपिन श्रेष्ठ, सरल प्रधान, निरन्जन श्रेष्ठ, सर्जु श्रेष्ठ, राजिव श्रेष्ठ, प्रमोद सुवाल र भुपेन्द्र श्रेष्ठलगायत पनि उपस्थित भएका थिए ।
चाइना फाउन्डेसनबाट १७ वडालाई अक्सिजन सिलिन्डर प्रदान
Swoniga Online – Biraj | २०७८ जेठ ९, आइतबार वर्गीकृत
काठमाडौं महानगरपालिका १७ वडा कार्यालयले क्षेत्रपाटीमा संचालन गरेको आइसोलेसनका लागी चाइनीज संस्थाले अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । चाइना फाउन्डेसन फर पभर्टी एलेभिएसनले आइसोलेसनका लागि २० वटा अक्सिजन सिलिण्डरको साथमा विभिन्न स्वास्थ्य सामग्री आज प्रदान गरेको हो ।
आज आइसोलेसन परिसरमै आयोजित कार्यक्रममा उक्त सामग्रीहरु हस्तान्तरण गरियो । फाउन्डेसनका कन्ट्रि डाइरेक्टर झाउ छि याङले सामग्रीहरु १७ वडाका वडाध्यक्ष नवीन मानन्धरलाई हस्तान्तरण गर्नुभयो । फाउन्डेसनले प्रति सिलिण्डर ४० लिटर क्षमताको २० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको हो । त्यस्तै फाउन्डेसनले २ सय थान पिपिई, एक सय थान फेसशिल्ड, एक हजार थान मास्क र २ थान निसंक्रमण मेशीन सहयोग प्रदान गरेको हो ।
सामग्री हस्तान्तरण गरेर लिँदै वडाध्यक्ष मानन्धरले अहिले देशमा महामारीको अवस्थामा चाइना फाउन्डेसनको यो सहयोगले आफुहरुलाई ठुलो हौसला मिलेको बताउनुभयो ।
‘महामारीलाई नियन्त्रणमा लिन सामूहिक प्रयासको खाँचो छ, हामी सबै मिलेर मात्रै यसलाई नियन्त्रणमा लिन सक्छौं । छिमेकी राष्ट्र चाइनाले हामीलाई दिएको यो सहयोगले महामारी नियन्त्रणका लागि अझ सशक्त ढङ्गले अघि बढ्न हामीलाई ठुलो हौसला मिलेको छ’ मानन्धरले भन्नुभयो ।
त्यसैगरी फाउन्डेसनका नेपाल निर्देशक झाउ छि याङले नेपालमा कोभिडको दोश्रो लहर आइरहँदा आफुहरुलाई पनि चिन्तित बनाएकोले महामारी नियन्त्रणका लागि सानो सहयोग गर्न खोजेको बताउनुभयो ।
‘यहाँ चिकित्सकहरुले संक्रमितको जीवन रक्षा गर्न गार्हो परिरहेको भनिरहँदा, अक्सिजनको अभाव भइरहेका लगायतका कुराहरु सुन्दा हामी चिन्तित बनेका छौं, विश्व महामारीलाई नियन्त्रणमा लिन अन्तरदेशीय सामूहिक प्रयास पनि हुनु जरुरी छ’ झाउले भने ।
फाउन्डेसनले आजै काठमाडौं महानगरपालिका वडा नम्बर १९ र वडा नम्बर २६ को आइसोलेसनको लागि पनि अक्सिजन सिलिण्डरसँगै विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
फाउन्डेसनले यस अघि पनि काठमाडौंका विभिन्न वडामा हात धुने स्टेशन स्थापना गर्नका साथै विपन्न परिवारका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
जेष्ठ नागरिक र विद्यार्थीको सम्मानसँगै ताम्रकार समाजको स्वर्ण जयन्ती मनाइयाे
Swoniga Online – Swonigaonline Reporter | २०७८ बैशाख ६, सोमबार वर्गीकृत
ताम्रकार समाजले आफेनो स्वर्ण जयन्तीको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट ताम्रकार समाज भवन जावलाखेलमा स्वर्ण जयन्तीको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले नेवाः मुद्दा र आन्दोलनलाई सशक्त बनाउन ताम्रकार समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । ताम्रकारले मातृभाषाको संरक्षण बिना पहिचान बचाउन नसकिनेमा जोड दिँदै आजका विद्यार्थी मातृभाषाको रक्षाका लागि अग्रसर हुनुपर्ने विचार राख्नुभयो ।
समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले कोरोना भाईरस संक्रमण जोखिमको अवस्थाका कारणसमाजया स्वर्ण जयन्ती भव्य रुपमा मनाउन नसकिएको जानकारी गराउनुभयो । भाषा, कला, संस्कृति, सम्पदाको संरक्षण सम्बद्र्धनमा समाज लागिपरेको र निरन्तर लागिरहने प्रतिवद्धता ताम्रकारले व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा समाजबाट पास्नी सम्पन्न भइसकेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । देय् दबूकका अध्यक्ष र समाजका अध्यक्ष ताम्रकारद्वयले सम्मानित जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभयो ।
त्यस्तै, समाजबाट एस.ई.ई, उच्च मावि, स्नातक, स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई पनि ट्रफि र कदरपत्रको साथै नगदसहित सम्मान गरिएको थियो ।
पत्रकार दबूको साधारण सभामा ५ पत्रकारको साथमा संचार गृह समेत सम्मानित
Swoniga Online – विकेश राज शर्मा | २०७७ चैत्र २०, शुक्रबार वर्गीकृत
मातृभाषा पत्रकारिताको विकासमा योगदान दिनुका साथै विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने नेवाः पत्रकारहरुको साथमा एक संचार गृहसमेत सम्मानित भएको छ । मध्यपुर थिमिमा आज भएको नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकारहरुको साथमा एक टेलिभिजन च्यानललाई पनि सम्मान गरिएको हो ।
सभामा जनआस्थामा प्रवन्ध सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई २० हजार राशीसहितको ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरियो । नागरिककर्मी पत्रकार कृष्ण किसीलाई रु. १५ हजार राशीसहित ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
त्यस्तै फोटो पत्रकारितामा सक्रिय महिला फोटो पत्रकार रेखा शाक्यलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । उक्त पुरस्कारको राशी रु. १० हजार रहेको छ ।
बुद्ध धर्मसम्वन्धी शिक्षा र सन्देश प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजन भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बोधि टेलिभिजनका कार्यकारी निर्माताले राजु नापितले बोधि टेलिभिजनको प्रतिनिधित्व गर्दै रु. १२ हजार राशीसहितको उक्त पुरस्कार ग्रहण गर्नुभयो ।
उत्तरी र दक्षिणी दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गरी वर्ल्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल पहिलो र हालसम्म एक मात्र महिला पत्रकार कल्पना महर्जनलाई पनि सोही कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो । नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सदस्यमा मनोनित नमस्ते टेलिभिजनकर्मी ऋषिकेश श्रेष्ठलाई बधाईसहित सम्मान गरिएको थियो ।
सम्मानित सबैलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले दोसल्ला ओढाउनुभयो भने वागमती प्रदेशका सांसद राजेश शाक्यले सम्मान पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै वागतमी प्रदेश सांसद शाक्यले पत्रकारिता क्षेत्रमा मोफसलका पत्रकारहरु सक्रिय रहेको बताउँदै शाक्यले उहाँहरुलाई काठमाडौं उपत्यकाको जानकारी दिनुपर्ने सुझाव राख्नुभयो । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना महामारीलाई ध्यानमा राखेर सचेत रहँदै स्वास्थ्य मापदण्डको पालना गर्दै जात्रापर्व लगायतका संस्कृति अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारको रुपमा स्थापित गर्न प्रेस काउन्सिलले पत्रकार दबूसँग सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने घोषणा गर्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङले नेपाली पत्रकारलाई सबभन्दा पहिले संगठित गर्ने अग्रज पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ, पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्नुभयो । नेपाल पत्रकार महासंघको तर्फबाट बोल्दै गोविन्द चौलागाईँले महासंघ समावेशी पत्रकारिताको पक्षधर भएको जिकिर गर्नुभयो ।
राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, नेवाः देय दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्रकार, पत्रकार दबूया निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन लगायतले भाषिक, जातीय र लैङ्गिक समानता र समावेशीको लागि भाषिक, जातीय संघसंस्था एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
पत्रकार दबूका केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यले सत्य नारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघका संस्थापकको रुपमा मान्यता दिलाउन भाषिक संघसंस्थाबाट सहयोग हुने अपेक्षा राख्नुभयो । दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दबूले पहिलो पटक मातृभाषा पत्रकारिताको सम्मलेन गरेको स्मरण गर्दै अब राष्ट्रिय सम्मेलनको योजना रहेको जानकारी गराउनुभयो ।
दबूका केन्द्रीय महासचिव सुनील महर्जनले सबैको सामूहिक प्रयासले पत्रकार दबू अहिले संस्थागत रुपमा बलियो बनिसकेको दावी गर्नुभयो । कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेवाः पत्रकारको हकहितका लागि ५ लाखको लक्ष्य लिइ स्थापना गरेको अक्षय कोषमा हाल १६ लाख रुपैयाँ पुगेको तर त्यो रकम पनि अपुग देखिएको अनुभव बाँड्दै कोषलाई ५० लाख पुर्याउने लक्ष्यसहित अघि बढेको बताउनुभयो ।
सोही कार्यक्रममा वागमती प्रदेशका सांसद शाक्य र मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले संयुक्तरुपमा पत्रकार दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन गर्नुभएको थियो । सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले पठाउनुभएको शुभकामना सन्देश दबूका सचिव केके मानन्धरले वाचन गरी सुनाउनुभएको थियो ।
सभाको बन्द सत्रले महासचिव महर्जनले प्रस्तुत गर्नुभएको वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मत पारित गरेको छ ।
पत्रकार दबू चितवन शाखाको चौथो साधरणसभा सम्पन्न
Swoniga Online – Birajkaji Rajopadhyaya | २०७७ चैत्र ११, बुधबार वर्गीकृत
नेवाः पत्रकार राष्ट्रिय दबू चितवन शाखाको चौथो साधरणसभा सम्पन्न भएको छ । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गर्दै दबूको साधरणसभा सम्पन्न भएको हो ।
साधरणसभाको उद्घाटन शत्रमा बोल्दै पत्रकार राष्ट्रिय दबूका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले दबूले सदैव पत्रकारिताको हितको लागि काम गरिरहेको बताए । पत्रकारको सर्वाङ्गिण विकासको साथै हक अधिकारको प्राप्तिको लागि पत्रकार दबू सधैं क्रियाशिल रहने उपाध्यक्ष श्रेष्ठको भनाई थियो । यस्तै केन्द्रका महासचिव सुनिल महर्जनले राज्यले भाषा संस्कृतिमा प्रहार गरेको बताउँदै पत्रकारितामार्फत निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले नेवारहरुको भाषा सस्कृति, र रहनसहन बारे सबैलाई जानकारी दिन पत्रकारितामार्फत उजागर गर्दै अघि बढ्नुपर्ने बताए । यस्तै क्रियाशील महिला पत्रकार मन्च चितवनका अध्यक्ष प्रमिता ढकालले महिला नेतृत्वलाई कोटाको रुपमा मात्रै नभएर क्षमता र दक्षताको आधारमा मूल्याङ्कन गर्नूपर्ने बताइन् । पत्रकार दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठले चितवनका नेवाः पत्रकारहरु संगठित भएर एक अर्काबीच अन्तरक्रियात्मक सम्वन्ध कायम गर्दै पत्रकारिता क्षेत्रको वृहत्तर हितमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार दबूका केन्द्रिय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्दिय सदस्य राजु चौधरी ,थारु पत्रकार महासंघका महासचिव सन्त कुमार चौधरी, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सूर्य प्रसाद अधिकारी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, थारु पत्रकार संघ चितवनका अध्यक्ष सुमित्रा महत्तो , प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, नेपाल आदिवासी महासंघ चितवनका सचिव महेन्द्र दुरा , नेवा पुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान् शाक्य लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
गायक रमेश ताम्राकारलाई सम्झिँदै विश्व नेवाः दिवस मनाइने
Swoniga Online – Birajkaji Rajopadhyaya | २०७७ चैत्र १०, मंगलबार वर्गीकृत
यस वर्षको विश्व नेवाः दिवस स्वर्गीय गायक रमेश ताम्राकारलाई सम्झिँदै मनाइने भएको छ ।
वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सम्मानको साथै विभिन्न कार्यक्रमका साथ चौथो विश्व नेवाः दिवस मनाउन लागिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेपालमा हुने समारोहमा पहिलो पटक गायक ताम्राकारको सम्झनामा स्थापित नगदसहितको पुरस्कार पनि प्रदान गरिने जानकारी गराइएको छ ।
अर्गनाइजेसनको नेपाल च्याप्टरका कोषाध्यक्ष साथै चौथो नेवाः दिवस समारोह समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले दिवसको अवसरमा आउँदो चैत्र १४ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा शनिबार वसन्तपुरमा विभिन्न सम्मानको साथै बहस कार्यक्रमहरु पनि गर्दै दिवस मनाउन लागेको जानकारी दिनुभयो ।
समारोहमा नेवार समाज र नेपालभाषाको विकासका लागि विशेष योगदान दिनु हुने आठ जना विशिष्ट व्यक्तित्वहरु र संंस्थालाई सम्मान गरिने जानकारी पनि श्रेष्ठले दिनुभयो ।
‘दुवै मोहडाबाट सगरमाथा आरोहण गर्दै वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल महिला पत्रकार कल्पना महर्जनलाई पनि नगद सहित सम्मान गर्न लागेका छौं, साथै नेवाः पत्रकार राष्ट्रिय दबूलाई संस्थागत सम्मान दिइनेछ’ संयोजक श्रेष्ठले भने ।

दिवसको अवसरमा नेवारहरु वर्तमान अवस्थामा कसरी अगाडि बढ्नु आवश्यक छ भन्ने विषयमा ‘हलिं नेवाः : चुनौति व अवसर’ (विश्वका नेवार : चुनौति र अवसर) विषयक बहस कार्यक्रम समेत हुन भएको छ ।
बहस कार्यक्रममा नेवार अगुवाहरु मल्ल के. सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठ प्रमुख वक्ताका रुपमा रहने छन् ।
यसका साथै नेपालभाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार व्यक्तित्वहरुको तस्वीर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति समेत हुने भएको छ ।
सोही समारोहमा अर्गनाइजेसनका विविध गतिविधिहरु संलग्न गरी विशेषांक समेत विमोचन गरिने जनाइएको छ ।
च्याप्टरका अध्यक्ष शाक्य सुरेनले प्रविधिको माध्यमबाट विश्वभरी छरिएर रहेका नेवाःहरुबीच ज्ञान र सीपको आदानप्रदान गर्दै समुदायको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
‘प्रविधिको सहयोगबाट आज विश्वको एउटा कुनामा रहेको व्यक्तिले अर्को कुनाको व्यक्तिसँग तुरन्त सम्पर्क गर्न सकिन्छ, आजको दिनमा विश्वभरीका नेवाःहरु एकै छाता मुनि उभिन केही गार्हो छैन । यसको सदुपयोग गरौं’ अध्यक्ष शाक्यले भन्नुभयो ।
विश्वका विभिन्न कुनाकाप्चामा रहेका नेवाःहरुबीच अन्तरक्रियात्मक सम्वन्ध स्थापित गर्ने एउटा अवसरको रुपमा लिँदै विश्व नेवाः दिवसलाई धुमधामका साथ मनाउन शाक्यले आव्हान गर्नुभयो ।
सन् २०१८ मा नेपालमै पहिलो विश्व नेवाः दिवस मनाइएको थियो भने दोश्रो विश्व नेवाः दिवस पनि नेपालमा वसन्तपुरबाट विभिन्न झाँकी र बाजागाजासहित र्याली निकालेर मनाइएको थियो । तेश्रो विश्व नेवाः दिवस गत वर्ष सन् २०२० मा कोभिड–१९ का कारण जूममार्फत् भर्च्युअल रुपमा मनाइएको थियो ।
यस वर्ष भने भव्यरुपमा बसन्तपुर डबलीमा मनाउन लागिएको विश्व नेवाः संगठन नेपाल च्याप्टरले जनाएको छ । विश्वभरी फैलिएर रहेका नेवाःहरुको साझा संगठन विश्व नेवाः संगठन (वर्ल्ड नेवाः अर्गनाइजेसन) ले हरेक वर्षको मार्चको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउँदै आएको छ ।
विश्व नेवाः संगठन गठन भएको दिनको स्मरणमा हरेक वर्ष मार्चकाे अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिएको छ ।
महाराजगञ्ज वितरण केन्द्र क्षेत्रहरुमा आज बत्ती
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ६, शुक्रबार वर्गीकृत
काठमाण्डौको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
यस्तै आज प्रदेश-२ को जनकपुरमा रहेको राजविराज वितरण केन्द्रअन्तर्गतका फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म लाइन काटिँदै छ ।
यो वितरण केन्द्रअन्तर्गतका फिडरमा ३३ केबी क्षमताको लाइनको काम गर्न लागिएको हो ।


