डंडेलाे मृतकका परिवारलाई गोदावरी नगरपालिकाले ५ लाख दिने
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख २०, बिहिबार वर्गीकृत
ललितपुर/ २० बैशाख, गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भई उपचारको क्रममा मृत्युु भएकाकाे परिवारलाई नगरपालिकाले पाँच/पाँच लाख दिने भएको छ । आज आकस्मिक बसेकाे नगर कार्यपालिकाकाे बाेर्ड बैठककाे निर्णयले मृतक शंकर पहरी र रमेश पहरीका परिवारलाई तत्कालै पाँच/पाँच लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी गराउनुभयाे ।
"आज आकस्मिक बसेकाे नगर कार्यपालिकाकाे बाेर्ड बैठक सम्पन्न भयाे, यस दुःखद घडीमा मृतकका परिवारजनलाई राहत स्वरुप प्रति परिवार पाँच/पाँच लाख उपलब्ध गराउने निर्णय भएको छ। " नगरप्रमुख महर्जनले भन्नुभयो
बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले यो दुःखद क्षण, पर्यावरणीय क्षतिको विपत्ती र कुनै पनि प्रकारको विपदमा नगरपालिका सदैव आम नगरवासीको साथ रहने प्रतिवद्धता व्यक्त गर्दै अनवरत खट्नुहुने सम्पूर्ण महानुभावहरुमा उच्च सम्मानका साथ सचेत, सतर्क र एकतावद्ध रहनहुन हार्दिक अपिल गर्नुभएकाे छ।
"गोदावरी नगरपालिका लगायत देशै भरी डढेलो र आगजनीको घटनाले ठूलो संख्यामा धनजनको क्षती, पर्यावरणीय क्षति पुगेको छ। यस नगरपालिको सबै वडाहरुमा भिषण डढेलो लागेको र आगो नियन्त्रणका सवै उपाय अपनाउदा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन। डढेलो नियन्त्रणको लागि नगर प्रहरी, नेपाली सेना, नेपाल
प्रहरी,सशस्त्र प्रहरी बल, अग्नि नियन्त्रक सहित तालिम प्राप्त जनशक्ति र स्थानीयवासी, सामुदायीक वनका
पदाधिकारी एवम सदस्यहरुको अथक प्रयासको उच्च सम्मान गर्दछौं । आगो नियन्त्रणको लागि तत्काल दमकल
उपलब्ध गराउनुहुने नेपाली सेना र ललितपुर महानगरपालिकालाई धन्यवाद व्यक्त गर्दछौं। आगो नियन्त्रणकै क्रममा यसै नगरपालिका वडा नं. ४ वडिखेल निवासी श्री शंकर पहरी र श्री रमेश पहरीको दुःखद निधन भएकोमा सम्पूर्ण नगरपालिका परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।" विज्ञप्तिमा भनिएकाे छ।
आगलागी निभाउने क्रममा घाइते भएका दुई जनालाई किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको लागि पठाइएकोमा उपचारको क्रममा एक जनाकाे मंगलबार र अर्का एक जनाकाे आज बुधबार बिहान मृत्यु भएको हाे।
आगलागी नियन्त्रणका लागि अहिले पनि नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी लगायतकाे टाेली क्रियाशील रहेकाे ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी गराउनुभयाे ।
ललितपुरमा डडेलाेबाट दुई जनाकाे मृत्यु , छ स्थानमा आगलागी
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १९, बुधबार वर्गीकृत
ललितपुर/ १९ बैशाख : ललितपुरकाे गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । आगलागी निभाउने क्रममा दुई जना घाइते भएका दुई जनालाई किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको लागि पठाइएकोमा एक जनाकाे उपचारको क्रममा मृत्यु मंगलबार नै मृत्यु भएको र अर्का एक जनाकाे उपचारकाक्रममा बुधबार विहान मृत्युु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी गराउनुभयाे ।
"आगलागी निभाउनेक्रममा घाइते भएका शंकर पहरी र रमेश पहरीलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएकोमा घाइतेमध्ये शङ्कर पहरीको मंगलबार र अर्का घाइते रमेश पहरीकाे आज बुधबार बिहान मृत्यु भएको हाे। उहाँले भन्नुभयो ।
मंगलबार राती १० बजेसम्म ललितपुरका छ स्थानमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी गराउनुभयाे । मंगलबार राती १० बजेसम्म गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरवको सामुदायिक वन, गोदावरी नगरपालिका वडा नं. ५ महादेव खोला सत्य सामुदायिक वन, बागमती गाउँपालिका वडा नं. ५ कुँडुल्लेकाे सरकारी वन, गोदावरी नगरपालिका वडा नं. ४ बडिखेलको तपेश्वर मन्दिर वन, महालक्ष्मी नगरपालिका वडा नं. ३ लुभु पातले सामुदायिक वन, गोदावरी नगरपालिका वडा नं. ९ छेडा सामुदायिक वन, गोदावरी नगरपालिका वडा नं. ३ जयभद्र सामुदायिक वन, गोदावरी नगरपालिका वडा नं.१० चारघरे सामुदायिक वन, गोदावरी नगरपालिका वडा नं. ९ ढुङगेनी पातले सामुदायिक वन र गोदावरी नगरपालिका वडा नं. २ ताप्लेछाप सामुदायिक वनमा आगलागी भैरहेकाे छ । प्रहरी उपरीक्षक सुवेदीका अनुसार यी सबै जंगलमा आगलागी भएपनि बस्ती मानव वस्ती भने सुरक्षित रहेकाे छ । आगलागी नियन्त्रणका लागि अहिले पनि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितकाे टाेली खटिएको जानकारी उहाँले गराउनुभयाे ।
ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३/४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको थियाे । आनन्द वनमा डढेलो फैलिएसँगै प्रहरी र स्थानीयकाे टाेलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका बिरामीलाई बज्रबाराही अस्पताल पुर्याउने र अन्यत्र सार्ने काम गरि सुरक्षित बनाइएको वडा नं. ५ का अध्यक्ष तथा गाेदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले जानकारी गराउनुभयाे । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सिल्वालको भनाई छ। यस्तै मंगलबार डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको थियो ।
तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १८, मंगलबार वर्गीकृत
तुलसीपुर/१८ वैशाख : दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्कको विवरण माग गरेको हो ।
यही वैशाख१४ गते शुल्क विवरण माग गरिएकोमा अहिलेसम्म ४२ वटा विद्यालयले विवरण पठाएका छन् । उपमहानगरपालिकाभित्र ६८ सामुदायिक विद्यालय हुन् । अझै २६ विद्यायले विवरण नबुझाएको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार एक हप्ता समय दिएर विवरण माग गरिएको हो । विवरण उपलब्ध नगराउने विद्यालयलाई ग्रेड वृद्धि रोक्ने तथा ‘आइएमएस इन्ट्री’ रोकिदिने समेत उहाँले बताउनुभयो । पछिल्लो समय निजी विद्यालयले बढी शुल्क लिएको भन्दै अभिभावकले गुनासो पोख्न थालेपछि विवरण माग गरिएको प्रमुख भण्डारीको भनाइ छ । “धेरै अभिभावकले शुल्क बढी भएको विषयमा गुनासो गर्नुभयो”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले सबैको विवरण माग गरेका छौँ, त्यो विवरणका आधारमा एउटा निर्णय गरेर अगाडि बढ्नेछौँ ।” सकेसम्म सबै निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउने प्रयास गरिने प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
राससकर्मी घिमिरेसहित ९ पत्रकार पुरस्कृत
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १५, शनिबार वर्गीकृत
ललितपुर/ १५ बैशाख : नेपाल पत्रकार महासंघ ललितपुरको १४ ओैं अधिवेशन तथा वार्षिक साधारणसभामा राससकर्मी माधवप्रसाद घिमिरेसहित ९ पत्रकार पुरस्कृत हुनुभएको छ । शुक्रबार सम्पन्न साधारणसभामा महासंघ जिल्ला कार्यसमितिकाे निर्णयबाट राष्ट्रिय समाचार समितिमा पाटन डेटलाइनबाट समाचार सम्प्रेषण गरिरहनुभएका घिमिरे, ललितपुरमा क्रियाशील पाेजेटिभ आइ नेपालका गंगाबहादुर लामा, कृषि पत्रिका अनलाइनमा कार्यरत गाेपाल आलेमगर ललितपुर पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।
त्यस्तै, क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसमा कार्यरत केशवबहादुर भुल र नयाँ पत्रिका दैनिकमा कार्यरत अम्बिका कुमारी पाैडेल पुरस्कृत हुनुभएको छ ।
शाखाले पूर्वअध्यक्ष तथा महासंघका केन्द्रीय लेखा समिति संयाेजक लेखनाथ न्याैपाने धर्मरत्न शाक्य आदर्श पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ भने प्रेस सेनानी सम्मानबाट पूर्वअध्यक्ष प्रभुनारायण बस्नेत र धर्मेन्द्र कर्ण पुरस्कृत हुनुभएको छ ।
साधारणसभामा शाखाले पूर्वअध्यक्षहरु प्रभुनारायण बस्नेत, उजिर मगर, लेखनाथ न्याैपाने र ज्ञानप्रसाद पाैडेललाई पूर्वअध्यक्षकाे सम्मान समेत प्रदान गरेको छ।
पुरस्कृत हुनेहरुलाई सूचना, सञ्चार तथा प्रबिधि मन्त्री रेखा शर्माले सम्मानपत्र सहित पुरस्कार रकमकाे चेक हस्तान्तरण गर्नुभयाे ।
विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १३, बिहिबार वर्गीकृत
ललितपुर/ १३ बैशाख: ललितपुरको बुँगमतीमा बुधबार आयाेजित संयुक्त विपद प्रतिकार्य अभ्यासमा विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक रहेकाेमा सराेकारवालाहरुले जाेड दिएका छन् । गाेरखा बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएकाे दिनकाे सम्झनामा ललितपुर महानगरपालिकाकाे आयाेजना तथा राजदल गण लगनखेल, सशस्त्र प्रहरी बल नेपाल २१ नं. हेटक्वाटर दक्षिणकाली ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर र भूकम्प प्रबिधि राष्ट्रिय समाज, नेपालकाे सहकार्यमा भएको अभ्यासमा ११ बर्ष अगाडिकाे त्याे दिनकाे महामारीबाट भएको मानवीय र जनधनको क्षतिकाे चर्चा गर्दै विपद र महामारीबाट बच्न र बचाउनका लागि पूर्वतयारी, सचेतता र सहकार्यमा विपद प्रतिकार्यकाे अभ्यास नै अति जरुरी हुनेमा बक्ता तथा अभ्यासकर्ताहरुकाे सन्देश रहेको थियाे ।
संयुक्त विपद प्रतिकार्य अभ्यासपश्चात् मन्तव्य राख्नुहुँदै ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य विपद खबर गरेर आउँदैन भनेर सूरक्षित हुन प्रतिकार्य अभ्यास गरेकाे बताउनुहुँदै ललितपुर महानगर विपदमा जस्तोसुकै काम पनि गर्न सक्षम रहेको बताउनुभयो ।
"आजकाे याे अभ्यासमा सबैले राम्रोसँग प्रदर्शनी गर्नुभयाे। २०७२काे भूकम्पमा स्थानीयहरुकाे सहयाेग समन्वय र अभ्यासले सफल भएको थियाे । तर, विपद नआओस्, आइहाल्याे भनेपनि विपदकाे क्षतिबाट वचन स्थानीय युवाहरूलाई बच्न सम्बन्धी तालिम दिएर तयारी अवस्थामा राख्नुपर्छ । विपदबाट वचन एकता आवश्यक छ।" उपप्रमुख बज्राचार्यले भन्नुभयो । उहाँले दुर्घटना हुँदा परम्परागत भन्दा पनि आधुनिक प्रविधि र व्यवहारिक सीपकाे उपयाेग गरेर लाग्नुपर्नेमा जाेड दिनुभयाे ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले अकास्मात आउने भूकम्प, बाढिपहिराे, हावाहुरी जस्ता महामारीबाट हुने हानी, जनधनको क्षति, समस्या र घटनाबाट जाेगिन सचेत रहनुपर्ने बताउनुभयो उहाँले पूर्वतयारीले नै विपदमा आफू र अरुलाई सुरक्षित राख्न सकिने बताउनुहुँदै यसका लागि स्थानीय नागरिक समाज, संघसंस्था र सरकारी कार्यालयले मिलेर काम गर्नुपर्नेमा जाेड दिनुभयो ।
महानगरका वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयाेजक नारायणलाल अवालेले धनजन, मानवीय क्षति नहाेस् भनेर सचेतना जगाउनका लागि संयुक्त अभ्यासमार्फत नागरिक सचेतनालाई महानगरले जाेड दिंदै आएकाे बताउनुभयो । सानाे गल्तीले गर्दा धेरै धनजन र मानवीय क्षति हुने हुँदा क्षति र जाेखिमबाट वच्नबचाउनका लागि विपद प्रतिकार्य अभ्यास र अभिमुखीकरण कार्यक्रमहरुलाई प्राथमिकतामा राखिदैं आएकाे जानकारी गराउनुभयाे ।
वडा नं. २२ का अध्यक्ष सागर तुलाधरले गाेरखा बारपाक केन्द्रविन्दु बनाएर वि.सं. २०७२ बैशाख १२ गते गएकाे भूकम्पले बुँगमतीका सात सय वटा घर पूर्ण क्षति भएको स्मरण गर्नुहुँदै सामान्य दुर्घटनाले पनि हुन सक्ने ठूलाे क्षति राेक्न सहकार्य, एकता र सामुहिक भावनाले क्रियाशील हुनुपर्ने बताउनुभयो ।
गाेरखा भूकम्पको ११ बर्ष पूरा भएको दिन आयाेजित संयुक्त विपद प्रतिकार्य अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ललितपुर महानगर प्रहरी, नेपाल स्काउट र स्वास्थ्यकर्मीहरुले प्रतिकार्य अभ्यास, खाेज, उद्दार तथा प्राथमिक उपचारकाे अभ्यासकाे प्रस्तुतिकरण गरेका थिए ।
ललितपुर महानगरमा पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १३, बिहिबार वर्गीकृत
ललितपुर/१३ बैशाख : ललितपुर महानगरमा बुधबारबाट महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु भएको छ । महानगरकाे जनस्वास्थ्य महाशाखाले बुधबार वडा नं. १४ तिखेदवलमबाट शिविर शुभारम्भ गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुला सम्बन्धी निःशुल्क क्यान्सर परीक्षण सुरु गरेको हाे।
शिविर शुभारम्भ गर्नुहुँदै सामाजिक विकास समितिका संयोजक एवम महानगर प्रवक्ता राजु महर्जनले सबैभन्दा राम्रो परिक्षण भनेर विश्वमा चिनिएको एच पि भि डि एन ए विधिद्वारा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी क्यान्सर राेग लाग्नबाट बचाउने अभियान सुरु गरेकाे बताउनुभयो । " हामीले पाठेघर क्यान्सर राेकथामका लागि अघिल्लो बर्षदेखि अभिमुखीरण र स्क्रिनिङ्ग कार्यक्रम सुरु गरेका थियौं । गत बर्ष ८ वटा वडामा भएको कार्यक्रम यस वर्ष २९ वटै वडामा हुनेछ । पहिला अभिमुखीरण, त्यसपछि परिक्षण र परिक्षण पछि डक्टरकाे परामर्शमा निशुल्क उपचार गरिनेछ ।" प्रवक्ता महर्जनले भन्नुभयो ।
ललितपुर महानगरले स्वास्थ क्षेत्रमा जेष्ठ नागरिकलाई निमाेनियाबाट बचाउन विगत दुई वर्षदेखि निशुल्क भ्याक्सिन सेवा समेत सञ्चालन गर्दै आएकाे जानकारी गराउनुहुँदै उहाँले अघिल्लो महिना ४ सय जनालाई भ्याक्सिन दिएकाे बताउनुभयो । महानगरले जेष्ठ नागरिकसंग महानगर कार्यक्रम अन्तर्गत डक्टरसहित घरमै सेवा प्रदान गरिरहेको बताउनुहुँदै उहाँले आवश्यकताका आधारमा एम्बुलेन्स नै लिएर गएर अस्पतालसम्म ल्याउने ब्यवस्था समेत रहेकाे बताउनुभयो ।
हरेक क्षेत्रमा अन्य पालिकामा भन्दा महानगरले अलि फरक तरिकाले व्यवस्थापन गर्दै आइरहेको बताउनुहुँदै उहाँले स्वास्थ्य विमामा आवद्ध भएका र हुनेहरुका लागि ५० प्रतिशतविमा शुल्क वडाले व्यहाेर्ने तयारी भैरहेको जानकारी गराउनुभयाे । हाल महानगरले यल स्वास्थ्य केन्द्र स्थापना गरेर विमाका विरामीलाई २४ सै घण्टा डाक्टर, ल्याब, एक्सरे र ओैषधिसहितकाे सेवा प्रदान गर्दै आइरहेको छ।
ललितपुर महानगर वडा नम्बर १४ का वडा अध्यक्ष अमृत जङ्ग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो । "समाजलाई स्वस्थ बनाउन महानगरले चालेको यो एक महत्वपूर्ण कदम हो, त्यति मात्रै होइन, महानगरले महिला र जेष्ठनागरिकको स्वास्थ्यलाई धेरै प्राथमिकता दिएको छ भन्ने प्रमाण पनि हो ।" महतले भन्नुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजार भन्दा बढी महिलाको एचपिभिडिएनए बाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताउनुभयाे। नेपाल सरकारले आर्थिक वर्ष २०८० /२०८१ मा कोशी, मधेश र बागमती र लुम्बिनीका ८ जिल्लाका १४ स्थानीय तहबाट एचपिभि डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा पाइटल प्रोजेक्टका रुपमा गुरु गरी सकेको वताउनु हुँदै उहाँले सन् २०३०सम्म ३० वर्षमाथिका महिलामध्ये नब्बे प्रतिशतको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने दिगो विकास लक्ष्य रहेको जानकारी गराउनुभयाे।
नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसार भरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपीभि डिइनए प्रभावकारी विधि हो ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये ७ जनालाई नसर्ने रोग लाग्ने गरेकाे तथ्यांक रहेको बताउनुभयाे। महिलामा अन्य क्यान्सरको तुलनामा स्तन र पाठेघरको क्यान्सर धेरै देखिएको बताउँदै समयमै थाहा पाउन सके स्तन र पाठेघरको क्यान्सर निको पार्न सकिने जानकारी गराउनुभयाे।
महानगरकी जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले गत बर्ष आठवटा वडामा एच पि भि डि एन ए विधिद्धारा १ हजार ३ सय महिलामा परीक्षण गर्दा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखिएकाे र अहिले उहाँहरुको उपचार महानगरले गराइराखेको जानकारी गराउनु भयाे । उहाँले यस वर्ष हुने स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूह भित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने जानकारी गराउनुभयाे ।
मानव सेवा नै सर्वोत्तम सेवा हो, सबैले सहकार्य गरौँ : मन्त्री चौधरी
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख १२, बुधबार वर्गीकृत
काठमाडौँ/१२ वैशाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले मंगलबार नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग हस्तान्तरण तथा खाना खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।
कोही नभएकाहरूको अभिभावक बनेर आश्रमले ठुलो मानवीय योगदान दिएको भन्दै उहाँले भन्नुभयो, 'मानव सेवा आश्रममा आश्रित रहनुभएका हाम्रा आदरणीय दाजुभाइ दिदीबहिनी आमाबुवा सबैमा कृतज्ञता व्यक्त गर्दछु । आश्रमका संस्थापक रामजी अधिकारीको संकल्पले यति धेरै व्यक्तिलाई सेवा दिने, आश्रय दिने, खुवाउने, संरक्षण दिने काम गर्नुभएको छ भने, तपाईं हामी सबैले सोचौँ । हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँ ।'
एक जनाको संकल्पले कति धेरै बेसहारा, पीडित व्यक्तिहरूले सेवा पाइरहेको भन्दै मन्त्री चौधरीले एक दिनको खाना तथा अन्य सामग्री सहयोग गर्ने नेपाल निजामती कर्मचारी संगठनलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो । 'आज नेपाल निजामती कर्मचारी संगठनका साथीहरू मिलेर यहाँहरूलाई एक दिनको भए पनि केही खाना जुटाइदिऊँ भन्ने धारणाले व्यवस्थापन गर्नुभएको छ । त्यसका लागि निजामती कर्मचारी संगठनको अर्थ विभागका साथीहरूलाई धन्यवाद दिन चाहन्छु', उहाँले भन्नुभयो, 'मानव सेवा आश्रमका देशभर गरी २३ वटा शाखामा १ हजार ६ सय ६७ जनालाई सेवा प्रदान गरिएको छ । देशभरका विभिन्न ठाउँमा यस्ता शाखा स्थापना गरी तपाईंहरूले गरिरहनुभएको कार्य निकै ठुलो मानव धर्म, मानव उपकारको कार्य हो ।'
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय सेवाका निम्ति सडक मानव मुक्त अभियानको थालनी गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, 'हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सडक मानव मुक्त गर्नुपर्छ भन्ने कुरा उहाँले ल्याउनुभएको थियो । यो चिजमा पनि यहाँहरूले पनि धेरै सहकार्य गर्ने गरी यो जुन काम गर्नुभएको छ । त्यसका लागि यसका संस्थापक सहित सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।'
आफू अहिले सरकारको संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदाय हेर्ने मन्त्रालयको जिम्मेवारीको रहेको भन्दै उहाँले त्यस्ता व्यक्तित्वहरूको पीडामा मलहम लगाउँदै उनीहरूको संरक्षण तथा उनीहरूको अधिकार सम्पन्न गराउने कार्यमा लागिरहेको बताउनुभयो ।
मन्त्रालय अन्तर्गत सरकारले विभिन्न ऐन, कानून पनि ल्याएको भन्दै उहाँले विभेदमा परेका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा यौनिक अल्पसंख्यकहरूलाई अधिकार सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
तर कानूनमा अझै पनि केही कमी रहेको भन्दै उहाँले ती कमीलाई पुरा गर्दै सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 'तपाईँहरूका निम्ति बनाइएका ऐन, कानूनमा भएका व्यवस्थालाई तल तलसम्म कार्यान्वयन तहमा ल्याउनका लागि अझै पनि केही कमी छन् । ती कमीहरूलाई पनि पुरा गर्न अथवा सेवाग्राहीसम्म सरकारको सेवा पुर्याउनका लागि यहाँहरू जस्ता व्यक्तिहरूलाई ठाउँ दिएर काम अगाडि बढाइनेछ', मन्त्री चौधरीले भन्नुभयो ।
मुलुक सात प्रदेशको संरचना व्यवस्थामा रहेको भन्दै उहाँले यस्ता सेवाहरूलाई सबै क्षेत्रमा पुर्याउन आवश्यक रहेको र त्यसमा राज्य सँगसँगै रहेको बताउनुभयो ।
उहाँले नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा मन्त्री चौधरीले आश्रमको अवलोकन समेत गर्नुभएको थियो ।
त्यस अवसरमा नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिको तर्फबाट मानव सेवा आश्रममा रहेका २२६ जना व्यक्तिहरूका लागि एक छाक खाना बराबर लाग्ने २० हजार रुपैयाँ नगद र एक लाख तीन हजार नौ सय १० रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल, चप्पल, डाइपर लगायतका सामग्री मन्त्री चौधरीले हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा आश्रमका प्रमुख प्रशासकीय अधिकृत उत्तम थापाले आश्रमले स्थापनादेखि हालसम्म १० हजार व्यक्तिको उद्धार गरेर करिब ७ हजारको परिवारमा पुनर्मिलन गराउन सफल भएको बताउनुभयो ।
त्यस अवसरमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, अर्थ विभागीय कार्यसमितिका अध्यक्ष मधुसूदन पौडेलले संगठनका तर्फबाट सकेको सहयोग हस्तान्तरण गरिएको बताउनुभयो ।
ललितपुर महानगरभित्रका दश वटा महिला समूह सम्मानित
Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र ३०, शुक्रबार वर्गीकृत
ललितपुर/३० चैत : ललितपुर महानगरपालिकाले महानगरभित्रका दश वटा महिला समूहलाई सम्मान गरेकाे छ। महानगरले बिहिवार आयाेजना गरेको उत्कृष्ट महिला समूह घाेषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं.६ मा रहेको वैश्य वर्णं माँ पुच:लाई सर्वोत्कृष्ट महिला समूह घाेषणा गर्दै पुरस्कृत गरेको छ। वैश्य वर्ण माँ पुचसहित अरु नौवटा समूहह उत्कृष्ट महिला समूहको रुपमा पुरस्कृत भएका हुन् । महानगरले प्रत्येक वर्ष महानगरभित्र रहेका महिला समूहले गरेको कामको आधारमा उत्कृष्ट महिला समूह छनोट गर्ने गरेको छ ।
त्यसैगरी, वडा नं.६ मा रहेको सिन्चाहिटी मिसा पुचः, वडा नं. ११ मा रहेको दथुलँ महिला समूह, वडा नं.२४ धापाखेलमा रहेको श्री शक्ति महिला समूह , वडा नं २९ हरिसिद्धिमा रहेको विहार महिला समूह पहिलो पटक उत्कृष्ट महिला समूहमा सम्मानित हुन सफल भए । त्यस्तै,वडा नं.२ सानेपामा रहेको साहसी महिला समूह, वडा नंं १३ एकान्तकुनामा रहेको नारी जागृति समूह यस बर्ष पनि उत्कृष्ट महिला समूहमा पुरस्कृत भए । यी दुई समूह अघिल्लो बर्ष पनि उत्कृष्ट समूहमा पुरस्कृत हुन सफल भएका थिए।
त्यस्तै,वडा नं ६ मा रहेकाे कनिबहाल जागृति महिला समूह, वडा नं.९ मा रहेको सप्तखेल मिसा पुच: र वडा नंं.९ मा रहेको लोल महिला बचत तथा ऋण समूह तेस्रो पटक सम्मानित हुन सफल भए ।
पुरस्कृृत हुने महिला समूहलाई महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमख मञ्जली शाक्य बज्राचार्यले पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयाे।
पुस्कार वितरणसंगै मन्तव्य राख्नुहुँदै नगरप्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट महिला समूहले गरेका सकरात्मक प्रयासकाे प्रशंसा गर्नुभयाे । "तपाईहरु टाेल, छिमेक, गाउँ र वडाकाे नेता हाे। अरुले पछ्याउन मिल्ने खालका काममा लाग्न तपाईंहरुलाई सल्लाह दिन चाहान्छु । म २०३८ सालदेखि तीन पटक वडा अध्यक्ष, दुई पटक नगरप्रमुख भँए, अहिलेसम्म एक जना महिला पनि वडा अध्यक्षमा जितेकाे छैन, एक दुई जना महिला त वडा अध्यक्षमा आउनुपर्ने हाे नि ! अव, २०८४ मा २९ वटा वडा मध्ये घटीमा पनि ३ जना वडा अध्यक्ष महिला आउन सक्नुस्, मेराे शुभकामना छ।" महर्जनले भन्नुभयो ।
उहाँले विगतमा आफूले प्लास्टिक झाेला मुक्त बनाउने भनेर घाेषणा गरेको तर त्यसकाे विकल्पमा अहिलेसम्म केही हुन सकेकाे छैन भन्नुहुँदै महिला समूहलाई त्यसका लागि याेजना लिएर आउनुस्, म सहयाेग गर्न चाहान्छु भन्ने प्रतिवद्धता जनाउनुभयाे । ललितपुर शहरलाई सफा राख्न तपाईंहरुकाे महत्त्वपूर्ण भूमिका छ भन्नुहुँदै उहाँले महानगरभित्रका चार सय ३५ वटा महिला समूहकाे यसमा महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले समुहमार्फत समुदाय र घरलाई समृद्ध बनाउन सक्यौं भने महत्त्वपूर्ण काम हुन्छ भन्ने धारणा राख्नुहुँदै महानगरले महिला समूहसंग नमूनायुक्त टाेल बनाउन सकरात्मक भूमिकाकाे अपेक्षा गरेको बताउनुभयो । उहाँले महिलाहरुलाई बजारसंग उत्पादनलाई जाेडेर काम गर्न सक्ने वातावरण तयार गर्न आग्रह गर्नुभयो । उहाँले समृद्धिकाे लागि सामाजिक रुपान्तरणमा समूहहरुकाे उत्कृष्ट भूमिकाको अपेक्षा गर्नुभयो ।
सामाजिक विकास समितिका संयाेजक, वडा नं. ९ का वडा अध्यक्ष तथा प्रवक्ता राजु महर्जनले वि.सं. २०७९ मा उत्कृष्ट समूह घाेषणा गर्दा उद्यमशील महिला समूहलाई प्राथमिकता दिने भन्ने थियाे भन्नुहुँदै यस पटक विगतका मापदण्ड बाहेक उद्यमशीलताले पनि प्राथमिकता पाएकाेमा खुसी व्यक्त गर्नुभयो । उहाँले सबै महिला समूहले एउटै कुरामा केन्द्रीत हुने भन्दा पनि फरकफरक बिषयमा ध्यान दिन आग्रह गर्नुभयाे।
सम्मानित हुनेहरूकाे तर्फबाट मन्तव्य राख्नुहुँदै सिञ्चाहिटी मिसा पुच: कि अध्यक्ष शान्ति श्रेष्ठ महर्जनले हरेक कामकाे मुल्यांकन हुनु राम्रो कुरा हाे भन्नुहुँदै समाजकल्याण महाशाखाले महिलाहरुकाे नेतृत्व, व्यक्तित्व विकासमा अत्यन्तै महत्त्वपूर्ण सहयाेग गरेकाे बताउनुभयो ।
काठमाडौं महानगरमा सम्पदा स्थलको जानकारी दिन क्युआर कोड
Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र २२, बिहिबार वर्गीकृत
काठमाडौँ/२२ चैत: काठमाडौ महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ । सांस्कृतिक सम्पदाहरुको अरुलाई चिनाउँदा गलत रुपमा चिनाएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट सम्पदाहरुलाई जोगाउन क्युआर कोडको प्रयोग थालिएको हो ।
बुधबार कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रम थालनी गर्नुभएको हो । जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरु कुमारी छेँ, कुमारी वहाः भन्छन् । यस्को मौलिक नाम राजकीर्ति मनोरम विहार हो । यसलाई राजलक्ष्मी बिहारका नामले पनि चिनिन्छ ।
क्युआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको वाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ ।
कुमारी घरको जस्तै सबै सम्पदाका क्युआर कोडमा यस्तै विवरण छन् । वडा २३ ले सम्वर्धनसँगको सहकार्यमा सम्पदाको चिनारीलाई प्रविधि हेर्न, बुझ्न र जान्न सक्ने बनाएको हो ।
क्युआरमा भएका विवरणलाई अहिले नेपाली र अंग्रेजी टेक्स्टमा पढ्न र आवाजमा सुन्न सक्ने बनाएको छ ।
कार्यक्रम थालनी गर्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘जिज्ञासुहरुको पढ्ने, हेर्ने र सुन्ने रुचिअनुसारको ढाँचामा सम्पदाको सही जानकारी दिन प्रविधिको प्रयोगको सहयोग गर्नेछ ।’ प्रविधिको यसप्रकारको प्रयोगले मौलिकता जोगाउन र प्रवर्धन गर्न मद्दत गर्नेछ, उहाँको भनाइ थियो ।
कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘सूचना सञ्चार तथा सञ्चार प्रविधिको प्रयोगबाट सांस्कृतिक सहरको गरिमा बचाउन काम गरिरहेका छौँ ।’ वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले सम्पदा क्षेत्र सम्बन्धी पर्यटकलाई गलत जानकारी दिएको उदाहरण दिँदै भन्नुभयो, ‘कालभैरवलाई ब्ल्याक भैरव भन्न थालियो । कालभैरव भन्नु र ब्ल्याक भैरव भन्नुमा शव्दको गहनता धेरै फरक छ । सम्पदाको पहिचान विगार्न यसरी गरिएका अभ्यास रोक्न प्रविधिले सहयोग गर्ने आशा गरेका छौँ ।’
क्युआर कोडमा प्राप्त हुने विवरण पाटन संयुक्त क्याम्पसको इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. जुनु बासुकलाको अध्ययनमा आधारित छन् । उहाँकाअनुसार वडा २३ मा भएका सम्पदामध्ये सबैभन्दा प्राचीन संरचना सिखमु (अहिलेको बोलीचाली) हो । यसको प्राचीन नाम श्रीखण्ड तरुमुल महाविहार हो । काठमाडौँ मण्डपसँग साइनो देखिने भएकोले यसको निर्माण काष्ठमण्डपसँगै (७ औँ शताव्दीमा) हुन सक्छ । यसको एकिन तथ्याङ्क पाइएको छैन ।
यस क्षेत्रका सम्पदा बचाउन नाम बचाउनु पहिलो काम हो । बासुकलाले भन्नुभयो, ‘सम्पदा नाश हुनुमा भूमि सुधार ऐन जारी भएपछि परम्परागत गुठीको सम्पत्ति गुठी संस्थानमार्फत परिचालन हुन थालेपछि सम्पदाका नाममा भएका सम्पत्तिको दुरुपयोग भयो । यसैकारण धेरै सम्पदा र संस्कृति नाश भएका भेटिए । यस्तै कतिपय समुदायमा आधारित गुठीले नै सम्पदाको सम्पत्ति बेचेर खर्च नपुग्ने बनाएका छन् । सम्पदा र संस्कृति नासिँदै जानुमा यो अर्को कारण हो ।’
समाज विकास हुँदै गर्दा सम्पदा कसरी नासिए पत्तै भएन, हामी यहाँकै सम्पदामा रमाउँदै आएका हौँ । यस क्रममा वंग कहिले इन्द्रचोक बन्यो, सिल्य सत्त कहिले सिंहसत्तल बन्यो, थाहै भएन । शव्द उच्चारणको अभ्यास र यसले पहिचानमा पार्ने नकारात्मक प्रभावका बारेमा बताउँदै क्युआर विकासकर्ता सुुरेशप्रसाद श्रेष्ठ भन्नुहुन्छ, ‘अब प्रविधिबाट सम्पदाको मौलिकता बचाउनु पर्छ ।’
सम्पदाको पहिचानका लागि क्युआर कोड राखिनुले यसको अभिलेखनमा ठूलो सहयोग पुगेको छ । अवको खाँचो भनेको, यी सम्पदासँग सम्बन्ध जोडिएका कति संस्कृति नासिए, त्यससँगै हराएका मौलिक खाना, पोशाक, श्रृङ्गार, गरगहना, गायन, वादन तथा नृत्य, पर्व र पूजाजस्ता अभौतिक सम्पत्तिको खोजी र पुनरुत्थान गर्नु हो ।
खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा
Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र २२, बिहिबार वर्गीकृत
काठमाडौं/ २२ चैत : राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका अध्यक्ष साथै सिकाली अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समितिका संयोजक पंचलाल महर्जनले समुदायले जोगाइराखेको मूर्त अमूर्त सम्पदामा राज्यले अपनत्व लिइ सरोकार देखाउनुपर्ने माग राख्नुभयाे। ‘देवी नाच लगायत समुदायले बनाएको विभिन्न अमूर्त सम्पदाहरु राष्ट्रकै पहिचान बनेको छ । यसको संरक्षण, दीगो व्यवस्थापनका लागि राज्यले नै अपनत्व लिएर अघि बढ्नुपर्ने देखिन्छ’ संयोजक महर्जनले भन्नुभयाे ।
पत्रकार सम्मेलनमा चैत्र २२ गते सिकाली अजिमा जात्राका देवगणहरु खोकनाबाट पैदल नै काठमाडौं आउने बताइएको थियो । चैत्र २२ गते खोकनाबाट देवगणहरु काठमाडौं पचली पुग्ने र पचलीबाट काठमाडौं विभिन्न क्षेत्र हुँदै हनुमानढोका नासल चोक पुग्नेछन् । सो क्रममा पचलीबाट देवगणहरु मचली, चल्खु, मुसुंबहाः हुँदै सिकाली, कुमाःननि, ओन्दे, ह्यूमत, जैसीदेगल, कोहिटी, भीमसेनस्थान, मरु, प्याफल, कम्पुकोटको आर्मी गेटबाट मखन महिन्द्रेश्वर महादेव हुँदै हनुमानढोका नासल पुग्नेछन् ।
परम्परा अनुसार हनुमान ढोका दरवारमा तीन वटा नाच प्रदर्शन गरिनेछ । २२ र २३ गतेका दिनमा नासल चोकमा देवी नाच प्रदर्शन गरिनेछ भने २९ र ३० गते तलेजु मन्दिर अगाडीको त्रिशुल चोकमा सिकाली अजिमा देवगणको नाच प्रस्तुत हुनेछ । २०८१ बैसाख ९ र १० गतेका दिनमा हनुमानढोका बाहिर रहेको कालभैरव पछाडीको डबलीमा नाच प्रदर्शन हुनेछ । त्यसैगरी जन समुदायबाट माग र व्यवस्थापन भएमा इन्द्रचोक, लगन र सिंहसतल लगायतका स्थानमा पनि नाच प्रदर्शन गरिने व्यवस्थापन तथा समन्वय समितिले जनाएको छ । हनुमानढोकामा हुने तीनवटा नाचको लागि करीब १७ लाख रुपैयाँको आवश्यक हुने र अन्य स्थानमा नाच प्रदर्शन गर्न स्थानीयबाटै सबै व्यवस्थापन हुनुपर्ने समितिले जनाएको छ ।
यस वर्ष सिकाली जात्राको १२ वर्षे मेला भएकोले सिकाली अजिमा देवगण काठमाडौं प्रवेश भएर विभिन्न ठाउँमा देवी नाच प्रदर्शन गर्न लागिएको ललितपुर महानगरपालिका २१ वडाका वडाध्यक्ष रविन्द्र महर्जनले बताउनुभयाे। ‘यो नाच विगतमा कीर्तिपुरमा पनि लग्ने गरिन्थ्यो, जुन परम्परा अहिले टुटेका छ । त्यस्तै अरु विभिन्न ठाउँहरुमा पनि लग्ने गरिन्छ । ललितपुर महानगरपालिकाबाट पनि बजेट छुट्याएर परम्परालाई निरन्तरता दिन खोजिरहेका छौं’ वडाध्यक्ष महर्जनले भन्नुभयाे । १२ वर्षे नाच भएकोले देवगणको नयाँ पोशाक, मुकुण्डो बनाउन, पूजा व्यवस्थापन आदिका लागि ६० लाखको कोष बनाएको महर्जनले जानकारी दिनुभयाे ।
कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका पदाधिकारीहरु, काठमाडौं महानगरपालिका १२ वडाका अध्यक्ष बालकृष्ण महर्जन, वडा सदस्यहरु र स्थानीय बुद्धिजीविहरु लगायतको उपस्थिति रहेको थियो ।


