add
Display Style: 
Row Style

श्याम र नवदुर्गागणबीच सहमति भयो

Swoniga Online – Swonigaonline Reporter | २०८० जेठ २८, आइतबार वर्गीकृत

हाम्रो जात्रा डट कमका संचालक साथै चर्चित संचारकर्मी श्याम था र भक्तपुर नवदुर्गा गणबीच हिजो शनिबारको विवादलाई लिएर सहमति भएको छ ।

हिजो शनिबार भक्तपुर नवदुर्गाको जात्राको क्रममा श्याम था र नवदुर्गा देवगणबीच भएको विवादलाई लिएर सहमति गरिएको हो ।

था र देवगणबीच नेवाः पत्रकार राष्ट्रिय पत्रकार दबू भक्तपुर शाखा र समाजका अन्य प्रतिनिधिहरुको रोहबरमा सहमति भएको हो ।

सहमति लगत्तै संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै आगामी वर्षहरुमा भक्तजन र संचारकर्मीको लागि व्यवस्थित रुपमा व्यवस्था गर्ने योजनासहित अघि बढ्ने प्रतिवद्धता दुबै पक्षले जनाएका छन् ।

विज्ञप्तीमा दुबै पक्षले आआफ्नो गल्ती भएको महसूस गर्दै सहमति गरिएको जनाइएको छ । दुबै पक्षबीच आआफ्नो जिम्मेवारी बहन गर्ने क्रममा भीडमा ठेलमठेल भएको अवस्थामा सामान्य चोट लागेको बताइएको छ ।

‘आगामी दिनमा यस्तो घटना नदोहोर्याउने र जात्रालाई भब्यसभ्य तरीकाले मनाउँदै संसारभर बृहत रुपमा प्रचार प्रसार गर्दै जाने प्रतिवद्धता समेत जाहेर गरेको छ’ विज्ञप्तीमा लेखिएको छ ।

सहमति पत्रमा हाम्रा जात्राका संचालक श्याम र देवतागणका तर्फबाट श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मी प्रसाद बनमालाले हस्ताक्षर गरेका छन् ।

समितिका तर्फबाट सल्लाहकार नारायणमान बनमाला र श्याम थाका तर्फबाट नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका सचिव देबेन्द्र प्रजापति साक्षी बसी हस्ताक्षर गरेका छन् ।

रक्तदान सम्वन्धि सचेतना बढाउनुपर्नेमा जोड

Swoniga Online – Swonigaonline Reporter | २०८० जेठ २८, आइतबार वर्गीकृत

रगतको अभावमा कसैको अकालमा मृत्यु हुन नदिन रक्तदाताहरुमा सचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

काठमाडौंमा आयोजित ‘स्वयमसेवी रक्तदानः रगत व्यवस्थापनमा कठिनाई र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

शुक्रवार परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा सम्पन्न कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख परशुराम दाहालले रगत ब्यबस्थापनमा अस्पतालको भुमिका महत्त्वपूर्ण हुने हुनाले व्यवस्थापनको सवालमा अस्पतालले ध्यान दिएमा सहज हुने विचार राखे ।

केन्द्रीय रक्तसञ्चार सेवाकी पूर्व निर्देशक डा. मनिता राजकर्णिकारले समयमै रगत व्यवस्थापन हुन नसके विरामीको उपचारमा समस्या हुने परिस्थितीलाई ध्यान दिँदै रगतको सहज उपलब्धताका लागि सामाजिक सचेतना बढाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा कान्तिपुर अस्पतालका इन्चार्ज टिकाराम मण्डल, बीर अस्पताल हेमाटोलोजी विभागका डा. निरज सिंह, ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) का अध्यक्ष सानुबाबु प्रजापतिलगायतले समय समयमा रक्तदान गर्दै कसैको पनि अकालमा मृत्यु हुन नदिनमा जोड दिँदै आआफ्ना विचार राखेका थिए ।

विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसिशियसन नेपाल (ब्लोदान) र परोपकार प्रशुती गृह तथा स्त्री रोग अस्पतालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

हरेक वर्ष जुन १४ तारीखका दिन विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाईँदै आएको छ । यसै सन्दर्भ यस वर्षको दिवसको अवसरमा ब्लोदानले विभिन्न संघसंस्थासँगको सहकार्य र सहआयोजनामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ ।

स्वबासीका भूमिसम्बन्धी समस्या समाधान गर्न जोड

Swoniga Online | २०८० जेठ २५, बिहिबार वर्गीकृत

काठमाडौं उपत्यकाका स्वबासीहरुले आफ्नो भूमिसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेका छन् ।

आज उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठसँग उक्त आग्रह गरेका हुन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौंं उपत्यकाभित्रको स्वबासी समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ ।

उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समितिले स्वबासी र बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने माग राख्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा मन्त्री श्रेष्ठले आफ्नै कार्यकालमा भूमि सम्बन्धिको समस्या समाधान गर्ने बताउनुभएको हो ।

‘म अहिले मन्त्रीपरिषद्को सदस्य पनि हुँ । मलाई तपाइँहरुको समस्या राम्रैसँग ज्ञात छ । त्यसैले हजारौं वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्वबासी र जग्गाको निस्सा नभएका स्थानियहरुलाई लालपूर्जा उपलब्ध गराउनेमा सहजिकरण गर्नेछु ।’ मन्त्री श्रेष्ठले बताउनुभयो ।

संघर्ष समितिले २०७२ सालमा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भएपनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा गुनासो गरेका छन् ।

उनीहरुले भूमि सम्बन्धिको अधिकार प्राप्त हुनुपर्ने माग राख्दै विभिन्न कार्यक्रम गर्दैआएको छ । स्थायी रुपमा स्वबासीहरुको समस्या समाधान गर्नको लागि बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने उनीहरुको मुख्य माग हो ।

घरखेत दर्ता बन्द भएकै कारणले सरकारलाई तिर्नुपर्ने घर कर समेत तिर्नबाट बन्चित हुनु परेको उनीहरुको भनाइ छ ।

स्वबासीहरुको धर्ना र ध्यानाकर्षण कार्यक्रममा देशभरका नेवार समुदायको साझा संस्था नेवाः देय् दबूका प्रतिनिधिहरुले ऐक्यवद्धता थिए ।

काठमाडौं उपत्यकाभित्रका तीन शहरका पुराना बस्तीहरुमा पुस्तौंदेखि बसोबास गर्दै आएका धेरै स्वबासीहरुले लालपूर्जा पाएका छैनन् ।

कतिपय ठाउँमा यसअघिका भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठको पहलमा लालपूर्जा वितरण गरिएको भएपनि त्यो कामले पूर्णता पाइसकेको छैन ।

सुकुम्बासी समस्या समाधान गर्नको लागि साथ दिन भूमी आयोगको आग्रह

Swoniga Online – बिराज | २०८० जेठ ३, बुधबार वर्गीकृत

सुकुम्बासीको अवस्था, व्यवस्थापनका पक्ष र भूमि आयोगलाई लिएर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाः युथ अर्गनाइजेसनले गत शनिबार काठमाडौंमा ‘भूमि आयोग र हाम्रो सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले राज्यले एक पटकका लागि भूमिहीनलाई भूमिपति बनाउन गरेको प्रयासलाई सबैले साथ दिएर बास्तविक सुकुम्बासीलाई सहयोग गर्न आग्रह गरे ।

अध्यक्ष प्रजापतिले अन्तरक्रिया कार्यक्रममा उठेका विभिन्न प्रश्न र जिज्ञासाहरुको उत्तर दिने क्रममा परिस्थितीले भूमिहीन बन्न पुगेका बास्तविक सुकुम्बासीहरुको पहिचान गर्न प्रकृया अगाडी बढाउनका लागि काठमाडौं जिल्लाका सम्पूर्ण स्थानीय तहलाई आग्रह गरे ।

‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, छानबिन, जग्गाको लागि सिफारीस सम्पूर्ण अधिकार स्थानीय तहलाई नै छ । डोजर लिएर जानुभन्दा प्रकृया अगाडी बढाएर आफैंले बास्तविक सुकुम्बासीको पहिचान गर्नको लागि म स्थानीय सरकारलाई आग्रह गर्छु’ अध्यक्ष प्रजापतिले भने ।

स्थानीय तहले भूमि आयोगसँग सम्झौता गरिसकेपछि भूमिहीन दलित, सुकुम्बासीको लगत संकलन, छानबिन आदि स्थानीय तहबाटै हुने गर्दछ । त्यसपछि आफ्नो क्षेत्रमा दिन मिल्ने जग्गा छ वा छैन भन्ने सिफारीस पनि स्थानीय तहबाटै हुन्छ ।

कथित विकासका नामबाट काठमाडौं उपत्यकाकै कतिपय रैथानेहरु सुकुम्बासी बन्न बाध्य भएको बताउँदै प्रजापतिले एक पटक पाएको मौकालाई सदुपयोग गर्न पनि आग्रह गरे ।

‘यहाँका कतिपय स्थानीय बासिन्दाले सुकुम्बासीको नामबाट जग्गा चाहिन्न नै भने । भूमिहीन भएर पो सुकुम्बासी, जग्गा पाएपछि के को सुकुम्बासी ? अब जग्गा लिएर भूमिपति बन्ने कि जहिल्यै सुकुम्बासीकै जीवन बिताउने, त्यो त उहाँहरुकै इच्छा भयो’ प्रजापतिको भनाई हो ।

नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले काठमाडौं उपत्यकामा पनि सडक विस्तारलगायत विभिन्न बिकासको नाममा नेवार समुदाय पनि सुकुम्बासी बन्न पुगेको भन्दै ती पिडित परिवारसँग समन्वय र भूमि आयोगसँग सहकार्यका लागि देय् दबू तयार रहेको प्रतिवद्धता जनाए ।

नेपाः युथ अर्गनाइजेसनका का.वा. अध्यक्ष बिजय डंगोलले राज्यले बिकासको नाममा सुकुम्बासी बनाइदिएका काठमाडौंका स्थानीय बासिन्दालाई भूमिपति बनाउन अब अर्गनाइजेसन सक्रिय बन्ने उद्घोष गरे ।

कार्यक्रममा विभिन्न जातीय, सामाजिक संघसंस्थाका प्रतिनिधि, अभियानकर्मीहरुको साथमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका भूमिहिन स्वबासीहरुको समेत उपस्थिती रहेको थियो ।

खड्गी समाज आयोजनामा उद्घोषण तालीम सुरु

Swoniga Online – बिराज | २०८० जेठ ३, बुधबार वर्गीकृत

काठमाडौंमा नेपाल राष्ट्रिय खड्गी समाजको आयोजनामा उद्घोषण तालीम सुरु भएको छ । गत जेठ १ गते सोमबारबाट सात दिने उद्घोषण तालीम सुरु भएको हो ।

तालीमको औपचारिक उद्घाटन भने गत बैसाख ३० गते शनिबार गरिएको थियो । बागमति प्रदेशकी सभासद् सरीता खड्गीले तालीमको औपचारिक उद्घाटन गरिन् ।

उद्घाटन पछि बोल्दै सभासद् खड्गीले आफुले पनि विगतमा उद्घोषण तालीम लिएको स्मरण गर्दै प्रशिक्षणको भरपूर फाइदा लिँदै आफ्नो वाक कला विकास गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् ।

‘आफुलाई लागेको कुरा बोल्न सक्नुपर्छ, बोल्न जान्नुपर्छ । यो प्रशिक्षणको सक्दो फाइदा लिनुस्, सिलसिला मिलाएर आकर्षक ढङ्गले बोल्न सिकेर अगाडी बढ्नुस्, मेरो शुभकामना छ’ सभासद् खड्गीले भनिन् ।

कार्यक्रममा खड्गी समाजका काठमाडौं जिल्लाका अध्यक्ष सुभाष शाही, प्रवक्ता बालकृष्ण खड्गीले सुरुमा बोल्न डर महसूस भएपनि अघि बढ्न र बोल्दै जान प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

प्रशिक्षार्थीहरुलाई संचारकर्मी साथै उद्घोषक बिराजकाजी राजोपाध्यायले प्रशिक्षण दिइरहेका छन् ।

नेपालभाषाबाट प्रशिक्षण भनिए तापनि विशेष रुपमा उद्घोषण सम्वन्धि विभिन्न पक्षहरु र नेपालभाषाबाट गरिने उद्घोषणमा ध्यान दिनुपर्ने विषयमा आफुले प्रशिक्षण दिइरहेको प्रशिक्षक राजोपाध्यायले बताए ।

‘नेपालभाषाबाट उद्घोषण तालीम भनेपनि मुख्य रुपमा उद्घोषणकै तालीम हो, चाहे नेपालभाषाबाट होस् वा अन्य भाषाबाट । नेपालभाषाबाट गरिने उद्घोषणमा ध्यान दिनुपर्ने पक्षहरुको बारेमा पनि प्रशिक्षण दिइरहेको छु’ प्रशिक्षक राजोपाध्यायले भने ।

तालीम कार्यक्रमका संयोजक प्रतिक खड्गीले वाक कलाको विकास होस्, साथमा युवा पुस्तामा मातृभाषा सम्वन्धि चेतना आओस् भनेर कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा खड्गी समाजका केन्द्रीय उपाध्यक्ष श्यामकृष्ण खड्गी, महासचिव मिलन शाही लगायतको उपस्थिती रहेको थियो । तालीममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

आउँदो जेठ ७ गते आइतबार समापन कार्यक्रम गर्दै तालीमको औपचारिक समापन गरिँदैछ ।

रातो मच्छिन्द्रनाथको रथ जेठ ८ गते जाउलाखेल लगिने

Swoniga Online – आकाश | २०८० बैशाख २८, बिहिबार वर्गीकृत

रातो मच्छिन्द्रनाथ (बुंगद्यः) को रथको जाह्वला जात्रा (पश्चिम यात्रा) आउँदो जेठ ८ गते हुने भएको छ ।

आजै विहान ज्योतिषहरुको समूहले मंगलबजारस्थित मंगःहितिनिर रहेको मणिमण्डप फल्चा (सोर्‍हखुट्टे पाटि) मा बसी मच्छिन्द्रनाथको पश्चिम जात्राको साइत निकालेको हो ।

जाह्वला जात्रा अर्थात जाउलाखेलमा रथ तान्ने दिनको साइत निकालिएसँगै भोटो जात्राको दिन पनि टुङ्गो लागेको छ ।

थतिटोलमा राखिएको रथलाई तानेर जाउलाखेल पुर्‍याएको चौथो दिनमा भोटो जात्रा गर्ने गरिन्छ ।

जेठ ८ गते सोमबार रातो मच्छिन्द्रनाथको रथलाई तानेर जाउलाखेल पुर्‍याएमा जेठ ११ गते बिहिबार भोटो जात्रा गर्दै यस वर्षको जात्रा टुङ्गिने छ ।

रथलाई याकः मिसा भुज्याः गर्दै थतिटोल पुर्‍याएको केहि दिनपछि बाराही समुदायले बुंगद्यःको द्यःपूजा गर्ने गर्छन् ।

यहि द्यःपुजाकै दिन मणिमण्डप फल्चामा स्थानीयबासी, पानेजु तथा गुठी संस्थान अधिकृतको उपस्थितिमा जाह्वला जात्राको साईत हेर्ने चलन रहँदै आएको छ ।

ललितपुर महानगरमा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन हुने

Swoniga Online – Birajkaji Rajopadhyaya | २०७९ चैत्र २३, बिहिबार वर्गीकृत

ललितपुर महानगरपालिका (लमपा)को विद्यालयमा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन हुने भएको छ ।

आउँदो शैक्षिक सत्रदेखि लमपा अन्तर्गत रहेका सबै विद्यालयहरुमा नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन गराउन लागेको हो ।

‘यल ललितकलाया देय्’ नाम दिइएको उक्त पाठ्यपुस्तकमा ललितपुरको जात्रापत्र, संस्कृति, सम्पदा, रहनसहन आदि जस्ता विषयवस्तुसँग सम्बन्धित पाठहरू समावेश गरेको छ ।

उक्त पाठ्यपुस्तक ललितपुर महानगर क्षेत्र भित्र सञ्चालित ४० सरकारी विद्यालय र करिब तिन सय निजी विद्यालयहरुमा पठनपाठन हुने छ ।

उपप्राध्यापक तुलसीलाल सिंको संयोजकत्वमा बनाइएको पाठ्यपुस्तक निर्माण समितिले आवश्यक पाठ्यपुस्तक तयार गरि लमपाका मेयर चिरिबाबु महर्जनलाई हस्तान्तरण गरिसकेका छन् ।

मेयर महर्जनले यही शैक्षिक सत्रदेखि ललितपुरका सरकारी र निजी सबै विद्यालयहरुमा यसको पठनपाठन गराउने बताए ।

उक्त विद्यालयहरुमा लमपाले हालको लागि बालविकास तहदेखि कक्षा ३ सम्म यो पाठ्यपुस्तक पढाउन लागेको छ । त्यसपछि क्रमशः माथिल्लो कक्षाहरूमा पनि पढाउँदै जाने लमपाको योजना रहेको छ ।

लमपा वडा नं. ९ का अध्यक्ष एवं लमपाका प्रवक्ता, सामाजिक विकास विभाग संयोजक राजु महर्जनले तयार भइसकेको पाठ्यपुस्तक अब छिट्टै छपाइको लागि पठाउने बताए ।

नेपालमा संघीय व्यवस्था लागू भएपछि जारी भएको नयाँ संविधानले हरेक पालिकाहरुलाई आफू मातहतका विद्यालयहरुमा एक विषय आफैले पाठ्यक्रम तयार गरी पढाउन सक्ने अधिकार दिएको छ ।

यही अधिकार प्रयोग गरी विभिन्न नगरपालिका र गाउँपालिकाहरूले आफैले पाठ्यक्रम तयार गरी लागू गर्दै आइरहेको छ ।

काठमाडौं महानगरपालिकाले गत दुई वर्ष अघि नेपालभाषाका माध्यमबाट स्थानीय विषयको पठनपाठन शुरु गरिसकेको छ ।

यस्तै कीर्तिपुर नगरपालिकाले भने गत वर्षदेखि शुरु गरेको हो । 

त्यंघःमा अष्टमातृकासहित रक्तकालीको मूर्ति स्थापना

Swoniga Online – Swonigaonline Reporter | २०७९ चैत्र १७, शुक्रबार वर्गीकृत

काठमाडौंको त्यंघल टोलमा रहेको रक्ताकालीको मन्दिरमा अष्टमातृकासहित रक्तकालीको नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । अष्टमातृकासँगै सिंघिनी, ब्याघ्रिनी, गणेश, लक्ष्मी, नारायण र नागराजको स्वर्णलेपन गरिएको मूर्ति प्रतिस्थापन गरिएको हो ।

मूर्ति स्थापनाका लागि बुधबारदेखि लगातार ३ दिनसम्म विशेष पूजा गरिएको थियो ।

बुधबारका दिन मूर्तिमा प्राण प्रतिष्ठासँगै यज्ञ, महोदवको रुद्राभिषेक पूजा र नवचण्डी पाठ गरिएको थियो । १२ जना राजोपाध्याय ब्राह्मणहरुबाट यी पूजाहरु सम्पन्न गरिएको थियो ।

यी पूजाहरु सम्पन्न भए लगत्तै रात्री  पंचबलिसहित विशेष पूजा गरिएको थियो ।

दोश्रो दिन विहिबार नवकुमारी पूजा गरिएको थियो भने शुक्रबार मूल कुमारी पूजा गरिएको थियो ।

त्यंघः त्वाः कुमाः खलःले आयोजना गरेको कार्यक्रमको संयोजन श्री भैरवनाथ समूह नेपालका अध्यक्ष पुरुषोत्तम महर्जनले गरेका थिए ।

विश्वशान्तिको साथै सम्पूर्ण राष्ट्रवासीको सुस्वास्थ्यको कामनासहित कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक महर्जनले बताए ।

प्रतिस्थापन गरिएका मूर्तिहरु ललितपुरका रवि शाक्यले बनाएका हुन् ।

रक्तकालीलाई अष्टमातृकामा चामुण्डाको रुपमा लिइन्छ भने स्थानीय वासिन्दाले कुलांभुलु अजिमा भन्ने गरेका छन् । अष्टमातृकामा अन्य देवीहरुमा ब्रह्मायणी, माहेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी र महालक्ष्मी रहेका छन् ।

अभियन्ताहरुबाट कामपा उपप्रमुखलाई बधाई

Swoniga Online – Swonigaonline Reporter | २०७९ माघ ३, मंगलबार वर्गीकृत

काठमाडौंको सम्पदा, संस्कृति संरक्षण र विकासमा योगदान दिएको भन्दै नेवाः अभियन्ताहरुले काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोललाई प्रशंसा पत्र प्रदान गरेका छन् ।

सेभ नेपाः भ्याली अभियानका अभियन्ताहरुले आज उनकै कार्यकक्षमा गएर डंगोललाई प्रशंसा–पत्र प्रदान गरेको हो ।

नेवाः समुदायको भाषा, लिपि, कला, साहित्य, सम्पदाको संरक्षणको साथमा समुदायको हक अधिकारको आन्दोलनमा समेत अतुलनिय योगदान पुर्‍याएको भन्दै डंगोललाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

सो क्रममा समूहले आफ्नो मातृभाषा नेपालभाषामा सपथ लिएको भन्दै डंगोललाई वधाई पनि दिएको छ ।

भेटघाटको क्रममा सेभ नेपाः भ्याली अभियानका अभियन्ताहरुले काठमाडौं महानगरका भाषा, कला, साहित्य, सम्पदाको संरक्षण, सम्वर्ध्दन लगायतका कार्यहरुमा समुहको सकारात्मक सहभागिता रहने प्रतिवद्धता जनाएका थिए ।

महानगरबाट कुनै गलत कार्य भएमा सचेतकको भूमिकामा पनि आफुहरु उभिने भन्दै अभियन्ताहरुले सचेत गराएका थिए ।

तत्कालीन नेपाल उपत्यका अर्थात नेपाल खाल्डोको मौलिक साँस्कृतिक पहिचानको संरक्षणको अभियान चलाउन भन्द्र सन् २०१७ मा नेवाः युवाहरु मिलेर सेभ नेपाः भ्याली अभियानको थालनी गरेका थिए ।

अभियानले सडक विस्तार, फास्ट ट्र्याक, गुठी विधेयकलगायतका विभिन्न आन्दोलनमा सक्रियता देखाएको छ ।

ताम्सीपाखामा भोलि सडक महोत्सव हुँदै

Swoniga Online – Swonigaonline Reporter | २०७९ पौष १४, बिहिबार वर्गीकृत

नेपाल सम्वत ११४३ नयाँ वर्षको अवसरमा काठमाडौं महानगरपालिका १८ वडा कार्यालयले भिन्तुना सनिल कार्यक्रम अन्तर्गत भोलि शुक्रवार ताम्सीपाखा सडक महोत्सव गर्ने भएको छ ।

स्थानीय संस्कृतिको संरक्षण र प्रचार प्रसारको साथै स्थानीय उत्पादनको बजार प्रवद्र्धनको लागि भन्दै भोलि पुस १५ गते शुक्रबारका दिन कामपा १८ वडा कार्यालयले सडक महोत्सव गर्न लागेको हो ।

कामपा १८ वडाका वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले नेपाल सम्वत न्हूदँ (नयाँ वर्ष) को अवसरमा वडा कार्यालयबाट वर्षेनी भिन्तुना सनिल कार्यक्रम गर्दै आएको र यसै कार्यक्रमको क्रममा यस वर्ष ताम्सीपाखा सडक महोत्सव गर्न लागेको जानकारी दिए ।

‘कार्यक्रम केही समय अगाडी नै गर्नुपर्ने हो तर, यसपालि आम निर्वाचनको कारण केही ढिला हुन गएको हो’ वडाध्यक्ष महर्जनले बताए ।

१८ वडाभित्रका मूर्त, अमूर्त सम्पदाको पहिचान, संरक्षण, सम्वद्र्धनको साथै प्रसार प्रसारको उद्देश्यसहित कार्यक्रम गर्दै आएको महर्जनले जानकारी दिए ।

त्यसैगरी वडा कार्यालयले समय समयमा गृहिणी लक्षित विभिन्न सीपमूलक तालिम गर्दै आएको र ती तालिमका सहभागीहरुबाट उत्पादित स्थानीय उत्पादनको बजार प्रवद्र्धनको लागि पनि कार्यक्रम गर्दै आएको उनले बताए ।

महोत्सवमा स्थानीय हस्तकलाका सामग्री र विभिन्न खाद्य परिकारका करीब २० वटा स्टल रहने बताइएको छ ।

‘फुड स्टलमा यःमरि, वः, चतांमरि लगायत यहाँका मौलिक परिकारहरु रहनेछ भने हस्तकलाका सामग्रीको स्टलमा वडाबाट तालिम लिएका गृहिणीहरुबाट उत्पादित अचार, बेकरी, मखमली कपडाको जुत्ता, झोल साबुन, डल्लो साबुन आदि रहनेछ’ महर्जनले जानकारी दिए ।

साँस्कृतिक कार्यक्रममा सुल्तान अफ स्ट्रिङ अनिल शाहीको समेत प्रस्तुति रहनेछ । साथमा सुरेन्द्र मानन्धर र सविन शाक्यको प्रहसन पनि प्रस्तुत गरिने वडा कार्यालयले जनाएको छ ।

साथै न्यू जेनिथ इङ्गलिस मोडल स्कूलका विद्यार्थीहरुको नृत्य प्रस्तुति पनि कार्यक्रममा रहेको बताइएको छ ।

साथमा नरदेवी, किलागल, त्यंगःत्वाः कुम्हाः खलः, उदाय समाज लगायतबाट धाः, बाँसुरी लगायतका प्रस्तुतिसँगै आआफ्नो टोल समुदायको अमूर्त सम्पदाको पहिचान प्रस्तुत गरिने पनि बताइएको छ ।

महोत्सवमा स्टलहरु भने विहानको १० बजेबाट सुरु हुनेछ भने साँस्कृतिक कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुने वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले गएका वर्षहरुमा नरदेवी, रक्तकाली, किलागल, भुरुङखेल लगायतका स्थानहरुमा भिंतुना सनिल कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Pages